मलंगवामा इन्जिनियरको गोली हानी हत्या, सीमा क्षेत्रमा सुरक्षा कडा
रौतहट । सर्लाहीको सदरमुकाम मलंगवामा आइतबार साँझ एक इन्जिनियरको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ । मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत ३६ वर्षीय इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या गरिएको हो ।
सिरहाको सुखीपुर नगरपालिका–६ घर भई मलंगवा–१० देबिटोलमा श्रीमतीसँगै डेरा गरी बस्ने यादवमाथि अज्ञात समूहले छातीमा गोली प्रहार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार प्रारम्भिक अनुसन्धानमा इन्जिनियर यादवलाई फोन गरेर डेरा बाहिर बोलाइएको र लगत्तै गोली प्रहार गरिएको देखिएको छ । गोली लागेर अचेत भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनाको कारण अझै खुल्न सकेको छैन । प्रहरीले शंकास्पद क्षेत्रमा ’सिल’ गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ । मृतकको शव अहिले प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी अपराधीको खोजी तीव्र बनाइएको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिएको र आवागमनमा अत्यन्त कडाइ गरिएको उनले जानकारी दिए । सदरमुकामको आवासीय क्षेत्रमै सरकारी कर्मचारीको हत्या भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
सिन्धुलीमा टाटासुमको ठक्करबाट एक बालकको मृत्यु, सडक अवरुद्ध
रामेछाप । सोलुबाट काठमाडौंतर्फ जाँदै गरेको टाटा सुमोले सिन्धुलीको गोलञ्जोर गाउँपालिका–३ लामसोतीस्थित मध्यपहाडी लोकमार्ग सडक खण्डमा आइतबार ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।
आइतबार दिउँसो सोलुखुम्बुबाट काठमाडौँतर्फ जाँदै गरेको ना. १ ज ४६२३ नम्बरको सुमोले पैदल यात्री बालकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।
उनलाई गोलञ्जोर अस्पतालमा उपचारको लागि पठाएकोमा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृतक गोलञ्जोर गाउँपालिका–२ निवासी ठाकुर बयलकोटीका करिब ९ वर्षीय छोरा अषिक बयलकोटी भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि आक्रोशित स्थानीयवासीले ग्वाल्टारस्थित मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका छन् । सडक अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ ।
दुर्घटनाको खबर पाए लगत्तै प्रहरी चौकी ग्वालटार र इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको कमान्डमा टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले सुमो र चालक दुवैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय खुर्कोटमा राखेको छ ।
प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण दुर्घटना भएको आशङ्का गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चालक सोलुखुम्बुको नेचसल्यान गाउँपालिका–२ का २७ वर्षीय गोपाल भुजेल भएको प्रहरीले जानकारी दिएको छ ।
टी–२० विश्वकप : नेपालको लगातार तेस्रो हार, एक खेल अगावै वेस्ट इन्डिज सुपर एटमा, नेपाल बाहिरियो
काठमाडौं । टी–२० विश्वकपमा नेपाल ९ विकेटले वेस्ट इन्डिजसँग पराजित भएको छ । भारत र श्रीलंकामा जारी टी–२० विश्वकप अन्तर्गत वेस्ट इन्डिज सुपर एटमा प्रवेश गरेको छ ।
आजको खेलमा नेपाललाई ९ विकेटले हराउँदै लगातार तीन जितसहित वेस्ट इन्डिजले समूह ‘सी’बाट ६ अंक जोड्दै एक खेल अगावै सुपर एटको टिकट पुगेको हो । यता, लगातार तीन हार ब्यहोरेको नेपाल भने एक खेल अगावै सुपर एट दौडबाट बाहिरिएको छ ।
नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा इटालीसँग १० विकेटको हार ब्यहोरेको थियो । वेस्ट इन्डिजले पहिलो खेलमा स्कटल्यान्डलाई ३५ रनले हराएको थियो भने इंग्ल्यान्डमाथि ३० रनको जित निकालेको थियो ।
१३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा ९ विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान शाइ होपले अर्धशतकीय इनिङ्स खेले । उनी ४४ बलमा ६१ रनसहति अविजित रहे । यस्तै, शिमरोन हेटमायर ४६ रनमा अविजित रहँदा ब्रान्डन किङले २२ रनको योगदान दिए ।
बलिङतर्फ नेपालको एकमात्र विकेट नन्दन यादवले लिए । त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन जोड्यो ।
दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेल्दै नेपालको लक्ष्य केही हदसम्म माथि उकासे । टी–२० विश्वकपमा उनी अर्धशतक बनाउने दोस्रो खेलाडी हुन्। यसअघि सुवास खकुरेलले २०१४ टी–२० विश्वकपमा अर्धशतक बनाएका थिए । दीपेन्द्र ४७ बलमा ५८ रन जोडेर आउट भए । यस्तै, सोमपाल कामी २६ रनमा अविजित रहे । लोकेश बमले १३, आसिफ शेखले ११, रोहित पौडेलले ५, आरिफ शेखले २, कुशल भुर्तेलले १ गुलशन झाले ११ रन जोडे । बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले चार तथा अकिल हुसेन, म्याथ्यु फोर्डे, समर जोसेफ र रोस्टन चेजले एक–एक विकेट लिए ।
किराँत राई यायोक्खा क्षेत्रीय कार्य समिति रियादको अध्यक्षमा सुजन सेर राई चयन
रियाद (साउदी अरब)। किराँत राई यायोक्खा क्षेत्रीय कार्य समिति रियादको नयाँ अध्यक्षमा सुजन सेर राई सर्वसम्मत रूपमा चयन हुनुभएको छ। गत फागुन १ गते शुक्रबार साउदी अरबको रियादस्थित होटल डिमोरा बथामा सम्पन्न समितिको नियमित बैठकले राईलाई नेतृत्वको जिम्मेवारी सुम्पिएको हो ।
निवर्तमान अध्यक्ष विज्ञान राईले व्यक्तिगत कारणले संस्थालाई समय दिन नसक्ने उल्लेख गर्दै आफ्नो पदबाट राजीनामा दिनुभएको थियो। बैठकले उक्त राजीनामा स्वीकृत गरेसँगै रिक्त रहेको अध्यक्ष पदमा सल्लाहकार समितिका सदस्य सुजन सेर राईलाई चयन गर्ने निर्णय गरेको हो ।
साथै उक्त बैठकले भोजपुरस्थित किराँत राई समुदायको सांस्कृतिक एवं ऐतिहासिक उद्गम स्थल 'साल्पा सिलिचुङ' मा भइरहेका विभिन्न निर्माण कार्यका लागि आर्थिक सहयोग गर्ने विषयमा समेत प्रारम्भिक छलफल गरेको छ । संस्थामा प्राप्त सहयोगको प्रस्तावमाथि विस्तृत छलफल गरी आगामी बैठकबाट ठोस निर्णय लिइने समितिले जनाएको छ ।
कार्यवाहक अध्यक्ष सुजता राईको अध्यक्षतामा बसेको उक्त बैठकमा संस्थाका संरक्षक राज कुमार राई (तोङ्मालुङ्ग) र प्रवास शाखा केन्द्रीय वरिष्ठ उपाध्यक्ष भोगेन्द्र चाम्लिङ राईको विशेष उपस्थिति रहेको थियो ।
बैठकमा सचिवद्वय जहान सिं राई र मनिष राई, कोषाध्यक्ष रोसन राई लगायत कार्यसमितिका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको उल्लेख्य सहभागिता थियो । बैठकको अन्त्यमा कार्यवाहक अध्यक्ष सुजता राईले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै समितिको अर्को बैठक आगामी मार्च ६ तारिख (शुक्रवार) बस्ने जानकारी दिनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीले रुकुम पूर्वमा ३१ औँ जनयुद्ध दिवस मनाउँदै
काठमाडौं । आज ३१ औँ जनयुद्ध दिवसका अवसरमा नेपाली कम्युनिष्ट पार्टीले रुकुम पूर्वमा विभिन्न कार्यक्रम आयोजना गर्दै दिवस मनाउँदै छ । जनयुद्धको सुरुआत भएको स्थल रुकुम पूर्वमा सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र स्थानीयबासीसँग संयुक्त रूपमा यो दिवस मनाउन नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार रुकुम पूर्व पुगेका छन् ।
वि.सं.२०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको जनयुद्ध दस वर्षसम्म चलेको थियो। जनयुद्धका प्रमुख नेता प्रचण्डले पहिलो पटक रुकुम पूर्वमा जनयुद्ध दिवस मनाउँदै लागेका हुन् । जनयुद्धको उपलब्धिमध्ये संघीयतापछि बनेको कान्छो जिल्लामध्ये रुकुम पूर्व एक हो। प्रचण्ड आफ्नो नेतृत्वको जनयुद्धको आधार इलाकाबाट समाजवादी क्रान्तिको सुरुवात गर्ने उदेश्यले रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका हुन् ।
भूमे गाउँपालिका–२, खाबाङ बगरमा आज आयोजना हुने जनयुद्ध दिवस कार्यक्रममा नेकपाका संयोजक प्रचण्डले सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । रुकुम पूर्वमा २ सय ५२ जना सहिद रहेका छन् ।
राजतन्त्रको अन्त्य र नयाँ जनवादी व्यवस्था कायम गर्ने उद्देश्यसहित तत्कालीन नेकपा (माओवादी) ले २०५२ फागुन १ गते जनयुद्धको सुरुआत गरेको थियो। रुकुमको आठबीसकोट प्रहरी चौकी, रोल्पाको होलरी प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी तथा गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंकमा आक्रमण गरी माओवादीले जनयुद्ध सुरु गरेको थियो।
जनयुद्ध अगाडि बढाउन तात्कालिन माओवादीले रुकुम पूर्व, रुकुम (पश्चिम र पूर्वी) र रोल्पालगायतका जिल्लालाई आधार इलाका बनाएको थियो।
वि.सं. २०५३ वैशाख २३ गते उपल्लो सेराको छेराबाङमा माओवादीले एम्बुस आक्रमण गर्दा एक प्रहरीको ज्यान गएको थियो। २०५४ माघ १६ गते क्यूबाङमा गरिएको एम्बुस आक्रमणमा माओवादीले नेपालमै पहिलो पटक थ्री नट थ्री राइफल कब्जा गरेको थियो।
वि.संं २०५६ असोज ५ गते महतमा रहेका प्रहरीमाथि आक्रमण गरी कब्जामा लिँदै प्रहरी नायब उपरीक्षक ठूले राईसहितका सुरक्षाकर्मीलाई नियन्त्रणमा लिइएको थियो। राई जनयुद्धका क्रममा माओवादी नियन्त्रणमा परेका उच्च प्रहरी अधिकारीमध्येका एक थिए। माओवादीले आफ्ना शीर्ष नेता देव गुरुङसँग राईको साटफेर गरेको थियो।
वि.सं.२०५७ चैतमा रुकुमकोट प्रहरी चौकीमा आक्रमण गरी पूर्ण रूपमा कब्जा गरिएको थियो। उक्त आक्रमणमा ३२ प्रहरी र ८ छापामगरसहित ४० जनाको ज्यान गएको थियो।
वि.सं.२०६१ माघमा रुकुमको लाबाङमा बसेको माओवादी पोलिटब्युरो बैठकले डा.बाबुराम भट्टराईलाई पार्टीबाट कारबाही गरेको थियो। २०६२ असोजमा रुकुमको चुनबाङमा बसेको तत्कालीन नेकपा (माओवादी)को केन्द्रीय समिति बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गर्दै शान्तिपूर्ण राजनीतिक यात्राको मार्ग तय गरेको थियो।
चुनबाङ बैठकको निर्णय कार्यान्वयनका क्रममा सात राजनीतिक दलबीच १२ बुँदे सहमति भएको थियो। उक्त सहमतिअनुसार जनयुद्ध र जनआन्दोलनको संयोजनबाट राजतन्त्रको अन्त्य भई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक प्रणाली स्थापना भएको हो।
आज जनयुद्ध दिवस मनाउनुअघि संयोजक प्रचण्डले छापामारले प्रहरी नायब उपरीक्षक ठूले राईलाई नियन्त्रणमा लिएको महत गाउँ र डा. बाबुराम भट्टराईलाई कारबाही गर्ने निर्णय गरिएको लाबाङ गाउँको भ्रमण गर्ने कार्यक्रम रहेको छ । ती गाउँमा उनले मतदाता भेटघाट गर्ने छन् भने प्रचण्ड आजै चुनबाङ पनि जाने कार्यक्रम रहेको छ ।
कोशी प्रदेशमा के सन्देश दिँदैछन् कुलमान ?
विराटनगर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ यतिबेला कोशी प्रदेशका विभिन्न जिल्लामा चुनावी अभियानमा सक्रिय छन्। बुधबार झापाबाट सुरु भएको उनको अभियान विर्तामोड, दमक, मोरङको पथरी, सुनसरीको धरान–इटहरी हुँदै विराटनगर आइपुगेको हो।
अभियानका क्रममा उनले पाँच वर्षभित्र देखिने परिणाम दिने राजनीतिक अभ्यास अघि सार्ने सन्देश दिएका छन्। ऊर्जा क्षेत्रमा हासिल गरेको अनुभवलाई राजनीतिक पूँजीका रूपमा प्रस्तुत गर्दै घिसिङले अब देशव्यापी रूपान्तरणको लक्ष्य राखेको बताएका छन्।
विराटनगरस्थित मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्ने क्रममा बिहीबार साँझ उनले सुशासन, उत्पादनमुखी अर्थतन्त्र र युवा रोजगारीलाई आफ्नो राजनीतिक एजेन्डाको केन्द्रमा राखेको स्पष्ट पारेँ। ऊर्जा क्षेत्रमा अँध्यारो हटायौं, अब राज्य सञ्चालनमा देखिएको अँध्यारो हटाउने समय आएको छ,’ उनले भने, पाँच वर्षलाई परिणाम दिने निर्णायक अवधि बनाउँछौँ।’
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच देशभर संयुक्त उम्मेदवारी भएको जानकारी दिँदै उनले मोरङ–६ मा २५ वर्षीय वसन्त बुढाथोकी उम्मेदवार रहेको उल्लेख गरे। युवा नेतृत्वलाई अघि सारेर परम्परागत राजनीतिक संस्कारलाई चुनौती दिने रणनीतिमा पार्टी रहेको उनको संकेत थियो।
घिसिङले भ्रष्टाचार, बेरोजगारी र घट्दो उत्पादनशीलतालाई देशका मुख्य समस्या औँल्याउँदै कडा नीतिगत सुधारमार्फत समाधान खोजीने बताए। उनले जेनजी पुस्ताको आकाङ्क्षा बोकेको शक्ति रूपमा पार्टीलाई प्रस्तुत गर्दै युवाहरूको सक्रिय सहभागिताबाट दीर्घकालीन परिवर्तन सम्भव हुने दाबी गरे। ऊर्जा, पूर्वाधार, औद्योगिक विकास र आर्थिक आत्मनिर्भरताका कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनले बताए।
कार्यक्रममा मोरङ–६ का उम्मेदवार वसन्त बुढाथोकीले वर्तमान राजनीतिक अवस्थाप्रति नागरिक निराश रहेको उल्लेख गर्दै आफूले सुशासन र रोजगारीको स्पष्ट खाका प्रस्तुत गरेको उनले बताए ।
कोशी प्रदेशका विभिन्न सहरमा पुगेर घिसिङले आफ्नो विगतको कार्यअनुभवलाई भविष्यको राजनीतिक योजनासँग जोड्ने प्रयास गरिरहेका छन्। पाँच वर्षभित्र देखिने परिवर्तनको प्रतिबद्धतासहित उनी मतदातामाझ पुगिरहेका छन्।
तामाकोसी दुर्घटनामा मृतकका परिवारलाई मन्थली नगरपालिकाद्वारा राहत, प्रशासनसँग सहमतिपछि पोष्टमार्टम सम्पन्न
रामेछाप । मन्थली नगरपालिका–६ स्थित तामाकोसी नदीमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई मन्थली नगरपालिकाले तत्काल राहतस्वरूप जनही २० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
राहत तथा क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका पीडितका आफन्तसँग स्थानीय प्रशासनले कानुनबमोजिम पाउने सुविधा उपलब्ध गराउने तथा थप सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि सहमति जुटेको हो । सहमतिपछि आज पोष्टमार्टम प्रक्रिया सम्पन्न गरी परिवारजनले शव बुझेका छन् ।
छलफलमा सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका नेताहरू तथा बस कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। । प्रशासनले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई न्याय दिलाउन आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ ।
मंगलबार काठमाडौंबाट रामेछाप हुँदै ओखलढुङ्गाको गाम्नाङतर्फ जाँदै गरेको नेपाल अरनिको यातायात सेवा प्रालिको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस तामाकोसी नदीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको धुलिखेल र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते भएका चालकलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
तामाकोशी बस दुर्घटनाका ३ जना अझै बेपत्ता, खोजीमा सहयोग गर्न प्रहरीको अपिल
रामेछाप । मन्थली नगरपालिका–६, बेनीघाटस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनाका तीन जना यात्रु अझै बेपत्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले उनीहरुको फोटोसहित हुलिया जारी गरी खोजतलास जारी राखेको जनाउँदै सर्वसाधारण तथा सम्बन्धित निकायसँग खोजी कार्यमा सहयोग गर्न अपिल गरेको छ ।
पारिवारिक स्रोतका अनुसार बेपत्ता हुनेहरुमा मन्थली नगरपालिका–२, पिल्ले बस्ने मृतक तारा तामाङका करिब ९ वर्षीय छोरा क्रिशन तामाङ, लिखु तामाकोशी गाउँपालिका–७, तिल्पुङ बस्ने रमिता तामाङका ८ वर्षीय छोरा रोनिश तामाङ र उमाकुण्ड गाउँपालिका–६, गुप्तेश्वर बस्ने २४ वर्षीय विशाल सुनुवार रहेका छन् । नदी क्षेत्रमा सुरक्षाकर्मी र स्थानीयवासीले संयुक्त रुपमा खोजी कार्य जारी राखे पनि हालसम्म उनीहरु फेला नपरेको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान करिब १०ः४० बजे दुर्घटना भएको थियो । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको यात्रुबाहक बस मन्थली नगरपालिका–६, बेनीघाटस्थित सडकबाट तामाकोशी नदीमा खस्दा दुर्घटना भएको हो ।
दुर्घटनापछि बसमा सवार चालकसहित २० जनालाई उद्धार गरी मन्थली अस्पताल पठाइएकोमा अस्पतालले १२ जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बालेनले तताए वीरगन्जको राजनीतिक तापाक्रम
वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले बुधबार दिउसो वीरगन्जमा भव्य ‘रोड शो’ गर्दै चुनावी माहोल तताएका छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मधेस प्रदेश केन्द्रित प्रचार अभियान सुरु गरेका बालेन सप्तरीपछि वीरगन्ज आइपुगेका हुन् ।
वीरगन्ज महानगरपालिकाको वडा नं.१५ प्रतिमा चोकबाट सुरु भएको उनको रोड शो भानु चोक, नगवा, इन्र्वा, इदगाह चोक हुँदै छपकैया, वीर्ता, आदर्शनगर, माइस्थान पार गर्दै अन्ततः घण्टाघर चोकमा पुगेर समापन भएको थियो ।
घण्टाघर क्षेत्रमा बालेनलाई स्वागत गर्न हजारौँको संख्यामा विशेषगरी जेनजी पुस्ताका युवायुवतीहरू उनी आइपुग्नुअघि नै भेला भएका थिए । बालेन त्यहाँ पुग्दा समर्थकहरूले ‘अबकी बार, बालेन सरकार’ र ‘जय घण्टी’ जस्ता नारा लगाउँदै उत्साहपूर्ण स्वागत गरे। शाहले गाडीबाटै हात हल्लाउँदै र पार्टीको चुनाव चिह्न घण्टी बजाउँदै समर्थकहरूलाई अभिवादन फर्काए ।
रोड शोमा रास्वपाबाट पर्साका चारै निर्वाचन क्षेत्रका उम्मेदवार पार्टिका नेताहरु बालेनसँगै एउटै गाडीमा सहभागी थिए । घण्टाघरबाट सुरु भएको अन्तिम चरणको यात्रा मुर्ली, पावरहाउस चोक र गण्डक चोक हुँदै बाराको जितपुर–सिमरा तर्फ प्रस्थान गरेको थियो ।
कालिकोटमा विरासत जोगाउने दाउमा कम्युनिष्ट पार्टी, ‘लालकिल्ला’ भत्काउने कसरतमा काँग्रेस
सुर्खेत । बहुलदलीय व्यवस्था पछि सुरुको एक निर्वाचन बाहेक कालिकोटमा काँग्रेसले चुनाव जित्न सकेको छैन । २०४८ सालमा भएको निर्वाचनमा नेपाली काँग्रेसबाट तिलकप्रसाद न्यौपानेले प्रतिनिधी सभा निर्वाचन जितेका थिए ।
त्यसपछि २०५१ र २०५६ सालमा भएको मध्यावधी निर्वाचन र आमनिर्वाचनमा नेकपाले आफ्नो जितको झण्डा पहराउन सफल भयो । साविक कर्णाली अञ्चलका पाँच वटै जिल्लामा चुनाव जितेपछि एमालेले ‘कर्णालीका पाँच जिल्ला, एमालेको लालकिल्ला’ भन्ने नारा बनायो ।
माओवादी द्धन्द्ध अन्त्य भई शान्ति प्रक्रियापछि २०६४ सालको संविधान सभा निर्वाचन पछि लगातार नेकपा माओवादी केन्द्रका उम्मेद्वारले जित्दै आएको कालिकोटमा आगामी फागुन २१ गतेको प्रतिनिधी सभा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरु कसरतमा लागि परेका छन् ।
नेपाली काँग्रेस झण्डै ३४ बर्ष पछि निर्वाचन परिणाम आफ्ना पक्षमा पार्न सक्ने दाउमा छ भने एमाले आफ्ना किल्ला फर्काउने कसरतमा लागेको छ ।
२०५१ सालको मध्यावधी निर्वाचनमा एमालेका यज्ञराज न्यौपाने र २०५६ सालको आम निर्वाचनमा एमालेकै प्रेमबहादुर सिंह कालिकोटबाट विजयी भएका थिए । २०६४ सालको संविधान सभा निर्वाचनमा तत्कालिन नेकपा माओवादीका खडकबहादुर विश्वकर्मा विजयी भएका थिए । १६ हजार ३८८ मतान्तरसहित २७ हजार ६२९ मत ल्याएर बिश्वकर्माले चुनाव जित्दा निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका हिक्मतबहादुर बिष्टले ११ हजार २४१ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा रहेका नेकपा एमालेका तुलराज बिष्टले नौ हजार २३८ मत ल्याएका थिए ।
दोस्रो संविधान सभा निर्वाचन २०७० साल यता, लगातार नेकपा मओवादीले कालिकोटमा जित निकाल्दै आएका छ । २०७० र २०७९ मा महेन्द्रबहादुर शाही र २०७४ मा दुर्गाबहादुर रावत कालिकोटबाट निर्वाचित भए । २०७० सालमा एक्लाएक्लै चुनाव लडेका तीन ठुला दलहरुबीच प्रतिष्पर्धा भयो । २०७० को निर्वाचनमा १२ हजार ८८ मतले माओवादीका महेन्द्र शाहीले चुनाव जित्दा एमालेका कुर्मराज शाहीले ११ हजार २२४ र तेस्रो भएका नेपाली काँग्रेसका भुपेन्द्रजंग शाहीले आठ हजार नौ सय ९७ मत ल्याएका थिए । यो नतिजाले नेकपा मओवादीसँग मत घट्दै गएको देखाएको छ भने तेस्रो भएको एमाले दोस्रो स्थानमा उक्लिएको छ ।
२०६४ मा दोस्रो भएका नेपाली काँग्रेस तेस्रो स्थानमा झरेको थियो । २०७४ मा नेकपा माओवादी र एमालेको गठबन्धन भएर प्रतिनिधी सभा माओवादीको भागमा परेपछि माओवादीका दुर्गाबहादुर रावतले २१ हजार ११२ मत ल्याएर निर्वाचित हुँदा नेपाली काँग्रेसका भुपेन्द्रजंग शाहीले १६ हजार ४०७ मत प्राप्त गरेका थिए ।
२०७९ सालको निर्वाचनमा एकीकृत समाजवादीसहित नेपाली काँग्रेस र माओवादीको गठबन्धन हुँदा पनि प्रतिनिधी सभा मओवादीले भाग पाउँदा महेन्द्र बहादुर शाहीले २३ हजार ७२७ मत ल्याएर विजयी हुँदा एमालेको नगेन्द्र शाही ‘नेश्नल’ले १६ हजार ७१८ मत ल्याएका थिए । अहिले तीन ठुला दल विना गठबन्धन चुनावमा होमिएका छन् । यो बेला सबै दलले आफ्नो पार्टी निर्वाचित हुने दावी गरेका छन् । लगातार चौथो पटक चुनाव लडेका महेन्द्र बहादुर शाहीलाई नेपाली काँग्रेसका हर्षबहादुर वम र एमालेका नगेन्द्र शाहीले चुनौती दिएका छन् ।
सांगठनिक रुपमा कमजोर मानिएको नेकपा माओवादीका खड्गबहादुर विश्वकर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादीको भोट काट्दा त्यसको फाइदा काँग्रेस र एमालेलाई हुनेछ । कालिकोटमा स्वतन्त्रसहित १० जना उम्मेदवार चुनावी प्रतिष्पर्धामना छन् । खड्कबहादुर विश्वकर्माको उम्मेदवारी, महेन्द्र शाहीको दादागिरीले पार्टीभित्र चुलिएको असन्तुष्टी र महेन्द्र शाही लगातारको उम्मेवारीले विवादित छवीका कारण माओवादीको रोजाईमा खड्कबहादुर विश्वकर्मा पर्ने आँकलन गरिएको छ ।
माओवादी पार्टीको कमजोर सांगठनिक आधारमा खड्कबहादुर बिश्वकर्मालाई नेकपाभित्रको असन्तुष्टिका भोटले मात्र चुनाव जित्न सहज देखिँदैन । नेकपाका भोट बिकले काटेको फाइदा एमाले र काँग्रेसलाई हुने छ । एमाले पृष्ठभुमीका प्रकाश न्यौपाने राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी उम्मेदवार बनेपछि एमालेका केही भोट रास्वपालाई जान सम्भावना पनि त्यत्तिकै छ । यद्यपी न्यौपानेले तीन हजार मतान्तरले आफुले चुनाव जित्ने दावी गरेका छन् ।
एमालेका नगेन्द्र शाही यस अघि दुई पटक प्रतिनिधी सभामा उम्मेद्वार बनी सकेकोले पछिल्लो समयमा उम्मेदवारको नयाँ अनुहार र सांगठनिक आधारमा काँँग्रेसलाई चुनाव जित्न तुलनात्मक रुपमा सहज हुनेछ ।