बागलुङ पहिरोः सातको मृत्यु, चारजनाको जीवितै उद्धार
बलेवा (बागलुङ), २२ साउनः बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छभने चारजना घाइते भएका छन् । पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ ।
आज बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको मृत्यु भएको हो । आज बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये छजनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ । उनीहरू घाइते छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।
बङ्गलादेशमा नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान
ढाका २२ साउन (रासस / एएनआई): प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बङ्लादेशको वर्तमान रानजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डा मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको ढाका ट्रिब्यूनले जनाएको छ ।
प्रमुख विद्यार्थी नेता नाहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजूमदारले मङ्गलबार भिडियो सन्देशमार्फत यस्तो घोषणा गरेका हुन् ।
ट्रिब्यूनका अनुसार विद्यार्थी नेता नाहिदले सोमबार राति २४ घण्टाभित्र अन्तरिम सरकारको रूपरेखा तयार गरिने घोषणा गर्नुभएको थियो ।
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको हो ।
बङ्गलादेशमा आएको राजनैतिक परिवर्तनपछि सोमबार राति नै राष्ट्रपति मोहम्मद साहाबुद्दिनले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति प्रदान गर्नुभएको हो ।
यसैबीच, बङ्लादेश नेसनलिस्ट पार्टी (बिएनपी) का महासचिव मिर्जा फक्रुल इस्लाम आलमगीरले आफ्नो पार्टीका कार्यवाहक अध्यक्ष तारिक रहमान चाँडै नै देश फर्कने घोषणा गर्नुभएको छ ।
महासचिव मिर्जा फक्रुलले हसिना सरकारले नेता तारिक रहमानलाई झुटो मुद्दामा अन्यायपूर्ण रूपमा निर्वासित गरिएको जनाउदै उहाँले आन्दोलनलाई समर्थन गरेको र तुरुन्तै स्वदेश फिर्ता हुने आशा व्यक्त गर्नुभयो ।
मिर्जा फक्रुलले आफ्ना पार्टी नेता बेगम खालिदा जियालाई समेत तुरुन्तै रिहा गर्ने निर्णय गरिएको उल्लेख गर्दै राजनीतिक कारणले जेलमा परेका अन्य व्यक्तिलाई पनि रिहा गर्ने जनाउनुभयो ।
छाला उद्योगको दुर्गन्धले बिरामी हुन थालेपछि स्थानीय आन्दोलित
धरान (सुनसरी), २२ साउनः सुनसरीको दुहबी नगरपालिका–६ मा सञ्चालित दुईवटा छाला उद्योगबाट निस्कने दुर्गन्धले बिरामी पर्न थालेपछि स्थानीयवासी आन्दोलित बनेका छन् ।
यहाँ सञ्चालित युनाइटेड टेनराइज र एसियन लेदर उद्योगबाट निस्कने दुर्गन्धले बस्तीबाटै विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थानीयहरु उद्योगविरुद्ध आन्दोलित बनेका हुन् । छाला प्रशोधन तथा भण्डारण उपयुक्त नभएकाले ती उद्योगबाट वरिपरिका बस्तीमा दुर्गन्ध फैलिने गरेको स्थानीय कुन्दन पासवानले बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योगले त्यहाँबाट निस्कने फोहरको ढल नजिकै रहेको बूढी खोलामा मिसाउने गरेको छभने राँगा तथा भैँसीको छाला उद्योग कम्पाउन्डमै खुल्ला सुकाउँदा दुर्गन्ध फैलिने गरेको छ ।”
उद्योगबाट निस्कने दुर्गन्धले घरमा पाहुना आउन नमान्ने अर्का स्थानीय मोहम्मद सलमानले बताउनुभयो । प्रदूषण फैलाउने कारखाना बन्द गराउन माग गर्दै आन्दोलित स्थानीयले सम्बन्धित निकायहरुमा उजुरी दिएका छन् । दुहबी नगरपालिकाको न्यायिक समितिमा स्थानीयले दिएको उजुरीपछि उपप्रमुख सहितको टोलीले आज उद्योगको अनुगमन गरेको नगर उपप्रमुख मेनुका पोखरेल खतिवडाले बताउनुभयो । अनुगमनका क्रममा दुर्गन्धित रूपमा सञ्चालित उद्योग मापदण्ड विपरीत पाइएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “उद्योग लापरबाही किसिमले सञ्चालनमा रहेछ । दुर्गन्ध फैलिएर स्थानीय आजित बनेकाले कारबाही गर्नुको विकल्प छैन ।” उद्योगमा ताला लगाउने अधिकार स्थानीय तहलाई नभएकाले माथिल्लो निकायमा समन्वय गर्ने उहाँको भनाइ छ । अनुगमनका क्रममा उद्योग सञ्चालकलाई भेट्न नसकिएको र अहिलेसम्म सम्पर्कमा नआएको उहाँले बताउनुभयो ।
उद्योगको कागजपत्र समेत चुस्त दुरुस्त नराखिएको तथा नवीकरण र कर समेत नतिरेकाले सञ्चालकलाई कार्यालयमा आउन निर्देशन दिएको उपप्रमुख खतिवडाले बताउनुभयो । २० वर्षदेखि सञ्चालनमा रहेका ती उद्योग बीचमा बन्द हँुदै फेरि सञ्चालनमा ल्याउने गरेको सुनसरी दुहबी–६ का वडाअध्यक्ष घनश्याम हलुवाईले बताउनुभयो । विगतमा पनि मापदण्डविपरीत सञ्चालन गरेकाले ती उद्योगलाई जरिवाना गरिएको थियो ।
हिरोसिमामा बम आक्रमणको ७९औँ वर्ष पुरा
टोकियो, २२ साउन (रासस / एएफपी):जापानको हिरोसिमा सहरमा भएको परमाणु बम आक्रमणको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजित सम्मेलनमा युक्रेन र गाजामा भएको युद्धले विश्वव्यापी रूपमा डर र अविश्वासलाई गहिरो बनाएको हिरोसिमाका मेयरले मङ्गलबार बताउनुभएको छ ।
काजुमी मात्सुईले सन् १९४५ अगस्ट ६ मा जापानी सहर हिरोसिमामा लगभग १ लाख ४० हजाको ज्यान जाने गरी भएको अमेरिकी परमाणु बम आक्रमण पीडितहरूको सम्झनामा आयोजित स्मृति कार्यक्रममा शोकपूर्ण भाषण दिनुभएको हो ।
“युक्रेनमा रुसको आक्रमण र इजरायल र प्यालेस्टाइनबिचको बिग्रँदै गएको अवस्थाले अनगिन्ती निर्दोष मानिसहरूको ज्यान लिइरहेको छ र सामान्य मानिसको जीवनलाई ध्वस्त पारेको छ”, उहाँले भन्नुभयो ।
“यी विश्वव्यापी त्रासदीले राष्ट्रहरूबिच अविश्वास र डरलाई गहिरो बनाइरहेका छन्, जसले अन्तर्राष्ट्रिय समस्या समाधान गर्न हामी सैन्य शक्तिमा भर पर्नुपर्छ भन्ने धारणालाई बलियो बनाउँछ ।”
सन् १९४५ मा हिरोसिमामा आक्रमण गरेको केही दिनपछि अमेरिकीले दक्षिणपश्चिम जापानको नागासाकीमा दोस्रो परमाणु बम प्रहार गरेको थियो जसमा करिब ७४ हजार मानिसहरुको ज्यान गएको थियो ।
यी दुई बम आक्रमणपछि दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो । युद्धमा परमाणु बम प्रयोग गरिएको यो पहिलो घटना हो ।
मङ्गलबार आयोजित समारोहमा प्रधानमन्त्री फुमियो किशिदासहित अन्य व्यक्तीहरुले पीडितको सम्झनामा हिरोसिमा स्मारकमा रहेको शिलालेखमा माल्यार्पण गर्नुभयो ।
युक्रेन सङ्कटका कारण लगातार तेस्रो वर्ष रुस र बेलारुसलाई समारोहमा आमन्त्रित गरिएको थिएन ।
प्यालेस्टिनी लडाकु समूह हमासले देशमा गरेको आक्रमणपछि गत वर्ष इजरायलले गाजामा सैन्य आक्रमण सुरु गरेपछि यो जापानी सहरमा आयोजित पहिलो शान्ति स्मारक हो ।
समारोहमा सधैँजसो इजरायली राजदूतको उपस्थिति थियो तर हिरोशिमाले प्यालेस्टिनी प्रतिनिधिलाई आमन्त्रित नगरेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
सहरका एक अधिकारीले बताएअनुसार हिरोशिमाले इजरायललाई दिएको निमन्त्रणा पत्रमा “सकेसम्म चाँडो युद्धविराम र वार्ताको माध्यमबाट समाधान” को आह्वान गरेको थियो ।
डेङ्गीबाट एकको मृत्यु, ३० जनामा हैजा पुष्टि
काठमाडौँ, २२ साउनः देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेङ्गीबाट एकजनाको मृत्यु भएको आज जनाएको हो ।
गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जनाबाट सङ्क्रमित छन् । डेङ्गी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । कोशी प्रदेशमा पाँच सय ३७, मधेसमा ४६, बागमतीमा सात सय ४७, गण्डकीमा पाँच सय आठ, लुम्बिनीमा दुई सय ४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा दुई सय ४२ जना सङ्क्रमित भएका हुन् । काठमाडौँ उपत्यकामा दुई सय ८७, कास्कीमा एक सय ३७, झापामा एक सय ३३, चितवनमा एक सय १६ र तनहुँमा एक सय १० जना सङ्क्रमित छन् ।
त्यसैगरी, हैजा सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । देशभर ३० जनामा हैजा पुष्टि भएको इडिसिडीले जनाएको हो । हालसम्म हैजाबाट कसैको पनि मृत्यु भएको छैन ।
आज देशभर वर्षा हुने
काठमाडौँ, २२ साउनः हाल देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाउँदै ती स्थानमा सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।
विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहने तथा सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सबै प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै सबै प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ । साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्र्यान बहाव, बाढी र पहिरोको क्षतिबाट जोगिन विभागले आग्रह गरेको छ ।
‘गाउँको शिरमा भिर छ, त्यही भिर कतिबेला खस्ने हो राम्चेगाउँवासीलाई पिर छ’
विष्णुप्रसाद गौडेल
मध्यविन्दु (नवलपरासी), २२ साउनः बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा बस्दै आउनुभएका ८० वर्षीय जयबहादुर चितौरेलाई पछिल्लो समय पहिरोले गाउँ नै लैजाने हो कि भन्ने चिन्ताले सताउने गरेको छ । बाजेको पालादेखि राम्चेगाउँमा बस्दै आउनुभएका उहाँलाई बर्सेनि पहिरोले बस्ती क्षेत्रको जमिन कटान गर्दै लगेकाले कुनै दिन गाउँ नै पहिरोले निल्ने हो कि भन्ने त्रासले रात कटाउन मुस्किल पर्ने गरेको छ ।
“गाउँको शिरमा भिर छ । त्यही भिर कतिबेला खस्ने हो भन्ने सधैँभरिको पिर छ । पानी पर्यो कि त बस्ती बगाउने हो कि भन्ने चिन्ताले रातमा निद्रा नै पर्दैन”, उहाँले भन्नुभयो । हुप्सेकोट गाउँपालिका–५ को राम्चेगाउँको सिरानमा राम्चेभिर छ । केरुङ्गेखोलाको मुहानमा रहेको राम्चेको पहिरोले जयबहादुर चितौरे मात्र होइन राम्चेगाउँका ३५ घरपरिवार बर्खा लागेसँगै पहिरोका डरमा बस्न बाध्य भएका छन् । हुप्सेकोट गाउँपालिका वडा नं ५ को राम्चेगाउँ पहिरोको उच्च जोखिममा छ । गाउँ नजिकै बर्सेनि सानाठूला पहिरो जान थालेपछि डाँडो नै खस्ने खतरा बढ्दै गएको स्थानीयहरू बताउँछन् ।
राष्ट्रिय पहिरो भनेर चिनिने राम्चे पहिरो विसं २०३८ मा काउले बस्ती नै विस्थापित हुनेगरी गएका कारण अहिले पनि सो क्षेत्रका अन्य बस्ती पहिरोको जोखिममा पर्दै आएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदम रानाले बताउनुभयो । “पहिरोका कारण कच्ची सडक पनि भत्किराख्ने र जमिनमा धाँजा फाट्ने गरेको छ । बर्खामा मात्र होइन, हिउँदमा पनि सुक्खा पहिरोले सताउने गरेको छ”, उहाँले भन्नुभयो, “राम्चेवासी बर्खामा मात्र होइन, अन्य समयमा पनि रातदिन त्रासमा बाँच्नुपरेको छ ।”
पहिरोको त्रासले सक्ने जतिले गाउँ नै छाडेर अन्यत्र बसाइँ सरेका छन् । तर आयस्तर कम भएका धेरैले आफ्नो जीवन जोखिममा राख्दै यही पहिरो हेर्दै दैनिकी कटाइरहेका छन् । बाजेबराजुको पालादेखि सोही ठाउँमा बसोबास गर्दै आएका स्थानीयवासीले सरकारले सुरक्षित स्थानमा बस्ती सारिदिने आशा भने मारेका छैनन् ।
स्थानीय आसबहादुर चितौरेमगरका अनुसार, “सुक्खा पहिरोसमेत गएर गाउँको नजिकै धेरै धाँजा फाटेको छ । ठूलो पहिरोले कतिबेला गाउँ नै सोहोरेर लैजान्छ भन्ने डर र त्रासमा स्थानीय बासिन्दाले दैनिकी कटाइरहेका छन् ।” पहिरोकै कारण एकपछि अर्को संरचनासँगै गाउँ नै सखाप पार्ने पहिरो नियन्त्रण गर्न माग गर्दा पनि कसैले नसुनेको स्थानीयको भनाइ छ । पहिरो रोक्न केही बजेटसहित तारजालीको काम हुने गरे पनि त्यो प्रभावकारी बन्न नसकेको स्थानीय हरि मगरले बताउनुभयो ।
“पहिरो रोक्नै नसक्ने खालको छ, बजेटमात्र सकिने भएकाले पनि हामीलाई अन्तै सारिदिनुपर्यो”, उहाँले भन्नुभयो, “पहिरो रोक्नका लागि सरोकारवालालाई भनेको वर्षौँ भयो तर कतैबाट पनि सुनुवाइ भएन ।”हुप्सेकोट गाउँपालिकाले पहिरोको जोखिम रहेको राम्चेगाउँलाई रुद्रपुरगढी धौवादीमा स्थानान्तरण गर्ने योजना बनाएको थियो । विसं २०७६ भदौमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई ल्याएर गाउँपालिले बस्ती सार्न धौवादी एकीकृत नमूना बस्ती योजनाको शिलान्याससमेत गरिएको थियो । तर त्यो योजना शिलान्यास भएको पाँच वर्ष हुँदा पनि सुरु हुनसकेको छैन ।
राम्चेगाउँका पहिरो जोखिम घरपरिवारलाई स्थानान्तरणको योजना बनाएको भए पनि बस्ती स्थानान्तरण गर्न स्थानीयले नमानेका कारण योजना अलपत्र परेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । सोही वडाको अर्को गाउँमा राम्चे क्षेत्रका घरपरिवारलाई स्थानान्तरण गर्ने प्रयास गरिए पनि अहिले अलपत्र परेको अध्यक्ष पाण्डेले बताउनुभयो ।
एकगाग्री पानी लिन घण्टौँसम्म उकालो/ओरालो गर्नुपर्ने बाध्यता हट्यो
फिक्कल (इलाम), २२ साउनः इलाम माङसेबुङ गाउँपालिका–६ माङमालुङ बजारकी वसन्ता राईको दिनचर्या फेरिएको छ । वर्षौँदेखि बिहानको समय गाग्रीमा पानी बोक्दैमा बिताउँदै आउनुभएकी उहाँको घरैमा खानेपानी धारा जडान भएपछि उहाँको दिनचर्या फेरिएको हो । उहाँले भन्नुभयो, “पानी बोक्ने बिहानको समय घरायसी अन्य काममा लगाउन थालेको छु ।”
डेढ घण्टा उकालो बाटो गाग्रीबाट बोकेको पानीको भरमा गुजारा चलाउँदै आउनुभएको वसन्तासहित माङमालुङ बजार र आसपासका एक सय ७१ घरपरिवारले त्यो बाध्यताबाट मुक्ति पाएका छन् । सङ्घीय सरकारको विशेष अनुदानअन्तर्गत रु एक करोड ६६ लाख ६६ हजार एक सय ५३ को लागतमा बृहत् खानेपानी आयोजना निर्माण भएपछि खानेपानीको लागि घण्टौँसम्म उकालो/ओरालो गर्नुपर्ने वर्षौँदेखिको बाध्यता हटेको हो ।
माङसेबुङ गाउँपालिका–२ र ६ वडावासीका लागि ‘लिफ्ट’ प्रविधिबाट ‘मिक्लाजुङ खानेपानी आयोजना (चित्रेखोला मुहान)’ निर्माण सम्पन्न भएको छ । मुख्य प्रसारण लाइनको विद्युत् प्रयोग गरेर चित्रेखोला मुहानअन्तर्गत गढेरे खोल्सी मुहानबाट एक हजार दुई सय मिटर टाढा पानी तानेर घरघरमा मिटरसहित धारा जडान गरी वितरण गरिएको छ । आयोजनाबाट वडा नं २ का चित्रे, डोलटार, भोटेडाँडा र वडा नं ६ का माङमालुङ बजार, नागीगाउँ, छेउनागलगायत गाउँका एक सय ७१ घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।
आयोजना निर्माण भएसँगै खानेपानीका लागि सदियौँदेखि सास्ती खेप्नुपरेको त्यस क्षेत्रका बासिन्दा काकाकुलबाट मुक्त भएका छन् । सदियौँदेखिको खानेपानी समस्या तोड्दै घरघरमा बनाइएका धाराबाट पानी आउन थालेपछि त्यस क्षेत्रका बासिन्दामा खुसीको सीमा छैन । आदिवासी राई जातिको एकल बाहुल्य रहेको त्यस क्षेत्रका बासिन्दाले पानी शुद्ध पिउने पानी पाएपछि हर्षित भएका छन् ।
रु दुई करोड ५९ हजारको लागत अनुमान रहेकामा बिएनके महालक्ष्मी जेभी धनकुटाले रु एक करोड ६६ लाख ६६ हजार एक सय ५३ मा ठेक्का पारेको थियो । आयोजनाअन्तर्गत मुहानबाट दुई मिटर दूरीमा ७५ घनमिटर क्षमताको कलेक्सन ट््यााङ्की निर्माण गरिएको । कलेक्सन ट्याङ्कीबाट एक किलोमिटर दूरीमा एक लाख लिटर क्षमताको रिजर्भ ट्याङ्कीमा पुर्याएर पानी वितरण गरिएको माङसेबुङ गाउँपालिकाका इन्जिनिर युवराज दाहालले बताउनुभयो । रिजर्भ ट्याङ्कीबाट साढे आठ हजार मिटर एचडीपीइ पाइप (पोलिथिन पाइप) विस्तार गरी घरघरमा खानेपानी वितरण गरिएको उहाँले बताउनुभयो ।
“लिफ्ट प्रविधिबाट सञ्चालन गरिएको आयोजनाबाट प्रतिसेकेण्ड पाँच लिटर पानी आउँछ, यो गाउँवासीका लागि पर्याप्त हुन्छ”, इन्जिनियर दाहालले भन्नुभयो, “त्यसका लागि मुख्य प्रसारण लाइनबाट ११ हजार भोल्टको करेन्ट प्रवाह हुनेगरी विद्युत् लाइन जडान गरिएको छ, आयोजनाका लागि छुट्टै ५० केभीए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ ।”
वर्षौैैँदेखिको खानेपानीको समस्या भोग्दै आएका स्थानीयले घरघरमा खानेपानी आएपछि नयाँ जीवन पाएको बताएका छन् । जन्मेदेखि नै खानेपानीको सास्ती भोग्दै आएकी स्थानीय कमलकुमारी राईले घरघरमा पानी आउँदा निकै खुसी लागेको बतुनभयो । “खानेपानीका लागि बिहानभरि पर्खेर कुवाको दूषित पानी खान बाध्य थियौँ, हिउँदमा त त्यो पनि सुक्खा हुन्थ्यो”, उहाँले भन्नुभयो, “वर्षौँदेखि भोग्दै आएको त्यो समस्या अहिले अन्त्य भएको छ, हामी सुखी छौँ ।”
खानेपानी आयोजना सञ्चालन भएपछि पिउनका लागि मात्र होइन, शौचालय जान, नुहाइधुवाइ गर्न, लुगाकपडा धुन तथा वस्तुभाउलाई खुवाउने समस्या समाधान भएको स्थानीय सुनिता राईले बताउनुभयो । घरघरमा शुद्ध खानेपानी पुगेपछि अहिले गाउँवासी सबै हर्षित भएको उहाँले बताउनुभयो ।
उक्त क्षेत्रमा स्थानीयले सदियौँदेखि खानेपानीको चरम समस्या भोग्दै आएका थिए । आर्थिक वर्ष २०६७/६८ मा मावाखोलाको शिर खालेधाराबाट अस्थायी खानेपानीको व्यवस्थापन गरेको भए पनि हिउँदमा मुहान सुक्ने कारणले समस्या ज्यूँकात्यूँ थियो । तर विद्युतीय माध्यमबाट ‘पम्पिङ’ गरी खानेपानी आयोजना सञ्चालन भएपछि समस्या सधैँका लागि अन्त्य भएको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताउनुभयो ।
“पहिलो चरणमा एक सय ७१ घरपरिवारका लागि खानेपानी आयोजना सम्पन्न गरिएको छ, यहाँबाट धेरैका खानेपानीको समस्या समाधान भएको छ”, उहाँले भन्नुभयो, “अर्को चरणमा अन्य बस्तीका लागि रु तीन करोडको यस्तै आयोजना सञ्चालन गरिनेछ, त्यसका लागि पहल भइरहेको छ ।” आयोजन सञ्चालन भएको क्षेत्र समुद्री सतहबाट दुई हजार मिटर उचाइमा अवस्थित छ ।
प्रदेश सरकारद्वारा इर्खुवाखोला बाढीका मृतक परिवार राहत वितरण
भोजपुर, २२ साउनः कोशी प्रदेश सरकारले इर्खुवाखोला बाढीबाट मृत्यु भएका मृतक परिवारलाई राहत वितरण गरेको छ । यही साउन १६ गते आएको बाढीले मृत्यु भएका दुई परिवार र बाढीपीडितलाई राहत वितरण गरेको हो ।
बाढीले बगाउँदा इर्खुवाखोला जलविद्युत आयोजनामा काम गर्ने मजदुर श्यामकुमार थारू र रमेश थारूको मृत्यु भएको थियो । प्रदेश सरकारको तर्फबाट तत्काललाई मृतक परिवारलाई रु एक–एक लाख हस्तान्तरण गरिएको हो । त्यस्तै बाढीपीडित पाँच परिवारलाई चालम, दाल, तेल, नुन, कम्बल र त्रिपाल वितरण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री सिर्जना राईले जानकारी दिनुभयो । यहाँका षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका पीडित परिवारको पूर्ण विवरण आएपछि थप राहत वितरण गरिने उहाँको भनाइ छ । “प्रदेश सरकारको तर्फबाट घटनास्थलको स्थलगत रूपमा अनुगमन गरेर पीडितलाई राहत वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “बाढीका कारण मानवीयसँगै निकै ठूलो भौतिक क्षति भएको छ । तत्कालीन रूपमा मृतक परिवार र अन्य पाँच परिवारलाई राहत वितरण गरेका छौँ । थप क्षतिको विवरण आएपछि अन्य परिवारलाई पनि वितरण गछौँ ।”
आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लव अधिकारीसहितको टोलीले साल्पासिलिछो गाउँपालिकाको फेदी भन्ने स्थानसम्म पुगेर बाढीले पुर्याएको क्षतिको विषयमा जानकारी लिएको हो । कोशी प्रदेश सरकारले यथाशीघ्र क्षतिको पूर्ण विवरण मन्त्रालयमा पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
बाढीबाट क्षतिग्रस्थ झोलुङ्गे पुल र मोटरेबल पुल पुनःनिर्माण, मर्मत तथा संरक्षणका लागि तत्काल आवश्यक पक्रिया अघि बढाउने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभयो । प्रदेश सरकारले पीडित परिवारलाई सहज रूपमा घरदैलोमा पुगेर राहत वितरणका लागि मन्त्रिपरिषद्बाट निर्णय गरेर काम अघि बढाएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।
बढीबाट क्षति पुगेका पुलहरूको पुनःनिर्माण तथा मर्मत गरी चाँडो जनतालाई सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको उहाँले बताउनुभयो । थुम्लुङखोलाबाट सुरु भएको इर्खुवाखोला बाढीले निर्माणाधीन नागदह पक्की पुल, निर्माणको अन्तिम चरणमा पुगेको तामुटार पक्की पुल, गौडेनी पक्की पुल, टावुटार झोलुङ्गे पुल, गोथेबजार झोलुङ्गे पुल, नागदह झोलुङ्गे पुल, दोभाने झोलुङ्गे पुल र वागवालुङ झोलुङ्गे पुलमा क्षति पुगेको साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिनुभयो । त्यस्तै बाढीले इर्खुवाखोला जलविद्युत आयोजनामा पूर्ण क्षति पुगेको उहाँको भनाइ छ । त्योसँगै अन्य तीनवटा हाइड्रोपावर र खोला किनारका बस्तीमा क्षति पुगेको अध्यक्ष कुलुङले बताउनुभयो ।
ताप्लेजुङ पर्यटन महोत्सवको आयव्यय सार्वजनिक
ताप्लेजुङ, २१ साउन : गएको जेठ ३ देखि ७ गतेसम्म ताप्लेजुङमा सञ्चालित ताप्लेजुङ पर्यटन महोत्सवको आज आयव्यय सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सव आयोजक समितिले महोत्सवमा रु ४९ लाख २७ हजार चार सय खर्च भएको जनाइको छ ।
समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले मेयर कप पुरुष भलिबल र नेपाल घरेलु तथा साना उद्योग महासङ्घबाहेकको खर्च सार्वजनिक गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “भलिबल र औद्योगिक कृषि तथा पर्यटन मेलाको आयव्ययको अधिकार नगरपालिका र महासङ्घले नै गरेकाले त्यसबाहेक सबै कार्यक्रम मूल आयोजक समितिले गरेको थियो । सोहीअनुसार विवरण सार्वजनिक गरिएको छ ।”
पुरुष तथा महिला हाफ म्याराथन पुरस्कारमा मात्र रु पाँच लाख ४६ हजार छ सय ६७, म्याराथन व्यवस्थापनतर्फ रु दुई लाख ५० हजार दुई सय ६८ खर्च भएको आयोजकले जनाएको छ । परियोजना प्रस्ताव, चिठी, मायाको चिनो, प्रमाण पत्र तथा छपाइमा रु दुई लाख ७६ हजार आठ सय ८९ र मञ्च व्यवस्थापन र साउण्ड सिस्टममा रु १० लाख १५ हजार आठ सय ७० खर्च भएको त्यस अवसरमा जानकारी दिइयो ।
यसैगरि सांस्कृतिक कार्यक्रमतर्फ कलाकार पारिश्रमिक, प्रस्तुति, यातायात र होटल बास खर्चवापत रु पाँच लाख ७० हजार दुई सय ४७ खर्च भएको थियो । स्टल व्यवस्थापन, खाद्य परिकार र कार्यक्रमस्थलको जग्गा भाडातर्फ रु दुई लाख १८ हजार नौ सय ८५, डिजाइन तथा फेलेक्स प्रिन्टमा रु एक लाख ८४ हजार छ सय ७६ खर्च भएको थियो । साइकिलिङ व्यवस्थापनतर्फ सान्त्वनासहित रु १ लाख २६ हजार ४ सय ५० रुपैयाँ खर्च भएको थियो ।
स्वागतद्वार निर्माण रु एक लाख १५ हजार दुई सय ६०, मठमन्दिर तथा माङ्हिममा पूजाका लागि रु एक लाख दुई हजार चार सय ४५ र छायाङ्कन तथा फोटो प्रदर्शनीमा रु एक लाख छ हजार खर्च गरेको आयोजकले जनाएको छ ।
अतिथि स्वागत तथा सत्कारतर्फ रु एक लाख ८२ हजार ९५, खाना, खाजा, चिया तथा छलफलमा रु एक लाख ५३ हजार तीन सय ५५, महोत्सव प्रचारप्रसारमा रु ९९ हजार सात सय २० खर्च भएको छ । यातायात व्यवस्थापनमा रु ८५ हजार तीन सय ३६, डोको क्यारी रनतर्फ सान्त्वनासहित रु ७९ हजार दुई सय ७५, अन्तर गाउँपालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा रु ५७ हजार र झाँकी व्यवस्थापनमा ४५ हजार पाँच सय खर्च भएको छ ।
औद्योगिक तथा कृषि प्रदर्शनीमा ३९ हजार नौ सय, पर्यटकीय क्षेत्र भ्रमण तथा अवलोकनमा रु २७ हजार नौ सय, स्वयंसेवक परिचालन र कामदारतर्फ रु ४१ हजार छ सय ७५, साहित्य कार्यक्रमतर्फ रु १८ हजार पाँच सय ५०, चौरी प्रदर्शनमा १० हजार खर्च, सरसफाइ व्यवस्थापनमा रु सात हजार चार सय २० र पुरस्कार व्यवस्थापनतर्फ रु तीन हजार दुई सय ७५ खर्च भएको छ ।
यसैगरी महोत्सवमा सहयोग गर्नेको विवरणसमेत सार्वजनिक गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले रु १९ लाख ७० हजार, पाथीभरा केबलकार प्रालिले रु १० लाख, फुङलिङ नगरपालिका रु छ लाख, स्पार्क हाइड्रोपावर कम्पनीले रु तीन लाख, जिल्लास्थित निर्माणाधिन हाइड्रोपावर कम्पनीबाट रु पाँच लाख, सानिमा मिडिल तमोर, पाथीभरा देवीमन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समिति र मिक्वाखोला गाउँपालिकाबाट रु एक÷एक लाख, ताप्लेजुङ भेनियर सङ्घले ९० हजार, गोर्खा ब्रुअरी प्रालि रु ५० हजार, धावक इन्ट्री फिबाट रु ३२ हजार पाँच सय र सिद्धार्थ बैंकले रु आठ हजार पाँच सय प्रदान गरेका समन्वय समिति प्रमुख लामाले जानकारी दिनुभयो ।
महोत्सवमा मेयरकप भलिबलका लागि नगरपालिकाले रु २० लाख र अन्य कार्यका लागि नेपाल घरेलु तथा साना उद्योग महासङ्घले रु नौ लाख ५७ हजार खर्च गरेको पनि उहाँले बताउनुभयो ।