बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HZPGM07ZP8GTQCBA5V5FE2KA.jpg

खोलाले बगाउँदा विद्यार्थीको मृत्यु

किमाथाङ्का (सङ्खुवासभा), २४ जेठ I सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्याक्सिलागोलामा खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ । 

वाङ खोलाले बगाउँदा भोटखोला–२ च्याम्ताङका चार वर्षीय बुद्धसियन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो । उनी कृष्ण माध्यमिक विद्यालय स्याक्सिलागोलामा कक्षा १ मा अध्ययरत थिए । 

लामा बुधबार दिउँसो साथीहरुसँगै विद्यालय नजिकैको वाङ खोलामा खेल्न गएका थिए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट दुई दिनको पैदल दुरीमा पर्छ ।

प्रकाशित मितिः बिहिबार, २४ जेठ २०८१
https://jawaaf.com/storage/01HZPGE9G1T687MKDNKF6PNMRA.webp

धनुषामा आँपको उत्पादन २३ हजार एक सय मेट्रिकटन

जनकपुरधाम, २४ जेठ I धनुषामा यस वर्ष अर्थात् चालु आर्थिक वर्षमा आँपको उत्पाादन गत वर्षको तुलनामा अत्यधिक भएको छ । आँपको उत्पादन राम्रो रहकाले आर्थिक समस्याबाट गुज्रिरहेका किसानलाई धेरै राहत भएको बताइएको छ । जिल्लाका विभिन्न ग्रामीण तथा सहरी क्षेत्रमा गरिएको आँप खेतीबाट चालु आर्थिक वर्षमा २३ हजार एक सय मेट्रिकटन आँप उत्पादन भएको एक तथ्याङ्कले जनाएको छ । विभिन्न प्रजातीका रु २३ करोड १० लाख मूल्य बराबरको आँप उत्पादन भएको छ ।

कृषि ज्ञान केन्द्र धनुषाका अनुसार यस जिल्लामा चार हजार हेक्टर जमिनमा आँपको रुख रहेकामा दुई हजार तीन सय हेक्टर जमिनमा उपरोक्त परिमाणमा आँप उत्पादन भएको जनाइएको छ । गत आर्थिक वर्षमा पनि किसानले सोही अनुपातमा आँपको खेती  गरेको थियो । एक वर्ष आँप फल्ने र अर्को वर्ष आँप नफल्ने प्राकृतिक कारणले गत वर्ष आँपको उत्पादन अत्यन्त कम भएको थियो  । त्यस कारण आँपको उत्पादन कम हुँदा महँगो भएको तथा भारतीय बजारबाट आयात गर्नुपर्ने बाध्यता रहेको थियो  ।  

यस वर्ष आँपको रुखमा लटरम्म फल लागेकाले व्यापारी किसानको आँप बगँैचामा गएर आँपको ठेक्का लिने गरेका छन् । जिल्लामा करिब ७५ प्रतिशत किसान आँपको खेती गर्ने गरेका छन् भने २५ प्रतिशत  किसान आफूलाई खानका लागि खेत तथा बारीमा आँपको रुख लगाउने गरेको सो केन्द्रको कार्यालयले जनाएको छ । 

धनुषामा आँपले व्यावसायीक रुप लिएपछि उत्पादन भएको आँपको कारोबारमा साना तथा ठूला करिब १० हजार व्यापारीले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा रोजगारी पाएका छन् । यसपटक हुरी, असिना, पानी र झरी नआएकाले आँपलाई क्षति नभएको हो । जिल्लामा वटेश्वर  गाउँपालिका, गणेशमान चारनाथ नगरपालिका, मिथिला नगरपालिका र धनुषधाम नगरपालिका लगायतका स्थानमा व्यावसायिकरुपमा आँप खेती भइरहेको छ ।

यहाँ उत्पादित आँप हेटाँैडा, बुटवल, नारायणघाट तथा काठमाडौँ लगायतका अन्य सहर तथा भारतीय बजारमा समेत बिक्री हुने गरेको छ । ज्ञानकेन्द्रले आँप उत्पादन गर्ने किसानलाई समय–समयमा प्राविधिक सहयोग, सल्लाह, कीटनाशक औषधिलगायत सहयोग गर्ने गरेको केन्द्रका बागबानी विकास अधिकृत प्रदीप यादवले जानकारी दिनुभयो ।

किसानले आँप खेती गरी बढी आर्थिक लाभ लिन थालेपछि जिल्लामा रहेका नर्सरीबाट आँपको बिरुवा बिक्रीसमेत अत्यधिक बढ्न थालेको छ । यहाँका किसानले मालदह, बम्बई, दशहरी, कलकतिया, वैशाली, आम्रपाली, नकुअवा लगायतका आँप खेती गर्ने गरेको केन्द्रले जनाएको छ । 
 
चैतको दोस्रो हप्तादेखि हालसम्म नेपाल–भारत सीमा भिटामोडबाट रु ६८ लाख मूल्य बराबरको एक लाख १४ हजार तीन सय २१ किलो आँप जनकपुर आयात भएको पलान्ट क्वारेन्टाइन कार्यालय भिटामोडका प्रमुख किशोर यादवले बताउनुभयो । 

प्रकाशित मितिः बिहिबार, २४ जेठ २०८१
https://jawaaf.com/storage/01HZPFQ7Z9180YWZ2TH6N6QGF0.jpg

इँटाभट्टामा काम गर्ने बालबालिकाको पढाइ प्रभावित

टीकापुर (कैलाली), २४ जेठ I कैलालीको टीकापुरस्थित शक्तिदेवी आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत रविका चौधरी बुवाआमासँगै इँटाभट्टामा जानुहुन्छ । आठ वर्षीया रविकाले बुवाआमाले इँटाभट्टामा काम गरिरहँदा दुई वर्षीय भाइ स्याहार्नुहुन्छ । उहाँले गत वर्ष सात महिना इँट्टाभट्टामा बसेकाले परीक्षा नै दिन पाउनुभएन । 

अहिले पनि रविका कक्षा २ मा अध्ययन गरिरहनुभएको छ । उहाँले अब तीन महिनामात्र विद्यालयमा पढ्न पाउनुहुन्छ । “इँट्टाभट्टामा काम गर्ने अभिभावकका बालबालिका जेठमा विद्यालय आउँछन् । त्यसपछि केही दिन बर्खे बिदा हुन्छ”, अभिभावक मीना चौधरीले भन्नुभयो, “त्यसपछि दसैँ बिदा हुन्छ । दसैँ मनाएर अभिभावकसँगै बालबालिका इँट्टाभट्टामा जान्छन् । त्यहाँ पढ्ने वातावरण नै हुँदैन ।” इँट्टाभट्टामा काम गर्नु अभिभावकको बाध्यता रहेको उहाँको भनाइ छ ।

बालबालिकाको जीविकोपार्जन गर्न टीकापुरका सयौँ अभिभावकले इँट्टाभट्टामा काम गर्छन् । बुबाआमा दुवै इँट्टाभट्टामा गएपछि बालबालिका पनि सँगै जान्छन् । टीकापुरको विजयनगर बस्तीकी हिमानी थारूका दम्पती लामो सयमदेखि इँट्टाभट्टामा काम गर्दै आउनुभएको छ । हरेक वर्ष सात महिना इँट्टाभट्टामा बस्ने उहाँहरूको बाध्यता हो । काम गर्दा दुई बालबालिका पनि सँगै लैजानुहुन्छ । घरमा बच्चा स्याहार्ने मानिस नभएकाले बालबालिकासँगै लैजानुपर्ने बाध्यता रहेको हिमानीको भनाइ छ ।

इँट्टाभट्टामा लैजाँदा बच्चाको पढाइ बिग्रन थालेको उहाँले बताउनुभयो । “बच्चा पढाउने मन त छ तर के गर्नु बाध्यताले मिल्दैन”, उहाँले भन्नुभयो, “बच्चाको भविष्य बिग्रेको थाहा हुँदाहुँदै पनि गरिबीले केही गर्न सकिएको छैन ।”

शक्तिदेवी आधारभूत विद्यालयका शिक्षक कल्पना खड्काले विद्यालयमा ३० देखि ४० जना बालबालिका अभिभावकसँगै इँट्टाभट्टामा जाने गरेकाले पढाइ प्रभावित हुँदै गएको बताउनुभयो । “आमाबुबाले आफूसँगै बच्चा लैजान्छन्, यसरी गएका बालबालिका कोही पछि परीक्षा दिन आउँछन्, कोही आउँदैनन्”, उहाँले भन्नुभयो, “असोजदेखि जेठसम्म बालबालिका दुई–तीन महिनामात्रै पढेको कुरा बिर्सन्छन् । अनि वर्षौँसम्म एउटै कक्षामा दोहोरिएर पढ्ने गरेका छन् ।”

टीकापुरको मुक्तकमैया आधारभूत विद्यालयका प्रधानाध्यापक राजाराम ढकालले विद्यालयका ४० जनाभन्दा बढी बालबालिका बुबाआमासँग काममा जाँदा पढाइमा असर पर्ने गरेको बताउनुभयो । “बालबालिका आमाबुबासँगै जाने, ठूला बच्चाले साना बच्चा स्याहार्ने वा बुबाआमाको काममा सघाउने गर्छन्”, उहाँले भन्नुभयो, “बालबालिकाको पढाइ प्रभावित भएकाले सिकाइ सुधार गर्न थप कक्षा सञ्चालनको पहल थालेका छौँ । एउटा संस्थासँग सहकार्य गरेर थप कक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ । यस्ता बालबालिकाको शिक्षामा पालिकाले पनि ध्यान दिनुपर्छ ।”

एक सय ५१ विद्यार्थी रहेको मुक्तकमैया विद्यालयमा ४० भन्दा बढी बालबालिकाको पढाइ अनियमित हुने गरेको ढकालको भनाइ छ । “बालबालिकाले पढ्न पाउनु उनीहरुको नैसर्गिक अधिकार भए पनि गरिबीका कारण अभिभावकले पढाइमा ध्यान दिन सकिरहेका छैनन्”, उहाँले भन्नुभयो ।

टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले टीकापुरमा यस्तो समस्या देखिएकाले केही वर्षदेखि यसलाई रोक्ने प्रयास भइरहेको बताउनुभयो । “अभिभावकलाई सचेत गर्ने र बालबालिकालाई विद्यालय पठाउँदा बालश्रम रोकिन्छ भनेर जानकारी दिने काम गरिरहेका छौँ । दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने अभिभावकका लागि अभिभावक शिक्षा, आयआर्जनका क्रियाकलाप सञ्चालन गर्ने तयारी भइरहेका छन्”, उहाँले भन्नुभयो, “बालबालिकाले इँट्टाभट्टामा काम गर्न वा अभिभावकसँगै जानु नपरोस् भनी प्रयास गरिरहेका छौँ, हालसम्म रोक्न भने सकिएको छैन ।”

प्रकाशित मितिः बिहिबार, २४ जेठ २०८१
https://jawaaf.com/storage/01HZPE68ZJ7JA38MWX1MN9C991.avif

मोदीको शपथ ग्रहणमा छिमेकी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख उपस्थित हुने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्गेलगायत नेताले सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा स्वीकार गरेका छन् ।

प्रधानमन्त्री दाहाल र हसिना दुवैले यस अघि भारतीय प्रधानमन्त्री मोदीलाई १८ औँ लोकसभा चुनावमा एनडिएको विजय प्रदर्शनका लागि बधाइ दिएका थिए ।

प्रधानमन्त्री मोदी र नेपाली प्रधानमन्त्री दाहालसँग फोनमा शुभकामना प्रदान तथा शपथ ग्रहणमा निमन्त्रणाको कुरा भएको एक अधिकारीले बताए ।  कुराकानीमा शपथ ग्रहण समारोहमा सहभागीताको  पुष्टि गरेको तथा औपचारिक घोषणा चाँडै गरिने जनाइएको छ । 

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाका राजनीतिक सहयोगी एम नजरुल इस्लामले प्रधानमन्त्री हसिना प्रधानमन्त्री नरेन्द्र मोदीबाट निमन्त्रणा प्राप्त गरेपछि शपथ ग्रहण समारोहमा भाग लिने कार्यक्रम तय भइसकेको बताउनुभएको छ । 

बङ्गलादेशकी प्रधानमन्त्री हसिना शनिबार दिउँसो विशेष उडानमा ढाकाबाट प्रस्थान गरी जुन ९ को दिउँसोसम्म राजधानी दिल्लीमा रहने स्रोतले जनाएको छ । 

समारोहको साइडलाइनमा द्विपक्षीय बैठकको सम्भावनाबारेमा सोधिएको प्रश्नमा इस्लामले बैठकको पुष्टि हुन नसकेको बताउनुभएको छ । 

हसिनाले भर्खरै बङ्गलादेशको राष्ट्रिय चुनावमा विजय प्राप्त गरेपछि  बङ्गलादेश र भारतबीचको बलियो सम्बन्धलाई जोड दिँदै भारत परीक्षित र वफादार छिमेकी भएकोले  भारत र बङ्लादेशबीच राम्रो सम्बन्ध भएको उल्लेख गर्नुभएको थियो ।  

सन् २०२४ को लोकसभा चुनावको मतगणना मङ्गलबार सम्पन्न भएको थियो । भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले २४० सिट जितेको छ, जुन सन् २०१९ को ३०३ सिटभन्दा निकै कम हो र यसले सरकार गठनका लागि गठबन्धनको सहयोग आवश्यक हुनेछ ।

अर्कोतर्फ, मुख्य विपक्षी काङ्ग्रेसले सन् २०१९ को चुनावमा ५२ सिट जितेकोमा हाल ९९ सिट जितेर संसद्मा विपक्षी स्वरलाई सशक्त बनाउने सुनिश्चितता गरेको छ । 

प्रकाशित मितिः बिहिबार, २४ जेठ २०८१
https://jawaaf.com/storage/01HZP7M9BM9VY74KB51JZD8Z40.avif

भारतका प्रधानमन्त्री मोदीलाई अमेरिका, चीन, बेलायत, फ्रान्स र ईयूद्वारा बधाइ

भारतको लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन (एनडिए) ले बहुमत सीट जीतैसँगै प्रधानमन्त्री मोदीलाई संयुक्त राज्य अमेरिका, जनगणतन्त्र चीन, संयुक्त अधिराज्य (बेलायत), फ्रान्स, युरोपेली सङ्घ (ईयू), जापान र रूसले बधाइ दिँदै नयाँ कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले मोदीलाई उहाँको गठबन्धनको विजयका लागि बधाई दिनुभएको छ भने विदेश मन्त्रालयले अमेरिकाले उहाँसँग ‘स्वतन्त्र र खुला’ एशियामा थप सहकार्य गर्न चाहेको उल्लेख गरेको छ । 

बाइडेनले लेख्नुभएको छ, “हाम्रो दुई देशबीचको मित्रता निरन्तर बढ्दै गएको छ ।” 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले प्रधानमन्त्री मोदीलाई ‘आफ्नो प्रिय मित्र’ का रूपमा सम्बोधन गर्दै निर्वाचनमा प्राप्त गरेको बिजयका लागि बधाई दिनुभएको छ । 

त्यसैगरी, चीनले मोदीलाई बधाई दिँदै आफ्नो छिमेकीसँग मिलेर काम गर्न तयार रहेको बताएको छ भने गठबन्धनको जीतको बेलायत, (ईयू), जापान र रूसले पनि प्रशंसा गरेका छन् ।

हालै सम्पन्न लोकसभा निर्वाचनले उहाँको पार्टीलाई गठबन्धन सरकारमा सामेल हुने वातावरण बनेपछि उहाँले बिहीबारदेखि तेस्रो कार्यकालका लागि तयारी गर्नुभएको छ । 

मोदीका दल भाजपा नेतृत्वको गठबन्धनले विगत एक दशकदेखि पूर्ण बहुमतका साथ शासन गरेको छ ।

–नयाँ कार्यकालका लागि तयारी–

उक्त समूह राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले बुधबार अबेर सरकार गठनका लागि सहमति भएको घोषणा गरेको छ ।

भाजपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी सबैले सर्वसम्मत रुपमा आदरणीय एनडीए नेता नरेन्द्र मोदीलाई आफ्नो नेताको रूपमा चयन गरेका छौं । गठबन्धनले संसदमा २९३ सिट जितेको र यो सरकार गठनका लागि चाहिने २८२ सीटभन्दा बढी सङ्ख्या हो । भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले सम्भवतः शनिबार प्रधानमन्त्रीका रुपमा सपथ लिनुहुनेछ । 

‘गठबन्धनको राजनीतिको माइनफिल्ड’मा मोदीको नयाँ निर्भरताको अर्थ उहाँले अपेक्षा गरेभन्दा निकै कठिन तेस्रो कार्यकालको सम्भावनाको सामना गर्नुपर्ने हिन्दुस्तान टाइम्सले बिहीबारको सम्पादकीयमा लेखेको छ । 

“सहमति निर्माण नै शासनको आधारशिला हुनुपर्छ”, सम्पादकीयमा भनिएको छ, भाजपाले आफ्नो विस्तार योजनालाई पुनरावलोकन गर्नुपर्नेछ ।”

निर्वाचनको परिणाम सार्वजनिक भएसँगै ७३ वर्षीय मोदीले मङ्गलबार राति चुनावी परिणामले आफ्नो एजेन्डालाई निरन्तरता दिनका लागि जनमत दिलाएको बताउनुभयो । 

मोदीले आफ्नो विजयपछि राजधानी नयाँ दिल्लीमा उत्साही समर्थकहरूको भीडलाई सम्बोधन गर्दै भन्नुभयो, “हाम्रो तेस्रो कार्यकाल ठूलो निर्णयमध्ये एक हुनेछ र देशले विकासको नयाँ अध्याय लेख्नेछ। यो मोदीको ग्यारेन्टी हो ।” 

भाजपाले संसद्मा २४० सिट प्राप्त गरेको छ, जुन पाँच वर्षअघि जितेको ३०३ सिटभन्दा निकै कम हो ।

प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसले सन् २०२४ मा ९९ सीटमा बिजयी बन्न सफल भएको छ यो सन् २०१९ को तुलनामा झण्डै दोब्बरले बढी हो । सन् २०१९ मा काङ्ग्रेसल ५२ सिट जितेको थियो ।

प्रकाशित मितिः बिहिबार, २४ जेठ २०८१
https://jawaaf.com/storage/01HZP6XP5078VH87DP2DEFW4HQ.jpg

आलेखः भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट

- रमेश गिरी

भक्तपुर, २४ जेठ I सेतो लामो एकतले भवन । जस्ताको छानो भए पनि राणाकालीन शैलीझैँ देखिने उक्त भवनमा आजभन्दा एक सय २० वर्ष अगाडि ‘श्री चन्द्रलोक डिस्पेन्सरी’को नामबाट स्वास्थ्य सेवा सुरु गरेको नेपालकै दोस्रो पुरानो अस्पताल हो ‘भक्तपुर अस्पताल’ ।

स्थापनाको सय वर्ष पार गरिसक्दा पनि सेवा विस्तारदेखि स्तरोन्नतिमा पछाडि पर्दै आएको यस अस्पताल मेडिकल माफियाका चुङ्गुलमा पर्दा वर्षौँसम्म ‘रिफर सेन्टर’का रूपमा परिणत भएको थियो । भ्रष्टाचारसम्बन्धी विवाद आइरह्यो, जनताको विश्वास गुम्दा बिरामीले भक्तपुर अस्पताल रोज्न छाडे । भक्तपुर अस्पताल आफँै बिरामी भनेर कयौँपटक समाचार आए पनि ।

तर कोरोना महामारीको सङ्कटमा भक्तपुर अस्पतालको नेतृत्व सम्हाल्न आइपुग्नुभएकी एक महिला प्रमुखको अथक मेहनत र प्रयासले अहिले यो अस्पताल लगातार दुईपटक देशका सात प्रदेशमध्येका उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । यस वर्ष पनि देशभरमा अस्पतालमध्ये उत्कृष्ट अस्पताल बन्न सफल भयो । 

भ्रष्टाचार, कमिसन र माफियाको चुङ्गुलबाट अस्पताललाई जोगाउने र निश्चित नियम एवं मापदण्डको परिधिभित्र रहेर अस्पताल सञ्चालन गर्ने हो भने भौतिक पूर्वाधारदेखि स्वास्थ्य सेवामा समेत जनताको मन जित्ने गरी फड्को मार्न सकिन्छ भन्ने उदाहरण भक्तपुर अस्पतालमा तेस्रोपटक मेडिकल डाइरेक्टर भएर आउनुभएकी डा सुमित्रा गौतमले चरितार्थ गरेर देखाउनुभएको छ ।

सेवा विस्तार गर्न नसक्दा, आइसीयू नहुँदा, आकस्मिक कक्षमा आएका बिरामीलाई सामान्य जाँचपछि निजी अस्पतालमा पठाउने परम्पराले क्लिनिकको रूपमा बदनाम बन्दै आएको यस अस्पतालको नेतृत्वमा इच्छाशक्ति बलियो भएको प्रमुख आउँदा अस्पतालको स्वरुप परिवर्तन हुन्छ भन्ने भनाइलाई डा गौतमले चरितार्थ गरेको भक्तपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष नवराज गेलाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “म दुई वर्ष भक्तपुर अस्पतालको अध्यक्ष भइरहँदा दुई जना मेसु फेरिए, मैले पटकपटक मन्त्रालय धाएर पाँच शय्याको आइसीयू सञ्चालनका लागि सबै सामान ल्याएँ तर तत्कालीन मेसुले आइसीयू सञ्चालन गर्न नै चाहनुभएन ।” अहिले कमिसन र भ्रष्टाचारको दलदलबाट अस्पताललाई जोगाउन सकिएको उहाँको भनाइ छ । 

अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष प्रेम खड्का भक्तपुर अस्पताललाई प्रदेश नभई सरकारले केन्द्रीय अस्पतालको रुपमा विकास गर्नुपर्ने बताउनुहुन्छ । आफू अध्यक्ष हुँदा त्यसको लागि निकै पहल गरेको भए पनि असफल भएको भन्दै केन्द्रीय सरकारको छायाँमा परेको र आफ्ना स्वार्थमात्रै हेर्ने प्रमुख आउँदा अस्पताल समस्यामा पर्ने गरेको बताउनुहुन्छ । अहिले अस्पतालको मुहार फेरिएको देख्दा आनन्द आउने बताउँदै उहाँले केही गर्छु भन्ने व्यक्तिलाई सम्बन्धित मन्त्रालयले अनावश्यक सरुवा गर्न नहुने बताउनुहुन्छ । 

अस्पताल विकास समितिको अध्यक्ष रमन कायस्थले अस्पताल एउटा जिल्लाको लागि मात्रै नभई पूर्वी जिल्लाका बिरामीका लागि भरोसाको केन्द्र बनिरहेको बताउनुभयो । बिरामीमा यस अस्पतालप्रति बढिरहेको बिश्वास र भरोसालाई टुट्न नदिन सरकारले मेडिकल माफियाको चुङ्््गुलमा परेर अस्पतालका निर्देशक छिटो फेर्ने प्रचलन बन्द गर्नु पर्ने उहाँ बताउनुहुन्छ । 

तत्कालीन श्री ३ प्रधानमन्त्री चन्द्रशमशेर राणाले १९६१ असार १७ गते आफ्नै नाम जोड्दै १५ शय्याको ‘श्री चन्द्रलोक डिस्पेन्सरी’ नामबाट स्थापना गर्नुभएको भक्तपुर अस्पताल अहिले नेपालकै दोस्रो जेठो अस्पतालको रुपमा परिचित छ । १९४७ साउन १२ गते श्री ३ वीरशमशेरले स्थापना गरेको नेपालकै पहिलो वीर अस्पतालपछि स्थापना भएको भक्तपुर अस्पताल जन्मिएको भवन यतिखेर भक्तपुर क्यान्सर अस्पतालले प्रयोग गरिरहेको छ ।
 
विसं २०५१ मा क्यान्सर केयर सेन्टरको नाममा नेपाल अबुर्द रोग निवारण संस्थाले भक्तपुर अस्पतालसँगको समन्वयमा उक्त भवन लिएर नेपालकै पहिलो क्यान्सर रोग विशेषज्ञ एवं शल्य चिकित्सक डा अञ्जनीकुमार शर्माको नेतृत्वमा क्यान्सर रोगको परीक्षण सुरु गरिएको थियो । २०५६ असोज २१ गते तत्कालीन राजा श्री ५ वीरेन्द्रले उद्घाटन गर्नुभएको उक्त क्यान्सर केयर सेन्टर अहिले नेपाल सरकारको सुविधासम्पन्न क्यान्सर अस्पताल बनिसक्दा पनि एक सय २० वर्ष पुरानो त्यो भवन अस्पतालकै रुपमा उपयोगमा आइरहेको छ ।

भक्तपुर नगरपालिका–१, दूधपाटीमा रहेको भक्तपुर अस्पताल ६७ वर्षपछि २०२८ सालमा ५० शैय्यामा विस्तार भई जिल्लास्तरीय अस्पतालको पहिचान बनाएको थियो । २०५८ जेठ १९ गते आकस्मिक (इमर्जेन्सी) सेवाको लागि अमेरिकी सैनिक सहयोगमा छुट्टै भवन निर्माण गरिदिएपछि आकस्मिक उपचार सेवा सुरु गरेको थियो । २०६१ भदौ २८ गते २५ शय्याको प्रसूति सेवा थप भई ७५ शय्यामा विस्तार हँुदै २०७६ चैत ३ गते अस्पताल व्यवस्थापन समितिले २५ शय्या थप गरी १०० शय्यामा विस्तार गरी सञ्चालनमा आएको थियो ।
 
कोरोना महामारीमा उपचार नपाउने अवस्थामा पहिलोपटक अस्पतालको जिम्मेवारी सम्हाल्न २०७६ मङ्सिर २० गते सिन्धुली अस्पतालबाट सरुवा भई आउनुभएकी डा सुमित्रा गौतमले अगाडि चौरमा तत्कालै अस्थायी कोरोना वार्ड स्थापना गरेर उपचार सुरु गर्नुभयो । कोरोना महामारीमा राख्ने शय्याको अभाव । न आइसीयू, न भेन्टिलेटर, न त जनशक्ति नै पर्याप्त थियो ।

उहाँको पहलमा अस्पताल स्थापना भएको एक सय १५ वर्षपछि पहिलोपटक कोभिडकालमा भक्तपुरमा आइसीयू सेवा सुरु भयो । बागमती प्रदेश सरकारले कोभिडका बिरामीहरुको उपचारका लागि भन्दै सुरुमा छ र पछि १० शय्या थप गरी १६ शय्याको सघन उपचार कक्ष (आइसीयू) सञ्चालन भयो । त्यसपछि आइसोलेसन वार्ड, नवजात तथा बालबालिकाको जटिल उपचारका लागि २० शय्याको पिआइसीयू र एनआइसीयूसहित एक सय ८८ शय्यामा सेवा विस्तार गर्दै सङ्कटकालमा पनि गुनासो नआउने गरी अस्पतालले सेवा सञ्चालन गर्यो ।
 
चीनबाट पहिलोपटक उद्धार गरेर सरकारले खरिपाटीस्थित आइसोलेसन सेन्टरमा नेपाली विद्यार्थी ल्यायो । सर्वत्र त्रास फैलिएको बेलामा आइसोलेसनमा जाने चिकित्सक टोली तयार भएनन् । त्यो सङ्कटमा प्रदेश सरकारको आग्रहलाई स्वीकार्दै तत्कालीन मेसु डा गौतमको नेतृत्वमा भक्तपुर अस्पताल, क्यान्सर अस्पताल र मानव अङ्गका स्वास्थ्य टोली तयार पारेर चिकित्सकसहितको टोली आइसोलेसन सेन्टरमा खटियो ।

विसं २०७७ साउन २५ गते सङ्घीय मन्त्रालयको निर्णयअनुसार एक सय नौ शय्या थप गरी यो अस्पताल दुई सय नौ शय्या सञ्चालनका लागि स्वीकृति प्राप्त भई कोभिड–१९ को महामारीकै समयमा कोरोनाको उपचार, अक्सिजन प्लान्ट सञ्चालनदेखि आइसीयूमा रहेका बिरामी कुरुवा घरसमेत निर्माण भयो । कुरुवा घर, सुन्दर बगैँचा, बिरामी र आफन्त बस्ने विश्रामस्थललगायतका संरचना निर्माण हुँदा अस्पतालप्रति बिरामीको र कुरुवाले ठूलै राहत महसुस गरे । निजी अस्पतालको भर परेका बिरामीसमेत यहाँ आउन थालेपछि बहिरङ्गतर्फ दैनिक तीन सय बिरामी आउने अस्पतालमा दैनिक आठ सय बिरामीको चाप पुगेको छ ।
 
‘रिफरल सेन्टर’का रूपमा परिचित भक्तपुर अस्पताल गुणस्तरीय सेवाका कारण सरकारको मूल्याङ्कनमा पहिलोपटक बागमती प्रदेशको उत्कृष्ट अस्पताल घोषणा हुन सफल भयो । अहिले बागमती प्रदेश सरकारले यस अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरी एक हजार छ सय ६९ जना (प्राविधिकसहित) कर्मचारीको सङ्गठन संरचना स्वीकृत गर्दै अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले यसै आर्थिक वर्षमा खरिद गर्ने गरी करिब रु आठ करोड मूल्यको सिटी स्क्यान मेसिन खरिद गर्ने भएको छ । 

अस्पतालकी निर्देशक डा गौतम अस्पताल आएका कुनै पनि बिरामी उपचार नपाइ फर्किनु नपरोस् भनेर अस्पतालले २४सै घण्टा आकस्मिक सेवा, स्त्रीरोग, प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेको बताउनुहुन्छ । अहिले अस्पतालमा दूरबिन प्रविधिबाट शल्यक्रिया, अल्जाइमर्स, सर्जरी, बालरोग, दन्तरोग, छाला रोग, मानसिक रोग, फिजियोथेरापी, आँखा तथा चश्मा जाँच, स्वास्थ्य बीमा सेवा, अल्ट्रासाउण्ड सेवा, पाठेघरको निःशुल्क शल्यक्रिया तथा निःशुल्क प्रसूति सेवालगायत विभिन्न सेवा विस्तार भएको छ । अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएर औषधि खरिदमा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।
 
त्यसैगरी लैङ्गिक हिंसामा परेका महिला तथा पुरुषका लागि अस्पतालमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएर कुनै पनि हिंसामा परेकालाई स्वास्थ्य सेवा, सुरक्षा एवं कानुनी सेवासमेत दिने व्यवस्था गरेको निर्देशक डा गौतम बताउनुहुन्छ । अस्पतालले पेइङ क्लिनिक सेवा पनि सञ्चालनमा ल्याएको छ । अस्पतालको ओपिडी सेवा सकिएपछि दिउँसो ३ बजेदेखि र बिहान ९ बजे अगाडि पेइङ सेवा सञ्चालनमा ल्याएको हो । साथै विभिन्न जटिल शल्यक्रिया, खुट्टा, छाती, पेटलगायत विशेष अङ्गहरूको भिडियो एक्सरे सेवा र प्रत्येक दिन बुधबार ३ बजेपछि अपाङ्ग बच्चा नजन्मियोस् भनेर गरिने भिडियो एक्सरे अर्थात् एनोमली स्क्यान र दूरबिन प्रविधिबाट शल्यक्रिया सेवासमेत सञ्चालनमा ल्याएको छ ।

दुई वर्षमा अस्पतालको मुहार फेरेपछि दैनिक दुई सय ५० देखि तीन सय बिरामीको उपचारमा आउने यस अस्पतालमा अहिले दैनिक आठ सयभन्दा बढी बिरामी आउने गरेका छन् । अस्पतालको सेवा खस्किएको भन्दै चौतर्फी आलोचना भएपछि पुनः २०७९ भदौ २९ गते भक्तपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेन्टमा काज सरुवा भएर आफू आएपछि बन्द भएका बच्चाको आइसीयू, एनआइसीयूलगायत बिभिन्न सेवाहरु सञ्चालन गरी प्रसूति सेवालाई समेत गुणस्तरीय बनाएपछि सरकारको मूल्याङ्कनमा पुन ९८ दशमलव सात प्रतिशत अङ्क ल्याएर सातै प्रदेशका प्रदेशस्तरीय अस्पतालमध्ये उत्कृष्ट अस्पतालको पहिचान बनाउन सफल भएको बताउनुभयो । \

अस्पतालकी निर्देशक डा गौतमले आफ्नो योजना, विकास समिति, सबै डाक्टर, नर्स, कर्मचारीको अथक प्रयास र सेवा सुधारले आफ्नै कार्यकालमा पहिलोपटक २०७७ मा ७४ अङ्क, २०७८ मा ८४ अङ्क ल्याउन सफल हँुदै पहिलो अस्पताल र २०८० को मूल्याङ्कनमा ९७ अङ्क र यस वर्ष ९८ अङ्क आएर देशकै उत्कृष्ट अस्पताल बनेकामा आफूलाई खुसी लागेको बताउनुहुन्छ । अस्पतालको निर्देशक डा गौतमको लगनशीलता, सेवामा गुणस्तरीयता र कर्मचारीको भरपर्दो साथले यस वर्ष पनि उत्कृष्ट अस्पताल घोषणा भएको भन्दै अध्यक्ष कायस्थले छिटोछिटो अस्पतालको नेतृत्व फेरबदल गरिनु नहुने धारणा राख्नुहुन्छ ।

प्रकाशित मितिः बिहिबार, २४ जेठ २०८१
https://jawaaf.com/storage/01HZP1WBRF814S5BQN4M9AXET4.jpg

सुनको मूल्य तोलामा एक हजार आठ सयले बढ्यो

काठमाडौँ, २४ जेठ I स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु एक हजार आठ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु एक लाख ४४ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजार दुई सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ४१ हजार पाँच सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आज रु एक लाख ४३ हजार तीन सय निर्धारण गरिएको छ ।

त्यस्तै चाँदीको मूल्य आज रु एक हजार आठ सय ५० निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला रु एक हजार आठ सय २५ रहेको थियो । 

प्रकाशित मितिः बिहिबार, २४ जेठ २०८१
https://jawaaf.com/storage/01HZNZAEX12CQWHPQJRW8HC9RE.jpg

गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति

म्याग्दी, २४ जेठ I गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१ दशमलव २ किलोमिटर ढलान भएको छ ।     
     
     
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली र बहुुवर्षीय आयोजनामार्फत थप सय किलोमिटरभन्दा बढी ग्राभेल भएको छ । गत आव २०७९/०८० सम्म पाँच सय ९९ किलोमिटर सडक ग्राभेल र छ सय ६८ किलोमिटर कालोपत्र भएको थियो ।     
     
     
“प्रदेश स्थापना भएदेखि हालसम्म आठ सय ८२ किलोमिटर सडक कालोपत्र र ढलान गरी स्तरोन्नति गरेका छौँ”, उक्त मन्त्रालयअन्तर्गतको पूूर्वाधार विकास निर्देशनालयका निर्देशक महेन्द्र बानियाले भन्नुभयो, “सडक निर्माण र स्तरोन्नतिमा हालसम्म रु ४८ अर्ब भन्दा बढी खर्च भएको छ ।”     
     
बाह्र अर्ब पुँजीगत बजेट रहेको भौतिक मन्त्रालयले चालु आवमा पुराना बहुवर्षीय र सालबसालीसहित एक हजार चार सय ६४ योजनालाई वार्षिक कार्यक्रममा समावेश गरेको थियो । यस वर्ष एक सय २७ प्रादेशिक सडक, पाँच वटा सङ्घीय समपूरक सडक, ३० पक्की पुल र चार झोलुङ्गे पुल आयोजना बहुुवर्षीय ठेक्कामार्फत कार्यान्वयन भएका छन् ।     
     
निर्देशक वानियाका अनुसार बहुवर्षीय योजनका सडक, मोटरेबल र झोलुुङ्गे पुलका लागि रु १२ अर्ब ७३ करोड ९८ लाख बजेट सुनिश्चित भएको छ । अधिकांश तीन वर्ष र केही योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य छ ।     
     
राष्ट्रिय राजमार्गका वैकल्पिक सडक पनि खोल्ने र स्तरोन्नति गर्ने योजनालाई प्राथमिकता दिइएको भौतिक मन्त्रालयमार्फत एक निर्वाचन क्षेत्र, एक सडक, स्थानीय तहको केन्द्र जोड्ने, अन्तरजिल्ला, अन्तरपालिका जोड्ने रणनीतिक महत्वका सडक गौरवका आयोजनाका रुपमा कार्यान्वयनमा रहेका उक्त मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितले बताउनुभयो ।     
 

प्रकाशित मितिः बिहिबार, २४ जेठ २०८१
https://jawaaf.com/storage/01HZNY0RCV5CD5XPCFC7B2CGS6.webp

विश्वकप छनोट : नेपाल र युएई भिड्दै

काठमाडौँ २४ जेठ I फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच हुँदैछ । साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रङ्गशालामा नेपाली समयअनुसार राति ९ः४५ बजे खेल हुनेछ ।     
     
यसअघि नेपाल र युएईबीच युएईको घरेलु मैदानमा भएको खेलमा नेपाल ४–० ले पराजित भएको थियो । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले युएईविरुद्धको खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको । फिफा वरीयतामा युएई ६७औँ स्थानमा छ भने नेपाल एक सय ७८औँ स्थानमा छ ।     
     
नेपाली टोलीमा गोलरक्षक कप्तान किरण चेम्जोङ (कप्तान) सहित विशाल सुनार र अभिषेक बराल छन् । त्यस्तै डिफेन्डरमा विमल पाण्डे, अभिषेक लिम्बू, अनन्त तामाङ, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई र रोहित चन्द छन् । यसैगरी मिडफिल्डरमा भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा र आशिष राई छन् । फरवार्डमा जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान र आशिक बाबु चौधरी छन् । 

प्रकाशित मितिः बिहिबार, २४ जेठ २०८१
https://jawaaf.com/storage/01HZNXQQ3VVM3S5W8H0D85T3HB.jpg

सुरक्षा अधिकारीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण

थलारा (बझाङ), २४ जेठ I चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलो पटक उरै पुगेको हो ।     
     
सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङ सहितको टोलीले उरैस्थित नाग्ना डाँडामा रहेको दुई नम्बर सहायक सीमा स्तम्भलगायत पुलान वरपरको भूभागको निरीक्षण गरेको हो ।     
     
साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले तीन दिन पैदल हिँडेर टोली उरै नाका पुगेको जानकारी दिँदै पाँच हजार दुई सय मिटर उचाइमा रहेको २ नम्बर पिलर र आसपासको क्षेत्रको अनुगमन गरिएको रासस प्रतिनिधिलाई बताउनुभयो । टोलीमा छ जना सरकारी कर्मचारी, साइपालको काँडा र धुली प्रहरी चौकीबाट पाँच जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीसहित १८ जना सहभागी हुनुहुन्थ्यो ।     
बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार आगामी असार १६ गतेदेखि उरै नाका पूर्णरूपमा सञ्चालनमा हुनेछ । नाका खुलेपछि व्यापार–व्यवसायका निम्ति सीमापारि जान हालसम्म पाँच जनाले अनुमतिपत्र लिएका उहाँले जानकारी दिनुभयो ।     
     
नेपाल र चीन सरकारबीच चीनसँगका १४ नाका क्रमशः खोल्नसहमतिभएसँगै यही जेठ १२ गते तिब्बतको सिगात्सेको चेन्टाङमा आयोजित कार्यक्रममार्फत उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्बतका उपध्याक्ष सिलाङ निमाले संयुक्त रूपमा नाका पुनःसञ्चालनको घोषणा गर्नुभएको थियो ।     

प्रकाशित मितिः बिहिबार, २४ जेठ २०८१