सातै प्रदेशका सरकारको बजेट आज सार्वजनिक हुँदै
काठमाडौँ, १ असार I संवैधानिक व्यवस्थाअनुसार आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् ।
चालु आवका लागि सात प्रदेशले रु तीन खर्ब बराबरको बजेट ल्याएका थिए । प्रदेशका आर्थिक मामिला मन्त्रालयले आज बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । चालु आवमा सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेशले रु ६२ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो । मधेस प्रदेशले रु ४४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो ।
कोशी प्रदेशले रु ३६ अर्ब २४ करोड ३५ लाख, लुम्बिनी प्रदेशले रु ४० अर्ब ४७ करोड ९७ लाख, गण्डकी प्रदेशले रु ३३ अर्ब ४२ करोड ७२ लाख, सुदूरपश्चिम प्रदेशले रु २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट प्रस्तुत गरेका थिए ।
सङ्घीय सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदान प्रदेशका लागि रु ६० अर्ब उपलब्ध गराउने भएको छ । सशर्त अनुदान प्रदेशका लागि रु २५ अर्ब ८४ करोड, पूर्वाधारका आयोजना कार्यान्वयनका लागि समपूरक अनुदान रु छ अर्ब २० करोड उपलब्ध गराउने छ ।
सङ्घीय सरकारले हरेक वर्ष जेठ १५ गते अर्को आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । यस्तै प्रदेश सरकारले असार १ गते र स्थानीय तहको बजेट असार १० गते सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
यसैबीच, बागमती प्रदेश सरकारले आज अपराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले रु ६० अर्ब बराबरको बजेट प्रस्तुत गर्नुहुने भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारको आयस्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण गरिएको छ । आर्थिक तरलता, न्यून आन्तरिक आय र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान रकम कटौती भएकाले चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी भएको मन्त्री थपलियाले राससलाई बताउनुभयो । उहाँका अनुसार आगामी आर्थिक वर्षको बजेटले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता दिनेछ । वाग्मती प्रदेश सरकारले चालु आवका लागि रु ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार बजेट ल्याएको थियो ।
बारबर्दिया नगरपालिकाका विद्यालयमा थारु भाषाका पाठ्यक्रम पनि पढाइने
गुलरिया (बर्दिया), १ असार I बर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालित विद्यालयमा थारू भाषामा पठनपाठन हुने भएको छ । यसका लागि नगरपालिकाले पाठ्यक्रम तयार पारिसकेको जनाएको छ ।
थारु भाषामा तयार उक्त पाठ्यक्रम पहिलो चरणमा कक्षा १ देखि ३ सम्म अध्यापन हुने जनाइएको छ ।
पाठ्यक्रमले बालबालिकाका लागि मातृभाषामा सुन्न, बोल्न र लेख्ने सीपको विकास गर्ने अपेक्षा गरिएको छ । थारू भाषालाई दिगो बनाई थप फराकिलो बनाउँदै थारू भाषाको संरक्षण, प्रवद्र्धन र विकासमा टेवा पु¥याउनेलगायत उद्देश्यले अध्यापन गराउन लागिएको जनाइएको छ ।
यसअघि पनि नगरपालिकाका केही विद्यालय थारु भाषामा पठनपाठन सुरु गरेपछि निरन्तरता पाउन सकेको थिएन । यसअघिको पाठ्यक्रममा देखिएको कमजोरीलाई सुधार गरी नयाँ पाठ्यक्रम तयार पारिएको नगरप्रमुख छविलाल थारुले बताउनुभयो । उहाँले पहिलो चरणमा कक्षा १ देखि ३ सम्म र दोस्रो चरणमा कक्षा ८ सम्म पाठ्यक्रम अध्यापन गराउने तयारी छ ।
बारबर्दिया नगरपालिकामा ९५ प्रतिशत विद्यार्थी थारु भाषा बोल्न जान्ने भएकाले उनीहरुलाई पठनपाठन गराउन सजिलो हुने नगरपालिकाका उपप्रमुख रत्नकुमारी पाण्डेले बताउनुभयो ।
‘पार्टीको नीतिगत स्पष्टताका लागि काम सुरु गरौ’
काठमाडौँ, १ असार I राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले पार्टी नीतिगत रुपमा स्पष्ट भएर अघि बढनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आज यहाँ आयोजित चियापन समारोहमा उहाँले पार्टीको जलेश्वर घोषणाका विषयहरु नीतिगत रुपमा लिपिबद्ध गर्ने काम सुरु गर्न पार्टीलाई सुझाब दिनुभएको हो । गत मङ्सिर जलेश्वरमा पार्टीको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले राजनीतिक प्रतिवेदन सार्वजनिक गरेको थियो । सोही अनुसार नीतिगत स्पष्टताका लागि नेता श्रेष्ठले जोड दिनुभएको हो ।
“जलेश्वर घोषणापत्रपछि पार्टीका नीतिगत रुपमा स्पष्ट हुनुपर्छ । पार्टी अब लहडका भरमा मात्र चलाएर हुँदैन”, उहाँले भन्नुभयो, “ पार्टीको विचार र नीति स्पष्ट रुपमा पार्टीकै जिम्मेवार सदस्यहरु र आमनागरिकलाई बुझाउनुपर्ने बेला भैसकेको छ ।”
पार्टी स्थापनाका अवसरमा शुभकामना आदानप्रदान गर्दै मन्त्री श्रेष्ठले शासकीय बेथितिको अन्त्य गर्न रास्वपा प्रयासरत रहेको समेत बताउनुभयो । सत्ता साझेदार दलहरुसँगै आफूहरुले पनि समीक्षा र पुनरावलोकन गर्नपर्ने उहाँको भनाइ थियो ।
“शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो हुने हामीले अनुभव गरिरहेका छौँ । हामीले सरकारको नेतृत्व गरिरहेका छौँ”, मन्त्री श्रेष्ठले भन्नुभयो, “हामी दुई धारे तरवारका बीचमा चलिरहेका छौ । वर्तमान राजनीतिक परिस्थतिमा सरकारलाई दिएको समर्थनमा समीक्षा आवश्यक छ ।”
त्यस अवसरमा उहाँले शुक्रबार अर्थ मन्त्रालयबाट खेलाडीहरुले पुरस्कारवापत प्राप्त गर्ने रकम निकास भएको जानकारी समेत दिनुभयो । मन्त्री श्रेष्ठले आइतबार मन्त्रालयमा आफनो एक सय दिनको प्रगति र समिक्षा गर्ने जानकारी समेत दिनुभयो ।
उद्यमशील मायादेवीको लोभलाग्दो जैविक तरकारी खेती
भोजपुर, १ असार I भोजपुुरको टेम्केमैयुुङ गाउँपालिका–४ नागी घोरालुङ चारघरेकी उद्यमशील एकल महिला मायादेवी राई व्यावसायिक तरकारी खेतीमा लागेर उदाहरणीय बन्नुभएको छ । विगत दुई वर्षअघिबाट व्यावसायिक तरकारी खेतीमा लाग्नुभएकी उहाँले दुई रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा तरकारी खेती गरिरहनुभएको छ । उहाँ पशुपन्छी तथा मत्स्यपालन फार्म नै दर्ता गरेर व्यावसायिक तरकारी खेतीमा जुट्नुभएको हो ।
उहाँले भन्नुभयो, “गाउँमा नै बन्दाकोभी, काउली, ब्रो काउली, टमाटर, क्याप्सिकम, इक्वास प्याजलगायतको व्यावसायिक खेती गर्दै आउनुभएको छु । ” उहाँले गाउँघरमा पाइने गाई, भैँसी, बाख्रा बङ्गुरलगायतको प्राङ्गारिक मलको मात्र प्रयोग गरेर जैविक उत्पादन गर्दैै आएको बताउनुभयो ।
“मैले दुई वर्षअघिबाट व्यावसायिक रुपमा जैविक तरकारी उत्पादन गरिरहेकी छु”, उहाँले भन्नुभयो, “यहाँ उत्पादन भएको तरकारी स्थानीय बजारमा लगेर बिक्री गर्छु । आफूले गरेको मेहनतले घरखर्च चलाउन समस्या छैन । तरकारी खेतीलाई थप विस्तार गरेर वार्षिक रु चारदेखि पाँच लाखसम्म आम्दानी गर्ने सोचका साथ काम गरिरहेकी छु ।”
विगतमा शिक्षण पेसामा रहेको भए पनि यसलाई छाडेर व्यावसायिक रुपमा तरकारी खेतीमा लागेको उहाँको भनाइ छ । मेहनत गर्नसकेमा कृषि कर्मबाट पनि राम्रो आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । “कृषि कर्ममा लागेर राम्रो आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “तर हामीले व्यावसायिक बन्न चाहि सक्नुपर्छ । मैले गाउँघरमा मागेर खाने चलनको अन्त्य गर्नको लागि व्यावसायिक बन्न छर छिमेकीलाई समेत आवश्यक सल्लाह दिँदै आएकी छु ।”
उत्पादन भएको कृषिउपजको बजारीकरणमा भने समस्या रहेको उहाँको बताउनुभयो । राज्यको तर्फबाट आवश्यक सहयोगसँगै बजारीकरणमा ध्यान दिए धेरै किसानलाई राहत मिल्ने व्यवासायी उद्यमी राईको भनाइ छ । कृषिमा नै भविष्य देखेर व्यावसायिक रुपमा लागेका कृषकलाई राज्यले प्राथमिकता दिनुपर्ने उहाँको बताउनुभयो । आफ्नो गाउँका ४० एकल महिला मिलेर ‘एकल महिला बहुउद्देशीय सहकारी’ गठन गरेर कृषिको क्षेत्रमा काम गरिरहेको उहाँले जानकारी दिनुभयो।
“हामी एकल महिला मिलेर सहकारीमार्फत पनि कृषिको क्षेत्रमा काम गरिरहेका छौँ” उहाँले भन्नुभयो, “एकल भएर पनि समाजमा उदाहरणीय काम गरौँ भनेर हामी एकजुट भएका हौँ । सहरकारीमार्फत १४ टनेल निर्माण तरकारी खेतीको काम भइरहेको छ ।” उन्नत जातको बीउबिजन नपाउँदा भने समस्या हुने गरेको उहाँको भनाइ छ ।
टेम्केमैयुङ गाउँपालिकामा कृषिको राम्रो सम्भावना रहेकाले कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । गाउँपालिकाले यहाँको माटो सुहाउँदो बालीको विस्तारमा जोड दिएको उहाँको भनाइ छ । गाउँपालिकाको तर्फबाट विभिन्न वडाका किसानलाई आवश्यक सहयोग गरिरहेको उहाँले जानकारी दिनुभयो ।
“हाम्रो गाउँपालिकामा कृषि र पर्यटनको राम्रो सम्भावना छ”, उपाध्यक्ष राईले भन्नुभयो, “गाउँपालिकाको नीति निर्माण गर्दा हामीले यी दुई विषयमा जोड दिएका छौँ । कृषकलाई व्यावसायिक बनाएर आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।” किसानलाई मौरीपालन, जडीबुटी खेती, सुन्तला, कागती खेतीलगायतमा व्यावसायिक बन्न गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको उहाँको भनाइ छ । कृषकको व्यावसायिक योजनाको आधारमा गाउँपालिकाले भावी दिनमा पनि प्रोत्साहनको कार्यक्रम सञ्चालन गर्ने उपाध्यक्ष राईको भनाइ छ I
चुनावमा गरिएको प्रतिबद्धता कार्यान्वयनबारे छलफल
खजुरा (बाँके), १ असार I नेपाली कांग्रेस बाँकेले स्थानीय तहको सेवा प्रभावकारी बनाउने उद्देश्यले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिसँग छलफल सुरु गरेको छ । स्थानीय तहमा प्रवाह हुने सेवाको गुणस्तरीयता, हालसम्म भएका प्रगति र पार्टीसँगको समन्वयका विषयमा छलफल गरिएको कांग्रेस जिल्ला सभापति नारायणप्रसाद गौडेलले बताउनुभयो ।
“प्रमुख–उपप्रमुखले निर्वाचनपश्चात् गरेका प्रतिबद्धता के–कति पूरा भए, के–कति पूरा हुने चरणमा छन्, जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्ने सन्दर्भमा भएका प्रगति, भौतिक र मानवीय विकासको सूचकलगायत सुशासन र समग्र समृद्धिका हिसाबले भए गरेका प्रगतिबारे जानकारी लिने उद्देश्यले उहाँहरुसँग बैठक गरेका हौँ”, सभापति गौडेलले भन्नुभयो ।
उहाँले जनतालाई सन्तुष्ट बनाउने गरी काम गर्न भनेको बताउनुभयो । “अहिलेसम्म भएका प्रगति, चुनौती र भावी योजनाबारे जनप्रतिनिधिले हामीलाई जानकारी गराउनुभएको छ । सीमित स्रोतसाधनका बाबजुद जनअपेक्षाअनुसार काम भइरहेको छ”, उहाँले भन्नुभयो ।
छलफलमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुरका प्रमुख पूर्णप्रसाद आचार्य, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी, जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ र खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले आआफ्नो दुईवर्षे कार्यकालबारे जानकारी गराउनुभएको थियो ।
मुम्बईको एन्टप हिलस्थित घरको एक भाग ढल्दा दुईको मृत्यु
मुम्बई, १ असार I मुम्बईको एन्टप हिल क्षेत्रको विजय नगरमा शुक्रबार राति घरको एक भाग ढल्दा दुई जनाको मृत्यु भएको बृहन्मुम्बई नगर निगम (बिएमसी) ले जनाएको छ।
घटनामा केही व्यक्ति घाइते भएको मुम्बई फायर ब्रिगेडले सूचना पाएपछि फायर अफिसरहरू तुरुन्त घटनास्थलमा पुगेको थियो। घटनाको थप विवरणको प्रतिक्षा गरिएको छ।
जुन १३ मा महाराष्ट्रको ठाणेको कलवार क्षेत्रमा आवासीय भवनको एक भाग ढलेपछि तीन जना घाइते भएका थिए भने ३० जनाभन्दा बढीलाई उद्धार गरिएको थियो।
अधिकारीहरूले यो घटना ओम कृष्णा सहकारी आवास सोसाइटीमा भएको बताएका छन् ।रासस / एएनआई
राप्रपा नेपालको राष्ट्रिय महाधिवेशन आगामी फागुनमा
काठमाडौँ I राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)को राष्ट्रिय महाधिवेशन आगामी फागुन ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ । यही जेठ ३१ र ३२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन आह्वान गरेको पार्टीका नेता सुरेश आचार्यले जानकारी दिनुभयो ।
समान बिचारधारा भएका शक्तिहरूका बीचमा बृहत् राष्ट्रिय मोर्चा बनाउने निर्णय गरेको बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘समसामयिक परिस्थिति र राप्रपा नेपालको कार्यदिशा र कार्यक्रम’ पारित गरेको छ ।
महङ्गी भ्रष्टाचारबिरुद्ध देशव्यापीरुपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको बैठकले ‘उच्चस्तरीय भ्रष्टाचार नियन्त्रण नागरिक आयोग’ गठनको माग गरेको छ । पार्टी सङ्गठन सुदृढीकरण लागि देशभर राजनीतिक गतिविधिको समीक्षा गरिएको बैठकमा वडा देखि केन्द्रसम्मको राजनीतिक कार्यसूची सार्वजनिक गरेको छ ।
मुलुकको समसामयिक विषयवस्तु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल गरिएको बैठकमा पार्टीको भावी कार्ययोजना तथा रणनीतिबारे समीक्षा गरिएको छ ।
पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला
काठमाडौँ, १ असार I पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८ः३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने गरिएकामा आजदेखि चारवटै ढोका बिहान ४ बजे नै खोलिने भएको हो ।”
चारवटै ढोका खोलिएपछि अहिले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनहरुको कोरक्षेत्रमा लाइन बढेको र दर्शन गर्न पनि सहज भएको प्रवक्ता अधिकारीको भनाइ छ । अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९ः३० बजेदेखि ११ः३० सम्म खुला गरिँदै आएको थियो ।
यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।
नेपाल एक रनले पराजित
काठमाडौँ, १ असार I आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । हारसँगै नेपालको अन्तिम आठमा पुग्ने सम्भावना सकिएको छ ।
वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्राण्ड किङ्ग्सटाउन रङ्गशालामा भएको खेलमा दक्षिण अफ्रिकाका टाबरेज साम्सीले एकै ओभरमा दुई महत्वपूर्ण विकेट लिएपछि नेपाल दबाबमा पुगेको थियो । नेपालले खेलको आठौँ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी २१ बलमा १३ रन बनाएर बोल्डआउट भएका थिए ।
त्यसपछि क्रिजमा आएका कप्तान रोहितकुमार पौडेल दोस्रो बलको सामना गर्ने क्रममा साम्सीबाट बोल्ड आउट भए । त्यसपछि नेपालले तेस्रो विकेटका रुपमा अनिल शाहलाई गुमाउन पुग्यो । अनिल २४ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै २७ रनमा आउट भए । आउट हुनु अगाडि उनले ओपनर आसिफ शेखसँग राम्रो साझेदारी गरेका थिए ।
नेपालले ३५ रन जोड्दा कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेल आउट भएपछि अनिल क्रिजमा आएका थिए । अनिलले आसिफसँग ५० रनको साझेदारी गरेका थिए ।
ओपनर आशिफलाई नेपालले पाँचौ विकेटको रुपमा गुमाएको थियो । आशिफले ४९ बलमा चार चौका र एक छक्का प्रहार गर्दै ४२ रन बनाए । दीपेन्द्रसिंह ऐरी छ रनमा आउट भए भने कुशल मल्ल एक रनमा पेभिलियन फर्किए । गुल्सन झा छ रनमा आउट हुँदा सोमपाल कामी आठ रनमा अविजित रहे ।
दक्षिण अफ्रिकाका टाबरेज साम्सी एक्लैले चार विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १५ रनको योगफल बनाएको थियो । उसका लागि रिजा हेन्डरिक्सले सर्वाधिक ४३ रनको योगदान दिए । कूल ४९ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे । साथै टिस्टन स्टब्सले १८ बलमा दुई चौका र एक छक्काको मद्धतमा २७ रन बनाए भन आइडेन मार्करमले २२ बलमा दुई चौका प्रहार गर्दै १५ रन जोडे । क्वान्टन डेककले ११ बलमा १० रन जोडे भने डेभिड मिलरले सात रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक चार विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले तीन विकेट झारे । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही असार ३ गते सोमबार बङ्गालदेशसँग खेल्नेछ ।
विश्वकप क्रिकेटः नेपालले टिस जित्यो, दक्षिण अफ्रिकाले पहिलो ब्याटिङ गर्ने
काठमाडौँ, १ असार I आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डि’अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आज टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध भिड्दैछ ।
वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा नेपालले टस जितेर दक्षिण अफ्रिकालाई पहिले ब्याटिङको निम्तो दिएको छ । नेपाल र दक्षिण अफ्रिका पहिलो पटक आमनेसामने हुन लागेका हुन् । नेपाललाई अन्तिम आठमा स्थान बनाउनका लागि दक्षिण अफ्रिकाविरुद्धको आजको खेल जित्नैपर्ने दबाब छ । दक्षिण अफ्रिका भने समूह ‘डि’बाट सुपर आठमा पुगिसकेको छ ।
दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन वटै खेलमा जित हासिल गरेको थियो । उसले श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्डसलाई पराजित गर्दै एक खेल अगावै सुपर आठमा पुगेको हो ।
त्यस्तै नेपालले यसअघि खेलेका दुईमध्ये एकमा हार तथा एउटामा बराबरी खेलेको थियो । नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग पराजित भएको थियो भने श्रीलङ्काविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले एक÷एक अङ्क बाँडेका थिए ।
नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आशीफ सेख, अनिल साह, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुल्शन झा, करन केसी, सन्दीप लामिछाने र अभिनाश बोहोरा छन् ।