धनुषाधाम वडा नम्बर १ मा ४८ प्रतिशत मतदान सम्पन्न
धनुषा । स्थानीय तहको उपनिर्वाचनको क्रममा धनुषाको धनुषाधाम वडा नम्बर १ मा अहिले सम्म ४८ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन कार्यालय धनुषाधामका मुख्य निर्वाचन अधिकृत चुडामणि खड्काले जनाए अनुसार बिहान सात बजे देखि सवा १२ बजेसम्ममा ४८ प्रतिशत मतदान भएको छ ।
आज बिहान सवा सात बजेदेखि सुरु भएको मतदाताको क्रममा १५५१ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत खड्काले बताए । आज अपराह्न ५ बजे सम्म मतदान प्रक्रिया चल्नेछ भने आजै राति नै मतगणना थालिने छ । धनुषाधाम नगरपालिका वडा नम्बर १ मा कुल २ हजार ६ सय ३६ मतदाता छ । मतदानको लागि तीन स्थानमा मतदान केन्द्र तोकिएको छ । धनुषाधामको गोविन्दपुर, वडा नम्बर १ को वडा कार्यालय र मुंग्राहास्थित मतदान निमाविमा मतदान केन्द्र रहेको छ ।
मतदान स्थलमा निकै चहलपहल बढेको छ भने शान्तिपूर्ण रूपमै मतदाताहरू अहिलेसम्म मतदान गरिरहेको छ ।
चार देशका राजदूतले लिए शपथ ग्रहण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष चार देशका राजदूतले शपथ ग्रहण गरेका छन् । आइतबार बिहान शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलसमक्ष अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा.शैल रुपाखेती, साउदी अरबका लागि डा.नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथ ग्रहण गरेका हुन् ।
शपथ ग्रहण कार्यक्रममा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राष्ट्रपतिले राजदूत नियुक्त गरेका थिए।
सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला चार सय रुपैयाँले घटेर एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रवार प्रतितोला एक लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यसै गरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रवार चाँदी प्रतितोला एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ घटेको हो ।
स्थानीय तहका रिक्त पदका लागि मतदान हुँदै
काठमाडौँ । आज आइतवार स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि मतदान हुँदै छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।
यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १ सय २४ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर १ सय ३५ रुपैयाँ ४८ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ १५ पैसा रहेको छ ।
यसको साथै, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७८ पैसा रहेको छ । युरोपियन युरो एकको खरिदमा १४२ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ ०६ पैसा तोकिएको छ ।
यसै गरी, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ९९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ३ पैसा रहेको छ । साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ९० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ०६ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ छ भने बिक्री दर ३७ रुपैयाँ १७ पैसा रहेको छ ।
यस्तै, कुवेती दिनार एकको खरिद दर ४ सय ३८ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर ४ सय ४० रुपैयाँ ९२ पैसा रहेको छ ।
आजको मौसम : गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हिमपातको सम्भावना
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव तथा बङ्गालको खाडीमा रहेको चक्रवात “फेनजल” को आंशिक प्रभाव रहेको छ । जसको कारण देशको तराई भू–भागका केही स्थानहरूमा कुहिरो लागेको छ भने अन्य स्थानमा मौसम सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी, मदेस लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।
यस्तै, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती पनि गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
एनपीएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई हरायो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ । विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गरेको हो ।
जनकपुरका लाहिरू मिलन्थाले सर्वाधिक अविजित ७५ रन जोडेका छन् । उनले तेस्रो विकेटका लागि हर्ष थक्करसँग मिलेर शतकीय अविजित साझेदारी गरे । १५ रनलाई २ विकेट गुमाएको जनकपुरको ब्याटिङ लाहिरु र हर्षले सम्हालेका थिए । बलिङमा विराटनगरका प्रतिश जिसी र क्रिस सोलले एकएक विकेट लिए ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो । विराटनगरका मार्टिन गुप्टिलले सर्वाधिक ५५ रन जोडेका थिए । अकिव इल्यास १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
काठमाडौँ । निर्वाचन आयोगले भोलि मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । विभिन्न ४१ रिक्त पदका लागि आइतबार मतदान हुँदैछ ।
आयोगकी प्रवक्ता सहसचिव निता पोख्रेल अर्यालका अनुसार निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।
गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, क्रियापुत्री, सुत्केरी तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिइन् ।
मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणना स्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ । मतगणनाको अद्यावधिक परिणाम आयोगको वेबसाइटमा हेर्न सकिने आयोगले जनाएको छ ।
आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मताधिकारको उपयोग गर्न सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
मतदान स्थलको निश्चित क्षेत्र बाहेक निर्वाचन सुरक्षामा असर नपर्ने गरी यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन हुनुका साथै मतदान हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक बिदाका लागि आयोगले सम्बन्धित निकायलाई अनुरोध समेत गरिसकेको जनाएको छ ।
एनपीएल : जनकपुरलाई १ सय २८ रनको लक्ष्य
काठमाडौँ । आजबाट सुरु भएको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) को पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १ सय २८ रनको लक्ष्य दिएको छ ।
जनकपुरका कप्तान अनिल शाहले टस जितेर बलिङ रोजेसँगै विराटनगरले पहिले ब्याटिङ गरेको हो । खेलमा विराटनगर किंग्सका ब्याटर मार्टिन गप्टिलले ४३ बलमा ५५ रन बनाएर अर्धशतक पूरा गरेका थिए ।
एनपीएल नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा इतिहासमा नै पहिलो पटक आयोजना भएको हो । विराटनगर किंग्सका कप्तानमा सन्दीप लामिछाने छन् भने जनकपुरको कप्तानमा अनिल शाह रहेका छन् ।
मुगुको दुर्गम बस्ती लिब्रुमा सडक पुगेपछि स्थानीय खुसी
मुगु । मुगुको दुर्गम बस्ती लिब्रुमा सडक पुगेपछि स्थानीय खुसी भएका छन् । नेपालको बिकट हिमाली जिल्ला शिक्षा, स्वास्थ्य , सञ्चार ,सडक क्षेत्रले पछि परेको मुगुमा संघियता आएपछि बिकट बस्तीहरूमा सडक सञ्जाल दिन प्रतिदिन धमाधम जोडिन थालेका छन् ।
सोरुगाँउपालिका वडा नम्बर ४ मा रहेको लिब्रु र रावलबाडा बस्तीहरूका सडक सञ्जाल जोडिएपछि स्थानीय बासीहरू सडक प्रयोग गर्न पाइने भयो खुसी भएका छन् ।
विगतका दिनहरूमा रोजी रोटीको लागी भारत र राजपुर तिर गएपछि मात्र गाडी साइकलहरू देखेको भए पनि अहिले गाउँमा नै सडक सञ्जाल पुगेपछि सुखी लागेको सोरुगाँउपालिका वडा नम्बर ४ लिब्रुकी स्थानीय सम्झना बिकले बताइन् ।
उनले भनिन्, ‘यसरी हाम्रो जन्म भूमिमा गाडी पुगेपछि निकै खुसी भएका छौँ, बिरामी हुँदा डोकोमा बोकेर ३,४ दिन उपचार गर्न वा ,अन्य सरकारी काम गर्न सदरमुकाम गमगढी ३ दिन लगाएर जाने गरेका थियौँ , अब घरको आँगनबाटै गाडी देख्न ,प्रयोग गर्न पाउने भयौँ निकै खुसी लागेको छ ।’
सोरुकोट मसिनामेला लिब्रु सडक खण्ड स्थानीय तहको पहलमा विभिन्न सरकारी निकायको पहलमा ३,४ वर्ष पहिला देखी निमार्ण हुँदै आइरहेको थियो । यो सडक सोरुकोटदेखी लिबु्र नदीको किनारसम्म १३ किलो मिटर रहेको छ ।
यसको सडकमा कुल लागत १ करोड भन्दा बढी रकम खर्च भएर निमार्ण भएको सोरुगाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताए ।
निर्वाचनमा उम्मेदवार भएर जनताको घर दैलोमा जाँदा जनतासामु पहिलो आफ्नो एजेन्डा सोरुगाँउपालिकामा रहेका ११ वडाहरूमा सडक सञ्जालको पहुँच पुर्याउने र सडकबाट नागरिकहरूको दैनिक जीवनमा गरिने कार्यको सहज रूपमा पहुँच पुर्याउने लक्ष्य अनुसार सडक सञ्जाल निर्माण गरिएको सोरुगाँउपालिकाका अध्क्षय धर्म बहादुर शाहीले बताए ।























