काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएको छ । गएराति उपचारकोक्रममा उनको निधन भएको हो । अर्थशास्त्रीसमेत रहेका सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो ।
मनमोहन सिंह भारतका विद्धान र बौद्धिक नेताको रूपमा परिचित छन् । उनले अक्सफोर्ड विश्वविद्यालयबाट सन् १९६२ मा डी फिल गरेका थिए । उनी राजनीतिमा प्रवेश गर्नु अगाडि अध्यापन कार्यमा सक्रिय थिए । सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री बनेका थिए ।
उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित शीर्ष नेताहरूले शोक व्यक्त गरेका छन् ।
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि हुने भएको छ । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति लामिछानेको बयान हिजो सुरु भएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको बयान २ घण्टासम्म चलेको थियो ।
मंगलबार अबेर गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग बयान लिन सुरु भएको थियो । जसका कारण अदालतमा लगिए पनि उनको बयान हुन सकेको थिएन । सोही बीच उनीलाई सांसद पदबाट पनि निलम्बन गरिएको छ ।
कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।
सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । सोही अभियोगमा ५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ ।
लामिछानेविरुद्ध भने सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर, स्वीस फ्र्याङ्क, सिङ्गापुर डलर, साउदी अरेबियन, चिनियाँ युआन, कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, स्वप्डिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ बढेको छ भने युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, दक्षिण कोरियन वनको भाउ भने घटेको छ ।
आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ७३ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ०६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६७ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९४ पैसा रहेको छ । त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, जापानी येन १० को खरिददर आठ रुपैयाँ ६४ पैसा र बिक्रीदर आठ रुपैयाँ ६८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८ रुपैयाँ ७३ पैसा तोकिएको छ ।
यसको साथै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ ६८ पैसा र बिक्रीदर चार सय ४३ रुपैयाँ ६३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ७५ पैसा र बिक्रीदर तीन सय ६२ रुपैयाँ ३४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५३ रुपैयाँ ५७ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ १२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४६ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा कायम भएको छ ।
हेटौंडा । गैँडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा मकवानपुरको हेटौँडा–८ स्थित कालिका टोलबाट बिहीबार एकजना पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट आएको नेपाली सेनाको टोलीले गैंडाको खाक तस्करीको आशंकामा एकजनालाई पक्राउ गरेको हो ।
मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काका अनुसार पक्राउ गरिएको व्यक्तिलाई नेपाली सेनाको टोलीले चितवनस्थित राष्ट्रिय निकुञ्जमै लिएर गएको छ। पक्राउ गरिएको व्यक्तिको नाम अझै खुलेको छैन ।
गोली चलेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीयका अनुसार दुईवटा सरकारी नम्बर प्लेटको गाडीमा आएका समूहले पाँच राउन्ड गोली चलाएका थिए। घटनाका प्रत्यक्षदर्शीका अनुसार सेनाले अनावश्यकरुपमा गोली चलाएका थिए ।
‘सेनाले मान्छेलाई पूर्णरूपमा नियन्त्रणमा लिइसकेका थिए । तर, अनावश्यकरुपमा हवाइफायर गरे ।’, घटनाको प्रत्यक्षदर्शीले भने । सेनाले पक्राउ गरेको मानिसको खुट्टामा समेत एक गोली प्रहार गरेको आरोप स्थानीयले लगाएका छन् । ‘पक्राउ गरेको मान्छे भाग्ने सक्ने सम्भावना नै थिएन । एकजनालाई ६–८ जनाले घेरेका थिए । यस्तो अवस्थामा सेनाले अनावश्यकरुपमा गोली प्रहार गरेर स्थानीयलाई त्रसित बनाए ।’, प्रत्यक्षदर्शीका अनुसार पक्राउ गरेको मानिसलाई बोरामा कोचेर राखिएको थियो ।
गोली चलेपछि स्थानीय त्रसित बनेका थिए । उनीहरुले सेनाको गाडीलाई रोकेर घटनाको विषयमा जानकारी लिन खोजेपछि सेनाले उल्टै उनीहरुमालाई नै बन्दुक तेर्साएका थिए । जसका कारण स्थानीयले उक्त गाडी जिल्ला प्रहरी कार्यालय मकवानपुरका सहयोगमा नियन्त्रणमा लिएका थिए । स्थानीय र प्रहरीले गाडी नियन्त्रणमा लिएपछि सेनाको टोलीले स्थानीयसँग माफी मागेका थिए ।
प्रहरीका अनुसार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत दिनेश श्रेष्ठ, निकुञ्जका सुरक्षार्थ खटिएका नयाँ गोरख गणका उपसेनानी दीपक बाँस्कोटा नेतृत्वको टोली खाक तस्करको आरोपीलाई पक्राउ गर्न हेटौंडा आएका थिए ।
विहीबार कुल ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ९ कम्पनीको मूल्य स्थिर रह्यो । आज सेयर बजारमा ६१ हजार ८३९ पटकको किनबेचबाट पाँच अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कुल २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर किनबेच भएका छन् ।
सेयर बजारका १३ उपसमूहमध्ये आज चार उपसमूहमा वृद्धि भएको छ । बैकिङ, इन्भेष्टमेन्ट, लघुवित्त, र व्यापार उपसमूह बढेका छन् । यस्तै, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, निर्जीवन बिमा लगायतका उपसमूह भने घटेका छन् ।
काठमाडौँ । पूर्वमन्त्री तथा आदिवासी जनजाति अगुवाले आदिवासी जनजातिको प्राप्त अधिकार विभिन्न नाममा खोस्ने प्रयत्न भइरहेको भन्दै समयमै सचेत बन्नुपर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले आयोजना गरेको ‘नेपालको संविधानमा आदिवासी जनजातिका सवालहरू’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै उनीहरूले त्यस्तो बताएका हुन् ।
नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता शंकर लिम्बूले अमेरिकाको संविधानका निर्माताहरू नेटिब (आदिवासी)शासनबाट प्रभावित भएको बताएका थिए ।
भूमि र प्राकृतिक स्रोतको दोहनले आदिवासीलाई प्रभावित गरेको भन्दै उनले संविधानमा आदिवासीहरू दोस्रो दर्जाको हैसियतलाई मौलिक हकमा राख्ने बताए । आदिवासीको अधिकार दिनदिनै हनन भइरहेको भन्दै उनले गुठी संस्कृति, मन्दिरहरू भत्काइएको बताए । आदिवासीको प्रतिष्ठानमा संविधानले प्रहार गरेको भन्दै अधिवक्ता लिम्बूले दिनदिनै आदिवासी विरुद्धका कानुनहरू बन्दै गएको बताए ।
कार्यक्रममा बोल्दै नेफिनका अध्यक्ष शेर्पाले आदिवासी सांसदहरूले आदिवासीका सवालमा नीति नियम बनाउँदा आदिवासी जनजातिको हित हुनेगरी बनाउनतिर ध्यान दिनुपर्ने बताए ।
नेफिनका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती भुजेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा सांसद सुदन किराँतीले नेपाली समाज सुहाउँदो प्राज्ञिक अध्ययन हुनुपर्ने बताए । मुलुकलाई विभाजन गर्न र देशलाई गृहयुद्धतिर धकेल्नतिर लान खोजिरहेको भन्दै उनले केही शक्तिले समानुपातिक व्यवस्था हटाएपछि मुलुक स्थिर हुन्छ भन्ने भ्रम फैलाइरहेको बताए ।
सांसद किराँतीले जनजागरण र संशोधन सँगसँगै हुनुपर्ने भन्दै आदिवासीको अधिकारका विरुद्धमा लाग्ने लाइ निर्वाचनबाट दण्डित गर्ने खाका तयार हुनुपर्ने समेत बताए । यसैगरी पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले अन्तरिम संविधान २०६३ भन्दा २०७२ सालको संविधान आदिवासी जनजातिका लागि प्रतिगमन भएको बताए । यसैगरी पूर्व सभामुख ओनसरी घर्ती मगरले आदिवासीहरू जुनसुकै पार्टीमा भएपनि आदिवासीको अधिकारका लागि एकजुट हुनुपर्ने बताए । संविधान संशोधनका कुरा उठ्दै गर्दा तल सडकबाट पनि दबाबमूलक कार्यक्रम मार्फत दबाब दिनुपर्ने उनको भनाई थियो ।
पूर्वमन्त्री कृपासुर शेर्पाले आदिवासी जनजातिबिच अधिकार प्राप्तिका लागि अझ बढी सुदृढ एकता आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री दिलमान पाख्रिनले एकढिक्का भएर आदिवासी अगुवाले आदिवासी अधिकार संरक्षणका निम्ति भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए । संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिताको विषय सबै राजनीतिक दलमा उठिरहेको भन्दै उनले यसलाई विचार पु¥याउनुपर्ने बताए ।
आदिवासी, दलित, मुस्लिम, मधेशी समुदाय एक ठाउँमा बसेर सोच्न आवश्यक रहेको उनको भनाई थियो । यस्तै सांसद सुशीला श्रेष्ठले आदिवासी जनजातिका जातीय, भाषिक समस्या धेरै भएको भन्दै त्यसको समाधानमा लाग्नुपर्ने बताए । सांस्कृतिक तथा भेषभूषा प्रदर्शन मात्रै अहिले भइरहेको भन्दै उनले हिजो भएका विभेदका कुराहरूलाई पनि बाहिर ल्याउन आवश्यक रहेको बताए ।
पूर्व सांसद जिपछिरिङ शेर्पाले आदिवासी जनजातिको प्राप्त अधिकारको संरक्षण गर्दै थप अधिकार प्राप्तिका निम्ति पार्टी नेतृत्वमा लबिङ गर्नुपर्ने बताए ।
मानवशास्त्री डा।मुक्तसिंह लामाले सत्ता र शक्तिसँग कसरी लड्ने भन्ने शक्ति यो दुई दशकको अवधिमा आदिवासी अगुवाहरूले सिकेको बताउँदै चुपचाप बसेमा आदिवासी जनजातिका निम्ति केहीपनि चाहिने रहेनछ भन्ने बुझाइ हुने बताए । गर्न सकिन्छ है भन्ने केही उदाहरण पनि रहेको भन्दै उनले बागमती प्रदेशमा नेवारी र तामाङ भाषा सरकारी कामकाजको भाषा बनाउने ऐन पारित भएको स्मरण गराए ।
जमिन खोस्ने अधिकार कसैलाई पनि नभएको भन्दै उनले कुनैपनि कानुन बनाएर आदिवासीको जमिन खोस्न नपाइने बताए । कार्यक्रममा संविधान सभाका सदस्यहरू पेम्बा भोटे, नगेन्द्र कुमाल, नेफिनका पूर्व महासचिव आङकाजी शेर्पा, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ लगायतले आदिवासीको अधिकार संरक्षणका निम्ति एकीकृत आवाज बोकेर जानुपर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण महासचिव दिवस राई र उपमहासचिव रामकृष्ण ब्लोन तामाङले गरेका थिए ।
डा.अमृता श्रेष्ठ छाला तथा यौन रोग साथै सौन्दर्य विशेषज्ञ हुन् । दश वर्ष देखि सरकारी मेडिकल अफिसरको रूपमा सक्रिय डा.श्रेष्ठ शूक्रराज ट्रपिकल अस्पतालमा कार्यरत छिन् । छाला रोग विशेषज्ञका रूपमा कान्ति बाल अस्पताल, कोशी अस्पताल विराटनगरमा समेत सेवा गरिसकेकी उनीसँग छाला सम्बन्धी समस्या समाधान साथै जाडो याममा छाला सम्बन्धी समस्या लगायतका विषयमा गरिएको कुराकानीको सम्पादित अंश ।
जाडो महिनामा बढी मात्रामा स्कीन केयर गर्नु किन आवश्यक छ ?
स्कीन केयर दैनिक जीवनमा एकदमै महत्वपूर्ण काम हो । किनभने छाला हाम्रो शरीरको सबैभन्दा ठूलो पाटो हो । हामीभित्र कुनैपनि रोग छ भने त्यसको असर पनि शरीरमा देखिन्छ र छालामा पनि देखिनसक्छ । छालामा देखिने कतिपय कुराहरू भित्र न्यूट्रिस्नल डिफिसेन्सिले पनि गराउँछ । जस्तै आइरनको कमी भयो भने कपालहरू झर्ने, ओठको वरिपरि घाउ आउने गर्छ । त्यस्तै धेरै तनाव लिने गरेको छ भने पनि छालामा असर पर्छ । अन्य रोगका कारण पनि छालालाई नै असर गर्छ । दुबी जस्ता समस्याहरू छालामा देखिन्छ त्यही भएर छाला एकदमै महत्वपूर्ण हुन्छ ।
स्कीन केयर भन्ने बित्तिकै सुन्दरता भन्ने बुझ्ने चलन छ । स्कीन केयर के का लागि महत्वपूर्ण छ ?
स्कीन केयरलाई खाली सौन्दर्यसँग जोडेर मात्र हेर्न हुँदैन् । कुनै पनि विधामा राम्रो हुनको लागि पहिला छाला राम्रो देखिनुपर्छ, मान्छेको आत्मविश्वास नै छालाबाट हुन्छ । त्यसले मानिसले स्किीन केयरलाई मात्र डर्माटोलोजी मानिएको छ । तर यसको धेरै प्रकार र पाटोहरू छन् । बच्चाहरूको लागि पनि छुट्टै डर्माटोलोजी भन्ने छ, इन्फेक्सन जस्ता रोगहरूको आफ्नै पाटो छ । यस्तैगरी यौन संचारित रोक(एसटीआई) अर्थात् यौनिक रोगहरूको पनि छालामा नै असरहरू देखिन्छ । यी सबै कुराहरूले हेर्दा स्कीन केयर एकदमै महत्वपूर्ण हुन्छ ।
यसमा सबैभन्दा महत्वपूर्ण भनेको मोस्जराइजर, सनस्क्रिन, भिटामिन ‘सी’ सेरम, अन्य सेरमहरू प्रयोग गर्नु राम्रो हुन्छ । त्यसैगरी केमिकल पिलहरू हप्ता वा महिनामा प्रयोग गर्नुभयो भने अझै फाइदा हुन्छ । अनुहारलाई सूर्यको किरणबाट बचाउनुपर्छ । पूरै ज्यानलाई नै भन्न मिल्लदैन, फेरि भिटामिन ‘डी’को कमी हुनसक्छ । तर अनुहारमा चाया-पोतो नआओस् भन्नको लागि, डन्डीफोरको दागहरू नबसोस भन्नको लागि फेसलाई घामबाट बचाउनु आवश्यक हुन्छ ।
जाडो महिनामा नै धेरै किन स्कीनमा समस्याहरू देखिन्छ ?
जाडोमा चिसो धेरै हुने हुँदा छालामा मोइस्चरको कमी हुन्छ । मोइस्चरको कमी भइरहेको हुन्छ त्यसमा ड्राइ हावाले गर्दा तातो पानीले नुहाउने, हिटरमा बस्ने गर्छौ यसले छालाको लिपिड्सहरु कम गराउँछ । छालालाई सुरक्षित गर्ने तत्वहरूको कमी पनि गराउँछ । त्यसले गर्दा छालाहरू सुख्खा हुने र विभिन्न समस्याहरू निम्ताउँछ । त्यही भएर मोस्जराइजरहरु प्रयोग गरेर छालाको मोइस्चरलाई सन्तुलनमा राख्नु अझै महत्वपूर्ण हुन्छ ।
नुहाउने समयलाई घटाउने, तातो पानीले धेरै समय ननुहाउने, धेरै सुगन्ध भएको साबुन प्रयोग नगर्दा राम्रो हुन्छ । धेरै सुगन्ध भएको साबुनले पनि एलर्जी गराउँछ । साबुन प्रयोग गर्दा पनि ग्लिसिरिन भएको शुद्ध खालको साबुनले छालालाई मोइस्चर गराउन सक्छ । लाइफबोइ साबुन सबैले प्रयोग गर्नुहुन्छ तर त्यसमा मोइस्चरको मात्रा कम हुन्छ ।
जाडोमा कुन उमेर समूहको मानिसको स्कीनमा बढी असर हुन्छ ?
चिसोले बुढाबुढी र युवाहरूलाई बढी असर गर्छ । बच्चाहरूको छाला बन्ने क्रममा नै हुने भएकाले धेरै समस्या नदेखिएला । यस्तै गरेर बुढाबुढीहरूको जति उमेर बढ्दै गयो छाला चिल्लो बनाउने ग्रन्थीहरू कम हुदैँ जान्छ । त्यही भएर जति उमेर भयो त्यति ड्राइनेशहरू बढ्छ । चिसोमा केयर गर्नुपर्ने स्कीन भनेको दुई उमेर समूहको हो ।
पुरुष र महिलाहरूको स्कीनमा देखिने समस्यामा के फरक हुन्छ ?
प्राय त दुबैमा उस्तै खाले नै समस्या देखिने गर्छ । कतिपय अवस्थामा मोइस्चराइजर कन्टेन्ट दुबैको स्कीनमा कमी हुन्छ । किनभने जाडोमा झन धेरै मात्रामा इन्टरनल हिटरहरूको प्रयोग गछौँ । त्यसले गर्दा छाताहरू एकदमै खस्रो हुने हुन्छ । धेरै मात्रामा मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।
जाडो महिनामा पनि पानी बढी मात्रामा पिउनुपर्छ । दिनमा तीनदेखि चार लिटर पानी चाँही पिउनैपर्ने हुन्छ । जाडोमा पिसाब धेरै लाग्छ भनेर मानिसहरू पानी नै कम पिउने गर्नुहुन्छ । त्यसो गर्नु हुँदैन् । ताजा फलफूल र तरकारीहरू पनि बढी खानुपर्छ । तनावचाँही कम लिनुपर्ने हुन्छ । र नियमित रूपमा व्यायाम गर्नुपर्छ । स्किन केयर कै लागि पनि यो सबै गर्न आवश्यक छ ।
घरमा बसेर स्कीन केयर कसरी गर्न सकिन्छ ?
घरमै बसेर स्कीन केयर गर्दैगर्दा सबैभन्दा पहिला त राम्रो खालको फेसवास मात्र प्रयोग गर्नुपर्ने हुन्छ । फेसवासपछि अर्को महत्वपूर्ण कुरा भनेको मोइस्चराइजर नै हो । मुख धोएपछि अनुहारमा राम्रोसँग मोस्टाइज गर्नुपर्ने हुन्छ । र अर्को छुटाउन नहुने कुरा भनेको सनस्क्रिन हो । सनस्क्रिन चाँही दिनमा दुई–दुई घण्टाको अन्तरमा अनुहारमा र घाँटीमा लगाउनुपर्छ । बाहिर घाममा निस्कदा मात्र नभएर भित्रै बस्दा पनि आफ्नो स्कीनको अवस्था हेरेर एसपीएफ ३० देखि ५० सम्मको सनस्क्रिन लगाउनुपर्छ । धेरै चाया पोतो आउने स्कीन छ भने ५० एसपीएफको चाहिन्छ । नभए अरू स्कीनमा ३० कोले नै पुग्छ । सबैभन्दा महत्वपूर्ण कुरा पानी धेरै पिउने,जङ्क फुड नखाने र स्वास्थ्य जीवनशैली बिताउनु नै हो ।
स्कीनलाई हेरचाह गर्ने नाममा बजारमा पाइने जुनपायो त्यही प्रोडक्टहरुको पनि प्रयोग गरिएको पाइन्छ । यसबाट जोगिन के गर्ने ?
स्कीनको केयर गर्ने नाममा झनै आफ्नो स्कीनलाई बिगार्ने काम त गर्नु हुँदै हुँदैन् । यस सम्बन्धि केही ज्ञान नै छैन् भने एक पटक आएर डाक्टरसँग भेट्न उपयुक्त हुन्छ । तर अहिलेको जमानामा प्राय सबैको हातमा मोबाइल फोन छ । सञ्चार माध्यम, फेसबुक, टिकटकतिर छाला सम्बन्धी जानकारीहरू राखिएको हुन्छ । त्यसरी पनि थाहा पाउन सकिन्छ । जथाभाबी रूपमा औषधिहरू प्रयोग गरेर स्किनलाई बिर्गान भन्दा डर्माटोलोजिष्टको सुझावलाई आत्मसाथ गर्नु नै उचित हुन्छ ।
हजुर आफैँमा एक डर्माटोलोजिष्ट हुनुहुुन्छ । हजुरले चाँही आफ्नो स्किनलाई कसरी हेरचाह गरिराख्नु भएको छ ?
बिहान उठेर मुख धुन्छु । मुख धुन क्लिनजर या त फेसवास प्रयोग गर्छु । मैले प्रयोग गर्ने फेसवास र क्लिनजर चाँही सिजन अनुसार परिवर्तन गर्ने गर्छु । क्लिनजर भन्दापनि जाडो महिनामा बढी क्लिनजर नै प्रयोग गर्ने गर्दछु । गर्मी महिनामा फेसवास प्रयोग गर्छु । मासिक केमिकल पिलहरु गरिरहेको हुन्छु । साधारणतया मोइस्चराइजर, सनस्क्रिन त प्रयोग गर्ने नै भइहालें तर समय मिलेसम्म सनस्क्रिन चाँही प्रत्येक दुई घण्टामा लगाउने गर्छु ।
बच्चाहरूलाई पनि सनस्क्रिन लगाइदिने गरेको देखिन्छ । बच्चाहरूले सनस्क्रिन प्रयोग गर्नु कत्तिको उचित छ ?
कतिपयले नबुझेर बच्चाहरूलाई पनि ठूला मान्छेले प्रयोग गर्ने सनस्क्रिन प्रयोग गराएको देखिन्छ । तर त्यसो गर्नु हुँदैन् । दुई वर्ष भन्दा मूनीका बच्चाहरुले त सनस्क्रिन प्रयोग गर्नैं हुँदैन् । दुई वर्ष पछिको बच्चाको लागि किड्स सनस्क्रिन भनेर छुट्टै पाइन्छ । नत्र जे पायो त्यही प्रयोग गरियो भने बच्चाहरूको छालामा दीर्घकालीन असर देखिन्छ ।
विशेषगरी जाडोमा स्किन केयर एकदमै आवश्यक छ । जुनसुकै उमेरका व्यक्तिहरूले छालाको राम्रो हेरचाह गर्नु आवश्यक छ । नुहाउने बित्तिकै स्किनमा मोइस्चराइज गरिहाल्नु पर्छ अनि स्किन ड्राइ हुने समस्या कम हुन्छ । हाइपोथाइरोटिज्मदेखि विभिन्न रोगहरुसँग सम्बन्धित स्किनमा ड्राइनेस आउँछ । त्यसैले लामो समयदेखि स्किनमा ड्राइनेस छ भने मोइस्चराइजर लाएर मात्र बस्न हुन्न । डाक्टरसँग भेटेर टेस्टहरु पनि गर्नुपर्छ, परामर्श लिनुपर्छ ।
कजाखस्तान/अजरबैजान । कजाकस्तानका उपप्रधानमन्त्री कानात बोजुम्बायेभले कजाकस्तानमा भएको विमान दुर्घटनाको कारण हालसम्म पुष्टि गर्न नसकिएकाले घटनाको निष्कर्षसम्म पुग्न समय लाग्ने बताएका छन् ।
बुधवार अजरबैजान एयरलाइन्सद्वारा सञ्चालित जे२–८२४३ उडान नम्बरको एम्ब्राएर १९० विमान बाकुबाट ग्रोज्नी जाँदै गर्दा कजाकस्तानको अक्ताउ विमानस्थल नजिक दुर्घटनाग्रस्त भएपछि उपप्रधानमन्त्री बोजुम्बायेभले यस्तो बताएका हुन । कजाखस्तानको आपत्कालीन स्थिति मन्त्रालयका अनुसार विमानमा ६७ जना सवार भएकोमा ३८ जनाको ज्यान गएको छ ।
दुर्घटनापछि कजाकस्तान र अजरबैजान दुवै देशले उक्त विमान दुर्घटनाको कारण पत्ता लगाउन राष्ट्रिय समिति गठन गरेको घोषणा गरेका छन् ।
यद्यपि, हालसम्म दुवै देशका सरकारहरूले यो घटनाको कारण तत्काल निर्धारण गर्न नसकिने बताएका छन् ।
बोजुम्बायेभले एक अन्तर–विभागीय अनुसन्धान टोली गठन गरिएको जानकारी दिएका छन । उनका अनुसार आपराधिक अनुसन्धान र पहिचान विशेषज्ञहरू तथा नागरिक उड्डयन व्यवस्थापनका विशेषज्ञहरू अक्ताउमा थप अनुसन्धानका लागि पुगिसकेका छन् ।
विशेषज्ञहरूले घटनास्थलबाट सम्पूर्ण प्रमाण सङ्कलन गरी आपराधिक मुद्दाको ढाँचामा आवश्यक पहिचानको काम गर्नेछन जसबाट उक्त दुर्घटनाको कारण पत्ता लगाउनका लागि सहयोगको अपेक्षा गरिएको बोजुम्बायेभले बताए ।
यसैबिच, अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले बुधवार एक आधिकारिक आदेश जारी गरी डिसेम्बर २६ लाई राष्ट्रिय शोक दिवसको रूपमा घोषणा गरिसकेका छन् ।
रुसको हवाई क्षेत्रमा सन् पिटर्सबर्ग शिखर सम्मेलनका लागि विमान दुर्घटनाका क्रममा राष्ट्रपति अलियेभ जाँदै थिए तर दुर्घटनाको जानकारी पाउँनेबित्तिकै राष्ट्रपति अलियेभले आफ्नो उडान फिर्ता गरेका थिए ।
दुर्घटनाग्रस्त विमानले खराब मौसमका कारण आफ्नो मार्ग परिवर्तन गरेको राष्ट्रपति अलियेभले बताएका छन् ।
तर घटनाको वास्तविक कारण अझै स्पष्ट नभएकाले सो घटनाको कारणबारे अहिले नै चर्चा गर्नु चाँडो हुने उनको भनाई छ । अजरबैजान एयरलाइन्सका अनुसार दुर्घटनाग्रस्त विमानको सबैभन्दा हालैको प्राविधिक जाँच अक्टोबरमा गरिएको थियो । विमानका कप्तानसँग १५ हजार घण्टाभन्दा बढीको उडान अनुभव रहेको जनाइएको छ ।
हालका लागि अजरबैजान एयरलाइन्सले घटनाको अनुसन्धान सम्पन्न नहुँदासम्म बाकुबाट ग्रोज्नी, रुस तथा बाकुबाट माखाचकाला, रुससम्मका सबै उडान स्थगित गर्ने घोषणा गरेको छ ।(सीसीटिभीप्लस)
जनकपुर । मिथिला नगरपालिका ३ मा एक महिलाको हत्या गरि गाडिएको अवस्थामा बुधवार राती शव फेला परेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मिथिला नगरपालिका वडा न.३ हरिहरपुर मुसहरीटोलमा दशैया मुखिया बिनको अन्दाजी ५० वर्षीय श्रीमती रेशमी देबि मुखिया बिनको हत्या भएको अवस्थामा शव फेला परेको हो ।
उनको शव आफ्नै घरको शौचालयको पछाडि गाडिएको अवस्थामा फेला परेको हो । मंगलबार देखि हराइ रहेकी रेशमी देवीलाई खोज तलास गर्ने क्रममा शव फेला परेको जनाइएको छ ।
घटना स्थलबाट शव निकाली पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इप्रका महेन्द्रनगरले जनाएको छ । रेशमीलाई उनकै श्रीमान दशैया मुखियाले हत्या गरेर गाडेको आशँका गरिएको छ भने अनुसन्धानको लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । घटनाको एक दिन पहिला पनि दुबै जनाको झगडा भएको उनको बुहारीको भनाई छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।