शोक प्रस्ताव पारित
काठमाडौँ, ११ भदौः प्रतिनिधिसभा बैठकले पूर्वभूमिसुधार तथा व्यवस्था राज्यमन्त्री रामचन्द्र राय यादवको मृत्यु भएकाप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
सभामुख देवराज घिमिरेले शोक प्रस्ताव सर्वसम्मत पारित भएको जानकारी गराउनुभयो । बैठकमा स्वर्गीय यादवको निधनप्रति एक मिनेट मौनधारण गरिएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विसं २०५६ मा सर्लाही जिल्ला क्षेत्र नं २ बाट निर्वाचित स्व रायले प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सदस्य भएर काम गर्नुभएको थियो । उहाँ व्यवस्थापिका संसद् सदस्य पनि रहनुभएको थियो ।
“पूर्वभूमिसुधार तथा व्यवस्था राज्यमन्त्री, सरल एवं मृदुभाषी रामचन्द्र राय यादवको ७१ वर्षको उमेरमा मिति २०८१ साल साउन ६ गते आइतबार असामयिक निधन भएको थियो । बैठकले स्वर्गीय यादवको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
आलुले बजार पाउन थालेपछि उत्साहित छन् जुगलका किसान
चौतारा, ११ भदौ : सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा उत्पादन भएको आलुले काठमाडौँमा बजार पाउन थालेपछि किसान उत्साहित भएका छन् । हिमाली क्षेत्र भएका कारण अन्य बालीको उब्जनी राम्रो नहुने र आलु खेतीको सम्भावना प्रचुर रहेका कारण गत वर्षबाट किसान आलु खेतीतर्फ आकर्षित भएका थिए ।
जुगल गाउँपालिका–६, स्याउजेका देवीबहादुर श्रेष्ठले झण्डै यहाँबाट तीन टन आलु बिक्री वितरणका लागि काठमाडौँ पुर्याइएको बताउनुभयो । उहाँले स्थानीय जनप्रतिनिधिले सहजीकरण गरेपछि यसअघि घरायसी प्रयोगका लागि मात्र उत्पादन गर्दै आएका किसानले आलुको व्यावसायिक खेती गर्न थालेका बताउनुभयो ।
आलु उत्पादक किसान वसन्त श्रेष्ठले पालिकाको वडा नं ६ कार्यालयले व्यावसायिक आलुखेती गर्न हौसला दिँदै बजार व्यवस्थापनमा सहजीकरण गरेपछि आफूहरू यसतर्फ आकर्षित भएको बताउनुभयो । यसअघि यहाँका किसानले निर्वाहका लागि मात्र आलुखेती गर्दै आएकामा पछिल्लो समय धेरैले व्यावसायिक रूपमा खेती गर्न थालेका वडाध्यक्ष टङ्क तामाङले बताउनुभयो । उहाँले वडा कार्यालयले यहाँ उत्पादित आलु काठमाडौँ उपत्यकासम्म निःशुल्क ढुवानीको व्यवस्था मिलाएको जानकारी दिनुभयो ।
वडाध्यक्ष तामाङकानुसार चालु आर्थिक वडा न ६ मा मात्र करिब १२ टन आलु उत्पादन भएको छ । बर्खा मासमा गाउँसम्म गाडी नजाने हुँदा बर्खाअघि नै आलु ढुवानीलाई लक्षित गरी बाटो सोलिङ र स्तरोन्नति गरेको उहाँले जानकारी दिनुभयो । वडालाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्दै विषादीरहित अर्गानिक उत्पादनमा स्थानीयलाई जोडने र आर्थिक उपार्जनमा टेवा पु¥याउने कार्यालयको योजना रहेको अध्यक्ष तामाङ बताउनुहुन्छ । “आलु मात्र होइन विषादीरहित, प्राङ्गारिक मलको प्रयोग गरेर रैथाने बाली र तरकारी उत्पादनका लागि किसानलाई प्रोत्साहित गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
गाउँपालिका अध्यक्ष रेशमा स्याङ्वोले आलु उत्पादनले स्थानीयको आयआर्जनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । जुगलको मुख्य बजार ढाडेमा कृषिउपज सङ्कलन केन्द्र निर्माण भइरहेको जानकारी दिँदै उहाँले केन्द्र निर्माणपछि किसानलाई थप राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मुडेको आलु जेठलको सिलढुङ्गामा सङ्कलन गरेर प्याकिङ र ट्यागिङ सकेर मात्रै राजधानी ढुवानी गर्ने गरिएको छ । लामोसाँघु जिरी सडकखण्ड निर्माणका क्रममा स्वीस सरकारले दुर्लभ मानिने रोजिटा जातको आलुको बीउ बाँडेपछि खेती सुरु भएको स्थानीय बताउँछन् । जिल्लाका विभिन्न स्थानमा पनि मुडेको आलुको माग उच्च हुँदै गएको छ । राजधानीबाहेक बाह्रबिसे, लामोसाँघु, खाडीचौरदेखि दोलालघाटमा राम्रो मूल्यमा यो आलु बिक्ने गरिएको स्थानीय किसान खडगबहादुर श्रेष्ठले बताउनुभयो । “आलु बेचेरै वर्षको रु दुई लाखसम्म आम्दानी गर्ने गरेको छु”, उहाँले उत्साहित हुँदै भन्नुभयो, “पाँच हजार धार्नी आलु यस वर्ष फल्यो, अघिल्लोे वर्षको तुलनामा अहिले राम्रै कमाइयो । आलु बेचेरै घरबार चलाइरहेको छु ।”
मुडे र निगालेको एक टोलमा नै तीन हजार धार्नी आलु उत्पादन हुने गरेको छ । यी दुई गाउँबाट मात्रै झन्डै १० लाख किलो आलु उत्पादन भएको श्रेष्ठको भनाइ छ । “यस क्षेत्रका आठ सय परिवार आलु खेतीबाट परिवार धानिरहेका छन् । एक परिवारले आलुबाटै वार्षिक रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्छन्”, उहाँले भन्नुभयो ।
आलुका लागि उर्वरभूमि मानिएको जेठलका झन्डै ९५ प्रतिशत घरधुरी आलुको व्यावसायिक खेतीमा होमिएका छन् । सहकारी र स्थानीय ठेकेदारमार्फत यस क्षेत्रको आलु निर्यात हुने गरेको छ । `
दिक्तेल–हलेसी सडक अवरुद्ध
खोटाङ, ११ भदौ : मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित नागी नजिक करिब ५० मिटर सडकमा आज बिहान पहिरो जाँदा सो सडक अवरुद्ध भएको हो ।
अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाउने काम भइरहेको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । “चुवाचुङबाट झरेको पहिरोले करिब ५० मिटरभन्दा लामो सडकखण्ड ओगटेको छ । पहिरो हटाउन बिहानैदेखि लागिपरेका छौँ”, उहाँले भन्नुभयो, “पूर्णरुपमा सडक सञ्चालन गर्न समय लाग्छ ।”
पहिरोले सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँलगायत पूर्वी तराईका विभिन्न जिल्ला जाने यात्रु बाटोमै अलपत्र परेका छन् । सडक खुलाउन यात्रु आफै पनि लागीपरेका छन् । तुवाचुङबाट झरेको पहिरोसँगै ठूल्ठूला रुख र ढुङ्गा सडकमा थुप्रिएका छन् । पहिरो झर्ने क्रम रोकिएको छैन । उक्त स्थानमा विगत वर्षमा पनि पटक पटक पहिरो जाने गरेको थियो । उक्त क्षेत्रमा कमेरो माटो भएकाले पहिरो निरन्तर जाने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
प्रम ओलीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट
काठमाडौँ, ११ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।
भेटका अवसरमा उहाँहरूबीच दुई पक्षीय हित र चासोसहित पारस्परिक लाभका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सो अवसरमा प्रधानन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायतको उपस्थिति थियो ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा ओमानका विदेशमन्त्री दुईदिने औपचारिक भ्रमणका क्रममा हिजो नेपाल आउनुभएको हो । नेपालको ओमानसँग ‘सन् १९७७ जनावरी २१’ मा कूटनीतिक सम्बन्ध कायम भएको हो ।
संसदीय समितिमा प्रस्तावित १७ राजदूतविरुद्ध नौवटा उजुरी
काठमाडौँ, ११ भदौ : विभिन्न देशका लागि प्रस्तावित १७ राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा नौवटा उजुरी परेका छन् । समितिको आजको बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी परेका जानकारी दिइएको हो ।
उजुरी माथिको सुनुवाइ यही भदौ १४ गतेबाट थाल्नेगरी कार्यतालिका तय भएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिनुभयो । “विभिन्न देशका लागि नेपाली राजदूत बन्न सरकारद्वारा प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा १७ वटा उजुरी परेका छन्, अब उजुरीकर्तालाई समितिसमक्ष उपस्थित गराई उजुरीको विषय र त्यसको औचित्य स्पष्ट पार्न लगाउँछौँ”, उहाँले भन्नुभयो,“त्यसका साथै प्रस्तावित व्यक्तिलाई बोलाएर छलफल गर्नेलगायतका काम गरी सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने विषयमा संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम कार्यतालिका परिमार्जन गरी पारित गरिएको छ ।”
समितिको आजको बैठकमा सांसदहरूले राजदूत नियुक्ति समावेशी हुन नसकेको धारणा राख्नुभएको छ । सांसदहरू पशुपति शमशेर जबरा, ज्ञानेन्द्रबहादुर कार्की, जनार्दन शर्मा, प्रकाश अधिकारी, आनन्दप्रसाद ढुङ्गाना, लीलानाथ श्रेष्ठ, ईश्वरी घर्ती, महेशकुमार बर्तौला, भगवती न्यौपाने, लीलानाथ श्रेष्ठलगायतले सरकारले राजदूत सिफारिस गर्दा दलित, मधेशी, मुस्लिमलगायत समुदायको सहभागिता सुनिश्चितता हुन नसकेको विषय उठाउनुभएको थियो । समितिले यसअघि नै सरकारलाई राजदूत नियुक्तिमा संविधानले व्यवस्था गरेअनुसारको समावेशीता कायम गर्न भनेकामा कार्यान्वयन हुन नसकेको पनि उहाँहरूको भनाइ छ ।
गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो । सरकारबाट सिफारिस भएका व्यक्तिमाथि संसदीय सुनुवाइका लागि समितिले गत साउन ३० गते सार्वजनिक सूचना जारी गर्दै कुनै उजुरी वा गुनासो भए १० दिनभित्र समितिमा पेस गर्न भनेको थियो । यसरी सिफारिस भएका राजदूतहरुविरुद्ध परेका उजुरीहरू आज समितिमा खोलिएका हुन् ।
सरकारले चीनका लागि प्रा डा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, गणतन्त्र भारतका लागि डा शङ्करप्रसाद शर्मा, इजरायलका लागि प्रा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना र पाकिस्तानका लागि रीता धिताललाई सिफारिस गरेको छ । यस्तै, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासङ्घका लागि जङ्गबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्रा डा कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाम्फे, स्पेनका लागि सनिल नेपाल, श्रीलङ्काका लागि रामकृष्ण भट्टराई, संयुक्त अधिराज्य बेलायतका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी सिफारिस हुनुभएको छ ।
गाई दुहुने मेसिन पाएपछि किसान खुसी
इनरुवा (सुनसरी), ११ भदौ : इनरुवाका गाईपालक किसान अनिल यादवको कृषि फर्ममा १० वटाभन्दा बढी गाई छन् । विगतमा उहाँलाई ती गाई दुहुन निकै समस्या थियो । “एकै गाई दुहुन २० मिनेटभन्दा बढी समय लाग्थ्यो । सरसफाइको विषयमा उपभोक्ताहरूले पनि प्रश्न गर्थे तर अचेल भने केही सहज हुँदैछ”, उहाँले भन्नुभयो ।
स्थानीय इनरवा नगरपालिकाले अन्य दुई जनासहित उहाँलाई पनि गाई दुहुने मेसिन प्रदान गरपछि सहज भएको हो । नगरपालिकाले नगर क्षेत्रभित्रमा रहेका तीनजना व्यावसायिक पशुपालक किसानलाई केही दिनअघि मेसिन प्रदान गरिएको जनाएको छ ।
नगरपालिका प्रमुख केदार भण्डारीले गाई फार्म व्यवस्थित गर्न र दूध उत्पादन बढाउने उद्देश्यअन्तर्गत ५० प्रतिशत अनुदानमा मेसिन सहयोग गरिएको जानकारी दिनुभयो । “गोठ तथा फार्ममा १० भन्दा बढी गाईपालन गर्ने किसानलाई छनोट गरिएको थियो । हातले दुहुदा ढिलो हुने र सरसफाइलगायत समस्या हुने गरेको गुनासोपछि पहिलो पटक व्यावसायिक किसानलाई मेसिन दिएका हौँ”, उहाँले भन्नुभयो ।
नगर पशु शाखा प्रमुख डा राजकुमार यादवले समय लागत घटाउने, सजिलै गरी बढी र सफा दूधसमेत दुहुन मेसिनबाट सहयोग पुग्ने बताउनुभयो ।
मेसिन प्राप्त भएपछि गाई दुहुन सहज भएको स्थानीय किसान राजेश्वर यादवले बताउनुभयो । मेसिन पाएपछि विगतमा गाई दुहुदा भोगेका समस्या समाधान गर्न सहज भएको उहाँ खुसी हुनुहुन्छ । “केही दिनअघि मात्रै मेसिन पाएका छौँ । पहिले एउटा गाई दुहुन कम्तिमा २० मिनेट समय लाग्थ्यो, त्यसमा केही सहज भएको छ । गाई दुहुन लाग्ने समय बचत भएपछि थप अरु काम गर्न सहज हुने अपेक्षा छ”, कृषक यादवले भन्नुभयो ।
थामे बाढीपीडितको उद्धारमा खटिएका प्रहरी पुरस्कृत
सोलुखुम्बु, ११ भदौ : सोलुखुम्बुको थामेका बाढीपीडितको उद्धारमा खटिएका १३ जना नेपाल प्रहरीलाई पुरस्कृत गरिएको छ । गत साउन २६ गते थामेमा आएको बाढीमा फसेका नागरिक तथा भौतिक सम्पत्ति उद्धारमा सक्रिय प्रहरी निरीक्षकसहित १३ जनालाई आज जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेमा प्रहरी निरीक्षक लक्ष्मण गिरी, प्रहरी सहायक निरीक्षक खेमराज खतिवडा, प्रहरी वरिष्ठ हवल्दार दीपककुमार कटुवालसहित रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरकानुसार पुरस्कृत हुनेमा प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक दुई, प्रहरी वरिष्ठ हबल्दार एक, प्रहरी हवल्दार तीन, प्रहरी सहायक हवल्दार दुई र चारजना प्रहरी जवान रहेका छन् ।
उच्च हिमाली भेगमा आएको प्राकृतिक विपत्तिमा जनधनको क्षति न्यूनीकरणमा सक्रिय रूपमा निर्वाह गरेकाले नेपाल प्रहरीको अभिलेख रहने गरी पुरस्कृत गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिनुभयो । “बाढीपीडितको उद्धार, जोखिम न्यूनीकरण, सूचना आदानप्रदान, तल्लो तटीय क्षेत्रमा सचेतना जगाउनेलगायत कार्यमा अत्यन्त कुशलतापूर्वक काम गरेकाले उहाँहरूलाई पुरस्कृत गरिएको हो”, उहाँले भन्नुभयो ।
पुरस्कारले उच्च मनोबलका साथ राष्ट्रको सेवामा लाग्न थप प्रेरणा मिलेको पुरस्कृतमध्येका प्रहरी निरीक्षक गिरीले बताउनुभयो ।
गत साउन ३२ गते दिउँसो १ः३० बजे सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमपहिरोले गेग्रान र ढुङ्गासहित गएको बाढीले एक विद्यालय, एक स्वास्थ्य चौकी, दुई होटल, १३ वटा घर पूर्ण र १० वटा घरमा आंशिक रूपमा क्षति भएको थियो भने ९५० किलोवाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । फुटेको हिमताल थामे बजारबाट करिब नौ किलोमिटर टाढा छ ।
नेपालगञ्जबाट सुनचाँदीसहित चारजना नियन्त्रणमा
नेपालगञ्ज, ११ भदौ : नेपालगञ्ज रहेको एउटा पसलबाट ठूलो मात्रामा सुनचाँदीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।
उहाँकानुसार बरामद भएको सुनचाँदी पसलका सञ्चालक फरार रहेका छन् । बरामद सामानको मूल्य, गुणस्तर तथा वैधताका विषयमा अनुसन्धान भइरहेकाले पसलको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।
बर्दियाका एक जना सुन पसलेले गाडीमा केही सुनचाँदी किनेर लैजाँदै गरेको सूचनाका आधारमा उनलाई बाटोमा केरकार गर्दा सो परिमाणमा सामान भेटिएको प्रहरीले जनाएको छ । ती व्यापारीले नेपालगञ्जबाट सामान किनेको बताएको र बिक्री गर्ने कालीगढकहाँ पुग्दा उनी भागेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताउन्भयो।
मुख्य बाली कोदोको उत्पादन घट्दै, माग बढ्दै
इलाम, ११ भदौ : दश वर्षअघि साउन–भदौमा कोदो काम रोप्ने धमाधम हुन्थ्यो । सूर्योदय नगरपालिका–१ मकरजुङका रमेश राईले भन्नुभयो, “अर्मपर्म गर्दै एक डेढ महिनासम्म गाउँभरि कोदो रोपिन्थ्यो । आजकाल त कोदो रोप्न छाडियो ।”
कोदोबाट भन्दा चिया, अलैँची, अकबरे लगायतका कृषि उपजबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानले कोदो खेती छोड्दै गएका छन् । “कसै–कसैले घरमा जाँड बनाउन, पूजा गर्न भनेर अलिअलि लगाए पनि बिक्री गर्ने उद्देश्यले खेती हुन छोडेको छ ।” माइजोगमाई गाउँपालिका–३ का मिलन खड्काले भन्नुभयो, “पैले–पैले हाम्रै गाउँभरि कोदो हुन्थ्यो । अहिले खेतबारीमा कतै चिया, कतै अलैँची भरिएको छ । कोदोबाट नगद आम्दानी छैन । बरु अकबरेको व्यावसायिक खेती गर्छन् । कोदो भटिँदैन ।
कृषि ज्ञान केन्द्र इलामका अनुसार जिल्लाको सबै क्षेत्रमा कादोको उत्पादन बर्सेनि ओरालो लागि रहेको छ । “जिल्लाको एक हजार चार सय ३२ हेक्टर क्षेत्रमा कोदो खेती हुन्छ ।” ज्ञान केन्द्रका प्रमुख राम जुगन यादवले भन्नुभयो, “त्यसबाट एक हजार सात सय ४७ टन कोदो उत्पादन हुने गरेको छ ।” इलामका १० स्थानीय तहमै आंशिक रुपमा कोदो खेती हुने गरेको छ । तर, उत्पादन भने वार्षिक रूपमा ओरालो लागेको प्रमुख यादवले बताउनुभयो ।
इलामका बजारमा भारतबाट आयात गरिएको कादो पाइन्छ । सूर्योदय–४ का प्रदीप गिरीले पर्यटकलाई खुवाउने कोदो पनि स्थानीय भनेर भारतबाट ल्याउनुपरेको बताउनुभयो । मकरजुङका टीकाराम अधिकारीले पोहोर नौला बुझाउन गाउँभरि कोदो खोज्दा कतै नभेटेपछि यसवर्ष बारीको एकछेउमा एक मानाको बीउ रोप्नुभएको छ । “दुई वर्ष नौलो बुझाउन पुग्ला त्यसपछि फेरि राप्नुपर्छ । यति रोप्नलाई बारी खन्ने खेताला नभेटेर बिजोग भयो । जमाना फेरिएछ अब ।” उहाँले भन्नुभयो, “रोप्ने पनि थिइन । पोहोर एक मुठी कोदो खोज्न गाउँ डुल्दा कतै नभेटेपटि यसपाली झ्वाँक चलाको ।”
कृषि निर्देशनालयका अनुसार कोशी प्रदेशका १४ जिल्लामा कोदो खेती हुने गरेको छ । प्रदेशभरमा ६५ हजार तीन सय ७२ हेक्टरमा कोदो खेती हुने गरेको छ । त्यसबाट एक लाख आठ हजार तीन सय ७५ टन कोदो उत्पादन हुने गरेको छ । यो करिब रु पाँच अर्ब २० करोड २० लाख बराबरको उत्पादन हो । तर यो वर्षदेखि कोशी प्रदेश सरकारले रैथाने बालीको प्रवर्द्धनका लागि विनियोजन गर्दे आएको बजेट कटौती गरेको छ ।
सरकारको बेवास्तामा परेसँगै कोदो बाली हेलाँमा परेको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रयासको प्रभावस्वरूप जनस्तरमा चेतना अभिवृद्धि भई हाल बजारमा कोदोको माग बढिरहेको पाइन्छ तर विडम्बना उत्पादन भने घटिरहेको छ ।”
पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार २०८०÷८१ मा रु ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार ७ सय ९७ टन कोदो भारतबाट आयात भएको छ । कार्यालयका अनुसार आव २०७९÷८० मा रु ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ टन कोदो भारतबाट आयात भएको थियो । नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको हो ।
कोदो नेपालको चौथो मुख्य बाली हो । कोदोलाई पहाडी क्षेत्रको मकैपछिको दोस्रो मुख्य बालीका रूपमा लिइन्छ । कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाएर खान सकिन्छ । संयोजक अधिकारी भन्छन्, “खाद्य सुरक्षाको दृष्टिकोणले कोदो ज्यादै महत्वपूर्ण बाली हो”, उहाँ भन्नुहुन्छ, “पछिल्ला दिनमा जनचेतना वृद्धि र स्वास्थ्यको दृष्टिकोणले कोदो लाभदायक भएकाले यसको महत्त्व तथा उपयोगिता दिनदिनै बढ्दै गइरहेको छ ।”
कोदोमा क्याल्सियम, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, थाइमिन तथा रेसादार वस्तु पाइने विभिन्न अध्ययनले देखाएको छ । कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा आठ गुणा बढी क्याल्सियम पाइने विज्ञहरू बताउँछन् । सामान्य स्वस्थ व्यक्तिमात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको जनाइएको छ ।
घोरेपानी हिँडेका स्पेनिस पर्यटक बेपत्ता
कास्की, ११ भदौ : चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिनुभयो ।
भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभर खोजी गरेपनि अवस्था पत्ता लाग्न नसकेको उहाँले बताउनुभयो । पर्यटकलाई भुरुङदी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ ।
“पुरानो बाटोबाट हिँड्दा खोलाले बगाएको हुनसक्छ । उहाँहरुले विरेठाँटीमा रहेको एक्यापको चेकपोस्टमा घोरेपानी जान लागेको भनेर दर्ता गर्नुभएको रहेछ”, प्रवक्ता गुरुङले भन्नुभयो । एक्याप विरेठाँटी चेकपोष्टका प्रमुख यामबहादुर गुरुङले आइतबार बिहान पर्यटकले कार्यालयमा नाम दर्ता गराएको जानकारी निदुभयो । उहाँले बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर बेपत्ता भएको हुन सक्ने आशंकाले दिनभर खोजी गरिएको बताउनुभयो ।
प्रवक्ता गुरुङले भन्नुभयो, “पर्यटकको झोला भेटिएको नजिकै बाटोमा सुन्दर छहरा छ, त्यही फोटो खिच्ने क्रममा लडेर खोलामा परेका हुनसक्छन् । प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीसहित खोज्ने क्रममा छहरामा दुई वटा स्टिक(लौरी) भेटिएको छ । अन्य कुरा फेला पार्न सकेका छैनौँ ।” मङ्गलाबार गोताखोरसहितको टोलीले खोलामा खोजी गरिने जानकारी दिनुभयो । पर्यटक हराएको जानकारी दूतावासलाई गराइ सकिएको प्रवक्ता गुरुङले बताउनुभयो ।

























