शुक्रबार, १२ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J0CXSR414CTQXXTDMC1YHXZ5.jpg

७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण

काठमाडौँ, १ असार: डेङ्गु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   
  
मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको सङ्क्रमण बढेको बताउनुभयो ।   
  
उहाँले गर्मीमा मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको बताउनुभयो । “गर्मीमा पानी सङ्कलन गरेर राख्ने गरिन्छ । त्यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ”, उहाँले भन्नुभयो ।   
  
उहाँका अनुसार ७१ जिल्लामा एक हजार एक सय ३० जनामा सङ्क्रमणमा देखिएको छ । गत वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनालाई डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो । उहाँका अनुसार कोशी प्रदेशमा दुई सय ७२, मधेस प्रदेशमा ३०, बागमती प्रदेशमा तीन सय ९०, गण्डकी प्रदेशमा एक सय ७५, लुम्बिनी प्रदेशमा एक सय ३२, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा एक सय १५ जनामा सङ्क्रमण देखिएको छ ।   
  
उपत्यकामा एक सय ५९ जनामा सङ्क्रमण   
  
काठमाडौँमा एक सय १४ जना, भक्तपुरमा २७ जना र ललिपतुरमा १८ जनामा सङ्क्रमण देखिएको छ । डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कने र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ ।   
  
डेङ्गु सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन् । लामखुट्टेबाट बच्नका लागि सधँै झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ ।   
  
यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरी गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिन हुँदैन ।  

प्रकाशित मितिः शनिबार, ०१ असार २०८१
https://jawaaf.com/storage/01J0BXCT82TSHDQK9PP85Q6ZHT.jpg

क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या

बारा, ३२ जेठ I अज्ञात समूहको गोली प्रहारबाट कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको मृत्यु भएको छ । अज्ञान समूहले गोली हानेर कुशवाहाको हत्या गरेको जिलला प्रहरी कार्यालयका बाराका  प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो । 

आदर्शकोतवाल गाउँपालिका–२ खजुरियास्थित पुख्र्यौली घरबाट मोटरसाइकलमा कलैया फर्कने क्रममा आदर्शकोतवाल गाउँपालिका–३ बतरा गाउँको दक्षिणमा रहेका लंगहासन माई मन्दिर अगाडि कुशवाहामाथि गोली प्रहार भएको थियो । 

दुई वटा मोटरसाइकलमा आएका चार जना सवार अपराधीले कुशवाहाको बाटो छेकी पिँठ्यूमा एक राउण्ड गोली प्रहार गरी भागेका थिए । गोली लागि गम्भीर घाइते भएका कुशवाहाको उपचारका क्रममा वीरगञ्जस्थित ब्योधा अस्पताल आज साँझ ७ः१५ बजे आसपासमा मृत्यु भएको प्रहरी प्रवक्ता न्यौपानेले भन्नुभयो । 

घटनामा संलग्न भएको आशङ्कामा दुई स्थानीयलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता न्यौपानेले भन्नुभयो । अहिले सो क्षेत्रमा ब्यापक प्रहरी परिचालन गरी अपराधीलाई खोजतलास भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मितिः शुक्रबार, ३२ जेठ २०८१
https://jawaaf.com/storage/01J0BM314ERPY677QZ8R66ZSKS.jpg

सङ्खुवासभाको सिसुवा पहिरो विस्थापितका घर निर्माण हुँदै

खाँदबारी, ३२ जेठ I सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा र चेप्चेवाको पहिरोबाट विस्थापितहरूका लागि चार वर्षपछि घर निर्माण गर्न थालिएको छ ।  
विसं २०७७ असार २७ गते मध्यरातमा गएको पहिरामा पुरिएर बेसिन्दा गाउँका ११ जनाले ज्यान गुमाएका थिए भने दर्जनौँ घरमा क्षति पुग्यो । पहिरोबाट बेसिन्दा र चेप्चेवा गाउँ त विस्थापित नै भएको थियो । 

विस्थापितलाई सिलिचोङ १ को चित्रे, बखल्टुम र खाँदबारी नगरपालिका–७ मा पुनःवासका लागि घर बनाउने निर्णय भएको थियो । विस्थापित भएको चार वर्षपछि यसपटक भने खाँदबारी नगरपालिकाको समन्वयमा सोही वडाको भैरेडाँडामा ५५ परिवारका लागि घर निर्माण सुरू गरिएको नगरप्रमुख महेश थपलियाले जानकारी दिनुभयो । त्यसका लागि रु एक करोड ३० लाखमा जग्गा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । 

यसैगरी २५ परिवारलाई सिलिचोङ–१ को चित्रेडाँडा र चेप्चेवाका १२ घरलाई बखल्टुममा गरी ३७ परिवारका लागि घर निर्माण भइरहेका छन् । चित्रेमा रु ७० लाखमा साढे ५१ रोपनी र बखल्टुममा रु ३४ लाखमा साढे १७ रोपनी जग्गा खरिद गरी पहिरो विस्थापितका नाममा संयुक्त रजिस्ट्रेशन पास भइसकेको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले बताउनुभयो । 

पहिरोलगतै तत्कालीन गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङको संयोजकत्वमा अस्थायी पुनःवास तथा राहत सङ्कलन समितिले विभिन्न सङ्घ संस्थाको पहलमा रु ७९ लाख ८७ हजार ५ सय ८५ नगद र जिन्सी सङ्कलन गरेको थियो । उक्त रकम दुई तहमा वर्गीकरण गरेर वितरण गरिएको पालिका अध्यक्ष मेवाहाङले बताउनुभयो । उहाँले दिएको जानकारीअनुसार क वर्गका १० घर परिवारलाई प्रतिघर रु एक लाख र बाँकी ८२ परिवारलाई शौचालय निर्माणका लागि प्रतिघर रु ६४ हजार नौ सय ७७ का दरले उपलब्ध गराइएको थियो । 

पहिरो गए लगत्तै विस्थापितलाई अस्थायी बासस्थानका लागि राखिएको चित्रे गाउँको सरसफाइका लागि रु ३५ हजार यही कोषबाट दिइएको थियो । यसबाहेकका रु ६९ लाख ५२ हजार पाँच सय ५० बेसिन्दा र चेप्चेवाका विस्थापितलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । 

प्रकाशित मितिः शुक्रबार, ३२ जेठ २०८१
https://jawaaf.com/storage/01J0BJ1W4QWVKZVWTTZA0JZMTZ.png

कोशी प्रदेश सरकारको बजेट सिलिङ रु ३५ अर्ब १७ करोड ३४ लाख

मोरङ, ३२ जेठ I कोशी प्रदेश योजना आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश सरकारलाई रु ३५ अर्ब १७ करोड ३४ लाख बजेटको सिलिङ तोकेको छ ।

आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीले दोस्रो आवधिक योजनाअन्तर्गत पहिलो वर्षका लागि उक्त सिलिङ तोकिएको जानकारी दिनुभयो । उहाँले  गत वर्ष रु चार अर्ब ५८ करोड राजस्व सङ्कलन भएकामा यस वर्ष हालसम्म रु चार अर्ब ५७ लाख मात्र राजस्व सङ्कलन भएको बताउनुभयो ।

उपाध्यक्ष अधिकारीले सरकारको आगामी आवको बजेटको प्राथमिकीकरणमा कृषि उत्पादन वृद्धि, पर्यटन प्रवद्र्धन, वैदेशिक रोजगारी निरुत्साहित, औद्योगिक उत्पादन वृद्धिका लागि लगानीको व्यवस्था, प्राविधिक शिक्षा, स्वास्थ्य उपचारलगायत रहेको जानकारी दिनुभयो । प्रदेश सरकारले भोलि असार १ गते प्रस्तुत गर्ने बजेटमा कृषि उत्पादन तथा उद्यमशीलताका लागि ब्याज अनुदान दिने र आधुनिक कृषि औजार खरिदमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको उहाँको भनाइ छ ।

वैदेशिक रोजगारीबाट फर्केका युवायुवतीलाई स्वदेशमा रोजगारी उपलब्ध गराउन कृषि तथा सेवा उद्योग स्थापनामा ब्याज अनुदान दिने व्यवस्था गरेको छ । पहाडी तथा हिमाली भेगका विद्यालहरुमा प्राविधिक शिक्षाका लागि सामुदायिक विद्यालयलाई विशेष अनुदान दिने, हिमाली तथा पहाडी जिल्लाका अस्पतालहरुलाई सुविधा सम्पत्र बनाउन आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र उपकरकणको व्यवस्था गरी उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गरिने विषय आगामी बजेटमा प्राथमिकता राख्ने बताइएको छ ।

प्रदेशको भौतिक विकास सडक, भवन, सञ्चार, विद्युत्, पानी र सरसफाइका क्षेत्रमा लगानी वृद्धि गर्दै जाने र सार्वजनिक सेवालाई नागरिक मैत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेशमा उपलब्ध खनिज पदार्थको आवश्यक अनुसन्धान गर्नाका साथै उत्खननमा जोड दिइने भनिएको छ । गाँजाखेतीलाई वैधानिकता दिने सम्बन्ध विभित्र कानुनी बाधा अड्चनलाई फुकाउने कार्य गर्ने र यसलाई उच्च मूल्यको बालीका रुपमा ‘ब्रान्डिङ’ गर्दै जाने कोशी प्रदेश सरकारको नीति रहेको छ । 

पहाडबाट तराईमा हुने बसाइँसराइ रोक्न र तराईका नागरिकलाई पहाडतर्फ आकर्षित गर्न नागरिक आवास अनुदान, निःशुल्क शिक्षा कार्यक्रम लागू गर्ने सरकारको नीतिमा उल्लेख छ । प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेखित कार्यहरु यसै वर्ष पूरा गरिने छभने आवधिक योजनाका कार्यहरु आगामी पाँच वर्षभित्र पूरा गर्ने आयोगका उपाध्यक्ष डा अधिकारीले बताउनुभयो । 

सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतबाट पारित भइसकेको छ । बजेटको आकार विगतभन्दा केही कम भए पनि आम नागरिकको चाहना र आवश्यकता पूर्ति गर्नमा फलदायी हुने विश्वास लिइएको छ ।

प्रकाशित मितिः शुक्रबार, ३२ जेठ २०८१
https://jawaaf.com/storage/01J0BC2SNKE48JPT76ANS6SMG3.jpg

पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ, मनोनयन प्रणाली अन्त्य गर्छौँ: प्रधानमन्त्री

काठमाडौँ, ३२ जेठ I नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रको विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले आगामी दिनमा पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्ने र मनोनयन प्रथा अन्त्य गरिने बताउनुभएको छ ।   
 
अनेरास्ववियू (क्रान्तिकारी)को चौथो पूर्ण बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले पार्टीका सबै निकायमा निर्वाचन प्रणाली लागू गरिने बताउनुभयो । “विधान अधिवेशनबाट पार्टीमा प्रत्यक्ष निर्वाचन गर्ने निर्णय गरिएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “मनोनयन गर्ने प्रथा अब रहँदैन, विद्यार्थीमा पनि प्रत्यक्ष निर्वाचन हुन्छ ।” उहाँले नेपालका कम्युनिस्टहरू एकताबद्ध गर्नुपर्नेमा जोड दिँदै उहाँले एकीकृत पार्टीको नेतृत्व आफू नेतृत्वको पार्टीले गर्न सक्नुपर्ने बताउनुभयो ।   
 
“हामी कमजोर छैनौँ, पार्टीको जनमत बढ्दैछ । पार्टी क्रमशः बलियो हुँदै गएको छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “हामी एकताबद्ध हुँदा धेरै कुरा जित्न सकिन्छ, त्यसैले उच्च मनोबलका साथ जनतासँग एकाकार भएर काम गर्नु हाम्रो जिम्मेवारी हो ।”   
 
पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रस्तुति निकै शक्तिशाली भएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय मञ्चबाट नेपालले विश्वलाई शक्तिशाली सन्देश दिएको बताउनुभयो ।   
 
माओवादी निर्णायक शक्ति भएर अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कतिलाई लाग्छ– माओवादीले आफ्नो स्वतन्त्र अस्तित्व गुमाउँछ कि ! तर यथार्थ त्यस्तो हुँदैन, हेर्दै जानुहोला– माओवादी नै निर्णायक हुन्छ । हामी नै राजनीतिको केन्द्रमा रहन्छौँ ।”   
 
आज पनि विचार र राजनीतिमा माओवादी श्रेष्ठ रहेको बताउँदै माओवादी अध्यक्ष दाहालले माओवादी नेतृत्वप्रति जनताको भरोसा छ भन्नुभयो । उहाँले थप भन्नुभयो, “माओवादीलाई अपदस्त गर्न सकिन्छ, घेरा हाल्न सकिन्छ भन्ने लागेको होला, त्यो सम्भव छैन । अहिले पनि नेतृत्व हाम्रो नै छ ।”   
 
सामाजिक सञ्जालमा धेरैखालका सामग्री आउने र त्यसमध्ये कतिपय भ्रामक हुने गरेको उल्लेख गर्दै तथ्यमा आधारित भएर उच्च मनोवलका साथ काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “तथ्यगत रूपमा हामी नै देशको नेतृत्वमा छौँ ।” उहाँले उच्च मनोवलका साथ एकताबद्ध भएर अगाडि बढेमा आगामी निर्वाचनमा अखिल (क्रान्तिकारी) पहिलो हुने विश्वास व्यक्त गर्नुभयो । 

प्रकाशित मितिः शुक्रबार, ३२ जेठ २०८१
https://jawaaf.com/storage/01J0BA0H37FVNSZMQP060MPXAZ.jpg

अमेरिका–युक्रेन सुरक्षा सम्झौता केवल ’कागजको टुक्रा’ रहेको रुसको दाबी

मस्को, ३२ जेठ  I रुसी विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार जी–७  शिखर सम्मेलनमा घोषणा गरिएको अमेरिका–युक्रेन सुरक्षा सम्झौतालाई ’केवल कागजको टुक्रा’ रहेको बताउनुभएको छ ।  
“यी सम्झौताहरूको कानुनी कार्यान्वयन छैन र यो केवल एक कागजको टुक्रा मात्र हो“, रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले बताउनुभयो । 
युक्रेनले बिहीबार अमेरिका र जापानसँग सुरक्षा सम्झौताहरूमा हस्ताक्षर गरेको थियो  जुन बेलायत र फ्रान्सलगायत यसका पश्चिमी सहयोगीहरूसँग गरिएको सम्झौताको पछिल्लो श्रृङ्खला हो । 
सम्झौतामा रुसी सैन्य आक्रमण विरुद्ध युक्रेनलाई लामो समयसम्म सैन्य र आर्थिक सहयोग जारी राख्ने प्रतिवद्धता समावेश रहेको छ । 
जाखारोभाका अनुसार सम्झौताको मुख्य उद्देश्य “युक्रेनमा रहेका नागरिकहरूलाई विश्व समुदाय अझै पनि उनीहरूको साथमा छ भन्ने देखाउनु मात्र हो। वास्तवमा, यी सबै देश युक्रेनको भविष्यका लागि कानुनी जिम्मेवारीबाट टाढा रहन्छन्“, उहाँले बताउनुभयो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वासिङ्टनसँग हस्ताक्षर गरिएको १० वर्षे सम्झौता आफ्नो देशका लागि नेटो सदस्यता प्राप्त गर्ने पुल भएको बिहीबार बताउनुभयो ।(रासस / एएफपी)

प्रकाशित मितिः शुक्रबार, ३२ जेठ २०८१
https://jawaaf.com/storage/01J0B7Y870D6DDDHXV2N47R4A5.jpg

नीति तथा कार्यक्रमबाटै हट्यो सुरुङमार्गको योजना

गण्डकी, ३२ जेठ I चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पाँच सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा भने त्यसलाई समेटेको छैन । मङ्गलबार सार्वजनिक नीति तथा कार्यक्रममा सुरुङमार्गबारे केही उल्लेख छैन । 

प्रदेश सरकारले चालु आवमा तनहुँको भिमाददेखि नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास, बागलुङको बिहुँ–नरेठाँटी, म्याग्दीको दानादेखि मुस्ताङको घाँसा र लमजुङको शितलपाटी–नाल्फाफेँदी सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको थियो । आवको अन्त्यसम्ममा पनि सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम अगाडि नबढेका बेला प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रमबाटै सो योजना हटाएको हो । प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने भनिएका पाँच सुरुङमार्गमध्ये बागलुङको बिहुँ–नरेठाँटी सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि यसअघि सङ्घ सरकारबाट बजेट परेर पनि कार्यान्वयन हुन सकेको छैन । 

वर्षौंदेखि चर्चामा रहेको उक्त सुरुङमार्गको सम्भाव्यता अध्ययन हुन नसकिरहेका बेला प्रदेश सरकारले थप चार स्थानमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको थियो । प्रदेश सरकारको नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले सुरुङमार्ग गत वर्ष नै नीति तथा कार्यक्रममा परेकाले यो वर्ष समावेश नगरिएको बताउनुभयो । 

“विकास साझेदारसँगको सहकार्यमा सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययनलगायतका काम अगाडि बढाउने योजनामा प्रदेश सरकार छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारको स्रोतले मात्र सुरुङमार्गको योजना कार्यान्वयन गर्न सम्भव देखिँदैन, यसमा सङ्घ सरकार र विकास साझेदार निकायको सहयोग चाहिन्छ ।” 

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने बिहुँ–नरेठाँटी सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत आवमा रु ५० लाख छुट्टाएको थियो । अध्ययनको काम अगाडि नबढेपछि उक्त बजेट ‘फ्रिज’ भएको बागलुङ–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले जानकारी दिनुभयो । काठेखोला गाउँपालिका–५ बिहुँदेखि गलकोट नगरपालिका–२ नरेठाँटी जोड्ने उक्त सुरुङमार्ग बनेमा लोकमार्गमा घन्टौँ लाग्ने यात्रा केही मिनेटमा छोटिने उहाँको भनाइ छ । पर्यटक तथा सर्वसाधारणको आउजाउदेखि त्यस क्षेत्रको आर्थिक-सामाजिक विकासमा उक्त सुरुङ मार्गले महत्वपूर्ण टेवा पुग्ने सांसद पौडेलले बताउनुभयो ।

“रातो किताबमै परेको आयोजना हो, अहिलेसम्म अध्ययनको काम अगाडि बढ्नुपर्ने हो, तर मन्त्रालयले बजेटको समस्या देखाउने गरेको छ”, उहाँले भन्नुभयो, “यसमा हामीले  सुरुदेखि नै पहल गरिरहेका छौँ ।” सङ्घीय सरकारको प्राथमिकतामा परेको कास्कीको हेम्जा–नयाँपुल सुरुङमार्गको पनि अझै विस्तृत सम्भाव्यता अध्ययन हुन सकेको छैन । पोखरा–बागलुङ राजमार्गमा पर्ने उक्त सुरुङमार्ग बनेमा डेढ घण्टाको सडक मार्ग १५ मिनेटमा समेटिनेछ । अहिले हेम्जा–नयाँपुलको दूरी ४० किमि छ । सुरुङमार्गले त्यसलाई सातदेखि आठ किमिमा घटाउने अनुमान गरिएको छ । यसले प्रदेश राजधानी पोखरालाई पर्वतसहित धौलागिरिका चारै जिल्लालाई जोड्छ । 

उक्त सुरुङमार्ग अध्ययनका लागि सङ्घ सरकारले गत आवमा रु एक करोड ५० लाख छुट्टाएको थियो । सुरुङमार्ग अध्ययनका लागि परामर्शदाता कम्पनीसमेत छनोट भइसकेको विभागले जनाएको छ । घुमाउरा सडक भएका पहाडी भूगोलमा सुरुङ मार्ग निर्माण गर्ने सङ्घीय सरकारको नीतिलाई प्रदेशले पनि पछ्याएको हो । सडक विभागले ‘सुरुङमार्ग विकास कार्यक्रम’मार्फत सुरुङमार्गको निर्माण र सम्भाव्यता अध्ययनको काम गर्दै आएको छ ।

प्रकाशित मितिः शुक्रबार, ३२ जेठ २०८१
https://jawaaf.com/storage/01J0B1CEEP0MS5K2ZRYBGCP58Z.jpg

ताप्लेजुङ पहिरो अपडेटः मृतकलाई सुरक्षित स्थानमा ल्याइयो

फुङ्लिङ (ताप्लेजुङ), ३२ जेठ I ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा तिङ्दुमा गाउँमा गएराति गएको पहिरोमा परी मृत्यु हुनेलाई सुरक्षित स्थानमा ल्याइएको छ । नेपाल प्रहरी र स्थानीयले पहिरोले पुरिएर मृत्यु भएकालाई सुरक्षित स्थानमा ल्याएको हो ।     
      
पहिरोमा पुरिएर फक्ताङलुङ–२ का ७० वर्षीय रामबहादुर साम्रा, ५१ वर्षीया जसमाया लिबाङ साम्रा, १० वर्षीया जुम्लिया गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो । घाइते ४० वर्षीय का युगेन लिम्बू र उहाँका ३ वर्षीया छोरीलाई सिंवालाई स्वास्थ्य चौकीमा सामान्य उपाचारपछि थप उपचारका लागि जिल्ला अस्तालमा पठाइएको छ ।     
      
फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष विकास साम्राका बुबाआमा र दुई जुम्लिया बहिनीको पहिरोले पुरिएर मृत्यु भएको प्रहरी निरीक्षक लुङ्गेलीले बताउनुभयो ।     
      
घरमा सुतिरहेका अवस्थितमा गएराति करिब १ः३० बजेको समयमा घर माथिबाट आएको पहिरोले घरसँगै एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । फक्ताङलुङ–२ वडाध्यक्षका अनुसार मृत्यु भएकालाई पहिरोबाट सुरक्षित स्थानमा निकालिएको छ ।     
      
थप उद्धार गर्न फुङलिङ नगरपालिका–१० मित्लुङ हाइड्रोपावर सुरक्षाका लागि नेपाली सेनाको सुरक्षा बेस टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लुङ्गेलीको टोली खटिएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।     
      
ढुङ्गा माटोले बनेको टिनको छानो भएको दुई तलेघर माथिबाट झरेको पहिरोले घर पुरेपछि सुतेको अवस्थामा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुने मानिसका साथै चौपाया पनि निकाली सुरक्षित स्थानमा राखिएको छ ।     
      
बुधबार राति आएको वर्षासँगैको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रका छ वटा स्थायी मोटर पुल बगाएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।     
   

प्रकाशित मितिः शुक्रबार, ३२ जेठ २०८१
https://jawaaf.com/storage/01J0B11A9ZMBF0RAYS97DG411D.jpg

साढे दुई कट्ठामा १४ क्विन्टल धान उत्पादन

नवलपुर, ३२ जेठ I नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का किसानले दुई कट्ठा १० धुर जमिनमा १४ क्विन्टल धान उत्पादन गरेका छन् । भेडाबारीका ६८ वर्षीय किसान प्रमोद न्यौपानेले यस वर्ष चैते धान १४ क्विन्टल उत्पादन गर्नुभएको हो ।     
     
सामान्यतया प्रतिकट्ठा दुई क्विन्टलसम्म धान उत्पादन हुने यस क्षेत्रमा उहाँले प्रतिकट्ठा करिब छ क्विन्टल धान उत्पादन गर्नुभएको हो । “गत वर्षहरुमा पनि राम्रै धान उत्पादन हुने गरेको थियो”, उहाँले भन्नुभयो, “तर, यस वर्ष सोचेकोभन्दा बढी उत्पादन भएको हो ।” आफ्नो तीन कट्ठामात्रै खेत भएको उल्लेख गर्दै पराजुलीले दुई कट्ठामा धान र बाँकी रहेको १० धुर जमिनमा तरकारी लगाएको बताउनुभयो ।     
     
“घरमा हामी बूढाबूढीमात्रै छौँ, तीनवटा भैँसी र एउटा गाई पालेका छौँ”, उहाँले भन्नुभयो, “गाई भैँसीको मल बिक्री गर्दैनौँ, सबै खेतमा नै हाल्छौँ । त्यसैले हाम्रो उत्पादन बढी हुने गरेको छ ।” उहाँले आफ्नो जमिनमा तीन खेती गर्ने गरेको उल्लेख गर्दै बर्खे धान, तोरी र चैतधान उत्पादन गर्दै आएको बताउनुभयो । “यसपटक चैते पाँच नाम गरेको धान लगाएको थिएँ, खेतीबालीको राम्रो हेरचाह गर्दा उत्पादन राम्रो हुन्छ” उहाँले भन्नुभयो, “धानमा सिँचाइ गर्नका लागि खेतको नजिकै बोरिङ छ, आवश्यक मात्रामा मलजल दिइरहेको हुन्छु ।”     
     
गैँडाकोट–११ को यस क्षेत्रलाई सरकारले धानको ब्लक घोषणा गरेर अनुदानसमेत दिँदै आइरहेको छ । “अरुको भन्दा राम्रो धान उत्पादन हुँदा सन्तुष्ट छौँ तर किसानले उत्पादनको मूल्य आफैँले तोक्न नपाउँदा दुःख लाग्छ”, उहाँले भन्नुभयो, “धान काटेकै दिनमा थ्रेस लगाएर मिलमा लगेर बिक्री गरेँ, प्रतिक्विन्टल रु तीन हजार दुई सयका दरले मूल्य पाएँ ।” मेहनत गरेर कृषि गर्दा उत्पादित वस्तुको मूल्य आफूहरुले निर्धारण गर्ने व्यवस्था भएमा किसानलाई खुसी मिल्ने न्यौपानेको भनाइ छ ।     
     
किसानले खेती गर्दा मलबीउको अभावसँगै विषादीको समस्या पनि आउने गरेको उहाँले बताउनुभयो । “किसानले एग्रोभेटमा गएर जथाभावी औषधि किनेर खेतीमा प्रयोग गर्छन्”, उहाँले भन्नुभयो, “यसमा सरकारले निगरानी नै गरेको छैन, जसले गर्दा माटोसँगै मानव स्वास्थ्यमा पनि नराम्रो असर पर्दैछ ।”     

प्रकाशित मितिः शुक्रबार, ३२ जेठ २०८१
https://jawaaf.com/storage/01J0AXGMDSG5VVZMR43GMFNEH5.jpg

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय पर्यटन मेला सुरु

काठमाडौँ, ३२ जेठ I नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डमा आज देखि अन्तर्राष्ट्रिय पर्यटन मेला सुरु भएको छ । आज एक कार्यक्रमका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बीच उद्घाटन गर्दै नेपालको पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्न मेला उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस वर्ष पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गरी कम्तीमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा गर्न मन्त्रालय प्रतिबद्धताका साथ लागेको उल्लेख गर्नुभयो ।     
     
सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएकामा सन् २०२४ मा कम्तीमा १६ लाख भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको पर्यटनमन्त्री तामाङले जानकारी दिनुभयो । पर्यटन क्षेत्रमा पहिले लगाउँदै आइएको हवाई टिकटमा भ्याट र अन्य केही अनावश्यक कर हटाउने काम भइरहेको जनाउँदै उहाँले पर्यटन प्रवर्द्धनका लागि विद्यमान समस्या बजेट पास हुनुअघिनै समाधान गरिने प्रस्ट पार्नुभयो ।     
     
पर्यटनमन्त्री तामाङले पर्यटन क्षेत्रले ब्यहोरिरहेको समस्या समाधान गर्न, यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि विभिन्न करहरु हटाउने कुरामा सरकारले पहल गरिरहेको भन्दै यसबारे यथाशीघ्र सम्बोधन गरिने बताउनुभयो । विश्व पर्यटन बजारमा सूचीमा नेपाल घुम्नैपर्ने गन्तव्य भएकाले पर्यटकीय सम्भावना भएका क्षेत्रमा पूर्वाधार निर्माणलगायत काम सरकारले सुरु गरिसकेको जानकारी दिनुभयो ।     
     
पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्धतर्फ लैजाने आधार तयार पार्ने हुँदा यस क्षेत्रमा काम गर्दै आइरहेका सङ्संस्थासँग सहकार्य गरेर सरकारले काम गर्ने लक्ष्य लिएको मन्त्री तामाङले उल्लेख गर्नुभयो ।     
     
अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल, भारत, कोरिया, ताइवान, सिङ्गापुर, माल्दिभ्स, अमेरिका, नेदरल्याण्ड्स, श्रीलङ्का, चीन, थाइल्याण्ड, दुबई, बङ्गलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी छन् । मेलामा रु एक करोडभन्दा बढी खर्च हुने आयोजक समिट इभेन्ट्स मार्केट्सले जनाएको छ ।     
     
समिट इभेन्ट्स मार्केट्सका प्रबन्ध निर्देशक एवं मेलाका संयोजक विष्णु पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म जोड्न मेलाको आयोजना गरिएको बताउनुभयो । नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाको मुख्य सहयोग रहेको उक्त मेलामा एक हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।     
     
मेलाले विभिन्न देशका पर्यटन व्यवसायीलाई एकै ठाउँमा ल्याउने र यसबाट नेपालले अन्तर्राष्ट्रियरुपमा पर्यटन प्रवर्द्धन गर्न नयाँ अवसर सिर्जना गर्ने विश्वास लिइएको आयोजकले जनाएको छ । भृकुटीमण्डपमा आयोजित मेलामा १६ देशका एक सय ५५ पर्यटन व्यवसायीको सहभागिता रहेको छ । मेला भोलिसम्म सञ्चालन हुनेछ ।     
 

प्रकाशित मितिः शुक्रबार, ३२ जेठ २०८१