कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन शिक्षा शाखालाई निर्देशन
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन देशभरका पालिकाका शिक्षा शाखालाई निर्देशन दिएको छ ।
केन्द्रले देशभरका सात सय ५३ वटै पालिकालाई पत्राचार गर्दै यही पुस २२ गतेभित्र कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीको विवरण अनलाइनमार्फत अद्यावधिक गराउन निर्देशन दिएको हो ।
केन्द्रले वैकल्पिक शिक्षा प्रणालीबाट भर्ना हुन आएका विद्यार्थी, बीचमा विद्यालय छोडेर पुनः भर्ना हुन आएका विद्यार्थी, विगत वर्षमा प्रणालीमा विवरण अभिलिखित नभएका विद्यार्थी, विदेशी नागरिकका बालबालिका विद्यार्थीहरूको विवरणसमेत समावेश गरी अद्यावधिक गराउँदै विवरण पेस गर्न केन्द्रले सबै पालिकालाई निर्देशन दिएको हो ।
छैठौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिता पुस २४ गतेबाट हुने
मकवानपुर । छैठौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिता आगामी पुस २४ गतेबाट सुरु हुने भएको छ । शुक्रवार एक सूचना जारी गर्दै बकैया गाउँपालिका खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले पुस २४ गते देखि गोल्डकप सुरु हुने जानकारी गराएका हुन् ।
बकैया–३ स्थित हात्तीसुँडे खेल मैदानमा हुने प्रतियोगितामा सिनियर टिम तथा जुनियर टिमको फरक–फरक प्रतिस्पर्धा हुने भएको छ । सिनियर टिममा वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९ र १० गरी ८ टिम सहभागी हुनेछन् भने जुनियरतर्फ वडा नम्बर १, २, ११, र १२ गरी ४ टिम रहनेछन् ।
यस वर्ष जुनियर टिमबाट विजेता हुने टिम आगामी वर्ष सिनियर टिममाच बढुवा हुनेछ भने सिनियर टिमको अन्तिम टिम घटुवा हुने संयोजक लामाले बताए ।
माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नकआउट चरणमा खेलाइने जनाएको छ । प्रतियोगितामा सिनियरतर्फको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै यस्तै जुनियरतर्फको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागिताका लागि पुस १९ गतेसम्म वडाहरूलाई टिम दर्ताका लागि समय दिइएको छ भने २० गते खेल तालिका सार्वजनिक गर्ने संयोजक लामाले बताए ।
संघीय निजामती ऐन विपरीत गण्डकी प्रदेशमा प्रदेश निजामती कर्मचारी सेवा अध्यादेश जारी
पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संघीय निजामती ऐन विपरीत हुने गरी गण्डकी प्रदेश निजामती सेवा ऐन २०७९ (पहिलो संशोधन) जारी गरेका छन् ।
प्रदेश प्रमुख भट्टले संघीय निजामती ऐन विपरीतको गण्डकी प्रदेशको मन्त्रीपरिषद् बैठकद्वारा मंगलबार पारित भएको प्रदेश निजामती सेवा ऐन २०७९ (पहिलो संशोधन) अध्यादेशलाई पारित गरिदिएका हुन् ।
संघीय निजामती ऐनले अस्थायी वा करारमा कर्मचारी राख्न निषेध गरेको छ । तर शुक्रवार जारी प्रदेश निजामती सेवा ऐन २०७९ (पहिलो संशोधन) अध्यादेशमा ‘प्रदेश लोकसेवा आयोगद्वारा लिइएको परीक्षामा उत्तीर्ण भइ वैकल्पिक उम्मेदवारका रूपमा प्रतीक्षा सूचीमा रहेका उम्मेदवारलाई बढीमा छ महिनाका लागि अस्थायी नियुक्ति गर्न सकिने’ भनिएको छ ।
प्रदेश लोकसेवा आयोग गण्डकीले सरकारलाई करारमा कर्मचारी नराख्न बरु आवश्यक परे पदनाम दर्ता गरी अस्थायी सूचीबाट राख्न सुझाएको थियो ।
आयोगको सुझावबाट सरकार केही हच्केको पाइएको छ । आयोगमा परामर्शका लागि पठाइएको अध्यादेशको छायाँप्रतिमा करार वा अस्थायी उल्लेख भएकामा करार हटाएर अस्थायी शब्द मात्र राखिएको छ ।
संघीय निजामती सेवा ऐनबाट जस्ताको त्यस्तै सारेर गण्डकी प्रदेश निजामती सेवा ऐन २०७९ को दफा १५ मा ‘क’ थपिएको छ । तर यसमा एउटा प्रतिबन्धात्मक वाक्य भने थप गरिएको छ । जुन संघीय ऐनसँग सरासर बाझिने जानकारहरू बताउँछन् ।
१५‘क’ मा अस्थायी नियुक्ति सम्बन्धी व्यवस्था थपिएको हो । त्यसको उपदफा १ मा प्रदेश लोक सेवा आयोगले आफूले सञ्चालन गरेको परीक्षामा स्थायी नियुक्तिका लागि सिफारिस नभएका उम्मेदवारहरू मध्येबाट अस्थायी नियुक्ति गर्ने प्रयोजनको लागि छुट्टै योग्यताक्रम अनुसारको सूची प्रकाशन गर्ने उल्लेख गरिएको छ ।
उपदफा २ मा प्रदेश निजामती सेवाको कुनै रिक्त पदमा अस्थायी नियुक्ति गर्नुपर्ने भएमा सम्बन्धित मन्त्रालयले आयोगमा लेखी पठाउनुपर्ने र यसरी अस्थायी नियुक्तिका लागि उम्मेदवार माग गर्दा रिक्त पदमा स्थायी पदपूर्तिको लागि दफा १२ बमोजिम रीतपूर्वकको माग आकृति फाराम समेत भरी अनिवार्य रूपमा पठाउनुपर्ने उल्लेख छ ।
उपदफा ३ मा भनिएको छ, ‘उपदफा २ बमोजिम लेखी आएमा आयोगले योग्यताक्रमको सूचीमा रहेका व्यक्तिलाई सम्बन्धित मन्त्रालयको मागको आधारमा अस्थायी नियुक्ति गर्न नाम सिफारिस गरी पठाउनेछ ।’
उपदफा ४ मा उपदफा ३ बमोजिम सिफारिस भएका व्यक्तिलाई बढीमा ६ महिनासम्मको लागि सम्बन्धित मन्त्रालयले अस्थायी नियुक्ति गरिने भनिएको छ । उसको प्रतिबन्धात्मक वाक्यमा भनिएको छ, ‘उपदफा (१) बमोजिमको अस्थायी योग्यताक्रम सूचीबाट नपुग हुने भएमा वा अस्थायी योग्यताक्रम सूची प्रकाशन नभएको ब्यहोरा आयोगबाट लेखी आएको अवस्थामा प्रदेश इन्जिनियरिङ सेवा र प्रदेश कृषि सेवाको हकमा रिक्त दरबन्दीमा स्थायी पदपूर्ति नहुँदासम्म यस उपदफा बमोजिम सम्बन्धित मन्त्रालयले प्रतिस्पर्धात्मक विधिबाट छनौट गरी एकपटकमा ६ महिनासम्मको लागि अस्थायी नियुक्ति गर्न बाधा पर्ने छैन ।’
करार भन्ने शब्द नराखी यही प्रतिबन्धात्मक वाक्यलाई आधार मानेर सरकारी नियुक्तिका लागि मार्ग प्रशस्त गरेको छ । तर यसमा पनि अस्थायी योग्यताक्रम सूची प्रकाशन नभएको ब्यहोरा आयोगबाट लेखी आउनु पर्ने भएकाले सरकारलाई नियुक्तिका लागि त्यति सहज भने छैन ।
आयोगको प्रकाशित अस्थायी योग्यता सूची बाहेक स्थायी प्रकृतिको काम गर्नुपर्ने पदमा कुनै पनि तबरले अस्थायी वा करार नियुक्ति गर्न उपयुक्त समेत नहुने राय आयोगको थियो । उसले भनेको छ, ‘यसरी नियुक्ति गर्दा योग्यता प्रणालीमा अतिक्रमण हुन गइ योग्य उम्मेदवार प्रतिस्पर्धामा सहभागी हुन पाउने अवसरबाट वञ्चित गर्न मिल्लदैन । समावेशितापूर्ण निजामती सेवा बनाउने ऐनको दफा १० को मर्म र भावना अनुरूप नहुनुका साथै निजामती सेवा ऐन २०४९ मा भएको व्यवस्थाको प्रतिकूल हुने भएकाले प्रतिबन्धात्मक वाक्यांश झिक्न आयोगको सुझाव थियो ।
प्राविधिक कर्मचारीको अभावमा बजेट खर्चसमेत प्रभावित भएको भन्दै सरकारले प्रदेश निजामती सेवा ऐनको प्रावधान फेर्न संसद छलेर अध्यादेश ल्याएको हो । प्रदेश निजामती सेवा ऐन २०७९ करारमा कर्मचारी राख्न रोक लगाएको छ ।
त्यही प्रावधान फेर्न सरकारले अध्यादेशको सहारा लिएको हो । प्रदेश लोक सेवा आयोगले करारमा कर्मचारी राख्न नहुने, बरु लोक सेवाकै अस्थायी सूचीबाट बढीमा ६ महिनाका लागि नियुक्त गर्नका लागि लेखी पठाउन सुझाव दिएको थियो।
पोखरास्थित सेती खोँचमा खसेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार
पोखरा । पोखरा महानगरपालिका–९ स्थित पार्वती टोल नजिकै खोँचमा खसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ । बिहीबार बेलुका हिँड्ने क्रममा अचानक सेती खोँचमा खसेका स्थानीय ६१ वर्षीय उजीरबहादुर पुनको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।
पुन घरदेखि नजिकै हिँड्ने क्रममा अचानक धाजा फाटेको ठाउँमा करिब १५ मिटर तल खोचमा खसेका थिए । सशस्त्र प्रहरी बल नं.२४ कालिका गण कास्की मालेपाटनको विशेष उद्धार तथा रोप रेस्क्यू टोली तत्कालै परिचालन भई उनको सकुशल उद्धार गरिएको हो ।
त्रिवि दीक्षान्त समारोहको तयारी पूरा, १४ हजार बढी विद्यार्थी सहभागी हुने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय ५० औँ दीक्षान्त समारोहमा १४ हजार तीन सय आठ जना विद्यार्थीले प्रत्यक्ष सहभागी जनाउने भएका छन् । भोलि (शनिवार) हुने समारोहमा ७४ हजार एक सय ४९ जना दीक्षित हुने विद्यार्थी मध्य १४ हजार तीन सय आठ जनाले प्रत्यक्ष सहभागी जनाउने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
उनले भने,‘हाम्रो ५० औं दीक्षान्त समारोह आयोजना हुँदैछ । जसमा ७४ हजार एक सय ४९ जना दीक्षित हुने विद्यार्थी छन् । ती मध्य १४ हजार तीन सय आठ जना प्रत्यक्ष सहभागी हुँदै छन् । १८ हजार हजार अभिभावक र १४ हजार विद्यार्थी सहित समारोह आयोजना हुँदैछ ।’
त्यस्तै उनले समारोहमा मेडल प्राप्त गर्ने १७ जना मेडललिष्ट रहेको पनि जानकारी दिए । उनका अनुसार समारोह नेपाल टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण हुनेछ ।
दुई तिहाइको सरकारले जनतालाई झुटो आश्वासन बाँड्यो : बालेन
काठमाडौँ I काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह(बालेन)ले अहिले दुई तिहाइको सरकार भएपनि केही काम गर्न नसकेको बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित प्रथम कोटेश्वर महोत्सव–२०८१ उद्घाटन समारोहमा बोल्दै उनले ५० औं वर्ष देखि जग्गाको समस्याका कारण मुआब्जा नपाएको भन्दै सरकारले काम प्रकृयामा छ भनेर झुटो आश्वासन मात्र देखाएको बताए ।
उनले भने,‘५० औं वर्ष देखि जग्गाको समस्या समाधान भएको छैन् । त्यही कारण मुआब्जा प्राप्त भएको छैन् । यसपालि त बहुमत भएको दुई तिहाइको सरकार छ । त्यही पनि केही गरेको छैन् । कोही नेताले तपाईंहरूको काम प्रकृयामा छ । काम हुँदैछ भनेर आश्वासन दिन आउनुभएको छ भने नपत्याउनु होला । कुनै प्रोसेस भएको छैन् । केही काम भएको छैन् ।’
उनले सरकारले व्यक्तिको जग्गा लुटेर राखेको भन्दै अहिले सरकारमा प्रधानमन्त्री, गृहमन्त्री देखि अर्थमन्त्रीसम्म आफ्नै हुँदा पनि काम भएन भने कहिल्यै नहुने बताए ।
उनले भने,‘सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ । यसको मुआब्जा दिन कुनै पनि प्रोसेस भएको छैन् । अहिलेको दुई तिहाइको सरकारले चाहेमा जे पनि गर्न सक्छ । गृहमन्त्री आफ्नै ,अर्थमन्त्री आफ्नै, पैसा आफ्नै, स्रोत साधन आफ्नै, सबै आफ्नै, अझ वडा समिति पनि आफ्नै छ । अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन् ।’
जनकपुर बोल्टसका खेलाडीलाई जनकपुरमा स्वागत
जनकपुर । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरु जनकपुरधाम आइपुगेका छन् । मधेश प्रदेशको सबै आठ जिल्लामा चार दिने ‘ट्रफी परेड’ गरिरहेको जनकपुर बोल्टसका खेलाडीलाई शुक्रवार जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।
आजदेखि सुरु भएको परेडको पहिलो दिन धनुषास्थित राम जानकी मन्दिरमा तय गरिएको छ । त्यस्तै भोलि शनिवार महोत्तरी, सर्लाही र रौतहटमा ट्रफी परेड गरिनेछ । तेस्रो दिन आइतवार बारा र पर्सामा परेड गरिने र अन्तिम दिन अर्थात् सोमवार सिराहा र सप्तरीमा ट्रफी परेड गरिनेछ ।
गत शनिवार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधि जितेको थियो ।
पर्यटकीय गन्तव्य बन्दै ‘सेछ एडभेन्चर पार्क’
धरान, ११ पुस : विराटनगरबाट साथीहरूसँगै घुम्न आउनुभएकी मनिशा मेहेता धरान उपमहानगरपालिका–२० स्थित चिन्डे डाँडामा सेछ एडभेन्चर एन्ड होलिडेज पार्कमा रमाइरहनुभएको अवस्थामा भेटिनुभयो । धरानबाट हाइकिङ गर्दै यहाँ आइपुग्नुभएकी उहाँले पहिलो पटक जिपलाइन साइक्लिङ गर्न पाउँदा खुसी भएको बताउनुभयो ।
विराटनगरकै पिङ्की शर्माले फेसबुक र टिकटकमा मात्र यो पार्क देख्नुभएको थियो । प्रत्यक्ष यहाँ आइपुग्दा सामाजिक सञ्जालमा देखेभन्दा राम्रो लागेको उहाँको प्रतिक्रिया थियो । “सोचेभन्दा राम्रो रहेछ, अरू साथीहरूलाई यहाँ घुम्न आउन अनुरोध गर्छु”, उहाँले भन्नुभयो ।
मनिशा र पिङ्की मात्रै होइनन्, सेछ एडभेन्चर एण्ड होलिडेज पार्क घुम्नका लागि अधिकांश युवाको रोजाइमा पर्न थालेको छ । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । धरानको मुख्य बजारबाट छ किलोमिटर दूरीमा रहेको यहाँ कोही ‘हाइकिङ’ गर्दै त कोही सवारीमा पुग्ने गर्छन् । यहाँ साइक्लिङ जिपलाइन र प्यारालाइडिङ जस्ता साहसिक खेलहरू खेल्न आन्तरिक पर्यटक आउन थालेका हुन् ।
पहिले उजाड र सुनसान गाउँका रूपमा रहेको यहाँ चार वर्षअघि मात्र पार्क निर्माण गरिएको हो । साइक्लिङ जिपलाइन, हेडिङ ब्रिज, रसियन सर्कल, चिल्ड्रेन पार्क यहाँको मुख्य आकर्षण रहेको पार्कका निर्देशक वासुदेव बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो प्रदेशमै पहिलो पटक एक मात्र एडभेन्चर पार्क सञ्चालन गरेका छौँ, पर्यटकले रुचाइदिनुभएको छ ।” पार्कमा वनभोजका लागि आउने विद्यार्थीहरूको घुइँचो लाग्ने गरेको निर्देशक बरालले बताउनुभयो ।
पार्कले विभिन्न प्याकेज उपलब्ध गराएपछि पनि आन्तरिक पर्यटक तथा क्याम्पस तहका विद्यार्थीहरूको आकर्षण बढेको हो । सुरुमा पाँच करोडको लगानीमा निर्माण गरिएको सेछ पार्कमा हाल केही नयाँ संरचना निर्माण गरिएसँगै लगानी सात करोड पुगेको जनाइएको छ । पार्क अढाई बिघा क्षेत्रफलमा फैलिएको छ ।
राष्ट्र बैंकले गर्यो तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ । खारेज भएको सूचना आज शुक्रबार सार्वजनिक भएको हो। भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरेको सूचनामा जनाएको छ ।
कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेकाले खारेज गरेको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको विप्रेसण नियमावली २०७९(प्रथम संशोधनसहित)को विनियम १३ को उपनियम ८ बमोजिम सूचना प्रकाशित गरिएको जनाइएको छ ।
राष्ट्र बैंकले खारेज भएका संस्थासँग रेमिट्यान्सको रकम लिनुदिनु भए ३५ दिनभित्र लिखित जानकारी दिन पनि भनेको छ ।
सुनचाँदीको मूल्य बढ्यो

सुन आज तोलामा ४ सय रुपैयाँले बढेर एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेकोे छ । हिजो सुनको भाउ तोलाको एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोवार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १८ सय १५ रुपैयाँमा कारोवार भैइरहेको छ ।
































