सोमबार, ०८ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KGHHM43SMM5CJH21VW9M4BWG.jpg

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भने सामान्य वृद्धि

काठमाडौं । साताको तेस्रो कारोबारदिन मंगलबार नेप्से परिसूचक ओरालो लागेको छ । यसदिन नेप्से १२.५८ अंकले घट्दै २,६८३.१५ बिन्दुमा झरेको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ०.४६ प्रतिशतको गिरावट हो ।
यसदिन सेन्सेटिभ इन्डेक्स २.४५ अंकले घटेको छ, फ्लोट इन्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०९ अंकले घटेको छ ।
आजको कारोबारमा कुल ३२२ वटा धितोपत्र किनबेच हुँदा १ करोड ८७ लाख ३ हजार १८३ कित्ता शेयर कारोबार भएको छ । सोमबार ८ अर्ब २२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन कुल कारोबार रकम ८ अर्ब ६३ करोड १५ लाख १२ हजार ५४२ रुपैयाँ पुगेको छ । जम्मा ९२ हजार ३३८ पटक कारोबार भएको छ ।
कारोबार भएका कम्पनीमध्ये ६६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १९० वटाको घट्यो भने ३ वटाको मूल्य स्थिर रह्यो । बजारमा गिरावट देखिए पनि केही कम्पनीका शेयरमा भने उल्लेखनीय वृद्धि देखिएको छ ।
सबैभन्दा धेरै बढ्ने कम्पनीमा कालिञ्चोक दर्शन लिमिटेड अग्रस्थानमा रह्यो । यसको शेयर मूल्य १० प्रतिशतले बढ्दै ८९१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । एचएलआइ लार्ज क्याप फण्डको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
कारोबार रकमको आधारमा यसदिन एसवाई प्यानल लिमिटेड अग्रस्थानमा रह्यो । यस कम्पनीको मात्र करिब ५९ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै, आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको ४१ करोड रुपैयाँभन्दा बढी मूल्यको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत घटेको छ ।
बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घट्दा लगानीकर्ताको मनोबल कमजोर देखिएको छ । विश्लेषकहरूका अनुसार नाफा बुकिङ र लगानीकर्ताको पर्खाइको रणनीतिका कारण बजार दबाबमा परेको हुनसक्छ ।

प्रकाशित मितिः मङ्गलबार, २० माघ २०८२
https://jawaaf.com/storage/01KGH5WHDBYNQEVBX871MTSNVP.jpg

चुनावी अभियान तीव्र बनाउँदै उज्यालो नेपाल पार्टी

बारा । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बारा जिल्लाका विभिन्न स्थानमा मतदातासँग भेटघाट गर्दै आफ्नो चुनावी अभियान तीव्र बनाएका छन् ।

घिसिङले सोमबार बिहान ६ बजे सिमरा एयरपोर्टबाट आफ्नो भ्रमण सुरु गरेका थिए । त्यहाँबाट उनी लामिडाँडा हुँदै रामनगर र त्यसपछि टाङ्गिया बस्ती पुगेका थिए, जहाँ कोणसभा आयोजना गरिएको थियो ।

टाङ्गिया बस्तीमा लगभग १७–१८ सय घर छन्, र यो क्षेत्र व्यक्तिको नामभन्दा प्रति जग्गामा विभाजित छ । उक्त बस्तीमा अन्य आवश्यक सुविधा भने पर्याप्त छैनन् ।
अध्यक्ष घिसिङले बस्तीमा बत्ति जडानको पहल गरेका थिए, जसले स्थानीय जनताको जीवनमा सुधार ल्याउने अपेक्षा गरिएको छ । भ्रमणको क्रममा उनी रामनगरमै रात्रीभोज गरी बस्तीमा बसेका थिए ।

भोलिपल्ट (आज) घिसिङ कलैया पुगेका थिए र त्यहाँ भोजन गरेका थिए । त्यसपछि उनी प्रसौना हुँदै पुनः सिमरा एयरपोर्टबाट काठमाडौं फर्केका छन् ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले यस भ्रमणले बारा जिल्लामा पार्टीको मतदातासँग प्रत्यक्ष संवाद र स्थानीय समस्याहरू बुझ्ने अवसर प्रदान गरेको बताएका छन् ।

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/GIjL5X60oRU?si=DcGEIN7dx_vH5VMA" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>

प्रकाशित मितिः मङ्गलबार, २० माघ २०८२
https://jawaaf.com/storage/01KGH5D4N7F37E0Y728G0Q9TAB.jpg

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको हो ।

आज सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य दुई लाख ८६ हजार ६ सय कायम भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १ सय ३५ रुपैयाँले बढेर पाँच हजार ३ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मितिः मङ्गलबार, २० माघ २०८२
https://jawaaf.com/storage/01KGGYHRAVAFQ2NKXFD3XYED2S.jpg

रंगेलीमा श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या

मोरङ । मोरङको रंगेलीमा मुकेश कुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । ससुराली पुगेर पत्नीको हत्या गरेका मण्डलले आफूले पनि घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीका डीएसपी लीलाराज लामिछानेका अनुसार रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर पत्नीको हत्या गरेको पाइएको छ । मुकेश बेलुका धनपट्टीस्थित ससुराली पुगेका थिए ।

ससुरालीमै उनले पत्नी अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरेको प्रहरीले जनाएको छ । घरेलु विवादका क्रममा कुटपिट गर्दै मुकेशले पत्नी अम्बिकाकुमारीलाई चक्कुले प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पतिले चक्कुले प्रहार गर्दा अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको डीएसपी लामिछानेले बताए । उनका अनुसार पत्नीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनास्थल पुगेर प्रहरी टोलीले मुचुल्का उठाउने लगायतका कानूनी प्रक्रिया पूरा गर्ने काम गरिरहेको छ । घटनाको वास्तविक कारण तथा अन्य पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको डीएसपी लामिछानेले बताए । उनले थप अनुसन्धानपछि मात्रै घटनाको पूर्ण विवरण सार्वजनिक गर्न सकिने उल्लेख गरे।

प्रकाशित मितिः मङ्गलबार, २० माघ २०८२
https://jawaaf.com/storage/01KGGKS941FVVRBZN008T3RCNY.jpeg

मौसम पूर्वानुमानः पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। यसका कारण तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बादल लागेको छ। ती क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल लाग्ने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम खालको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बाँकी हिमाली भू–भागका थोरै स्थानमा पनि मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका उच्च पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति देशका हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ भने गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ। तराईका भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना कायमै रहेको छ।

प्रकाशित मितिः मङ्गलबार, २० माघ २०८२
https://jawaaf.com/storage/01KGEG936QJJTVTJVF0C6ANH0Q.jpg

भारतले नेपाललाई १२ अर्ब ८० करोड रुपैयाँ अनुदान दिने

काठमाडौं । भारत सरकारले आगामी आर्थिक वर्ष २०२६/२७ का लागि नेपाललाई ८ सय करोड भारतीय रुपैयाँ (करिब १२ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान दिने घोषणा गरेको छ ।

यसबारे भारतका वित्त मन्त्री निर्मला सीतारमण ले आइतबार संघीय संसदमा पेस गरेको केन्द्रीय बजेट २०२६–२७ मा औपचारिक विनियोजन गरिएको छ । यो अनुदान रकम गत वर्षको बजेटको प्रस्तावभन्दा बढी भएको बताइएको छ । आर्थिक वर्ष २०२४–२५ मा नेपाललाई ७ अर्ब भारू अनुदान दिएको थियो । यस्तै आर्थिक वर्ष २०२३–२४ मा ६ अर्ब ५७ करोड भारु अनुदान दिएको थियो । भारतको छिमेक पहिलो नीति अन्तर्गत यो अनुदान रकम प्रदान गरिएको हो ।

यसले नेपाली विकास प्रयास, पूर्वाधार, स्वास्थ्य, शिक्षा र आपत्कालीन राहत लगायतका क्षेत्रहरूमा दुई देशबीचको दीर्घकालीन साझेदारीलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः सोमबार, १९ माघ २०८२
https://jawaaf.com/storage/01KGE09FXVFM4EJVFAZHN4QSBY.jpg

आजको मौसम : हिमाली भू‍भागका केही स्थानमा हिमपात र वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण हाल तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको र केही स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ । साथै कोशी र मधेश प्रदेशमा आंशिक बादल पनि लागेको छ ।

महाशाखाका अनुसार, आज तराई भूभागका केही स्थानहरूमा हुस्सु, कुहिरो रहनेछ । देशका हिमाली भू‍भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू‍भागका एकदुई स्थानमा हल्का हिमपात, वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मितिः सोमबार, १९ माघ २०८२
https://jawaaf.com/storage/01KGE02171GSED28WD4P3P2637.jpg

वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालन गर्न महानगर र प्रदेशसभा सचिवालयबीच सम्झौता

विराटनगर । कोशी प्रदेशसभाको नियमित सञ्चालनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभा सचिवालयबीच वीरेन्द्र सभागृह प्रयोगसम्बन्धी करार सम्झौता भएको छ ।
आइतबार विराटनगर महानगरपालिकामा आयोजित विशेष समारोहका बीच दुवै पक्षले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा सम्पन्न समारोहमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल र प्रदेशसभा सचिवालयका तर्फबाट प्रदेशसभा सचिव सुदर्शन खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताका साक्षीका रूपमा महानगर राजस्व महाशाखा प्रमुख सरोज गौतम र प्रदेशसभा उपसचिव अर्जुन घिमिरे रहेका छन् ।

सम्झौताअनुसार आगामी माघ १८ गतेदेखि २०८३ साउन १७ गतेसम्म छ महिनाका लागि विराटनगरस्थित वीरेन्द्र सभागृह कोशी प्रदेशसभा सञ्चालनका लागि प्रयोग गरिनेछ । सो अवधिमा प्रदेशसभा सचिवालयले महानगरपालिकालाई मासिक ८ लाख रुपैयाँ भाडा तिर्नुपर्नेछ । भाडा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, प्रचलित कानुनअनुसार लाग्ने सबै कर प्रदेशसभा सचिवालयले नै व्यहोर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौताको अवधि सकिनु एक महिना अगावै दुवै पक्षको सहमतिमा करार अवधि थप गर्न सकिने व्यवस्था छ । प्रदेशसभा सचिवालयले सम्झौता अवधि पूरा हुनुअघि नै करार अन्त्य गर्न चाहेमा एक महिना अगावै सूचना दिनुपर्नेछ भने महानगरपालिकाले सम्झौता समयअगावै अन्त्य गर्नुपर्ने अवस्थामा दुई महिना अगावै जानकारी दिनुपर्ने प्रावधान रहेको प्रमुख प्रशासकीय अधिकृत दुलालले बताए ।

प्रदेशसभा सञ्चालनका लागि महानगरको स्वामित्वमा रहेको वीरेन्द्र सभागृह उपलब्ध गराइएकोमा प्रदेशसभा सचिव खड्काले विराटनगर महानगरपालिकालाई धन्यवाद व्यक्त गरे ।

गत भदौ २४ गते ‘जेन–जी आन्दोलन’ का क्रममा प्रदेशसभा भवनमा आगजनी भएपछि भवन पूर्ण रूपमा ध्वस्त भएको थियो । त्यसपछि प्रदेशसभा सञ्चालनमा समस्या उत्पन्न भएको थियो । वैकल्पिक रूपमा मोरङको कटहरीस्थित थोक तथा तरकारी बजारको भवनमा प्रदेशसभा सञ्चालन गर्ने तयारी भए पनि आवश्यक पूर्वाधार र व्यवस्थापनको अभावका कारण असहज भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मितिः सोमबार, १९ माघ २०८२
https://jawaaf.com/storage/01KGCS7FSX0QKEAJ95K7M5EF56.jpg

महिलाको सशक्तिकरण आर्थिक सबलीकरण बिना सम्भव छैन : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले महिलाको वास्तविक सशक्तिकरण आर्थिक सबलीकरण बिना सम्भव नहुने बताएकी छन् ।

मिथिला आर्ट ट्रेनिङ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले समाजमा महिला सशक्तिकरणका नारा व्यापक रूपमा सुनिँदै आएको उल्लेख गर्दै त्यसलाई व्यवहारमा उतार्न आर्थिक आत्मनिर्भरताको आवश्यकता रहेको बताइन् ।

उनले भनिन्, ‘अहिले जताततै महिला सशक्तिकरणका नारा सुनिन्छन् । तर जबसम्म महिलालाई आर्थिक रूपमा सबल बनाउन सकिँदैन, तबसम्म गरिएका नारा र प्रयासहरूको खास अर्थ हुँदैन ।’

मन्त्री श्रेष्ठले नेपाललाई निर्वाचनमय देशको रूपमा चित्रण गर्दै जनसंख्याको ५१ प्रतिशत महिला भएपनि मतदानमा उनीहरूको सहभागिता सन्तोषजनक नरहेको बताइन् । उनले देशभर महिलाको मतदान दर २५ देखि २८ प्रतिशतसम्म सीमित रहेको छ भने मधेस प्रदेशमा यो आँकडा अझै कम रहेको बताइन् ।

उनले भनिन्, ‘निर्वाचनमय देश बनेको छ । नेपालमा ५१ प्रतिशत महिला हुनुहुन्छ । तर जब भोट खस्छ तपाईंको २५ देखि २८ प्रतिशतसम्म जान्छ तर मधेसमा त्यो आंकलन अझ कम छ । सबै दिदीबहिनीहरुले निर्वाचनमा सहभागी भएर आफ्नो मताधिकारको प्रयोग गर्नुपर्छ ।’ कार्यक्रममा उनले सबै दिदीबहिनीलाई निर्वाचनमा सक्रिय रूपमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिन् ।

प्रकाशित मितिः आइतबार, १८ माघ २०८२
https://jawaaf.com/storage/01KGCRM37F07CJDD30F7K168E9.jfif

१ अर्बभन्दा बढी योजना सम्पन्नको दाबी गर्दै जसपा उम्मेदवार नगेन्द्र पारघरी लिम्बुको २६ बुँदे प्रतिबद्धता सार्वजनिक

धरान । जनता समाजवादी पार्टी (जसपा) सुनसरी निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार नगेन्द्र पारघरी लिम्बुले आफ्नो २६ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।

आइतवार धरानस्थित जसपा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा सञ्चारकर्मीहरूको उपस्थितिमा लिम्बुले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।

प्रतिबद्धतामा लिम्बुले प्रदेश नं. १ कै शिक्षा तथा सूचना केन्द्रका रूपमा धरानलाई विकास गर्ने, श्रम बैंक स्थापना गरी दक्ष श्रमशक्तिको लगत तयार गर्दै रोजगारी सिर्जना गर्ने, प्रस्तावित धरान–लेवती सुरुङ मार्ग सम्पन्न गरी धरानलाई व्यापारिक केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै गोर्खा भूतपूर्व सैनिकहरूको नागरिकता बिना सर्त कायम गर्न कानुनी व्यवस्था गर्ने, धरान–१६ स्थित रंगशालालाई राष्ट्रिय स्तरको रंगशालाका रूपमा विकास गर्ने योजना अघि सार्नुभयो ।

त्यसैगरी धरान–११ देखि धरान–२० भन्ज्याङसम्म तथा धरान–१७ बाट बराहक्षेत्र–३ नडाहासम्मको बजेट पार्टीकै पहलमा विनियोजन भएको उल्लेख गर्दै, अव धरान–१९ हरियालीदेखि रामधुनी–६ बकलौरी सम्मको सडक मार्ग स्तरोन्नति गरी सुरक्षित र सहज यातायात सुनिश्चित गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

उम्मेदवार लिम्बुले आर्थिक उन्नति, शिक्षा, स्वास्थ्य, रोजगारी तथा भौतिक पूर्वाधार विकासलाई समेटेर तयार गरिएको २६ बुँदे प्रतिबद्धता व्यवहारिक र कार्यान्वयनयोग्य रहेको दाबी गर्नुभयो।

अन्त्यमा बोल्दै लिम्बुले सुनसरी–१ अन्तर्गत धरान, बराहक्षेत्र र रामधुनी क्षेत्रमा निवर्तमान माननीय तथा पार्टीका श्रद्धेय अध्यक्ष अशोककुमार राईको विशेष पहलमा रु. १ अर्ब १९ करोड ६ लाख ३३ हजार बराबरका विकास योजनाहरू सम्पन्न हुने चरणमा रहेको जानकारी दिनुभयो। अन्तरिम सरकार गठनपछि करिब रु. १६ करोड बराबरको बजेट अस्थायी रूपमा रोकिएको उल्लेख गर्दै निर्वाचनपछि ती योजनालाई पुनः गति दिन र थप बजेट निकासा गराउन सक्रिय पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा सुनसरी निर्वाचन क्षेत्र नं. १ निर्वाचन परिचालन समितिका संयोजक भीम राईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक समावेशी राज्य व्यवस्था पार्टीको मुख्य एजेन्डा रहेको बताउनुभयो। उहाँले प्रतिनिधिसभा र राष्ट्रिय सभालाई पूर्ण समानुपातिक बनाउने तथा नेपाली विशेषताको समाजवाद स्थापना गर्ने पार्टीको लक्ष्य रहेको स्पष्ट पार्नुभयो।

राईले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख तथा विज्ञहरूको सहभागितामा मन्त्रीपरिषद् गठन भए मात्र दिगो राजनीतिक स्थिरता सम्भव हुने उल्लेख गर्दै सुनसरी–१ का मतदातालाई क्षेत्रगत विकाससँगै जनचाहना अनुसारको राज्य व्यवस्था प्राप्तिका लागि जसपा उम्मेदवार नगेन्द्र पारघरी लिम्बुलाई चुनाव चिन्ह ‘जाँतो’ मा मतदान गर्न अपिल गर्नुभयो ।

प्रकाशित मितिः आइतबार, १८ माघ २०८२