बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HZH5XX87DKZA8TDC41S5NB2Q.jpg

लोकसभा चुनाव परिणामः आधाभन्दा बढी सिटमा एनडिए अगाडी

भारतमा लोकसभा निर्वाचनको मतगणना भइरहेको छ। आयोगको पछिल्लो अपडेटअनुसार पाचँ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) दुई सय ३६ सिटमा अग्रता हासिल गरेको छ । भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) दुई सय ९९ सिटमा अगाडी रहेको निर्वाचन आयोगले जानकारी गराएको छ। 
त्यसैगरी एनडिएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले दुई सय २६ सिटमा अग्रता हासिल गरिरहेको छ र अन्य १८  सिटमा अगाडि रहेका छन्। 
काङ्ग्रेस ९२ सिटमा, समाजवादी पार्टी ३४  सिटमा, द्रविड़ मुन्नेत्र कड़गम (डिएमके) २१ सिटमा, तृणमूल काङ्ग्रेस ३० सिटमा, शिवसेना (उद्धव ठाकरे) १० सिटमा, एनसीपी (सपा) आठ सिटमा, माकपा पाँच सिटमा र आम आदमी पार्टी तीन सिटमा अगाडि छन् । राहुल गान्धी र प्रधानमन्त्री नरेन्द्र मोदी दुबै आफ्नो निर्वाचन क्षेत्र क्रमश राय–बरेली र वनारसमा अगाडि छन्। राहुल गान्धी वायनाडमा पनि अग्रतामा रहेका छन् ।
उत्तर प्रदेशमा भाजपा ३५ सिटमा अगाडि छ । यसको साझेदार पार्टी राष्ट्रिय लोक दल (आरएलडी) दुई सिटमा अगाडि छ भने समाजवादी पार्टी ३४  सिटमा अगाडि रहेको छ। 
छ हप्ताको अवधिमा सात चरणमा सम्पन्न लोकसभा निर्वाचनमा करिब ६४ करोड २० लाख जनताले मतदान गरेका थिए। 
आन्ध्र प्रदेशको १ सय ७५  विधानसभा निर्वाचन क्षेत्र र ओडिसाका एक सय ४७ विधानसभा निर्वाचन क्षेत्रहरूमा पनि मतगणना सुरु भइसकेको छ ।

प्रकाशित मितिः मङ्गलबार, २२ जेठ २०८१
https://jawaaf.com/storage/01HZH3YM4HGCBP1DY5D3F4TRPZ.jpg

अष्ट्रेलियाले गैर–नागरिकलाई पनि सेनामा भर्ती हुन अनुमति दिने

अस्ट्रेलिया सरकारले देशको कम जनसङ्ख्याका कारण राष्ट्रले सेना भर्तीको लक्ष्यहरू पूरा गर्न सङ्घर्ष गरिरहेको भन्दै मङ्गलबार गैर–नागरिकहरूलाई आफ्नो सशस्त्र सेनामा भर्ती हुन अनुमति दिने बताएको छ । “जुलाईबाट १२ महिनादेखि अष्ट्रेलियामा बसोबास गरिरहेका स्थायी बासिन्दाहरूलाई सेनामा भर्ती हुने अनुमति दिइनेछ र बेलायत, क्यानडा, न्युजिल्यान्ड र संयुक्त राज्य अमेरिकाका नागरिकहरूलाई प्राथमिकतामा राखिनेछ ।“ रक्षामन्त्री रिचर्ड मार्लेसले बताउनुभयो ।

Advertisement

देशको बढ्दो चुनौतीसँग सामना गर्न क्यानबेराले हालैका वर्षहरूमा पनडुब्बी, जेट र धेरै लडाकु सवारी साधनजस्ता रक्षाको क्षेत्रमा खर्च बढाएको छ । दुई करोड ६० लाख जनसङ्ख्या रहेको देशले उक्त सामाग्री सञ्चालन र मर्मत गर्न पर्याप्त जनशक्तीका लागि सङ्घर्ष गरिरहेको छ। अस्ट्रेलियन रक्षाबलमा आजका दिनमा लगभग ९० हजार कर्मचारीहरूमा रहेको अस्ट्रेलियन स्ट्रेटेजिक पोलिसी इन्स्टिच्युटले जनाएको छ । रक्षामन्त्री मार्लेसले राष्ट्रका सुरक्षा चुनौतिहरूको सामना गर्न अस्ट्रेलियामा रक्षाबलको विकास आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित मितिः मङ्गलबार, २२ जेठ २०८१
https://jawaaf.com/storage/01HZH3FAPN289721DQH1FC4MW7.jpg

उत्तेजक अभिव्यक्ति नदिन महानगरप्रमुख शाहलाई सांसद भट्टराईको सुझाव

काठमाडौँ, २२ जेठ I नेपाल कम्युनिष्ट पार्टी (एमाले) सांसद योगेशकुमार भट्टराईले राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ ।     
     
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेता भट्टराईले काठमाडौँ महानगरप्रमुख शाहले राजनीतिक व्यवस्था परिवर्तनको संवाहक राजनीतिक दलका नेताहरुको जेलजीवनको उपहास गरेकामा आपत्ति जनाउनुभयो । “हामी काठमाडौँ महानगरपालिकाका प्रमुखलाई सहयोग गर्न तयार छौँ । एमलेका अध्यक्ष केपी शर्मा नेतृत्वको सरकारले काठमाडौँको फोहोर व्यवस्थापनका लागि सहयोग गरेको हो,” सांसद भट्टराईले प्रमुख शाहप्रति लक्ष्य गर्दै भन्नुभयो, “काठमाडौँलाई अझ सुन्दर बनाउन तपाईंको योजना के छ ? आउनूहोस् हामीसँगै काम गरौँ । उत्तेजना फैलाउने उच्छृङ्खल गतिविधि नगर्न म आग्रह गर्छु ।”     
     
 सांसद भट्टराईले सहकारी ठगी छानबिन गर्न गठित संसदीय छानबिन समितिले सहकारीका तमाम नीतिगत समस्याका सन्दर्भमा स्पष्ट धारणा पेस गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबै प्रकरणमा आफ्नो पार्टी अनुसन्धानका लागि तयार भएको बताउनुभयो ।     
     
 “गिरिबन्धुको विषय लिएर हाम्रो पार्टी, पार्टी अध्यक्षमाथि नियोजित ढङ्गले आक्षेप लगाइएको छ”, सांसद भट्टराईले भन्नुभयो प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदनमा अवरोध गरेका कारण जनताका धेरै विषय सदनमा उठाउन नसकिएको बताउनुभयो ।     
 

प्रकाशित मितिः मङ्गलबार, २२ जेठ २०८१
https://jawaaf.com/storage/01HZGY4VSC767ZYZCHA7MX009Z.webp

हुरीले ढालेको रुख बज्रदा एकजनाको मृत्यु

मध्यविन्दु (नवलपरासी), २२ जेठ I नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुख शिरमा बज्रदा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडलका अनुसार आज बिहानको हुरीले रुख ढालेको रुख बज्रदा  थापाको मृत्यु भएको हो । वनमा उद्धार गर्न गएका सुरक्षाकर्मीले उनलाई मृतावस्थामा फेला पारेका हुन् । थापाको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल  पठाइएको छ । 

प्रकाशित मितिः मङ्गलबार, २२ जेठ २०८१
https://jawaaf.com/storage/01HZGXQRZTPFAH8MGNGRZE8JXJ.webp

दैलेखको नेपामा भूकम्प

काठमाडौँ, २२ जेठ I दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ । आज बिहान  १०ः३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले  जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दैलेखको नेपा आसपास भएर कम्पन भएको  तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन । 

प्रकाशित मितिः मङ्गलबार, २२ जेठ २०८१
https://jawaaf.com/storage/01HZGRCK300AMR2H07V79GTT0P.jpg

विश्वकप क्रिकेटमा नेपालले दश वर्षपछि पुनरागमन गर्दै

काठमाडौँ, २२ जेठ I आइसिसी टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपालले आज नेदरल्याण्डसँग खेल्दै प्रतियोगताको उद्घाटन गर्दैछ । नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । काठमाडौँमा गत कात्तिकमा मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेटमैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स (युएई)लाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो ।

नेपालले दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्याण्ड भने पाँचौँपटक सहभागिता जनाउँदैछ । नेपाल र नेदरल्याण्ड दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन् । तीन महिनाअघि नेपालमा नै भएको त्रिदेशीय टी–२० शृङ्खलामा नेदरल्याण्डले दुई खेल जित्दा नेपालले एक खेलमा जित हासिल गरेको थियो ।
 
विश्वकपअन्र्गत अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आज राति हुने उक्त खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रँदैछ । त्यसो त नेदरल्यान्ड पनि आफ्नो पहिलो खेलमा जित हासिल गर्दै आगामी यात्रालाई सहज बनाउने कोसिसमा रहनेछ । 

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेदरल्याण्डविरुद्धको खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अमेरिकाको हावापानी र त्यहाँको अवस्थासँग भिज्ने राम्रो असवर पाएको जनाउँदै पहिलो खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेको बताउनुभयो । नेपाली टोलीले करिब एक महिनासम्म अमेरिकामा अभ्यास गरेको थियो ।

त्यसैगरी यस विश्वकप क्रिकेट प्रतियोगितामा सवैभन्दा कम उमेरमा कप्तानीको भूमिका निर्वाह गरेका २१ वर्षीय नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्डविरुद्धको खेलमा उत्कृष्ट क्रिकेट खेलेर देश र नेपाली फ्यानलाई गर्व गर्न सक्ने वातावरण तय गर्ने विश्वास व्यक्त गर्नुभयो ।
 
यसैगरी यसपटकको विश्वकपमा नेपालका अर्का खेलाडी गुलशन झा सबैभन्दा कम उमेरमा विश्वकप खेल्ने खेलाडीको कीर्तिमानी बनाउने भएका छन् । उनी १८ वर्ष भएका छन् ।

विश्वकप खेल्ने तयारी अवस्थामा रहेका नेपाली क्रिकेट टोलीलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना समेत प्रदान गर्नुभएको छ । 

अमेरिका र वेस्टइन्डिजमा चालु टी–२० विश्वकप क्रिकेटका विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउँदा उपविजेताले १२ लाख २८ हजार डलर पाउनेछन् । त्यस्तै विश्वकपमा सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही सात लाख ८७ हजार डलर पाउनेछन् भने प्रतियोगितामा सहभागी सबै टोलीले २ लाख २५ हजार अमेरिकी डलर पाउनेछन् ।

विश्वकपमा नेपाल र नेदरल्यान्ड समूह ‘डी’मा रहेका छन् । नेपालको समूहमा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश छन् । नेपाल र नेदरल्याण्डबीचको खेल नेपाली समयानुसार आज राति ९ः३० हुनेछ । त्यस्तै समूह ‘डी’मा नै रहेको दक्षिण अफ्रिकाले श्रीलङ्कालाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरिसकेको छ ।

प्रकाशित मितिः मङ्गलबार, २२ जेठ २०८१
https://jawaaf.com/storage/01HZGKYEMMYWCH16RSY3ZEK5QW.jpg

बागलुङको रेशमा एक सय ४२ रोपनी क्षेत्रमा चियाखेती विस्तार

ढोरपाटन (बागलुङ), २२ जेठ I बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा चियाखेतीका लागि क्षेत्र विस्तार गरिएको छ । बसाइँसराइले गाउँ रित्तिन थालेपछि सात वर्ष अगाडिदेखि चियाखेती सुरु गरेको थियो । विसं २०७४ मा परीक्षणका लागि १५ हजार चियाका बिरुवा लगाइएकामा अहिले बढाएर ५६ हजार लगाइएको छ । परीक्षणका गर्न लगाइएको चिया फस्टाउन थालेपछि सिङ्गो गाउँ नै खेतीतर्फ आकर्षित भएको हो । वडा कार्यालयको अग्रसरतामा सुरु गरेको चियाखेती रेशको बौर, तिङरिङलगायतका ७२ रोपनी पाखो जमिनमा विस्तार गरिएको छ ।   
  
चियाखेती राम्रो हुँदै गएपछि थप ७० रोपनी जग्गा भाडामा लिएर खेती विस्तार गर्न थालेको काठेखोला गाउँपालिका–७ रेशका अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । पाखोबारीमा लगाएको चिया राम्रो हुँदै गएपछि बसाइँसराइले उजाड बनेका खेतीयोग्य र उजाड जमिनमा पलाएका झाडी फाँडेर किसानले चियाखेती सुरु गरेको उहाँले बताउनुभयो । चियाको बिरुवा राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा पनि खेती विस्तार गर्न थालेको अध्यक्ष लामिछाने बताउनुहुन्छ । अब थप ५० हजार चियाका बिरुवा लगाउने योजना रहेको उहाँले बताउनुभयो ।   
  
गाउँमा भएका नागरिकलाई पाखोबारीलाई उपयोग गरी आयआर्जनको माध्यम बनाउँदै आत्मनिर्भर बनाउनेगरी चियाखेती थालेको लामिछानेले बताउनुभयो । सात वर्ष अगाडि लगाएका बिरुवामध्ये अहिले ३५ हजार बोट निरन्तर टिप्नका लागि तयार भएका उहाँले जानकारी दिनुभयो । किसानहरूले पनि निकै चासो दिएर बिरुवा रोप्न, झाडी फँडानीदेखि सबै काममा लागेको हुँदा गाउँमै रोजगार सिर्जना गर्न हुन थालेको अध्यक्ष लामिछाने बताउनुहुन्छ ।   
  
“चियाखेतीमा दुई सय घरपरिवार आबद्ध हुनुहुन्छ, यसबाट आउने प्रतिफल सबैले पाउनुहुन्छ, चियाखेतीबाट वार्षिक रु ३० लाख आम्दानी गर्ने लक्ष्य राखेका छौँ, पहिले ७२ रोपनीमा खेती गरिएकामा अहिले थप ७२ रोपनी जग्गा भाडामा लिएका छौँ, अब एक सय ४२ रोपनीमा खेती हुने छ”, अध्यक्ष लामिछानेले भन्नुभयो, “बजेट छैन, तर पनि गाउँलेमा काम गर्ने उत्साह छ, केन्द्र र प्रदेश सरकारसँग पनि माग गर्छौँ, केही वर्षमा यहाँ चिया बगान हेर्न आउनेको लर्को लाग्ने अपेक्षा लिएका छौँ ।”   
  
चियाको बजारमा बढ्दो माग हुँदा मागअनुसार उत्पादन गर्न नसकिएको स्थानीय किसान मुक्तिराम थापाले बताउनुभयो । यहाँ लगाइएको चिया महिनामा तीन पटकसम्म टिप्ने हुँदा आम्दानी पनि बढी हुने उहाँले बताउनुभयो । चियाखेती विस्तार गर्दा हालसम्म करिब रु ५० लाख खर्च भइसकेको छ । चिया प्रशोधन गर्न मेसिनसमेत गाउँमा ल्याइएको हुँदा अब धेरै समस्या नभएको उहाँ बताउनुहुन्छ । अहिलेसम्म मुनाफा नभएको भन्दै यस वर्षदेखि छ हजार बिरुवाबाट निरन्तर मुनाफा दिने थापाको भनाइ छ । प्रत्येक हप्ता १० किलो चियाको कच्चा पर्दाथ उत्पादन हुन थालेको उहाँ बताउनुहुन्छ ।   
  
उहाँले भन्नुभयो, “पहिला गाउँमा चियाखेती हुन्छ भन्ने लागेको थिएन, गाउँलेहरु एकजुट भइयो, वडा कार्यालयले पनि निकै तदारुकता देखायो, चियाखेतीले गर्दा गाउँको स्वरुप नै फेरिएको छ, पहिले झाडीले ढाकिएको जमिन अहिले चिया पलाएका छन्, गाउँ छाडेर गएकालाई पनि पछिपछि पछुतो हुनेछ, अहिले खेती राम्रो हुँदा हामीहरु निकै उत्साहित भएका छौँ ।”  

प्रकाशित मितिः मङ्गलबार, २२ जेठ २०८१
https://jawaaf.com/storage/01HZGK71GNAZHDDSM080FQNY9Z.jpg

वैदेशिक रोजगारीमा ज्यान गुमाएका दीपकको परिवारलाई आर्थिक सहयोग

खोटाङ, २२ जेठ I वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ३० वर्षीय दीपक बुढाथोकीको परिवारलाई रु सात लाख ५० हजार सहयोग उपलब्ध गराइएको छ । उनको विसं २०८० चैत ७ गते दुबईमा सडक दुर्घटनामा निधन भएको थियो ।   
  
मृतकका दुई छोरा नौ वर्षीय दिशन र छ महिनाका इशान बुढाथोकीको पठनपाठनका लागि उनीहरूको नाममा छुट्टाछुट्टै बैंक खाता खोलेर जम्मा गर्नेगरी रु तीन–तीन लाख तथा घरखर्चका लागि बुबा जीतबहादुर, आमा रत्नकुमारी र श्रीमती सरस्वती बुढाथोकीलाई नगद रु ५०–५० हजार उपलब्ध गराइएको जनाइएको छ । धितुङका स्थानीय बासिन्दा एवं नायबसुब्बा पदमा कार्यरत गणेशबहादुर कार्कीको संयोजनमा देश–विदेशमा रहेका नेपालीबाट सङ्कलित रकम सोमबार सांसद रामकुमार राई ‘पासाङ’ले मृतकका परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।  

प्रकाशित मितिः मङ्गलबार, २२ जेठ २०८१
https://jawaaf.com/storage/01HZGFT1XVWG4SRAKW6QQPFB84.jpg

झापा बाढीको उच्च जोखिममा

झापा, २२ जेठ I जिल्लाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी तीव्रगतिमा भइरहेकोे जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ । समितिले आपत्कालीन आश्रयस्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्नसक्ने घरधुरीको तथ्याङ्क सङ्कलन गर्ने, पालिकाहरूमा ‘फोकल पर्सन’ तोक्ने र विपद् व्यवस्थापनकार्यलाई प्रभावकारी बनाउने प्रयास भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताउनुभयो ।

जिल्लाका १५ पालिकामध्ये बाढीको उच्च जोखिममा छवटा पालिका रहेका छन् । गौरीगञ्ज, कचनकवल, बाह्रदशी, कमल गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढीको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार मेचीनगर, गौरादह, अर्जुनधारा, कनकाई, दमक नगरपालिका बाढीको मध्यम जोखिममा रहेका छन् भने हल्दिबारी, बुद्धशान्ति गाउँपालिका र विर्तामोड नगरपालिका न्यून जोखिममा रहेका छन् ।

यस वर्ष अत्यधिक वर्षा हुने मौसम विभागको प्रक्षेपणअनुसार समितिले जिल्लामा करिब आठ हजार नौ सय १९ घरधुरी बाढीका कारण प्रभावित हुने आकलन गरेको छ । जिल्लामा बाढीबाट विस्थापित हुनसक्ने परिवारलाई राख्न सम्बन्धित स्थानका विद्यालय, सामुदायिक भवन, रेडक्रस, स्वास्थ्यचौकीलगायतका दुई सय ५० वटाभन्दा बढी स्थानलाई आकस्मिक आश्रयस्थल तोकिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “समितिले विपद् प्रतिकार्य योजना नै बनाएर अघि बढेको छ । जनधनको क्षति हुन नदिन सबै प्रकारका उपाय अलवम्बनको तयारी छ ।” प्रहरी, सेना, रेडक्रस र स्थानीय पालिका प्रमुखहरूसँग समन्वय गरेर विपद् व्यवस्थापनका लागि एकीकृत योजना बनाइएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समिति झापाले मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना नै तयार गरेर सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग आवश्यक सामग्रीको तयारी गर्न आग्रह गरेको छ । जिल्लामा धेरै प्रकारका विपद् भएता पनि प्राथमिकीकरणका आधारमा पहिलो नम्बरमा बाढी प्रकोप भएकाले यसबाट जनधनको क्षतिलाई न्यूनीकरणका लागि स्थानीय सरकार, नेपाल रेडक्रस सोसाइटी, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तयार रहेको उहाँले बताउनुभयो ।

उहाँले जिल्लाका मेची, निन्दा, रतुवा, मावा, कनकाई, विरिङलगायत दर्जनौँ नदीबाट हुनसक्ने बाढी र डुबान प्रभावितलाई उद्धारका लागि लाइफ ज्याकेट, रबर बोट, रेस्क्यू हेल्मेट, प्लास्टिकजन्य ट्युब र एम्बुलेन्स तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको बताउनुभयो ।

बाढीका कारण जिल्लामा प्रत्येक वर्ष ठूलो धनजनको क्षति व्यहोर्नु परिरहेको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको तथ्याङ्कअनुसार सात वर्षमा बाढीकै कारण ६० जनाको मृत्यु भएको छ । विसं २०७३ देखि २०७९ सम्ममा ६० जनाको मृत्यु र छजना बेपत्ता भएको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मितिः मङ्गलबार, २२ जेठ २०८१
https://jawaaf.com/storage/01HZGFD8X04AC1SSYB32FNNE6Z.jpg

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाद्वारा श्रीलङ्का पराजित

काठमाडौँ, २२ जेठ I आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’को पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई पराजित गरेको छ । अमेरिकाको न्युयोर्कस्थित नासौं काउन्टी इन्टरनेशनल क्रिकेट रङ्गशालामा गए राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई छ विकेटले हराउँदै विजयी भएको हो । अठहत्तर रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६ दशमलव दुई ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले २७ बलमा एक चौकासहित सर्वाधिक २० रन जोडे । त्यस्तै हेनरिक क्लासेनले अविजित १९ रन बनाए । उनले २२ बलमा एक चौका र एक छक्कासहित १९ रन बनाएका हुन् । त्यस्तै, ट्रिस्टन स्टब्सले १३ तथा एडेन माक्ररमले १२ रन जोडे । श्रीलङ्काका कप्तान वानिन्दु हसरङ्गाले दुई विकेट लिए भने दासुन शानका र नुवान थुसराले समान एक–एक विकेट लिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको श्रीलङ्काले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ७७ रनमा समेटिएको थियो । श्रीलङ्काका लागि कुशल मेन्डिसले ३० बलमा एक चौकासहित सर्वाधिक १९ रन जोडे भने एन्जिलो म्याथ्युजले १६ बलमा दुई छक्कासहित १६ रन बनाए । त्यसैगरी  कामिन्दु मेन्डिसले ११ रन जोडे । श्रीलङ्कालाई सस्तैमा समेट्ने क्रममा दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले चार विकेट लिए भने कागिसो रबाडा र केशव महाराजले समान दुई–दुई विकेट लिए ।  समूह ‘डी’ अन्तर्गतको दोस्रो खेल नेपाली समयअनुसार आज राति ९ः३० बजे अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रङ्गशालामा नेपाल र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मितिः मङ्गलबार, २२ जेठ २०८१