आइतबार सुन–चाँदीको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।
शुक्रबार तोलामा १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार तोलामा १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। शुक्रबार २३ सय १५ रुपैयाँमा कारोवार भएको चाँदी आइतबार ५ रुपैयाँले घटेर तोलामा २३ सय १० रुपैयाँमा कारोबार भएको हो ।
युएई सरकारद्वारा एक सय २० नेपालीलाई आममाफी
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई आममाफी दिएको छ ।
नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ ।
इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको दूतावासले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध
काठमाडौं । सुक्खा पहिरोको कारण चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध भएको छ । आइतबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा माथिबाट चट्टानसहित पहिरो खसेको कारण मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध भएको हो ।
पहिरोमा परेर एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।
उनको अनुसार मुग्लिङतर्फ जाँदै गर्दा बागमती प्रदेश ०६–००३ प ३८१६ नं. को स्कुटरमा माथिबाट खसेको ढुङ्गाले लाग्दा कुटरमा सवार चितवन रत्ननगर न.पा.३ बस्ने सन्दीप रिजाल घाइते भएका हुन् ।
अहिले जेसिभीको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।
मेलाको विषयलाई लिएर झडप, मेयर साह घाइते
रौतहट । कृष्ण जन्मअष्टमी मेलाको विषयलाई लिएर देवाही गोनाही नगरपालिकाको धरहरीमा झड्प भएको छ । धरहरी गाउँमा शनिबार आयोजित मेला उदघाटन गर्न रिबन काट्ने विषयलाई लिएर उत्पन्न विवाद पछि झड्प भएको हो ।
झड्पमा परेर जनप्रतिनिधि तथा सुरक्षाकर्मी गरि पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । देवाही गोनाही नगरपालिकाको मेयर प्रेमलाल साह , बरिष्ठ प्रहरी हवल्दार जगदीश यादव ,धनसुन्दर ठाकुर, स्थानीय बासिन्दा श्याम विनय साह र राम विकास साह घाइते भएका हुन । इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार घटनामा संलग्न देवाही गोनाही ९ धरहरी टोलका ४० बर्षीय राधामोहन साह, ३५ बर्षीय विनोद साह र २२ बर्षीय रितिक साहलाई नियन्त्रणमा लिइएको छ ।
झड्पमा घाइते भएका मेयर साह सहितको गरुडा स्थित बेटर मल्टिस्पेसियालिटी अस्पतालमा उपचार भै रहेको छ । यस घटनाको बारेमा आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
रवि लामिछानेलाई सारियो नख्खु कारागार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । विमानस्थलमा बाक्लो सुरक्षा घेराउकाबीच उनलाई प्रहरीको भ्यानमा राखेर सोझै नक्खु कारागार लगिएको हो ।
शनिबार रुपन्देही जिल्ला कारागारबाट उनलाई नक्खुमा स्थानान्तरण गर्न बुद्ध एयरको विमानबाट काठमाडौं ल्याइएको हो । विमानस्थल परिसरमा भेला भएका समर्थक र संचारकर्मीहरुलाई सम्बोधन समेत गर्न नदिइ नक्खु लगिएको हो ।
सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका उनलाई शनिबार ललितपुरस्थित नख्खु कारागारमा सारिएको छ । रूपन्देही कारागार कार्यालयमा रहेका लामिछानेलाई शनिबार नख्खु कारागार सारिएको हो ।
लामिछानेलाई काठमाडौं ल्याउनका लागि दिउँसो ३ बजेको बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइने भनिएपनि मौसमका कारण ढिलाइ भएको थियो ।
लामिछाने चैत २५ देखि उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशमा रुपन्देही कारागारमा रहेका थिए ।
एमबीबीएस स्वीकृतिले पूर्वाञ्चल विश्वविद्यालयमा नयाँ उत्साह
विराटनगर । विराटनगर स्थापना भएको तीन दशकपछि पूर्वाञ्चल विश्वविद्यालयले एमबीबीएस शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति पाएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले विश्वविद्यालयलाई ५० सिट क्षमतासहितको एमबीबीएस कार्यक्रम सञ्चालनको स्वीकृति दिएको हो ।
स्वीकृति पाएपछि यस क्षेत्रका स्थानीय खुसी भएका छन् । सुन्दरहरैंचाका साथै कोशी प्रदेशमै शैक्षिक हवका रूपमा विकास गर्नका लागि एमबीबीएस कार्यक्रम महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने स्थानीय केशव भट्टराईले बताए ।
सुन्दरहरैंचावासीको निरन्तर आवाज, प्रदेशवासीको समर्थन, सम्पूर्ण विश्वविद्यालय परिवारको सामूहिक टिम–एफर्ट, नव–नेतृत्वको चुस्त व्यवस्थापन, पूर्वाधारको तयारी र नेपाल सरकारको निर्णायक अनुमतिले यो सपना साकार भएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयका सेनेट सदस्य रञ्जन ओझाले परिकल्पना साकार भएको भन्दै यो उपलब्धि स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा कोशी प्रदेशका लागि एक वास्तविक ‘गेम चेन्जर’ हुने दाबी गरे ।
उनका अनुसार, अब प्रदेशका लाखौँ नागरिकले आफ्नै घर आँगनमै सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन् र भविष्यका तेजस्वी तथा दक्ष चिकित्सकहरू यही प्रतिष्ठित कलेजबाट निस्कनेछन् ।
पूर्वाञ्चल विश्वविद्यालयले अब चिकित्सा शिक्षा आयोगले छनौट गरेर पठाएका ५० जना एमबीबीएस डाक्टरलाई अध्ययन गराउने तयारी गरेको छ । विश्वविद्यालयका मुख्य अधिकृत फडिन्द्रराज गौतमले नेपाल सरकारको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्दै कार्यक्रमको व्यवस्थापनमा लाग्ने जनाएका छन् ।
देशकै एक महत्वपूर्ण विश्वविद्यालयलाई डा.पढ्नकै लागि समेत बिदेसिनु बाध्यताका बिच अध्ययन गराउने बिच दिएको स्वीकृतिले शैक्षिक क्षेत्रको उन्नयन हुनसक्ने विश्वास लिन सकिन्छ तर यसको दिगो व्यवस्थापन पनि उत्तिकै आवश्यक रहेको छ ।
ट्रम्प र पुटिन बिचको वार्ता सम्पन्न, युक्रेनको सुरक्षा सुनिश्चित गर्नेमा पुटिन सहमत
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिचको वार्ता शुक्रबार अमेरिकी राज्य अलास्काको एन्कोरेजमा सम्पन्न भएको छ । लगभग तीन घण्टा सम्म चलेको यो बैठक सन् २०२१ पछि दुई देशका राष्ट्रपतिहरू बीचको पहिलो आमनेसामने भेटघाट हो । एन्कोरेजस्थित संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा वार्ता सम्पन्न गरेपछि दुई राष्ट्रपतिले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । पत्रकारहरुसँग कुराकानी गर्दै ट्रम्पले भने कि “धेरै वटा बुँदाहरूमा“ वार्तामा सहमती भएको छ ।
उनका अनुसार दुवै पक्षले केही प्रगति हासिल गरेका छन्, यद्यपि कुनै सम्झौता भने भएको छैन् । पुटिनले पनि युक्रेनको सुरक्षा सुनिश्चित गरिनुपर्छ भन्ने कुरामा आफु सहमत भएको भन्दै ट्रम्पसँग भएको सम्झौताले युक्रेनमा शान्तिको बाटो खोल्ने उनले बताए ।
मञ्चमा १० मिनेटभन्दा बढी समयसम्म छेउछाउमा उभिएर, दुवै नेताहरूले उनीहरूको आमनेसामने वार्ताको क्रममा प्रगति भएको संकेत गरे, तर कुनै ठोस सम्झौता भने भएन ।
पुटिनले भने कि वार्ता “पारस्परिक सम्मानको रचनात्मक वातावरण“ मा भएको थियो र राष्ट्र प्रमुखहरू बीचको व्यक्तिगत भेटघाट “लामो समयदेखि पर्खिरहेको“ थियो । “के भइरहेको छ भन्ने सबै कुरा हाम्रो लागि एउटा त्रासदी र भयानक चोट हो,“ र रूस यसको अन्त्य गर्न इमानदारीपूर्वक इच्छुक छ, पुटिनले भने ।
उनले द्वन्द्वको “प्राथमिक कारणहरू“ लाई सम्बोधन गर्न प्रयास गर्नुपर्नेमा जोड दिए र युक्रेन र युरोपेली देशहरूलाई “काममा हतार नगर्न“ चेतावनी पनि दिए ।
ट्रम्पले वार्तालाई “अत्यन्तै उत्पादक“ भनेर वर्णन गरे र “ठूलो प्रगति“ भएको बताएक छन् । ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र युरोपेली नेताहरूलाई चाँडै फोन गर्ने बताएका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र ट्रम्पका विशेष दूत स्टीव विटकोफ, साथै रूसी विदेशमन्त्री सर्गेई लाभ्रोभ र रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभ छलफलका लागि शिखर सम्मेलनमा सामेल भए ।
आज कृष्ण जन्माष्टमी : हिन्दु धर्मावलम्वीहरुले धुमधामका साथ मनाउदैँ
काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व संसारभरका हिन्दु धर्मावलम्वी र कृष्णका भक्तहरुले भगवान् कृष्णको पूजा आराधना गरी मनाउदैँ छन् । हिन्दु धर्मावलम्वीहरुले आज भगवान कृष्णको जन्मदिवस धुमधामका साथ मनाउने गरेका छन् ।
कृष्ण आजैको दिन कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ । कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।
कृष्णका कथाहरु र घटनाहरु बृन्दावन, मथूरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भूलोकमैं चर्चित छन् । उनि सम्पूर्ण रुपमा आफ्नो व्यक्तित्वका कारण सबैलाई आकर्षण गर्नसक्ने दीव्य व्यक्तिका रुपमा अझै पनि चर्चित छन् ।
कृष्णलाई गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पनि पुकारिन्छ ।
आजको मौसम : लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । जसका कारण नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ ।
महाशाखाकाअनुसार हाल देशको पहाडी भूभागमा साधारणतया मौसम बदली रही सबै प्रदेशका केही स्थानमा हल्का तथा कोशी प्रदेश र लुम्बिनी प्रदेशको एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार, आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र अन्य भूभागमा साधारणतया बदली रहने छ भने लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पनि पहाडी र तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
आज राति कोशी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही अन्य भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
तामाकोशी–सुनकोशी नदी किनारमा विशेष सतर्कता अपनाउन आह्वान
रामेछाप । अपर तामाकोशी हाइड्रोपावर लिमिटेड अन्तर्गतको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले भोली शनिबार तामाकोशी तथा सुनकोशी नदी किनारमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
कम्पनीका अनुसार साउन ३१ गते शनिबार बिहान ५ बजेदेखि राति ८ बजेसम्म दोलखा जिल्लाको विगु गाउँपालिका–१ मा अवस्थित ४५६ मेगावाट क्षमताको सो जलविद्युत् केन्द्रको जलाशय सफा (रेजर्भोयर फ्लसिङ) गर्ने कार्यक्रम रहेको छ ।
यस अवधिभर तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्ती हुँदै सुनकोशी नदीको दोभानसम्म पानीको सतह बढ्ने–घट्ने चक्र रहने भएकाले सतर्क रहन आग्रह गरिएको हो ।
सो अवधिमा तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, बस्तुभाउ लैजाने, गिटी–बालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्य नगर्न/नगराउन तथा नदी किनारमा परम्पराअनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपरे अत्यन्त सावधानीका साथ मात्र गर्न अनुरोध गरिएको छ ।
यसै सन्दर्भमा, जिल्ला प्रशासन कार्यालय रामेछापले पनि सार्वजनिक सूचना जारी गर्दै नदी किनारमा माछा मार्ने, पौडी खेल्ने, लुगा धुने, गाडी तर्ने, बालुवा–गिट्टी निकाल्ने जस्ता गतिविधिहरू नगर्न आग्रह गरेको छ । साथै, धार्मिक संस्कार वा मृतकको दाहसंस्कार गर्नुपर्दा सावधानीपूर्वक मात्र गर्न अनुरोध गरिएको छ ।
प्रशासनले आकस्मिक जोखिम न्यूनीकरणका लागि स्थानीय बासिन्दा, माछा मार्ने समुदाय र धार्मिक कार्यमा संलग्न सबैलाई सचेत रहन आह्वान गरेको हो ।