शुक्रबार, १२ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J0AV1W3HE7SX2QJRS5RGD8JR.jpg

फिस्लिङ दुर्घटना अपडेट : उपचारका क्रममा चालकको मृत्यु

मुग्लिन (चितवन), ३२ जेठ I पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ ।     
     
दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रुबाहक बस र काठमाडौँबाट मुग्लिनतर्फ आइरहेको बागमती प्रदेश ०२–०२९च ३७२० नम्बरको कार एकापसमा ठोक्किएर उक्त दुर्घटना भएको हो । दुर्घटना परी १३ जना घाइते भएका छन् ।     
     
घाइते तीन जनाको अवस्था गम्भीर छ । चार जना उपचारपश्चात् घर फर्किएको प्रहरीले जनाएको छ । कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेको थियो ।     
 

प्रकाशित मितिः शुक्रबार, ३२ जेठ २०८१
https://jawaaf.com/storage/01J0ASQTJT959P9425BTG71KMM.jpg

म्याग्दी र बागलुङ जिल्लाको सिमानामा जडीबुटी अनुसन्धान केन्द्र

ढोरपाटन (बागलुङ), ३२ जेठ I जिल्लाको तमानखोला गाउँपालिकाको पर्यटकीयस्थल सोलेडाँडालाई जडीबुटी अनुसन्धान केन्द्र बनाइने भएको छ । समुद्री सतह देखि दुई हजार सात सय मिटरको उचाइमा रहेको सोलेडाँडा म्याग्दी र बागलुङको सिमानामा पर्दछ ।     
     
 उच्च पहाडी क्षेत्रमा रहेको सोलेडाँडालाई पर्यटकीय केन्द्रसँगै जडीबुटी अनुसन्धान केन्द्र बनाउन थालिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलला बुढामगरले बताउनुभयो । गाउँपालिकाले अघिल्लो वर्षदेखि अनुसन्धान केन्द्र निर्माण गर्न थालेको उहाँको भनाइ छ ।     
     
 सोलेडाँडा र यस क्षेत्र आसपासमा पाइने सबै प्रकारका जडीबुटीको नमूना सङ्कलन गरी विद्यार्थी तथा अन्य व्यक्तिका लागि अनुसन्धान थलोका रुपमा विकास गरिने अध्यक्ष बुढामगरले बताउनुभयो । अनुसन्धान केन्द्रमा गाउँपालिकाभरिका जङ्गल तथा तीन हजार पाँच सय मिटरको उचाइसम्म पाइने जडीबुटी सङ्कलन गरिने उहाँले जानकारी दिनुभयो । तमानखोलाको मात्रै नभई ढोरपाटनमा पाइने जडीबुटी पनि ल्याउने योजना रहेको उहाँको भनाइ छ ।     
     
 उच्च पहाडी क्षेत्रमा पाइने जडीबुटीको खोजी गरेर नमूना सङ्कलन गर्ने तथा जडीबुटीको महत्व र गुणकाबारे प्रचारप्रसार गरिने अध्यक्ष बुढामगरले बताउनुभयो । उहाँका अनुसार पालिकाले हालसम्म करिब रु १० लाख खर्च गरेर केन्द्र निर्माण गरिरहेको छ ।     
     
 योसँगै पालिकाले सोलेडाँडामा रु ५० लाख लगानीमा पर्यटन पूर्वधारसहित सहिद पार्क निर्माण गरेको छ । पर्यटनको विकाससँगै अनुसन्धान केन्द्रले सोलेडाँडामा धेरै पर्यटक आकर्षित गर्ने अपेक्षा लिइएका छ ।     
     
 “सोलेडाँडा जिल्लाका साथै वरपर निकै चर्चित छ । यहाँ आन्तरिक पर्यटकको आगमन बाक्लो छ, अनुसन्धान केन्द्रले थप पर्यटक तथा खोज÷अनुसन्धान गर्ने विद्यार्थीलाई आकर्षित गर्नेछ”, अध्यक्ष बुढामगरले भन्नुभयो, अनुसन्धान केन्द्र बनाएसँगै यहाँ पाइने जडीबुटीको पहिचान हुन्छ । त्यसको महत्व आमनागरिकलाई बुझाउन तथा बजारसँग जोड्ने सहज हुन्छ । यसले स्थानीयको आर्थिक स्तर वृद्धि हुनुका साथै अझै धेरै पर्यटक बढ्ने छन् ।”     
     
 स्थानीय मीनबहादुर सिर्पालीले सोलेडाँडामा अनुसन्धान केन्द्र सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने बताउनुभयो । अहिले स्थानीय उत्पादनले खासै बजार नपाएको भन्दै दुई-चार वर्षपछि गाउँबाटै बिक्री हुने उहाँको भनाइ छ ।     
     
 अहिले पनि सोलेडाँडामा दैनिक पर्यटक आउने गरेका भन्दै गाउँपालिकाले अनुसन्धान केन्द्र बनाउँदा यस क्षेत्रका नागरिकले बढी लाभ लिन सक्ने सिर्पालीले सुनाउनुभयो । यो क्षेत्र भौगोलिक हिसाबले पिछडिएको जनाउँदै पछिल्लो समय विस्तारै विकासले गति लिन थालेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । 

प्रकाशित मितिः शुक्रबार, ३२ जेठ २०८१
https://jawaaf.com/storage/01J0AXZYBA7Q0M7FMT5QD0C0TQ.jpg

राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने : मन्त्री प्रदीप यादव

(स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव शुक्रबार भरतपुर बिमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै । तस्बिर : सनद अधिकारी)

चितवन, ३२ जेठ I स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएको भन्दै राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई परिवर्तन गरिने बताउनुभयो ।     
      
अस्पतालमा प्रमुखको जिम्मेवारी हेरफेरले समस्या नहुने भन्दै मन्त्री यादवले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएकाले आवश्यकता र कामको प्रकृतिका आधारमा कर्मचारीलाई मन्त्रालयमा तान्ने वा अन्यन्त्र पठाउने बताउनुभयो ।     


      
मन्त्री यादवले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न मन्त्रालयले सरकारसँग समन्वय गरी कार्ययोजना बनाउने बताउनुभयो । बीमा स्वायत्त संस्था भएकाले मन्त्रालयले कुनै पनि हस्तक्षेप गर्न नमिल्ने भन्दै उहाँले यहाँ देखिएका समस्या समाधानका लागि मन्त्रालय र सरोकार भएकाबीच छलफल गरिने बताउनुभयो ।     
      
मन्त्री यादवले भन्नुभयो, “स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न हामी गम्भीर छाैँ । कसरी प्रभावकारी र गुणस्तरीय सेवा दिने भन्नेमा छलफल गरी सहकार्य र समन्वयका आधारमा कार्ययोजना नाउने छौँ ।” उहाँले स्वास्थ्य बीमामार्फत जनताले प्रत्यक्ष राहात पाउने भएकाले यसको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले योजना बनाइरहेको बताउनुभयो ।     
      
बीमा कार्यक्रमलाई मन्त्रालय माताहत ल्याउन ऐन परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै मन्त्री यादवले यस विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । जनशक्ति अभाव भएका अस्पतालहरुमा आवश्यक जनशक्ति थप गर्न मन्त्रालयले परिपत्र गरिसकेको उहाँले बताउनुभयो ।     
      
मन्त्री यादवले भन्नुभयो, “देशका सबै अस्पतालमा जनशक्ति थप्ने निर्णय भएको छ । त्यसका लागि प्रक्रिया अघि बढिसकेको छ ।” आवश्यकता अनुसार अस्पतालहरुले कर्मचारी भर्ना गर्न सक्ने व्यवस्था गरिएको उहाँको भनाइ छ ।     
 

प्रकाशित मितिः शुक्रबार, ३२ जेठ २०८१
https://jawaaf.com/storage/01J0AMSPDHF9RDEH2079M26JFA.jpg

पपुवा न्युगिनीलाई हराउँदै अफगानिस्तान विश्वकपको सुपर आठमा

काठमाडौँ, ३२  जेठ I अफगानिस्तानले पपुवा न्युगिनीलाई पराजित गर्दै आइसिसी टि–२० विश्वकपको सुपर आठमा प्रवेश गरेको छ । उक्त खेलमा अफगानिस्तानले पपुवा न्युगिनीलाई सात विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा पुगेको हो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार पपुवा न्युगिनीले दिएको ९६ रनको सामान्य लक्ष्य पछ्याएको अफगानिस्तानले १५ दशमलव एक ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो । अफगानिस्तानको जितमा गुलबदिन नइबले अविजित ३६ बलमा चार चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ४९ रनको योगदान दिए ।     
     
यसैगरी, मोहम्मद नाबीले २३ बलमा एक चौकासहित अविजित १६ रन जोडे । त्यसैगरी अजमतुल्लाले १३ तथा रहमानदुल्लाह गुरबाजले ११ रन जोडे । पपुवा न्युगिनीका लागि अलिइ नाओ, सेमो कमेइ र नोर्मान भानाउले समान एक–एक विकेट लिए ।     
     
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीलाई १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटिएको थियो । पपुवा न्युगिनीका लागि किप्लिन डोरिगाले सर्वाधिक २७ रनको योगदान दिए । एली नाओले १३ तथा टोनी उराले ११ रन बनाए । अफगानिस्तानका लागि फजलहक फारुकीले तीन विकेट लिँदा नवीन उलहकले दुई तथा नुर अहमदले एक विकेट लिएका थिए ।     

प्रकाशित मितिः शुक्रबार, ३२ जेठ २०८१
https://jawaaf.com/storage/01J0AM5S04K10WAKEWDZJ0XWE7.jpg

म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा

गलेश्वर (म्याग्दी), ३२ जेठ I जिल्लाको कृषि विकासका निम्ति गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु छ करोड लागतमा उत्पादन, संरक्षण र बजारीकरणका कार्यक्रम सञ्चालन गरेको छ । परम्परागत बालीको संरक्षण–प्रवर्द्धन र बजारीकरण, कृषि उत्पादन वृद्धि गरी कृषि उपज आयात विस्थापन गर्न कृषि कार्यक्रम सञ्चालन गरिएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।     
     
यस वर्ष जिल्लामा रु पाँच करोड ९७ लाख ५२ हजारको कृषिका कार्यक्रम सञ्चालन भएकामा सबैभन्दा धेरै रु तीन करोड खाद्यन प्रजातिको आलुखेतीमा खर्च भएको केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले  जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत जौँ, कोदो, लट्टे र फापरको प्रवर्द्धन गर्न चारवटा कृषि समूहमार्फत रु १० लाख खर्चेर विविध कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।     
     
त्यसैगरी फलफूल बगैँचा स्थापना कार्यक्रममार्फत रु ३० लाख लगानीमा २० हेक्टर जमिनमा २६ जना किसान र समूह छनोट गरेर कार्यक्रम सञ्चालन गरिएको छ भने फलफूल बगैँचाको सुदृढीकरण गर्न विभिन्न २३ वटा कृषि फार्मसँग सम्झौता गरेर कार्यक्रम कार्यान्वयन भएको छ । फलफूल नर्सरी स्थापना गर्न रु २० लाखमा बेनी नगरपालिकाको भकिम्ली र धवलागिरि गाउँपालिकाका दुईवटा कृषि फार्मसँग ५० प्रतिशतको अनुदानमा कार्यक्रम सञ्चालन गरिएको छ ।     
     
यसैगरी जिल्ला कृषि ज्ञान केन्द्रले कृषिजन्य उत्पादन बढाउन प्राङ्गारिक मल वितरण कार्यक्रम पनि सञ्चालन गरेको छ । सुन्तलाको उत्पादन बढाउन रु १० लाख लागतमा ६३ मेट्रिक टन मल वितरणको गरिएको केन्द्रले जनाएको छ । यस वर्ष विनियोजित रु १५ लाखको बजेटबाट मकैको उन्नत बीउ उत्पादन कार्यक्रम सञ्चालन भएको छ । यो कार्यक्रमअन्तर्गत बेनी नगरपालिकाको तोरीपानी र पात्लेखेतमा दुई सय रोपनीमा मकै लगाइएको छ । कृषिजन्य कार्यक्रममार्फत जिल्लाका किसानको जीवनस्तर सुधार्ने, खेतीयोग्य जमिनको प्रयोग बढाउने र उत्पादन वृद्धिमा ज्ञान केन्द्रले जोड दिएको छ ।     
     
आलुखेती विस्तार     
जिल्लामा यस वर्ष एक हजार सात सय ५० रोपनीमा आलुखेती विस्तार गरिएको छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आठ सय रोपनीमा हिउँदे आलु र नौ सय ५० रोपनीमा बर्खे आलु गरी एक हजार सात सय ५० रोपनी जग्गामा खायन प्रजातिको आलुखेती विस्तार गरिएको हो ।     
      
हिउँदे आलुखेतीतर्फ जिल्लाभर १७ वटा कृषक समूह र एकवटा कृषि समूहमार्फत आठ सय रोपनीमा आलुखेती विस्तार गरिएको थियो । यसैगरी खायन प्रजातिकै बर्खे आलुखेतीतर्फ १५ वटा कृषक समूहमार्फत नौ सय ५० रोपनीमा आलुखेती विस्तार गरिएको छ भने खायन प्रजातिको हिउँदे आलु उत्पादन कार्यक्रमतर्फ अधिकांश बेनी नगरपालिका क्षेत्र र बर्खेतर्फ बेनीसहित रघुगङ्गा र धवलागिरि गाउँपालिका छन् ।     
      
आलु तथा बेमौसमी तरकारीखेती प्रवर्द्धन कार्यक्रमका लागि रु २८ लाखको लागतमा १७ वटा फार्मलाई छनोट गरिएको छ । मसला तथा निर्यातयोग्य बाली अदुवा र बेसार उत्पादन गर्न मङ्गला गाउँपालिकाको बरजामा कार्यक्रम सञ्चालन भइरहेको केन्द्रका प्रमुख बाँस्तोलाले बताउनुभयो ।     
 

प्रकाशित मितिः शुक्रबार, ३२ जेठ २०८१
https://jawaaf.com/storage/01J0AKMJPQ94H3ATGZ3S8MH821.webp

राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा ९२ प्रतिशत भौतिक प्रगति

राँझा (बाँके), ३२ जेठ I जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ । “चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ रु ८३ करोड ९८ लाख विनियोजन भएको थियो, जेठ मसान्तसम्म रु ७६ करोड ५२ लाख २७ हजार बजेट खर्च भइसकेको छ”, आयोजनाका इन्जिनियर सन्देश पौडेलले भन्नुभयो ।     
     
चालु आवमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहरको बाँकी कामको ठेक्का व्यवस्थापन, पश्चिमी मूल नहरतर्फका प्रसेनीपुर, अकलघरवा तथा गोहा शाखा नहरको ठेक्का सम्झौता गरी निर्माण, गुरुवागाउँ शाखा नहर निर्माण, विभिन्न शाखा, प्रशाखा नहरका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्नेलगायत काम भएको उहाँले बताउनुभयो ।     
     
सिक्टा सिँचाइ आयोजनालाई आगामी आव २०८१/८२ मा बजेट सिलिङ बढेको छ । आव २०८१/८२ को बजेटमा सिक्टा सिँचाइ आयोजनालाई रु एक अर्ब ६० करोड विनियोजन भएको छ । चालु आव २०८०/८१ मा सिक्टा सिँचाइलाई रु एक अर्श ३५ करोड विनियोजन भएको थियो । “गत वर्षको भन्दा यो वर्ष केही बढाएर बजेट विनियोजन भएको छ”, इन्जिनियर पौडेलले भन्नुभयो, “अहिले हामी डुडुवा शाखा नहरको काम गरिरहेका छाँै, आगामी बजेट पनि त्यसैमा धेरै होला ।”     
     
बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयास्थित राप्तीमा बाँध निर्माण गरी बाँकेको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन आयोजना निर्माण गरिएको हो । आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको आयोजना पछिल्लो संशोधित गुरुयोजनाअनुसार आव २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य छ ।     
     
आयोजनाको निर्माणाधीन पश्चिमी मूल नहरले बाँके जिल्लाको राप्ती नदी पश्चिम भेगको ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिब नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । संशोधित गुरुयोजनाअनुसार आयोजनाको लागत रु ५२ अर्ब ८९ करोड छ । सरकारले आयोजनालाई वार्षिक रूपमा कम बजेट विनियोजन गर्दै आएकाले मुआब्जा वितरणलगायत समस्या समाधानको चुनौती पनि छ ।     
 

प्रकाशित मितिः शुक्रबार, ३२ जेठ २०८१
https://jawaaf.com/storage/01J0AK5P5TSAXTEMYTG1EW3ERY.jpg

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर, ३२ जेठ I वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ । हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ ।     
     
पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाइएर थती टोलमा राखिएको रथ उक्त दिनदेखि तानिने मच्छिन्द्रनाथका पुजारी शाहु शाक्यले  जानकारी दिनुभयो ।     
     
साहु शाक्यका अनुसार गत वर्षको जात्रा ३५ दिनमा सकिए पनि यो वर्षको जात्रा पात्रोअनुसार तीन महिनापछि समापन हुनेछ । उहाँले भन्नुभयो, “साउन १७ गते थतीटोलबाट रथ तानेर जावलाखेल चोकमा पुर्याएमा २० गते भोटोजात्रा हुन्छ । यदि मच्छिन्द्रनाथको रथ जावलाखेल पुग्न दुई दिन लागेमा २१ गते भोटोजात्रा हुनेछ । ”     
     
ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ । यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको हो । रथयात्रा ललितपुरको गाःबहाल, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेल चोक ललितमण्डपमा टुङ्ग्याइन्छ । जावालाखेल पुर्याएको चार दिनपछि राष्ट्रप्रमुखलाई भोटो देखाएपछि यो वर्षको जात्रा समापन हुन्छ ।     
     
यस वर्षको रथयात्राको क्रममा रथमा केही समस्या देखिएपछि मर्मत गरेर पुनः सञ्चालनमा ल्याएको रातो मच्छिन्द्रनाथ रथसँग सम्बन्धित नारायण व्यञ्जनकारले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष रथमा केही समस्या देखिएकाले मर्मत गरिसकेका छौँ । साउन १७ गतेसम्म ठटीटोलमा रथ रहन्छ र हाल भक्तजनले पूजाआजा गरिरहनुभएको छ ।”     
     
यो वर्षको रथयात्रामा खलपानेजुको रूपमा निमराज शाक्य रहनुभएको छ भने जलपानेजुको रूपमा सम्पूर्ण शाक्य रहनुभएको छ । शभुशाइत पर्खाइमा ठटीटोलमा रोकिएको रातो मच्छिन्द्रनाथ देवताको रथमा पूजाआजाका लागि पुजारीहरु हुनुहुन्छ भने रथको सुरक्षाका लागि नेपाल प्रहरी खटिएको छ ।     

प्रकाशित मितिः शुक्रबार, ३२ जेठ २०८१
https://jawaaf.com/storage/01J0AF28YCDNQ207CYZ0H8J412.jpg

एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित

गुल्मी, ३२ जेठ I नेपाल कम्युनिष्ट पार्टी (एमाले) गुल्मीको अध्यक्षमा बालसिंह काउछा  निर्वाचित हुनुभएको छ अध्यक्षका प्रतिस्पर्धी हीरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँले तीन सय ८४ र उहाँका प्रतिद्वन्द्वी एसीले २०२ मत प्राप्त गर्नुभएको हो । 

यसैगरी जिल्ला  उपाध्यक्षमा जीवन पोखरेल, सचिवमा धर्म विश्वकर्मा र सहसचिवमा चक्रबन्धु भुसाल निर्वाचित हुनुभएको छ । 

गत मङ्गलबारदेखि सुरु भएको १२औँ जिल्ला अधिवेशनमा बिहीबार मतदान भएको थियो । अधिवेशनमा छ सय १३ सहभागी भएकामा पाँच ९५ जना मतदानमा भाग लिएका थिए ।

अधिवेशनले पाँचजना पदाधिकारीसहित आगामी तीन वर्षका लागि एक सय पाँच सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । अधिवेशनको पार्टीका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गर्नुभएको थियो ।

प्रकाशित मितिः शुक्रबार, ३२ जेठ २०८१
https://jawaaf.com/storage/01J0AESTB9SEXSAB8RTQ6GJRE2.jpg

पृथ्वीराजमार्गमा सवारी दुर्घटनाः घाइते २० मध्ये पाँचजना गम्भीर

मलेखु (धादिङ), ३२ जेठ I  पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ ।   
  
नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो । कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको एकजना प्रत्यक्षदर्शीले बताए ।   
  
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन् । बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ । गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  

प्रकाशित मितिः शुक्रबार, ३२ जेठ २०८१
https://jawaaf.com/storage/01J0AA7675K4CZHFR3RQWJH5YH.jpg

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण आयोजनाः आज प्रधानमन्त्रीद्वारा हेटौँडा ‘सबस्टेशन’को उद्घाटन हुँदै

वाग्मती, ३२ जेठ I मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको छ ।     
     
हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेनसम्मको एक सय ५४ किलोमिटर ४०० किलोभोल्ट ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । अब यो प्रसारण लाइनबाट चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ ।     
     
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभयाङस्थित हेटौँडा सबस्टेसनको आज यहाँ आयोजना हुने विशेष कार्यक्रममा उद्घाटन गर्ने कार्यक्रम रहेको सबस्टेशन आयोजना प्रमुख शुक्रराज देवकोटाले  जानकारी दिनुभयो ।     
 

प्रकाशित मितिः शुक्रबार, ३२ जेठ २०८१