रूसमा सेना नपठाएको उत्तर कोरियाको दाबी
संयुक्त राष्ट्रसङ्घ, ६ कात्तिक : उत्तर कोरियाले मस्कोलाई युक्रेनको विरुद्धमा लड्न सेना नपठाएको जनाउदै संयुक्त राष्ट्रसङ्घका लागि उत्तरकोरीयाली प्रतिनिधि किम सङले सियोलको दाबी “आधारहीन “ भएको दाबी गर्नु भएको छ ।
सियोलको जासुसी एजेन्सीले शुक्रबार प्योङयाङले रूसलाई सहयोग गर्ने सेना तैनाथ गरेको तथा एक हजार ५०० सेना रूसमा प्रशिक्षण गराइरहेको जनाएको थियो ।
उहाँले रुससँगको सैन्य सहयोगको आधारहीन विषयमा आफ्नो प्रतिनिधिमण्डलले प्रतिक्रीया दिन आवश्यक महसुस नगरेको संयुक्त राष्ट्रसङ्घीय महासभा समितिको बैठकमा बताउनु भएको छ ।
सियोलको दाबी “उत्तर कोरियाको छवि बिगार्ने तथा सार्वभौम राज्यहरू बिचको मैत्रीपूर्ण र सहयोगी सम्बन्धलाई कमजोर पार्ने उद्देश्यले गरिएकोसमेत उहाँले बैठकमा उल्लेख गर्नु भएको छ ।
विश्वयुद्धपछि उत्तर कोरियाको स्थापना भएदेखि नै प्योङयाङ र मस्को सहयोगी रहँदै आएको र सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि अझ नजिक भई लामो समय देखि किम जोङ–अनले रूसमा हतियार पठाउँदै आएको दाबी सियोल र वासिङ्टनले गर्दै आएका छन् ।
उत्तर कोरियाले भने उक्त सैन्य तैनाती बारे कुनै टिप्पणी गरेको छैन भने रूसले पनि सेना तैनाथ भएको पुष्टि गरेको छैन ।
यद्देपी नेटो र अमेरिकाले पनि सेना तैनातीको पुष्टि गरेका छेन्न, तर दुवैले यसलाई लामो समयदेखि चलिरहेको युक्रेन द्वन्द्वमा सम्भावित खतरा वृद्धिको रूपमा लिएका छन् ।
उत्तर कोरियाले सेना पठाउने तयारी गरिरहेको रिपोर्टहरू आफुले देखेको सुरक्षा परिषदलाई बताउदै यो विषय सत्य भएमा यसले चिन्ताजनक स्थितीको सङकेत गर्ने संयुक्त राष्ट्रसङघका लागि अमेरिकी दूत रोबर्ट वुडले बताउनु भयो ।
सेनालाई तत्काल फिर्ता बोलाउन आग्रह गर्दै दक्षिण कोरियाली सरकारले उत्तर कोरियाको निन्दासमेत गरेको छ ।
उत्तर कोरियाले युक्रेनमा रुसको अवैध आक्रमणका लागि सेना पठाउनु आफ्नो देशका लागि मात्र नभई अन्तर्राष्ट्रिय समुदायका लागिसमेत सुरक्षा खतरा भएको हो सुरक्षा परिषद्ले जनाएको छ ।
दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले सरकारी स्रोतलाई उद्धृत गर्दै सियोलले युक्रेनमा तैनाथ उत्तर कोरियाली सेनाको निगरानी गर्न कर्मचारीहको टोली पठाउने तयारी गरिरहेको जनाएको छ । योन्हापले रूस समर्थक टेलिग्राममा युक्रेनी भूमिमा रूसी र उत्तर कोरियाली झण्डा देखाउँदै फोटो पोस्ट गरेकोसमेत रिपोर्ट गरेको छ ।
थाउँलु विश्वकपका लागि उसु खेलाडीको बिदाइ
हेटौँडा, ६ कात्तिकः जापानको टोकियोस्थित योकोहा सहरमा अक्टोवर २३ देखि २८ सम्म आयोजना हुने तेस्रो थाउँलु विश्वकप २०२४ मा सहभागी उसु खेलाडी टोलीलाई बिदाइ गरिएको छ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जितका लागि शुभकामना दिँदै बिदाइ गर्नुभएको हो ।
सो अवसरमा मन्त्री महर्जनले बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय र खेलकुद विकास परिषद् उसु खेलको समग्र विकासका लागि साथ सहयोग गर्न सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री महर्जनले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीलाई सहभागी गराएर खेलमार्फत् राष्ट्रको नाम विश्वसामु चिनाउन र पदक जिताउन उसु महासङ्घको महत्वपूर्ण योगदान रहेको भन्दै महासङ्घलाई धन्यवाद दिनुभयो ।
विश्वकपमा खेलाडी दीपक हमाल, विजय सिञ्जाली, निमा घर्ती मगर, पासाङ शेर्पा र राजीव तामाङ सहभागी हुनेछन् । नेपाली उसु टोलीको नेतृत्व महासङ्घका महासचिव ल्हाक्पा छिरिङ लामाले गर्नेछन् भने अन्तर्राष्ट्रिय कोच निकेश श्रेष्ठले टिम कोचको भूमिका निर्वाह गर्ने जनाइएको छ ।
विश्वकपमा सहभागिता जनाउन जान लागेका खेलाडी २०२४ अप्रिलमा चीनमा भएको अन्तर्राष्ट्रिय आमन्त्रित उसु प्रतियोगिताबाट छनोट भएका हुन् । साथै एसियाली राष्ट्रमध्ये यस प्रतियोगितामा नेपालले मात्रै सहभागी हुने अवसर प्राप्त गरेको महासङ्घका महासचिव लामाले जानकारी दिनुभयो ।
काठमाडौँमा आयोजित बिदाइ कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्रकुमार शेरचन, राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्ट, उपनिर्देशक एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठलगायतले खेलाडीलाई जितको शुभकामना दिनुभएको थियो ।
पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई पुरस्कार !
खोटाङ, ६ कात्तिकः हलेसी तुवाचुङ नगरपालिकाले परम्परगत बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत पाँच मुरी तथा त्योभन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकामात्रै उत्पादन हुने बदाम खेती प्रवर्द्धनका लागि नगरपालिकाले प्रोत्साहन रकम वितरण गर्ने कार्यक्रम ल्याएपछि किसान उत्साहित भएका छन् ।
परम्परागत बाली प्रवर्द्धनका लागि नगरसभाबाटै पारित गरिएको नीति तथा कार्यक्रमअन्तर्गत बदामखेती गर्ने किसानलाई उत्पादनमा आधारित प्रोत्साहन रकम वितरण गर्न नगरपालिकाले १५ दिने सूचना समेत जारी गरेको छ । नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख भएअनुसार पाँच मुरी बदाम फलाउने किसानलाई प्रतिमुरी रु पाँच सयका दरले रु दुई हजार पाँच सय तथा त्योभन्दा बढी फलाउनेलाई थप रु तीन सयका दरले प्रोत्साहन रकम दिने जनाइएको छ ।
नगरपालिकाको अधिकांश भागमा उत्पादन हुने बदाम खेलीलाई प्रवर्द्धन गर्दै ब्राण्डिङ गरेर बिक्री गर्ने योजना सहित किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरिएको नगरप्रमुख विमला राईले बताउनुभयो । “बदाम बिक्रीबाट नगरपालिकाका किसानले अहिले पनि राम्रो आम्दानी गरिरहेका छन् । किसानले उत्पादन गरेका बदामलाई आगामी दिनमा ब्राण्डिङ गर्ने योजना छ । उहाँले भन्नुभयो, “हाम्रो नगरपालिकामा बदाम र गहत उत्पादनको प्रचुर सम्भावना छ । हामीले आर्थिक वर्ष २०८०/८१ मा नगरसभाबाटै पारित गरेर गहत र बदामखेती प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रम ल्याएका थियौँ । यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने योजना छ । बदाम र गहतलाई हाम्रो नगरपालिकाको विशेष उत्पादन बनाएर निर्यात गर्दै आम्दानीको स्रोत वृद्धि गर्ने लक्ष्य लिएका छौँ ।”
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाको वडा नं ८ धितुङ, वडा नं ५ दुर्छिम वडा नं २ डिकुवामा सबैभन्दा बढी बदामखेती लगाउने गरिएको छ । वडा नं १ बाहुनीडाँडा, वडा नं ३ च्यास्मिटार, वडा नं ७ महादेवस्थान, वडा नं ११ राजापानीलगायत ठाउँमा पनि आंशिक मात्रामा बदामखेती लगाउने गरिएको छ । मध्यपहाडी लोकमार्गले छोएको यो नगरपालिकाको वडा नं ८ धितुङमा सबैभन्दा बढी बदामखेती लगाउने गरिएको छ । धितुङका धेरैजसो घरमा वार्षिक २०–२२ मुरी बदाम भित्रिने गरेको धितुङका वडाध्यक्ष टेकराज राईले बताउनुभएको छ ।
एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा यस वर्ष सात सय मुरीभन्दा बढी बदाम उत्पादन हुने अनुमान गरिएको नगरपालिकाका कृषि शाखाले जनाएको छ । नगरपालिकाका कृषि शाखाको तथ्याङ्कानुसार करिब दुई सय घरपरिवार किसानले पाँच मुरीभन्दा बढी बदाम उत्पादन गर्दै आएका छन् ।
नगरपालिका क्षेत्रभित्र उत्पादित कृषि उपजलाई प्रवद्र्धन तथा बजारीकरण गर्दै नगरवासीको आयआर्जनमा वृद्धि गर्न हलेसीस्थित ट्राफिकचोकमा चिस्यान केन्द्रसहितको कृषि सङ्कलन केन्द्र सञ्चालन गरिएको छ । आयातित कृषि उपजलाई निषेध गर्दै स्थानीय कृषि उपज प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको रु ३८ लाख ३८ हजार आठ सय ३१ लगानीमा कृषि सङ्कलन केन्द्र स्थापना गरिएको नगर प्रवक्ता एव वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ ।
हलेसी क्षेत्रका किसानले उत्पादन गरेका अधिकांश बदाम स्थानीय तथा बाहिरबाट आएका ठेकेदारले खरिद गरेर जिल्लाकै त्रिधार्मिकस्थल हलेसी बजार, दिक्तेल, रभुँवाघाटमा लाग्ने माघे सङ्क्रान्ति मेला, बराहपोखरी मेला, दिक्तेल बजार, छिमेकी जिल्ला ओखलढुङ्गालगायतमा बिक्री गर्न लैजाने गरेका छन् । जिल्लाका दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकामा मात्र लामो समयअघिदेखि बदामखेती हुँदै आएको छ ।
विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी आसपासका क्षेत्रमा उत्पादित बदाम कोसेलीका रुपमा पनि प्रयोग हुने गरेको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने भक्तजन तथा दर्शनार्थीले कोसेलीका रूपमा बदाम लैजाने गरेका हुन् । अन्नबाली कम उत्दान हुने हलेसीमा उत्पादित बदाम किसानको घरबाटै प्रतिपाथी रु दुई सय ७० देखि रु तीन सय सम्ममा बिक्री भइरहेको जनाइएको छ । किसानबाट खरिद गरिएको बदाम त्रिधार्मिकस्थल हलेसी तथा आसपासका बजारमा रु तीन सय ५० देखि रु चार सयसम्ममा बिक्री हुने गरेको नगर प्रवक्ता गिरीले जानकारी दिनुभयो ।
जापानी नागरिक कोतोबुकीनाकाले २०७४ सालमा वडा नं ५ दुर्छिममा स्थापना गरेको बिपना इनकर्पोरेसन नामको पिनट्स बटर उत्पादक उद्योगमा पनि बदाम खपत हुने गरेको छ । तर सो पिनट्स बटर उत्पादक उद्योगले लोकल (स्थानीय जात)का बदाममात्र खपत गर्ने गरेको किसानले बताएका छन् ।
हिरासतमा रहेका भूदेउ हत्या प्रकरण : दोषीलाई कारबाही नगरेको भन्दै प्रशासनमा निवेदन
खोटाङ : हिरासतबाट भाग्नेक्रममा प्रहरीको कुटपिटबाट ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका थुनुवा भूदेउ भनिने १८ वर्षीय किरण राईको परिवारले दोषीमाथि कारबाही तथा मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङमा निवेदन दिएका छन् ।
ज्यान मुद्दामा विसं २०७० जेठ २८ गते पक्राउ परेका भूदेउको विसं २०७० असार–२६ गते जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतबाट भाग्ने क्रममा प्रहरीको कुटपिटबाट मृत्यु भएको हो ।
राष्ट्रिय मानवअधिकार आयोगले सो घटनामा प्रहरी अधिकृतसहित ११ जनालाई कारबाही गर्न र पीडित परिवारलाई रु तीन लाख क्षतिपूर्ति दिन विसं २०७० भदौ १६ गते सरकार समक्ष सिफारिस गरेको थियो । कुटपिटबाट थुनुवाको मृत्यु भएको घटनामा मानवअधिकार आयोगले तत्कालीन प्रहरी नायब उपरीक्षक राजिव बस्नेत र प्रहरी निरीक्षक रमेश देवलाई विभागीय कारबाही तथा प्रहरी नायब निरीक्षकहरु महेन्द्र खत्री र मुकुन्दप्रसाद विडारी, प्रहरी हवल्दार सुरेशप्रसाद यादव, प्रहरी जवानहरु नकुल राई, रामकुमार बोगटी, कैलाश खत्री, चन्द्र खड्का, देवराज माझी र नारायण खड्कालाई मुलुकी ऐन ज्यानसम्बन्धी महल बमोजिम कारबाही गर्न सिफारिस गरेको थियो ।
आयोगले सिफारिस गरेको ११ वर्ष बित्दासमेत जिल्ला प्रहरी कार्यालय खोटाङले दोषीमाथि कारबाहीको कुनै पनि प्रक्रिया अगाडि नबढाएकाले हिजो जिल्ला प्रशासन कार्यालय खोटाङलाई निवेदन दिएको मृतकका आफन्त (काका) रञ्जिव राईले बताउनुभयो । “घटनामा संलग्न विपक्षीहरुको नाममा उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुङ्गाले परमादेश जारी गरेको थियो । तर, अहिलेसम्म कारबाहीको प्रक्रिया अगाडि बढेको छैन”, उहाँले भन्नुभयो, “राष्ट्रिय मानवअधिकार आयोग र उच्च अदालतको परमादेशसमेत कार्यान्वयन नभएपछि प्रशासनमा निवेदन दिएका हौँ । आशा छ, ढिलै भए पनि दोषीमाथि कारबाही र पीडित परिवारले क्षतिपूर्ति पाउने छौँ ।”
एघार वर्षअघिको सिफारिस कार्यान्वयनको अवस्थाका बारेमा आयोगको कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले गत साउन ३० गते जिल्ला प्रहरी कार्यालयलाई अनुसन्धानको उपलब्धिका बारेमा जवाफ माग गरेको थियो । प्रहरीले विसं २०८१ भदौ ५ गते भूदेउको घटनामा अनुसन्धान जारी रहेको जवाफ दिएको राष्ट्रिय मानवअधिकार आयोग, कोशी प्रदेश शाखा कार्यालय खोटाङका प्रमुख गीताकुमारी दाहालले बताउनुभयो ।
विसं २०७० असार २१ गते प्रहरीको हिरासतबाट भाग्दै गरेको अवस्थामा सोही दिन बुइपाबाट पक्राउ परेपछि भूदेउलाई प्रहरीले निर्घात कुटपिट गरेको मृतकका परिवारको दाबी छ । मृतकको शव परीक्षण प्रतिवेदन तथा मानवअधिकार आयोगको छानबिन टोलीको प्रतिवेदनले यातनाका कारण भूदेउको मृत्यु भएको पुष्टि गरे पनि दोषीलाई कारबाही नभएको मृतककी आमा लक्ष्मी राईको गुनासो छ ।
हिरासतमा रहेका भूदेउ हत्या काण्डका विषयमा पीडित परिवारले सार्वजनिक समारोह तथा प्रहरीले आयोजना गर्ने कार्यक्रममा पटकपटक कुरा उठाउँदै आएका छन् । पीडित परिवारले दिएको निवेदन दर्ता गरेर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय खोटाङमा पठाइएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।
पशुपति धर्मशालाबारे अध्ययन गर्न समिति गठन
काठमाडौँ : पशुपति धर्मशालाको विषयमा यथार्थ अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको नेतृत्वमा छ सदस्यीय अध्ययन समिति गठन गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा धर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न छ सदस्यीय अध्ययन समिति गठन गरिएको उल्लेख छ ।
अध्ययन समितिका अन्य सदस्यहरुमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपससचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, पुरातत्व विभागका उपसचिव र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति शाखाका उपसचिव रहने जनाइएको छ ।
समितिले गौशाला धर्मशाला स्थापनादेखिको अवस्थाको अध्ययन गर्ने, धर्मशालाको आयव्ययको विवरण, लेखा परीक्षण अवस्था, सम्पत्ति, दायित्व, निर्मित संरचना तथा गौशाला धर्मशालाबाट प्रवाह भएको सेवाको प्रकृति तथा अवस्था अध्ययन गर्ने जिम्मेवारी पाएको छ ।
अदालतबाट विभिन्न समयमा भएको आदेश तथा फैसलाको कार्यान्वयनको अवस्था, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समिति, महालेखा परीक्षकको प्रतिवेदन, विभिन्न समयमा गठन भएका समितिको प्रतिवेदन र मन्त्रालय तथा पशुपति क्षेत्र विकास कोषका निर्णय अध्ययन गर्नेे जिम्मा समितिलाई दिइएको छ ।
त्यसैगरी गौशाला धर्मशालामा रहेको जग्गा स्वामित्वका विषयमा अध्ययन गरी यथार्थ विवरणसहितको प्रतिवेदन ३० दिनभित्र पर्यटनमन्त्रीलाई बुझाउने जिम्मेवारी समितिलाई दिइएको छ ।
माल्दिभ्समाथि नेपालको उत्कृष्ट जित
काठमाडौँ ५ कात्तिक : नेपालले साफ माहिला च्याम्पियनसिप–२०२४ मा माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट जित हासिल गरेको छ । साफ च्यापियनसिपमा नेपालको यो पहिलो जित हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालका लागि रेखा पौडेलले पाँच गोल गरिन् भने प्रीति राईले ह्याट्रिक पूरा गरिन् । यसैगरी सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले समान एक–एक गोल गरे ।
जितसँगै चार अङ्क बटुलेको नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले आफ्नो पहिलो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो ।
समान चार अङ्क नै बटुलेको भुटान अङ्क तालिकाको दोस्रो स्थानमा छ । अब भुटानले माल्दिभ्स र नेपालले श्रीलङ्कासँग समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ । यसै खेलले समूहका विजेताको टुङ्गो लाग्नेछ । उक्त खेल यही कात्तिक ८ गते हुनेछ ।
आज खेलको सातौं मिनेटमा नेपालले प्रितीको गोलमा अग्रता लियो । त्यसपछि खेलको २९ औँ मिनेटमा सविताले नेपालको अग्रता दोब्बर पारिन् । खेलको ३२ औँ मिनेटमा रेखाले नेपाललाई ३–० गोलको अग्रता बनाइन । खेलको ४२ औँ मिनेटमा रेखाले अर्को गोल थपिन् ।
यसैगरी खेलको दोस्रो हाफको दुई मिनेट पनि बित्न नपाउँदै रेखाले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । खेलको ६३ औँ मिनेटमा रेखाले व्यक्तिगत चौथो गोल गरिन् । लगत्तै प्रितीले नेपालको लागि सातौँ गोल थपिन् । नेपालले त्यसपछि तीन खेलाडीलाई परिवर्तन गर्दै अनिता केसी, अनिता बस्नेत र सजनी थोकरलाई मैदान छिराएको थियो । अनिता केसीले मैदान छिरेको पहिलो ‘टच’ मै नेपालको लागि आठौँ गोल गरिन् ।
खेलको ७८ औँ मिनेटमा रेखाले व्यक्तिगत पाँचौ र समग्रमा नवौँ गोल गरिन् । यसैगरी खेलको ८६ औँ मिनेटमा नेपालले पेनाल्टीको अवसर पायो । प्रितीले पेनाल्टीलाई गोलमा परिणत गर्दै १०–० को अग्रता दिलाइन् । त्यसको एक मिनेट पनि बित्न नपाउँदै अमिषा कार्कीले अर्को गोल गरिन् ।
साफ च्याम्पियनसिपअन्तर्गत यही कात्तिक ७ गते भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल साँझ ५ः३० बजे हुनेछ ।
वर्तमान सरकारप्रति जनविश्वास छैन : अध्यक्ष दाहाल
जुम्ला, ५ कात्तिक : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनविश्वास नरहेको बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्न यहाँको कनकासुन्दरी गाउँपालिकाको गोरुचौर आइपुग्नुभएका दाहालले वर्तमान सरकारले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाउनुभयो ।
प्रेस सेन्टरले कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “मैले उति बेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो । सरकार गठनको तीन महिना पुग्दैछ । तपाईहरुले सबै देखिरहनुभएको छ ।” उहाँले आफ्नो नेतृत्वको सरकारले राज्यको जमिन जबरजस्ती व्यक्तिका नाममा दर्ता गर्नेलाई गिरफ्तार गरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले नै अदालतमा मुद्दा चलिहरको व्यवसायीबाट जग्गा दान लिएर भ्रष्टाचारीको संरक्षण गरेको उहाँको आरोप थियो ।
उहाँले सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरु गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले जतिसुकै नराम्रो काम गरे पनि हामीले हनिमुन पिरियड मानिने सय दिनसम्म प्रतिनिधिसभाबाट खबरदारी वक्तव्य दिनेबाहेक अन्य विरोधका कार्यक्रम गरेका छैनौँ । आज मात्रै हामी विपक्ष दलहरुका तर्फबाट सरकारलाई ज्ञापनपत्र दिँदैछौँ र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरु हुन्छन् ।”
अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारले देशभित्र भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तथा अन्तर्राष्ट्रिय रुपमा नेपालमा प्रतिष्ठा अभिवृद्धि गर्न पहलकदी लिइरहेको बेला संसद्को पहिलो र दोस्रो दलले आफूलाई हटाएको बताउनुभयो ।
उहाँले आफूले सरकारको नेतृत्व गरेको बेला दुई छिमेकी देशको भ्रमणमा ऐतिहासिक समझदारीहरु भएको उल्लेख गर्नुभयो । “संयुक्त राष्ट्रसङ्घको महासभा, विश्व खाद्य सम्मेलन, कोप–२८ सम्ममा लिएको हस्तक्षेप पूर्ण पहलकदमीले विश्वको ध्यान आकर्षित भएको थियो । महासभाका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिवलाई निम्तो दिएर विभिन्न युद्धको जटिल अवस्थामा महासचिव नेपाल आउनु महत्वपूर्ण उपलब्धि हो”, उहाँले भन्नुभयो, “गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट उहाँ र मैले विश्व शान्तिका लागि अपिल गरेका थियौँ । यी सबै पहलकदमीले विश्वको ध्यान नेपालमा तानिएको थियो र नेपालको पक्षमा अन्तर्राष्ट्रिय जनमत राम्रो बनेको थियो ।”
अध्यक्ष दाहालले सिंजा सभ्यता र प्रतिष्ठानका लागि चाँडै ऐन बन्ने बताउनुभयो । उहाँले आफू पछिल्लोपटक प्रधानमन्त्री भएको बेलामा सिंजा सभ्यता र प्रतिष्ठानसम्बन्धी विधेयक अघि बढाएको उल्लेख गर्दै यसलाई चाँडै मन्त्रिपरिषद्बाट पारित गरी संसद्बाट ऐन बनाउने प्रक्रिया थालनी गर्नुपर्ने बताउनुभयो ।
भूटानले श्रीलङ्कालाई हरायो
काठमाडौँ, ५ कात्तिकः श्रीलङ्कालाई हराउँदै भूटान साफ महिला च्याम्पियनसिप, २०२४ अन्तर्गत समूह ‘बी’को अङ्कतालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भूटानले श्रीलङ्कालाई ४–१ गोलअन्तरले पराजित गर्दै समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै भूटानले दुई खेलबाट चार अङ्क जोडेको छ । पहिलो खेलमा भूटानले घरेलु टोली नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो ।
आज खेल सुरुआती सातौं मिनेटमा भूटानकी डेकी ल्जोहामले गोल गर्दै पहिलो अग्रता दिलाइन । त्यस्तै खेलको २३औं मिनेटमा श्रीलङ्काकी कप्तान थुशानी मधुशिकाले गोल गर्दै खेल एक–एक गोलको बराबरीमा ल्याइन ।
त्यसपछि खेलको ३२औँ मिनेटमा भूटानकी दोर्जी एडेनले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाइन । खेलको ७६औँ मिनेटमा डेकीले व्यक्तिगत दोस्रो गोल गर्दै भूटानलाई ३–१ को अग्रता दिलाइन् । डेकीले गोल गरे लगत्तै नामग्याल डेमाले गोल गर्दै भूटानलाई ४–१ गोलको जित दिलाइन ।
समूह ‘बी’मा रहेको नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । उक्त खेल साँझ ५ः३० बजे हुनेछ ।
गाजामा द्वन्द्वको तुरुन्तै अन्त्य हुनुपर्छ : राष्ट्रसङ्घ
न्यूयोर्क, ५ कात्तिक : मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्का विशेष संयोजक टोर वेन्नेसल्यान्डले गाजामा नागरिकहरूमाथि जारी इजरायली आक्रमणको निन्दा गर्दै युद्ध लम्बिएमा हुने मानवीय सङ्टबारे चेतावनी दिँदै द्वन्द्वको तत्काल अन्त्य गर्न आग्रह गर्नुभएको छ ।
गैर–लडाकुहरूको रक्षा गर्न, प्यालेस्टिनीहरूको थप विस्थापन रोक्न र बन्दीहरूको तत्काल सुरक्षित रिहाई गर्न आवश्यक रहेको वेन्नेसल्यान्डले बताउनुभयो ।
प्रभावित क्षेत्रमा मानवीय सहायता निर्बाध रूपमा प्रदान गरिनु पर्ने बताउँदै वेन्नेसल्यान्डले जीवन बचाउ सहयोगलाई खाँचोमा परेकाहरूसम्म पुग्न अनुमति दिन आग्रह गर्नुभयो ।
वेन्नेसल्यान्डले उत्तरी गाजाको अवस्थालाई इजरायली हवाई आक्रमण र बिग्रँदै गएको मानवीय अवस्थाले चिह्नित गरेको विडम्बनाको रूपमा वर्णन गर्दै बेत लाहियामा भएको विनाशबारे उल्लेख गर्नुभयो ।
बेत लाहियामा रातभरिमा कम्तिमा ८७ प्यालेस्टिनी मारिएको बताइएको छ भने विनासकारी आक्रमणका कारण धेरै जना भग्नावशेषमुनि पुरिएको अनुमान गरिएको छ ।
पछिल्लो समयमा ‘गाजामा विनासकारी द्वन्द्व तीव्र हुँदै गइरहेको जनाउदै उहाँले द्वन्द्व, निरन्तर इजरायली हमला र बढ्दो मानवीय सङ्कटको बिचमा उत्तरी गाजापट्टीमा डरलाग्दो अवस्था देखा परेकाले गाजामा कतै पनि सुरक्षित नभएको बताउनुभएको छ ।
यस्तो अवस्थामा अगाडि बढ्न साहस, राजनीतिक इच्छाशक्ति र नयाँ तथा प्रवावकारी समन्वय र संवाद चाहिने उहाँले बताउनुभयो ।
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
काठमाडौँ, ५ कात्तिकः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ५८ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ९९ अङ्कले ओरालो लागेर दुई हजार छ सय ३९ दशमलव ९२ अङ्कमा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव १४ अङ्कले ओरालो लागेर चार सय ७६ दशमलव २४ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।
नेप्सेका अनुसार, कूल एक करोड ३८ लाख ६३ हजार चार सय ४३ कित्ता शेयर रु पाँच अर्ब ९० करोड सात लाख ९१ हजार ४४ मूल्यमा कारोबार भएका छन् ।
विन नेपाल लघुवित्त नौ दशमलव ९८, कर्पोरेट डेभलपमेन्ट बैंक नौ दशमलव ८२, कालिका लघुवित्त पाँच दशमलव ५२, पिपल्स पावर चार दशमलव ८४ र मानुषी लघुवित्तका लगानीकर्ताले तीन दशमलव ९९ प्रतिशतले कमाएका छन् ।
यस्तै, न्यादी ग्रुप अफ पावर नौ दशमलव २०, गुडविल फाइनान्स पाँच दशमलव ६५, छ्याङदी हाइड्रोपावर चार दशमलव ७९, इस्टर्न हाइड्रोपावर चार दशमलव ७५ र गुर्खाज फाइनान्सका लगानीकर्ताले चार दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।










































































