बिचार : पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शून्य !
पोखरा पर्यटकीय सहर हो । धेरैको सपनाको सहर । प्रकृतिले पोखरालाई सुन्दर बनाएको छ । यहाँको सौन्दर्ययता पान गर्न लाखौँ पर्यटक पुग्ने गर्छन् । यहाँ आउने हरेक पर्यटकले सुरक्षित महसुस गर्न सक्नुपर्छ । सुरक्षित रूपमा आवतजावत गर्न र घुम्न पाउनुपर्छ । तर, पोखराबाट अन्य ठाउँमा जाने सवारी साधनले यात्रुलाई खुलेआम ठगेका छन् भन्दा पोखरा प्रति मानिसहरूको धारणा कस्तो होला ? ठाउँ सुन्दर हुँदैमा मान्छेका मन सुन्दर भएन भने सुन्दर ठाउँको कुरूप सम्झना हुनेछ । सुन्दर पोखरा बनाउन यहाँका सवारी साधनका कर्मचारी, होटेल व्यवसायी, ट्याक्सी चालक, व्यापारी, स्थानीय, प्रहरी र स्थानीय सरकारको व्यवहार पनि सुन्दर र सम्झन लायक हुनुपर्छ ।
केही समयअघि पोखरा घुम्ने अवसर मिलेको थियो । पोखराको सौन्दर्ययतामा मैँले धेरै खुसी अनुभूति गरेँ । साथै केही तिता सम्झनाहरू पनि मसँग छन् । जुन सुधार गर्नै पर्ने खालका छन् । त्यसैले यहाँहरू माझ साझा गर्न गइरहेको छु । चाडपर्वमा लामा दूरीका सवारी साधनले मनलाग्दी भाडा उठाउने गुनासा आउने गर्छन् । त्यसको प्रत्यक्ष भोग्ने म पनि भएँ । चाडपर्व मनाउन या घुम्न पोखरा गएका यात्रुहरूबाट काठमाडौँ फर्कने क्रममा माइक्रोका कर्मचारीहरूले मनलाग्दी भाडा उठाए । टिकट काउन्टरमा जाँदा यातायात कर्मचारीले टिकट छैन भन्ने र माइक्रोमा राखेर बढी पैसा असुलेर यात्रुलाई दुख दिइएको थियो । प्रमाणका लागि टिकट नदिने तर बढी भाडा लिएर यात्रु हाल्ने क्रम हालसम्म रोकिएको छैन । यात्रु ठग्ने, लुट्ने नै उद्देश्य भए समिति खडा गरेर काउन्टर राख्नुको के औचित्य भयो ? टिकट नै दिन नसक्ने काउन्टरहरू के का लागि त ?
काठमाडौँ–पोखरा ७ सय ५० भाडा दर भए पनि माइक्रो बसले एक हजार भाडा यात्रुबाट उठाउने गरेका छन् । हवाईजहाजले बढी भाडा उठाए भनेर चर्को आवाज उठे पनि बस–माइक्रोले उठाएको भाडाबारे त्यति चर्चा हुने गरेको पाइन्न । यात्रुले आफ्नो आवश्यकता र औकात अनुसार सवारीसाधन प्रयोग गर्ने हुँदा सबैतिर अनुगमन गर्नु सरकारको दायित्व हो । तर, टोल देखि केन्द्रसम्मका सरकार हर क्षेत्रमा जस्तै यसमा पनि चुकेका छन् ।
चाडबाडको बेला गाडी नपाएर यात्रुहरूले प्रतिव्यक्ति १२ सयसम्म तिरेर पनि यात्रा गरेकै छन् तर चाडबाड सकिदाँपनि सात सयको भाडामा एक हजारमा टिकट काटेपछि कसलाई के भन्ने ? यहाँका काउन्टरहरूको हविगत देख्दा त कसैको घरमा श्राद्ध भए पनि टिकट नकाटी रिजर्भमा एक हजार देखि १२ सय लिएर गाडी पठाउने नगर्लान् भन्न सकिदैंन ।
भाडा मात्रै बढी हैन पोखरा–काठमाडौँ चल्ने माइक्रोले क्षमताभन्दा बढी यात्रु राखेर सवारीसाधन चलाउने गर्छन् । १५ जनाको सिट क्षमता भएको माइक्रोमा २४ जनासम्म यात्रु हालेर गुडाउने गरिन्छ । अझ लोकल यात्रु हालेर ठाउँ ठाउँमा ओराल्ने उकाल्ने त छदैंछ । लामो यात्रा र खराब बाटोका कारण यात्रुले सास्ती भोग्नुपरेको छ । बढी यात्रु हाल्दा उभिने यात्रु निहुरिएर उभिनुपर्छ भने बसेका यात्रुलाई समेत कष्ट भोग्नु परिरहेको छ । यातायात व्यवसायीको षड्यन्त्रका कारण सवारीसाधन छैन भनेपछि सिट नै नभए पनि उभिएर काठमाडौँ आउन यात्रु पनि तयार हुन्छन् । लामो रुटमा कष्टसहित यात्रु बोके पनि उनीहरूमाथि कसैले केही कारबाही गर्दैन । सबैले यसलाई चाडपर्वमा यस्तै नियति हुन्छ भन्दै छाड्ने गरेका छन् । अझ भनेर कसलाई के हुन्छ र भन्ने मानसिकता यात्रुमा पनि विकसित भइसकेको छ । यो एकदमै डरलाग्दो अवस्था हो ।
चाडबाडमा ट्राफिक प्रहरी र प्रहरीले जति विज्ञप्ति र भाषण दिए पनि व्यवहारमा यात्रुले केही सहज अनुभूति गर्न नसकेको छर्लङ्ग छ । चेकपोस्ट सडक छेउमा सरकारी बजेट खर्च गरेर बन्छ तर प्रहरीलाई यात्रु सङ्ख्या टिपाउन सहचालकले चौकीमा गएर भन्छ । ५० जना नै यात्रु हाले पनि सडकबाट केही माथि रहेको चौकीले सहचालकले टिपाएको सङ्ख्या मात्रै देख्छ । त्यसैले बाटोमा कुनै दुर्घटना हुँदा यात्रुको सङ्ख्या यकिन नभएको भनेर विज्ञप्ति निकालेका धेरै उदाहरण छन् ।
यति मात्रै होइन पोखरा–काठमाडौँ चल्ने माइक्रोहरूको स्पिड पनि मनलाग्दी छ । मानौँ उनीहरू मान्छे हैन कुखुरा बोकेर हिँडेका छन् । न उनीहरूलाई आफ्नो ज्यानको माया छ न यात्रुको सुरक्षाको नै चिन्ता । काठमाडौँ चाँडै पुग्ने र फेरि यात्रु लिन पोखरा फर्किने हतारोमा उनीहरू हुन्छन् । यात्रुहरू जिउँदै गन्तव्यमा पुगिन्छ कि पुगिन्न भनेर बाटाभरि त्रासमा हिँड्छन् । पोखरा–काठमाडौँ सडकको यात्रा हैन यमराजको घर जाने यात्रा गरेजस्तो अनुभूति हरेकलाई हुन्छ ।
केही दिनअघि पोखरा–काठमाडौँ यात्रा गर्ने एक माइक्रो बसले तीन ठाउँमा अन्य सवारीसाधनलाई ठक्कर दिदैं काठमाडौँ पुगेको थियो । राजमार्गमा दुर्घटना हुँदा सधैँ खराब बाटो र अन्य सावरी साधनलाई उछिन्ने होडलाई मुख्य कारण मानिन्छ । तर, साथसाथै चालक पनि उतिकै दोषी हुने गर्छन् । जसको प्रमाण माइक्रो बसका चालक नै थिए । ओभर स्पिड र ओभर लोड हुँदा पनि पोखरा देखि काठमाडौँ सम्म कुनै ठाउँमा राज्यको उपस्थिति छैन । ठाउँ ठाउँमा चेकिङका लागि प्रहरी बसेको हुन्छ तर चेकिङमा यात्रुको विवरण नटिपाइ माइक्रोका कर्मचारी कार्यालयभित्र पुग्छन् । किन र के कारण पुग्छन् सहजै अनुमान गर्न सकिन्छ ।
पोखरा जस्तो समृद्ध र विकसित ठाउँमा हाकाहाकी यात्रु लुटिन्छ छेउमै रहेको प्रहरी प्रशासन बेखबर छ । दुई सय किलोमिटर बढी यात्रा गर्नुपर्ने बाटो छ, माइक्रोमा सजाय दिइएको अपराधी जसरी यात्रु कोचिन्छ, बाटोभरि ट्राफिक प्रहरी, प्रहरी र प्रशासन बेखबर छ । सडकमा राज्यको उपस्थिति जिरो छ । यस्तो लाग्छ माइक्रो चढेपछि सरकार, सैनिक, प्रहरी प्रशासन सबै माइक्रोका चालक हुन् । उनी मनपरि यात्रुमाथि शासन लाद्छन् । भनौँ यात्रुहरूमाथि दुर्व्यवहार गर्छन्।
गन्तव्यमा पुग्नै पर्ने बाध्यताका कारण यात्रु पनि चुपचाप सहन्छन् । यात्रुले आवाज उठाइहालेपनि जान मन नभए झर्नुस् न भन्ने उत्तर पाइन्छ । अझ माइक्रोका चालकहरूले मुखै छाड्ने अवस्था समेत आउने गरेका उदाहरण छन् । यति लामो यात्रामा न टाइम कार्ड छ, न निश्चित समय नै । जथाभाबी मनपरी सवारीसाधन चलाउँदा नदेख्ने प्रहरी प्रशासन के गर्न ठाउँ ठाउँमा बस्छ बुझ्न सकिन्न । सुरक्षित यात्रा गर्नु हरेक नागरिकको अधिकार हो, तर नागरिकको सम्पूर्ण अधिकार चालकले कुण्ठित गर्छन् र राज्य रमिते बनेर बसेको छ ।
‘चोर पुलिसभन्दा एक कदम अगाडि हुन्छ’ यो भनाइ मात्रै होइन हविगत हो । मापासे चेकिङको नियम राति ८ बजेबाट राति ११ बजेसम्म मात्रै छ । दिउँसो मापासे गर्दैनन् भन्ने के ग्यारेन्टी छ ? झन्डै दुई सय किलोमिटरको बाटोमा न मापासे चेकिङ हुन्छ न गापासे नै । खाजा खाने ठाउँमा चालकका आँखा राता हुन्छन् । मेसिन नभए पनि मापासे र गाँजा खाएको सजिलै छुट्टाउन सकिन्छ । तर, ट्राफिक प्रहरीलाई केही मतलब छैन । गाडीमा बम छ कि अवैधानिक सामान वा मान्छे छ जाँच नै हुन्न ।
भिडभाड हुने ठाउँमा तीनरतीन किलोमिटरको ग्यापमा ट्राफिक स्पिड चेक गर्न गन लिएर दश जनाको समूह नै बनाएर बस्छन् । तर उपत्यका बाहिर एक सय माथिको स्पिडमा सवारी साधन चलाउँदा ट्राफिक कहाँ हुन्छ थाहा हुन्न ? यदि स्पिड चेकिङ उपत्यका बाहिर पनि गर्ने हो भने सायद आज दुर्घटनामा मर्नेको सङ्ख्यामा कमी हुने थियो कि ? वान वे मा १०ः१५ जनाको समूह नै बनाएर चिट काट्न बसेका ट्राफिकको उपस्थिति राज्यका मुख्य हाइवेमा खै ? उनीहरूको कामको प्रकृति हेर्दा नेपाल ट्राफिक प्रहरी होइन नेपाल ट्राफिक कर संकलन केन्द्र नामकरण गर्दा हुन्छ ।
कहिलेकाहीँ काम गरेजस्तो चटक पनि ट्राफिक प्रहरी गर्छन् । मिडिया लगेर काठमाडौँका सडकहरूमा चल्ने लोकल बसका यात्रुलाई भाडा कति उठाएको छ, बढी लिएको त छैन नि भनेर सोध्छन् । तर, त्यही ट्राफिक प्रहरी लामो दूरीमा टन्न भाडा उठाएर हिड्या सवारी साधनका यात्रुसँग किन प्रश्न सोध्दैनन् ? ल अन्त त सावरी साधन चेकिङ गर्न सकेन, यात्रुको बारे सोध्न सकेन भने नागढुंगामा त सोध्न सकिन्थ्यो नि, त्यो समेत छैन । ट्राफिकले स्ट्न्ट होइन काम गरेर देखाउन आवश्यक छ । र कडा कानुन कार्यान्वयन गर्न जरुरी छ ।
दुर्घटना हुँदा यातायात समितिहरू, नेपाल सरकार र नेपाल प्रहरी तथा ट्राफिक प्रहरी गरी तीन वटा निकायलाई दोषी ठहर गरेर कारबाही गर्नुपर्छ । क्षतिपूर्ति तीनै ठाउँबाट भराउन आवश्यक छ । दुर्घटना चाहेर हुने कुरा हैन तर, यी तीन निकायको लापरबाहीले पनि अझ दुर्घटना बढेको छ । गाडीमा चेकिङ नगर्ने प्रहरी दोषी, गाडीको अवस्था र चालकको अवस्था चेकिङ नगर्ने समिति दोषी र सडक सुरक्षाबारे कडा निगरानी नगर्ने ट्राफिक दोषी छन् । चालकको लापरबाहीका कारण आज हाइवेमा हिँड्ने हरेक यात्रुको घरबाट निस्किदा गन्तव्यसम्म नपुगुन्जेल श्वास मुटुमै अड्किएको हुन्छ ।
दुर्घटना किन भयो भन्दा पनि दुर्घटना कम गराउन के पहल गरियो त्यो सोच्न जरुरी छ। दुर्घटना भएपछि सबै ध्यान दिने सरकारले सुरक्षित सडक बनाउन सामान्य कुरामा ध्यान दिन किन सक्दैन ? प्रधानमन्त्री खड्ग प्रसाद ओलीले नागरिक एपबाट सडक नियम उल्लङ्घनको जरिवाना तिर्न मिल्ने बनाउनुभयो तर, यात्रुको व्यथा र कहानी सुन्ने एप किन बनाउनु भएन ?
यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलरलगायतका विदेशी मुद्राको मूल्य घटेको छ ।
आज अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८० पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २२ र बिक्रीदर एक सय ७१ रुपैयाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५६ पैसा रहेको छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ५३ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।
त्यसैगरि, जापानी येन १० को खरिददर नौ रुपैयाँ ०२ पैसा र बिक्रीदर नौ रुपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७ रुपैयाँ २५ पैसा रहेको छ ।
यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ८९ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ८४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ५८ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ १७ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रुपैयाँ १८ पैसा र बिक्रीदर तीन सय ५२ रुपैयाँ ७४ पैसा तोकेको छ ।
त्यस्तै, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा तोकिएको छ । मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा तोकिएको छ ।
समाजवादी महिला संघ तदर्थ समिति गठन
धरान । जनता समाजवादी पार्टी (जसपा) को महिला भातृ सङ्गठन समाजवादी महिला संघ सुनसरी जिल्ला समितिको तदर्थ समिति निर्माण गरेको छ । समाजवादी महिला संघ प्रदेश नं.१ समितिद्वारा आज जसपा धरान नगर समितिको पार्टी कार्यालयमा आयोजित महिला भेलाले ममता राईको संयोजकत्वमा ११ सदस्यीय सुनसरी जिल्ला तदर्थ समिति चयन गरेको हो ।
समितिको सदस्यहरूमा शान्ता दाहाल, कौशिला चेम्जोङ, दिवा खड्का, रेनुका राई, रमा कार्की, चिना राई, शोभा दाहाल, अन्जना राई, कृष्णमाया राई रहेका छन् । त्यसैगरि समितिको सचिवमा बिन्दु श्रेष्ठलाई जिम्मेवारी दिइएकोछ । आज निर्माण भएको समितिले चाडै समाजवादी महिला संघ सुनसरी जिल्लाको भेला आयोजना गरी समिति पुनर्गठन गर्ने जनाएको छ ।
उक्त भेलामा जसपा केन्द्रीय उपाध्यक्ष मा. सुशीला श्रेष्ठको प्रमुख आतिथ्ययतामा कार्यक्रम आयोजना गरिएको थियो भने भेलामा विशिष्ट अतिथिका रूपमा प्रदेश नं. १. पूर्व मन्त्री तथा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रदेश नं. १ पार्टी सह–इन्चार्ज मा. निर्मला तावा लिम्बु रहेका थिए । त्यसै गरी जसपा राजनीतिक समिति सदस्य तथा प्रदेश नं.१ पार्टी सह–इन्चार्ज भिम राई, पार्टीका केन्द्रिय सदस्यबिना पुमा राई, समाजवादी महिला संघ प्रदेश नं. १ का अध्यक्ष योशा गुरागाईं, समितिका कोषाध्यक्ष तथा बराहाक्षेत्र नगर कार्यपालिका सदस्य दुर्गा गुरुङ्गको उपस्थिति रहेको थियो ।
भेलाको अध्यक्षता समाजवादी महिला संघ प्रदेश नं. १ सहसचिव तथा सुनसरी महिला जिल्ला इन्चार्ज लिला राईले गरेका थिए । र, स्वागत मन्तव्य समिति सदस्य गोमा राईले गरेका थिए भने कार्यक्रम सञ्चालन महिला प्रदेश समिति सचिव कमला सुब्बाले गरेका थिए ।
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति बीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जीनफिङ बीच बेइजिङमा भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच मंगलबार दिउँसो चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो । भेटमा दुई देशबिचको सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
भेटवार्ता लगत्तै नेपाल–चीन द्विपक्षीय उच्चस्तरीय वार्ता भएको छ ।
एनपीएल : पोखरा एभेन्जर पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज(मंगलबार) भएको दोस्रो खेलमा पोखरा एभेन्जरले हार व्यहोर्नु परेको छ । पोखरा एभेन्जर १३.२ ओभरको खेलमा अलआउट भएका छ ।
पोखराले १३.२ ओभरको खेलमा १० विकेट गुमाएर ७४ रन मात्र बनाएका हुन् । पोखराले टस जितेर पहिलो बलिङ रोजेको थियो । पोखराले पहिलो खेलमा नै राम्रो प्रदर्शन गर्न सकेन् ।
चितवन राइनोजले पोखरा एभेन्जरलाई १ सय ६२ रनको लक्ष्य दिएको थियो । चितवन राइनोज टस हारेर पहिलो ब्याटिङ्मा गएको थियो ।
चितवनले सोमवारको खेलमा पनि काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो । पोखराका मार्की खेलाडी तथा कप्तान कुशल भुर्तेल हुन् भने चितवनका मार्की खेलाडी एवम् कप्तान कुशल मल्ल हुन् ।
एक हजारले बढ्यो सुनको मूल्य
काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य एक हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजारले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँ कायम भएको छ ।
नेपाली बजारमा आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ३० रुपैयाँले बढेर एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको एक हजार आठ सय १५ रुपैयाँ थियो ।
प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबिच आज द्विपक्षीय भेटवार्ता
काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबिच द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । आज मंगलबार ‘ग्रेट हल अफ पिपल’ मा हुने उनीहरूको भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र प्रधानमन्त्री ली छ्याङ तथा चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । साथै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिन फिङसँग आजै शिष्टाचार भेटवार्ता गर्ने तालिका छ ।
परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहित प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीबिच आज नै द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि दुई देशबिच सहयोग आदानप्रदान सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।
सबै कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कनेछ । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका उच्च सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीलगायत छन् ।
विराटनगरले टस जितेर बलिङ् गर्दै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा विराटनगरले पहिले बलिङ गर्दै छ । विराटनगरले टस जितेर पहिले बलिङ् रोजेको हो । आजको खेल विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच हुदैँछ ।
आफ्नो पहिलो खेलमा विराटनगर किङ्स जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमको भने यो एनपीएलमा पहिलो खेल हो l विराटनगरका कप्तान तथा मार्की खेलाडी सन्दीप लामिछाने हुन् भने सुदूरपश्चिमका मार्की खेलाडी र कप्तान दिपेन्द्रसिंह ऐरी हुन् ।
चलचित्र ‘कार्साङ’ले टिजर सार्वजनिक गर्दै
काठमाडौँ । चलचित्र ‘कार्साङ’ले केही दिनमा टिजर सार्वजनिक गर्दैछ । यो चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्केलगायत छन् ।
हालसम्म निर्माण पक्षले सार्वजनिक गरेको पोस्टर र तस्बिरअनुसार कसको भूमिका के हो भन्ने निश्चित भइसकेको छैन । सबै गाउँले भूमिकामा रहेको पोस्टर र सुटिङ युनिटबाट बाहिरिएको एक तस्बिरले बताएको छ ।
तर निर्माण पक्षले हालसम्म कसको भूमिका कस्तो छ भनेर केही बताएको छैन । सुटिङस्पटबाट बाहिरिएको दयाहाङ र सिर्जना निङलेखुको तस्बिरले दयाहाङ धामीको भूमिकामा छन् कि भन्ने सङ्केत गरेको थियो ।
यता, जितु र दयाहाङको पोस्टर बराबरी सङ्ख्यामा आउँदा को मुख्य भूमिकामा छन् भन्ने झनै अन्योल देखिएको छ । क्यारेक्टरको लुक्सबाट को प्रमुख भूमिकामा छन् भनेर अनुमान लगाउन सकिने ठाउँ छैन ।
यदि दयाहाङ राई मुख्य भूमिकामा छन् भने धामी बस्ने क्यारेक्टर पनि हिरो हुन्छ भन्ने यो चलचित्रले प्रमाणित गर्नेछ । चरित्र अभिनेताहरू हिरो हुने सिनेमा आउन थालेको त धेरै भइसक्यो ।
तर, ‘कार्साङ’मा धामी बस्दै हिँड्ने क्यारेक्टर नै हिरो छ भने नेपाली टिपिकल क्यारेक्टरमा सिनेमा बन्न थालेछन् पुष्टि हुनेछ । यसले पैसावाल धनी र हेर्दा आकर्षक क्यारेक्टर मात्रै हुँदैनन् । थप भुइँमान्छेका कथामा चलचित्र बन्न थालेको ‘कार्साङ’ले पुष्टि गरेको छ ।
यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘कार्साङ’ पुस २६ गते पदर्शन हुँदैछ । शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमाका पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयंम हुन् । सिनेमाको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।
यो चलचित्रको अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छन् भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्मसले लिएको छ ।
यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा रहेको छ ।
यस्तै, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ९३ र बिक्रीदर एक सय ७२ रुपैयाँ ६९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ४१ पैसा रहेको छ । सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ५३ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ०४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ ६७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ आठ पैसा र बिक्रीदर ३७ रुपैयाँ २४ पैसा कायम भएको छ । मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकिएको छ ।
त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ र बिक्रीदर चार सय ४१ रुपैयाँ २४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ६५ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ २४ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रुपैयाँ २३ पैसा र बिक्रीदर तीन सय ५२ रुपैयाँ ७९ पैसा तोकेको छ ।




























