श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएपछि...
काठमाडौँ, २४ साउन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो ।
आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिनुभयो ।
“विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो, एक्कासी विमान फर्काएपछि यात्रुले विमान किन फर्काएको भनी जिज्ञासा राख्दा प्राविधिक कारणले फर्काइएको विमानका कर्मचारीले जवाफ दिए”, उहाँले भन्नुभयो । सांसद कठायतले विमान धावनमार्गबाट उड्नैलाग्ला फर्काइनु एयरलाइन्सको लापरवाही भएको बताउनुभयो ।
श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भने विमानका केही यात्रुबीच विवाद भएपछि विमान फर्काएर अहिले सुर्खेत उडानको तयारीमा रहेको बताउनुभयो । “प्राविधिक समस्याका कारण होइन, दुई–चारजना यात्रीबीचको विवादले होहल्ला भएपछि पाइलटले विमान फर्काएका हुन्”, उहाँले भन्नुभयो, “नागरिक उड्डयनको मापदण्डअनुरुप यात्रीबीच विवाद भएपछि अर्को प्रक्रिया पुर्याएर यात्रीलाई गन्तव्यमा लैजानुपर्ने हुन्छ ।”
अहिले सोही विमानमार्फत यात्रीहरु बोर्डिङ भएर गन्तव्यमा उड्ने क्रममा रहेको व्यवस्थापक मानन्धरले जानकारी दिनुभयो ।
रुसमा युद्धका क्रममा मृत्यु भएका पाँच नेपालीको अस्तुधातु परिवारलाई हस्तान्तरण
काठमाडौँ, २४ साउनः रुसी सेनामा भर्ती भई युद्धका क्रममा मृत्यु भएका पाँच नेपाली नागरिकको रुसमै दाहसंस्कार गरी अस्तुधातु परिवारजनलाई हस्तान्तरण गरिएको छ ।
युद्धमा मृत्यु भएका देवान राई, हरिप्रसाद अर्याल, प्रितम कार्की, अनितकुमार साह र गणेश श्रेष्ठको परिवारका सदस्यबाट सहमति लिई उतै दाहसंस्कार गरी अस्तुधातु नेपाल ल्याएर परिवारलाई आज सम्पर्क÷हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार रुसी सेनामा भर्ती भई समस्यामा परेका नेपाली नागरिक मध्ये सम्पर्क मै नरहेका भनी खोजी र फिर्ताका लागि परिवारबाट निवेदन दिएको सङ्ख्या एक सय १८ जना रहेको छ । त्यस्तै घाइते वा अन्य कारणले फिर्ता गराईदिन अनुरोध गरिएकाको सङ्ख्या एक सय ६६ रहेको मन्त्रायलले जनाएको छ । रुसी सेनामा भर्ती भएकामध्ये हालसम्म ३६ जनाको मृत्यु प्रमाणित भैसकेको छ ।
रुसी सेनामा भर्ती भएका नेपाली नागरिकमध्ये घाइते भई उपचारत रहेको जानकारी प्राप्त भएको सङ्ख्या पाँच (घाइते मध्ये एक जना नेपाल फिर्ता भइसकेको) छ । हालसम्म स्वदेश फर्किएकाको सङ्ख्या १६२, डिएनए परीक्षणका लागि अनुरोध भई आएको सङ्ख्या २२, र क्षतिपूर्तिका लागि नेपाल राजदूतावास, मस्कोबाट, कागजात माग भई आएको सङ्ख्या छ जना रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी मोरङका विकाश राई, कास्कीका नेत्रबहादुर थापा, रुपन्देहीका उदयराज थारु, भोजपुरका प्रितम राई, दार्चुलाका ललित सिंह डोवाल, कैलालीका हेमकुमार मगर, सल्यानका ताराप्रकाश घर्ती र रुकुमका रामकुमार बुढा मगरको नेपाली राजदूतावासबाट मृत्य प्रमाणित भएर आउन बाँकी रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
रुसी सेनामा भर्ती भएकामध्ये युद्धका क्रममा विवेक खत्री (वर्दिया), सिद्धार्थ ढकाल (काभ्रे), विकास राई (मोरङ), प्रतिक पुन (रोल्पा), सुजन सुवेदी (चितवन), ईश्वर लामिछाने (मकवानपुर) हालसम्म यूक्रेनी सेनाको कब्जामा छन् ।
रु एक लाखसहित डा रुइत सम्मान
मोरङ, २४ साउनः प्रसिद्ध आँखा चिकित्सक डा सन्दूक रुइत र सनातन धर्म शङ्करराचार्य पीठ वेद वेदवेदाङ्ग संस्कृत पाठशाला झापालाई आज यहाँ एक समारोहबीच सम्मान गरिएको छ ।
पूर्वप्रधानमन्त्री नगेन्द्र प्रसाद–आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा स्थापित रु एक लाख राशिको ज्ञान विज्ञान पुरस्कार डा रुइतलाई र रु एक लाख राशिको धर्म संस्कृति पुरस्कारबाट संस्कृत पाठशालालाई प्रदान गरिएको हो ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले पुरस्कार प्रदान गर्दै आँखा उपचार क्षेत्रमा स्वदेश तथा विदेशमा ठूलो योगदान दिनुभएका डा रुइतप्रति नेपाली जनता गौरव अनुभूति गरेको बताउनुभयो । उहाँले हाम्रो देशमा विविध जातजाति, भाषासंस्कृति बसोबास गर्ने नागरिकबीच आपसी मेलमिलाप, एकता र धार्मिक सहिष्णुताबाट मुलुक र समाजमा समृद्धि कायम हुने विचार राख्नुभयो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले मुलुकको नाम विश्वमा फैलाउन सफल हुनुभएका डा रुइतलाई सम्मान गर्न पाउँदा निकै खुशी लागेको बताउनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सीमित स्रोत साधनको अधिकतम उपयोग गरी नागरिकलाई स्वास्थ्य सेवा एवं नगरको विकासकार्य गरिरहेको विचार व्यक्त गर्नुभयो ।
सम्मानित व्यक्तित्व डा रुइतले यस सम्मानबाट आफू खुशी भएको उल्लेख गर्दै जनताको अकाल मृत्युलाई जोगाउन सरकारले आवश्यक अनुगमनसहित गुणस्तरीय सवारी साधन र हवाई यातायातको प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष इन्दिरा रिजाल, सम्मानित सस्कृत पाठशालाका प्राचार्य लक्ष्मी खतिवडा र अच्युत प्रपन्नचार्य र प्राडा हरिप्रसाद अधिकारीले समाजमा धर्म संस्कृतिको रक्षा गर्न हामीसबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
स्व रिजाल विस २०३० र २०४२ मा गरी दुईपटक प्रधानमन्त्री हुनुभएको थियाे ।
इलामका दुई सामुदायिक वन रेडपाण्डा संरक्षण क्षेत्र घोषणा
फिक्कल (इलाम), २४ साउन : दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) संरक्षणका लागि इलामको दुई वटा सामुदायिक वन क्षेत्रलाई रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरिएको छ ।
इलाम नगरपालिकाले वडा नं ३ पाटेनागीस्थित पुवामाई सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रभित्रको एक सय १६ दशमलव २१ हेक्टर वन क्षेत्रलाई ‘पुवामझुवा सामुदायिक रेडपाण्डा संरक्षण क्षेत्र’ घोषणा गरेको हो । अन्तर्राष्ट्रिय भूसंरक्षण दिवसको अवसरमा आज पाटेनागीमा घोषणा कार्यक्रम आयोजना गरी इलाम नगर प्रमुख केदार थापाले पुवामाई सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वनलाई सामुदायिक रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, नेपाली सेनाको रणशार्दूल गण इलामका प्रमुख सेनानी प्रल्हाद घले, नेपाल प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाल, सशस्त्र प्रहरीक्षक प्रदीप खड्का, डिभिजन वन कार्यालय इलाम प्रमुख दानबहादुर श्रेष्ठसहित सामुदायिक वन, स्थानीय पर्यटन व्यवसायी र पत्रकारको उपस्थितिमा प्रमुख थापाले सामुदायिक रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख थापाले डिभिजन वन कार्यालय इलाम र रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा स्थानीय सरकारद्वारा घोषणा गरिएको रेडपाण्डा संरक्षण क्षेत्र नेपालकै पहिलो संरक्षण क्षेत्र रहेको दाबी गर्नुभयो । उहाँले वन ऐन, २०७८ बमोजिम पुवामझुवा सामुदायिक रेडपाण्डा संरक्षण तथा व्यवस्थापन कार्यविधी, २०८० तर्जुमा गरी रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरिएको बताउनुभयो ।
दुर्लभ वन्यजन्तु रेडपाण्डाको वासस्थान विनाश र विखण्डन जस्ता खतराबाट जोगाउन तथा रेडपाण्डाको लागि सुरक्षित वासस्थान प्रदान गर्नका लागि संरक्षण क्षेत्र घोषणा गरिएको नगर प्रमुख थापाले बताउनुभयो ।
“रेडपाण्डाको वासस्थान विनास र विखण्डनजस्ता खतराबाट जोगाउन निश्चित वन क्षेत्रलाई सामुदायिक रेडपाण्डा क्षेत्र घोषणा गरिएको छ”, प्रमुख थापाले भन्नुभयो, “यसले रेडपाण्डाको संरक्षण गरी पर्यापर्यटन गन्तव्य कायम गर्दै स्थानीय बासिन्दाको जीविकोपार्जनमा टेवा पुर्याउने विश्वास राखिएको छ ।” उहाँले आगामी दिनमा इलाम नगरपालिकाले रेडपाण्डा संरक्षणका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
डिभिजन वन कार्यालय इलामका प्रमुख दानबहादुर श्रेष्ठले रेडपाण्डा संरक्षणले जैविक विविधतालाई संरक्षण गर्नुका साथै पर्यापर्यटनसँग जोडेर स्थानीय जनताहरुको जीविकोपार्जन तथा आर्थिक उपार्जनलाई मदत गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमका वक्ताहरूले संरक्षण क्षेत्रले रेडपाण्डाका अतिरिक्त समग्र पारिस्थितिक प्रणालीको संरक्षण गर्ने कार्यमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए ।
स्थानीय भाषामा हाब्रेको नामले चिनिने गरेको यसको बिरालो जस्तै हुन्छ । तर रङ कालो, रातो र सेतो मिसिएको हुन्छ । पुच्छर ठूलो र लामो हुन्छ । पोथी रेडपाण्डाको तौल तीनदेखि चार किलोसम्म हुन्छ भने भाले रेडपाण्डाको तौल छ किलोसम्म हुने रेडपाण्डा नेटवर्कले जनाएको छ ।
समुन्द्री सतहको एक हजार छ सय मिटरदेखि दुई हजार चार सय मिटरसम्म यसको बासस्थान उपयुक्त मानिन्छ । रेडपाण्डा इलाम नगरपालिका–३ को पाटेनागीसहित सन्दकपुर गाउँपालिकाको माबु दोभाने, जमुना चोयाटार, माईजोगमाई गाउँपालिकाको प्याङ पातल सामुदायिक वन, जोगमाइ माथिल्लो सामुदायिक वनलगायतमा पाइने गरिएको छ ।
रेडपाण्डाको प्रमुख आहारा मालिङ्गो र भालुचिण्डे हो । माथिल्लो क्षेत्रमा मालिङ्गो र भालुचिण्डे पाइने भएकाले रेडपाण्डाको रोजाइमा त्यही क्षेत्र परेको छ । रेडपाण्डा संरक्षणका इलामको सन्दकपुर गाउँलिकामा रेडपाण्डा सम्बन्धी पढाइ नै हुँदै आएको छ । स्थानीय पाठ्यक्रम नै बनाएर सन्दकपुरका सामुदायिक र संस्थागत विद्यालयमा रेडपाण्डा पढाइ थालिएको हो ।
खोटाङमा बाघ आतङ्क : नियन्त्रण गर्न डिभिजन वन कार्यालयलाई पत्राचार
खोटाङ, २४ साउन : जिल्ला प्रहरी कार्यालय खोटाङले बाघ नियन्त्रणका लागि डिभिजन वन कार्यालय खोटाङलाई पत्राचार गरेको छ । जिल्लाका विभिन्न स्थानीय तहका किसानले पालेका दुई दर्जन बढी पशुचौपाया बाघले खाएपछि नियन्त्रणका लागि प्रहरीले वन कार्यालयलाई पत्राचार गरेको हो ।
बाघ मार्ने अधिकार कसैलाई पनि नभएकाले नियन्त्रणका लागि डिभिजन वन कार्यालयलाई लिखित रुपमा पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । “जङ्गलबाट गाउँ पसेको बाघले आतङ्क मच्याएको खबर जिल्लाका विभिन्न ठाउँका स्थानीय बासिन्दाबाट प्राप्त भएको छ । सबैभन्दा बढी केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित मामातिमका स्थानीय बासिन्दाको पशुचौपाया क्षति गरेको विवरण प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “बाघ संरक्षित जनावर हो । बाघ मार्ने अधिकार कसैलाई पनि छैन । त्यसैले नियन्त्रणका लागि विभिजन वन कार्यालय खोटाङलाई पत्राचार गरिएको हो ।”
जङ्गलबाट गाउँ पसेको बाघले यही साउन दोस्रो हप्तादेखि जिल्लाका विभिन्न स्थानीय तहका किसानले पालेका पशुचौपायामा क्षति गरेको प्रहरीले जनाएको छ । खोरमा राखिएको खसीबाख्रा तथा गोठमा बाँधेर राखिएका गाईभैँसीको बाच्छाबाच्छी÷पाँठापाँडी खान थालेपछि स्थानीय बासिन्दा आतङ्कित भएका छन् ।
बाघले जिल्लाका स्थानीय बासिन्दाको पशुचौपायामा गरेको क्षतिको विवरण सङ्कलन गर्न मातहतका वन कार्यालयहरूलाई पत्राचार गरिएको र क्षतिपूर्तिका लागि पहल सुरु गरिएको डिभिजन वन कार्यालय खोटाङका प्रमुख पशुपति दाहालले बताउनुभयो । “बाघ नियन्त्रण गर्ने जनशक्ति हामीसँग छैन । प्रहरीको पत्र आएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई जानकारी गराएका छौँ”, उहाँले भन्नुभयो, “राष्ट्रिय प्रकृति संरक्षण कोषले कोशी टप्पु वन्यजन्तु आरक्षलाई खबर गरेको बुझिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षले दक्ष जनशक्ति पठाएपछि प्रहरीसँगको समन्वयमा नियन्त्रणको काम शुरु गर्छौँ ।”
बाघले खार्ताम्छास्थित मामातिमका समला राईको एउटा बाख्रा, रञ्जित राईको दुईवटा बाख्रा, देवराज राईको दुईवटा बाख्रा, मिनालक्ष्मी राईको एउटा बाख्रा, भरत विष्टको एउटा बाख्रा, हर्काश खड्काको दुईवटा बाख्रा, कुमारी खड्काको दुईवटा बाख्रा, बुद्धिराज राईको चारवटा सुगुर खाएको छ । मामातिम टोलमा मारेको पशुचौपाया गाउँपालिकाको राष्ट्रपति महिला उत्थान तथा जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत अनुदानबाट वितरण गरिएको वडाध्यक्ष वडाध्यक्ष मिलन राईले बताउनुभयो ।
साउन–२१ गते सोमबार राति बाराहापोखरी गाउँपालिका–१ का हाकिमध्वज राईको घर छेउको गोठमा एउटा खसी मार्नुका साथै गोठमा राखिएको अर्को खसी करिब पाँच सय मिटर तल लगेर आधा खाएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । त्यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाडाँगाउँस्थित आरुबोटेका कृष्ण कार्कीको दुईवटा बाख्रा र एउटा खसी सोही दिन मार्नुका साथै एउटा खसी घाइते बनाएको छ ।
साउन–१९ गते हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका भीममायाँ चौहानको घरमा बाहिर बाँधेको कुकुर मारेको थियो । त्यसैदिन उक्त गाउँकै पशुपति भण्डारीको खोरमा बाँधेर राखिएको एउटा खसी मारेको र साउन–१८ गते दिउँसो चराउन जङ्गल लगेको बेला त्यही गाउँका देवीबहादुर कार्कीको एउटा बोका खाएको प्रहरीले जनाएको छ ।
प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई
काठमाडौँ, १७ साउनः प्रधान सेनापति प्रभूराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष समारोहमा प्रधान सेनापति शर्माले भोलिदेखि सम्हाल्ने गरी वरिष्ठतम् रथी सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गर्नुभएको हो ।
मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रूपमा बलाधिकृत रथी सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलिदेखि लागू हुनेगरी रथी सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी यसअघि नै तोकिसक्नुभएको छ ।
प्रधान सेनापति शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । प्रधान सेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधान रहेअनुसार रथी सिग्देलले कामु प्रधान सेनापतिको जिम्मेवारी पाउनुभएको हो ।
कार्यभार बुझबुझारथ समारोहमा प्रधान सेनापति शर्माले नेपाली सेनाको सबै तह र तप्कालाई राम्रो बुझेको, नीति, नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यावहारिक र व्यावसायिक क्षमता भएका उत्तराधिकारीका रुपमा बलाधिकृत रथी सिग्देललाई कार्यभार बुझाउन पाएको भनी खुसी व्यक्त गर्नुभयो । त्यस अवसरमा पूर्वप्रधान सेनापतिहरु, रक्षा मन्त्रालयका सचिव, रथीवृन्दलगायत उपस्थ्तिि हुनुहुन्थ्यो ।
प्रधान सेनापति शर्माले आजै वीरगति प्राप्त सकल दर्जाको सम्मानमा वीर स्मारक छाउनी र सैनिक मञ्च टुँडिखेलमा श्रद्धाञ्जलीसमेत अर्पण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कामु प्रधान सेनापति सिग्देल परिचय
बलाधिकृत रथी सिग्देलले स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गर्नुभएको छ । आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरी र चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट स्नातक उहाँले आर्मी वार कलेजमा हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गर्नुभएको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विभिन्न कार्यशाला र व्यावसायिक सेमिनारमा पनि भाग लिनुभएका बलाधिकृत रथी सिग्देलले त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ ।
अठ्तीस वर्षको सैन्य जीवनमा उहाँसँग काउन्टर इन्सर्जेन्सी र जङ्गल वारफेयर स्कूलको कमान्डेन्ट, इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमान्ड गरेको अनुभव छ । बलाधिकृत रथी सिग्देलले सन् २०२२ मा अमेरिका–नेपाल तेस्रो ल्यान्ड फोर्स वार्ताका लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गर्नुभएको थियो ।
कोरोना महामारीका समयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को सचिवका रूपमा पनि उहाँले काम गर्नुभयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीतिक महत्वका घटनालाई नजिकबाट चासो साथ हेर्नुहुने रथी सिग्देल सङ्गठनभित्र अध्ययनशील र सकल दर्जाका कुरा सुन्ने व्यक्तित्वका रूपमा परिचय बनाउनुभएको छ । उहाँले सैनिक सङ्गठनभित्र युद्धकार्य, सम्भार विभाग, नीति महानिर्देशक र उपत्यका पृतनाजस्ता महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसक्नुभएको छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय क्षेत्रमा संयुक्त राष्ट्र शान्ति सेनाअन्तर्र्गत पूर्व युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरिया जस्ता चुनौतीपूर्ण स्थानमा सेवा गरिसक्नुभएको छ ।
सैनिक जीवनको उत्कृष्ट सेवाको कदरस्वरुप उहाँ सुप्रबल जनसेवाश्री तेस्रोसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकबाट विभूषित हुनुहुन्छ । सङ्गठनको उन्नयनमा उत्कृष्ट योगदान पु¥याएबापत उहाँले दुईपटक ‘प्रधान सेनापति प्रशंसा पदक’समेत पाउनुभएको छ ।
नेपालको संविधानले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने महत्वपूर्ण जिम्मेवारी तोकेको छ । यसका अलवा विपद् व्यवस्थापन, राष्ट्र विकास, शान्ति स्थापना, आन्तरिक सुरक्षा, वन तथा पर्यावरण सुरक्षा, ऐतिहासिक धरोहरको संरक्षण, राष्ट्रिय एकताको प्रवद्र्धन र आपत्कालीन खोज तथा उद्धारका कार्य पनि सेनाको जिम्मेवारी क्षेत्रमा रहेको छ ।
नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा समेत विशिष्ट योगदान पु¥याउँदै आएको छ । नेपाली सेना व्यावसायिक, अनुशासित, कर्तव्यनिष्ठ र मानव अधिकार प्रवद्र्धनका दृष्टिकोणबाट समेत अब्बल ठहरिएका कारण द्वन्द्वग्रस्त राष्ट्रका जनताको पहिलो रोजाइमा पर्दै आएको छ ।
संयुक्त राष्ट्र सङ्घको आह्वानमा महिलासहित ठूलो सङ्ख्यामा शान्ति सैनिक खटाउने मुलुकको सूचीमा पहिलो स्थानमा छ । त्यस क्रममा हालसम्म विभिन्न ४४ वटा मिसनमा एक लाख ५२ हजार आठ सय १८ शान्ति सैनिकले शान्ति स्थापना कार्यका लागि योगदान पु¥याइसकेका छन्भने हाल विभिन्न ११ मिसनमा पाँच हजार नौ सय १६ सैनिक कार्यरत रहेको नेपाली सेनाले जनाएको छ ।
थारु समुदाय ‘गुरही पर्व’ मनाउने तयारीमा
कैलाली, २४ साउन : पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएको थारु समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व मनाउने तयारी थालेको छ । कैलालीमा पनि यो पर्व मनाउन तयारी तीव्र पारिएको छ ।
सखी सञ्जाल कैलाली, थारु कल्याणकारिणीसभा धनगढी नगर समिति, राष्ट्रिय थारु कलाकार मञ्च प्रदेश समिति, थारु महिलासभा कैलाली, थारु महिला सञ्जाल धनगढी लगायतको संयुक्त आयोजनामा यही साउन २५ गते धनगढीको क्याम्पस चोकमा धुमधामसँग पर्व मनाउने तयारी थालिएको सखि सञ्जाल कैलालीका कार्यबाहक संयोजक कालीमैया चौधरीले जानकारी दिनुभयो । यस्तै धनगढीका विभिन्न गाउँठाउँमा पनि सामूहिक रुपमा उक्त पर्व मनाउन थारु समुदाय जुटेको छ । थारु सामुदायभित्रको सांस्कृतिक विविधतालाई संरक्षण सम्बद्र्धन गर्र्ने उद्देश्यले गुरही पर्व मनाउने गरिएको संयोजक चौधरीले बताउनुभयो ।
“विशेष गरी “गुरही”एक प्रकारको कीराको नाम हो, यस कीरालाई नेपाली भाषामा ‘गाईनेकीरा’ भन्ने गरिन्छ, गर्मीयाममा गाउँघरमा व्याप्त दूषित किटाणु तथा लामखुट्टेलाई आफ्नो आहारा बनाई यस कीराले वातावरण सरसफाइमा टेवा पु¥याएको हुन्छ”, उहाँले भन्नुभयो, “यसै गुरहीको प्रतिकका रुपमा बालबालिका तथा दिदीबहिनीले लुगाको गुडीया बनाइ गाउँको दक्षिणपट्टिको चोकमा सेलाउने (असरैना) गर्दछन् । पुरुषहरु सेलाएको गुडीयालाई लठ्ठी आकारको सोताले पिट्ने र गाउँभरिको रोगव्याध तथा नराम्रो चिज लैजा भनेर जोरले चिच्याउने चलन छ ।”
गुरही सेलाउने काम सकिए पश्चात गुरहीसँग ल्याएको गेडागुडी तथा भुजा एकापसमा बाँडी खाने, खुवाउने र नाचगान गरी रमाइलो गर्ने चलन छ । यसर्थ यस पर्वलाई जनस्वास्थ्यसँग पनि जोडेर हेर्ने गरिएको छ । यस पर्वलाई रोगव्याधी निर्मूल गर्ने पर्वको रुपमा पनि लिने गरिएको छ । यो पर्व थारु समुदायले लामो समयदेखि धनगढीको गुरही चोक (क्याम्पस रोड) मा भव्यताका साथ मनाउँदै आएको राष्ट्रिय थारु कलाकार मञ्च प्रदेश समितिका कोषाध्यक्ष राजु चौधरीले बताउनुभयो । यसवर्ष पनि गुरही पर्व विगतभन्दा अलि फरक ढङ्गले सिर्जनात्मक कार्य गरी मनाउने तयारी गरिएको उहाँले बताउनुभयो ।
थारु समुदायमा गुरही पर्व बालबालिकालगायत सबैले हर्षोउल्लासका साथ मनाउने गरिएको छ । यसर्थ यसवर्ष थारु समुदायले मनाउने गरिएको गुरही पर्व श्रावण शुक्ल पञ्चमी (नाग पञ्चमी) का दिन अर्थात यही साउन २५ गते पर्न गएकाले उक्त दिन धनगढी उपमहानगरपालिकाले यहाँ सार्वजनिक बिदा दिएको छ ।
सुनको कथामा बन्यो चलचित्र ‘नम्बरी सुन’
काठमाडौँ, २४ साउन : सुन व्यवसायको कथालाई आधार बनाएर नेपाली चलचित्र ‘नम्बरी सुन’ तयार गरिएको छ । चलचित्रका निर्माता तथा कलाकार नारायण खातीले सुनको काम कसरी अगाडि बढ्यो ?, कालीगढी काम कसरी बढ्यो ? लगायतका विविध प्रश्नको जवाफ चलचित्रमा पाइने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सुन नागरिकको जन्मदेखि मृत्युसम्म जोडिएको वस्तु हो । यसको आफ्नै इतिहास छ । यस्तै एउटा कथालाई चलचित्रमा ल्याउँदैछौँ । यसले मनोरञ्जनसँगै सुनसँग जोडिएको तथ्यलाई दर्शकसम्म पु¥याउनेछ ।”
सुनको इतिहाससँगै विभिन्न वर्गका युवा युवती बीचको प्रेम र त्यो प्रेमले निम्त्याउने घटना परिघटनालाई प्रस्तुत गरिएको उक्त चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कङ्गना गिरीलगायतका कलाकारले अभिनय रहेको छ ।
अभिनेता पहारीले आर्थिक रुपमा कमजोर भएका युवाको भूमिका निर्वाह गरेको जानकारी दिनुभयो । “मैले निम्न वर्गको प्रतिनिधित्व गरेको छु । जसको प्रेम मुखियाकी छोरीसँग हुन्छ । यसमा मेरो बुवा पात्रले सुन बनाउने काम गर्नुहुन्छ । यसले प्रेमसँगै चलचित्रमा एउटा पुस्ताको कालिगढ़ीलाई जोडेको छ”, उहाँले भन्नुभयो । आफूले अभिनय गरिरहेको भन्दा फरक पात्र भएकाले अभिनय गर्न तयार भएको उहाँको भनाइ छ ।
चलचित्रमा यसमा अभिनेत्री सापकोटाले ग्रामीण युवतीसँगै अभिनेता पहारीको प्रेमिकाको भूमिका निर्वाह गर्नुभएको छ । “चलचित्रमा मुखियाकी छोरी भएर पनि साधारण शैली रहेकी युवतीको भूमिकामा छु । मेरो पात्रले क्रान्तिको चित्रण समेत गरेको छ”, अभिनेत्री सापकोटाले भन्नुभयो । चलचित्र यही साउन २५ गतेदेखि प्रदर्शन हुँदैछ ।
‘मगर खाम भाषा’ सङ्कटमा परेपछि बूढापाका चिन्तित
ढोरपाटन (बागलुङ), २४ साउनः यहाँ बोलिने ‘मगर खाम भाषा’ सङ्कटमा परेसँगै लोप हुने जोखिम बढेको छ । बढ्दो सहरीकरण, विदेश पलायन, आधुनिकीकरणलगायत कारणले भाषा सङ्कटमा पर्न थालेपछि लोप हुने जोखिम बढेको भन्दै बूढापाका चिन्तित भएका हुन् ।
आठार मगरातअन्तर्गत जिल्लाको निसीखोला गाउँपालिका–५ र ६ मा बोलिने यो भाषा पछिल्लो समय कम प्रयोग हुन थालेको छ । युवा विदेश र बालबालिका सहर बजार झर्न थालेपछि ‘मगर खाम भाषा’ कम बोल्न थालिएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् ।
पछिल्लो समय गाउँमा बूढापाका मात्रै बस्ने र यो भाषा बोल्ने गरेका छन् । एकदशक अगाडिसम्म ढोरपाटन नगरपालिका–७, ८ र ९ मा पनि खाम भाषा बोल्ने गरिएकामा अहिले प्रयोग हुन छोडेको निसीखोला–६ का भक्तबहादुर बुढा मगरले बताउनुभयो । बिस्तारै निसीखोलामा पनि भाषा हराउँदै जाने जोखिम बढेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
भाषासँगै पश्चिममा संस्कृतिको प्रभावले मौलिक कला र संस्कृति पनि लोप हुन थालेको बूढापाका बताउँछन् । यसलाई संरक्षण गर्नुपर्ने दायित्व स्थानीय सरकारले गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभयो । मगर खाम भाषा मगर समुदायले मात्रै नभई निसीखोलामा दलित समुदायका स्थानीयले पनि बोल्ने गर्दछन् । “पहिलेपहिले लेकबेँसी र घाँसदाउरा गर्दा मगर खाम भाषामा गीत गुनगुनाउने गरिन्थ्यो । अचेल नयाँ पुस्तालाई कुराकानीमा पनि समस्या हुने गर्दछ”, भक्तबहादुरले भन्नुभयो । यो भाषा आफ्नो समुदायको पहिचान, संस्कृति र आस्था भएको उहाँले बताउनुभयो ।
एक दशक अगाडिसम्म गाउँका सबैले मगर खाम भाषामा कुराकानी गर्नेमा अहिले बोलचाल पनि कम हुँदै गएको भक्तबहादुरले बताउनुभयो । कहिलेदेखि बोल्दै आएको यकिन दस्तावेज नभए पनि सयौँ वर्ष पुरानो रहेको उहाँले दाबी गर्नुभयो । गाउँमा विकास आएपछि धेरैले यो भाषा बोल्न छोड्दै गएका बताउँदै ७१ वर्षीय भक्तबहादुरले आफ्ना छोराछोरीले मातृ भाषा राम्रोसँग बोल्न सके पनि नाति पुस्ताले बोल्न छोडेका उल्लेख गर्नुभयो ।
“हाम्रा बाउबाजेले नेपालीभन्दा पनि सबै खाम भाषामा बोल्दथे । हामीहरुले उहाँहरुबाट सबै कुरा सिकेर त्यस्तै अनुसरण गर्यौँ । बिस्तारै नेपाली भाषा पनि बोल्न थालियो, अहिले युवा पुस्ताले खाम भाषा बोल्न मान्दैनन्”, उहाँले भन्नुभयो, “हामी गाउँ छोडेर कतै गएनौँ, मातृ भाषामा गीत गाउँदै, नाच्दै खेतीपातीको काम गथ्र्यौं । अहिलेका युवा पुस्ता उच्च शिक्षा, रोजगारीलगायत बहानामा सहर बजार झर्छन् । उति बस्ने, पढ्ने र उतैको भाषा बोल्छन्, हाम्रो भाषा हराउँदै गयो ।”
निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले मगर खाम भाषा संरक्षणका लागि विद्यालय स्तरबाट लाग्नुपर्ने बताउँदै यसका लागि पालिकाले पाठ्यपुस्तकमा समावेश गर्ने योजना बनाइरहेको जानकारी दिनुभयो । पालिकाले मगर खाम भाषामा पाठ्यपुस्तक तयार गरिसकेको भन्दै आगामी भदौदेखि पठनपाठन थाल्ने योजनामा रहेको उहाँले बताउनुभयो ।
यो भाषा संरक्षणका लागि राज्यले प्राथमिकता दिनुपर्ने अध्यक्ष घर्ती मगरले जोड दिनुभयो । पालिकाले नयाँ पुस्तालाई खाम भाषा बोल्न प्रेरित गरिरहेको बताउँदै समुदायस्तरबाट यसको पहल हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
पहिलो जम्मेवारी परिवारको भएकाले परिवारले आफ्ना सन्तानलाई मातृ भाषा सिकाउनुपर्ने र जिम्मेवार बन्नुपर्ने अध्यक्ष मगरको भनाइ छ । भाषाको संरक्षण र प्रवर्द्धन गर्न परिवारले पनि सहयोग गर्नुपर्ने भन्दै भाषा संरक्षण भए हाम्रो कला, संस्कृति र रहनसहन लोप नहुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
“अघिल्लो वर्षदेखि विद्यालयमा मगर खाम भाषाको पाठ्यपुस्त लागू गर्ने योजना थियो, प्रविधिक कारणले गर्न सकिएन”, अध्यक्ष मगर, “यस वर्ष जसरी पनि गर्छौं, बालबालिकालाई खाम भाषामा सांस्कृतिक कार्यक्रम गर्ने, गीत गाउने, बोल्न सिकाउने गर्न सकिन्छ । नियमित पठनपाठनका लागि शिक्षकको समस्या छ, निजी स्रोतबाट भए पनि शिक्षक व्यवस्थापन गरेर पठनपाठन गराउने छौँ ।”
डोरी बेचेरै परिवारको जीविका चलाउछन् असी वर्षीय बन्धु राना
कञ्चनपुर, २४ साउन : शुक्लाफाँटा नगरपालिका ६ कसरौलका बन्धु रानाको उमेर ८० वर्ष पुगेको छ । उहाँले तन्नेरी झैँ परम्परागत सीपको सदुपयोग गर्दै डोरी बाटेर बिक्री गरी महिनामा तीस हजार बढी आम्दानी गर्दै आउनुभएको छ । बजारमा सिमेन्ट राख्न प्रयोग भएका खालि बोरीहरु खरिद गरी उहाँले त्यसको धागो निकाली त्यसबाटै डोरी बाटने(बनाउने) गरेका छन ।
डोरी बलियो र देख्नमा आकर्षक हुने भएकाले ग्राहकले सहजै किन्ने गरेका छन । एउटै डोरी रु दुई सय देखि रु पाँच सय सम्ममा बिक्री हुने गरेको छ । “घरमै बसेर डोरी तयार गर्छौ” उहाँले भन्नुभयो, “तयार भएको डोरी काँधमा बोक्दै गाउँ गाउँ पुरयाएर बिक्री गर्दै आएको छु ।”
दैनिक रु एक हजार जतिको डोरी बिक्री हुने गरेको उहाँ बताउनु हुन्छ । डोरी बेच्नकै लागि विहानीको खाना खाएर गाउँ चहार्दै हिडने राना साँझ अवेर मात्रै घर फर्कने गर्दछन । डोरीमा रानाले छडकी, वरहा, घाँस बोक्ने जाल, मुखडा, नाथ लगायत बनाउने गर्दछन । सबै भन्दा बढी बिक्री हुने डोरीमा छडकी रहेको छ । गाई गोरु बाध्नका लागि प्रयोग हुने छडकीको ग्राहकले बढी माग गर्ने रानाले बताउनुभयो । डोरी बनाउन रानाले २० वर्षको उमेरमै सिकेका हुन । “धेरै परिवार हँदा आर्थिक अभाव सधैं भैरहन्थ्यो” उहाँले भन्नुभयो, “त्यै भएर लेखपढ गर्ने अवसर पाउने कुरै भएन, त्यस बेला लेखपढ पर्ने खासै चासो पनि हँुदैनथ्यो, गोठालो जान्थे, अरुले डोरी बनाएको देखेर त्यसबाटै सिके । पहिला बावियो, सनपाट, जुटको डोरीको प्रयोग बढी हुने गरेको थियो । खेतवारीमै डोरीका लागि जुट, सनपाटको खेती किसानले प्रशस्त रुपमा गर्दथे । जव देखि बजारमा प्लाष्टिका डोरी आए त्यस पछि किसानले जुट र सनपाटको खेती गर्ने कार्य छाडे । ” जुट र सनपाटको खेती हुन छाडेपछि विकल्पमा प्लाष्टिका बोरीहरु खरिद गरी त्यसबाटै डोरी बनाउने कार्य थालेको उहाँ बताउनुहुन्छ ।
व्यवसायीक रुपमा डोरी बनाएर बिक्री गर्ने कार्य ४० वर्षको उमेर पछि गर्न थालेको उहाँको भनाई रहेको छ । घरमा कोही विरामी परे, पैसाको अत्यन्तै जरुरी परेका बेला परिवारलाई उहाँले सहयोग गर्नु हुन्छ । विवाह गरेको दुई वर्षमै श्रीमतीको देहवसान भएपछि रानाले दोश्रो विवाह भने गर्नु भएको छैन । जेठो दाजुको घरमा उहाँ बस्दै आउनु भएको छ । डोरी बेचेकै पैसाले रानाले जेठो दाजुको छोराका लागि मोटरसाइकल खरिद गरिदिएका छन् । “मोटरसाइकल किन्न थोरै रकम मैले जुटाए” डुठ्ठा रानाले भन्नुभयो, “दुई लाख रकम डोरी बेचेर आएको रकम बाजेले व्यहोरे ।” परिवारलाई आवश्यकता परेका बेला उहाँले आर्थिक सहयोग गर्दानै परिवार चलाउन सहज भएको डुठ्ठाको भनाइ रहेको छ । “घरमा ठुलो काम गर्दा लाग्ने पैसा उहाँलेनै दिनु हुन्छ” उहाँले भन्नुभयो, “स–सानो काममा भने पैसा दिन कञ्जुस्याइ गर्नु हुन्छ । उमेर छदा डोरी बेचेर महिनामै रु ५०÷६० हजार सम्म पनि कमाउथे, उमेर ढल्कीदै जाँदा कमाइ पनि घटेको छ, ।”
घर खर्च संगै आफुलाई आवश्यक भएको लुगाफाटो,जुत्ता,चप्पल, औषधपचार लगायतको खर्च डोरी बेचेर आएको रकमबाटै व्यहोर्दै आउनु भएको छ । आफुलाई चाहिने खर्च अरु संग मागेको अहिले सम्म नदेखेको डुठठा बताउनु हुन्छ । “हामीले आपतविपत परेका बेला उहाँ संग पैशा माग्छौं उहाँले अहिले सम्म हामी संग पैशा माग्नु भएको छैन” उहाँ भन्नु हुन्छ । पूर्व वडा अध्यक्ष जगता राना पौरख गरेर खाने स्वावलम्बी व्यक्तिका रुपमा आफुले बन्धुलाई चिनेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ ,“व्यवसायीक कार्यलाई निरन्तर गरे पैसाका लागि अन्यको मुख ताक्नु नपर्ने पाठ उहाँबाट आजका युवाहरुले सिक्नु पर्ने हुन्छ ।”