७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण
काठमाडौँ, १ असार: डेङ्गु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको सङ्क्रमण बढेको बताउनुभयो ।
उहाँले गर्मीमा मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको बताउनुभयो । “गर्मीमा पानी सङ्कलन गरेर राख्ने गरिन्छ । त्यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार ७१ जिल्लामा एक हजार एक सय ३० जनामा सङ्क्रमणमा देखिएको छ । गत वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनालाई डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो । उहाँका अनुसार कोशी प्रदेशमा दुई सय ७२, मधेस प्रदेशमा ३०, बागमती प्रदेशमा तीन सय ९०, गण्डकी प्रदेशमा एक सय ७५, लुम्बिनी प्रदेशमा एक सय ३२, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा एक सय १५ जनामा सङ्क्रमण देखिएको छ ।
उपत्यकामा एक सय ५९ जनामा सङ्क्रमण
काठमाडौँमा एक सय १४ जना, भक्तपुरमा २७ जना र ललिपतुरमा १८ जनामा सङ्क्रमण देखिएको छ । डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कने र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ ।
डेङ्गु सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन् । लामखुट्टेबाट बच्नका लागि सधँै झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ ।
यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरी गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिन हुँदैन ।
ताप्लेजुङ पहिरो अपडेटः मृतकलाई सुरक्षित स्थानमा ल्याइयो
फुङ्लिङ (ताप्लेजुङ), ३२ जेठ I ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा तिङ्दुमा गाउँमा गएराति गएको पहिरोमा परी मृत्यु हुनेलाई सुरक्षित स्थानमा ल्याइएको छ । नेपाल प्रहरी र स्थानीयले पहिरोले पुरिएर मृत्यु भएकालाई सुरक्षित स्थानमा ल्याएको हो ।
पहिरोमा पुरिएर फक्ताङलुङ–२ का ७० वर्षीय रामबहादुर साम्रा, ५१ वर्षीया जसमाया लिबाङ साम्रा, १० वर्षीया जुम्लिया गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो । घाइते ४० वर्षीय का युगेन लिम्बू र उहाँका ३ वर्षीया छोरीलाई सिंवालाई स्वास्थ्य चौकीमा सामान्य उपाचारपछि थप उपचारका लागि जिल्ला अस्तालमा पठाइएको छ ।
फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष विकास साम्राका बुबाआमा र दुई जुम्लिया बहिनीको पहिरोले पुरिएर मृत्यु भएको प्रहरी निरीक्षक लुङ्गेलीले बताउनुभयो ।
घरमा सुतिरहेका अवस्थितमा गएराति करिब १ः३० बजेको समयमा घर माथिबाट आएको पहिरोले घरसँगै एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । फक्ताङलुङ–२ वडाध्यक्षका अनुसार मृत्यु भएकालाई पहिरोबाट सुरक्षित स्थानमा निकालिएको छ ।
थप उद्धार गर्न फुङलिङ नगरपालिका–१० मित्लुङ हाइड्रोपावर सुरक्षाका लागि नेपाली सेनाको सुरक्षा बेस टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लुङ्गेलीको टोली खटिएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।
ढुङ्गा माटोले बनेको टिनको छानो भएको दुई तलेघर माथिबाट झरेको पहिरोले घर पुरेपछि सुतेको अवस्थामा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुने मानिसका साथै चौपाया पनि निकाली सुरक्षित स्थानमा राखिएको छ ।
बुधबार राति आएको वर्षासँगैको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रका छ वटा स्थायी मोटर पुल बगाएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
फिस्लिङ दुर्घटना अपडेट : उपचारका क्रममा चालकको मृत्यु
मुग्लिन (चितवन), ३२ जेठ I पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ ।
दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रुबाहक बस र काठमाडौँबाट मुग्लिनतर्फ आइरहेको बागमती प्रदेश ०२–०२९च ३७२० नम्बरको कार एकापसमा ठोक्किएर उक्त दुर्घटना भएको हो । दुर्घटना परी १३ जना घाइते भएका छन् ।
घाइते तीन जनाको अवस्था गम्भीर छ । चार जना उपचारपश्चात् घर फर्किएको प्रहरीले जनाएको छ । कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेको थियो ।
म्याग्दी र बागलुङ जिल्लाको सिमानामा जडीबुटी अनुसन्धान केन्द्र
ढोरपाटन (बागलुङ), ३२ जेठ I जिल्लाको तमानखोला गाउँपालिकाको पर्यटकीयस्थल सोलेडाँडालाई जडीबुटी अनुसन्धान केन्द्र बनाइने भएको छ । समुद्री सतह देखि दुई हजार सात सय मिटरको उचाइमा रहेको सोलेडाँडा म्याग्दी र बागलुङको सिमानामा पर्दछ ।
उच्च पहाडी क्षेत्रमा रहेको सोलेडाँडालाई पर्यटकीय केन्द्रसँगै जडीबुटी अनुसन्धान केन्द्र बनाउन थालिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलला बुढामगरले बताउनुभयो । गाउँपालिकाले अघिल्लो वर्षदेखि अनुसन्धान केन्द्र निर्माण गर्न थालेको उहाँको भनाइ छ ।
सोलेडाँडा र यस क्षेत्र आसपासमा पाइने सबै प्रकारका जडीबुटीको नमूना सङ्कलन गरी विद्यार्थी तथा अन्य व्यक्तिका लागि अनुसन्धान थलोका रुपमा विकास गरिने अध्यक्ष बुढामगरले बताउनुभयो । अनुसन्धान केन्द्रमा गाउँपालिकाभरिका जङ्गल तथा तीन हजार पाँच सय मिटरको उचाइसम्म पाइने जडीबुटी सङ्कलन गरिने उहाँले जानकारी दिनुभयो । तमानखोलाको मात्रै नभई ढोरपाटनमा पाइने जडीबुटी पनि ल्याउने योजना रहेको उहाँको भनाइ छ ।
उच्च पहाडी क्षेत्रमा पाइने जडीबुटीको खोजी गरेर नमूना सङ्कलन गर्ने तथा जडीबुटीको महत्व र गुणकाबारे प्रचारप्रसार गरिने अध्यक्ष बुढामगरले बताउनुभयो । उहाँका अनुसार पालिकाले हालसम्म करिब रु १० लाख खर्च गरेर केन्द्र निर्माण गरिरहेको छ ।
योसँगै पालिकाले सोलेडाँडामा रु ५० लाख लगानीमा पर्यटन पूर्वधारसहित सहिद पार्क निर्माण गरेको छ । पर्यटनको विकाससँगै अनुसन्धान केन्द्रले सोलेडाँडामा धेरै पर्यटक आकर्षित गर्ने अपेक्षा लिइएका छ ।
“सोलेडाँडा जिल्लाका साथै वरपर निकै चर्चित छ । यहाँ आन्तरिक पर्यटकको आगमन बाक्लो छ, अनुसन्धान केन्द्रले थप पर्यटक तथा खोज÷अनुसन्धान गर्ने विद्यार्थीलाई आकर्षित गर्नेछ”, अध्यक्ष बुढामगरले भन्नुभयो, अनुसन्धान केन्द्र बनाएसँगै यहाँ पाइने जडीबुटीको पहिचान हुन्छ । त्यसको महत्व आमनागरिकलाई बुझाउन तथा बजारसँग जोड्ने सहज हुन्छ । यसले स्थानीयको आर्थिक स्तर वृद्धि हुनुका साथै अझै धेरै पर्यटक बढ्ने छन् ।”
स्थानीय मीनबहादुर सिर्पालीले सोलेडाँडामा अनुसन्धान केन्द्र सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने बताउनुभयो । अहिले स्थानीय उत्पादनले खासै बजार नपाएको भन्दै दुई-चार वर्षपछि गाउँबाटै बिक्री हुने उहाँको भनाइ छ ।
अहिले पनि सोलेडाँडामा दैनिक पर्यटक आउने गरेका भन्दै गाउँपालिकाले अनुसन्धान केन्द्र बनाउँदा यस क्षेत्रका नागरिकले बढी लाभ लिन सक्ने सिर्पालीले सुनाउनुभयो । यो क्षेत्र भौगोलिक हिसाबले पिछडिएको जनाउँदै पछिल्लो समय विस्तारै विकासले गति लिन थालेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने : मन्त्री प्रदीप यादव
(स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव शुक्रबार भरतपुर बिमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै । तस्बिर : सनद अधिकारी)
चितवन, ३२ जेठ I स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएको भन्दै राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई परिवर्तन गरिने बताउनुभयो ।
अस्पतालमा प्रमुखको जिम्मेवारी हेरफेरले समस्या नहुने भन्दै मन्त्री यादवले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएकाले आवश्यकता र कामको प्रकृतिका आधारमा कर्मचारीलाई मन्त्रालयमा तान्ने वा अन्यन्त्र पठाउने बताउनुभयो ।
मन्त्री यादवले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न मन्त्रालयले सरकारसँग समन्वय गरी कार्ययोजना बनाउने बताउनुभयो । बीमा स्वायत्त संस्था भएकाले मन्त्रालयले कुनै पनि हस्तक्षेप गर्न नमिल्ने भन्दै उहाँले यहाँ देखिएका समस्या समाधानका लागि मन्त्रालय र सरोकार भएकाबीच छलफल गरिने बताउनुभयो ।
मन्त्री यादवले भन्नुभयो, “स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न हामी गम्भीर छाैँ । कसरी प्रभावकारी र गुणस्तरीय सेवा दिने भन्नेमा छलफल गरी सहकार्य र समन्वयका आधारमा कार्ययोजना नाउने छौँ ।” उहाँले स्वास्थ्य बीमामार्फत जनताले प्रत्यक्ष राहात पाउने भएकाले यसको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले योजना बनाइरहेको बताउनुभयो ।
बीमा कार्यक्रमलाई मन्त्रालय माताहत ल्याउन ऐन परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै मन्त्री यादवले यस विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । जनशक्ति अभाव भएका अस्पतालहरुमा आवश्यक जनशक्ति थप गर्न मन्त्रालयले परिपत्र गरिसकेको उहाँले बताउनुभयो ।
मन्त्री यादवले भन्नुभयो, “देशका सबै अस्पतालमा जनशक्ति थप्ने निर्णय भएको छ । त्यसका लागि प्रक्रिया अघि बढिसकेको छ ।” आवश्यकता अनुसार अस्पतालहरुले कर्मचारी भर्ना गर्न सक्ने व्यवस्था गरिएको उहाँको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठनद्वारा भारतमा ‘मानवमा बर्ड फ्लू’को सङ्क्रमण पुष्टि
कलकत्ता, भारत, ३० जेठ (रासस/एएनआई) I पश्चिम बङ्गालमा चार वर्षीय बच्चामा एच–९ एन–२ भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य सङ्गठनले भारतमा बर्ड फ्लूको मानव सङ्क्रमण पुष्टि गरेको छ ।
भारतबाट डब्ल्यूएचओलाई अधिसूचित एभियन इन्फ्लुएन्जा ए (एच–९ एन–२) को यो दोस्रो मानव सङ्क्रमण हो । पहिलो सन् २०१९मा पुष्टि गरिएको थियो । सङ्क्रमित बच्चा भने निको भई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
पश्चिम बङ्गालमा एभियन इन्फ्लुएन्जा भाइरसको मानव सङ्क्रमणसम्बन्धी खबर डब्ल्यूएचओका भारतका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन अधिकारीबाट अधिसूचना प्राप्त गरेको डब्ल्यूएचआले प्रेस विज्ञप्तिमा जनाएको छ ।
श्वासप्रश्वासमा गम्भीर समस्या, बारम्बार उच्च ज्वरो र पेटमा ऐंठनका कारण बिरामीलाई स्थानीय अस्पतालको बाल स्याहार एकाइ (आईसीयू) मा भर्ना गरी उपचार सुरू गरिएको थियो ।
उनलाई फेब्रुअरी २८ मा अस्पतालबाट डिस्चार्ज गरिएको थियो तर श्वासप्रश्वासको गम्भीर कष्टको पुनरावृत्तिपछि उनलाई अर्को सरकारी अस्पतालको बाल आईसीयूमा भर्ना गरिएको थियो भने मार्च ३ मा उनलाई ट्युव राखेर औषधि दिने काम गरिएको थियो ।
विरामीको रगत तथा खकारको नमूनालाई कोलकाता भाइरस रिसर्च एन्ड डायग्नोस्टिक प्रयोगशालामा पठाइएको र त्यहाँको परीक्षणबाट उनलाई एच–९ एन–२ सङ्क्रमण पुष्टि भएको हो । बिरामीलाई मे १ मा अक्सिजन सहयोगसहित अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
डब्लुएचओले सङ्क्रमित बिरामी घर र वरपरको कुखुराको सम्पर्कमा आएका हुनसक्ने जनाएको छ ।
यद्यपि, यस सङ्क्रमणसँग सम्बन्धित परिवार, छिमेकमा वा वा स्वास्थ्यकर्मीमा श्वासप्रश्वासको रोगको लक्षणका ज्ञात व्यक्तिहरू नभेटिएको उल्लेख गरिएको छ ।
विश्वव्यापी मार्ग निर्देशन अनुरूप मानव र पशु दुवै क्षेत्रमा प्राविधिक सल्लाह, जोखिम मूल्याङ्कन र आकस्मिक योजना अद्यावधिक गरेर भारत सरकारलाई निरन्तर सहयोग प्रदान गरिरहेको डब्लुएचओले जनाएको छ ।
असार मसान्तसम्म बीमा नवीकरण गराइसक्नुपर्ने
काठमाडौँ, २८ जेठ I स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ । बोर्डले आज एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा विसं २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ गतेदेखि सेवा सुरु गरेका बीमितहरुले सेवा निरन्तरताका लागि उक्त अवधिभित्र नवीकरण गरिसक्नुपर्ने जनाएको हो ।
नवीकरणका लागि आ-आफ्नो वडामा रहेका दर्ता सहयोगीका साथै अनलाइनमार्फत गर्न सकिने बोर्डले जनाएको छ । विसं २०८१ साउन १ गते देखिको नयाँ दर्ता तथा नवीकरण स्वतः २०८१ मङ्सिर १ देखि क्रियाशील हुने सूचनामा उल्लेख छ । बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार आजसम्म बीमित जनसङ्ख्या ८० लाख ७९ हजार सात सय ८२ जना छन् । हालसम्म ५० लाख ३८ हजार आठ सय ४० जनाले नवीकरण गराएका छन् ।
सूचना अधिकारी कँडेलले सेवा लिनेले हरेक वर्ष नवीकरण गराउनैपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नवीकरण आवश्यक छ । नयाँ दर्ता गराउन चाहनेले आफू बस्ने वडामा गएर स्वास्थ्य बीमा गराउन सक्छन् । प्रत्येक वडामा दर्ता सहयोगी छन् ।”
उद्धारको नमुना अभ्यासका क्रममा डुबेर प्रहरी जवानको मृत्यु
चैनपुर (बझाङ), २८ जेठ I विपद् व्यवस्थापनको खोज तथा उद्धारका लागि नमुना अभ्यास गर्ने क्रममा आज बझाङमा डुबेर एक प्रहरी जवानको मृत्यु भएको छ ।
सदरमुकाम चैनपुर नजिकै सेती नदीमा नमुना अभ्यास देखाउने क्रममा सशस्त्र प्रहरी बलका जवान नरेन्द्रसिंह धामीको मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक भरत शाहका अनुसार केदारस्यूँ गाउँपालिका–७ खिकीरीका बासिन्दा समेत रहनुभएका उहाँको अभ्यासको क्रममा सेती नदीको बीच भागमा खसेर ज्यान गएको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला रेडक्रस र नेपाली सेनाले आज यहाँ संयुक्तरुपमा प्राकृतिक विपदका बेला बाढीमा फसेकाहरुको उद्धार सम्बन्धि नमुना अभ्यास देखाएको थियो । सोही क्रममा धामी डुबेर बेहोस भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेहोस भएका उनलाई जिल्ला अस्पताल लगिए पनि बचाउन भने सकिएन ।
भोजपुरको प्याउलीमा अरुण आँखा उपचार केन्द्र स्थापना
टक्सार (भोजपुर), २८ जेठ I नेपाल नेत्र ज्योति सङ्घ भोजपुर र अरुण गाउँपालिकाको संयुक्त सहकार्यमा प्याउलीमा अरुण आँखा उपचार सेवा केन्द्र स्थापना गरिएको छ । जिल्लाको पूर्वी क्षेत्रका नागरिकलाई आँखा उपचार सेवा दिने उद्देश्यका साथ अरुण गाउँपालिकाको केन्द्रप्याउलीमा आँखा उपचार सेवा केन्द्र सञ्चालनमा ल्याएको सङ्घका सभापति तेज मोक्तानले जानकारी दिनुभयो ।
नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय महासचिव भरत चन्द र अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले संयुक्तरुपमा उपचार केन्द्रको शुभारम्भ गर्नुभयो । सो अवसरमा अध्यक्ष खत्रीले आँखा उपचारको सेवाका लागि अन्यत्र जानुपर्ने अवस्थालाई अन्त्य गर्न सेवा केन्द्र स्थापना गरिएको हो भन्नुभयो ।
आफ्नै पालिकामा आँखा उपचार केन्द्र स्थापना भएर सञ्चालनमा आएपछि स्थानीयमा समेत खुसियाली छाएको गाउँपालिका उपाध्यक्ष विनिता ढकालले बताउनुभयो । गाउँपालिकाभित्र सात वटा वडा छन भने पौवादुङमा गाउँपालिकाका नागरिकले पनि उपचार केन्द्रबाट सेवा पाउने छन । नेपाल नेत्र ज्योति सङ्घ भोजपुरको प्राविधिक सहयोगमा गाउँपालिकाले एक जना कर्मचारीसमेत नियुक्त गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले बताउनुभयो । नेपाल नेत्र ज्योति सङ्घ भोजपुरका संस्थागत सभापति तेज मोक्तानको अध्यक्षतामा तथा नेपाल नेत्र ज्योति सङ्घका केन्द्रीय महासचिव चन्दको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा नेपाल नेत्र ज्योति सङ्घ कोशी प्रदेशका अध्यक्ष श्यामसुन्दर उदास, केन्द्रीय प्रवक्ता दोर्ण गुरागाई, सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र, विराटनगर आँखा अस्पतालका अध्यक्ष पदमनारायण चौधरी र स्थानीय समाजसेवीलगायतको सहभागिता रहेको थियो ।
मुसिकोट नेपानेमा बोलेरो गाडी हुँदा तीनको मृत्यु, तीन जना घाइते
काक्रेविहार (सुर्खेत), २८ जेठ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो आइतबार बेलुकी दुर्घटनामा परेको थियो ।
गाडी सडकबाट तल खस्दा बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ वर्षीय सौगात विक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका–५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले ल्याइएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको थियो ।
यसैगरी दुर्घटनामा घाइते हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दिया ठाकुरबाबा नगरपालिका–५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र सोही नगरपालिका कालीगौडीका २७ वर्षीय टीकाराम खनाल रहेको प्रवक्ता शाहीले जानकारी दिनुभयो । उनीहरूमध्ये विक र खनालको अवस्था गम्भीर छ ।
उनीहरुको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज ‘रिफर’ गरिएको छ । घाइते थापाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । बाँफिकोट क्षेत्रमा ‘फाइबर नेट’ विस्तार गरिरहेका उनीहरू छिनखेतमा बस्दै आएका थिए । गाडी सडकबाट करिब दुई सय मिटरभन्दा तल खस्दा तीन टुक्रा भएको बताइएको छ ।