कोशी, गण्डकी र मधेश प्रदेशको केही स्थानमा भारी बर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेका हुनाले नेपालमा मनसुन केही कमजोर रहेको छ । जसका कारण धेरै स्थानमा वर्षाको सम्भावना कम छ तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने जारी रहेको छ ।
विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लागायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र तराई भू–भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ विभागले जनाएको छ ।
विभागका अनुसार आज राती मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका तराई र पहाडी भू–भागमा थोरै र बाँकी भू–भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा भारी बर्षाको सम्भावना रहेको छ ।
सरकारका कार्यक्रम गरिब र पीडितका घरमा पुग्न सकेन् : पूर्वमुख्यमन्त्री कार्की
इटहरी । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अहिलेको सरकारका कार्यक्रम गरिब र पीडितका घरमा पुग्न नसकेको बताएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ तिनपैनीस्थित सुकुम्बासी दर्जी परिवारलाई जस्तापाता सहयोग गर्दै उनले विपन्न र सुकुम्बासी समुदायमाथि सरकारको ध्यान पुग्न नसकेको बताएका हुन् ।
उनले भने, ‘सरकारका कार्यक्रम गरिब र पीडित घर–घरमा पुग्न सकिरहेको छैनन्, त्यसैले हामीले आफैं पहल गरेर सहयोग गर्नुपर्ने अवस्था छ ।’
सो अवसरमा कार्कीले विपन्न र सुकुम्बासी समुदायलाई सरकारको ध्यान पुग्न नसकेकोमा चिन्ता व्यक्त गर्दै आफूले नेतृत्व सम्हालेको समयदेखि नै जनतामुखी अभियानलाई प्राथमिकता दिएको बताए । उनले भने, ‘सरकारका कार्यक्रम गरिब र पीडित घर–घरमा पुग्न सकिरहेको छैनन्, त्यसैले हामीले आफैं पहल गरेर सहयोग गर्नुपर्ने अवस्था छ ।’
कार्कीको नेतृत्वमा यसअघि विराटनगरमा समेत सुकुम्बासीहरुको पुनःस्थापनाका लागि नमूना बस्ती निर्माण गरिएको छ ।
विराटनगर–१२ मा बनेको नमूना बस्ती उनको अग्रसरतामा सम्पन्न भएको उल्लेख गर्दै उनले सुन्दरहरैंचामा गरिएको यो सहयोग पनि त्यसैको निरन्तरता भएको बताए ।
स्थानीय बासिन्दाले पूर्वमुख्यमन्त्री कार्कीको यस कदमलाई स्वागत गर्दै विपन्न परिवारलाई राहत पु¥याउने खालका यस्ता पहल निरन्तर गर्न आग्रह गरेका छन् ।
रवी लामिछानेलाई भिटामिन ‘डि’को कमी
काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवी लामिछानेलाई भिटामिन ‘डि’ को कमी देखिएको छ । लामिछानेको रगत परीक्षणको रिपोर्ट वारे डा.जितेन्द्र प्रसाद यादवले दिएको जानकारी अनुसार उनको शरीरमा भिटामिन ‘डि’ को कमी देखिएको हो ।
रूपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको र धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय डाक्टर यादवको रहेको छ ।
केही कुरामा गम्भीर सावधानी अपनाउन आवश्यक रहेको हुनाले डाक्टर जितेन्द्र प्रसाद यादवले सभापतिलाई भेट्न नख्खु कारागार पुगेका छन् ।
बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त
काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन् । सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको थियो । समितिले प्राधिकरणको अध्यक्ष हुनको लागि उनको योग्यता अपर्याप्त रहेको, कानून अनुसार योग्यताका लागि सम्बन्धित क्षेत्रमा थप काम गर्नुपर्ने र कार्यक्षमता लगायत विषयमा प्रश्न गर्दै प्रतिवेदन बुझाएको थियो ।
गत १२ फागुनमा सरकारले ओझालाई बीमा कम्पनीहरूको नियामक निकायको अध्यक्ष नियुक्त गरेको थियो ।
दुर्गा प्रसाईंले लिङ्देनमाथि धोका दिएको आरोप, नयाँ राजनीतिक दल खोल्ने घोषणा
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत्र १५ गतेको राजावादी आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले धोका दिएको आरोप लगाएका छन् ।
सोमबार पत्रकार सम्मेलनमार्फत उनले आन्दोलनमा लिङ्देनले धोका दिएको दाबी गर्दै भारतबाट गाडी चोरेर ल्याई झापाको बिर्तामोडमा टुक्र्याएर बेच्ने काम गरेको समेत आरोप लगाए । प्रसाईंले भने, “राप्रपाका राजेन्द्र लिङ्देनले मलाई बैंक ठग भन्थे । अब उनलाई भनिदिनु, १५ गते जुन धोका दियौं, अब जीवनमा तिमीले धोका दिन सक्दैनौं । तिमी जस्तो भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेचेर भात खाने म होईनँ । १५ गते राप्रपाले मिलेर छुरी हानेको छ, म बाँच्न सफल भएको मान्छे हुँ ।”
यस्तै, उनले नयाँ राजनीतिक दल खोल्ने घोषणा समेत गरेका छन् । राजनीतिमा संलग्न हुने रहर नरहेको भए पनि बिग्रिएको राजनीतिक प्रणाली सुधार्न आफू बाध्य भएको उनको भनाइ छ ।
“म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मुलुकको वर्तमान अवस्था, देश र जनतामाथि भएको लुटपाट टुलुटुलु हेरेर बस्न सक्दिनँ । मेरो परिवारभन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन् । त्यसैले समाजलाई सुधार गर्न राजनीतिक दल गठन गर्ने निर्णय गरेको हुँ,” प्रसाईंले बताए ।
उनका अनुसार अब अभियान मात्र चलाएर सम्भव नभएकाले संविधानअनुसार पार्टी खोल्ने दबाब बढेको छ । उनले चाँडै नै नयाँ दलको नाम सार्वजनिक गर्ने जानकारी समेत दिएका छन् ।
कोशी प्रदेशको आफ्नै राजस्व कार्यालय संचालनमा
इटहरी । कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय सञ्चालनमा ल्याएको छ । प्रदेशको राजस्व संकलनलाई प्रभावकारी बनाउन र आवश्यक सहजीकरण गर्न सोमबार सुनसरीको इटहरीमा प्रदेश राजस्व कार्यालयको उद्घाटन गरिएको हो ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले कार्यालयको उद्घाटन गर्दै प्रदेशले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको अवस्थामा नयाँ कार्यालय आवश्यक भएको बताए ।
उनले भने, ‘जनतालाई करको अतिरिक्त बोझ नपारीकन राजस्व संकलनका स्रोत पहिचान गरी कार्यालयले सहजीकरण गर्नेछ ।’
गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारले ४ अर्ब ९८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ९८ प्रतिशत मात्र सफलता हासिल गरेको थियो ।
चालु आर्थिक वर्षमा भने ५ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
समारोहमा प्रदेशसभा सदस्य विजय राई, रमेश बस्नेत, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा.मोहन सुवेदी लगायतको उपस्थिति थियो । यो कार्यालय स्थापना गर्ने पहिलो प्रदेश सरकार कोशी प्रदेश भएको जनाएको छ ।
इजरायलमा गाजाको युद्ध अन्त्य र बन्धकको रिहाइका लागि विशाल प्रदर्शन
काठमाडौं । इजरायलको तेल अवीवस्थित ‘होस्टेज स्क्वायर’ मा आइतवार राति हजारौं नागरिकले गाजामा जारी युद्ध अन्त्य गर्न र हमासद्वारा बन्धक बनाइएका व्यक्तिहरूको रिहाइको माग गर्दै प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले इजरायली सरकारसँग तुरुन्तै युद्ध अन्त्य गर्दै हमाससँग सम्झौता गरी बाँकी रहेका बन्धकहरूको सुरक्षाका लागि कदम चाल्न आग्रह गरेका छन् । उनीहरूले गाजा सहरमा नियन्त्रण जमाउने सरकारी योजनाले कम्तीमा २० बन्धकको ज्यान जोखिममा पार्ने चेतावनी दिएका छन् ।
प्रदर्शनकै क्रममा एकदिने राष्ट्रिय हड्तालसमेत आह्वान गरिएको थियो, जसका कारण केही क्षेत्रका सडक, कार्यालय तथा विश्वविद्यालयहरू बन्द रहे । दिनभर चलेको विरोध प्रदर्शनमा करिब ४० जना प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यता प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले भने प्रदर्शनको आलोचना गरेका छन् । उनले यस्ता विरोधहरूबाट ‘हमास अझ कठोर बन्न सक्छ’ भन्दै बन्धकको रिहाइमा ढिलाइ हुने चेतावनी दिएका छन् ।
गाजामा युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमाथिको आक्रमणपछि सुरु भएको थियो । उक्त हमलामा करिब १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई हमासले गाजामा बन्धक बनाएको थियो ।
गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली आक्रमणबाट अहिलेसम्म ६१,००० भन्दा बढी प्यालेस्टिनी नागरिकले ज्यान गुमाइसकेका छन् ।
विश्वमा नेपाललाई चिनाउने भनेको सगरमाथा, गौतम बुद्ध र गोर्खाले हो : कुलमान घिसिङ
लन्डन । बेलायतको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले वीर गोर्खा सैनिकको योगदानकै कारण नेपालको पहिचान विश्वभर पुगेको बताएका छन् । उनले अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा अवस्थित प्रथम गोर्खा भिसी कुलवीर थापाको सालिक पुगेर श्रद्धान्जली अर्पण गर्दै पुष्पमाला चढाए ।
गैरआवासीय नेपाली संघ (एनआरएनए यूके)ले उनको सम्मानमा आयोजना गरेको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम अघि उनी त्यहां पुगेका थिए । त्यसपछि पञ्चे बाजा र पाइपर धुनका साथ बेलायत, नेपालको झण्डा बोकेका नेपालीहरु सम्मिलित र्यालीमा सहभागी भएर कुलमान हल प्रवेश गरेका थिए ।
बेलायतका ५९ संघसंस्थाका प्रमुख, बुद्धिजिवी, व्यवसायी र सर्वसाधारण सहभागी कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले आफ्नो न्यानो माया, स्वागत सम्मानका लागि आयोजकप्रति आभार व्यक्त गरे । उनले विश्वमा नेपाल चिनाउने प्रमुख तीन कुरा सगरमाथा, गौतम बुद्ध र गोर्खा भएको बताए।
‘नेपालको राष्ट्रियता बच्नुमा र बेलायतसंग पहिलो दौत्य सम्बन्ध कायम हुनुमा गोर्खाहरुको ठूलो भूमिका छ । यही हो हाम्रो सम्पत्ति’, उनले भने ।
घिसिङले आफूले शुरु गरेको उज्यालो नेपाल अभियानबारे पनि प्रष्टयाए । बत्तीको उज्यालो भएर मात्र देश नबन्ने भएकाले अब हरेक क्षेत्रमा समृद्धि, परिवर्तन, सामाजिक न्याय, नयां लिडरसीप र निराशालाई आशामा बदल्न आफूले यो अभियान थालेको उनले बताए ।
‘यस सामाजिक अभियानमा म विश्वभर र स्वदेशमा रहेका नेपालीलाई जोड्न चाहन्छुु, उनले भने, ‘तपाईंहरु सबैले साथ दिए यो अभियान सफल हुन्छ भन्ने विश्वास मलाई छ ।’
नेपालमा वर्षेनी १५ खर्ब रुपैयां रेमिटेन्स भित्रने र त्यो मध्ये करिब ७ खर्ब खाडी मुलुकबाट हुने भएपनि राज्यले आफूहरुलाई अपमान गर्ने गरेको उनीहरुको गुनासो सुन्दा दुःख लागेको घिसिङले बताए ।
‘जिडिपीको २७ प्रतिशत योगदान रेमिटेन्सबाट छ । यसले विदेशी मुद्रा आर्जन गरेर हाम्रो अर्थतन्त्र धानिरहेको छ । तिनै खाडीका नेपालीलाई हेला गर्ने, वंशजको नेपाली नागरिकता नदिएर युरोप, अमेरिकालगायत पश्चिमा देश बसेका नेपाली र पेशेबरहरुलाई नेपाल फर्कन वा लगानी गर्न रोक्नु ठीक होइन’ उनले भने ।
कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले बेलायतका नेपालीहरुले घिसिङलाई देशको नेतृत्वमा पुगेको हेर्न चाहेको बताउंदै उनले नेतृत्वमा गए वंशजको नेपाली नागरिकता कायम राख्न पहल गर्न आग्रह गरे । ‘विदेशमा रहेका नेपालीलाई संविधान प्रदत्त अधिकार दिनुपर्छ,’ उनले भने ।
यसअघि राजेन्द्र पुडासैनी नेतृत्वको एनआरएनए यूकेले पनि कुलमानसंग छुट्टै अन्तरक्रिया गरेको थियो । उज्यालो नेपाल अभियान अन्तर्गत विदेश यात्रामा निस्किएको अनुभव सुनाउदै घिसिङले उज्यालो नेपाल अभियानमा वैदेशिक लगानी भित्र्याउने कोशिशमा देश(विदेशका साथीहरुसँग जोडिएको जानकारी दिए ।
उनले नेपालीहरु विदेशमा डाक्टर, इन्जिनियर, वैज्ञानिक जस्ता पेशामा काम गरि रहेकाले नेपालले धेरै फाइदा लिनसक्ने अवस्था रहेको जनाए । घिसिङले डायस्पोराका नेपालीहरुले नेपालमा बस्ने र लगानी गर्ने कोशिश गर्दा सास्ती खेप्नु परेकाले पुनः विदेश नै फर्किएको अनुभव सुनाएको भन्दै यसलाई सम्बोधन हुनुपर्नेमा जोड दिए । सरकारले विदेशमा रहेका नेपालीहरुलाई संविधान प्रदत्त अधिकार दिनु पर्ने उनले बताए ।
‘अवको विश्व उर्जामा निर्भर भएकाले नेपालमा जल विद्युतको संभाव्यता अझै छ’, उनले भने,‘नेपालमा सरकारले व्यवस्थित लगानी गर्ने वातावरण बनाए डायस्पोराबाट धेरै लगानी जाने देखिन्छ।’
अध्यक्ष पुडासैनीले कुलमानको योगदानको प्रशंसा गर्दै एनआरएनए यूकेले नेपाल राष्ट्र्का लागि काम गर्नेहरुसँग सहकार्यको हात अघि बढाउने जनाए ।
यसअघि अध्यक्ष पुडासैनी र उपाध्यक्ष डा.रक्षा थापाले फुल र खादा ओडाएर घिसिङलाई स्वागत गरेका थिए । अन्तरक्रिया कार्यक्रमको संचालन एनआरएनए यूकेका पूर्वसचिव तिलक भट्टराईले गरेका थिए । उक्त कार्यक्रममा उपस्थित सामाजिक अभियन्ताहरु तथा स्थानीयलाई एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषद् अध्यक्ष राममाया विष्टले स्वागत गरेकी थिइन् ।
न्यायको पर्खाइमा दोरम्बा हत्याकाण्डका पीडित परिवार
रामेछाप । २०६० साल साउन ३२ गते दोरम्बाको खरिढुंगामा नेपाली सेनाले माओवादीका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएर डाँडाकटेरीमा लगेर बीभत्स हत्या गर्यो।
सामूहिक हत्या गरेको २२ वर्ष भयो, तर पीडित परिवारले अहिलेसम्म न्याय पाएको छैन । दोरम्बा घटनामा २१ जनाको हत्या भएको थियो । जसमध्ये १९ जनाको एकै ठाउँमा सामूहिक हत्या भएको थियो भने दुई जना घटनास्थलमा मानै मारिएका थिए ।
तत्कालीन शाही नेपाली सेनाका मेजर राममणि पोख्रेलको नेतृत्वमा गएको सेनाको टोलीले युद्धविरामको बेला मिटिङ बसिरहेका माओवादी नेताहरूको सामूहिक हत्या गरेको थियो ।
सरकार र माओवादीबिच दाङको हापुरेमा वार्ता चलिरहेको बेला रामेछाप स्थित नारायण दल गुल्मबाट गएको सेनाको टोलीले तत्कालीन दोरम्बा गाविस– २ का युवराज मोक्तानको घरमा माओवादीहरू बैठकमा बसी रहेको बेला नियन्त्रणमा लिई एक जनालाई घटनास्थलमा नै र बाँकी १९ जनालाई तत्कालीन डडुवा गाविस– ९ को डाँडाकटेरीमा मा पु¥याएर गोली हानी सामूहिक हत्या गरेको थियो ।
अर्की एक माओवादी कार्यकर्ताको शव घटनास्थलभन्दा केही तल फेला परेको थियो । सोही घटनापछि माओवादीहरू वार्ता भङ्ग गरी पुनः सशस्त्र युद्धमा फर्किएका थिए ।
माओवादीहरू सो ठाउँमा जम्मा हुँदै छन् भन्ने थाहा पाएपछि नारायण दल गुल्म रामेछापका गुल्मपति मेजर राममणि पोख्रेल आफैं ०६० साउन ३१ गते राति सेनाको एउटा टोली लिएर दोरम्बा पुगेका थिए ।
सेनाको ब्यारेकबाट १४ घण्टा भन्दा टाढाको पैदल दुरीमा रहेको सो स्थानमा युद्धविरामको समयमा सेना पुग्छ भन्ने माओवादीहरूले पनि सोचेका थिएनन् । रामेछाप बजारबाट राति हिँडेको सेनाको टोली बिहान खाँडादेवी र दिमिपोखरी गाविसको सिमानामा पर्ने गाल्बा बजारमा पुग्यो । त्यहाँबाट एक घण्टा टाढा पर्ने दोरम्बा बजार तर्फ लागेको सेना दोरम्बामा युवराजको घर खोज्दै गएका स्थानीय बताउँछन् ।
सेनाको टोली घटनास्थलमा पुग्दा माओवादीहरू बैठकमा थिए । बैठक स्थलको सुरक्षाको लागि माओवादी कार्यकर्ता दोरम्बा गाविस–१ का टेकबहादुर थापा घरको बाहिर खटिएका थिए । सेनाले घरमा घेरा हाल्ने बित्तिकै उनलाई त्यहीँ गोली हानेर ढाल्यो । बाहिर गोली चलेको थाहा पाए पछि भित्र खैलाबैला मच्चियो ।
पार्टीका जिल्ला इञ्चार्ज ललितपुर जिल्ला निवासी ललित भनिने हरिप्रसाद दाहाल र रामेछापका मैनकुमार मोक्तान मदन हामफालेर भागे भने बाँकी सबै घर भित्रै थिए । युद्धविरामको बेला भएकाले हातहतियार विना जम्मा भएका माओवादीहरूले सेनाको प्रतिकार गर्न सकेनन् । उनीहरूले गिरफ्तारी दिए ।
सेनाले १९ जनालाई एकै ठाउँबाट गिरफ्तार ग¥यो । घरबेटी युवराज मोक्तान र उनका छोरा लीला मोक्तान तथा माओवादीका तत्कालीन जिल्ला जनसरकार प्रमुख बेथान गाविस निवासी पुष्प भनिने बाबुराम तामाङ, सोही पार्टीकी ललितपुर जिल्ला इकुडोल गाविस–६ निवासी ललिता भनिने अम्बिका दाहाल, रामेछापको बेथान गाविस–५ का रक्तिम भनिने प्रदीप दोङ, डडुवा गाविस–४ की सङ्गीता थामी, फुलासी गाविस –८ का यथार्थ भनिने हर्कबहादुर तामाङ, गेलु गाविस –५ का समीर भनिने रवि चौहान, चनखु गाविस–३ की सहारा भनिने उमा कार्की, चनखु गाविस–९ इन्क्लाव भनिने श्याम तामाङ, पुरानागाउँ–८ का असल भनिने पदमराज गिरी, दोरम्बा–१ की विमा भनिने विष्णुमाया थापा, दोरम्बा गाविस –३ का छोक्पा भनिने ठुलोराम तामाङ, तारा भनिने सानोराम तामाङ, छाया भनिने लक्ष्मण तामाङ, धनुषा जिल्ला घर भएका जमिन, सोलु जिल्ला घर भएकी विमला भनिने हर्कलक्ष्मी राई, काभ्रे जिल्ला चौबासका सोम, डडुवा–५ का समीर भनिने चतुरमान थामी सेनाको गिरफ्तारीमा परे ।
गिरफ्तार गरिएकाहरूलाई दोरम्बा बजारमा पु¥याएर डोरी लिई दुवैहात पछाडि बाँधेर डो¥याउँदै लगियो । दोरम्बा बजारका मानीहरू सबैलाई ढोका थुनेर भित्र बस्न सेनाले निर्देशन दियो । हात बाँधिएका १९ जनालाई डो¥याउँदै त्यहाँबाट १ घण्टा टाढा पर्ने डडुवा गाविस–९ को डाँडाकटेरी भन्ने ठाउँमा पु¥याइ बाटो छेउको चौरमा लाइन लगाएर हात बाँधेकै अवस्थामा एक एक गर्दै गोली हानेर सबैको हत्या गरी छाडिएको थियो ।
सेनाले हत्या गरेर त्यतिकै छाडेका ती लासहरूलाई माओवादीहरूले आएर गाडेर गएकामा डाक्टर हरिहर बस्तीसहितको राष्ट्रिय मानवअधिकार आयोगको टोलीले चिहान खोतलेर पोष्टमार्टम गरेको थियो । सो घटनामा हराएकी एकजना महिला उषाको शवपछि घटना भएको घर अगाडि खोल्सामा मृत अवस्थामा फेला परेको थियो ।
राष्ट्रिय मानवअधिकारले सो घटनामा राष्ट्रिय र अन्तराष्ट्रिय सबै खाले कानुनको उल्लङ्घन गरेको ठहर गरेको थियो । घटनामा सेना दोषी भएको ठहर भई सक्दा पनि पीडितका परिवारले भने न्याय पाउन सकेका छैनन् । सो घटनामा मारिएका पदमराज गरीका छोरा मन्थली–८ का कपिलराज गिरीको मानसपटलमा अहिले पनि सो घटना जस्ताको तस्तै छ ।
पीडित परिवारले न्यायको माग गर्दै उजुरी गर्न मिल्ने जति सबै ठाउँमा उजुरी गरिसक्दा पनि न्याय नपाएको गुनासो गरेका छन् । माओवादी नेता टङ्कलाल घिसिङको सहजिकरणमा उजुरी गरेको भए पनि पीडकलाई हालसम्म कारबाही नभएको गिरीको गुनासो छ ।
दोरम्बा हत्याकाण्डपछि केही समयपछि शान्ति सम्झौता भयो । २०६४ को निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बन्यो । त्यस पछि पनि पटक पटक माओवादी नेतृत्वमा सरकार बन्यो । तर दोरम्बा घटनाका पीडितले न्याय पाएनन् । ‘सरकारमा पुगे पनि आफ्नै पार्टीले आफ्नै सहिद र परिवारलाई सम्झेन’, कपिलको गुनासो छ ।
यस वर्ष पनि २२ औँ दोरम्बा स्मृति दिवसको अवसरमा रामेछाप सदरमुकाम मन्थलीमा अन्तरक्रिया कार्यक्रम आयोजना भयो । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा विभिन्न दलका प्रतिनिधि, मानवअधिकारकर्मी र पीडित परिवार सहभागी भए । हत्यारालाई कारबाही हुनुपर्ने कुरा उठाएर तर दोषी माथि कारबाहीको कुनै प्रक्रिया अघि बढेको छैन ।
मृतकको सम्मानमा हत्या गरिएको स्थान दोरम्बाको डाँडाकटेरीमा डोरमणि पौडेले मुख्यमन्त्री र रामेछापकै कैलाशप्रसाद ढुङ्गेल वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री हुँदा सालिक बनाइएको छ । मृतकलाई सहिद घोषणा गरिएको छ । पीडित परिवारले केही राहत पाएका छन् । तर उनीहरूले २२ वर्ष बित्दा पनि न्याय भने पाउन सकेका छैनन् ।
भारतको ७० प्रतिशत सामान निर्यात अमेरिकी करको चपेटामा
काठमाडौं । भारतबाट अमेरिकामा निर्यात हुने लगभग ७० प्रतिशत सामानहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ५० प्रतिशत करको चपेटामा परेका छन् ।
इन्डियन काउन्सील फर रिसर्च अन इन्रनेश्नल इकोनोमिक रिलेसन (आईसीआरईइआर) को प्रतिबेदनले विश्लेषण अनुसार भारतबाट अमेरिकी बजारमा करीब ६०.८५ अर्ब डलर बराबरको सामान निर्यात हुने गरेको छ ।
यसले भारतको जीडीपीको १.५६ प्रतिशत र कुल निर्यातको ७.३८ प्रतिशत हिस्साको प्रतिनिधित्व गर्दछ । जुन ३.९ ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्रको लागि विपत्तीभन्दा धेरै टाढा छ ।
प्रतिवेदनले तर्क गरेको छ कि यसको प्रभाव श्रम–गहना र उच्च–मूल्य क्षेत्रहरू जस्तै कपडा, रत्न÷आभूषण, अटो पाट्र्स र कृषि उत्पादनहरुमा समेत पर्ने छ । ‘यी क्षेत्रहरूले अमेरिकामा हुने व्यापारिक वस्तु निर्यातलाई मात्र केन्द्रित गर्दैनन् तर रोजगारी सिर्जना र लाखौं कामदार र किसानहरूको जीविकोपार्जनलाई प्रत्यक्ष रूपमा असर गर्छन्,’ प्रतिबेदनमा भनिएको छ ।
कपडा र पोशाक क्षेत्रले बंगलादेश, पाकिस्तान र भियतनाम जस्ता प्रतिस्पर्धीहरूको तुलनामा ३० प्रतिशतभन्दा बढीको भन्सार शुल्क बेफाइदाको सामना गरिरहेको छ, जसले गर्दा प्रमुख निर्यात बजारमा यसको प्रतिस्पर्धी स्थिति खतरामा परेको रिपोर्टमा उल्लेख गरिएको छ । ११.९ अर्ब अमेरिकी डलर बराबरको रत्न र गहना निर्यातले टर्की, भियतनाम र थाइल्याण्ड जस्ता आपूर्तिकर्ताहरू विरुद्ध समान चुनौतीहरूको सामना गरिरहेको छ । अमेरिकामा भारतको निर्यातको ३ प्रतिशत ओगटेका अटो पाट्र्स पनि कमजोर छन् । कृषिमा, झिंगे माछाको निर्यात सबैभन्दा बढी प्रभावित हुनेछ, इक्वेडर, इन्डोनेसिया र भियतनाम जस्ता प्रतिस्पर्धीहरूमा लागू गरिएको भन्दा ५० प्रतिशत बढी भन्सार शुल्क लगाइने बताइएको छ ।
‘यी क्षेत्रहरू त्यस्ता छन् जहाँ खरीददारहरूले तुलनात्मक रूपमा छिटो सोर्सिङ स्विच गर्न सक्छन्, जसले अमेरिकी आयातकर्ताहरूलाई मोलमोलाई गर्ने शक्ति दिन्छ र भारतको वार्तालाप स्थितिलाई कमजोर बनाउँछ ।’
सुरुमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानहरूमा २५ प्रतिशत कर लगानउने घोषणा गरेका थिए । जबकि त्यहाँ अन्तरिम भारत–अमेरिका व्यापार सम्झौताको आशा थियो जसले अन्यथा बढेको शुल्कबाट बच्न मद्दत गर्ने थियो । केही दिन पछि, उनले अर्को २५ प्रतिशत कर लगाए, जसले कुल कर ५० प्रतिशत पु¥यायो, भारतले रूसी तेलको निरन्तर आयात जारी राखेको छ ।
यद्यपि, नयाँ अमेरिकी कर व्यवस्थाले औषधि, ऊर्जा उत्पादनहरू, महत्वपूर्ण खनिजहरू, र अर्धचालकहरूलाई समावेश गर्दैन । विगत केही महिनादेखि, भारत र अमेरिका अन्तरिम व्यापार सम्झौताको लागि वार्ता गरिरहेका छन् । तैपनि, कृषि र दुग्ध क्षेत्रहरू खोल्ने अमेरिकी मागमा भारतीय पक्षबाट आरक्षणहरू छन् । कृषि र दुग्ध भारतका लागि महत्वपूर्ण छन् किनकि यी दुई क्षेत्रहरूले मानिसहरूको ठूलो वर्गलाई जीविकोपार्जनका अवसरहरू प्रदान गर्छन् ।
भारत र अमेरिकाले यस वर्ष मार्चमा न्यायपूर्ण, सन्तुलित र पारस्परिक रूपमा लाभदायक द्विपक्षीय व्यापार सम्झौताको लागि वार्ता सुरु गरेका थिए, जसको लक्ष्य अक्टोबर–नोभेम्बर २०२५ सम्ममा सम्झौताको पहिलो चरण पूरा गर्नु थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दर्जनौं देशहरूमा पारस्परिक कर लगाएका थिए जससँग अमेरिकाको व्यापार घाटा छ । आफ्नो दोस्रो कार्यकालको लागि पदभार ग्रहण गरेदेखि, राष्ट्रपति ट्रम्पले ट्यारिफ पारस्परिकतामा आफ्नो अडान दोहो¥याएका छन् । एएनआई