अरुणमा जलसतह बढेपछि सर्तकता अपनाउन आग्रह
खाँदबारी (सङ्खुवासभा), ३० साउनः रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ ।
साथै, स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । यसैबीच, निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चर्च ब्वाइज युनाइटेड र पारोबीच खेल सुरू
काठमाडौँ, २९ साउनः सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबबीचको खेल सुरू भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अहिले साँझ ६ बजेदेखि सुरू भएको हो ।
अनन्त तामाङको कप्तानीको चर्च ब्वाइज युनाइटेड टोली सदस्यमा टोलीमा कप्तान अनन्तसँगै गोलकिपर दीप कार्की, अञ्जन विष्ट, छिरिङ लामा, सनिश श्रेष्ठ, लकेन लिम्बू, आयुष घलान, ओमोलाजा करिम, पिटर बन्दा, मोसेस न्याबा र एरिक विष्ट रहेका छन् ।
काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण
मलेखु (धादिङ), २९ साउन : पोखराबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ । ठूलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका आएका कारण धादिङको थाक्रे गाउँपालिका–७ आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराएको हो । पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौ आउँदै गरेको कैलास हेलिकप्टर सर्भिसेजको ९ एन–ए.एम.एल हेलिकप्टर खाली चौरमा अवतरण गरिएको थाक्रे गाउँपालिका–७ का वडाध्यक्ष युवराज खतिवडाले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले खराब मौसमका कारण काठमाडौँतर्फ जान जोखिम देखिएपछि पाइलटले सुरक्षित ठाउँमा अवतरण गराएको जानकारी प्राप्त भएको जनाउनुभयो ।
सङ्घीय संसद् भवन अगाडिको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा अभियन्ता सुनार पक्राउ
काठमाडौँ, २९ साउन : सरकार निर्माण तथा राजनीतिक नियुक्तिलगायत सबै क्षेत्रमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै केही दिनदेखि यहाँस्थित माइतीघर मण्डलामा आन्दोलनरत दलितका लागि दलित अभियान, नेपालका संयोजक खगेन्द्र सुनारलाई आज प्रहरीले पक्राउ गरेको छ ।
सङ्घीय संसद् भवन नयाँबानेश्वर अगाडि निशेधित क्षेत्रमा प्लेकार्डसहित प्रदर्शन गर्न खोज्दा संयोजक सुनारलाई पक्राउ गरिएको हो । हातखुट्टामा साङ्लाले बाँधिएर आन्दोलन गरिरहेका सुनारलाई आज दिउँसो पक्राउगरी प्रहरीवृत्त नयाँबानेश्वरमा राखिएको अभियन्ता रेम विकले जानकारी दिनुभयो ।
प्रदर्शनकारीहरूले दलितलाई मन्त्री खै ? दलितलाई कानुन खै ? दलितलाई नियुक्ति खै ? जस्ता प्रश्न लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
अमेरिकाद्वारा हसिनाको आरोप अस्विकार
वासिङ्टन, २९ साउन (रासस / एएफपी): बङ्लादेशकी प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नमा आफ्नो कुनै संलग्नता नरहेको जनाउँदै हसिनाले अमेरिकालाई लगाएको आरोप झुटो भएको ह्वाइट हाउसले सोमबार जनाएको छ ।
हसिनाको बर्हिगमनमा अमेरिकी हस्तक्षेपको आरोपबारे सोधिएको प्रश्नको जवाफमा ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले अमेरिकाको कुनै संलग्नता नरहेको प्रष्ट पार्नु भएको हो ।
बङ्गलादेशको राजनैतिक परिवर्तन बङ्गलादेशी जनताको छनोट रहेको बताउदै उहाँले बङ्गलादेशी जनताले नै आफ्नो सरकारको निर्माण र विघटन गर्नु पाउनु पर्छ भन्ने पक्षमा अमेरिका रहेको बताउनुभयो ।
हसिनाका छोरा तथा पूर्व सरकारी सल्लाहकार सजीब वाजेद जोयले अज्ञात विदेशी शक्तिले बङ्गलादेशको विरोध प्रदर्शनलाई समर्थन गरेको आरोप लगाउनु भएको थियो । यद्यपि उहाँले कुनै प्रमाण भने पेश गर्नु भएको थिएन ।
मे महिनामा हसिनाले विदेशी शक्तिलाई बङ्गलादेश सरकारलाई सैन्य विमानस्थल (एयरबेस) निर्माण गर्न अनुमति नदिएपछि आफू विरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाउनु भएको थियो ।
संयुक्त राज्य अमेरिकाको सामान्यतया बङ्लादेशसँग मैत्रीपूर्ण सम्बन्ध छ । यद्यपि हालको अवस्थामा बङ्गलादेश र अमेरिकाबीच आरोप प्रत्यारोपको श्रङ्खला चलिरेको देखिन्छ ।
बङ्गलादेशमा हसिनाको सरकार अपदस्थ भएपछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको प्रमुखको रूपमा रहनुभएको छ ।
नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो
काठमाडौँ, २९ साउन : यो साताको प्रारम्भमा सर्वाधिक कारोबार रकमसहित उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
आज नेप्से परिसूचक आठ दशमलव १८ अङ्कले घटेर दुई हजार नौ सय २३ दशमलव ४६ विन्दुमा कायम भएको हो । तीन सय ३२ कम्पनीको रु पाँच करोड २७ लाख ६४ हजार आठ सय ३२ कित्ता शेयर दुई लाख ४१ हजार छ सय ६५ पटक खरिदबिक्री हुँदा रु २१ अर्ब ५१ करोड ५० लाख १० हजार छ सय ३३ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार बैंकिङ शून्य दशमलव ४५, वित्त एक दशमलव ५७, लगानी शून्य दशमलव ०८, व्यापार शून्य दशमलव ०६ र जीवन बीमा शून्य दशमलव ५४ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक एक दशमलव ३६, होटल तथा पर्यटन दुई दशमलव २५, जलविद्युत् शून्य दशमलव ३५ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४० प्रतिशतले घटेको छ ।
त्यसैगरी, लघुवित्त एक दशमलव १३, म्युचुअल फन्ड शून्य दशमलव ०७, निर्जीवन बीमा एक दशमलव ०२ र अन्य समूहको उपसूचक शून्य दशमलव ७४ प्रतिशतले घटेको छ ।
मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, पिपल्स पावर लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै शेयर मूल्य नौ दशमलव ९३ प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु ८१ करोड ९९ लाख ४० हजार आठ सय २२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने नविल ब्यालेन्स फन्ड–२ को २९ लाख ८६ हजार नौ सय सात कित्ता शेयर किनबेच भएको छ ।
प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट
काठमाडौँ, २९ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अधिराज्यका राजदूत रब फेनले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीले नेपालको सङ्घीयता र लोकतन्त्रलाई सबल बनाउँदै सरकारले विकास, नीति निर्माणमा युवाहरुको सहभागिता वृद्धि र दिगो विकासका लक्ष्यहरुको प्राप्तिलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न क्रियाशील रहेकोे बताउनुभयो । उहाँले दुई ठूला दलबीचको सहकार्यमा सरकार गठन भएकाले यसप्रति जनताले राखेका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
राजदूत फेनले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लागेकामा खुसी व्यक्त गर्दै नेपालको विकास, सुशासन र सङ्घीयताको सबलीकरणलगायत क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोग जारी रहने बताउनुभयो । उहाँले नेपाली व्यवसायीलाई बेलायतमा वस्तु निर्यातमा सघाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
मधेसका सबै राज्यमन्त्रीलाई पदमुक्त गर्न सिफारिस

धनुषा, २९ साउनः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आठजना राज्यमन्त्रीलाई पदमुक्त गर्ने निर्णय गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलका अनुसार पदमुक्त हुने राज्यमन्त्रीहरूलाई पत्राचार गरिएको छ । साथै उनीहरूलाई पदमुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको हो ।
यही साउन २२ गते गठित मन्त्रिपरिषद्मा समावेश सबै राज्यमन्त्रीलाई पदमुक्त गर्न मुख्यमन्त्रीले सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गर्नुभएको उक्त कार्यालयले जनाएको छ । मधेसमा २० सदस्यीय मन्त्रिपरिषद् गठन भएकामा चौतर्फी विरोध भएको थियो ।
सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति
इनरुवा, २९ साउन : बङ्गलादेशमा भड्किएको हिंसाको असर पर्न नदिन र सामाजिक सद्भाव कायम राख्न यहाँका सरोकार राख्ने पक्षहरुबीच सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार सर्वपक्षीय बैठक गरी विभिन्न धर्मका धर्मगुरु, राजनीतिक दलका प्रतिनिधि, स्थानीय र प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिलगायतबीच छलफल गरेको थियो । बैठकमा धार्मिक सहिष्णुता कायम राख्न आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।
बैठकले धार्मिक सद्भाव र सहिष्णुता कायम राख्न सबैपक्षलाई सार्वजनिक आह्वानसमेत गरेको छ । परम्परागत चाडपर्व मनाउने बाहेक प्रशासनको अनुमतिबिना धार्मिक भेला तथा सभासमेत नगर्ने सहमति भएको प्रजिअ तिवारीले बताउनुभयो ।
बैठकले सुनसरीको धरानलगायतका क्षेत्रमा पछिल्लो समय भइरहेको गतिविधिबाट सामाजिक सद्भाव खलबलिन नदिन आगामी साता धार्मिक सद्भाव ¥याली निकाल्ने निर्णयसमेत गरेको छ । बङ्गलादेशमा अल्पसङ्ख्यक समुदायमाथि भइरहेको आक्रमण र अत्याचार तत्काल बन्द गर्न मुलुकका विभिन्न ठाउँमा प्रदर्शन भएपछि आह्वान गरिएको बैठकमा प्रशासनले सीमा क्षेत्रमा विशेष निगरानी गर्ने तथा कुनै पनि तेस्रो मुलुकका नागरिकको प्रवेशमा कडाइ गर्ने सहमति भएको छ ।
भारत र अष्ट्रेलियाबीच समुद्री सुरक्षा वार्ता
नयाँ दिल्ली, २९ साउन (रासस / एएनआई) : भारत र अस्ट्रेलियाबीच छैटौँ सामुद्रिक सुरक्षा संवाद मङ्गलबार क्यानबेरामा सम्पन्न भएको विदेश मन्त्रालयले जनाएको छ । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयको निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा मामिलाका सहसचिव मुआनपुई साइआवीले गर्नुभएको थियो भने अष्ट्रेलियाली प्रतिनिधिमण्डलको नेतृत्व दक्षिण एसिया तथा मध्य एसिया डिभिजनका प्रथम सहायक सचिव सारा स्टोरीले गर्नुभएको थियो ।
दुवै पक्षबीच समावेशी विकास र विश्वव्यापी कल्याणका लागि अनुकूल सुरक्षित समुद्री वातावरण कायम राख्ने तरिकाहरूबारे छलफल भएको छ ।
उहाँहरुले इन्डो–प्यासिफिक क्षेत्रमा समुद्री सुरक्षा वातावरण, मानवीय सहायता र विपद् राहत (एचएडीआर) समन्वय, क्षेत्रीय र बहुपक्षीय संलग्नता र समुद्री स्रोतहरूको दिगो प्रयोगलगायत आपसी चासोका विभिन्न विषयहरूमा विचार आदानप्रदान गर्नुभयो ।
दुवै पक्षले यी क्षेत्रहरूमा आफ्नो द्विपक्षीय सहयोगलाई अझ सुदृढ पार्ने तरिका र साधनबारे पनि छलफल गर्नुभयो । वार्ताको अर्को चरण पारस्परिक रूपमा सुविधाजनक मितिमा नयाँ दिल्लीमा आयोजना गर्न दुई देश सहमति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।



















