सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा
रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको ई–रिक्सा र चालकलाई पक्राउ गरेको छ । माधवनारायण नगरपालिका–६ कि २६ वर्षीया रुबीकुमारी साहको हत्यागरी शव लुकाउन प्रयोग भएको ई–रिक्सा र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा ई–रिक्सा चालक लक्ष्मण महरा हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार पक्राउ परेका महराले सुटकेसभित्र के सामान छ भन्ने आफूलाई थाहा नभएको प्रहरीमा बयान दिएका छन् ।
ई–रिक्सामा सुटकेसमा राखेर गगापिप्रा गाउँसम्म लैजान भनेको चालक महराले बताए । यस कार्यका लागि चालक महराले पाँच सयमा भाडामा लिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
मुडलवा गेटनजिक पुगेपछि ई–रिक्साको चक्कामा समस्या आएको थियो । त्यसपछि ई–रिक्सालाई फिर्ता पठाइ सुटकेस सडकमै राखेर भागेको प्रहरीको भनाइ छ । रुबीको हत्याराको व्यापक खोजी भइरहेको रौतहट प्रहरीले जनाएको छ ।
गौर नगरपालिका–९ मुडवलवा गेटस्थित सडकमा बेवारिसे सुटकेस भित्र रुबीकुमारीको शव फेला परेको थियो ।
कर्णाली प्रदेश र सुदूरपश्चिममा हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहनुको साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका धेरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
यस्तै, आज राती भने बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी पहाडी र तराई भू –भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।
बराहक्षेत्रमा आदिवासी अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र
बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकामा आदिवासी समुदायका अधिकार कार्यान्वयनका लागि तत्काल पहल गर्न माग गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ बराहक्षेत्र नगर समन्वय परिषद्ले सोमवार एक कार्यक्रमकाबिच नगरपालिकाका उपप्रमुख नन्दकुमारी सुनुवार राई र प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
परिषद्का वरिष्ठ उपाध्यक्ष बेचन धामी, सह–सचिव भोजराज घलेसहित १२ वटा जातीय संघ–संस्था प्रतिनिधिहरूको उपस्थितिमा बुझाइएको पत्रमा भाषा, धर्म, संस्कार, संस्कृति, आत्मनिर्णयको अधिकार, स्वशासन, प्राकृतिक स्रोत–साधनमा पहुँच, पहिचान र भूमि सम्बन्धी अधिकार तथा स्वतन्त्र जानकारीसहितको अधिकार सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।
ध्यानाकर्षण पत्रमा नेपाल सरकारले २०६४ भदौ २८ गते अनुमोदन गरी २०६५ भदौ ५ गतेदेखि लागु गरेको आईएलओ महासन्धि १६९ र संयुक्त राष्ट्रसंघीय महासभाले २००७ सेप्टेम्बर १३ मा पारित गरेको आदिवासी अधिकारसम्बन्धी घोषणा पत्र को प्रभावकारी कार्यान्वयनमा सरकार गम्भीर नबनेको आरोप लगाइएको छ ।
यसअघि आदिवासी मानव अधिकार वकिल समूह (लाहुर्निप)ले दायर गरेको रिटमाथि लामो सुनुवाइपछि सर्वोच्च अदालतले २०८२ जेठ २२ गते आईएलओ महासन्धि १६९ र आदिवासी जनजातिको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र (युएनडिआरआइपी)–२००७ लाई तत्काल कानुन बनाई लागु गर्नुपर्ने आदेश दिइसकेको स्मरण पत्रमा उल्लेख छ । अदालतले तीनै तहका सरकारलाई कार्यान्वयनका लागि निर्देशनात्मक आदेश जारी गरिसकेको भए पनि व्यवहारमा ठोस पहल नदेखिएको परिषद्को भनाइ छ ।
बराहक्षेत्र नगरपालिकामा ७८ प्रतिशतभन्दा बढी आदिवासी समुदाय बसोबास गर्ने भएकाले उनीहरूको पहिचान, अधिकार र संस्कृति संरक्षण गर्न आवश्यक कानुनी ढाँचा निर्माण स्थानीय सरकारको प्राथमिक जिम्मेवारी भएको ध्यानाकर्षण पत्रमार्फत जनाइएको छ ।
तोलामा २ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। आइतबार सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार तोलामा १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बढेर १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। प्रतितोला ३० रुपैयाँले बढेर चाँदी २ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सुटकेशभित्र महिलाको शव फेला
रौतहट । रौतहटको मुडवालवा सडकमा सुटकेशभित्र महिलाको शव फेला परेको छ । गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिकको सडकमा शव सहितको सुटकेश फेला परेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार डोरीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेश खोलेपछि भित्र महिलाको शव रहेको देखिएको हो । गौर नगरपालिका वडा नम्बर ९ पर्ने सो सडकमा शनिबार राती १०ः३० बजे शकास्पद सुटकेश फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीले बताए ।
उनका अनुसार प्रहरी टोलीले आज (आइतबार) बिहान सो सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव भेटिएको हो । मृतक महिलाको अहिलेसम्म कुनै पहिचान हुन नसकेको र अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।
शवमा साडी छिरिएको देखिएकाले महिलाको हत्या गरी सुटकेशमा हालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी जाँच गरिरहेको छ । प्रहरीले महिलाको शवलाई प्रादेशिक अस्पताल गौरमा पठाएको छ ।
यस अघि गौर–५ मा छुरा प्रहारबाट मारिएका सहाबुदिन मिया र सप्तरीका उपेन्द्र भगतको एक होटलमा शव फेला परेको थियो । यो साता मात्रै रौतहटमा तीन जनाको शव फेला परिसकेको छ ।
आजको मौसम : बागमती र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहनुको साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जनाएको छ ।
जसका कारण हाल देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ भने बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रही बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान र अन्य प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ भने मधेसलगायत कोशी र लुम्बिनी प्रदेशका तराई भूभागमा हुरीबतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति भने मधेस, कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका थोरै स्थान र बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।
श्रमदान मकवानपुर अभियानले हेटौंडा अस्पतालमा सरसफाइ सुरु
हेटौंडा, मकवानपुर । श्रमदान मकवानपुर अभियानअन्तर्गत आजदेखि हेटौंडा अस्पताल परिसरमा सरसफाइ कार्यक्रम सुरु गरिएको छ ।
अभियानका संयोजक हरि खड्काका अनुसार सरसफाइको सुरुआत अस्पताल क्षेत्रबाट गरिएको हो । उनले अभियानमार्फत हेटौंडा तथा आसपासका क्षेत्रमा स्वच्छ वातावरण कायम गर्न निरन्तर कार्यक्रम सञ्चालन गरिने बताए ।
उनका अनुसार सरसफाइमा अभियानका सदस्य, स्थानीय स्वयंसेवक र सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको छ । अभियानले आगामी दिनमा अन्य सार्वजनिक स्थानहरूमा पनि सरसफाइ, वातावरण संरक्षण र जनचेतनामूलक गतिविधि गर्ने योजना बनाएको छ ।
लिपुलेक हुँदै भारत–चीन व्यापार खुला गर्ने निर्णयप्रति जसपाको आपत्ति
काठमाडौँ I भारत र चीनले लिम्पियाधुरा–लिपुलेक क्षेत्र हुँदै व्यापार र आवागमन खुला गर्ने समझदारी गरेको विषयले जनता समाजवादी पार्टी (जसपा) को ध्यानाकर्षण गराएको छ । पार्टीले यो निर्णयलाई नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकतामाथि गरिएको गम्भीर हस्तक्षेप भन्दै आपत्ति जनाएको हो ।
जसपाका अध्यक्ष अशोक कुमार राईद्वारा जारी वक्तव्यमा भनिएको छ, “लिम्पियाधुरा–लिपुलेक क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकारले पहिले नै स्पष्ट दाबी गरिसकेको छ । भारत र चीन दुवै पक्षलाई कूटनैतिक नोटमार्फत आपत्ति जनाइसकेको अवस्थामा त्यसको बेवास्ता गर्दै पुनः नयाँ सम्झदारी गर्नु आपत्तिजनक छ ।”
पार्टीले नेपाल सरकारलाई ठोस ऐतिहासिक प्रमाणहरूको आधारमा गम्भीर कूटनीतिक पहल गर्न र सम्बन्धित पक्षहरूसँग संवादमार्फत विवाद समाधान गर्न आग्रह गरेको छ ।
वक्तव्यमा भनिएको छ, “लिम्पियाधुरा–लिपुलेक क्षेत्र नेपालको भूमि हो भन्ने पुष्टि हुने पर्याप्त प्रमाणहरू छन् । त्यसैले सरकारले अन्तर्राष्ट्रिय स्तरमा स्पष्ट धारणा राख्दै कूटनीतिक माध्यमबाट यो समस्या समाधान गर्नुपर्छ ।”
बाजुरामा रैथाने बाली संरक्षण अभियान सुरु
बाजुरा । भौगोलिक हिसाबले विकट तर उत्पादनमा प्रचुर सम्भावना बोकेको स्वामीकार्तिक खापर गाउँपालिकाले कागुनो, झुमरो र चिनो जस्ता रैथाने बालीको संरक्षण र प्रवर्द्धन अभियान थालनी गरेको छ ।
पालिकाका अध्यक्ष भरत बहादुर रोकायाका अनुसार पछिल्ला वर्षमा यी बाली लोप हुने अवस्थामा पुगेकाले पुनः खेतीमा प्रोत्साहन गर्न अभियान सुरु गरिएको हो । “यी बाली मानव स्वास्थ्यका लागि निकै उपयोगी छन्, त्यसैले कृषकलाई बिउविजन वितरण गरेर संरक्षण अभियान अघि बढाइएका छौँ,” उनले भने ।
गाउँपालिकाको कृषि शाखाका सहायक प्रमुख रत्न रावलका अनुसार कृषकले रैथाने बालीलाई प्राथमिकता दिने हो भने आम्दानीसँगै संरक्षणमा पनि टेवा पुग्नेछ । “कृषकलाई हौसला दिँदै बिउविजन तथा अन्य सहयोग गर्दै आएका छौँ,” उनले बताए ।
स्थानीय नरबहादुर लुहारले प्रविधिको विकास र बजारबाट दाल–चामल सहजै आउन थालेपछि रैथाने बाली हराउँदै गएको प्रति चिन्ता व्यक्त गरे । तर पालिकाले बिक्री–वितरण, बजारको व्यवस्था र ढुवानीमा अनुदान दिन थालेपछि कृषकको चासो फेरि बढेको उनको भनाइ छ ।
हाल स्थानीयले बाझो जमिनमा कागुनो, झुमरो र चिनो खेती गर्न थालेका छन् । कृषि शाखाका तथ्यांकअनुसार पालिकामा यस्ता रैथाने बालीबाट वार्षिक झण्डै १.२ मेट्रिक टनभन्दा बढी उत्पादन हुने गरेको छ ।
भारतीय दुतावास अगाडि संयुक्त विद्यार्थी संगठनको प्रदर्शन
काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले लिपुलेकलाई व्यापारिक नाका बनाइ अतिक्रमण गर्ने भारतीय र चिनियाँ हस्तक्षेपकारी षड्यन्त्रका विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
शनिबार लौनचौरस्थित भारतीय दुतावास अगाडि संगठनले नेपाली भूमिमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनमा अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्र शाहले सँधै कुटनीतिक पहल गर्ने भनेर सरकारले कुरा गरेपनि त्यो खालको पहलकदमी चाँही नगरेको बताए ।
सरकार यसमा गम्भीर बन्नकासाथै छलफलको विषय बनाउनुपर्ने उनको भनाई छ । लिपुलेकको सन्दर्भमा पटक–पटक विदेश सचिवस्तरिय समिति पनि बनेता पनि अन्तिममा आएर यो विषयमा भारत बाहिरिएको बताउँछन ।
उनले भने,‘हाम्रो सरकारले कुटनीतिक पहल गर्ने कुरा त छँदैछ । तर सँधै कुटनीतिक पहल भनेर बस्ने तर पहलकदमी चाँही गरिदैन् । पहिलो कुरा त सरकार यसमा गम्भीर बन्नुपर्छ र छलफलको विषय बनाउनुपर्छ । भारतले यो विषयमा छलफल नै गर्न चाहेको छैन् । लिपुलेकको सन्दर्भमा पटक पटक विदेश सचिवस्तरीय समिति पनि बनेका छन् । तर अन्तिममा यो विषयमा भारत बाहिरिएको छ ।’
त्यस्तै उनले भारतले नेपालसँग छलफल मात्रै गर्ने हो भने पनि नेपालसँग प्रसस्त प्रमाणहरु रहेको बताए । यो मुद्दालाई नेपाल र भारतबीचको विषयभन्दा पनि अन्तराष्ट्रियकरण गरी अन्तराष्ट्रिय अदालतसम्म गएर सिमानाको लागि लड्नुपर्ने उनको भनाई छ ।
प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय स्वाधिनताको रक्षा गर,लिपुलेक हाम्रो हो,नेपाली भूमिमाथिको हस्तक्षेपको बन्द गर,भारतीय सेना कालापानी, छोड, छोड ,छोड कालापानी छोड,नेपाली भूमि अतिक्रमण गर्ने निर्णय अबिलम्व खारेज गर लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।