अमेरिकालाई सैन्य आधार प्रयोग गर्न बेलायतको अनुमति, इरानविरुद्ध आक्रामक कारबाहीमा भने सहभागी नहुने
काठमाडौं । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले अमेरिका–इजरायलद्वारा इरानमाथि गरिएको संयुक्त आक्रमणमा बेलायत प्रत्यक्ष रूपमा सहभागी नभएको दोहो¥याउँदै इरानी मिसाइल खतरालाई रोक्न “विशेष र सीमित रक्षात्मक उद्देश्य”का लागि अमेरिकालाई बेलायती सैन्य आधार प्रयोग गर्न अनुमति दिने बताएका छन् ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले ‘अपरेसन रोअरिङ लायन÷अपरेसन एपिक फ्युरी’ नाम दिइएको संयुक्त मिसाइल आक्रमण गरेपछि खाडी क्षेत्रमा तनाव चुलिएको छ । उक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन् । आक्रमणमा खामेनीका छोरी, नाति÷नातिनी, बुहारी र ज्वाइँ पनि मारिएको दाबी गरिएको छ ।
स्टार्मरले सामाजिक सञ्जाल ‘एक्स’मा भिडियो सन्देश जारी गर्दै भने,“बेलायत इरानमाथिको आक्रमणमा संलग्न थिएन र अहिले पनि आक्रामक कारबाहीमा सहभागी हुँदैन ।” तर उनले पछिल्ला दुई दिनमा इरानले आफूलाई आक्रमण नगरेका मुलुकहरूमा समेत निरन्तर आक्रमण गरेको आरोप लगाए ।
उनका अनुसार इरानले बेलायती नागरिक बसिरहेका विमानस्थल र होटलहरूमा प्रहार गरेको छ । “खाडी क्षेत्रमा कम्तीमा दुई लाख बेलायती नागरिक रहेका छन् । स्थायी बासिन्दा, बिदामा गएका परिवार र ट्रान्जिटमा रहेका यात्रुहरू,” उनले भने । उनले सबैलाई आफ्नो उपस्थिति दर्ता गर्न र परराष्ट्र कार्यालयको यात्रा परामर्श पालना गर्न आग्रह गरेका छन् । स्टार्मरले खाडी क्षेत्रमा तैनाथ बेलायती सैनिकहरू पनि जोखिममा परेको बताए । “हिजो इरानले बहराइनस्थित एक सैन्य अड्डामा प्रहार ग¥यो, जहाँ बेलायती सैनिकहरू बालबाल बच्न सफल भए,” उनले भने ।
इरानमा नेतृत्व परिवर्तन भए पनि खतरा नरोकिने चेतावनी दिँदै उनले भने, “सर्वोच्च नेताको मृत्युले इरानलाई यी आक्रमण रोक्न बाध्य पार्दैन । उनीहरूको रणनीति झन् लापरवाह र नागरिकका लागि खतरनाक बन्दै गएको छ ।”
बेलायतले वार्तामार्फत समाधान खोज्नुपर्ने धारणा दोहो¥याउँदै स्टार्मरले भने, “हामी विश्वास गर्छौं कि क्षेत्रीय र विश्व शान्तिका लागि वार्तामूलक समाधान नै उत्तम बाटो हो, जसमा इरानले आणविक हतियार विकास गर्ने आकांक्षा त्याग्न सहमत होस् ।”
यद्यपि, उनले इरानले बेलायती स्वार्थ र नागरिकमाथि खतरा उत्पन्न गरेकाले मित्र राष्ट्रहरूको सामूहिक आत्मरक्षाका लागि सहयोग गर्नु कर्तव्य भएको बताए । “अमेरिकाले मिसाइल भण्डारण स्थल वा प्रक्षेपण केन्द्रहरू नष्ट गर्न सीमित रक्षात्मक उद्देश्यका लागि बेलायती आधार प्रयोग गर्न अनुमति मागेको छ, र हामीले त्यो स्वीकार गरेका छौं,” उनले स्पष्ट पारे ।
उनका अनुसार बेलायती लडाकु विमानहरू खाडी क्षेत्रमा समन्वित रक्षात्मक अभियानमा संलग्न भइसकेका छन् र केही इरानी प्रहारहरू सफलतापूर्वक निष्क्रिय पारिसकेका छन् ।
स्टार्मरले इराक युद्धका अनुभव सम्झाउँदै भने, “हामीले इराकका गल्तीहरूबाट पाठ सिकेका छौं । हामी प्रारम्भिक आक्रमणमा संलग्न थिएनौं र अहिले पनि आक्रामक कारबाहीमा सहभागी हुने छैनौं ।” उनले यो निर्णय अन्तर्राष्ट्रिय कानुनअनुसार भएको र कानुनी सल्लाहको सार सार्वजनिक गरिने जानकारी दिए ।
खाडी क्षेत्रमा बढ्दो द्वन्द्वले अन्तर्राष्ट्रिय समुदायलाई चिन्तित बनाएको छ भने क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको । एएनआई
खामेनीको मृत्यु पछि इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा, नयाँ उत्तराधिकारी चयनको तयारी
काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु पछि इरान सरकारले ४० दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएअनुसार शिया इस्लाम परम्परामा मृत्युको ४०औँ दिनलाई अत्यन्त पवित्र मानिने भएकाले सो अवधिसम्म शोक मनाउने निर्णय गरिएको हो ।
खामेनीको मृत्यु अमेरिका र इजरायलको संयुक्त आक्रमणका क्रममा भएको बताइएको छ । सर्वोच्च नेताको कार्यालयले देशभर राष्ट्रिय शोक अवधि लागू गरिएको, सरकारी भवनहरूमा झण्डा आधा झुकाइने तथा विभिन्न स्थानमा श्रद्धाञ्जली सभाहरू आयोजना गरिने जनाएको छ । यस घटनासँगै इस्लामिक गणतन्त्रको ३७ वर्ष लामो नेतृत्वकालको एउटा अध्याय समाप्त भएको टिप्पणी गरिएको छ ।
खामेनी सन् १९८९ देखि इरानका सर्वोच्च नेता थिए । उनी इस्लामिक क्रान्तिका संस्थापक अयातोल्लाह रुहोल्लाह खोमेनीका उत्तराधिकारीका रूपमा सत्तामा आएका थिए । उनको नेतृत्वकाल पश्चिमी शक्तिविरुद्धको कडा अडानका लागि परिचित थियो । इरानको सरकारी समाचार संस्थाका अनुसार खामेनी आइतबार बिहान आफ्नै कार्यकक्षमा रहँदा आक्रमणमा मारिएका थिए ।
आधिकारिक फारसी सामाजिक सञ्जाल खातामा पवित्र कुरआनको एउटा आयत उल्लेख गर्दै उनको निधनलाई राष्ट्रको सार्वभौमिकताका लागि अन्तिम बलिदानका रूपमा चित्रण गरिएको छ ।
यसअघि इजरायली सञ्चारमाध्यमले इरानी स्रोतलाई उद्धृत गर्दै अमेरिकी–इजरायली आक्रमणमा खामेनीकी छोरी, नाति, बुहारी र ज्वाइँको पनि मृत्यु भएको उल्लेख गरेका थिए ।
यसबीच इरानका विभिन्न शहरहरूमा केही समूहले उत्सव मनाएको खबर बाहिरिएको छ । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार केही स्थानमा शासनविरुद्ध नाराबाजी गरिएको र सडकमा निस्केर खुसीयाली मनाइएको दृश्य सार्वजनिक भएका छन् ।
इरानी अधिकारकर्मी तथा पत्रकार मसीह अलिनेजादले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै उक्त घटनालाई ऐतिहासिक क्षणका रूपमा वर्णन गरेकी छन्। निर्वासित युवराज रेजा पहलवीले इरानीहरूलाई एकताबद्ध भई स्वतन्त्र र समृद्ध भविष्यका लागि स्थिर संक्रमणको समर्थन गर्न आह्वान गरेका छन् ।
उनले वर्तमान शासनले नयाँ उत्तराधिकारी नियुक्त गर्ने प्रयास असफल हुने दाबी गरेका छन् । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत खामेनीको मृत्यु भएको दाबी गर्दै यसलाई इरानी जनताका लागि न्यायको संज्ञा दिएका छन् । उनले मध्यपूर्वमा शान्ति स्थापना नभएसम्म लक्षित आक्रमण जारी रहने बताएका छन् । युद्धको अवस्थाबीच नयाँ सर्वोच्च नेता चयन प्रक्रिया चुनौतीपूर्ण हुने अनुमान गरिएको छ । भावी नेतृत्व धार्मिक प्रतिष्ठानको नियन्त्रणमा रहने वा इस्लामिक क्रान्तिकारी सुरक्षा संरचनाको प्रभाव बढ्ने भन्ने विषयले इरानको राजनीतिक भविष्यप्रति चासो बढाएको छ । एएनआई
दुर्गा प्रसाईं फेरी पक्राउ
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक तथा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले प्रसाईंलाई आईतबार बिहान उनको आफ्नै निवासबाट पक्राउ गरेको हो । प्रसाईंलाई जिल्ला प्रहरी भक्तपुरको हिरासतमा राखिएको छ ।
प्रसाईंको नेतृत्वमा आज नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको थियोे । उनले पूर्वराजपरिवार नै सडकमा आउने भनेर उत्तेजक अभिव्यक्ति दिएका थिए । यद्यपि पूर्वराजपरिवारको सडकमा आउने कुनै कार्यक्रम नभएको बताइएको छ ।
अन्तर्राष्ट्रिय उडान बारे जानकारी लिएर मात्र विमानस्थल आउन आग्रह
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मध्यपूर्वमा क्षेत्रको हवाई मार्गमा लगाइएको प्रतिबन्धले केही अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुने बताएको छ ।
इरानमाथि अमेरिका र इजरायलले सैन्य आक्रमण गरेपछि कतार, दुबई र आबुधावी अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएकाले काठमाडौंस्थित विमानस्थलले शनिबार साँझ एक सूचना जारी गर्दै मध्यपूर्वी क्षेत्रका हवाई क्षेत्र बन्द गरिएका कारण केही उडान रद्द वा ढिला हुने जनाएको हो । विमानस्थल अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ हुने, पुनः तालिकामा पर्ने वा रद्दसमेत हुन सक्ने सम्भावना रहेको बताएको हो ।
विमानस्थले यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो अवस्थाबारे सम्बन्धित वायुसेवा कम्पनीसँग बुझेर मात्र विमानस्थल आउन आग्रह समेत गरेको छ । विमानस्थलले सम्बन्धित वायुसेवा कम्पनीमा सिधा सम्पर्क गरेर उडानको अवस्था यकिन गर्न अनुरोध गरेको छ ।
काबुलमा पाकिस्तानको हवाई आक्रमणपछि ‘खुला युद्ध’ घोषणा, अफगानिस्तान वार्तामा बस्न तयार
काठमाडौं । पाकिस्तानले अफगानिस्तानका प्रमुख शहरहरूमा हवाई आक्रमण गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ । पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले सामाजिक सञ्जालमार्फत अफगानिस्तानसँग “खुला युद्ध” सुरु भएको घोषणा गरेका छन् । अल जजीराको रिपोर्टअनुसार शुक्रबार पाकिस्तानले अफगानिस्तानको राजधानी काबुल तालिबानको प्रभाव क्षेत्र कन्दहर तथा अन्य सहरहरूमा हवाई आक्रमण गरेको हो । सीमाक्षेत्रमा पनि झडप जारी रहेको र दुवै पक्षले ठूलो मानवीय क्षति भएको दाबी गरेका छन् ।
यसैबीच, अफगानिस्तानले भने वार्तामार्फत समाधान खोज्न आफू तयार रहेको जनाएको छ । पछिल्ला केही महिनादेखि दुवै देशबीच सीमाक्षेत्रमा आक्रमण–प्रत्याक्रमण भइरहेका थिए । जसले क्षेत्रीय सैन्य द्वन्द्व चर्किने चिन्ता बढाएको छ ।
पाकिस्तानका रक्षामन्त्री आसिफले एक्समा लेख्दै नाटो सेना फिर्ता भएपछि अफगानिस्तानमा शान्ति स्थापना हुने अपेक्षा गरिएको भए पनि तालिबान प्रशासनले आतंकवादी समूहहरूलाई संरक्षण दिएको आरोप लगाए । उनले तालिबान नेतृत्वले क्षेत्रीय शान्ति भंग गरेको र मानवअधिकार हनन गरेको दाबी गरे ।
“हाम्रो धैर्यताको सीमा नाघिसकेको छ । अब हामी र तिमीहरूबीच खुला युद्ध छ,” उनले लेखेका छन् । उनले पाकिस्तान छिमेकी देश भएको र परिस्थितिबारे जानकार रहेको समेत उल्लेख गरेका छन् । यसअघि पाकिस्तानका सूचना मन्त्री अतुल्लाह तरारले अफगानिस्तानले एबोटाबाद, स्वाबी र नौशेरामा ड्रोन आक्रमण गरेको दाबी गरेका थिए ।
टोलो न्यूजका अनुसार ती ड्रोनहरू प्रतिरोधी प्रणालीबाट खसालिएको र मानवीय क्षति नभएको बताइएको छ । काबुल र इस्लामाबादबीचको बढ्दो तनावले दक्षिण एशियाली क्षेत्रमा अस्थिरता बढ्ने चिन्ता व्यक्त गरिएको छ । एएनआई
सार्वजनिक स्थान र खुला सडकमा भेला भएर होली पर्व मनाउन निषेध
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थान र खुला सडकमा भेला भएर होली पर्व मनाउन निषेध गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासनले फागुन १८मा नेपालीहरूले मनाउन लागेको रङहरूको पर्व फागु पूर्णिमा (होली) सार्वजनिक ठाउँमा खेल्न निषेध गरिएको जानकारी दिएको हो ।
‘चाडपर्वहरुको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छा विपरीत रंग एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जवरजस्ती रंग दल्ने, अति उत्तेजित भई भागदौड गर्ने जस्ता अमर्यादित कार्य नगर्न नगराउन सबैमा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लाई लक्षित गरी निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४ को दफा १३ (घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने भन्ने व्यहोरा उल्लेख गरेको छ ।
त्यस्तै, होली खेल्दा राजनीतिक दलको चुनाव चिन्ह र उम्मेदवारका तस्बिर अंकित भेष्ट, टिसर्ट, कमिज र गम्छा जस्ता कपडा प्रयोगमा स्थानीय प्रशासनले पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।
टी–२० विश्वकप : इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको सुपर–८ को आजको खेलमा इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दैछन । श्रीलंकाको आर प्रेमादासा स्टेडियम कोलम्बोमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुँदैछ । न्युजिल्याण्डका लागि भने यो खेल सेमिफाइनलको महत्वपूर्ण खेल हो । जितले न्युजिल्याण्डलाई समूह २ को विजेता बनाउने छ । तर इङ्ल्याण्डसँग हार बहोरेमा भने अर्को खेलमा श्रीलंकाविरुद्ध पाकिस्तानको हारले मात्र न्युजिल्याण्डलाई अन्तिम ४ को ढोका खुल्नेछ ।
सुपर–८ को पहिलो खेलमा श्रीलंकालाई ५१ रन र दोस्रो खेलमा पाकिस्तानलाई २ विकेटले हराउँदै इङ्ल्याण्ड अन्तिम खेल अगाडिनै सेमिफाइनल पुगिसकेको छ । २ पटकको विजेता इङ्ल्याण्ड अपराजित रहँदै नकआउट पुग्ने लक्ष्यमा छ ।
यो खेलले समूह विजेताको टुङ्गो लगाउनेछ । इङ्ल्याण्ड र न्युजिल्याण्डबीच अहिलेसम्म ट्वेन्टी ट्वेन्टी ढाँचामा ३० खेल भएका छन् । इङ्ल्याण्डले १६ खेल जित्दा १० खेल न्युजिल्याण्डले जितेको छ । १ खेल बराबरी हुँदा ३ खेल नतिजाविहीन छ ।
मधेशमा चुनावी आचारसंहिता धज्जी उड्यो, सार्वजनिक स्थलमा दलका झण्डा-पोस्टरको बाढी
सिराहा । मधेश प्रदेशमा निर्वाचन आचारसंहिताको उल्लङ्घन रोकिएको छैन । निर्वाचन नजिकिँदै जाँदा सार्वजनिक स्थलहरू पार्टीका झण्डा, ब्यानर र पोस्टरले झिलिमिली बनाइएका छन् ।
निर्वाचन आयोगले तडक–भडक, बाजा–गाजा तथा सार्वजनिक स्थानमा पार्टीका झण्डा झुन्ड्याउन नपाइने स्पष्ट निर्देशन जारी गरे पनि अधिकांश दलहरूले त्यसलाई बेवास्ता गर्दै खुला चुनौती दिइरहेका छन् ।
शहरका मुख्य चोक बजार क्षेत्र सरकारी कार्यालय वरपर र सडक किनारमा दलका प्रचार सामग्री टाँसिएका देखिन्छन्। कतिपय स्थानमा सरकारी संरचना र सार्वजनिक सम्पत्तिमै पार्टीका झण्डा गाडिएको पाइएको छ । यसले आचारसंहिताको ठाडो उल्लङ्घन मात्र नभई राज्य संयन्त्रप्रतिको असम्मान पनि झल्काएको स्थानीय बासिन्दाहरूको भनाइ छ । निर्वाचन आयोगले निष्पक्ष र मर्यादित चुनावका लागि आचारसंहिता लागू गरे पनि त्यसको प्रभावकारी कार्यान्वयनमा कमजोरी देखिएको छ ।
आयोगले अनुगमन टोली खटाएको दाबी गरे पनि मैदानमा भने दलहरू मनोमानी ढंगले प्रचारप्रसारमा उत्रिएका छन्। निर्वाचन आउँदा नियम सम्झने, जितेपछि बिर्सिने प्रवृत्ति फेरि दोहोरिएको छ एक स्थानीय नागरिकले गुनासो गरे ।
विशेषगरी ठूला दलहरू नै नियम मिच्न अग्रसर देखिएका छन्। शक्ति प्रदर्शनका नाममा मोटरसाइकल ¥याली भीडभाडयुक्त सभा र ध्वनि प्रदूषण हुने गरी बाजा–गाजा प्रयोग गरिँदै आएको छ । यसले सर्वसाधारणलाई असहज मात्र बनाएको छैन चुनावी वातावरणलाई पनि अस्वस्थ बनाएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार आचारसंहिता पालनामा दलहरू गम्भीर नहुँदा लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै प्रश्न उठ्ने गरेको छ। कानुन सबैका लागि समान हुनुपर्ने भए पनि व्यवहारमा भने शक्तिशालीका लागि छुट र सामान्य नागरिकका लागि कठोरता देखिनु चिन्ताको विषय बनेको छ।स्थानीय बुद्धिजीवीहरूले आयोगलाई कडाइका साथ अनुगमन गरी उल्लङ्घन गर्ने दल र उम्मेदवारमाथि कारबाही गर्न आग्रह गरेका छन्। कानुन उल्लङ्घन गरेर प्राप्त जितले लोकतन्त्र बलियो हुँदैन, उनीहरूको भनाइ छ।
मधेशमा देखिएको यो अवस्था तत्काल नियन्त्रण नगरे चुनावी वातावरण थप तनावपूर्ण बन्न सक्ने संकेत देखिएको छ। अब प्रश्न उठेको छ—आचारसंहिता केवल कागजमै सीमित रहने हो कि आयोगले व्यवहारमै कडाइ देखाउने हो ?
मोरङ–१ : पूराना दललाई विरासत जोगाउन हम्मे, नयाँ भत्काउने दाउमा
मोरङ । मोरङ निर्वाचन क्षेत्र नम्बर–१ यति बेला चुनावी गतिविधिले अत्यन्तै तातेको छ । विगत एक दशकदेखि एउटै राजनीतिक प्रतिस्पर्धाले चिनिएको यो क्षेत्र यस पटक नयाँ मोडमा पुगेको छ ।
पूराना समीकरण कमजोर बनेका छन् भने मतदातामाझ नयाँ विकल्पप्रतिको आकर्षण बढ्दो देखिन्छ । यही कारणले यस पटकको निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र नभई राजनीतिक प्रवृत्तिको परीक्षणका रूपमा हेरिएको छ ।
०७० यताका तीन निर्वाचनमा यहाँको मुख्य प्रतिस्पर्धा प्रायः डिगबहादुर लिम्बू र घनश्याम खतिवडा बिच केन्द्रित रह्यो । कहिले कांग्रेस बलियो देखियो, कहिले एमाले । हार–जितको यही निरन्तरताले मोरङ–१ लाई प्रदेशकै प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्रका रूपमा स्थापित ग¥यो। तर यस पटक कांग्रेसका अनुभवी नेता लिम्बू चुनावी मैदानबाहिर रहँदा राजनीतिक समीकरण स्वतः फेरिएको छ ।
उनको स्थानमा उर्लाबारीका पूर्व नगरप्रमुख खड्ग फागो उम्मेदवार बनेपछि चुनावले पुस्तान्तरणको सङ्केत दिएको छ । कांग्रेसभित्र नयाँ नेतृत्वलाई अघि सार्ने प्रयास र मतदातामाझ नयाँ अनुहारप्रतिको उत्सुकता दुवै एकैसाथ देखिएको छ ।
नेपाली कांग्रेसले स्थानीय तहको अनुभव, सङ्गठन विस्तार र जनसम्पर्कलाई आधार बनाउँदै फागोलाई अघि सारेको हो । नगरप्रमुख हुँदा देखाएको सक्रियता, स्थानीय विकास योजनामा सहभागिता र गाउँ–बस्तीमा निरन्तर उपस्थिति कांग्रेसका लागि चुनावी पुँजी बनेको छ ।
घरदैलो अभियानमा फागो मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। उनी विकास, रोजगारी, कृषि, शिक्षा र सडक पूर्वाधारलाई प्राथमिक मुद्दा बनाइरहेका छन्। कांग्रेसभित्रको मूल्याङ्कन अनुसार युवा मतदाता तान्नसके परिणाम आफ्नो पक्षमा ल्याउन सकिने विश्वास गरिएको छ ।
अर्कोतर्फ नेकपा एमालेका उम्मेदवार खतिवडाका लागि यो निर्वाचन निरन्तरता जोगाउने लडाइँ बनेको छ । एमाले कोशी प्रदेश अध्यक्षसमेत रहेका उनले विगतका चुनावी अनुभव, सङ्गठनात्मक संरचना र कार्यकर्ताको सञ्जाललाई आफ्नो बलका रूपमा प्रस्तुत गरिरहेका छन् । तर आलोचकहरू भने विकासको गति, अधुरा योजना र जनअपेक्षाबिचको दूरीलाई चुनावी बहसको केन्द्र बनाइरहेका छन् । यसले खतिवडालाई अघिल्ला चुनावभन्दा बढी दबाबमा राखेको देखिन्छ । राजनीतिक विश्लेषकहरूका अनुसार यस पटक उनले केवल विपक्षी होइन, मतदाताको बढ्दो असन्तुष्टिसँग पनि प्रतिस्पर्धा गर्नुपरेको छ ।
यस पटकको चुनावलाई फरक बनाएको अर्को पक्ष वैकल्पिक राजनीतिक शक्तिको सक्रियता हो । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अधिवक्ता यज्ञमणि न्यौपाने मैदानमा छन् ।
धरानका पूर्वमेयर हर्क साम्पाङको अभियानबाट प्रभावित श्रम संस्कृति पार्टीले पनि चुनावी माहोललाई प्रभावित बनाएको छ । उक्त दलबाट शान्ती पाख्रिन लामा उम्मेदवार रहेकी छन् ।
त्यस्तै जनयुद्धकालीन कमान्डर तथा पूर्वसांसद कुलप्रसाद साम्बा ‘कुशल’ को उम्मेदवारीले वामपन्थी मतमा विभाजन ल्याउन सक्ने अनुमान गरिएको छ । नयाँ दल र स्वतन्त्र धारको उपस्थितिले चुनावलाई दुई दलको प्रतिस्पर्धाबाट बहुपक्षीय प्रतिस्पर्धामा रूपान्तरण गरेको छ । १ लाख २८ हजार ५४५ मतदाता रहेको यस क्षेत्रमा विगतका परिणामले कुनै दलको स्थायी वर्चस्व स्थापित हुन नसकेको देखाउँछ ।
२०७४ मा एमाले विजयी भयो भने २०७९ मा कांग्रेसले झिनो अन्तरले जित हात पारेको थियो। समानुपातिक मत परिणाममा एमाले अगाडि देखिए पनि रास्वपाले पाएको उल्लेख्य मतले मतदाताको झुकाव परिवर्तनतर्फ रहेको सङ्केत दिएको थियो ।
विश्लेषकहरूका अनुसार यस पटक अङ्कगणितभन्दा बढी मतदाताको मनोविज्ञान निर्णायक बन्न सक्छ। पुराना दलप्रति असन्तुष्टि र नयाँ विकल्पप्रतिको उत्सुकता चुनावको मुख्य कारक बन्ने देखिएको छ ।
स्थानीय तहमा भेटिने मतदाताहरू विकास, रोजगारी र सुशासनलाई मुख्य मुद्दाका रूपमा उठाइरहेका छन् । राजनीतिक प्रतिबद्धता धेरै सुने पनि कार्यान्वयन कमजोर भएको गुनासो व्यापक छ। यही कारणले यस पटक मतदाताले दलभन्दा पनि उम्मेदवारको कार्यक्षमता हेर्ने सङ्केत देखिएको छ ।
मोरङ–१ को चुनाव यस पटक जित–हारको प्रतिस्पर्धा होइन । यो पुरानो राजनीतिक विरासत, सङ्गठनको शक्ति, वैकल्पिक राजनीतिक उदय र परिवर्तनको आकाङ्क्षाबिचको प्रत्यक्ष भिडन्त हो ।
खतिवडाका लागि यो राजनीतिक निरन्तरता जोगाउने परीक्षा हुन सक्छ भने फागोका लागि नयाँ राजनीतिक अध्याय सुरु गर्ने अवसर। नयाँ शक्तिहरूले मत विभाजन गर्न सके परिणाम अप्रत्याशित बन्ने सम्भावना पनि उत्तिकै बलियो छ ।
परिणाम जे आए पनि, मोरङ–१ को यस पटकको निर्वाचनले बदलिँदो नेपाली राजनीति र मतदाता मनोविज्ञानको स्पष्ट सङ्केत दिने निश्चित देखिन्छ । यही कारणले यो क्षेत्र केवल एउटा निर्वाचन क्षेत्र नभई राजनीतिक सङ्क्रमणको प्रतिविम्बका रूपमा हेरिएको छ ।
उपचारका लागि सिंगापुर प्रस्थान गरे शेरबहादुर देउवा
काठमाडौं । शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । नेपाली कांग्रेसका पूर्व सभापति समेत रहेका देउवा बुधबार राति ११:३० बजे सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेका हुन् । उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक नगरिए पनि नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारका लागि उनी सिंगापुर गएको स्रोतले जनाएको छ ।