फिस्लिङ दुर्घटना अपडेट : उपचारका क्रममा चालकको मृत्यु
मुग्लिन (चितवन), ३२ जेठ I पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ ।
दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रुबाहक बस र काठमाडौँबाट मुग्लिनतर्फ आइरहेको बागमती प्रदेश ०२–०२९च ३७२० नम्बरको कार एकापसमा ठोक्किएर उक्त दुर्घटना भएको हो । दुर्घटना परी १३ जना घाइते भएका छन् ।
घाइते तीन जनाको अवस्था गम्भीर छ । चार जना उपचारपश्चात् घर फर्किएको प्रहरीले जनाएको छ । कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेको थियो ।
म्याग्दी र बागलुङ जिल्लाको सिमानामा जडीबुटी अनुसन्धान केन्द्र
ढोरपाटन (बागलुङ), ३२ जेठ I जिल्लाको तमानखोला गाउँपालिकाको पर्यटकीयस्थल सोलेडाँडालाई जडीबुटी अनुसन्धान केन्द्र बनाइने भएको छ । समुद्री सतह देखि दुई हजार सात सय मिटरको उचाइमा रहेको सोलेडाँडा म्याग्दी र बागलुङको सिमानामा पर्दछ ।
उच्च पहाडी क्षेत्रमा रहेको सोलेडाँडालाई पर्यटकीय केन्द्रसँगै जडीबुटी अनुसन्धान केन्द्र बनाउन थालिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलला बुढामगरले बताउनुभयो । गाउँपालिकाले अघिल्लो वर्षदेखि अनुसन्धान केन्द्र निर्माण गर्न थालेको उहाँको भनाइ छ ।
सोलेडाँडा र यस क्षेत्र आसपासमा पाइने सबै प्रकारका जडीबुटीको नमूना सङ्कलन गरी विद्यार्थी तथा अन्य व्यक्तिका लागि अनुसन्धान थलोका रुपमा विकास गरिने अध्यक्ष बुढामगरले बताउनुभयो । अनुसन्धान केन्द्रमा गाउँपालिकाभरिका जङ्गल तथा तीन हजार पाँच सय मिटरको उचाइसम्म पाइने जडीबुटी सङ्कलन गरिने उहाँले जानकारी दिनुभयो । तमानखोलाको मात्रै नभई ढोरपाटनमा पाइने जडीबुटी पनि ल्याउने योजना रहेको उहाँको भनाइ छ ।
उच्च पहाडी क्षेत्रमा पाइने जडीबुटीको खोजी गरेर नमूना सङ्कलन गर्ने तथा जडीबुटीको महत्व र गुणकाबारे प्रचारप्रसार गरिने अध्यक्ष बुढामगरले बताउनुभयो । उहाँका अनुसार पालिकाले हालसम्म करिब रु १० लाख खर्च गरेर केन्द्र निर्माण गरिरहेको छ ।
योसँगै पालिकाले सोलेडाँडामा रु ५० लाख लगानीमा पर्यटन पूर्वधारसहित सहिद पार्क निर्माण गरेको छ । पर्यटनको विकाससँगै अनुसन्धान केन्द्रले सोलेडाँडामा धेरै पर्यटक आकर्षित गर्ने अपेक्षा लिइएका छ ।
“सोलेडाँडा जिल्लाका साथै वरपर निकै चर्चित छ । यहाँ आन्तरिक पर्यटकको आगमन बाक्लो छ, अनुसन्धान केन्द्रले थप पर्यटक तथा खोज÷अनुसन्धान गर्ने विद्यार्थीलाई आकर्षित गर्नेछ”, अध्यक्ष बुढामगरले भन्नुभयो, अनुसन्धान केन्द्र बनाएसँगै यहाँ पाइने जडीबुटीको पहिचान हुन्छ । त्यसको महत्व आमनागरिकलाई बुझाउन तथा बजारसँग जोड्ने सहज हुन्छ । यसले स्थानीयको आर्थिक स्तर वृद्धि हुनुका साथै अझै धेरै पर्यटक बढ्ने छन् ।”
स्थानीय मीनबहादुर सिर्पालीले सोलेडाँडामा अनुसन्धान केन्द्र सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने बताउनुभयो । अहिले स्थानीय उत्पादनले खासै बजार नपाएको भन्दै दुई-चार वर्षपछि गाउँबाटै बिक्री हुने उहाँको भनाइ छ ।
अहिले पनि सोलेडाँडामा दैनिक पर्यटक आउने गरेका भन्दै गाउँपालिकाले अनुसन्धान केन्द्र बनाउँदा यस क्षेत्रका नागरिकले बढी लाभ लिन सक्ने सिर्पालीले सुनाउनुभयो । यो क्षेत्र भौगोलिक हिसाबले पिछडिएको जनाउँदै पछिल्लो समय विस्तारै विकासले गति लिन थालेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने : मन्त्री प्रदीप यादव
(स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव शुक्रबार भरतपुर बिमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै । तस्बिर : सनद अधिकारी)
चितवन, ३२ जेठ I स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएको भन्दै राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई परिवर्तन गरिने बताउनुभयो ।
अस्पतालमा प्रमुखको जिम्मेवारी हेरफेरले समस्या नहुने भन्दै मन्त्री यादवले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएकाले आवश्यकता र कामको प्रकृतिका आधारमा कर्मचारीलाई मन्त्रालयमा तान्ने वा अन्यन्त्र पठाउने बताउनुभयो ।
मन्त्री यादवले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न मन्त्रालयले सरकारसँग समन्वय गरी कार्ययोजना बनाउने बताउनुभयो । बीमा स्वायत्त संस्था भएकाले मन्त्रालयले कुनै पनि हस्तक्षेप गर्न नमिल्ने भन्दै उहाँले यहाँ देखिएका समस्या समाधानका लागि मन्त्रालय र सरोकार भएकाबीच छलफल गरिने बताउनुभयो ।
मन्त्री यादवले भन्नुभयो, “स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न हामी गम्भीर छाैँ । कसरी प्रभावकारी र गुणस्तरीय सेवा दिने भन्नेमा छलफल गरी सहकार्य र समन्वयका आधारमा कार्ययोजना नाउने छौँ ।” उहाँले स्वास्थ्य बीमामार्फत जनताले प्रत्यक्ष राहात पाउने भएकाले यसको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले योजना बनाइरहेको बताउनुभयो ।
बीमा कार्यक्रमलाई मन्त्रालय माताहत ल्याउन ऐन परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै मन्त्री यादवले यस विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । जनशक्ति अभाव भएका अस्पतालहरुमा आवश्यक जनशक्ति थप गर्न मन्त्रालयले परिपत्र गरिसकेको उहाँले बताउनुभयो ।
मन्त्री यादवले भन्नुभयो, “देशका सबै अस्पतालमा जनशक्ति थप्ने निर्णय भएको छ । त्यसका लागि प्रक्रिया अघि बढिसकेको छ ।” आवश्यकता अनुसार अस्पतालहरुले कर्मचारी भर्ना गर्न सक्ने व्यवस्था गरिएको उहाँको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठनद्वारा भारतमा ‘मानवमा बर्ड फ्लू’को सङ्क्रमण पुष्टि
कलकत्ता, भारत, ३० जेठ (रासस/एएनआई) I पश्चिम बङ्गालमा चार वर्षीय बच्चामा एच–९ एन–२ भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य सङ्गठनले भारतमा बर्ड फ्लूको मानव सङ्क्रमण पुष्टि गरेको छ ।
भारतबाट डब्ल्यूएचओलाई अधिसूचित एभियन इन्फ्लुएन्जा ए (एच–९ एन–२) को यो दोस्रो मानव सङ्क्रमण हो । पहिलो सन् २०१९मा पुष्टि गरिएको थियो । सङ्क्रमित बच्चा भने निको भई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
पश्चिम बङ्गालमा एभियन इन्फ्लुएन्जा भाइरसको मानव सङ्क्रमणसम्बन्धी खबर डब्ल्यूएचओका भारतका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन अधिकारीबाट अधिसूचना प्राप्त गरेको डब्ल्यूएचआले प्रेस विज्ञप्तिमा जनाएको छ ।
श्वासप्रश्वासमा गम्भीर समस्या, बारम्बार उच्च ज्वरो र पेटमा ऐंठनका कारण बिरामीलाई स्थानीय अस्पतालको बाल स्याहार एकाइ (आईसीयू) मा भर्ना गरी उपचार सुरू गरिएको थियो ।
उनलाई फेब्रुअरी २८ मा अस्पतालबाट डिस्चार्ज गरिएको थियो तर श्वासप्रश्वासको गम्भीर कष्टको पुनरावृत्तिपछि उनलाई अर्को सरकारी अस्पतालको बाल आईसीयूमा भर्ना गरिएको थियो भने मार्च ३ मा उनलाई ट्युव राखेर औषधि दिने काम गरिएको थियो ।
विरामीको रगत तथा खकारको नमूनालाई कोलकाता भाइरस रिसर्च एन्ड डायग्नोस्टिक प्रयोगशालामा पठाइएको र त्यहाँको परीक्षणबाट उनलाई एच–९ एन–२ सङ्क्रमण पुष्टि भएको हो । बिरामीलाई मे १ मा अक्सिजन सहयोगसहित अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
डब्लुएचओले सङ्क्रमित बिरामी घर र वरपरको कुखुराको सम्पर्कमा आएका हुनसक्ने जनाएको छ ।
यद्यपि, यस सङ्क्रमणसँग सम्बन्धित परिवार, छिमेकमा वा वा स्वास्थ्यकर्मीमा श्वासप्रश्वासको रोगको लक्षणका ज्ञात व्यक्तिहरू नभेटिएको उल्लेख गरिएको छ ।
विश्वव्यापी मार्ग निर्देशन अनुरूप मानव र पशु दुवै क्षेत्रमा प्राविधिक सल्लाह, जोखिम मूल्याङ्कन र आकस्मिक योजना अद्यावधिक गरेर भारत सरकारलाई निरन्तर सहयोग प्रदान गरिरहेको डब्लुएचओले जनाएको छ ।
असार मसान्तसम्म बीमा नवीकरण गराइसक्नुपर्ने
काठमाडौँ, २८ जेठ I स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ । बोर्डले आज एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा विसं २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ गतेदेखि सेवा सुरु गरेका बीमितहरुले सेवा निरन्तरताका लागि उक्त अवधिभित्र नवीकरण गरिसक्नुपर्ने जनाएको हो ।
नवीकरणका लागि आ-आफ्नो वडामा रहेका दर्ता सहयोगीका साथै अनलाइनमार्फत गर्न सकिने बोर्डले जनाएको छ । विसं २०८१ साउन १ गते देखिको नयाँ दर्ता तथा नवीकरण स्वतः २०८१ मङ्सिर १ देखि क्रियाशील हुने सूचनामा उल्लेख छ । बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार आजसम्म बीमित जनसङ्ख्या ८० लाख ७९ हजार सात सय ८२ जना छन् । हालसम्म ५० लाख ३८ हजार आठ सय ४० जनाले नवीकरण गराएका छन् ।
सूचना अधिकारी कँडेलले सेवा लिनेले हरेक वर्ष नवीकरण गराउनैपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नवीकरण आवश्यक छ । नयाँ दर्ता गराउन चाहनेले आफू बस्ने वडामा गएर स्वास्थ्य बीमा गराउन सक्छन् । प्रत्येक वडामा दर्ता सहयोगी छन् ।”
उद्धारको नमुना अभ्यासका क्रममा डुबेर प्रहरी जवानको मृत्यु
चैनपुर (बझाङ), २८ जेठ I विपद् व्यवस्थापनको खोज तथा उद्धारका लागि नमुना अभ्यास गर्ने क्रममा आज बझाङमा डुबेर एक प्रहरी जवानको मृत्यु भएको छ ।
सदरमुकाम चैनपुर नजिकै सेती नदीमा नमुना अभ्यास देखाउने क्रममा सशस्त्र प्रहरी बलका जवान नरेन्द्रसिंह धामीको मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक भरत शाहका अनुसार केदारस्यूँ गाउँपालिका–७ खिकीरीका बासिन्दा समेत रहनुभएका उहाँको अभ्यासको क्रममा सेती नदीको बीच भागमा खसेर ज्यान गएको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला रेडक्रस र नेपाली सेनाले आज यहाँ संयुक्तरुपमा प्राकृतिक विपदका बेला बाढीमा फसेकाहरुको उद्धार सम्बन्धि नमुना अभ्यास देखाएको थियो । सोही क्रममा धामी डुबेर बेहोस भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेहोस भएका उनलाई जिल्ला अस्पताल लगिए पनि बचाउन भने सकिएन ।
भोजपुरको प्याउलीमा अरुण आँखा उपचार केन्द्र स्थापना
टक्सार (भोजपुर), २८ जेठ I नेपाल नेत्र ज्योति सङ्घ भोजपुर र अरुण गाउँपालिकाको संयुक्त सहकार्यमा प्याउलीमा अरुण आँखा उपचार सेवा केन्द्र स्थापना गरिएको छ । जिल्लाको पूर्वी क्षेत्रका नागरिकलाई आँखा उपचार सेवा दिने उद्देश्यका साथ अरुण गाउँपालिकाको केन्द्रप्याउलीमा आँखा उपचार सेवा केन्द्र सञ्चालनमा ल्याएको सङ्घका सभापति तेज मोक्तानले जानकारी दिनुभयो ।
नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय महासचिव भरत चन्द र अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले संयुक्तरुपमा उपचार केन्द्रको शुभारम्भ गर्नुभयो । सो अवसरमा अध्यक्ष खत्रीले आँखा उपचारको सेवाका लागि अन्यत्र जानुपर्ने अवस्थालाई अन्त्य गर्न सेवा केन्द्र स्थापना गरिएको हो भन्नुभयो ।
आफ्नै पालिकामा आँखा उपचार केन्द्र स्थापना भएर सञ्चालनमा आएपछि स्थानीयमा समेत खुसियाली छाएको गाउँपालिका उपाध्यक्ष विनिता ढकालले बताउनुभयो । गाउँपालिकाभित्र सात वटा वडा छन भने पौवादुङमा गाउँपालिकाका नागरिकले पनि उपचार केन्द्रबाट सेवा पाउने छन । नेपाल नेत्र ज्योति सङ्घ भोजपुरको प्राविधिक सहयोगमा गाउँपालिकाले एक जना कर्मचारीसमेत नियुक्त गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले बताउनुभयो । नेपाल नेत्र ज्योति सङ्घ भोजपुरका संस्थागत सभापति तेज मोक्तानको अध्यक्षतामा तथा नेपाल नेत्र ज्योति सङ्घका केन्द्रीय महासचिव चन्दको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा नेपाल नेत्र ज्योति सङ्घ कोशी प्रदेशका अध्यक्ष श्यामसुन्दर उदास, केन्द्रीय प्रवक्ता दोर्ण गुरागाई, सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र, विराटनगर आँखा अस्पतालका अध्यक्ष पदमनारायण चौधरी र स्थानीय समाजसेवीलगायतको सहभागिता रहेको थियो ।
मुसिकोट नेपानेमा बोलेरो गाडी हुँदा तीनको मृत्यु, तीन जना घाइते
काक्रेविहार (सुर्खेत), २८ जेठ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो आइतबार बेलुकी दुर्घटनामा परेको थियो ।
गाडी सडकबाट तल खस्दा बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ वर्षीय सौगात विक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका–५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले ल्याइएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको थियो ।
यसैगरी दुर्घटनामा घाइते हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दिया ठाकुरबाबा नगरपालिका–५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र सोही नगरपालिका कालीगौडीका २७ वर्षीय टीकाराम खनाल रहेको प्रवक्ता शाहीले जानकारी दिनुभयो । उनीहरूमध्ये विक र खनालको अवस्था गम्भीर छ ।
उनीहरुको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज ‘रिफर’ गरिएको छ । घाइते थापाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । बाँफिकोट क्षेत्रमा ‘फाइबर नेट’ विस्तार गरिरहेका उनीहरू छिनखेतमा बस्दै आएका थिए । गाडी सडकबाट करिब दुई सय मिटरभन्दा तल खस्दा तीन टुक्रा भएको बताइएको छ ।
क्यान्सरपीडित खेलाडीलाई आर्थिक सहयोग
काठमाडौँ, २५ जेठ I नेपाल महिला फुटबल सङ्घको पहलमा क्यान्सरपीडित पूर्वफुटबल खेलाडी गङ्गा गुरुङलाई स्वास्थ्य उपचारका लागि आज आर्थिक सहयोग प्रदान गरिएको छ ।
महिला फुटबल सङ्घका पदाधिकारी, खेल पत्रकार, शिक्षक र विदेशमा रहेका नेपालीबाट सङ्कलित रु एक लाख पाँच हजार जमुना गुरुङलाई हस्तान्तरण गरिएको महिला फुटबल सङ्घकी महासचिव विना श्रेष्ठले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालबाट पहिलो गोल गर्ने पूर्वकप्तान तथा महिला फुटबल सङ्घकी अध्यक्ष पेम्बा डोल्मा लामाले हस्तान्तरण गर्दै गङ्गाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।
सो अवसरमा फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङ, नेपालबाट छनोट चरण पार गरी ओलम्पिक खेल्ने पहिलो खेलाडी तेक्वान्दोकी स(ङ्गीना वैद्य, पूर्वकप्तानद्वय जमुना गुरुङ र चन्द्रा भण्डारीको उपस्थिति रहेको थियो । गंगाले भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार गराइरहनुभएको छ ।
आलेखः भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट
- रमेश गिरी
भक्तपुर, २४ जेठ I सेतो लामो एकतले भवन । जस्ताको छानो भए पनि राणाकालीन शैलीझैँ देखिने उक्त भवनमा आजभन्दा एक सय २० वर्ष अगाडि ‘श्री चन्द्रलोक डिस्पेन्सरी’को नामबाट स्वास्थ्य सेवा सुरु गरेको नेपालकै दोस्रो पुरानो अस्पताल हो ‘भक्तपुर अस्पताल’ ।
स्थापनाको सय वर्ष पार गरिसक्दा पनि सेवा विस्तारदेखि स्तरोन्नतिमा पछाडि पर्दै आएको यस अस्पताल मेडिकल माफियाका चुङ्गुलमा पर्दा वर्षौँसम्म ‘रिफर सेन्टर’का रूपमा परिणत भएको थियो । भ्रष्टाचारसम्बन्धी विवाद आइरह्यो, जनताको विश्वास गुम्दा बिरामीले भक्तपुर अस्पताल रोज्न छाडे । भक्तपुर अस्पताल आफँै बिरामी भनेर कयौँपटक समाचार आए पनि ।
तर कोरोना महामारीको सङ्कटमा भक्तपुर अस्पतालको नेतृत्व सम्हाल्न आइपुग्नुभएकी एक महिला प्रमुखको अथक मेहनत र प्रयासले अहिले यो अस्पताल लगातार दुईपटक देशका सात प्रदेशमध्येका उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । यस वर्ष पनि देशभरमा अस्पतालमध्ये उत्कृष्ट अस्पताल बन्न सफल भयो ।
भ्रष्टाचार, कमिसन र माफियाको चुङ्गुलबाट अस्पताललाई जोगाउने र निश्चित नियम एवं मापदण्डको परिधिभित्र रहेर अस्पताल सञ्चालन गर्ने हो भने भौतिक पूर्वाधारदेखि स्वास्थ्य सेवामा समेत जनताको मन जित्ने गरी फड्को मार्न सकिन्छ भन्ने उदाहरण भक्तपुर अस्पतालमा तेस्रोपटक मेडिकल डाइरेक्टर भएर आउनुभएकी डा सुमित्रा गौतमले चरितार्थ गरेर देखाउनुभएको छ ।
सेवा विस्तार गर्न नसक्दा, आइसीयू नहुँदा, आकस्मिक कक्षमा आएका बिरामीलाई सामान्य जाँचपछि निजी अस्पतालमा पठाउने परम्पराले क्लिनिकको रूपमा बदनाम बन्दै आएको यस अस्पतालको नेतृत्वमा इच्छाशक्ति बलियो भएको प्रमुख आउँदा अस्पतालको स्वरुप परिवर्तन हुन्छ भन्ने भनाइलाई डा गौतमले चरितार्थ गरेको भक्तपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष नवराज गेलाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “म दुई वर्ष भक्तपुर अस्पतालको अध्यक्ष भइरहँदा दुई जना मेसु फेरिए, मैले पटकपटक मन्त्रालय धाएर पाँच शय्याको आइसीयू सञ्चालनका लागि सबै सामान ल्याएँ तर तत्कालीन मेसुले आइसीयू सञ्चालन गर्न नै चाहनुभएन ।” अहिले कमिसन र भ्रष्टाचारको दलदलबाट अस्पताललाई जोगाउन सकिएको उहाँको भनाइ छ ।
अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष प्रेम खड्का भक्तपुर अस्पताललाई प्रदेश नभई सरकारले केन्द्रीय अस्पतालको रुपमा विकास गर्नुपर्ने बताउनुहुन्छ । आफू अध्यक्ष हुँदा त्यसको लागि निकै पहल गरेको भए पनि असफल भएको भन्दै केन्द्रीय सरकारको छायाँमा परेको र आफ्ना स्वार्थमात्रै हेर्ने प्रमुख आउँदा अस्पताल समस्यामा पर्ने गरेको बताउनुहुन्छ । अहिले अस्पतालको मुहार फेरिएको देख्दा आनन्द आउने बताउँदै उहाँले केही गर्छु भन्ने व्यक्तिलाई सम्बन्धित मन्त्रालयले अनावश्यक सरुवा गर्न नहुने बताउनुहुन्छ ।
अस्पताल विकास समितिको अध्यक्ष रमन कायस्थले अस्पताल एउटा जिल्लाको लागि मात्रै नभई पूर्वी जिल्लाका बिरामीका लागि भरोसाको केन्द्र बनिरहेको बताउनुभयो । बिरामीमा यस अस्पतालप्रति बढिरहेको बिश्वास र भरोसालाई टुट्न नदिन सरकारले मेडिकल माफियाको चुङ्््गुलमा परेर अस्पतालका निर्देशक छिटो फेर्ने प्रचलन बन्द गर्नु पर्ने उहाँ बताउनुहुन्छ ।
तत्कालीन श्री ३ प्रधानमन्त्री चन्द्रशमशेर राणाले १९६१ असार १७ गते आफ्नै नाम जोड्दै १५ शय्याको ‘श्री चन्द्रलोक डिस्पेन्सरी’ नामबाट स्थापना गर्नुभएको भक्तपुर अस्पताल अहिले नेपालकै दोस्रो जेठो अस्पतालको रुपमा परिचित छ । १९४७ साउन १२ गते श्री ३ वीरशमशेरले स्थापना गरेको नेपालकै पहिलो वीर अस्पतालपछि स्थापना भएको भक्तपुर अस्पताल जन्मिएको भवन यतिखेर भक्तपुर क्यान्सर अस्पतालले प्रयोग गरिरहेको छ ।
विसं २०५१ मा क्यान्सर केयर सेन्टरको नाममा नेपाल अबुर्द रोग निवारण संस्थाले भक्तपुर अस्पतालसँगको समन्वयमा उक्त भवन लिएर नेपालकै पहिलो क्यान्सर रोग विशेषज्ञ एवं शल्य चिकित्सक डा अञ्जनीकुमार शर्माको नेतृत्वमा क्यान्सर रोगको परीक्षण सुरु गरिएको थियो । २०५६ असोज २१ गते तत्कालीन राजा श्री ५ वीरेन्द्रले उद्घाटन गर्नुभएको उक्त क्यान्सर केयर सेन्टर अहिले नेपाल सरकारको सुविधासम्पन्न क्यान्सर अस्पताल बनिसक्दा पनि एक सय २० वर्ष पुरानो त्यो भवन अस्पतालकै रुपमा उपयोगमा आइरहेको छ ।
भक्तपुर नगरपालिका–१, दूधपाटीमा रहेको भक्तपुर अस्पताल ६७ वर्षपछि २०२८ सालमा ५० शैय्यामा विस्तार भई जिल्लास्तरीय अस्पतालको पहिचान बनाएको थियो । २०५८ जेठ १९ गते आकस्मिक (इमर्जेन्सी) सेवाको लागि अमेरिकी सैनिक सहयोगमा छुट्टै भवन निर्माण गरिदिएपछि आकस्मिक उपचार सेवा सुरु गरेको थियो । २०६१ भदौ २८ गते २५ शय्याको प्रसूति सेवा थप भई ७५ शय्यामा विस्तार हँुदै २०७६ चैत ३ गते अस्पताल व्यवस्थापन समितिले २५ शय्या थप गरी १०० शय्यामा विस्तार गरी सञ्चालनमा आएको थियो ।
कोरोना महामारीमा उपचार नपाउने अवस्थामा पहिलोपटक अस्पतालको जिम्मेवारी सम्हाल्न २०७६ मङ्सिर २० गते सिन्धुली अस्पतालबाट सरुवा भई आउनुभएकी डा सुमित्रा गौतमले अगाडि चौरमा तत्कालै अस्थायी कोरोना वार्ड स्थापना गरेर उपचार सुरु गर्नुभयो । कोरोना महामारीमा राख्ने शय्याको अभाव । न आइसीयू, न भेन्टिलेटर, न त जनशक्ति नै पर्याप्त थियो ।
उहाँको पहलमा अस्पताल स्थापना भएको एक सय १५ वर्षपछि पहिलोपटक कोभिडकालमा भक्तपुरमा आइसीयू सेवा सुरु भयो । बागमती प्रदेश सरकारले कोभिडका बिरामीहरुको उपचारका लागि भन्दै सुरुमा छ र पछि १० शय्या थप गरी १६ शय्याको सघन उपचार कक्ष (आइसीयू) सञ्चालन भयो । त्यसपछि आइसोलेसन वार्ड, नवजात तथा बालबालिकाको जटिल उपचारका लागि २० शय्याको पिआइसीयू र एनआइसीयूसहित एक सय ८८ शय्यामा सेवा विस्तार गर्दै सङ्कटकालमा पनि गुनासो नआउने गरी अस्पतालले सेवा सञ्चालन गर्यो ।
चीनबाट पहिलोपटक उद्धार गरेर सरकारले खरिपाटीस्थित आइसोलेसन सेन्टरमा नेपाली विद्यार्थी ल्यायो । सर्वत्र त्रास फैलिएको बेलामा आइसोलेसनमा जाने चिकित्सक टोली तयार भएनन् । त्यो सङ्कटमा प्रदेश सरकारको आग्रहलाई स्वीकार्दै तत्कालीन मेसु डा गौतमको नेतृत्वमा भक्तपुर अस्पताल, क्यान्सर अस्पताल र मानव अङ्गका स्वास्थ्य टोली तयार पारेर चिकित्सकसहितको टोली आइसोलेसन सेन्टरमा खटियो ।
विसं २०७७ साउन २५ गते सङ्घीय मन्त्रालयको निर्णयअनुसार एक सय नौ शय्या थप गरी यो अस्पताल दुई सय नौ शय्या सञ्चालनका लागि स्वीकृति प्राप्त भई कोभिड–१९ को महामारीकै समयमा कोरोनाको उपचार, अक्सिजन प्लान्ट सञ्चालनदेखि आइसीयूमा रहेका बिरामी कुरुवा घरसमेत निर्माण भयो । कुरुवा घर, सुन्दर बगैँचा, बिरामी र आफन्त बस्ने विश्रामस्थललगायतका संरचना निर्माण हुँदा अस्पतालप्रति बिरामीको र कुरुवाले ठूलै राहत महसुस गरे । निजी अस्पतालको भर परेका बिरामीसमेत यहाँ आउन थालेपछि बहिरङ्गतर्फ दैनिक तीन सय बिरामी आउने अस्पतालमा दैनिक आठ सय बिरामीको चाप पुगेको छ ।
‘रिफरल सेन्टर’का रूपमा परिचित भक्तपुर अस्पताल गुणस्तरीय सेवाका कारण सरकारको मूल्याङ्कनमा पहिलोपटक बागमती प्रदेशको उत्कृष्ट अस्पताल घोषणा हुन सफल भयो । अहिले बागमती प्रदेश सरकारले यस अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरी एक हजार छ सय ६९ जना (प्राविधिकसहित) कर्मचारीको सङ्गठन संरचना स्वीकृत गर्दै अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले यसै आर्थिक वर्षमा खरिद गर्ने गरी करिब रु आठ करोड मूल्यको सिटी स्क्यान मेसिन खरिद गर्ने भएको छ ।
अस्पतालकी निर्देशक डा गौतम अस्पताल आएका कुनै पनि बिरामी उपचार नपाइ फर्किनु नपरोस् भनेर अस्पतालले २४सै घण्टा आकस्मिक सेवा, स्त्रीरोग, प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेको बताउनुहुन्छ । अहिले अस्पतालमा दूरबिन प्रविधिबाट शल्यक्रिया, अल्जाइमर्स, सर्जरी, बालरोग, दन्तरोग, छाला रोग, मानसिक रोग, फिजियोथेरापी, आँखा तथा चश्मा जाँच, स्वास्थ्य बीमा सेवा, अल्ट्रासाउण्ड सेवा, पाठेघरको निःशुल्क शल्यक्रिया तथा निःशुल्क प्रसूति सेवालगायत विभिन्न सेवा विस्तार भएको छ । अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएर औषधि खरिदमा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।
त्यसैगरी लैङ्गिक हिंसामा परेका महिला तथा पुरुषका लागि अस्पतालमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएर कुनै पनि हिंसामा परेकालाई स्वास्थ्य सेवा, सुरक्षा एवं कानुनी सेवासमेत दिने व्यवस्था गरेको निर्देशक डा गौतम बताउनुहुन्छ । अस्पतालले पेइङ क्लिनिक सेवा पनि सञ्चालनमा ल्याएको छ । अस्पतालको ओपिडी सेवा सकिएपछि दिउँसो ३ बजेदेखि र बिहान ९ बजे अगाडि पेइङ सेवा सञ्चालनमा ल्याएको हो । साथै विभिन्न जटिल शल्यक्रिया, खुट्टा, छाती, पेटलगायत विशेष अङ्गहरूको भिडियो एक्सरे सेवा र प्रत्येक दिन बुधबार ३ बजेपछि अपाङ्ग बच्चा नजन्मियोस् भनेर गरिने भिडियो एक्सरे अर्थात् एनोमली स्क्यान र दूरबिन प्रविधिबाट शल्यक्रिया सेवासमेत सञ्चालनमा ल्याएको छ ।
दुई वर्षमा अस्पतालको मुहार फेरेपछि दैनिक दुई सय ५० देखि तीन सय बिरामीको उपचारमा आउने यस अस्पतालमा अहिले दैनिक आठ सयभन्दा बढी बिरामी आउने गरेका छन् । अस्पतालको सेवा खस्किएको भन्दै चौतर्फी आलोचना भएपछि पुनः २०७९ भदौ २९ गते भक्तपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेन्टमा काज सरुवा भएर आफू आएपछि बन्द भएका बच्चाको आइसीयू, एनआइसीयूलगायत बिभिन्न सेवाहरु सञ्चालन गरी प्रसूति सेवालाई समेत गुणस्तरीय बनाएपछि सरकारको मूल्याङ्कनमा पुन ९८ दशमलव सात प्रतिशत अङ्क ल्याएर सातै प्रदेशका प्रदेशस्तरीय अस्पतालमध्ये उत्कृष्ट अस्पतालको पहिचान बनाउन सफल भएको बताउनुभयो । \
अस्पतालकी निर्देशक डा गौतमले आफ्नो योजना, विकास समिति, सबै डाक्टर, नर्स, कर्मचारीको अथक प्रयास र सेवा सुधारले आफ्नै कार्यकालमा पहिलोपटक २०७७ मा ७४ अङ्क, २०७८ मा ८४ अङ्क ल्याउन सफल हँुदै पहिलो अस्पताल र २०८० को मूल्याङ्कनमा ९७ अङ्क र यस वर्ष ९८ अङ्क आएर देशकै उत्कृष्ट अस्पताल बनेकामा आफूलाई खुसी लागेको बताउनुहुन्छ । अस्पतालको निर्देशक डा गौतमको लगनशीलता, सेवामा गुणस्तरीयता र कर्मचारीको भरपर्दो साथले यस वर्ष पनि उत्कृष्ट अस्पताल घोषणा भएको भन्दै अध्यक्ष कायस्थले छिटोछिटो अस्पतालको नेतृत्व फेरबदल गरिनु नहुने धारणा राख्नुहुन्छ ।