हिमपातले मुगुमा सडक तथा हवाई सेवा बन्द
मुगु । लामो खडेरि पछि परेको हिमपातले मुगु र जुम्लाको सिमाना घुच्चिलेख अन्र्तगत नाग्मा गमगढि कर्णाली राजमार्ग पुर्ण रुपमा बन्द भएको छ ।
राजमार्ग बन्दका कारण मुगु आउने मालवाहक तथा यात्रुबाहक सवारीसाधनहरु जुम्लाको गोठिज्युला,बोतामालिका र भुलभुलेमा अलपत्र परेका छन भने मुगुको एक मात्र ताल्चा विमानस्थल समेत अवरुद्ध भएको छ ।
हिमपातपछि बालीनाली सप्रने आसामा किसानहरु खुशी भएका छनभने अत्यधिक चिसोका कारण जनजिवन प्रभावित समेत भएको छ । चिसोका कारण वृद्धवृद्धा, बालबालीका र गर्भवती महिनलाहरु प्रभावित भएका छन् ।
हिमपातका कारण हाल सम्म कुनै किसीमको क्षती नभएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताएका छन ।
प्रतिनिधिसभा निर्वाचन : काठमाडौं क्षेत्र ३ मा हाइ–प्रोफाइल भीडन्त, कुलमानको परीक्षा
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौं क्षेत्र नम्बर ३ यसपटक विशेष चासोको केन्द्र बनेको छ । हाइ–प्रोफाइल उम्मेदवारहरूको उपस्थितिले यो क्षेत्रको चुनावी प्रतिस्पर्धा निकै रोचक बन्ने देखिएको छ । खासगरी उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका कुलमान घिसिङको प्रवेशसँगै यहाँको चुनावी सरगर्मी फरक बन्ने अनुमान गरिएको छ ।
पूर्वमन्त्री तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा चर्चित घिसिङ सुशासन, कार्यसम्पादन क्षमता र इमानदार सार्वजनिक छविका कारण आम मतदातामाझ लोकप्रिय मानिन्छन् ।
दशकौँसम्म मुलुकले भोग्दै आएको दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गर्न उनले खेलेको भूमिकाले उनलाई ‘काम गरेर देखाउने नेता’ का रूपमा स्थापित गरेको छ । यही पृष्ठभूमिका कारण काठमाडौं क्षेत्र नम्बर ३ मा उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
घिसिङसँग प्रतिस्पर्धामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट निरज लामा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजु पाण्डे, नेपाली कांग्रेसबाट रमेश अर्याल तथा नेकपा (एमाले) बाट रामेश्वर फुयाँल मैदानमा छन् ।
यद्यपि, घिसिङको प्रशासनिक अनुभव, नतिजामुखी नेतृत्व र विकासप्रतिको स्पष्ट दृष्टिकोणले उनलाई अन्य उम्मेदवारभन्दा अलग पहिचान दिएको छ ।
घिसिङ नेपाल सरकारका पूर्व मन्त्रीसमेत हुन् । उनले ३० भदौ २०८२ देखि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम मन्त्रिपरिषद्मा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी सम्हाल्दै २०८२ पौष २३ गतेसम्म कार्य गरेका थिए । मन्त्री तथा प्रबन्ध निर्देशक दुवै भूमिकामा उनले देखाएको कार्यक्षमता नै उनको मुख्य राजनीतिक पूँजी बनेको छ ।
अन्य उम्मेदवारहरूमा रास्वपाबाट उम्मेदवार राजु पाण्डे काठमाडौं महानगरपालिकाका निर्वतमान नगर प्रहरी प्रमुख हुन् भने नेपाली कांग्रेसका रमेश अर्याल २०७४ सालको स्थानीय तह निर्वाचनमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का पूर्व वडाध्यक्ष हुन् । एमालेका उम्मेदवार रामेश्वर फुयाँल पूर्वसंविधानसभा सदस्यसमेत हुन् ।
स्थानीय विकास, सुशासन, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र प्रभावकारी सेवा प्रवाह सबै उम्मेदवारका साझा एजेन्डा भए पनि, ‘काम गरेर देखाएको अनुभव’ का आधारमा निर्णय गर्ने मतदाताको संख्या बढ्दै गएको देखिन्छ ।
यही कारण काठमाडौं क्षेत्र नं. ३ मा कुलमानको उम्मेदवारीले चुनावी नतिजा कुन दिशातर्फ मोडिने हो भन्ने कौतूहल अझ बढाएको छ ।
हाइ–प्रोफाइल उम्मेदवारहरूको भीडन्तबीच काठमाडौं ३ को चुनाव यसपटक व्यक्तित्व, कार्यक्षमता र विश्वासको परीक्षणस्थलका रूपमा हेरिन थालेको छ ।
यता, यो क्षेत्र भौगोलिक रूपमा आधा काठमाडौंको खानेपानीको माग धान्ने क्षेत्र मानिन्छ । तर, यही क्षेत्रभित्रै खानेपानीको समस्या चर्को रूपमा विद्यमान छ । त्यही बाटो हुँदै खानेपानीका मुख्य सञ्जाल बिछ्याइए पनि गोकर्णेश्वर नगरपालिका–४, ६ र ९ नम्बर वडामा खानेपानीको दीर्घकालीन समस्या समाधान हुन सकेको छैन । ढल व्यवस्थापन, सडक सञ्जालको अवस्था र फोहोर व्यवस्थापनजस्ता समस्या पनि पुरानै छन् ।
त्यसैगरी गोकर्णेश्वर–१ सुन्दरीजल क्षेत्रमा वन्यजन्तुको समस्या गम्भीर बन्दै गएको छ । शिवपुरी राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले जंगली जनावरहरू बस्तीमा प्रवेश गरी बालीनाली नष्ट गर्ने समस्या लामो समयदेखि कायम छ ।
हाइ–प्रोफाइल उम्मेदवारहरूको भीडन्तमा यि समस्याहरु मुख्य रुपमा हेरिएको छ । सो क्षेत्र यसपटक केवल दलगत प्रतिस्पर्धामात्र नभई व्यक्तित्व, कार्यक्षमता र जनविश्वासको परीक्षणस्थलका रूपमा हेरिन थालेको छ ।
पार्टी परित्याग गरी अर्को दल प्रवेश गरेपछि प्रकाश प्रसाईंमाथि कारबाही
दमक । नेपाली कांग्रेस दमक नगर समितिले पार्टीको नीति, सिद्धान्त र अनुशासन विपरीत गतिविधि गरेको ठहर गर्दै तत्कालीन नगर सभापति प्रकाश प्रसाईंमाथि कारबाही गरेको छ ।
नगर समितिद्वारा जारी प्रेस विज्ञप्तिअनुसार प्रसाईंले पार्टी परित्याग गरी अर्को राजनीतिक दलमा प्रवेश गरेकाले पार्टीको वडा, नगर, प्रदेश (ख) तथा क्षेत्रीय समितिको संयुक्त बैठकले उनलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो । प्रसाईं मनोनयन दर्ताकै दिन रास्वपा प्रवेश गरेका थिए ।
नेपाली कांग्रेस दमक नगर समितिले वडा तहदेखि क्षेत्रीय तहसम्मका सबै कार्यकर्ता तथा शुभेच्छुकलाई भ्रम, भ्रामक प्रचार र कपोलकल्पित आरोपप्रति सजग रहन आग्रह गर्दै पार्टीको आधिकारिक निर्णय र उम्मेदवारको पक्षमा एकताबद्ध भएर लाग्न आह्वान गरेको छ ।
विज्ञप्तिमार्फत आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ५ बाट कांग्रेस उम्मेदवार मन्धरा चिमोरिया पौडेललाई पार्टीको चुनाव चिन्ह् रुखमा मतदान गर्न समेत आग्रह गरिएको छ ।
सुनसरी-१ मा जनता समाजवादी पार्टीका भिम राई बने चुनावी कमाण्डर
धरान । सुनसरी निर्वाचन क्षेत्र नं. १ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार नगेन्द्र पारघरी लिम्बूलाई जिताउन पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य भिम राईको नेतृत्वमा १०३ सदस्यीय मूल निर्वाचन परिचालन समिति घोषणा गरिएको छ। बुधबार धरानमा आयोजित निर्वाचन क्षेत्रको भेलाबाट उक्त विशाल समिति घोषणा गरिएको हो। यस क्षेत्रबाट जनता समाजवादी पार्टीका तर्फबाट १ नं. प्रदेशका मुख्य सचिव नगेन्द्र पारघरी लिम्बू उम्मेदवार बनेका छन् ।
जनता समाजवादी पार्टीका केन्द्रीय स्कुल विभाग प्रमुख समेत रहेका भिम राईको संयोजकत्वमा गठित निर्वाचन परिचालन समितिमा मणि राई सहसंयोजक र सुमन राई सदस्य सचिव रहेका छन्। समितिमा प्रदेश समिति, राष्ट्रिय समितिहरू, जिल्ला समिति, नगर समिति, वडा समिति तथा जनवर्गीय संगठनका सबै पदाधिकारीहरूलाई समावेश गरिएको संयोजक राईले जानकारी दिएका छन् ।
निर्वाचनलाई परिणाममुखी तथा उम्मेदवार विजय बनाउनका लागि विभिन्न उपसमितिहरू समेत गठन गरिएको छ । कार्यालय तथा प्रचार सामग्री व्यवस्थापनमा शम्भु राई पृथकको संयोजकत्वमा कौशिला चेम्जोङ र दिलकुमार राई रहेका छन्। त्यस्तै, प्रचारप्रसार प्रमुखमा सुमन राई, धनराज राई चयन भएका छन् । जनपरिचालनमा जीवन सुच्चा राई र जेवीहाङ राई, विद्यार्थी संयोजकमा विजय राई, विश्वहाङ राई र प्रनिशा बस्नेत तथा युवा संयोजकमा दिलकुमार राई, केदार राई र निर्मल लिम्बू रहेका छन् ।
महिला संयोजकको जिम्मेवारी कौशिला चेम्जोङ, ममता राई र सीता राईले पाएका छन् भने भूपू सैनिक तथा प्रहरी संयोजकमा लक्ष्मी राई, शिव पुमा राई र पुण्य कट्टेल रहेका छन्। आर्थिक संयोजकमा केदार सोनाहाङ, कौशिला चेम्जोङ र निर्मल लिम्बू रहेका छन् । मजदुर परिचालन समिति संयोजकमा समिर राई, राकेश लिम्बू, पूर्ण बान्तावा, लालबहादुर मगर, रुपेश भुजेल र रणबहादुर सार्की चयन भएका छन्। सुकुम्बासी संयोजकमा हरी बान्तावा, आदिवासी तथा जातीय संघसंस्था समन्वय प्रमुखमा शम्भु राई पृथक, बौद्धिक पेसाकर्मी संयोजकमा पर्शु मेवाहाङ राई र ज्येष्ठ नागरिक संयोजकमा छत्रबहादुर श्रेष्ठ तथा टिकाराम भुजेल रहेका छन्। उम्मेदवार प्रतिनिधि तोक्न बाकी, स्वयंसेवक प्रमुखको जिम्मेवारी परम कुलुङ र कश्मीर राईलाई दिइएको छ ।
सचिवालयमा निर्वाचन परिचालन समितिका संयोजक, सहसंयोजक, सदस्य सचिव, प्रदेश र राष्ट्रिय समितिका सबै ,पार्टी नगर समिति पदाधिकारी र सबै उपसमितिका संयोजकहरू रहने गरी सचिवालय गठन गरिएको छ। यस समितिले भोलिसम्ममा कार्यतालिका तय गरी बाँकी योजना तथा घरदैलो कार्यक्रमहरू सञ्चालन गर्ने जनाइएको छ ।
ढिलाइ र लागत वृद्धिको उदाहरण बनेको कान्ति लोकपथ, अझै ३ वर्ष कुर्नुपर्ने
हेटौँडा । संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौँडालाई जोड्ने सबैभन्दा छोटो वैकल्पिक मार्गका रूपमा चिनिएको कान्ति लोकपथ सात दशक बितिसक्दा पनि अधुरै छ । २०१३ सालमा सुरु भएको आयोजना अझै पूर्ण हुन नसक्दा यसलाई नेपालका दीर्घकालीन र ढिलासुस्तीले ग्रस्त पूर्वाधार आयोजनाको उदाहरणका रूपमा लिन थालिएको छ ।
७९ किलोमिटर लामो कान्ति लोकपथ हालसम्म करिब ७५ प्रतिशत मात्र सम्पन्न भएको छ । आयोजना सुरु हुँदाको पुस्ता अवकाश उमेरमा पुग्दा पनि सडक निर्माण नसकिँदा राज्यको योजना कार्यान्वयन क्षमतामाथि प्रश्न उठेको छ।
कान्ति लोकपथ आयोजनाका इन्जिनियर राजन पाण्डेले बजेट अभाव, जटिल भूगोल, प्राकृतिक विपद् र संरचनागत समस्याका कारण आयोजना पटक–पटक पछाडि धकेलिएको बताए । उनका अनुसार हालको लक्ष्यअनुसार आगामी आर्थिक वर्ष २०८३/८४ सम्म आयोजना सम्पन्न गर्ने योजना छ।
हाल सडकको करिब चार किलोमिटर खण्ड अझै कालोपत्र हुन बाँकी छ। ती क्षेत्रमा एक लेन मात्र सडक रहेको र चट्टान काटेर दुई लेन विस्तार गर्नुपर्ने भएकाले काम जटिल बनेको आयोजनाले जनाएको छ। साथै, सडक सीमा निर्धारण नहुँदा घरटहरा, रुख, विद्युत् खम्बा, खानेपानी र ढलका संरचना सडक क्षेत्रमै परेका छन्। ढुङ्गा–बालुवा उत्खननसम्बन्धी कानुनी जटिलताले पनि काम प्रभावित भएको छ।
आयोजनाअन्तर्गत बागमती नदीमा निर्माणाधीन दुई लेनको पुल पनि समयमै सम्पन्न नहुने देखिएको छ। ९० मिटर लामो उक्त पुल १८ करोड रुपैयाँ लागतमा निर्माण हुँदैछ। हाल पाइलिङ र जग हाल्ने काम भइरहेको भए पनि चालु आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तभित्र सम्पन्न हुन नसक्ने आयोजनाले स्पष्ट पारेको छ।
कान्ति लोकपथको शून्य किलोमिटर काठमाडौँतर्फ ललितपुरको टीकाभैरव र हेटौँडातर्फ बुद्धचोक निर्धारण गरिएको छ। यसमध्ये ललितपुरमा ३९ किलोमिटर र मकवानपुरमा ४० किलोमिटर सडक खण्ड पर्छ। चालु आर्थिक वर्षदेखि टीकाभैरवदेखि ललितपुरको एकान्तकुनासम्म सडकको ‘एलाइन्मेन्ट’ परिवर्तन गरिएको छ।
चालु आर्थिक वर्षमा आयोजनाका लागि ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। हालसम्म करिब चार अर्ब रुपैयाँ खर्च भइसकेको छ। सुरुमा छ अर्ब रुपैयाँ अनुमान गरिएको लागत संशोधन हुँदै हाल आठ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ, जसले आयोजनाको लागत व्यवस्थापनमाथि समेत प्रश्न उठाएको छ।
यद्यपि कान्ति लोकपथ पूर्ण रूपमा सञ्चालनमा आएमा तराई–काठमाडौँ आवागमनमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ। हाल प्रयोग हुँदै आएको हेटौँडा–नारायणगढ–मुग्लिङ–नागढुङ्गा मार्ग (२२२ किलोमिटर) को सट्टा ७९ किलोमिटरमै हेटौँडाबाट काठमाडौँ पुग्न सकिनेछ। यसले दूरी १३२ किलोमिटर घटाउने, समय र इन्धन बचत गर्ने तथा यात्राको जोखिम कम गर्ने विश्वास गरिएको छ।
रास्वपाका सभापति रवि लामिछाने अस्पताल भर्ना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन् । माघ ५ गते जनकपुरमा सम्पन्न एक कार्यक्रममा सहभागी हुने क्रममा उनको देब्रे खुट्टामा लागेको सामान्य चोट समयक्रममा बढ्दै छालाको भित्री तहमा संक्रमण (सेलुलाइटिस) देखिएपछि अस्पताल भर्ना गरिएको हो।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार उक्त संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै राखी चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार आवश्यक ठहर गरिएको छ । हाल सभापति लामिछाने सोही अस्पतालमा उपचाररत छन्।
चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार तथा स्वास्थ्यमा सुधार आएपछि मात्र उनी नियमित राजनीतिक तथा सांगठनिक गतिविधिमा फर्किने उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए ।
सभापति लामिछाने सार्वजनिक रूपमा नदेखिनु भएको विषयमा चासो, चिन्ता र शुभेच्छा व्यक्त गर्ने सबैप्रति एक सूचना मार्फत रास्वपाले धन्यवाद व्यक्त गरेको छ । साथै, अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर नपरोस् र अस्पताल प्रशासनलाई असहजता नहोस् भन्ने उद्देश्यले भेटघाटका लागि अस्पताल नआइदिन पार्टीले अनुरोध गरेको छ ।
वृत्तचित्र ‘मुक्कुमलुङहरु’ को पहिलो प्रदर्शन
काठमाडौं । पाथिभरा अर्थात् मुक्कुमलुङ क्षेत्रमा निर्माणाधीन केबलकार र त्यसविरुद्ध भइरहेको आन्दोलनलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘मुक्कुमलुङहरुः आदिवासीको आस्थामाथि आक्रमण’ को पहिलो प्रदर्शन सम्पन्न भएको छ ।
मन्डला नाटकघरमा आयोजित उक्त प्रदर्शन कार्यक्रममा विभिन्न क्षेत्रका वक्ताहरूले वृत्तचित्र र आन्दोलनका सन्दर्भमा आफ्ना धारणा राखेका थिए।
करिब एक घन्टा लामो वृत्तचित्रले मुक्कुमलुङ धार्मिक स्थलको ऐतिहासिक र सांस्कृतिक महत्वसँगै त्यसप्रति आदिवासी समुदायको गहिरो अपनत्वलाई उजागर गरेको छ।
साथै, केबलकार निर्माणप्रति राज्यको रवैयाविरुद्ध आवाज उठाइरहेका व्यक्तिहरूको संघर्ष र दृष्टिकोणलाई दस्तावेजीकरण गरिएको छ। वृत्तचित्रले केबलकार परियोजनाले जीवजन्तु, वनस्पति तथा समग्र पर्यावरणमा पार्न सक्ने प्रभावमाथि पनि प्रश्न उठाएको छ।
कार्यक्रममा बोल्दै लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले भाषा, संस्कृति र इतिहासबाट वञ्चित पारिएका समुदायहरूको संघर्षको कथा वृत्तचित्रले प्रभावकारी रूपमा बोलेको उल्लेख गरे।
त्यसैगरी, किरात राई यायोख्याका उपाध्यक्ष युवराज राईले संविधानका सुन्दर प्रावधानहरू व्यवहारमा आदिवासी समुदायको हितमा कार्यान्वयन हुन नसकेको अनुभव साझा गरे।
किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापोले वृत्तचित्रजस्ता दस्तावेजहरू स्वयं प्रमाण भएको बताउँदै, यस्ता प्रमाणहरू मुक्कुमलुङ संरक्षणविरुद्ध उभिनेहरूलाई देखाउन सकिए धारणा परिवर्तन हुन सक्ने सम्भावना रहेको प्रश्न उठाए।
कार्यक्रममा लेखक खगेन्द्र संग्रौला, किरात राई यायोख्याका उपाध्यक्ष युवराज राई तथा किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापोले वृत्तचित्रमाथि आफ्ना विचार प्रस्तुत गरेका थिए।
रबिनकुमार नाल्वो र जीवनप्रकाश शेर्मा सहभागी रहेको यस वृत्तचित्रमा मच्छेदेवी गुरुङको सहनिर्देशन तथा भानु बोखिमको निर्देशन रहेको छ।
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न, प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु
काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगले जनाएको हो ।
समानुपातिकतर्फका मतपत्र आगामी फागुन ५ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने योजना रहेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।
यससँगै, प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ ।
सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त भण्डारीसहितका अधिकारीहरूले मतपत्र छपाइ स्थल जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी पुगेर प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्यको निरीक्षण गरेका थिए ।
निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रत्यक्षतर्फका २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ सुरु गरिएको जानकारी दिए । उनका अनुसार मतपत्र छपाइ कार्य करिब १५ दिनभित्र सम्पन्न हुने छ।
प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदानअघि मतपत्रको सुरक्षा व्यवस्थासहित निर्वाचनका सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको उल्लेख गरे । यसअघि जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्षतर्फ करिब ११ लाख नमूना मतपत्र छपाइ गरी निर्वाचन आयोगलाई पठाइसकेको छ।
हिमपातपछि अवरुद्ध कर्णाली राजमार्ग पुनः सञ्चालनमा (तस्बिरहरु)
मुगु । माघ १० गते राति परेको भारी हिमपातका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्लाको भुलभुलेदेखि घुच्चिलेख, सात मोड हुँदै झाडनाउलासम्मको सडक खण्ड अवरुद्ध बनेको थियो।
हिउँ जमेर सडक पूर्ण रूपमा बन्द भएपछि सवारी आवागमन ठप्प भएको थियो। सडक डिभिजन कार्यालय जुम्लाको पहलमा माघ ११ र १२ गते जेसीबी मेसिन प्रयोग गरी सडकमा जमेको हिउँ हटाइएपछि कर्णाली राजमार्ग उक्त खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ।
सडक सुचारु भएसँगै जुम्ला–मुगु आवतजावत सहज बनेको छ भने यात्रु तथा स्थानीयवासीले राहत महसुस गरेका छन्। यसअघि हिमपातका कारण अलपत्र परेका सवारी साधनहरू समेत गन्तव्यतर्फ लागेका छन्।
न्यूयोर्कसहित अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा हिमआँधी, आपतकाल घोषणा र जनजीवन प्रभावित
न्यूयोर्क । न्यूयोर्क सिटीसहित अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा आइतबार ठूलो हिमआँधीले जनजीवन प्रभावित भएको छ । शनिबार रातिदेखि सुरु भएको भारी हिमपातका कारण न्यूयोर्क र न्यू जर्सी राज्यले आपतकाल घोषणा गरेका छन् भने न्यूयोर्क सिटीका सबै सार्वजनिक विद्यालयहरू सोमबारका लागि बन्द गरिएका छन् भने कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन हुने जनाइएको छ ।
न्यूयोर्कको सेन्ट्रल पार्क, म्यानहटनलगायतका क्षेत्रमा बाक्लो हिउँ जमेको छ । अत्यधिक चिसोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । तापक्रम शून्यभन्दा तल करिब माइनस १० डिग्री सेल्सियससम्म झरेको छ भने चिसो हावाका कारण अनुभूत तापक्रम माइनस १५ डिग्रीसम्म पुगेको छ ।
आइतबार साँझ ४ बजेपछि हिमपातको मात्रा केही घटे पनि पानी मिसिएको हिउँ सोमबारसम्म जारी रहने पूर्वानुमान गरिएको छ । न्यूयोर्क, न्यू जर्सी, म्यासाचुसेट्स, पेन्सिल्भेनिया, कनेक्टिकट र न्यू ह्याम्पशायरमा दैनिक जीवन कठिन बनेको छ । सडकमा हिउँ पगाल्न नुन छर्किने तथा सफाइ सवारीसाधनहरू दिनभर सञ्चालनमा रहे पनि आपतकालका कारण सवारीसाधन र मानिसहरूको आवागमन न्यून देखिएको छ ।
धेरै पसल तथा फास्ट–फुड सेवा पनि बन्द रहेका छन् । सरकारी अधिकारीहरूले आगामी एक हप्ता तापक्रम अझै घट्ने चेतावनी दिँदै नागरिकहरूलाई सतर्क रहन र न्यानो रहन आग्रह गरेका छन् ।









