खानेपानी मन्त्रालयको सय दिने कार्यप्रगति
काठमाडौँ, ५ कात्तिकः खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको सय दिनमा गर्नुभएको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।
मन्त्री यादवले आज यहाँ एक कार्यक्रममार्फत एक सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गर्दै मेलम्ची खानेपानी आयोजना सञ्चालन गरी काठमाडौँ उपत्यकामा प्रतिदिन १७ करोड लिटर पानी पथान्तरण गर्न सफल भएको बताउनुभयो । यस वर्षको ‘मनसुन’ सुरु भएपछि बन्द भएको मेलम्ची खानेपानी आयोजना सञ्चालनका क्रममा आवश्यक मर्मतसम्भारसहित विरोधमा उत्रेका स्थानीय जनतासँग निरन्तर छलफल र समन्वय गरी मेलम्चीको पानी काठमाडौँ ल्याएको उहाँले स्पष्ट गर्नुभएको छ ।
मेलम्चीवासीसहित मुहान क्षेत्रका सरोकारवाला जनताका तर्फबाट विभिन्न माग राखी चरणबद्ध रुपमा आन्दोलन भइरहेको अवस्थामा विरोधमा उत्रेका स्थानीय जनतालाई विश्वासमा लिएर मेलम्चीको पानी ल्याउन सफल भएको मन्त्री यादवले बताउनुभयो ।
गत असोज २२ गतेदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यकामा पथान्तरण तथा वितरण कार्य सुरु भइसकेकाले अब काठमाडौँवासीले खानेपानीको समस्या झेल्नुनपर्ने मन्त्रालयले बताएको छ ।
यसैगरी, काठमाडौँको कोर क्षेत्रअन्तर्गत न्युरोड–ठमेल क्षेत्रमा बिच्छ्याइएको थप ३० किमी पाइपलाइनमा परीक्षणका रुपमा पठाएको पानी वितरण प्रणालीमा समस्या नदेखिएपछि नयाँ पाइप सञ्जालबाट आपूर्ति व्यवस्था मिलाएको तथा ठमेलसहित आसपासका क्षेत्रमा ३४ दशमलव ८९ किमी पाइपलाइनमा समेत परीक्षण कार्य पूरा गरी नियमित रूपमा पानी आपूर्ति गर्न लागेको मन्त्रालयले जनाएको छ ।
मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा अहिलेसम्म एक हजार सात सय किमी पाइप विस्तार गरेको, सो आयोजनामार्फत दैनिक १७ हजार लिटर पानी आपूर्ति हुने गरेको तथा हाल उपत्यकामा ४७ हजार लिटर पानीको माग देखिएको स्पष्ट गरेको छ ।
खानेपानी मन्त्रालयले गत असोज १० गतेदेखिको बाढीपहिरोका कारण काठमाडौँ उपत्यकामा बिग्रेभत्केका ढलहरुको मर्मतसम्भारसहित व्यवस्थापन गरेको उल्लेख गरेको छ ।
यसैगरी, कीर्तिपुरमा ६० लाख र महाँकालचौरमा ८० लाख लिटर क्षमताको पानीपोखरी निर्माण कार्य गत असोजमा पूरा गरी त्यस क्षेत्रका जनतालाई पानी सुनिश्चित गर्ने काम भएको मन्त्रालयले जनाएको छ । योसँगै कीर्तिपुरमा ६ हजार र महाँकालचौरमा आठ हजार घनमिटर क्षमताको पानीपोखरी तयार भएको छ ।
बाढीपहिरोका कारण पानी आपूर्ति व्यवस्था बन्द भएको ललितपुर जिल्लामा खानेपानीको प्रबन्ध गर्ने क्रममा सम्बद्ध क्षेत्रका सङ्घीय तथा प्रदेश सांसद तथा स्थानीय जनप्रतिनिधिहरू समेतको सहयोगमा ललितपुरवासीलाई खानेपानीको व्यवस्था गरेको मन्त्रालयले स्पष्ट गरेको छ ।
त्यस्तै, तीन करोड ७० लाख लिटर क्षमताको धोबीघाट फोहोरपानी प्रशोधन केन्द्रलाई हालैको बाढीले नोक्सान पु¥याएपछि प्रशोधन कार्य रोकिएको सन्दर्भमा बीमा कम्पनीबाट क्षतिग्रस्त उपकरणको मूल्याङ्कन गरी क्षतिपूर्तिको व्यवस्थासहित मर्मतसम्भार तथा सञ्चालनको कामलाई दु्रतगतिमा अघि बढाउन दिएको निर्देशनअनुसार काम भइरहेको छ ।
यसैगरी, बाढीका कारण काठमाडौँ उपत्यकामा बिग्रएका काठमाडौँ उपत्यकामा खानेपानी लिमिटेड (केयुकेएल) का पानी प्रशोधन केन्द्रका उपकरणहरु तत्काल मर्मत गर्नका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिनु भई अहिले काम सुरु भइरहेको मन्त्रालयले जनाएको छ ।
ललितपुर जिल्लाको नल्लु, वासुकी, र देवकीस्थित खानेपानी मुहान क्षेत्रमा पुगेर पछिल्लो समय आएको बाढीले खानेपानीको संरचनामा पु¥याएको क्षतिको विवरण लिई अवरुद्ध भएको खानेपानी आपूर्ति यथासक्य छिटो सञ्चालन गर्न निर्देशन दिएबमोजिम सम्बद्ध निकायमार्फत द्रुतगतिमा काम भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
काभ्रेको पनौती, बनेपा र धुलिखेल नगरपालिकास्थित मन्त्रालयसम्बद्ध एकीकृत खानेपानी आयोजना, नेपाल खानेपानी संस्थान तथा खानेपानी तथा ढल व्यवस्थापन विभागको परियोजनामा पु¥याएको क्षतिको जानकारी लिई मर्मतसम्भारका लागि निर्देशन दिनुभएअनुसार तदारुकताका साथ काम भइरहेको मन्त्रालयले स्पष्ट गरेको छ ।
मन्त्रालयको पहलमा गत महिना भेरी पम्पिङ खानेपानी आयोजना सञ्चालन गर्ने क्रममा चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भई संयुक्त रूपमा सर्वेक्षेणको कामसमेत सुरु भएकाले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको व्यवस्था हुने भएको छ ।
सय दिनको यस अवधिमा जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पोखरा खानेपानी सुधार आयोजनाको निर्माण तथा परीक्षण कार्य सम्पन्न भएको खानेपानी मन्त्रालयले जनाएको छ ।
सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौँ, ५ कात्तिकः स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।
आइतबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६५ हजार छ सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । आइतबारको तुलनामा आज चाँदी प्रतितोला रु २० वृद्धि भएको छ । आइतबार चाँदी प्रतितोला रु दुई हजार ७५ मा कारोबार भएको चाँदी आजका लागि भने रु दुई हजार ९५ निर्धारण भएको महासङ्घले जनाएको छ ।
आजको मौसम : लुम्बिनी र मधेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ, ५ कात्तिक : हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी विज्ञप्तिमा मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको उल्लेख छ ।
देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ । यसैगरी आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । हल्का हिमपातको सम्भावना भएका स्थानमा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
छ वर्षपछि फाल्गुनन्द गोल्डकपको तयारी
पाँचथर, ४ कात्तिक : छ वर्षपछि प्रतिष्ठित फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकप पुनः आयोजना हुने भएको छ ।
फिदिम स्पोर्टिङ क्लबले आउँदो पुस ६ देखि १५ गतेसम्म पाँचथरको फिदिममा प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता सञ्चालन हुने फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदान भत्किएपछि २०७६ सालदेखि यो प्रतियोगिता सञ्चालन हुन सकेको थिएन । दशवटा संस्करण पूरा गरिसकेको प्रतियोगिताको ११औँ संस्करण आयोजनाका लागि तयारी थालिएको फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले जानकारी दिनुभयो ।
‘ए’ डिभिजनका न्यूनतम चार टोलीसहित १० फुटबल टोलीलाई आगामी प्रतियोगितामा सहभागी गराइने आयोजक संस्थाले जनाएको छ । यस्तै, मधेस, बागमती र कर्णाली प्रदेशका एक÷एक, भारतको एक र आयोजकसहित पूर्वका अन्य फुटबल टोली प्रतियोगितामा सहभागी हुने अध्यक्ष थापा मगरले बताउनुभयो । प्रतियोगिताको विजेताले रु पाँच लाख २५ हजार पाँच सय ५५ तथा उपविजेताले रु दुई लाख २५ हजार पाँच सय ५५ रकमसहित ट्रफी र मेडल प्राप्त गर्ने तथा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न रु ७३ लाख ७५ हजार खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिता सम्पन्न गर्न आवश्यक खर्च व्यवस्थापनका लागि प्रायोजकहरुको खोजी, तीनै तहका सरकारसँग सहयोग माग गर्नेलगायत कार्य भइरहेको आयोजकले जनाएको छ । “पुराना प्रवद्र्धक र प्रायोजकसँग टुटेको सम्पर्क र सम्बन्ध पुनःस्थापित गर्न लागिपरेका छौँ”, अध्यक्ष थापा मगरले भन्नुभयो ।
विसं २०४४ मा स्थापित उक्त क्लबले तत्कालीन राजा वीरेन्द्र शाहको जन्मोत्सव तथा फिदिममा आयोजना हुने युवा मेलाको अवसर पारेर शुभजन्मोत्सव फुटबल प्रतियोगिता आयोजना गर्ने गरेको थियो । विसं २०६५ पछि भने १६औँ राष्ट्रिय विभूति किरात महागुरु फाल्गुनन्द लिङ्देनका नाममा प्रतियोगिता आयोजना हुने गरेको थियो । खेलमैदानको पूर्वतर्फको पर्खाल भत्किएपछि २०७६ सालदेखि अवरुद्ध प्रतियोगिता अर्को वर्ष कोभिड–१९ महामारीका कारण सञ्चालन हुन नसकेको अध्यक्ष थापाले बताउनुभयो । विसं २०७७ देखि फिदिम खेलमैदानको स्तरोन्नतिको काम सुरु भएपछि प्रतियोगिता स्थगन भएको थियो ।
प्रतियोगितको पहिलो संस्करणका विजेताले रु ५० हजार तथा उपविजेताले रु २५ हजार पुरस्कार प्राप्त गरेका थिए । यसपश्चात् आयोजकले बर्सेनि पुरस्कारमा वृद्धि गर्दै लगेको थियो । विसं २०५७ मा फिदिम स्पोर्टिङ क्लब अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा आबद्ध भएको थियो भने फाल्गुनन्द गोल्डकप एन्फा क्यालेन्डरमा समावेश भइसकेको प्रतियोगिता हो ।
रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप
गण्डकी, ४ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा थप अनुसन्धान गर्न ६ दिनका लागि म्याद थप गरिएको छ l
कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले अनुसन्धानका लागि ६ दिन म्याद थप गर्ने निर्णय गरेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुुभयो ।
शुक्रबार काठमाडौँमा पक्राउ पर्नुभएका सभापति लामिछानेलाई सोही दिन राति नै पोखरा ल्याई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएकामा आज अदालत समक्ष प्रस्तुत गरिएको थियो । इजलासमा सरकारी वकिलका तर्फबाट कमला काफ्लेले बहस गर्नुुभएको थियो भने सभापति लामिछानेका तर्फबाट अधिवक्ताहरू सुशिल पन्त, डा नारायण घिमिरेलगायतले बहस गर्नुुभएको थियो ।
सभापति लामिछानेलाई अदालतमा उपस्थित गराइरहँदा बाहिर भने उहाँका समर्थकले नाराबाजी गरेका थिए । सम्भाव्य सुरक्षा अवस्थालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको सहिदचोक र आसपासको क्षेत्रलाई तोकेर निषेधाज्ञासमेत जारी गरेको थियो । समर्थकबाट निषेधाज्ञा तोड्ने प्रयास भइरहँदा प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रयोग गरी भीडलाई त्यहाँबाट हटाएको थियो ।
सहकारी पीडितका साथै सभापति लामिछानेका समर्थक दुबै पक्षका छुट्टैछुट्टै प्रदर्शनका कार्यक्रम तय भएसँगै प्रशासनले बिहानैदेखि पोखराको सुरक्षा व्यवस्था कडा गरेको थियो । जिल्ला अदालत परिसर आसपासमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । सभापति लामिछाने समर्थकको ¥याली पोखराको पृथ्वीचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेताहरुले सम्बोधन गर्नुुभएको थियो ।
नेप्से परिसूचक ४७ दशमलव ४४ अङ्कले घट्दा आठ अर्बभन्दा बढीको कारोबार
काठमाडौँ, ४ कात्तिकः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक दशमलव ७२ प्रतिशत अर्थात् ४७ दशमलव ४४ अङ्कले घटेर दुई हजार छ सय ९१ दशमलव ९१ अङ्कमा झरेको छ ।
नेप्सेका अनुसार आज विभिन्न कम्पनीका दुई करोड आठ लाख ६८ हजार नौ सय १९ कित्ता सेयर रु आठ अर्ब १८ करोड दुई लाख ६२ हजार पाँच सय ७२ दशमलव १२ मा कारोबार भएका छन् ।
आजको कारोबारमा म्युचुअल फण्डबाहेकका सबै उपसमूहको सूचकमा रातो देखिएको छ भने म्युचुअल फण्डको सूचक स्थिर छ । नेप्सेका अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको १० प्रतिशत, नगादी ग्रुप पावर लिमिटेडको नौ दशमलव ८९ प्रतिशत, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँच दशमलव ९१ प्रतिशतले शेयर मूल्य बढेको छ । साथै इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशत, गुडविल फाइनान्स लिमिटेडको आठ दशमलव ४१ प्रतिशत, एनआइसी एसिया ऋणपत्र २०८२/८३ को पाँच दशमलव ८३ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ ।
पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोड्न खोज्दा तनाव
गण्डकी, ४ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गर्न थालेपछि पोखराको सहिदचोकमा तनावको अवस्था सिर्जना भएको छ ।
जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा आज बिहानदेखि निषेधाज्ञा जारी गरेको थियो । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ पर्नुभएका रास्वपाका सभापति लामिछानेलाई अदालत उपस्थित गराउने क्रममा कार्यकर्ताले निषेधित क्षेत्र तोडेर प्रर्दशन गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सहिदचोकको पूर्वपट्टि वाईचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङचोक र ग्रैहापाटनको पालिखेचोकदेखि नविन माध्यमिक विद्यालयसम्मको सडक क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभा आदि विरोधका कार्यक्रम गर्न निषेध गरेको थियो । अर्को आदेश जारी नभएसम्म निषेधज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलद्वारा जारी आदेशमा उल्लेख छ ।
सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो । उहाँलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जिवी राई) सँग मिलेर सभापति लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको विषयमा उहाँविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
सभापति लामिछानेलाई अदालत उपस्थित गराइयो
गण्डकी, ४ कात्तिकः सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
शुक्रबार पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहनुभएका उहाँविरुद्ध अनुसन्धान गर्न म्यादको अनुमतिका लागि अदालतमा उपस्थिति गराइएको हो ।
सभापति लामिछानेलाई अदालत लैजाने क्रममा रास्वपाका सासंद, नेता तथा कार्यकर्ताले विरोध गरेका थिए । अदालत जानुपूर्व सभापति लामिछानेले कानुनी प्रकृयालाई सहयोग प्रतिक्रिया दिनुभएको थियो ।
पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जिवी राई)सँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा उहाँमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । सभापति लामिछानेलाई काठमाडौँमा पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो ।
पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी
गण्डकी, ४ कात्तिकः जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी रहेको जनाएको छ । सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेद्वारा आज जारी निषेधाज्ञासम्बन्धी सूचनामा सहिदचोकको पूर्वपट्टि वाइचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङचोकस र ग्रैहापाटनको पालिखेचोकबाट नविन माध्यमिक विद्यालयसम्मको सडक क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभालगायत विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो । उहाँलाई आजै अदालत सामु उपस्थित गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सुनको मूल्य हालसमम्मकै उच्च बिन्दुमा
काठमाडौँ, ४ कात्तिकः स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ सयले वृद्धि भइ रु एक लाख ६५ हजार कायम भएको छ ।
महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु एक लाख ६४ हजार चार सयमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा रु ९५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु दुई हजार ७५ निर्धारण भएको महासङ्घले जनाएको छ ।




















































