ललितपुर क्षेत्र नं. ३ मा श्रम संस्कृति पार्टीको एजेन्डा सार्वजनिक
काठमाडौं । श्रम संस्कृति पार्टीले आगामी निर्वाचनका लागि आफ्नो मार्गचित्र सार्वजनिक गर्दै श्रममा आधारित समतामूलक समाज निर्माणको प्रतिबद्धता व्यक्त गरेको छ ।
ललितपुर क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेदवार ऋतुबर्तन राईले लोकतन्त्र, संघीयता र प्रत्यक्ष कार्यकारी राष्ट्रपति शासन प्रणालीमार्फत देशमा स्थायित्व र सुशासन कायम गर्ने लक्ष्य लिइएको बताएका छन् ।
पार्टीले समानुपातिक, समावेशी र धर्मनिरपेक्ष राज्य व्यवस्थालाई सुदृढ बनाउने नीति अघि सारेको छ । ‘अब भाषणको खेती होइन, श्रमको क्रान्ति’ भन्ने नारासहित पार्टीले श्रम संस्कृति महाअभियान सञ्चालन गर्ने घोषणा गरेको छ । पार्टीको मुख्य दर्शन ‘हर्कवाद’ (प्रकृति–संस्कृति–प्रविधि) मा आधारित रहेको उल्लेख गर्दै प्राकृतिक संरक्षण, सांस्कृतिक उन्नयन र प्रविधिको विकासलाई सन्तुलित रूपमा अघि बढाइने जनाएको छ ।
घोषित कार्यक्रमअनुसार प्राकृतिक स्रोतको संरक्षण र परिचालन, सांस्कृतिक सम्पदाको विश्वव्यापी प्रवद्र्धन तथा प्रविधिको विकासमार्फत विश्वबजारमा प्रतिस्पर्धा गर्ने रणनीति तय गरिएको छ । पार्टीले अनिवार्य श्रम तथा श्रमदानलाई चेतनागत, आर्थिक र मानवीय विकासको आधारका रूपमा अघि सारेको छ । साथै सामाजिक जागरण, सकारात्मक मनोविज्ञान र जनसंख्यालाई जनशक्तिमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ ।
आर्थिक क्षेत्रमा स्वाधीन अर्थतन्त्र र नियन्त्रित बजार प्रणाली अवलम्बन गर्ने, श्रममा आधारित विभेदको अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्ने नीति पार्टीले सार्वजनिक गरेको छ । शिक्षा क्षेत्रमा जीवनोपयोगी शिक्षामा जोड दिँदै सैद्धान्तिक शिक्षालाई सीमित गरी उत्पादन, निर्माण र आविष्कारमुखी शैक्षिक क्रान्ति ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
‘एक गाउँ एक उद्योग, एक व्यक्ति एक उद्यम’ अवधारणाअनुसार उद्यमशीलता विकास गर्ने, कला, साहित्य र खेलकुदलाई औद्योगिकीकरणतर्फ उन्मुख गराउने तथा किसान, मजदुर र कलकारखानामैत्री सरकार गठन गर्ने पार्टीको लक्ष्य छ । कानुनी, सामाजिक र सांस्कृतिक न्याय सुनिश्चित गर्दै विदेशी हस्तक्षेपमुक्त सुशासन र विकासमा जोड दिइने जनाइएको छ ।
राष्ट्रिय एकता, स्वाभिमान र स्वाधीनता सहितको समृद्धिलाई प्राथमिकतामा राखेको पार्टीले आफ्नो चुनाव चिन्ह ‘माटो’ मा मतदान गर्न आह्वान गरेको छ । ‘हाम्रो धरती, हाम्रो आकाश, हाम्रै परिवेश–श्रम गरौं सबै मिली बनाऔं यो देश’ भन्ने मूल नारासहित श्रम संस्कृति पार्टी चुनावी मैदानमा उत्रिएको छ ।
गिरिघाटका बाढी पीडितको प्रश्न : फेरी पनि आश्वासन पत्याउने ?
सुर्खेत । बराहताल २ स्थित गिरिघाटको बाढी पीडित शिविरमा दैनिक उम्मेदवारको प्रचारमा गुडेका गाडीहरूको आवाज, उम्मेदवारको पक्षमा बनाइएका गीत र मतदानका लागि गरिएका अपिलहरूको माइकिङको चर्को आवाजले बस्तीका अस्थायी टहरा छोएर जान्छ । यो बस्ती कर्णाली राजमार्गको सडक किनारमै फैलिएको छ ।
चुनाव नजिकिँदै जाँदा यहाँ उम्मेदवार र उनका समर्थकहरूको ओहोरदोहोर बाक्लिएको छ । एक समूह गए लगत्तै अर्को समूह बस्तीमा पुग्छ । हातमा पर्चा, मुखमा आश्वासन र भाषणमा विकासका ठुला सपना हुन्छन् । एक दशक अघिदेखि त्रिपालमुनिको बास, पुनर्वासको प्रतीक्षा, राहतका अपुरा वाचा र अस्थायी जीवनको पीडाले उनीहरूलाई धेरै कुरा सिकाएको छ ।
अस्थायी टहरामै दलका नेताहरू मत माग्न आएको यो तेस्रो पटक हो । २०७४ र २०७९ मा भएका निर्वाचनमा पनि उम्मेदवारहरू बस्तीमा भोट माग्दै आएका थिए । त्यति बेला उनीहरूले जे बाचा गरेका थिए र आश्वासन बाँडेका थिए ती अहिले पनि दोहो¥याउँछन् । उम्मेदवार र तिनका समर्थकले गर्ने बाचा र बाँडेका आश्वासनहरू अहिले भने मतदाताले पत्याउने अवस्था छैन ।
२०७१ साल साउनमा आएको बाढी पहिरोले सुर्खेतमा एक सय १५ जनाले ज्यान गुमाएर एक हजार ४५ परिवार पूर्णरूपीमा विस्थापित भए पछि गिरिघाटमा आएका १ सय ५० जना बाढी पीडितहरूका १२ वर्ष बितिसक्दा पनि पुनस्र्थापना नहुँदा उनीहरूको दैनिकी झन्झन् कष्टकर बन्दै गएको छ । हरेक पटकको चुनावमा आउने उम्मेदवारले मत माग्दा पुनर्वासको आश्वासन देखाए पनि कुनै सरकारले पूरा नगरेको पीडितको गुनासो छ ।
यो बस्तीमा बस्दै आएकी सिर्जना बि.क.लाई यसपालिको चुनावमा मतदान नगरौँ कि भन्ने नलागेको पनि होइन । तर मतदान आफ्नो अधिकार हो भन्ने बुझिएकी उनलाई मत कस्लाई दिने भन्ने अन्योल कायमै रहेको छ । ‘पहिला जसले बस्तीका माग सम्बोधन गर्छौ भन्नु भयो उहाँलाई पालिका र केन्द्रमा मत हाल्यौ’ उनले भनिन्, ‘जितेर गए पछि कोही पनि बस्तीमा फर्किनु भएको थिएन । चुनाव आए पछि फेरी सबै उम्मेदवार बस्तीमा आउनु भएको छ ।’ सधैँ चुनावका बेला आश्वासन दिने जितेर गएपछि फर्केर नआउने नेताहरूप्रति उनको भरोसा र आशा टुटेको उनले बत्ताइन् । १२ वर्षमा खोला पनि फर्कन्छ भन्थे तर बाढी पीडित विस्थापितका दिनहरू नफिरेको रगुबिर नेपालीले बताए ।
नेताहरूले चुनावका बेला गरेका बाचा भुलेपछि पीडितहरूले सास्ती भोग्नु परेको बताए । ‘पालिकाको चुनाव आयो वडामा भनेको मान्छे जितेर पठायौ उनले पनि बस्तीको समस्या समाधानका लागि ठोस काम गर्न सकेनन्’ उनले भने, ‘मतदानसम्म हेर्छौ अनि माग पूरा गर्ने प्रतिबद्धता गर्ने उम्मेदवारलाई भोट हाल्छौ ।’
बस्तीमा बस्नको लागि समस्या मात्रै होइन हरेक छाक टार्नका लागि पनि मुस्किल हुने गरेको स्थानीय रुपलाल बि.क.ले बताए । बस्तीका अधिकांश युवाहरू रोजगारीको खोजीमा भारत गएका र उनीहरू मतदानका लागि फर्किने अवस्थामा नरहेको उनको भनाई छ । ‘बाह्र हिउँद–बर्खा खपियो, यो बिचमा तीन चुनावमा भोट हालियो, अझै हाम्रो बस्ती पुर्नस्थापनाको छाँट छैन,’ उनले भने, ‘भोट पनि किन दिने हो र ?’
बस्तीमा खानेपानी समस्या, बालबालिकालाई पढ्नको लागि टाढा जानु पर्ने बाध्यता र दैनिक छाक टार्न पनि समस्या हुने गरेको उनीहरूको भनाई छ । ‘बस्तीमा धेरै समस्याहरू भई छन् कसैले सुनुवाइ गर्दैनन्’ स्थानीय प्रेमबहादुर नेपालीले भने, ‘दाउरा बेचेर, गिट्टी कुटेर, मजदुरी गरेर दैनिक छाक टार्नु पर्ने बाध्यता छ ।’ रोजगारीका लागि युवाहरू भारत गए पछि बस्तीमा बालबालिका, बुढाबुढी र महिलाहरुमात्र रहेको उनको भनाई छ ।
२०७१ सालमा भेरी नदीमा आएको बाढीले बराहतालका पक्का, रानी घाट, इखेनी, डोप्खा, सिस्नेरीलगायतका गाउँहरू बगाए पछि गिरि घाट आएका बाढी पीडितहरूले १२ वर्ष देखि सास्ती भोग्दै आएका छन् ।
सुर्खेत जिल्लाको क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका नारायण प्रसाद कोइराला, नेकपा एमालेका कुलमणि देवकोटा, नेकपाका झकबहादुर मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश कुमार सापकोटा लगायतका १७ जना उम्मेदवार आगामी निर्वाचनका लागि चुनावी प्रतिस्पर्धामा छन् ।
तीन दिन बन्द हुने झुलाघाट नाका
बैतडी । आसन्न निर्वाचनलाई लक्षित गर्दै बैतडीस्थित झुलाघाट नाका तीन दिन बन्द हुने भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार मतदान हुनुभन्दा ७२ घण्टा अघिदेखि सीमा बन्द गरिनेछ । सो नाका फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द रहनेछ ।
निर्वाचनलाई स्वतन्त्र र भयरहित बनाउन भारतसँग जोडिएको सीमामा सुरक्षा सतर्कता बढाइएको छ भने सशस्त्र प्रहरीका बीओपीमार्फत निगरानी कडा पारिएको छ ।
यस्तै तल्लोसोराड क्षेत्रमा महाकाली नदीका घाटबाट डुंगामार्फत हुने आवतजावत पनि सो अवधिमा बन्द गरिने जनाइएको छ ।
चार बर्षदेखि बन्धक नेपाली किशोरी भारतको हिमान्चलबाट उद्धार
काठमाडौं । भारत हिमांचल प्रदेशको कोताखाई भन्ने स्थानमा चार बर्षदेखि बन्दक बनाइएकी नेपाली किशोरीको उद्धार गरिएको छ । उनी रुकुम पश्चिमकी स्थायी वासिन्दा हुन् ।
नेपाली दूताबास दिल्लीमा आएको निवेदनका आधारमा किन इन्डिया, वाल कल्याण समिति र हिमान्चल प्रहरीको टिमले चार बर्षदेखि बन्धक किशोरीलाई उद्धार गरिएको किन इन्डिया सामाजिक संस्थाका कार्यकारी निर्देशक नविन जोशीले जानकारी दिए ।
नेपाल न्यूज बैंकलाई जोशीले दिएको जानकारी अनुसार दुई महिनाको प्रयासपछि निज किशोरीलाई सकुशल उद्धार गरिएको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई दिल्ली ल्याइने भएको छ ।
अनुमतिपत्र लिएकाले मात्रै घरजग्गा कारोबार गर्न पाइने
काठमाडौं । घरजग्गा कारोबारलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन सरकारले इजाजतपत्र प्रणालीलाई कडाइका साथ लागू गरेको छ । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्र्तगत भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक सूचना जारी गर्दै अबदेखि वैध अनुमतिपत्र प्राप्त गरेका व्यक्ति वा कम्पनीले मात्रै घरजग्गा किनबेच, दलाली तथा मध्यस्थताको कारोबार गर्न पाउने स्पष्ट पारेको हो ।
जारी सूचनामा इजाजतपत्र नलिई घरजग्गा कारोबार सञ्चालन गर्ने, विज्ञापन गर्ने वा सेवाग्राहीसँग आर्थिक लेनदेन गर्ने कार्य गैरकानुनी हुने उल्लेख छ । त्यस्ता व्यक्ति वा संस्थामाथि प्रचलित कानुनबमोजिम जरिवाना, दण्ड तथा अन्य कानुनी कारबाही गरिने चेतावनी दिइएको छ ।
विभागका अनुसार पछिल्लो समय घरजग्गा कारोबारको नाममा ठगी, दोहोरो बिक्री, अवैध अग्रिम असुली तथा कागजात दुरुपयोगका घटना बढ्दै गएका छन् । यसलाई नियन्त्रण गर्न तथा सेवाग्राहीको हित संरक्षण गर्न इजाजतपत्र प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइएको हो । अबदेखि घरजग्गा कारोबार गर्न चाहने कम्पनी वा फर्मले तोकिएको प्रक्रिया पूरा गरी इजाजतपत्र लिनुपर्नेछ ।
सूचनामा सेवाग्राहीलाई कारोबार अघि सम्बन्धित कम्पनी वा एजेन्टसँग वैध अनुमतिपत्र भए/नभएको यकिन गर्न आग्रह गरिएको छ । अनुमतिपत्र प्राप्त कम्पनीहरूको अद्यावधिक सूची सम्बन्धित विभागको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको छ ।
विभागले घरजग्गा कारोबारलाई औपचारिक तथा कर प्रणालीभित्र ल्याउन पनि यो व्यवस्था सहयोगी हुने जनाएको छ । इजाजतपत्र प्रणालीले पारदर्शिता बढाउनुका साथै अनियमितता न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । साथै, कुनै पनि सेवाग्राही ठगीमा परेमा वा शंका लागेमा सम्बन्धित निकायमा उजुरी दिन सक्ने व्यवस्था रहेको पनि सूचनामा उल्लेख छ ।
यसैबिच, घरजग्गा कारोबारका लागि ३६ कम्पनीले विभागबाट अनुमतिपत्र प्राप्त गरेका छन् ।
यी कम्पनीले पाए अनुमतीपत्र
१. हिमालयन रियलटर्स प्रालि
२. कन्टिनेन्टल रियल इस्टेट प्रालि
३. एसके होम रियल स्टेट कम्पनी प्रालि
४. रुबी क्राउन प्रोपर्टिज प्रालि
५. नन्दी रियल इस्टेट प्रालि
६. ई–गुराास प्रोपर्टी सोलुसन्स प्रालि
७. जमिनदार रियल इस्टेट प्रालि
८. तिलोत्तमा बिल्डर्स प्रालि
९. रियल इस्टेट एजेन्सी प्रालि
१०. बुस्पाइरप रियल इस्टेट प्रालि
११. अशोक घर संसार नेपाल प्रालि
१२. पानस बिज सर्भ प्रालि
१३. लुम्बिनी रियल स्टेट एन्ड मल्टिपर्पोज
१४. कृष्णा डेभलपर्स प्रालि
१५. ज्ञान इको इन्नोभेसन इन्भेस्टमेन्ट नेपाल
१६. भूमिराज एस्टेट्स
१७. दले भाइ रियल इस्टेट प्रालि
१८. स्काई वल्र्ड रियल स्टेट सोलुसन प्रालि
१९. एम्पायर रियल स्टेट डेभलपमेन्ट प्रालि
२०. नेपाल ल्यान्ड ब्रोकर
२१. डीएन ग्रुप अफ कम्पनी प्रालि
२२. भोजपुर सिद्धकाली हाउजिङ प्रालि
२३. प्रुडेन्सियल डेभलपर्स प्रालि
२४. चार्टर्ड रियल इस्टेट प्रालि
२५. घरजग्गा सेवा प्रालि
२६. ओमोगा क्यापिटल एडभाइजर्स प्रालि
२७. ऋतम्भरा मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रालि
२८. मेट्रो लिंक प्रोपर्टिज प्रालि
२९. विराट रियल स्टेट एन्ड हाउजिङ
३०. सम्पत्ति रियल इस्टेट प्रालि
३१. रियल इस्टेट सारथि
३२. प्रसिद्ध इन्भेस्टमेन्ट कम्पनी प्रालि
३३. एकर्स नेपाल स्टेट प्रालि
३४. मस्र्याङ्दी डेभलपमेन्ट एन्ड रिसर्च
३५. सेरेन इस्टेट्स प्रालि
३६. घरबारी सेवा
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बाँकी प्रदेशको हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम पहाडी र हिमाली भू-भागको एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राती तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागका एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।
अमेरिका र इरानबीच नयाँ चरणको वार्ता बिहीबार जेनेभामा हुने
काठमाडौं । अमेरिका र इरानबीच नयाँ चरणको वार्ता बिहीबार जेनेभामा हुने भएको छ । ओमानका विदेशमन्त्री बदर अल बुसैदीले सामाजिक सञ्जाल एक्समार्फत वार्ताको पुष्टि गर्दै सम्झौता टुंग्याउन सकारात्मक पहल भइरहेको बताएका छन् ।
यसैबीच, क्षेत्रीय तनाव बढिरहेका बेला अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति मजबुत बनाइरहेको छ । पेन्टागन अधिकारीहरूको सूचनाका आधारमा कतारस्थित अल उदेइद आधारबाट सयौं सैनिक सारिएका छन् । साथै बहराइन, इराक, सिरिया, कुवेत, साउदी अरेबिया, जोर्डन र यूएईस्थित अमेरिकी सैन्य संरचनामा समेत रणनीतिक हेरफेर गरिएको जनाइएको छ ।
द जेरुसेलम पोष्टले इरानको संयुक्त राष्ट्रसंघस्थित नियोगले दिएको चेतावनी उद्धृत गर्दै अमेरिका आक्रमणमा उत्रिए क्षेत्रका सबै अमेरिकी सैन्य अड्डा र सम्पत्ति वैध लक्ष्य बन्ने उल्लेख गरेको जनाएको छ । हाल मध्यपूर्वमा ३० देखि ४० हजारसम्म अमेरिकी सैनिक तैनाथ रहेको बताइन्छ ।
यसैबीच, डोनाल्ड ट्रम्पले इरानलाई १०–१५ दिनभित्र आणविक सम्झौतामा सहमति जनाउन चेतावनी दिएका छन् । उनले “हामी सम्झौतामा पुग्छौं, नत्र परिणाम दुर्भाग्यपूर्ण हुनेछ” भन्दै समयसीमा तोकेका छन् । तनावका बीच अमेरिका वायु रक्षा प्रणाली मध्यपूर्वमा सार्दै आफ्ना सैन्य संरचना र स्वार्थको सुरक्षा सुदृढ गरिरहेको बताइएको छ । एएनआई
धादिङ बस दुर्घटना हुँदा १८ जनाको मृत्यु
काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । २८ जना घाइते भएका छन् । पोखराबाट काठमाडौं आउँदै गरेको ग१ख १४२१ नम्बरको बस आज बिहान करिब १:३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । बस सडकबाट ३ सय मिटर तल खसेको हो ।
दुर्घटनामा घाइते भएका २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा ४५ जना यात्रु सवार थिए । मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ ।
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ जना घाइते
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा बस दुर्घटना हुदाँ २२ जना यात्रु घाइते भएका छन् । मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आइतबार बिहान वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बाप्र ०६-००१ख ००५४ नम्बरको यात्रुवाहक बस दुर्घटना भएका हो ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुशार बस अनियन्त्रित भएर सडकको बायाँ साइडको विद्युत पोलमा ठोक्किँँदा बसमा सवार २२ जना यात्रु घाइते भएका हुन् । सबै घाइतेलाई उपचारका लागि चितवन अस्पताल पठाइएको कार्यालयले जनाएको छ ।
गौर–६ सवगढामा सामाजिक सद्भाव कायम राख्न ६ बुँदे सहमति : विथोल्नेलाई कानुनी कारबाही गरिने
रौतहट । रौतहटको गौर नगरपालिका वडा नं. ६ सवगढामा केही समयदेखि देखा परेको विवाद समाधान गर्दै गाउँमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न स्थानीय प्रतिनिधि र समाजसेवीहरूबीच ६ बुँदे सहमति भएको छ ।
फागुन ८ गते (हिजो) बसेको सर्वपक्षीय बैठकले गाउँको शान्ति सुरक्षा र आपसी भाइचारालाई मजबुत बनाउने निर्णय गरेको हो ।
बैठकले गाउँको सामाजिक सद्भाव विथोल्न खोज्ने तत्वहरूप्रति सामूहिक खेद व्यक्त गर्दै त्यस्ता गतिविधिलाई निस्तेज पार्ने प्रतिबद्धता जनाएको छ । नेपाल प्रहरीको आधिकारिक पोर्टल मार्फत प्राप्त हुने सुरक्षा मापदण्ड र स्थानीय प्रशासनको समन्वयमा शान्ति कायम गरिने बताइएको छ ।
गाउँमा रहेका बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी र अपाङ्गता भएका व्यक्तिहरूको संवेदनशीलतालाई मध्यनजर गर्दै धार्मिक र सांस्कृतिक कार्यक्रमहरू आपसी छलफल र सौहार्दपूर्ण वातावरणमा मात्र सञ्चालन गर्ने सहमति भएको छ।
पुर्खादेखि चलिआएको सद्भावलाई कायम राख्न मिति २०८१ चैत ६ गते भएको सर्वपक्षीय सहमतिको अक्षरशः पालना गर्ने, हाल विवाहको लगन र मुस्लिम समुदायको पवित्र महिना रमजान नजिकिएको सन्दर्भमा एक समुदायले अर्को समुदायको संस्कृतिको सम्मान गर्ने विषयमा पनि सहमति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी विष्णुप्रदीप वस्यालले बताए ।
उनका अनुसार कुनै पनि अवरोध गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनलाई सहयोग गर्ने, आगामी २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनका लागि अनुकूल र शान्तिपूर्ण वातावरण तयार पार्न आजैका मितिदेखि सबै विवाद अन्त्य गर्ने निर्णय गरिएको छ ।
यदि कसैले सामाजिक सञ्जाल वा प्रत्यक्ष रूपमा सद्भाव भड्काउने कार्य गरेमा तुरुन्त प्रहरीलाई खबर गर्ने र प्रशासनले जिल्ला प्रशासन कार्यालय रौतहट को समन्वयमा कडा कानुनी कारबाही अगाडि बढाउने सहमति भएको छ ।
यो सहमतिसँगै सवगढाबासीले अब गाउँमा शान्ति र एकताको नयाँ सन्देश जाने विश्वास व्यक्त गरेका छन् ।