‘मिस भिवा’का १६ प्रतिस्पर्धी सार्वजनिक
काठमाडौँ, १२ भदौः ‘मिस भिवा’ का १६ जना प्रतिस्पर्धी सार्वजनिक गरेको छ । आज आयोजित एक समारोहका बीच उमङ्ग क्रियशनले प्रतिस्पर्धीसहित (ताज) क्राउन सार्वजनिक गरेको हो ।
‘मसि भिवा’ संस्कृत शब्द रहेकाले यसको नेपाली अर्थ ब्रेभ, बोर्ड, ब्युटीको रहेको उमङ्ग क्रियशनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले बताउनुभयो । मिस भिवाका विजेताले मिस ग्रान्ड नेपालमा सहभागिता जनाउन पाउने उहाँले बताउनुभयो ।
प्रतियोगितामा जम्मा १६ जना प्रतिस्पर्धी सहभागी रहेका छन् । जसमा मिमोशा राई, अस्मिता शाह, डा काजल ठाकुर, आकृति कुँवर, प्रेक्षा जोशी, विना महर्जन, प्रेमा लामगाढे, ज्योति खड्क, रिंसा शाक्य, कृशला गुरूङ, प्रिया महर्जन, श्रीया मानन्धर, शिशेका सुब्बा, सञ्जु केसी, सुधिरा यादव र जेनिता सेञ्चुरी सहभागी रहेका छन् । प्रशान्त ताम्राकारको कोरियोग्राफीमा प्रतिस्पर्धीलाई सार्वजनिक गरिएको थियो ।
कार्यक्रमा सबैभन्दा महँगो रु २५ लाख बराबरको क्राउन सार्वजनिक गरिएको थियो । यो अपाला ज्वेलर्सले नेपाली संस्कृति र पहिचान झल्कने गरी डाइमन तथा ह्वाइट गोलबाट निर्माण गरेको त्यस अवसरमा जानकारी दिइयो । प्रबन्धक अधिकारीले इन्टरनेशनल फ्रेञ्चाइजसहित पहिलो चरणमा अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट २० मा पु¥याइसकेको र अब मिस भिवालाई अन्तर्राष्ट्रिय प्याजेन्टका रूपमा नेपालमा नै गर्ने लक्ष्यका साथ अगाडि बढाइएको बताउनुभयो ।
विजेताले मिस ग्राण्ड इन्टरनेशनलमा प्रतिनिधित्व गर्ने छन् । ‘मिस भिवा’ थाइल्याण्डको फ्रेञ्चाइज हो ।
अफगानिस्तानमा मार्शल आर्टमाथि प्रतिबन्ध
काबुल, १२ भदौ : अफगानिस्तानको तालिबान सरकारले मिश्रित मार्शल आर्ट (एमएमए) लाई गैर–इस्लामिक भएको विश्वासमा प्रतिबन्ध लगाएको यसको खेल प्राधिकरणले बुधबार बताएको छ ।
खेलको इस्लामिक कानून वा शरियाको पालनाको अनुसन्धानपछि सद्गुणको प्रचार र अवगुणको रोकथामका लागि मन्त्रालयमा अफगानिस्तानको नैतिकता प्रहरीले उक्त आदेश पारित गरेको प्राधिकरण र स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
“यो खेल शरियाको सन्दर्भमा समस्याग्रस्त छ र यसमा धेरै पक्ष इस्लामको शिक्षासँग विरोधाभासपूर्ण छन्”, तालिबान सरकारको खेल प्राधिकरणले एएफपीलाई पठाएको विज्ञप्तिमा भनिएको छ, “त्यसैले अफगानिस्तानमा मिश्रित मार्शल आर्टमाथि प्रतिबन्ध लगाउने निर्णय लिइएको छ ।”
खेल प्राधिकरणका एक अधिकारीले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार मार्शल आर्टलाई अत्यन्त हिंसात्मक मानिएको र यसबाट चोट वा मृत्युको खतरा भएकाले एमएमएमाथि आंशिक रूपमा प्रतिबन्ध लगाइएको थियो ।
इस्लामिक कानूनको कडा व्याख्या लागु गर्दै तालिबान अधिकारीहरू सन् २०२१ मा सत्तामा फर्किएका थिए । उनीहरूले हालै नैतिकता कानूनलाई अनुमोदन गरेका छन् । यसमा व्यवहार र पोशाकमा धेरै नियमलाई औपचारिक रूप दिइएको छ । कानूनमा पुरषहरूले घुँडाभन्दा माथि कमिज लगाउन नपाइने व्यवस्था गरिएको छ ।
मार्शल आर्ट अफगानिस्तानमा लोकप्रिय खेल हो । पेरिस खेलमा राष्ट्रिय वा शरणार्थी ओलम्पिक टोलीमा भाग लिने ११ अफगानमध्ये चार जना मार्शल आर्टका खेलाडी थिए ।
सुरक्षा चिन्ताका कारण एमएमएलाई ओलम्पिक खेलका रूपमा मान्यता दिइएको छैन ।
जनतालाई शुद्ध खानेपानी वितरण गर्नु हाम्रो प्रमुख दायित्व हो: मन्त्री यादव
काठमाडौँ, १२ भदौः खानेपानीमन्त्री प्रदीप यादवले नेपाली जनतालाई शुद्ध एवं सफा खानेपानी वितरण गर्नु मन्त्रालय र सम्बद्ध पक्षको प्रमुख दायित्व भएको बताउनुभएको छ ।
खानेपानी मन्त्रालयले आज मन्त्रालयमा आयोजना गरेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८०/०८१को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले जनतालाई शुद्ध खानेपानी वितरण गर्ने पहिलो प्राथमिकतासहित आफूले काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पानी जीवनका लागि नभइ नहुने चिज हो, पर्याप्त बजेट नभएका कारण त्यही पानी पनि जनतालाई खुवाउन सकिएको छैन । त्यसैले हाम्रो पहिलो उद्देश्य जनतालाई शुद्ध खानेपानी वितरण गर्नु हो भनेर सबैले मिलेर काम गर्नुपर्छ ।”
मन्त्री यादवले जनताका जायज मागलाई मन्त्रालयले आवश्यकताका आधारमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरी उहाँले चुरे दोहोन तथा जलवायु परिवर्तनका कारण खानेपानीका स्रोत सुक्दै जाँदा अनेकन समस्या आउनथालेको बताउनुभयो । उहाँले भन्नुभयो, “मधेसमा चुरेको दोहनका कारण चापाकलमा पानी आउँदैन । पानीका स्रोत सुकेर देखिएका समस्या समाधानका लागि देशभरि नै जलस्रोतकोे अध्ययन गरेर आवश्यक काम गर्न आवश्यक छ ।”
खानेपानी मन्त्रालयको बजेट बर्सेनी घट्दै जानथालेको प्रति मन्त्री यादवले दुःखसमेत व्यक्त गर्नुभयो । “अर्थ मन्त्रालयले हामीले पठाएका फाइल नै खोल्दैन, गर्न नसकिने कामका फाइल यो कारणले नसकिने भनेर लेखेर फिर्ता पठाइ दिए पनि हुन्थ्यो नी ! यो विषयमा अब प्रधानमन्त्रीसँग कुरा राख्छु ।”
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा जयबहादुर टण्डन, मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलगायत कर्मचारीको सहभागिता रहेको थियो ।
महाधिवेशन सम्पन्न प्रश्चात पनि जसपा नेपालभित्र असन्तुष्टि झनै बढ्दै
इटहरी, भाद्र १२ : उपेन्द्र यादव नेतृत्व जनता समाजवादी पार्टी नेपालको एकताको राष्ट्रिय महाधिवेशन २०८१ जेष्ठ २८, २९ र ३० गते सम्म मधेस प्रदेशको राजधानी जनकपुरधाम मा सम्पन्न भएको थियो । महाधिवेशन सम्पन्न भएको लगभग २ महिना प्रश्चात भदौ १० गते २० सदस्यीय पदाधिकारी घोषणा गरेकोछ। सार्वजनिक गरिएको निर्णय अनुसार सहअध्यक्ष–१, उपाध्यक्ष–५, महासचिव–२ उपमहासचिव–३, सचिव–७, कोषाध्यक्ष– १, प्रवक्ता –१ जना चयन गरेको छ ।
पदाधिकारी चयन प्रति जसपा नेपालमा आबद्ध विभिन्न तहका नेताहरूले आफ्नो असन्तुष्टि सामाजिक सञ्जालभर व्यक्त गरेको देख्न सकिन्छ । उक्त पदाधिकारी चयनप्रति जसपा नेपालका राजनीति समिति सदस्य तथा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले असन्तुष्टि जनाएका छन् । बस्नेतले पदाधिकारी चयनप्रति असन्तुष्ट हुदै आफ्नो फेसबुकमा लेखेका छन्, "पार्टी परित्याग गर्छु भन्दै धम्क्याउँदै हिँड्ने लाक्पा शेर्पा सचिव, यो पार्टी काम लाग्दैन तपाई (जुद्ध ढाक्रेलाई) घोषणापत्र लेख्नुस्, म विधान लेख्छु भनेर लागेका राजकुमार राई सचिव, एमालेमा पदको बार्गेनिङ गर्दै हिँडेका विद्युत् बज्राचार्य उपाध्यक्ष, जसपा नेपाल फुटाएर जसपा पार्टी बनाउने मुख्य परिकल्पनाकार र योजनाकार रकम चेम्जोङ सह–अध्यक्ष । जसपा नेपालमा जति ठुलो गद्दारी, त्यति ठुलो पद !" www.facebook.com/purnasamajwadi
त्यसैगरी जसपा नेपालका अर्का नेता लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले पनि पदाधिकारी चयन प्रति असन्तुष्टि जाहेर गर्दै आफ्नो फेसबुकमा लेखेकाछन् , "जनता समाजवादी पार्टी, नेपाल निर्माण गर्नमा तराई मधेसका हामी जस्ता हजारौँ युवाहरूको बलिदानी पूर्ण इतिहास छ, जसरी पार्टी महाधिवेशनमा विभिन्न षड्यन्त्र गरी घोषणा गरिएको निर्वाचन रोकेर एकल अधिकार प्रयोग गर्दै तराई मधेसका क्रान्तिकारी योद्धाहरूलाई बाइपास गरेर केही पार्टी भित्र आफ्नो वरिपरि गणेश परिक्रमा गर्ने भडुवाहरूलाई पदाधिकारीमा राखेर पार्टी कब्जा गर्ने निती स्वरूप पार्टी नेतृत्वले अपरिपक्व निर्णय लिएको छ,यस निर्णयको विरुद्ध पार्टी भित्र सङ्घर्ष निश्चित रूपमा हुन्छ। यो निर्णय गलत छ,सुधार भएन भने विद्रोह गरेर भएपनि सच्याउनु पर्छ । निर्णय सच्याएनन् भने पार्टी अध्यक्ष उपेन्द्र यादव कुनै भगवान होइनन्, जसरी पटक पटक मधेसका क्रान्तिकारी नेताहरूलाई समाप्त पार्ने षड्यन्त्र गरेका छन त्यसरी नै कुनै दिन मधेस बाटै उठेको आन्दोलनले उनैलाई समाप्त गर्न सक्छ समयमा सचेत हुन आवश्यक छ । जय मातृभूमि !!!" भन्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । www.facebook.com/ashoky3
उपेन्द्र यादवले २०६३ सालमा मधेस जनअधिकार फोरम नेपाल गठन गरेका थिए। ०६३ देखी ०८१ सालमा आइपुग्दा मधेस जनअधिकार फोरम जुट्ने र फुट्ने क्रम भए पनि यादव जहिले पार्टी नेतृत्वमा नै रहेका थिए । १८ वर्षपछि भएको एकताको राष्ट्रिय महाधिवेशनबाट जनता समाजवादी पार्टी नेपालमा उपेन्द्रले आफूलाई फेरी अध्यक्षमा सर्वसम्मत चयन गराएका थिए । र, अध्यक्ष बाहेक पदका लागि निर्वाचनको सम्पूर्ण तालिका सार्वजनिक पनि भएको थियो तर सबै प्रक्रिया स्थगन गरी पदाधिकारी र केन्द्रीय कार्य समिति चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादव आफैले लिने निर्णय गराएका थिए ।
‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ महसुल विवादमा लेखा समितिले कुनै निर्णय गरेको छैनः सांसद भट्टराई
काठमाडौँ, १२ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ महसुल विवादका सम्बन्धमा सार्वजनिक लेखा समितिले कुनै निर्णय नगरेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद भट्टराईले सो प्रकरणमा कोही कसैलाई कारबाहीका लागि प्रस्ताव समेत नभएको जिकिर गर्नुभयो । उहाँले आर्थिक उत्तरदायित्व ऐन विपरीतअनुसार महालेखाले निकालेको निष्कर्षमा टिप्पणी गर्ने क्षेत्राधिकार सार्वजनिक लेखा समितिको मात्रै भएको उल्लेख गर्नुभयो ।
सांसद भट्टराईले २०७६ मा तत्कालीन सांसद डा मीनेन्द्र रिजालको संयोजकत्वमा सार्वजनिक लेखा समितिअन्तर्गत गठित उपसमितिले आठवटा प्रस्तावसहित सम्बन्धित निकायलाई निर्देशन दिएको स्मरण गराउनुभयो । उहाँले पूर्ववर्ती सरकारले डेडिकेटेड तथा ट्रङ्क लाइनको रु २१ अर्ब ८८ करोड बक्यौतामा छुट दिने निर्णय ऐन विपरीत भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हिजो सभामा विपक्षी दलका नेताले प्रधानमन्त्रीलाई स्पष्टीकरण सोध्नु भन्नुभयो, तत्कालीन प्रधानमन्त्री एवं हालका विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भन्न चाहन्छु, तपार्इंले कुन कानुनका आधारमा र तपाईंसँग भएको कुन अधिकार प्रयोग गरेर नेपाल विद्युत् प्राधिकरणको रु १६ अर्बको बक्यौता छुट दिने निर्णय गर्नुभयो ? यो प्रतिनिधिसभाले तपाईंलाई स्पष्टीकरण सोध्छ ।”
उहाँले सार्वजनिक लेखा समितिमा आफूहरुले कुनै नयाँ निर्णय नगरेको दोहो¥याउनुभयो । “कसैलाई नयाँ कारबाहीको प्रस्ताव गरौँ भनेका हैनौँ, तत्कालीन सांसद डा मीनेन्द्र रिजालको उपसमितिले दिएको निष्र्कष र त्यस आधारमा सार्वजनिक समितिले दिएको निर्देशन अहिले कार्यान्वयन गरौँ भनेका हौँ”, उहाँले भन्नुभयो ।
थाइल्याण्डमा विषाक्त मदिरा सेवन गरी छ जनाको मृत्यु
बैङ्कक, १२ भदौ (रासस/एएफपी) : थाइल्यान्डमा गैरकानुनी रूपमा बनाइएको मेथानोलयुक्त मदिरा पिउँदा कम्तीमा छ जनाको मृत्यु भएको र गम्भीर अवस्थामा रहेका २० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बुधबार बताएका छन् ।
बैङ्ककको उत्तरपश्चिमी किनारमा रहेको ‘ख्लोङ साम वा’ जिल्लामा यो घटना भएको हो । अधिकारीहरूले यस क्षेत्रको सडक किनारमा रहेका १९ पसलमा अवैध मदिरा बिक्री गरेको छापापछि फेला पारिएको थाइ प्रशासनले जनाएको छ ।
अस्पतालमा बुधबार बिहान छ जनाको मृत्यु भएको र २२ जनाको अवस्था गम्भीर रहेको बैङ्कक मेट्रोपोलिटन प्रशासनले एक विज्ञप्तिमा जनाएको छ ।
मदिरा पिएर बिरामी हुनेमध्येका एक आफन्तले सार्वजनिक प्रसारणकर्ता थाईपीबीएसलाई बताउनुभयो, “मदिरा पिएपछि मेरा बुबाले पेट गुर्रिएको र बताउनुभएको र पछि बेहोस हुनुभएको थियो । उहाँलाई आईसीयूमा राखी उपचार गरेपछि अहिले होसमा हुनुहुन्छ ।”
थाइल्याण्डमा मदिरा बिक्रीलाई प्रत्येक दिनको निश्चित घण्टामा सीमित गर्ने र धार्मिक बिदाहरूमा यसको व्यापारमा प्रतिबन्ध लगाउने कडा मदिरा कानुनी प्रावधान छन् । तर यस्ता नियमले स्थानीय रूपमा ‘या डोङ’ भनेर चिनिने अनियमित ढङ्गले बनेको सस्तो रक्सीको कालो बजारलाई प्रोत्साहन गरेको आलोचकहरूले बताएका छन् ।
‘ख्लोङ साम वा’ जिल्लाका शीर्ष स्थानीय अधिकारी सोमवाङ चाइप्राक्राइवानले अधिकारीहरूले यस क्षेत्रका अवैध मदिरा पसलमाथि कारबाही गरेको बताउनुभयो ।
“प्रहरी र अन्तःशुल्क विभागले गैरकानुनी मदिरा व्यापारीलाई पक्राउ गरी हिरासतमा लिएको छ,” सोमवाङले बताउनुभयो ।
अवैधरूपमा बनाइएको मदिरामा यसको शक्ति बढाउन प्राय मेथनोल मिसाइन्छ । मेथानोलको सेवनले अन्धोपन, कलेजोको क्षति र मृत्युसमेत निम्त्याउन सक्छ ।
पर्यटन पूर्वाधारले आकर्षक बन्दै ‘तीनधारे झरना’
धुलिखेल (काभ्रेपलाञ्चोक), १२ भदौः जिल्लाको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल ‘तीनधारे झरना’मा पर्यटन पूर्वाधारको थप गरिएसँगै आकर्षक बन्दै गएको छ ।
पर्यटकको आगमन बढ्दै गएपछि यहाँ आउने पर्यटकलाई थप सहजता प्रदान गर्न शौचालय, कपडा फेर्न कोठा र माथि डाँडाबाट सुन्दर झरनाको दृश्य अवलोकन गर्न विश्रामस्थल र रेलिङलगायत संचरना निर्माण गरिएको हो ।
पहाडी भूगोलको आकर्षक झरना, रमणीय र मनमोहक ठाउँ र हरियाली शान्त वातावरण भएकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेकाले आवश्यक पूर्वाधार थप गरिएको रोशी–१ का वडाध्यक्ष श्रीदास लामाले बताउनुभयो । यहाँ पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटकले व्यवस्थापनमा ध्यान दिन स्थानीय सरकारलाई सुझाव दिएपछि मोटरबाटो, पैदलमार्ग र झरना क्षेत्रमा थप पूर्वाधार निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।
“कोरोना महामारीकोे बेलामा मानिसलाई घरमा मात्रै बसेर उकुसमुकुस भएको थियो । उक्त समयमा आन्तरिक पर्यटक यहाँसम्म पुग्न थालेपछि ओझेलमा परेको झरनाको प्रचारप्रसार भएको हो”, वडाध्यक्ष लामाले भन्नुभयो, “सोही बेलादेखि यहाँ पर्यटकको आगमन बढ्न थालेको हो ।” पर्यटकको आगमन बढ्न थालेपछि सुविधाका लागि स्थानीय सरकारले पूर्वाधार निर्माण र संचरनाको व्यवस्थापन गर्दै आएको उहाँको भनाइ छ ।
झरना क्षेत्रमा पहिलाको भन्दा पूर्वाधार निर्माण गरी व्यवस्थित गरिएको वडाध्यक्ष लामाले बताउनुभयो । “अहिले यहाँसम्म पुग्न मोटरबाटोको सहजता, खाने–बस्ने र रमाइलो गर्न चाहनेका लागि सुविधासम्पन्न होटल सञ्चालनका साथै अन्य आवश्यक पूर्वाधार निर्माणले यस गन्तव्यलाई थप आकर्षक बनाएको छ”, उहाँले भन्नुभयो, “झरनास्थल सुन्दर र बाटो सहज हुनाका साथै पछिल्लो समयमा थप्दै गरिएका संरचनाहरुले पर्यटकलाई सहज बनाउँदै लगेको छ ।”
महाभारत गाउँपालिका–५ का सुवार जिम्बाले झरना सुन्दर, रमणीय र आकर्षक रहेको भन्दै एकपटक यहाँ पुगेकालाई यहाँको सुन्दरताले लोभ्याइरहने बताउनुभयो । “यहाँ एक पटक पुगिसकेकालाई पटकपटक जान मन लाग्छ । पर्यटकीय क्षेत्रका रुपमा स्थापित भइसकेकाले स्थानीय सरकारले थप व्यवस्थापनमा ध्यान दिन आवश्यक छ”, उहाँले भन्नुभयो । सडकलाई थप व्यवस्थित गर्नुपर्ने, झरना परिसरमा मूर्ति, हस्तकलाका सामग्रीसहित सुन्दर बनाउन सकिने सुवारको सुझाव छ ।
झरना पर्यटकको रोजाइमा परेसँगै ‘समुदाय प्रहरी साझेदारी’ अवधारणाअन्तर्गत जिल्ला प्रहरी कार्यालयले उत्प्रेरणा अभिवृद्धि कार्यक्रम सञ्चालन गरी इलाका प्रहरी कार्यालय मङ्गलटारको समन्वयमा आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यले झरना क्षेत्रमा सरसफाइ गरेको छ ।
सोमबार प्रहरीको टोलीले सो क्षेत्रमा अवलोकन भ्रमण गरी झरना वरिपरिको क्षेत्रमा सरसफाइ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिनुभयो । समुदायमा नयाँ सन्देश प्रवाह गर्न तथा सबैको रोजाइमा परेको झरनामा प्रहरी कर्मचारीलाई पनि उत्प्रेरणा प्रदान गर्दै सरसफाइ गरिएको उहाँले बताउनुभयो ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले झरना क्षेत्रमा पर्यटकको सहजताका लागि थप पूर्वाधारहरु निर्माणको चरणमा रहेको बताउनुभयो । “हामीले पर्यटकलाई स्नान कक्ष, कपडा फेर्ने कक्ष, शौचालय र विश्रामस्थल निर्माण गरेका छौँ । ती संरचना यथाशीघ्र सञ्चालनको तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “पर्यटक झरनामा रुझेर मनोरञ्जन लिने, पौडी खेल्ने भएकाले यहाँ भएको पोखरीलाई थप व्यवस्थापन गर्न प्राविधिक अध्ययन गरिरहेका छौँ ।”
जिल्ला सदरमुकामबाट करिब ३० किलोमिटरको दूरीमा रहेको सो ठाउँ प्रचारमा आएसँगै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको अध्यक्ष लामाले बताउनुभयो । “यहाँ पुग्नेहरुले झरनामा छुट्टै आनन्द मिल्ने गरेको अनुभूति सुनाउने गर्दछन्”, उहाँले भन्नुभयो ।
पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै काफलडाँडामा स्थानीयले घरबास (होमस्टे) सञ्चालनमा ल्याएका छन् । स्थानीयले यहाँ उत्पादित कृषिजन्य वस्तु घरबासमा आउने पाहुनालाई खुवाउने गर्दछन् भने बिक्रीसमेत गर्न थालेका छन् । विसं २०२८ मा तत्कालीन नेपाल पर्यटन विभागमा सूचीकृत भएको झरना यसअघि ओझेलमा परेको थियो । अहिले यो झरना आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ ।
ऐन विपरीत कर्मचारी सरुवा गरिएको भन्दै मुख्यमन्त्री कार्यालयमा उजुरी
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा कार्यरत कर्मचारीको सरुवा प्रदेश निजामती सेवा ऐन, २०८० विपरीत भएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती कर्णाली प्रदेश समितिले प्रदेश सरकारका निमित्त प्रमुख सचिव आनन्द सारुसमक्ष कानुन विपरीत भएका सरुवा बदर गर्न माग गर्दै उजुरी दिएको हो । मुख्यमन्त्री कार्यालयले गत साउन ३२ गते प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फका एक सय ११ कर्मचारीको एकैसाथ सरुवा गरेको थियो ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती कर्णाली प्रदेश समितिका उपाध्यक्ष जमानसिंह परियारले प्रदेश निजामती सेवा ऐन, २०८० को दफा २४ को उपदफा (३)को प्रतिबन्धात्मक व्यवस्थामा बाहेक कुनै कर्मचारीले एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा हुनका लागि दुई वर्षको समयावधि पूरा गरेको हुनुपर्ने र त्यसभन्दा अगाडि सरुवा गर्न नपाइने व्यवस्थालाई मिचेर सरुवा गराइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रदेश निजामती ऐनमा कम्तीमा दुई वर्ष एक कार्यालयमा बस्ने व्यवस्था गरिएको छ, तर दुई महिनादेखि दुई वर्ष नपुगेका धेरै कर्मचारीलाई राजनीतिक आस्थाका आधारमा सरुवा गरिएकाले ऐन नियम विपरीत गरिएका कर्मचारीहरुको सरुवा बदको माग राख्दै हामीले मुख्यमन्त्री कार्यालयमा उजुरी दर्ता गरेका छौँ ।”
उक्त उजुरी बुझ्दै प्रदेश सरकारका निमित्त सचिव सारुले नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले उजुरीमार्फत उठाएका गुनासा जायज भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “ती सबै गुनासा मबाट सम्बोधन हुन सम्भव छैन, मुख्यमन्त्री तथा प्रमुख सचिवज्यू काठमाडौँबाट फर्किसकेपछि सामूहिक रुपमा बसेर छलफल गरी समाधान निकालौँला, यसमा म सकारात्मक छु ।”
सुनको मूल्य तोलामा आठ सयले वृद्धि
काठमाडौँ, १२ भदौ : स्थानीय बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज निर्धारण भएको मूल्यका आधारमा पहेँलो धातु हालसम्मकै महँगो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मङ्गलबारको तुलनामा आज छापावाला सुन तोलामा रु आठ सयले वृद्धि भई नयाँ कीर्तिमान कायम गरेको छ । मङ्गलबार प्रतितोला रु एक लाख ५२ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५३ हजार एक सय मूल्य निर्धारण गरिएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले वृद्धि भएको छ । मङ्गलबार प्रतितोला रु एक हजार आठ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ५५ निर्धारण गरिएको छ ।
एकीकृत समाजवादी पदाधिकारी निर्वाचनः १८ केन्द्रीय पदाधिकारी चयन
काठमाडौँ, १२ भदौः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १८ केन्द्रीय पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ ।
वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्रप्रसाद पाण्डे मङ्गलबार नै सर्वसम्मतिले निर्वाचित हुनुभएको थियो । आज सार्वजानिक मतपरिणामअनुसार पार्टीको उपाध्यक्ष पद (महिला) जयन्ती राई, उपाध्यक्ष (मधेसी समुदाय) धर्मनाथ साह निर्वाचित हुनुभएको हो । उपाध्यक्ष (खुला)मा जगन्नाथ खतिवडा, डा गङ्गालाल तुलाधर, भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित हुनुभएको छ ।
यसैगरी उपमहासचिवमा राजेन्द्रकुमार राई, मेटमणि चौधरी, रामकुमार भट्टराई र गरिमा शाह निर्वाचित हुनुभएको पार्टीको निर्वाचन आयोगले जनाएको छ । पार्टीको सचिव पदमा (समावेशी) बलदेव चौधरी र सचिव (दलित) गणेश विक, सचिव (खुला) मा शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्री भुसाल र श्रीनाथ बराल चयन हुनुभएको पार्टीको निर्वाचन आयोगले जनाएको छ ।
पार्टीका १८ पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य छनोटका लागि मङ्गलबार राति मतदान भएको थियो । पोलिटब्यूरो सदस्यको मतगणना हुन बाँकी रहेकाले परिणाम साँझसम्म सार्वजनिक गरिने केन्द्रीय सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो ।
गत असारमा सम्पन्न महाधिवेशनले अध्यक्षपदमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो ।




























