बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HZVG3DWJ8BGQT8DQXZ0FXRZD.jpg

जीर्ण भवनमा पढ्न बाध्य छन् विद्यार्थी

लमजुङ, २६ जेठ I पानी पर्दा कक्षाकोठा भित्रै पानी छिर्ने जीर्ण विद्यालय भवनमा विद्यार्थी पढ्न बाध्य हुँदै आएका छन् । सदरमुकाम रहेको बेँसीसहर नगरपालिका–१ सानो धिमिरेस्थित बालविकास प्राथमिक विद्यालयका विद्यार्थी जीर्ण भवन र पानी पर्दा कक्षाकोठा भित्रै पस्ने विद्यालय भवनमा केही वर्षदेखि पढ्न बाध्य हुँदै आएका हुन् ।   
  
विद्यालयका प्रधानाध्यापक सिमा लोहनीले पुरानो भवन जीर्ण र पानी चुहिने भएको र नयाँ भवनमा पानी परेका बेलामा कक्षाकोठा भित्रै ठूलो पानी छिर्ने गर्दा पानी परेका बेलामा पठनपाठन प्रभावित हुँदै आएको बताउनुभयो ।   
  
उहाँका अनुसार विसंं २०४८ मा स्थापना भएको यस विद्यालयमा चारकोठे पुरानो भवन र विसंं २०७४ मा निर्माण गरिएको दुईकोठे भवन रहेको छ । पुरानो भवनको गाह्रो चिराचिरा परेर खस्ने अवस्थामा रहेकाले कुनै पनि बेला खस्छ कि भनेर पठनपाठनमा समस्या भइरहेको उहाँले बताउनुभयो ।   
  
उहाँले विद्यालयमा जस्तापाताको छानो रहेको र छानोका लागि राखिएका काठ कुहिन थालेको तथा नयाँ भवनको छानो मिलाएर नहालेकाले गर्दा पनि पानी परेको बेलामा कक्षाकोठा भित्रै पानी छिर्ने गरेको बताउनुभयो ।   
  
“पानी परेपछि सबै विद्यार्थीलाई दुईकोठे नयाँ भवनमा रहेको शिक्षकको कार्यालयमै ल्याएर राख्ने गरेका छौँ, नयाँ भवनका कोठामा पनि पानी छिर्ने गरे पनि अन्य कोठाको तुलनामा कम पानी आउने गरेकाले शिक्षक विद्यार्थी एकै ठाउँमा बस्ने गरेका छौँ”, उहाँले भन्नुभयो ।   
  
पुरानो भवनको निर्माण र नयाँ भवनको छानो फेर्नका लागि वडा कार्यालय, पालिकाको शिक्षा शाखादेखि प्रदेश सरकारसँग केही वर्षअघिदेखि नै माग गरे पनि हालसम्म सुनुवाइ नहुँदा विद्यार्थीले यस्तो समस्याको सामना विगत तीन वर्षदेखि गर्न बाध्य हुँदै आएको गुनासो विद्यालय प्रधानाध्यापक लोहनीले गर्नुभयो ।   
  
विद्यालयमा गत वर्ष २२ जना रहे पनि यस वर्ष १५ मात्र विद्यार्थी रहेका छन् । नर्सरीदेखि कक्षा ३ सम्म पढाइ हुने यस विद्यालयमा पानी आएपछि विद्यार्थी कापीकलम झोलामा राखेर झोला लिएर ओत खोज्न जानुपर्ने बाध्यता छ । ठूलो पानी परेका बेलामा आफूहरु पानीले रुझे पनि झोला जोगाउने कोसिस गर्दा पनि कुनैबेला झोला भिजेर किताब नै भिज्ने गरेको विद्यार्थीको भनाइ छ । नयाँ भवनमा ३ कक्षाको पढाइ हुने गरेको छ भने पुरानो भवनमा नर्सरीदेखि २ कक्षासम्मका विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।   
  
नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव किसानराज चिलुवालले उक्त विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत माग गरे पनि उक्त कार्यक्रमका लागि बजेट नै नआएकाले सहयोग गर्न नसकिएको र विद्यालय मर्मत तथा निर्माणका लागि शिक्षा शाखासँग बजेट नहुने बताउनुभयो ।   
  
वडाध्यक्ष दुर्गाबहादुर बुढाथोकीले विद्यालयमा पानी चुहिने र जीर्ण भवनमा पठनपाठन गर्न जोखिम रहेको भए पनि तत्काललाई आर्थिक अभावले सो समस्या हटाउन नसकिने बताउनुभयो । विद्यालयबाट उक्त जानकारी केही दिनअघि मात्र वडालाई आएको र सोअघि कुनै जानकारी नआएकाले अहिले आर्थिक वर्षको अन्तिम बेलामा बजेट नहुने उहाँको भनाइ छ ।   
  
उक्त खबर पाउनासाथ वडाबाट प्राविधिक पठाएर हाललाई नयाँ भवनको एक कोठाका लागि छानो छाउनका लागि लागत अनुमान तयार गरेर र सम्झौता गरेर केही दिनमा काम अघि बढ्ने वडाध्यक्ष बुढाथोकीको भनाइ छ । उहाँले पुरानो जीर्ण भवन भने तत्काल केही गर्न नसकिने र आगामी दिनमा विद्यालय भत्काउने तथा कसरी अघि बढ्ने भनेर छलफल गरेर अघि बढ्ने बताउनुभयो ।  

प्रकाशित मितिः शनिबार, २६ जेठ २०८१
https://jawaaf.com/storage/01HZVF17THR1B0925H85RXYTVF.jpg

प्रधानमन्त्री दाहाल आइतबार नयाँदिल्ली जाँदै, प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने

काठमाडौँ, २६ जेठ I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भोलि आइतबार भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ । 

प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री मोदीले  शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उहाँबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले राससलाई बताए । ती अधिकारीले भने, “प्रधानमन्त्रीद्वयबीच सङ्क्षिप्त भेटवार्ता हुनेछ । ”

प्रधानमन्त्री दाहालका साथ उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्ती पदम गिरी तथा उच्चपदस्थ सरकारी कर्मचारी रहनुहुनेछ । उहाँ यही जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम छ । 

मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहणमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो । प्रधानमन्त्री दाहालले यसअघि गत जेठमा भारतको औपचारिक भ्रमण गर्नुभएको थियो ।

यसअघि सन् २०१४ मा प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी हुनुभएको थियो । त्यसबेला पाकिस्तानबाहेक दक्षिण एसियाली मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख समारोहमा सहभागी हुनुभएको थियो । 

गत बुधबार प्रधानमन्त्री दाहाल र उहाँका भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता भएको थियो । त्यस अवसरमा उहाँहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा विचारविमर्श हुनका साथै भएको थियो । प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताउनुभएको थियो ।

प्रत्युत्तरमा भारतका प्रधानमन्त्री मोदीले “प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो । वहाँको न्यानो शुभकामनाको लागि वहाँलाई धन्यवाद व्यक्त गरेँ । भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौँ,” भन्नुभएको थियो । 

सात चरणमा भारतमा सम्पन्न लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) दुई सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले दुई सय ४० सिट जितेको छ । 

एनडिएको समर्थनमा भारतीय जनता पार्टीका नेता मोदीले आइतबार अपराह्न तेस्रो कार्यकालका लागि शपथग्रहण गर्ने निश्चित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ । 

प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री दाहालसँगै भारत सरकारले श्रीङ्काका राष्ट्रपति रनिल विक्रमासिङघे, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गरेको छ । 

प्रकाशित मितिः शनिबार, २६ जेठ २०८१
https://jawaaf.com/storage/01HZV6ZQJD7JCX45CD84Z7AQ4S.jpg

संसद समीक्षा: बजेटमाथिको छलफलसँगै विधेयकहरुमा पनि बहस जारी

काठमाडौँ, २६ जेठ I जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्वपूर्ण संस्था संसद्ले आफ्ना कामकारबाहीलाई यतिखेर निरन्तररुपमा अघि बढाएको छ । मुलुकको सङ्घीय संसद्मा पछिल्ला दिनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको सैद्धान्तिक छलफलका साथै विभिन्न विधेयकमाथिका छलफलले निरन्तरता पाएको छ ।     
     
संसदीय शासन प्रणालीमा नीति निर्धारण तथा कानुन निर्माणको कामको व्यवस्थापन संसद्कै कार्यविधिबाट हुन्छ । नीति निर्धारण तथा कानुन निर्माणमा दलहरु त्था सांसदहरुबीचको सघन संवाद र लोकतान्त्रिक विधिको उच्चतम प्रयोगले यी कार्यहरुमा उत्प्रेरणा पैदा गर्ने गर्दछ । जनताका प्रतिनिधिको स्वीकृतिबिना कुनै कर नलगाइने भन्ने सिद्धान्त रहेकाले पनि संसदीय गतिविधि, निर्णय र निर्देशनको अनिवार्यताको कल्पना संविधानले गरेको छ । यस सन्दर्भमा संसदीय गतिविधि निर्वाध सञ्चालन हुनु र जनसवालका विषयका साथै सरकारबाट प्रस्तुत नीति तथा कार्यक्रम, बजेट र विभिन्न विधेयकमाथि खुला छलफल हुनुले लोकतन्त्रको सौन्दर्यकै अभिवृद्धि गर्छ ।     
     
दलहरुबीच मतैक्यता नहुँदा थालनीका दिनहरुमा बैठक सञ्चालन सहज हुन नसकेको सङ्घीय संसद्को चालु अधिवेशनका कामकारबाही अहिले निर्वाध बन्दै गएका छन् । आगामी आवको बजेट प्रस्तुतियता नियमित बैठकहरु र छलफल जारी रहेपछि सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत पदाधिकारी, राजनीतिक दलका नेता, सांसद र संसद् सचिवालयका कर्मचारी कार्यसूचीका आधारमा कार्यजिम्मेवारी सम्पादन गर्न व्यस्त देखिनुहुन्छ । संसद्का बैठकका विशेष र शून्य समयमा सांसदहरुले आफूलाई लागेका जनजीवन र समसामयिक विषयमा विचार राख्ने क्रम जारी छ । सो क्रममा राजनीतिक छेडछाडको दोहोरी पनि चलेकै देखिन्छ । सहजरुपमा सञ्चालन भएका बैठकमा सांसदले राखेका विचारलाई जनताको सार्वभौमसत्ताको प्रयोगकै अवसरका रुपमा लिन सकिन्छ ।     
     
यसबीचमा यही जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनबाट प्रस्तुत आगामी आर्थिक आर्थिक वर्ष २०८१÷८२ को बजेट (राजस्व र व्ययको वार्षिक अनुमान) माथि सामान्य (सैद्धान्तिक) छलफल सम्पन्न भएको छ । दुवै सदनमा सांसदबाट सो विषयमा उठाइएका प्रश्नमाथि मन्त्री पुनले जवाफ दिइसक्नुभएको छ । मन्त्री पुनले विगत वर्षमा गरिएको आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्ने र बदलिँदो विश्व अर्थ व्यवस्थामा मुलुकको वस्तुगत आवश्यकताको दृष्टिकोण बजेटमा रहेको सुनाउनुभयो । उहाँले उत्पादन र रोजगारका अवसर सिर्जना गर्ने उल्लेख गर्दै बजेटले समन्वयात्मक भूमिका निर्वाह गरी लक्षित राजस्व सङ्कलनमा सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो ।     
     
मन्त्री पुनले नयाँ करका रुपमा हरित कर थालनी गरिएको उल्लेख गर्दै मुलुकले सौर्य र नवीकरणीय ऊर्जातर्फ सरकारले ध्यान दिएको स्पष्ट गर्दै आलु, प्याज र स्याउको आन्तरिक उत्पादनलाई संरक्षण दिन मूल्य अभिवृद्धि कर हटाइएको जानकारी दिनुभयो । छलफलमा सांसदहरुले विनियोजन गरिएको बजेटले लिएका लक्ष्यको प्रभावकारी कार्यान्वयन गर्न जोड दिएका विषयमा अर्थमन्त्री पुनले गम्भीरतापूर्वक लिएको देखिन्थ्यो ।     
     
प्रतिनिधिसभामा यही जेठ २२ गते बजेटको छलफल चलिरहँदा राष्ट्रियसभामा मन्त्री पुनले जवाफ दिन जानुपर्ने भएकाले प्रतिनिधिसभाको बैठकको छलफल चल्दाचल्दै उहाँको खोजी भए पनि १५ मिनेटका लागि बैठक स्थगन गर्नुपरेको थियो । दुवै सदनमा उही समयमा एकै विषयमा छलफल चल्दाका यस किसिमका समस्या विगतमा पनि नदेखिएका होइनन् ।     
     
विगतमाझैँ यस वर्ष पनि सत्तापक्षका सांसदहरुले मूलरुपमा बजेटको समर्थन र विपक्षी सांसदले आलोचना गर्ने क्रम देखियो । सत्तापक्षकै सांसदबाट असन्तुष्टिका स्वर पनि बजेटमाथि गुञ्जिएका छन् । उदाहरणका रुपमा नेकपा (एमाले) का सांसद गोकर्णराज विष्टले बजेटमा पाँच उद्देश्य, पाँच प्राथमिकता, पाँच रणनीति र पाँच रुपान्तरणकारी क्षेत्र छुट्टयाइनु सकारात्मक रहे पनि प्रस्तावित कार्यक्रम तथा रकम विनियोजनबीचको समुचित व्यवस्थापन नभएको टिप्पणी गर्नुभयो । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल सरकारको आगामी आवको बजेट यथार्थमा आधारित नभई महत्वाकाङ्क्षी भएको बताउनुभयो । कांग्रेसकै सांसद डा आरजु राणा देउवाले आगामी वर्षको यस बजेटलाई थप प्रभावकारी र कार्यान्वयनमुखी बनाउन बुँदागत रुपमा सुझाव दिनुभयो । सत्तापक्षकै सांसदले बजेटको स्वामित्व कसले लिने भन्ने प्रश्न गर्दा बजेट कार्यान्वयन गर्न चुनौतीपूर्ण हुने देखिन्छ । अर्थमन्त्री पुनले ती सबै सुझावलाई रचनात्मकरुपमा ग्रहण गरेको बताउनुभयो । संसद्का आगामी बैठकमा विनियोजन विधेयक र आर्थिक विधेयकमा छलफल हुनेछ ।     
     
बजेटमाथिका छलफलमा सांसदहरुको पातलो उपस्थिति र छलफलमा भाग लिएका कतिपय सांसदको प्रस्तुति प्रखर हुन नसक्नुका क्रम पनि यसबीचमा देखिएका छन् । छलफलमा भाग लिने सदस्यका लागि समय निर्धारण गरिएपछि स्वचालितरुपमा माइकको लाइन काटिने अभ्यास अहिले पनि छँदैछ । यसैबीचमा इलाम–२ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङले जेठ २२ गतेको प्रतिनिधिसभा बैठकमा आफ्नो पहिलो मन्तव्य राख्नुभएको थियो ।     
     
सांसदबीच वादप्रतिवाद     
     
यस साताका बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमाले नेता योगेशकुमार भट्टराईका अभिव्यक्ति राजनीतिक दोहोरीका रुपमा चर्चामा रहे । कांग्रेस नेता शर्माले फौजदारी वा कुनै घटनामा आरोप लागेका व्यक्तिमाथि छानबिन गर्दा पूर्वाग्रहबाट मुक्त भएर गर्न सरकारलाई आग्रह गर्नुभएको थियो भने एमाले नेता भट्टराईले छानबिनबाट आफ्नो दल नभाग्ने स्पष्ट पार्नुभएको थियो ।     
     
महामन्त्री शर्माले सहकारी पीडितमाथिको छानबिन समितिको गठन हुनु सकारात्मक भए पनि विश्वासको मत लिने समयवाधि २२ दिन बाँकी कायमै रहेको अवस्थामा जेठ ७ गते सदनमा प्रतिपक्षी दलको अवरोधबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारोमा विश्वासको मत लिएको घटनामा आफूहरुको असहमति रहेको दर्ज गर्नुभयो । महामन्त्री शर्माले गिरीबन्धु टि स्टेटका सम्बन्धमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा कांग्रेसको सरकारका समयमा जग्गा बिक्री गरिएको जस्ता आरोप लगाएकामा चिन्ता व्यक्त गर्र्दै यदि त्यसो हो भने छानबिन गरेर कारबाही गर्न चुनौती दिनुभयो । महामन्त्री शर्माले काठमाडौँको न्युरोडको सडक निर्माण विवादमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको पक्ष लिनुभयो भने एमाले नेता भट्टराईले प्रमुख शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सामाजिक सञ्जालबाट गरेको आलोचनाको विरोध गर्नुभयो ।     
     
संसदीय छानबिन समिति गठन र कार्यारम्भ     
     
गत वैशाख २८ गते शुक्रबारदेखि सुरु भएको चालु बजेट अधिवेशनमा प्रतिनिधिसभा र राष्ट्रियसभामा पहिलो दिनको बैठकदेखि नै प्रतिपक्षीको अवरोध र नारावाजीको शृङ्खला सुरु भएको थियो । पछि प्रमुख दलहरुबीच जेठ १५ गते सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन गर्ने सहमति भयो र संसद्को गत्यावरोधको अन्त्य पनि भयो । संसदीय छानबिन समिति गठनमा सहमति नभएको भए जेठ १५ गते नेपाल सरकारको बजेट प्रस्तुतिको कार्यसूची प्रभावित हुन्थ्यो । अध्यादेशबाटै भए पनि सरकारले अनिवार्य रुपमा सोही दिन बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताको पालना गर्नुपर्ने अवस्था थियो । तर त्यसो हुन पाएन, बजेट भाषण संसदबामै प्रस्तुत भयो ।     
     
 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत दलहरुले सहकारी समस्याको समाधान गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित संसदको कामकारबाहीमा अवरोध गर्दै आएका थिए । तर राष्ट्रपति रामचन्द्र पौडेलको सम्बोधनमार्फत यही जेठ १ गते प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रमको प्रस्तुतिमा भने संसद अवरुद्ध भएन । तर त्यसपछि लगातारका अवरोधले नीति तथा कार्यक्रममाथि सहजरुपमा छलफल र जवाफ प्रस्तुति हुन पाएन । संसदीय छानबिन समितिका संयोजक सूर्यबहादुर थापा क्षेत्रीसहित सदस्यहरुले औपचारिक पत्र बुझेर कार्यारम्भ गरिसक्नुभएकाले सहकारी समस्याका विषयमा अब संसदमा विवाद उत्पन्न नहोला भन्न सकिन्छ तर समितिको कार्यविधिबारे प्रमुख दलहरुबीच आ–आफ्ना अडान भने छँदैछन् ।     
     
 सभामुख देवराज घिमिरेको उपस्थितिमा यही जेठ २३ गते सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको पहिलो बैठक सम्पन्न भई समितिको आन्तरिक कार्ययोजना र कार्यविधि बनाउने निर्णय भएको छ । समितिका सभापति थापाले निर्धारित समय (तीन महिना) भित्रै काम सक्नुपर्छ भनेर छलफल गरेको राससलाई जानकारी दिनुभयो । उक्त समितिका सदस्यमा नेकपा (एमाले)बाट थापा र सरिता भुसाल, नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, नेकपा (माओवादी केन्द्र)बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान रहनुभएको छ ।     
     
अघि बढ्दै विधेयकहरु     
     
यसबीचमा अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ संसद्का बैठकमा पेस गर्नुभएको छ । ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव जेठ २४ गतेको बैठकले बहुमतले स्वीकृत गरेको छ ।     
     
प्रतिनिधिसभाकोे बैठकमा ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेस भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१’ पेस गर्नुभएको हो ।     
     
प्रतिनिधिसभाबाटै सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ बहुमतले पारित भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ लाई पारित गरेपछि विदेशमा छपाइ हुने सुरक्षण मुद्रणसँग सम्बन्धित नेपाल राष्ट्र बैंकका नोट, राहदानी, हुलाक टिकट, स्टिकरलगायत सुरक्षण मुद्रणका सामग्री स्वदेशमै छपाइ गर्न बाटो खुलेको छ ।   

प्रकाशित मितिः शनिबार, २६ जेठ २०८१
https://jawaaf.com/storage/01HZV3CF64V0BFQMBT3STMFBNM.jpg

रसुवामा गोसाइँकुण्ड मेला सुरू

रसुवा, २६ जेठ  I रसुवामा गोसाइँकुण्ड मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि भक्तजन सुलाद्री पर्वत आरोहण गर्न थालेका छन् ।
       
  गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले  मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न बुधबारदेखि हालसम्म एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आरोहण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मिलन सापकोटाले बताउनुभयो ।
       
तीर्थालुको चापलाई मध्यनजर राख्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । यात्रामा कुनै समस्या आए जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्न उहाँले आग्रह गर्नुभएको छ । 

तीर्थालुलाई बासको कुनै समस्या नभएको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले बताउनुभयो । गङ्गा दशहरा मेला १० दिनसम्म लाग्ने छ । काठमाडौँबाट धुञ्चे हुँदै तिवारी बगर, खन्ती, देउराली, डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक भएर गोसाइँकुण्ड पग्न सकिन्छ । धार्मिक यात्रा गर्दा लठ्ठीका नाममा वनस्पति नकाट्न, चाउचाउ तथा बिस्कुटलगायतका खाद्य सामग्री उपभोग गर्दा उत्पन्न प्लाष्टिकसमेतका फोहर सुरक्षित तवरले तोकिएको स्थानमा मात्र फ्याँक्न, बाटोमा भेटिने वन्यजन्तुलाई तर्साउने हिर्काउनेसमेतका कार्य नगर्न यात्रुलाई अनुरोध गरिएको निकुञ्जका वरिष्ठ प।्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । गोसाइँकुण्ड मेला आगामी असार २ गतेसम्म चल्ने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, २६ जेठ २०८१
https://jawaaf.com/storage/01HZTWZNNKDZY61CGHJAXHQ5E8.jpg

अतिक्रमित जमिन खाली गराउन पहल गर्दै सुदूरपश्चिम विश्वविद्यालय

महेन्द्रनगर (कञ्चनपुर), २६ जेठ I सुदूरपश्चिम विश्वविद्यालयले आफू मातहतका आङ्गिक क्याम्पसको अतिक्रमित सयौंँ बिघा जमिन खाली गराउन पहल थालेको छ । सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणलाई तीव्रता दिएसँगै विश्वविद्यालयले आङ्गिक क्याम्पसअन्तर्गतका अतिक्रमित जमिन खाली गराउन पहल थालेको हो ।

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले टीकापुरमा रहेको टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण हटाउन पटक पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको जनाएको छ । विसं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पस स्थापना गर्न तीन सय ८० बिघा जग्गा उपलब्ध गराएको थियो । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा हेमराज पन्तले सार्वजनिक जग्गा एवं सम्पत्तिको संरक्षण र अतिक्रमण खाली गराउने अभियानमा सरोकारवाला निकायले पनि साथ दिनुपर्ने बताउनुभयो । 

“टीकापुरस्थित क्याम्पससँग तीन सय ८० बिघा जग्गा रहे पनि क्याम्पसले हालसम्म ८० बिघा मात्रै भोगचलन गर्न पाएको छ”, उपकुलपति प्रा डा पन्तले भन्नुभयो । तीन सय बिघा जमिन मुक्तकमैया तथा सुकुम्वासीको नाममा अतिक्रमणमा परेको छ । वास्तविक पीडितको पहिचान गरी व्यवस्थापनमा ध्यान दिएर विश्वविद्यालयको जमिन खाली गराउन सम्बन्धित निकायले अग्रसरता लिनुपर्ने उहाँको भनाइ छ ।

सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले जग्गा खाली गराउने विषयमा विश्वविद्यालयका कुलपति समक्षसमेत आग्रह गरिएको बताउनुभयो । “केन्द्रीयस्तरको पहलबाट मात्रै अतिक्रमित जमिन खाली गराउन सकिने हुँदा पहल गरिनु आवश्यक छ”, उहाँले भन्नुभयो, “विश्वविद्यालयको जमिन अतिक्रमणमा पर्दा क्याम्पस व्यवस्थापनमा बाधा पुगेको छ ।”

विसं २०६३ देखि क्याम्पसको जमिन अतिक्रमण सुरु भएको टीकापुर बहुमुखी क्याम्पसका प्रमुख धवीन्द्र रावलले बताउनुभयो । उहाँले पछिल्लो समय गृह मन्त्रालयद्वारा सार्वजनिक जग्गासम्बन्धी सूचना प्रकाशित भएपछि अतिक्रमित जग्गाको लालपुर्जासहितको कागजात जिल्ला प्रशासन कार्यालय कैलालीमा पेस गरिएको उहाँले जानकारी दिनुभयो ।

“कागजात पेस गरे पनि सुनुवाइ भएको छैन । गृहको सूचनाका आधारमा महेन्द्रनगरलगायत सहरमा अतिक्रमण गरिएका जमिन खाली गरिँदै छन्”, क्याम्पस प्रमुख रावलले भन्नुभयो । उहाँका अनुसार क्याम्पस परिसरको जग्गामा करिब एक हजार पाँच सय परिवारले टहरा बनाएर बसेका छन् । 

“हामीले कृषि कार्यक्रम सञ्चालन गरेका छाँै, यसमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि ठाउँ अभाव भइरहेको छ”, क्याम्पस प्रमुख रावलले भन्नुभयो, “विद्यार्थीको अध्ययनका लागि भौतिक संरचना र प्रयोगशाला भवन नहुँदा झन समस्या छ ।” उहाँले पछिल्लो समय जग्गा अतिक्रमणको विषय महालेखा परीक्षकको प्रतिवेदनमासमेत उल्लेख भएको बताउनुभयो । 

यसअघि अतिक्रमण हटाउनका लागि स्थानीय तथा प्रदेश सरकार, विश्वविद्यालयका उपकुलपति तथा रजिष्ट्रारको सहभागितामा पटक–पटक सर्वपक्षीय बैठक र छलफल भए पनि विश्वविद्यालयले आफ्नो जग्गा भोगचलन गर्न पाएको छैन् ।

प्रकाशित मितिः शनिबार, २६ जेठ २०८१
https://jawaaf.com/storage/01HZTWGYNGZWRC1XFZ1BNM8M6M.jpg

कोशी, वाग्मती र गण्डकी प्रदेशमा वर्षा हुने

काठमाडौँ, २६ जेठ I कोशी, वाग्मती र गण्डकी प्रदेशमा आज वर्षा हुने सम्भावना रहेको छ । हाल नेपालमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेकाले ती प्रदेशमा वर्षाको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा आज  बिहानसम्म हल्का वर्षा भएको छ । अहिले कोशी प्रदेशलगायत देशको  पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको केही स्थानमा आज राति पनि मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

प्रकाशित मितिः शनिबार, २६ जेठ २०८१
https://jawaaf.com/storage/01HZTNT5M6TFWTKXV1DXR2W153.png

राष्ट्रसङ्घीय कमिटीमा नेपालकी राणा निर्वाचित

न्यूयोर्क, २६ जेठ I महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित हुनुभएको छ । उहाँ उक्त पदमा पुनः निर्वाचित हुनुभएको हो ।   
  
शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा एक सय ४६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्नुहुनेछ ।   
  
नेपालको तर्फबाट विजयी भएपछि राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरुले गरेको सहयोगका लागि धन्यवाद दिनुभयो । तेइस सदस्य रहने उक्त समितिले विश्वव्यापी रुपमा महिलाले भोग्नुपरेका समस्या, राष्ट्रसङ्घमा जनाइएका प्रतिबद्धता कार्यान्वयनलगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको बारेमा अनुगमन गर्ने गर्छ । उक्त समितिको कार्यालय जेनेभामा रहेको छ ।  

प्रकाशित मितिः शनिबार, २६ जेठ २०८१
https://jawaaf.com/storage/01HZSFF0ZVH18X6GHF7C6F3R37.jpg

नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ : महामन्त्री थापा

मोरङ, २५ जेठ I नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसले जिम्मेवारीपूर्वक एवं सशक्त ढङ्गले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ ।   
  
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले कांग्रेस प्रतिपक्षमा रहेकाले सोहीअनुसार भूमिका निर्वाह गर्ने र योबाहेक अन्य कुनै विकल्पमा नजाने प्रष्ट पार्नुभयो ।   
  
महामन्त्री थापाले नेकपा (एमाले) अथवा नेकपा माओवादीसँग मिलेर सरकार बनाउने कुनै प्रयास र छलफल नगर्ने बताउनुभयो । पार्टी सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेका नेतृत्वसँग शान्ति प्रक्रिया टुङ्ग्याउने र संविधानका कतिपय विषयमा पुनरावलोकन गरेर सङ्घीय गणतन्त्रलाई बलियो बनाउने विषयमा कुराकानी गरिरहेको जानकारी दिनुभयो ।   
  
महामन्त्री थापाले सरकारले सत्ताको दुरुपयोग गरी नागरिक समाजका व्यक्ति र सञ्चारकर्मीहरुमाथि प्रश्न उठाउने कार्य अविलम्ब बन्द गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेस दलीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएको चर्चा गर्दै संसद्मा अन्य पार्टीहरुले कांग्रेसको नीति, नेता, निर्णयका विरोध एवं प्रश्न गर्न पाउने अधिकारको सम्मान गर्ने बताउनुभयो ।   
  
उहाँले असारको तेस्रो हप्ताभित्र पार्टीभित्र थाति रहेका भातृ एवं वर्गीय सङ्गठनका महाधिवेशन गरी नेतृत्व समझदारीबाट टुङ्याउने प्रयास भइरहेको जानकारी दिनुभयो ।  

प्रकाशित मितिः शुक्रबार, २५ जेठ २०८१
https://jawaaf.com/storage/01HZSFHS7QT1KSP1P5VJ6030S5.jpg

क्यान्सरपीडित खेलाडीलाई आर्थिक सहयोग

काठमाडौँ, २५ जेठ I नेपाल महिला फुटबल सङ्घको पहलमा क्यान्सरपीडित पूर्वफुटबल खेलाडी गङ्गा गुरुङलाई स्वास्थ्य उपचारका लागि आज आर्थिक सहयोग प्रदान गरिएको छ ।

महिला फुटबल सङ्घका पदाधिकारी, खेल पत्रकार, शिक्षक र विदेशमा रहेका नेपालीबाट सङ्कलित रु एक लाख पाँच हजार जमुना गुरुङलाई हस्तान्तरण गरिएको महिला फुटबल सङ्घकी महासचिव विना श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालबाट पहिलो गोल गर्ने पूर्वकप्तान तथा महिला फुटबल सङ्घकी अध्यक्ष पेम्बा डोल्मा लामाले हस्तान्तरण गर्दै गङ्गाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

सो अवसरमा फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङ, नेपालबाट छनोट चरण पार गरी ओलम्पिक खेल्ने पहिलो खेलाडी तेक्वान्दोकी स(ङ्गीना वैद्य, पूर्वकप्तानद्वय जमुना गुरुङ र चन्द्रा भण्डारीको उपस्थिति रहेको थियो । गंगाले भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार गराइरहनुभएको छ । 

प्रकाशित मितिः शुक्रबार, २५ जेठ २०८१
https://jawaaf.com/storage/01HZS9HRJBJF0KTDFKB6JNG985.webp

बास्केटबल टोली चीन जाने

काठमाडौँ, २५ जेठ I छैटौँ एसियाली विश्वविद्यालय थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज चीनको झौसन प्रस्थान गर्नेभएको छ ।

यही जेठ २९ देखि ३१ गतेसम्म हुने उक्त प्रतियोगितामा मनिष केसी (कप्तान), निकेश राखल मगर, सुदीप पौडेल क्षेत्री र श्रेयश शाहले नेपालको प्रतिनिधित्व गर्नेछन् । प्रशिक्षक तथा व्यवस्थापकको भूमिकामा भने सुशील गुरुङ रहेका छन् ।

चीनकै युनानमा गत वैशाख १२ देखि १८ गतेसम्म भएको बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री एक्स थ्री बास्केटबलमा नेपालले स्वर्ण जितेको थियो । कप्तान मनिष र निकेश त्यो टोलीका सदस्य थिए । 

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टङ्कलाल घिसिङ र नेपाल बास्केटबल सङ्घका अध्यक्ष भीमसिंह गुरुङले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाई गर्नुभयो । सदस्य-सचिव घिसिङले चीनमै नेपाली पुरुष टोलीले स्वर्ण जितिसकेको स्मरण गर्दै वर्तमान टिमले पनि त्यही सफलता दोहो-याउने विश्वास व्यक्त गर्नुभयो । 

प्रकाशित मितिः शुक्रबार, २५ जेठ २०८१