सेती नदीमा बाढीः ६० घरपरिवार सुरक्षित स्थानमा
बैतडी, २३ असार I सेती नदीको जलस्तर बढेर बाढी बस्ती पस्न थालेपछि बैतडीको सिगासका ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० घरपरिवारलाई स्थानीय शारदा माविमा सारिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सेती नदी गाउँ पस्ने खतरा बढेपछि ढुङ्गाडका ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारेका हौँ । स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई शारदा माविमा सारिएको छ ।”
नदीमा बाढीको सम्भावना बढेसँगै उनीहरू पशुचौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका हुन् । अविरल वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । नदी किनारमा लगाएको तटबन्धमाथि जलस्तर पुगेपछि स्थानीय बासिन्दा घर छाड्न बाध्य भएका इन्द्रबहादुर चन्दले बताउनुभयो ।
सेती नदीमा पानीको बहाव बढ्दै गएपछि सिगास गाउँपालिका–५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको उच्च जोखिममा परेका छन् । यस्तै वडा नं ६ का सेती किनारका बस्ती पनि बाढीको जोखिममा परेका बताइएको छ ।
सेती नदीको बाढीले यहाँ बर्सेनि आतङ्क मच्चाउने गरेको छ । यसअघि २०७८ कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले सिगास–५ ढुङ्गाडलगायत क्षेत्रमा सेतीको बाढी पस्दा ठूलो क्षति गरेको थियो । लगातार वर्षा भइरहेकाले जोखिम हुनसक्ने भन्दै सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
खेलकुदले राष्ट्रिय एवं सामाजिक एकतालाई बलियो बनाउँछ : मुख्यमन्त्री कार्की
मोरङ, २२ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदले राष्ट्रिय एवं सामाजिक एकतालाई बलियो बनाउने बताउनुभएको छ ।
कोशी प्रदेश दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०८१ को आज उद्घाटन गर्नुहुँदै उहाँले खेलकुदको माध्यमबाट मुलुकको नाम विश्वमा राख्न सकिने भएकाले खेल क्षेत्रको विकासका लागि काम गर्न आवश्यक रहेको बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले विराटनगर आसपास क्षेत्रमा जुनसुकै मौसममा पनि भलिबललगायत अन्य ‘इन्डोर खेल’का लागि खेलमैदान निर्माण गर्न सामाजिक विकास मन्त्रालयलाई तयारीमा लाग्न निर्देशन दिनुभयो ।
सामाजिक विकासमन्त्री पाँचकर्ण राईले सरकारले खेलकुद पूर्वाधार, प्रशिक्षण र खेलाडीहरूको क्षमता वृद्धिका लागि विशेष ध्यान दिने बताउनुभयो ।
प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले १०औँ राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने तयारीस्वरूप प्रदेशका विभिन्न जिल्लामा खेलकुद प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो ।
महिला भलिबल प्रतियोगितामा कोशी, बागमती, मधेस र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
सप्तकोसीमा जलसतह यो वर्षकै उच्च
धरान (सुनसरी), २२ असार I सप्तकोसी नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च भएको छ । दिउँसो ३ बजे कोसी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ ।
अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३४ वटा ढोका खोलिएका छन् । आज बिहान ४ बजे एक लाख २४ हजार चार सय ६५ क्युसेक प्रतिसेकेन्ड जलसतह मापन गरिएको केन्द्रका कर्मचारी अमित यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “पहाडी क्षेत्रमा हिजोदेखि निरन्तर वर्षा भएसँगै कोसी नदीमा जलसतह उच्च भएको हो । जलसतह उच्च भए पनि हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति भएको छैन ।”
पहिरोले छ परिवार विस्थापित, बस्ती उच्च जोखिममा
ढोरपाटन (बागलुङ), २२ असार I निरन्तर वर्षासँगै आएको पहिरोका कारण जिल्लामा छ परिवार विस्थापित भएका छन् । काठेखोला गाउँपालिका–६ को सुल्डाँडाबाट वडा नं ८ लेखानी जाने सडक चक्ल्याउने क्रममा लगाइएको पर्खाल पहिरोले बगाउँदा वरपरका तीन परिवार विस्थापित भएका हुन् । उक्त स्थानमा नौ घर पहिरोको जोखिममा परेका छन् ।
सुल्डाँडा–खानी खण्डका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण स्थानीय रघुनाथ कँडेल, कृष्ण कँडेल र लक्ष्मी विकको परिवार विस्थापित भएका वडाध्यक्ष बृहस्पति कँडेलले जानकारी दिनुभयो । अहिले विस्थापित भीमसेन क्याम्पसमा बसिरहेका छन् । पहिरोमा परेका पशुचौपायालाई पनि सुरक्षित स्थानमा सारिएको उहाँले बताउनुभयो । उहाँका अनुसार सोही ठाउँको टापुका ११ घर पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।
“पहिरोले सिङ्गो बस्ती नै जोखिममा परेको छ, अहिलेसम्म विस्थापित भएका परिवारलाई भीमसेन क्याम्पससहित अन्य सुरक्षित स्थानमा सारेका छौँ, अझै धेरै घर पहिरोको उच्च जोखिममा परेका छन्”, वडाध्यक्ष कँडेलले भन्नुभयो, “मानवीय क्षति हुन नदिन तयारी अवस्थामा उद्धारका लागि खटिएका छौँ ।”
पहिरोले वडा नं ८ को सिरिमपाटाकी गौमती सुनार, मीनप्रसाद पुन र लालबहादुर रोकाको परिवार पनि विस्थापित भएका वडाध्यक्ष कँडेलले जानकारी दिनुभयो । यस क्षेत्रका एक दर्जन घर पहिरोको जोखिममा छन् । दुई सातादेखि निरन्तर पहिरो खस्दा भुँदीखोलाको पक्की पुल जोखिममा परेको उहाँले बताउनुभयो ।
काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बस्ती जोगाउन मेसिनको प्रयोग गरेर पहिरो हटाउन पहल गरिएको बताउनुभयो । निरन्तर वर्षाका कारण पहिरो नरोकिएको भन्दै जोखिममा परेका बस्तीबाट स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार विस्थापित परिवारलाई गाउँपालिकाले तत्काल बासको व्यवस्थापन गरेको छ ।
“वर्षा रोकिएको छैन, पहिरो पनि निरन्तर खसिरहेकाले धेरै घर जोखिममा छन्, अहिले हामी उद्धार र स्थानान्तरणमा जुटेका छौँ । पहिरो पन्छाएर बस्ती जोगाउने प्रयास गरिरहेका छौँ, वर्षा नरोकिँदा अझै जोखिम बढ्ने सम्भावना छ”, अध्यक्ष थापाले भन्नुभयो, “घरमा बस्न जोखिम भएपछि केहीले छिमेकीको घरमा आश्रय लिनुभएको छ भने केहीलाई सुरक्षित स्थान खोजेर राख्न थालेका छौँ ।”
प्रहरी चौकी पुरियो
अविरल वर्षाका कारण पहिराले जिल्लामा प्रहरी चौकी पुरिएको छ । दुई दिनदेखि निरन्तर परेको वर्षाले चौकी माथिदेखि पहिरो खस्दा पञ्चकोट प्रहरी चौकीको भवन पुरिएको हो । पहिरोले बागलुङ–६ सर्वसिद्धिधाम पञ्चकोट जाने बाटोमा बनाइएको सिढी र पर्खाल पनि भत्किएको छ ।
मानवीय क्षति नभए पनि चार कोठे भवनको तीन वटा कोठा पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । पञ्चकोट क्षेत्रको सुरक्षाका लागि मन्दिर व्यवस्थापनले चौकी निर्माण गरेको भन्दै उक्त भवन पहिराले भत्किएपछि अन्यत्र सार्ने तयारी भइरहेको छ ।
अहिले जिल्ला प्रहरी कार्यालयबाट १० जना र गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट १४ जनाको टोली घटनास्थल पुगेर उद्धार थालिएको प्रउ कँडेलले बताउनुभयो । उक्त चौकीमा पाँच जना प्रहरी जवान बस्दै आएका थिए ।
प्रहरी उपरीक्षक कँडेलले भन्नुभयो, “अहिले पनि ठूलो पानी परिरहेको छ, पहिराले प्रहरी चौकी बगाएपछि यहाँ बस्दै आएका जवानलाई गण्डकी सभाहलमा व्यवस्थापन गरिएको छ । मानवीय क्षति नभए पनि भौतिक क्षति भएको छ ।” पहिराले पञ्चकोटमा निर्मित मन्दिरसहित अन्य संरचनामा क्षति पु¥याएको छ ।
बाढीले जलविद्युत् आयोजनामा क्षति, ४० हजार घरमा सेवा अवरुद्ध
वालिङ (स्याङ्जा), २२ असार I अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण आँधीखोला जलविद्युत् आयोजनामा क्षति हुँदा ४० हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्लाको गल्याङस्थित बुटवल पावर कम्पनी (बिपिसी) को आँधीखोला जलविद्युत आयोजनाको बाँधस्थलमा बाढीले क्षति पु¥याएपछि आज बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।
आँधीखोलाको माथिल्लो भेगमा भारी वर्षा भएसँगै आँधीखोलामा पानीको सतह बढ्न गई पानी सङ्कलन पोखरीमा ढुङ्गा, गिटी, बालुवा भरिएको बिपिसीका प्रमुख डोल खरेलले बताउनुभयो । “खोलामा जल सतह बढिरहेकाले अहिले पानी सङ्कलन गरिएको पोखरी सफा गर्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “खोलामा पानीको सतह घटेपछि पोखरी सफा गरेर मात्रै टनेलमा पानी पठाउँछौँ र विद्युत् सेवा सञ्चालन हुनेछ ।”
गल्याङस्थित आँधीखोलाबाट उत्पादन भएको ९.४ मेगावाट विद्युत् स्याङ्जाको दक्षिणी भेग, पाल्पाको पूर्वी भेगका रामपुर नगरपालिका, रम्भा गाउँपालिका, गुल्मीको केही भेग र पर्वतको केही भेग गरी करिब ४० हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको प्रमुख खरेलले जानकारी दिनुभयो ।
वालिङ–६ स्थित मिर्दी खोलामा आएको बाढीले मिर्दी बजार नजिकै रहेको वितरण लाइनको पोल बगाएको छ । खोला बढेकाले उपकरणसहित मर्मत गर्न जानसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
“बाढी र पहिराका कारण कहाँ के कति क्षति भएको छ भनी खोजी गरिरहेका छौँ”, खरेलले भन्नुभयो, “कार्यालयलाई जानकारी आएका र थाहा पाइएका केही ठाउँमा मर्मत भइसकेका छन् भने केही मर्मत भइरहेका छन् । कतिपय ठाउँमा जलसतह बढी भएकाले मर्मतमा समस्या भइरहेको छ ।”
मर्मतका लागि प्राविधिक र उपकरण तयारी अवस्थामा भएपनि ठाउँठाउँमा सडक अवरुद्ध भएकाले कठिनाइ भइरहेको बिपिसीका प्रमुख खरेलले जानकारी दिनुभयो । विद्युत् सेवा अवरुद्ध हुँदा दैनिक काममा समस्या भइरहेको स्थानीय बताउँछन् ।
खिजीदेम्बाभित्रका विद्यालयमा पत्रुखाना प्रतिबन्ध
ओखलढुङ्गा, २२ असार I यहाँको खिजीदेम्बा गाउँपालिकाले विद्यालयमा पत्रुखाना (जङ्कफुड) प्रतिबन्ध लगाएको छ । विद्यार्थी र शिक्षकले विद्यालयमा पत्रुखाना प्रयोग गर्न थालेपछि गाउँपालिकाले प्रतिबन्ध लगाउने नीति लिएको हो ।
खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले अर्गानिक उत्पादनको प्रयोगलाई बढवा दिन विद्यालय एवं विद्यालय परिसरमा जङ्कफुड प्रयोगमा प्रतिबन्ध लगाउने नीति कार्यान्वयन गर्न लागेको बताउनुभयो । उहाँले आयातीत मदिरा प्रयोगमा निषेध गर्दै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने नीति गाउँपालिकाले लिएको जानकारी दिनुभयो ।
गाउँपालिकाले विद्यार्थीलाई पोषणयुक्त खाजा खुवाउने भएको छ । गाउँपालिकाका चार विद्यालयमा पोषणयुक्त खाजा कार्यक्रम लागू भएको हो । विद्यालय खुल्न छ दिन नै फरकफरक विषयसूची बनाइ गाउँमै उत्पादित अर्गानिक खाजा विद्यार्थीले खान पाउनेछन् । यस वर्षको विद्यार्थी दिवा खाजा कार्यक्रमका लागि पालिकाले रु १५ लाख ३० हजार रकम विनियोजन गरेको छ ।
नर्वदेश्वर मावि रगनी, चण्डेश्वरी मावि पोल्थली, फूलमती मावि खिजीफलाटे र कुण्डली मावि खिजीकातीका सबै विद्यार्थीलाई गाउँमै फलेको अन्नको परिकार बनाएर पोषिलो खाजा खुवाइने छ । कार्यक्रमले शैक्षिक विकास र गुणस्तर सुधारम टेवा पुग्ने र स्थानीय उत्पादनको बजारीकरणका साथै नागरिक स्वस्थ बनाउने अभियान पनि सार्थक हुने गाउँपालिका अध्यक्ष शेर्पाले बताउनुभयो । सुरुआती चरणमा माध्यमिक तह सञ्चालित विद्यालयमा कार्यक्रम सञ्चालन हुने र क्रमशः सबै विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गर्ने नीति लिएको उहाँले जानकारी दिनुभयो ।
विद्यालयमा दिवा खाजासँगै छात्रवृत्ति वितरण सुरुआत पनि गरिएको छ । पहिलो चरणमा पाँच माध्यमिक तह सञ्चालित विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण थालिएको हो ।
पालिकाभित्र माध्यमिक तह सञ्चालित सातमध्ये पाँच वटा विद्यालयका २४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको संस्थाका अध्यक्ष साङडोमा शेर्पाले बताउनुभयो । अध्यक्ष शेर्पाका अनुसार छात्रवृत्तिवापतको ५० प्रतिशत रकम विद्यार्थीले तत्कालै सदुपयोग गर्न पाउने गरी हातमा र ५० प्रतिशत उनीहरुको भविष्यप्रति मध्यनजर राखिँदै विद्यालयको खातामा जम्मा गरिएको छ ।
गुल्मीमा पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार
गुल्मी, २२ असार I जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी महिलालाई जीबितै उद्धार गरिएको छ ।
घर माथिबाट अचानक पहिरो जाँदा पुरिएकी रुरुक्षेत्र -३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो । उहाँले घाइते विकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लागिएको बताउनुभयो ।
उपत्यकाका नदीमा बहाव बढेपछि करिडोरमा प्रहरी गस्ती
काठमाडौँ, २२ असार I अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकाय सतर्कतामा छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ ।”
उहाँले वाग्मती, विष्णुमती, मनहरा, हमुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म उपत्यकामा विपद्जन्य घटना नभएको पनि जानकारी दिनुभयो । तीनवटै जिल्लाका सुरक्षाकर्मीलाई परिचालनका लागि तयारी हालतमा राखिएको पनि प्रवक्ता मैनालीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो बेलामा घटना भइहाल्न सक्छन्, त्यसलाई ध्यानमा राखेर टोली तयारी अवस्थामा छन्, कतैबाट सूचना आउनेवित्तिकै परिचालन हुन्छन् ।” वर्षाका कारण आज देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ । कतै डुबान, कतै बाढी त कतै पहिराले प्रभावित पारेर प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
एमाले संसदीय दलको बैठक आइतबार
काठमाडौँ, २२ असार I नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक आइतबार बिहान १० बजे संसद् भवनमा बस्ने एमालेका प्रमुख सचेतक महेश वर्तौलाले बताउनुभयो ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच हालै सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको उहाँले बताउनुभयो ।
भोटेकोशीको ढलानमा पुरिएका मजदुरको शव फेला
चौतारा (सिन्धुपाल्चोक), २२ असार I सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको ढलान खसेर पुरिएका दुई मजदुरको शव फेला परेको छ । गए राति उद्धारकार्य थालिए पनि आज बिहान ४ बजे दुवै मजदुर मृत भेटिएकाहुन् ।
आयोजनाको डिसेन्डर कभर स्ल्याबमा च्यापिएर ज्यान गुमाउनेमा बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारु रहेका छन् । उनीहरुको शव परीक्षणका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । ढलानको संरचनाभन्दा तल्लो भागमा उनीहरू पुरिएकाले समयमै उद्धार गर्न नसकिएको उहाँ बताउनुहुन्छ ।
उक्त दुर्घटनामा ११ जना घाइते भएका थिए । गत वर्षको साउन महिनादेखि निर्माण सुरु गरिएको भोटेकोशी–१ जलविद्युत्को सुरुङभन्दा माथि मजदुर काम गरिरहेको समयमा एक्कासि स्ल्याब भत्किएको थियो । एघार जनाको तत्काल उद्धार गरिएको थियो । उनीहरु सबै घाइते छन् । उनीहरुको बाह्रबिसेस्थित किस्टोन र बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई धुलिखेल लगिएको छ ।