सोमबार, ०८ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KHXFY9EB3VKFZW0AP70RS6XD.jpg

४१ वटा दलद्वारा आयोगमा घोषणा पत्र पेस, बैंक खाता खोल्नेक्रम जारी

काठमाडौँ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि हालसम्म ८६७ उम्मेदवारले निर्वाचन खाता खोलेको छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोगकी सहायक प्रवक्ता सीता पुनले हालसम्म सात दलका ८६७ उम्मेद्वारले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोलेको जानकारी दिएकी हुन् ।

उनले भनिन्,‘निर्वाचन प्रचारप्रसारको लागि अहिले बैंक खाता खोल्नेक्रम एकदमै बढेको छ । जिल्लाबाट आएको विवरण अनुसार अनुसार ७ (सात) राजनीतिक दल र ८६७ उम्मेदवारले बैंक खाता खोलिसक्नुभएको छ । आइतबारसम्म धेरैजसो उम्मेदवारहरुले खाता खोलिसक्नुहुने छ भन्ने अपेक्षा छ ।’

त्यस्तै उनले हालसम्म ४१ वटा दलले घोषणा पत्र पेस गरेको जानकारी दिइन् । ‘हालसम्म घोषणा पत्र पेस गर्ने दल ४१ वटा रहेका छन् । उम्मेदवारको डाटा चाँही अहिलेसम्म आएको छैन्’,उनले भनिन् ।
उनको अनुसार निर्वाचन आयोगले हानिकारक सूचना उत्पादन एवं सम्प्रेषण गर्ने २९० वटा कन्टेन्ट उत्पादक तथा सम्प्रेषकलाई कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ ।

‘निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सूचना सदाचार प्रवर्धन इकाई पूर्ण रूपमा क्रियाशील छ । हानिकारक सूचना उत्पादन एवम् सम्प्रेषण गर्ने २९० वटा कन्टेन्ट उत्पादक÷सम्प्रेषकलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाइएको छ’, उनले भनिन् ।

यस्तै खर्च व्यवस्थापनबारे दलहरूसँग छलफल भइरहेको आयोगले जनाएको छ । निर्वाचन प्रचारप्रसार खर्च व्यवस्थापनबारे आयोगले राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, ०८ फागुन २०८२
https://jawaaf.com/storage/01KHX26AK78J8Q84HXX1D1JT2H.jpeg

आचारसंहिता विपरीतका पर्चा–पम्पलेट हटाइयो

मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ले निगरानी तथा अनुगमनलाई तीव्र बनाएको छ ।

निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका सवारी साधनमा निर्वाचन आचारसंहिता विपरीत टाँसिएका पर्चा–पम्पलेट हटाउन लगाएको जनाएको छ ।

प्रहरीका अनुसार केही सवारी साधनमा दल तथा उम्मेदवारको प्रचारप्रसार सामग्री जडान गरिएको पाइएपछि तत्काल हटाउन निर्देशन दिइएको हो । साथै, यस्ता कार्य दोहोरिन नदिन सम्बन्धित पक्षलाई अनुरोध तथा सम्झाइ–बुझाइसमेत गरिएको छ ।

यस सम्बन्धमा जानकारी दिँदै पुष्कर बोगटीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताए । उनले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार तथा सर्वसाधारणलाई आग्रह गरे ।

प्रहरीले निर्वाचन अवधिभर आचारसंहिता उल्लङ्घन गर्ने कार्यप्रति निगरानी कडा बनाइने र आवश्यक परे कानुनी कारबाहीसमेत अघि बढाइने स्पष्ट गरेको छ ।

प्रकाशित मितिः शुक्रबार, ०८ फागुन २०८२
https://jawaaf.com/storage/01KHWDT0F0T77JZJK4T0VCZSFK.jpg

निर्वाचन सुरक्षा : फागुन १८ रातिदेखि कोशीमा भारत–नेपाल सीमा बन्द

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइने भएको छ । निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न सीमा नाका ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको हो ।

नेपालतर्फका कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका सुरक्षा प्रमुख तथा भारततर्फका किशनगञ्ज जिल्ला, अररिया जिल्ला र सुपौल जिल्लाका सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठकले यस्तो सहमति गरेको हो ।

सहमति अनुसार फागुन १८ गते रातिदेखि फागुन २१ गते रातिसम्म सीमा नाका बन्द रहनेछ । उक्त अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका आवागमनमा रोक लगाइनेछ ।

प्रशासनका अनुसार निर्वाचनका बेला हुन सक्ने अवाञ्छित गतिविधि, अवैध प्रवेश तथा सीमा पारबाट हुन सक्ने चलखेल रोक्नका लागि यो निर्णय प्रभावकारी हुने अपेक्षा गरिएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले निर्वाचन प्रचारप्रसारका क्रममा भारतीय नम्बर प्लेटका सवारी साधनको अनियन्त्रित प्रवेश रोक्न भारतीय सुरक्षा निकायसँग सहयोग मागिएको जानकारी दिए ।

बैठकले सीमा क्षेत्रमा संयुक्त गस्ती बढाउने, तेस्रो मुलुकका नागरिकको अनाधिकृत आवतजावत रोक्ने तथा लागुऔषध ओसारपसार, मानव बेचबिखन, नक्कली मुद्रा कारोबार, हातहतियार तथा अवैध नगद तस्करी नियन्त्रणमा कडाइ गर्ने सहमति समेत गरेको छ ।

प्रकाशित मितिः शुक्रबार, ०८ फागुन २०८२
https://jawaaf.com/storage/01KHTH4SCPSWB1BW9DWB0QM0A3.jpeg

एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । विहीबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको घोषणापत्रमा पार्टीले देशको राजनीतिक स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय सुरक्षालाई मुख्य प्राथमिकताका रूपमा प्रस्तुत गरेको छ ।

पार्टीले आफ्नो घोषणापत्रमा भदौ २४ गते भएका हिंसात्मक घटनालाई अप्रत्यासित नभई योजनाबद्ध आक्रमणको रूपमा उल्लेख गरेको छ । सो घटनामा संलग्न केही तत्वहरूले नयाँ शक्ति नामक समूहको मुखुण्डो लगाएर राष्ट्रघात गर्ने प्रयास गरेको पार्टीको तर्क छ ।

घोषणापत्रमा भनिएको छ,‘देशभर गत भदौ २४ गते गरिएको महाविनाश अप्रत्यासित घटना होइन । नेपाल राष्ट्रको सार्वभौमसत्ता र यसको अस्तित्व मेट्न योजनावद्ध रूपमा गरिएको आक्रमण हो। त्यसका लाभग्राहीहरू सरकारमा कुन रूपमा छन् र निर्वाचनमा कुन रूपमा आएका छन्, तपाईहरूले देख्नुभएकै छ । राष्ट्रका विरुद्ध यति ठूलो महाअपराधको अनुहार छोप्न त्यस घटनामा सामेल केही तत्वहरूले ‘नयाँ शक्ति’को मुखुण्डो लगाएका छन् । हामीले तिनलाई चिन्न ढिलो गर्नु हुँदैन ।’

नेकपा एमालेले आफूलाई निर्माण र स्थिरताको पक्षमा रहेको र समाजलाई शान्ति, सुव्यवस्था र राजनीतिक स्थिरताको मार्गमा फर्काउने प्रतिबद्धता व्यक्त गरेको छ ।
पार्टीको भनाइ अनुसार, वर्तमान राजनीतिक अस्थिरता विकास र अर्थतन्त्रको गतिमा अवरोध सिर्जना गर्ने मुख्य कारण हो। यसैले घोषणापत्रमा राजनीतिक स्थिरतालाई सबैभन्दा उच्च प्राथमिकता दिइएको छ ।
घोषणापत्रमा तत्काल कार्यान्वयन गरिने ११ काम, पाँच आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखिएको छ ।

यी योजनाहरू अन्तर्गत सार्वजनिक संरचनाहरूको पुनर्निर्माण, प्रशासनिक कार्यक्षमता सुधार, र नागरिकमा विश्वास फर्काउने काम प्राथमिकतामा राखिएका छन्। पार्टीले सिंहदरबार, सर्वोच्च अदालतलगायत जलाइएका सरकारी संरचनाहरूको पुनर्निर्माण कार्यलाई समयसीमा तोकेर अगाडि बढाउने योजना सार्वजनिक गरेको छ ।

पार्टीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्ने दाबी गरेको छ । घोषणापत्रमा उल्लेख छ कि असुरक्षा, अव्यवस्था र शान्तिभंग गर्ने स्रोतहरू अन्त्य गरेर नेपाली समाजलाई भयमुक्त, व्यवस्थित र सुरक्षित बनाउने लक्ष्य राखिएको छ ।

पार्टीले आफ्ना योजनाहरू कार्यान्वयन गर्ने क्रममा प्राथमिकता, समयसीमा र नीतिगत ढाँचा सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाएको छ । यससँगै, राजनीतिक अस्थिरता रोक्न, विकासका कार्यक्रमलाई द्रुत गति दिने, र समृद्ध नेपाल, सुखी नेपाली निर्माण गर्ने लक्ष्य घोषणापत्रमा राखिएको छ ।

प्रकाशित मितिः बिहिबार, ०७ फागुन २०८२
https://jawaaf.com/storage/01KHSZCB83YDATHX8DG51018NF.jpg

निर्वाचन नजिकिँदै, मतदाता सूची सच्याउन आयोगको विशेष कार्यविधि

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन आउन अब दुई सातामात्र बाँकी रहँदा मतदाता सूचीको शुद्धता र पहुँच सुनिश्चित गर्न निर्वाचन आयोग सक्रिय बनेको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने मतदानलाई व्यवस्थित र समावेशी बनाउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको जनाएको छ ।

मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार तयार पारिएको उक्त कार्यविधिले स्थायी मतदाता नामावली अद्यावधिक गर्ने, छुटेका मतदातालाई समावेश गर्ने र विवरण सच्याउने प्रक्रिया स्पष्ट गरेको छ।

आयोगले आवश्यक कार्यक्रमसहितको सूचना प्रकाशन गर्नेछ र त्यसलाई राष्ट्रिय सञ्चारमाध्यममार्फत प्रसारण गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

कार्यविधिअनुसार नेपाल सरकार तथा प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षाकर्मी, कारागारमा रहेका थुनुवा–कैदी, निर्वाचनमा खटिने कर्मचारी, संवैधानिक निकायका पदाधिकारीलगायतका नाम स्थायी मतदाता सूचीमा समावेश गरिनेछ ।

आयोगले कुनै नागरिकको नाम छुटेको वा विवरणमा त्रुटि भएको अवस्थामा प्रमाणसहित प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिन आग्रह गरेको छ ।

आयोगका अनुसार अद्यावधिक मतदाता सूचीले निर्वाचनको विश्वसनीयता र सहभागिता दुवैलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः बिहिबार, ०७ फागुन २०८२
https://jawaaf.com/storage/01KHSZ1PJFD3EYZ87TPXG6CCAW.jpg

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौं । आज फागुन ७ गते देशभर राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । २००७ सालको जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने शहीदहरू दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको योगदानको स्मरण गर्दै आज देशभर श्रद्धाञ्जली अर्पण गरिँदै छ ।

प्रजातन्त्र स्थापना भएसँगै नेपाली नागरिकले हाल सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकारको अभ्यास गर्दै आएका छन् । संवैधानिक रूपमा प्रजातान्त्रिक मूल्य, मान्यता र व्यवहारलाई संस्थागत गर्ने बलियो आधार २००७ सालको जनक्रान्तिले तयार पारेको इतिहासकारहरूको भनाइ छ ।

यस वर्षको मूल समारोह काठमाडौंस्थित सैनिक मञ्च, टुँडिखेलमा विशेष कार्यक्रमका साथ आयोजना हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा गठन गरिएको मूल समारोह समितिमा सरकारका मन्त्रीहरू, काठमाडौं उपत्यकाका नगरप्रमुखहरू, मुख्य सचिव, प्रधान सेनापति, सुरक्षा निकायका प्रमुखहरू लगायत उच्च पदाधिकारीहरू सदस्य छन् भने गृह मन्त्रालयका सचिव सदस्य सचिवको भूमिकामा छन्।

प्रजातन्त्र दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूले प्रजातन्त्र स्थापनाका लागि योगदान पु¥याउने शहीदहरूको स्मरण गर्दै देशवासीलाई शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मितिः बिहिबार, ०७ फागुन २०८२
https://jawaaf.com/storage/01KHR38E0CTG36163FF78RJS8Q.jpg

मोरङ–२ मा चर्किंदो प्रतिस्पर्धा : पुराना शक्ति, नयाँ चुनौती र मतदाताको परीक्षा

मोरङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मोरङ निर्वाचन क्षेत्र नम्बर–२ राजनीतिक रूपमा अत्यन्तै चासोको केन्द्र बनेको छ। परम्परागत रूपमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच प्रतिस्पर्धा हुँदै आएको यस क्षेत्रमा यस पटक भने बहुकोणीय प्रतिस्पर्धाले चुनावी समीकरण थप पेचिलो बनाएको छ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको भिडन्तले मतदाताको ध्यान तानेको छ।
नेपाली कांग्रेसले पूर्वमन्त्री डा. मीनेन्द्रप्रसाद रिजाललाई उम्मेदवार बनाएको छ। रिजाल यस क्षेत्रका लागि नयाँ अनुहार होइनन्।

२०७४ सालको निर्वाचनमा तत्कालीन एमाले–माओवादी गठबन्धनका साझा उम्मेदवार ऋषिकेश पोख्रेललाई पराजित गर्दै उनले कांग्रेसको प्रभाव कायम राखेका थिए। तर २०७९ सालमा पार्टीभित्रको गठबन्धन समीकरणका कारण टिकट नपाएपछि कांग्रेस कमजोर देखिएको थियो। त्यसबेला कांग्रेसबाट सुजाता कोइराला उम्मेदवार बनेकी थिइन् तर एमालेका पोख्रेलसँग पराजित हुनुपरेको थियो। यस पटक कांग्रेसले पुरानो जनाधार पुनः सक्रिय बनाउने लक्ष्यसहित रिजाललाई अघि सारेको छ।

कांग्रेस नेताहरूका अनुसार अघिल्लो निर्वाचनमा देखिएको आन्तरिक असन्तुष्टि समाधान भइसकेको छ र संगठन चुनाव केन्द्रित रूपमा सक्रिय भएको छ। निर्वाचन प्रसार समितिका सचिव आशिष कार्कीले कार्यकर्ता विस्तारै खुल्दै गएको र परिणाम सकारात्मक हुने दाबी गरेका छन्। कांग्रेसले ‘विश्वसनीय नेतृत्व र स्थिर राजनीति’ लाई मुख्य एजेन्डा बनाएको छ।

यता नेकपा (एमाले) ले रङ्गेली नगरपालिकाका पूर्वप्रमुख दिलीपकुमार अग्रवाललाई उम्मेदवार बनाएको छ। स्थानीय तहमा विकास निर्माणका काम गरेको अनुभवलाई चुनावी मुद्दा बनाउँदै अग्रवाल मतदाता माझ पुगेका छन्। रङ्गेली जस्तै मोरङ–२ को विकास भन्ने नारासहित एमालेले संगठनात्मक शक्ति र स्थानीय निर्वाचनको मत परिणामलाई आफ्नो बलियो आधार मानेको छ। एमाले नेताहरूका अनुसार स्थानीय तह निर्वाचनमा प्राप्त अग्रता यस पटक पनि कायम रहने विश्वास छ।

स्थानीय निर्वाचनको तथ्यांकले प्रतिस्पर्धाको आधार स्पष्ट देखाउँछ। २९ वडामध्ये एमालेले १६ वडा जितेको थियो भने कांग्रेसले ११ वडा र माओवादी केन्द्रले दुई वडा जितेका थिए। मतपरिणाममा एमालेले ३१ हजार १६१ मत पाउँदा कांग्रेसले २८ हजार ६८१ मत प्राप्त गरेको थियो। माओवादी केन्द्रले ६ हजार ८०१, जसपाले ३ हजार १८८ र राप्रपाले १ हजार ८८४ मत ल्याएका थिए। यही मत आधारले कांग्रेस–एमालेबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

तर यस पटकको चुनावमा नयाँ राजनीतिक शक्तिको प्रवेशले समीकरण बदलिने संकेत देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कृष्णकुमार कार्की उम्मेदवार छन्। अघिल्लो निर्वाचनमा करिब पाँच हजार मत ल्याएको रास्वपाले यस पटक आक्रामक प्रचार शैली अपनाएको छ। पार्टीका जिल्ला संगठन विभाग सचिव सुनीलदत्त अधिकारीका अनुसार भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र सुशासनको मुद्दाले मतदातामा आकर्षण बढाएको छ। रास्वपाले विशेषगरी युवा र वैकल्पिक राजनीति खोजिरहेका मतदातालाई लक्षित गर्दै अभियान चलाइरहेको छ।

यसैबीच नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुराना कम्युनिस्ट नेता चन्द्रवीर राईलाई उम्मेदवार बनाएको छ। लामो समय शिक्षण पेशामा आबद्ध रही राजनीतिमा सक्रिय भएका राई नेकपा (माले) स्थापनाकालदेखि वाम आन्दोलनमा संलग्न रहँदै आएका नेता हुन्। जिल्ला विकास समितिको सदस्य भएर काम गरिसकेको अनुभव पनि उनीसँग छ। पार्टीका नेता प्रकाश पौडेलका अनुसार विचारधारात्मक राजनीति र जनमुखी कार्यक्रमका आधारमा मतदाताको विश्वास जित्ने प्रयास भइरहेको छ।

मोरङ–२ भौगोलिक रूपमा विविध संरचना भएको निर्वाचन क्षेत्र हो। रतुवामाई नगरपालिकाका सबै १० वडा, सुनवर्षी नगरपालिकाका ९ वडा, रङ्गेली नगरपालिकाका वडा नम्बर १, २, ३, ८ र ९, पथरी शनिश्चरेका वडा नम्बर ५ र ६ तथा कानेपोखरी गाउँपालिकाका वडा नम्बर १, २ र ३ यस क्षेत्रमा पर्छन्। कुल एक लाख २९ हजार १८४ मतदाता रहेको यस क्षेत्रमा ग्रामीण र शहरी दुवै चरित्रको मतदाता मिश्रण छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यस क्षेत्रमा परम्परागत पार्टीको संगठन बलियो भए पनि मतदाताको मनोविज्ञान बदलिँदो अवस्थामा छ। युवा मतदाता, वैदेशिक रोजगारीबाट फर्किएका नागरिक तथा पहिलो पटक मतदान गर्ने समूह निर्णायक बन्न सक्ने अनुमान गरिएको छ। विकास, रोजगारी, सुशासन र स्थानीय पूर्वाधार चुनावी बहसका मुख्य विषय बनेका छन्।

चार स्वतन्त्रसहित १७ उम्मेदवार चुनावी मैदानमा रहे पनि वास्तविक प्रतिस्पर्धा चार दलबीच सीमित देखिन्छ। चुनाव नजिकिँदै जाँदा घरदैलो, कोणसभा र मतदाता भेटघाट कार्यक्रम तीव्र बनेका छन्। दलहरूले आफ्ना उपलब्धि र योजनाको प्रचार गरिरहेका छन् भने मतदाता भने विगतको कामको मूल्यांकन गर्दै निर्णय गर्ने मनस्थितिमा देखिन्छन्।

मोरङ–२ को चुनाव मात्र प्रतिनिधिसभा सदस्य चयन गर्ने प्रक्रिया मात्र होइन, बदलिँदो राजनीतिक धारणा र जनमतको परीक्षण पनि हो। परम्परागत शक्ति पुनः स्थापित हुन्छन् कि नयाँ विकल्पले स्थान बनाउँछ भन्ने प्रश्नको उत्तर अब मतपेटिकाले दिनेछ।

प्रकाशित मितिः बुधबार, ०६ फागुन २०८२
https://jawaaf.com/storage/01KHQCSCC6VPWCJF6AVHZTRM49.jpg

आज ग्याल्पो ल्होसार मनाईंदै, देशैभर सार्वजनिक बिदा

काठमाडौं । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँने गर्दछन् ।

पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ । स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले ग्याल्पो ल्होसारलाई अझ अर्थपूर्ण बनाउँछ ।

नयाँ वर्षका रुपमा मनाइने यो पर्वले नयाँ आशा, उमङ्ग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने पनि विश्वास छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

प्रकाशित मितिः बुधबार, ०६ फागुन २०८२
https://jawaaf.com/storage/01KHN16ZEVVXDWQDYXMQ42WETQ.jpg

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले आज शपथ लिँदै

काठमाडौं । बंगलादेशमा आज नयाँ सरकार गठन हुँदैछ । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले आज प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन् । फेब्रुअरी १२ मा सम्पन्न भएको आम निर्वाचनमा बीएनपीले २०९ सिट जित्दै गठबन्धनसहित २१२ सिटमा दुई तिहाइ बहुमत हासिल गरेको थियो ।

तारिक रहमानको शपथग्रहण समारोह भव्य रूपमा आयोजना गरिएको छ । शपथ कार्यक्रममा १२ सय स्वदेशी तथा विदेशी अतिथिहरू सहभागी हुने अपेक्षा गरिएको छ ।
समारोह राजधानी ढाकास्थित संसद भवनको साउथ प्लाजामा आयोजना हुनेछ । राष्ट्रपति मोहम्मद शहाबुद्दिनले नयाँ मन्त्रिपरिषद्का सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ ।

प्रकाशित मितिः मङ्गलबार, ०५ फागुन २०८२
https://jawaaf.com/storage/01KHJZ87J5JS9GNT0ANPAYX7PW.jpg

सेतोपाटी अनलाइनलाई कारवाही गर्न पत्राचार

काठमाडौं । निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाश गरेको भन्दै ‘सेतोपाटी अनलाइन’ लाई कारवाहीको माग गरिएको छ । निर्वाचन आयोगले सेतोपाटीलाई कारबाही गर्नको लागि प्रेस काउन्सिललाई पत्राचार गरेको हो ।

‘सेतोपाटी’ ले प्रकाशन गरेको चितवन ३ मा ‘सोविता गौतमले जित्नेछिन् निर्वाचन ? रेणु दाहाल दोस्रो’ र ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ ’ शीर्षकको समाचारप्रति आयोगले आपत्ति जनाएको छ ।

आयोगले गरेको पत्राचारमा भनिएको छ,‘सेतोपाटी अनलाइनले मिति २०८२/११/०३ मा चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचनः रेणु दाहाल दोस्रो र मिति २०८२/११/०४ मा भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ शिर्षकमा समाचार प्रकाशन गरेको सम्बन्धमा आयोगको गम्भिर ध्यानाकर्षण भएको छ । उल्लिखित सन्दर्भमा ऐ. अनलाईनबाट गरिएको कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) मा रहेको उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने र ऐ. आचारसंहिताको दफा २५ को उपदफा (१) को खण्ड (ख) मा रहेको कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्थाको प्रतिकूल रहेको देखिँदा सोउपर आवश्यक कारवाही हुन निर्णयानुसार अनुरोध छ ।’

प्रकाशित मितिः सोमबार, ०४ फागुन २०८२