शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J49V5ASHSWCM8V8V861JXRS4.jpg

अलैँचीका बोट मासिँदै, मूल्य वृद्धि हुँदै

मङ्गलबारे (इलाम), १८ साउन : जिल्लामा पछिल्लो समय अलैँचीको मूल्य वृद्धि भए पनि बोट मासिँदै जान थालेका छन् । अलैँचीलाई फागुन–चैतमा पानी आवश्यक पर्नेमा समयमा वर्षा नहुँदा बोट मासिँदै जान थालेका हुन् ।   
 
गत वर्ष प्रतिमन (४० किलो) रु ८० हजारमा बिक्री भएको अलैँची यस वर्षको सुरुमा रु ८५ हजार प्रतिमन खरिदबिक्री भइरहेको छ । यस वर्ष अलैँचीको मूल्य बढे पनि उत्पादन घटेको किसान बताउँछन् । समयमा पानी नपरेकाले अलैँचीका बिरुवा मासिनाका साथै उत्पादनमा कमी आएको किसान हरि पोख्रेलले बताउनुभयो ।   
 
“अलैँचीलाई फागुन–चैतमा पानी आवश्यक पर्छ । त्यो समयमा पानी नपरेकाले बोट मासिएका छन् । पानी नपरेपछि पुराना उत्पादन दिने कतिपय स्थानका बोटसमेत मरेका छन्”, उहाँले भन्नुभयो । यसअघि प्रशस्त उत्पादन दिएका बोट यस वर्ष सुक्खाका कारण मरेका उहाँले बताउनुभयो । मूल्य बढी भएकै कारण अलैँचीलाई खोल्सीको कालो सुन भन्ने गरिन्छ । अलैँची टिप्ने ‘सिजन’ सुरु हुनै लाग्दा मूल्य राम्रो हुँदा किसान खुसी भए पनि उत्पादन घट्ने चिन्ता लागेको किसानको भनाइ छ ।   
 
समयमा पानी नपरेको, जुर्जुरे, स्याङ्लेलगायत रोगको सङ्क्रमणले बोट मासिँदै गएका अलैँची व्यवसायी महासङ्घले जनाएको छ । सुक्खायाम भएकाले अलैँचीका बोट सुक्दै गएर अहिले मासिन थालेका किसान बताउँछन् । मूल्य बढेपछि अहिले जिल्लाका विभिन्न स्थानमा नयाँ बिरुवा लगाउने काम भइरहेको महासङ्घले जनाएको छ । अलैँची विकास केन्द्र फिक्कलले बिरुवा उत्पादन गरी प्रतिबिरुवा रु पाँचका दरले बिक्री भइरहेको जनाएको छ । किसानले उत्पादन गरेका बिरुवा प्रतिगोटा रु १० मा बिक्री हुँदै आएको छ ।   
 
किसान पोख्रेलका अनुसार अलैँची लगाएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ । जिल्लामा रामसाई, गोल्साई, चिबे, सलकपुर, भार्लाङलगायत स्थानमा अलैँचीखेती हुन्छ । सलकपुर जातको अलैँची चाँडो र बढी उत्पादन हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको उहाँले बताउनुभयो । “अन्य जातका बिरुवा बढी समयसम्म टिक्ने हुन्छन् । सलकपुरको टिकाउ भने कम हुन्छ”, उहाँले भन्नुभयो ।   
 
वर्षामा सलकपुरको बिरुवा लगाइन्छ । अलैँचीको दलबाट र झाङ फुटाएर बिरुवा उत्पादन गरिन्छ । झाङ फुटाएर लगाइएको बिरुवाले दुई वर्षदेखि उत्पादन दिन्छ भने दलबाट लगाएको बिरुवाले चार वर्षदेखि उत्पादन दिन थाल्छ । नेपालको पूर्वी पहाडी क्षेत्र अलैँची उत्पादन गर्न उपयुक्त मानिन्छ । इलामसहित सङ्खुवासभा, पाँचथर, धनकुटा र भोजपुर अलैँची उत्पादनका लागि उर्भर भूमि मानिन्छ । अलैँची ४३ जिल्लाका १८ हजार पाँच सय हेक्टरमा खेती गरिएकामा यसको क्षेत्र विस्तार गरेर ५३ जिल्लामा पु¥याइएको अलैँची व्यवसायी महासङ्घले जनाएको छ ।   
 
नेपालका लागि अलैँचीको मुख्य बजार भारत हो । यसको खपत भारत, पाकिस्तान, बङ्गलादेशका साथै युरोपियन देशहरुमा हुने गरेको महासङ्घको भनाइ छ । हाल रु ८५ हजार प्रतिमनमा अलैँची खरिदबिक्री भइरहेको इलाम बजारका अलैँची व्यापारी प्रकाश अग्रवालले बताउनुभयो । यस वर्ष अलैँचीको मूल्य बढेर रु एक लाख नाघ्ने अनुमान गरिएको उहाँको भनाइ छ ।   
 
पूर्वी क्षेत्रमा उत्पादन भएको अलैँची झापाको कांकरभित्ता हुँदै बाहिर निकासा हुने गरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष ५० लाख १८ हजार तीन सय ३५ किलो अलैँची निर्यात हुँदा रु सात अर्ब ९४ करोड नौ लाख ६४ हजार बराबरको करोबार भएको थियो । आव २०७९÷८० मा रु आठ अर्ब २७ करोड ६८ लाख बराबरको ९९ लाख ९१ हजार एक सय ४९ किलो अलैँची निर्यात गरेको थियो ।  

प्रकाशित मितिः शुक्रबार, १८ साउन २०८१
https://jawaaf.com/storage/01J49HPVXNT1DYAF56AHP7GWF0.jpg

पाथीभरा क्षेत्र विकास समिति कोशी प्रदेशको मातहतमा

फुङ्लिङ (ताप्लेजुङ), १८ साउन : ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्र विकास समिति अब कोशी प्रदेश सरकार मातहत रहने भएको छ । यसअघिसम्म उक्त समिति सङ्घीय सरकार मातहतमा रहेको थियो । 

कोशी प्रदेश सरकारले पाथीभरा क्षेत्र विकास समिति गठन आदेश, २०८१ जारी गर्दै समितिलाई प्रदेश सरकारको संस्कृति र पुरातत्व मन्त्रालयअन्तर्गत राख्ने निर्णय गरेको हो । उक्त आदेश प्रदेश सरकार, मन्त्रिपरिषद्को २०८१ असार ३० गतेको बैठकले स्वीकृत गरेको हो । कोशी प्रदेश सरकारले जारी गरेको पाथीभरा क्षेत्र विकास समिति गठन आदेश, २०८१ अनुसार पाथीभरा क्षेत्रको चार किल्ला निर्धारण गरिएको छ । पूर्वमा सिरिजङ्ग गाउँपालिका–३ को हर्कटे डाँडादेखि फुङ्लिङ नगरपालिकाको वडा नं ११ फावाखोला सिम्बुसम्मको सम्पूर्ण भागलाई समितिभित्र राखिएको छ । 

यस्तै पश्चिममा फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम र वडा नं ४ तापेथोकको पाथीभरा मन्दिरबाट तीन किलोमिटर क्षेत्रभित्रको सम्पूर्ण क्षेत्रलाई पाथीभरा क्षेत्रमा राखिएको छ । त्यस्तै उत्तरमा फक्ताङ्लुङ गाउँपालिका–४ र सिरिजङ्गा गाउँपालिकाको वडा नं ३ र ६ को सीमा क्षेत्र यसमा समेटिएको छ । दक्षिणमा फुङ्लिङ नगरपालिका–१० फुरुम्बुको गडीडाँडा, वडा नं ९ को देउराली, वडा नं ६ को सुकेटार सानो पाथीभरा उत्तरको सम्पूर्ण क्षेत्र र पाथीभरा याङवरक गाउँपालिका–३ को दुधीले पश्चिम फुङ्लिङ नगरपालिकाको सीमाना समेटिएको छ । 

नयाँ गठन आदेशअनुसार, पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष प्रदेश सरकारको सिफारिसमा नियुक्त हुनेछ । यसअघि सङ्घीय संसद्का सदस्य समितिमा रहने प्रावधानलाई संशोधन गर्दै अब प्रदेशसभाका सदस्यहरू पाथीभरा क्षेत्र विकास समितिमा रहने व्यवस्था गरिएको छ ।

समितिमा प्रमुख जिल्ला अधिकारी, सम्बन्धित पालिकाका प्रमुख वा अध्यक्ष, तथा समाजसेवी, बुद्धिजीवी र प्रतिष्ठित व्यक्तिमध्येबाट तीन जना सदस्य रहने छन् । यी सदस्यहरूको नियुक्ति प्रदेश सरकारको सिफारिसमा चार वर्षका लागि हुनेछ ।

प्रकाशित मितिः शुक्रबार, १८ साउन २०८१
https://jawaaf.com/storage/01J49G4EWXZBJWQ9GB4GHWHJMA.jpg

काठमाडौँको एक गेष्ट हाउसमा दुई जना मृत अवस्थामा फेला

काठमाडौँ, १८ साउनः काठमाडौँ महानगरपालिका-९ शम्भुमार्गस्थित एक गेष्टहाउसमा एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बाजुरा त्रिवेणी नगरपालिका-४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी अन्दाजी १९/२० वर्षीया करिश्मा सार्की मृत अवस्थामा फेला परेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “उनीहरु यही साउन १५ गतेदेखि उक्त गेष्ट हाउसमा बस्दै आएको र आज दिउँसो १२ बजेसम्म खाना खानका लागि बोलाउँन जाँदा ढोका नखोलेपछि दिउँसो १ बजे प्रहरीलाई खबर गरिएको जानकारी प्राप्त भएको छ  ।” प्रहरीले गेष्टहाउसको ढोका खोली हेर्दा महिला घाटी काटिएको र पुरुष पङ्खामा डोरीले पासो लगाई झुन्डिएको अवस्थामा फेला पारेको थियो । 

घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ भने शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । 

प्रकाशित मितिः शुक्रबार, १८ साउन २०८१
https://jawaaf.com/storage/01J4965YFB0C2CF64DP7NXBDRY.jpg

‘माइतीघर’ सार्वजनिक

काठमाडौँ, १८ साउनः साउनः हिन्दू नारीको महान्पर्व हरितालिका तीजलाई लक्षित गर्दै गीतसङ्गीत बजारमा आइरहेको छ । केही वर्षयता तीजमा आउने गीत कला र संस्कृति दर्शाउनेभन्दा पनि भड्किलो भएको आरोप लागिरहेका सन्दर्भ तीजको परम्परागत मान्यतालाई बोकेर नयाँ गीत ‘माइतीघर’ सार्वजनिक गरिएको छ ।     
     
गायिका सीता परियारले गाउनुभएको गीतमा तीज नजिकिँदै गर्दा चेलीले महसुस गर्ने भावनालाई समेटिएको छ । “गीतमा माइतीसँग चेलीको माया र चाडसँग जोडिएको परम्परागत संस्कारलाई जोडिएको छ”, गायिका परियारले भन्नुभयो ।     
     
तीजसँग जोडिएको मौलिकता झल्किने यस गीतको शब्द र सङ्गीत पूर्ण परियारले तयार गर्नुभएको हो । गीतको सार्वजनिक श्रव्यदृश्यमा स्मारिका ढकालले अभिनय गर्नुभएको छ । उक्त श्रव्दृश्यमा तीजको हर्षोल्लासका साथै चेलीको वेदनालाई पनि प्रस्तुत गरिएको छ । श्रव्यदृश्यमा मुकेश नेपालीले नृत्य निर्देशन, अजय रेग्मीले छायाङ्कन, अमृत चापागाईंले सम्पादन र विशाल घिमिरेले निर्देशन गर्नुभएको छ ।     

प्रकाशित मितिः शुक्रबार, १८ साउन २०८१
https://jawaaf.com/storage/01J495ZVJ7YPE2DDKQZPGYDB9W.jpg

गुल्मीमा अरिङ्गालले टोकेर एक युवकको मृत्यु

गुल्मी, १८ साउन : गुल्मीमा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ । अरिङ्गालले टोकेर रुरुक्षेत्र गाउँपालिका‐२ यादुङका ३५ वर्षीय हरि कुँवरको आज मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार केसीका अनुसार बिहीबार राति घर नजिकै बारीको छेउमा सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा कुँवरलाई टोकेको हो । अरिङ्गालले टोकेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगिएको थियोे । उनको उपचारको क्रममा आज मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताउनुभयो । 

प्रकाशित मितिः शुक्रबार, १८ साउन २०८१
https://jawaaf.com/storage/01J495JTS4CKVZEYYAD838BBZX.jpg

गुरुदेव कामतको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने

गोदार (धनुषा), १८ साउन : शास्त्रीय सङ्गीतका साधक तथा गायक गुरुदेव कामतको निधनको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ । प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।     
      
मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले आज शोक वक्तव्य जारी गर्दै स्व कामतको निधनप्रति शोक तथा श्रद्धाञ्जली व्यक्त गर्न आइतबार मधेस प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने जानकारी दिनुभएको हो । कामतले शिक्षा, चेतना र संस्कार उन्नयनमा सङ्गीत विधालाई आजीवन अघि बढाएको वक्तव्यमा उल्लेख छ ।     
      
वक्तव्यमा मुख्यमन्त्री सिंहले अत्यन्त प्रभावशाली ढङ्गले गीतसङ्गीतका माध्यमबाट भावनात्मक, आध्यात्मिक, सामाजिक एवम् सांस्कृतिक विषयवस्तुलाई अभिव्यक्त गर्न सम्पूर्ण जीवन व्यतीत गर्नुभएका दिवङ्गत गुरुदेवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।     
      
स्व कामतले मनोरञ्जन र जीविकोपार्जनका लागि मात्र नभई अत्यन्त कठिन र सङ्घर्षपूर्ण साङ्गीतिक आरधना र उपासनाका यात्राबाट मुख्यमन्त्री सिंहले शास्त्रीय तथा सुगम सङ्गीत परम्परालाई थप सिर्जनात्मक बनाउनुभएको उल्लेख गर्नुभएको छ । स्व कामतले जीवनका कठोरतम् क्षणसँग लड्दै सङ्गीत क्षेत्रमा पु¥याउनुभएको योगदान सदैव स्मरणीय रहने वक्तव्यमा उल्लेख छ ।     
      
वक्तव्यमा भनिएको छ, ‘शास्त्रीय एवम् सुगम दुवै सङ्गीतसम्बद्ध जीवनमा नयाँ चेतना प्रदान गर्ने गुरुदेवजीले सङ्गीत शिक्षालाई नेपालमा नयाँ दिशा तथा आयाम दिनुभयो । उहाँको अतुल्य तथा विलक्षण प्रतिभाबाट धेरै सङ्ख्यामा सङ्गीताभ्यासीहरू सुरसाधनाका गहनतम् पक्षलाई सरलतम् ढङ्गले बुझ्न सक्षम भएका छन् ।’     
      
स्व कामतकै प्रेरणा र सामीप्यबाट सङ्गीत विधामा नयाँ पुस्ताका प्रतिनिधिहरू उत्सुक भएको अवस्था रहेको मुख्यमन्त्री सिंहले उल्लेख गर्नुभएको छ । एउटा आदर्श सङ्गीत अनुयायी, गुरु र साङ्गीतिक फाँटमा मानवीय मूल्यको निरुपण गर्ने संवेदनशील स्रस्टा÷साधकका रूपमा दिवङ्गत गुरुदेवजी नेपाली साङ्गीतिक आकासमा सधैँभरि चम्किलो नक्षत्र भएर सबैलाई प्रेरित एवम् प्रोत्साहित गरिरहने मुख्यमन्त्री सिँहले वक्तव्यमा भन्नुभएको छ । कामतको सिरहास्थित लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डामा बिहीबार निधन भएको थियो ।      

प्रकाशित मितिः शुक्रबार, १८ साउन २०८१
https://jawaaf.com/storage/01J4958F157FJ44BDWDK3H6DW6.jpg

राष्ट्रपतिद्वारा तीन राज्यमन्त्री नियुक्त

काठमाडौँ, १८ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम तीन राज्यमन्त्री नियुक्त गरी कार्यविभाजन तोक्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको मौजुदा मन्त्रिपरिषद्मा तीन राज्यमन्त्री थपिनुभएको हो । 

राष्ट्रपति कार्यालयका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्रीमा रुपा बिक र ऊर्जा, जलस्रोत र सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङ नियुक्त हुनुभएको छ । उहाँहरुको आजै शपथ हुनेछ । यो विस्तारसँगै वर्तमान मन्त्रिपरिषद्को सदस्य सङ्ख्या २५ पुगेको छ I

प्रकाशित मितिः शुक्रबार, १८ साउन २०८१
https://jawaaf.com/storage/01J49231E0K7N2K8J6509A6WH9.png

कक्षा १२ को नतिजा प्रकाशन

भक्तपुर, १८ साउनः राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आजै बसेको बोर्ड बैठकले आफ्नो वेबसाइटमार्फत नतिजा सार्वजनिक गरेको हो । 

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यस वर्ष कक्षा १२ मा ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको बताउनुभयोे । यस वर्षको नतिजामा गत वर्षको तुलनामा तीन प्रतिशत वृद्धि भएको उहाँले जानकारी दिनुभयो ।

बोर्डका अनुसार गत वैशाख १४ गतेदेखि सञ्चालन भई २६ गते सम्पन्न परीक्षामा नियमिततर्फ एक लाख ९३ हजार नौ सय ३३ छात्र र एक लाख ९६ हजार नौ सय १४ छात्रागरी कूल तीन लाख ९० हजार आठ सय ६८ परीक्षार्थी सहभागी थिए । त्यसमध्ये दुई लाख तीन हजार आठ सय ४७ विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । 

परीक्षामा तीन दशमलव ६१ देखि चार जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या नौ हजार पाँच सय ९१ रहेको छ । जसमा बागमती प्रदेशबाट छ हजार सात सय ५२ विद्यार्थी छन् । कर्णाली प्रदेशमा सबैभन्दा कम २४ जना विद्यार्थीले मात्रै उक्त जिपिए ल्याएका छन् । 

त्यसैगरी ४६ हजार आठ सय ९३ विद्यार्थीले तीन दशमलव २१ देखि तीन दशमलव ६० सम्म जिपिए र ७८ हजार ७५ विद्यार्थीले दुई दशमलव ८१ देखि तीन दशमलव २० सम्म जिपिए ल्याएका छन् । 

परीक्षामा एक लाख ८७ हजार २१ जना अनुत्तीर्ण अर्थात् ४७ दशमलव ०९ प्रतिशत विद्यार्थीको नतिजामा ननग्रेडिङ आएको छ । बोर्डका अनुसार पाँच हजार छ सय ३२ परीक्षार्थीले कुनै पनि विषयको परीक्षा दिएनन् भने एक सय दुई विद्यार्थीको परीक्षा रद्द गरिएको छ । 

ग्रेड वृद्धितर्फ विसं २०७८ र ०७९ का २८ दशमलव २६ प्रतिशत र विसं २०७६ र ०७७ का ६२ दशमलव ०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । 

यसअघि विसं २०७८ को नतिजामा ४६ दशमलव ०४ प्रतिशत र विसं २०७९ को नतिजामा ५१ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । 

बोर्डले लेटर ग्रेडिङ निर्देशिका–२०७८ अनुसार सञ्चालन गरेकोे परीक्षाको नतिजाअनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याएमा विद्यार्थीको नतिजा एनजी अर्थात अनुत्तीर्ण आउँछ । 

बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, ruselt.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np  मा लग इन गरी हेर्न सकिन्छ । त्यसैगरि एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइपगरी १६०० नम्बरमा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, १८ साउन २०८१
https://jawaaf.com/storage/01J48X13NF0SVAQRQBR2W00CWE.webp

फिलिपिन्समा चाइनाटाउनमा आगलागी हुँदा ११ जनाको मृत्यु

मनिला, फिलिपिन्स, १८ साउन : फिलिपिन्सको राजधानी मनिलाको चाइनाटाउनस्थित एक भवनमा शुक्रबार बिहान आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । 

मनिलाको बिनोन्डोमा बिहान लागेको आगो नियन्त्रणका लागि १४ वटा दमकल र अग्नि नियन्त्रकलाई दुई घण्टा लागेको मनिला नगरीय दमकल विभागले जनाएको छ । उद्धारकर्मीले पाँच तले भवनभित्र ११ जनाको शव फेला पारेको बताएका छन् । आगलागीको कारण र मृतकको पहिचान खुल्न सकेको छैन ।

मध्यान्हसम्म शवबाहन सडकमा लाइन लागेर बसेको देखिएको प्रत्यक्षदर्शी एएफपीका एक पत्रकारले जानकारी गराए । आगलागी भएको भवनको भुइँ तलामा पसलहरू र माथिल्लो तला आवासीय प्रयोगका लागि प्रयोग भएका थिए ।(रासस/एएफपी)    

प्रकाशित मितिः शुक्रबार, १८ साउन २०८१
https://jawaaf.com/storage/01J48VCWN281EF7GS41E7KWX96.jpg

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ, १८ साउन : सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तय गरिएको मूल्य अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय पुगेको छ । 

यही साउन २ गते सुनको मूल्य प्रतितोला रु एक लाख ४९ हजार आठ सय बराबर पुगेको थियो । यस आधारमा साउन २ गतेको तुलनामा आज रु एक सयले वृद्धि भएको हो । बिहीबार भने प्रतितोला रु एक लाख ४९ हजार चार सयमा कारोबार भएको थियो । 

त्यस्तै, चाँदीको मूल्य बिहीबार प्रतितोला रु एक हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक हजार सात सय ९५ निर्धारण भएको छ ।

प्रकाशित मितिः शुक्रबार, १८ साउन २०८१