बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HZFBESZMDTJ0HSRB329SQ5ZJ.jpg

यसपालिको मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने

काठमाडौँ I राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसपालिको मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । 

प्राधिकरणले आज सार्वजनिक गरेको विवरणअनुसार बढी पानी पर्ने अनुमान गरिएको यसपालीको मनसुनमा १८ लाख एक हजारभन्दा बढी मानिस प्रभावित हुने जनाइएको छ । 

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले कूल चार लाख १२ हजार घरघुरीका १८ लाख एक हजारभन्दा बढी मानिस कुनै न कुनै रुपमा प्रभावित हुने अनुमान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने र १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अवस्था आउने आँकलन गरिएको छ । 

गतवर्ष १२ लाख मानिस प्रभावित हुने अनुमान गरिएको थियो । त्यसको अघिल्लो वर्ष २० लाख बढी प्रभावित हुने अनुमान गरिएको थियो । जल तथा मौसम विज्ञान विभागले यसपाली सरदर भन्दा बढी पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत रहने आँकलन सार्वजनिक गरिसकेको छ । सोही अनुसार यसपाली बढी जोखिम हुने भएकाले सबै निकायलाई आवश्यक तयारीमा लाग्न निर्देशन गरिसकिएको पनि उहाँले बताउनुभयो ।

गृहमन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना तयार भएकाले सोही अनुसार अघि बढेको डा भट्टराईले जानकारी दिनुभयो । मौसम विभागका अनुसार अब मनसुन भित्रिने समय नजिकिएको छ । सोही अनुसार गृहमन्त्रालयले आवश्यक तयारी गरिरहेको छ । 

प्रकाशित मितिः सोमबार, २१ जेठ २०८१
https://jawaaf.com/storage/01HZFAGD4X89CQWAF9XT0JWEC5.jpg

चोरीसिकारी बढेपछि चुरे क्षेत्रमा मासिँदै पशुपक्षी

कटारी (उदयपुर), २१ जेठ I उदयपुरको कटारी नगरपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा चोरीसिकारी बढेको छ । कटारी नगरपालिका–१, २, ३, ५ र ६ का सामुदायिक र सरकारी वन क्षेत्रमा चोरीसिकारी बढेको हो ।

सिकारीले वन क्षेत्रमा दिनहुँजसो निलगाई, बँदेल, मृग, मयुर, कालिज, धनेसजस्ता पशुपक्षीहरु सिकार गर्ने गरेको कटारी–३ का स्थानीय डबबहादुर परियारले जानकारी दिनुभयो । “२० नाल जति भरुवा बन्दुक लिएर सिकारीहरु आउने गर्छन्”, उहाँले भन्नुभयो, “पानी पर्न थालेपछि जन्तुहरुको पाइला हेरेर सिकार गर्न सजिलो हुने रहेछ त्यसैले अहिले सिकारीहरु जङ्गलभरि सक्रिय छन् ।”

चुरे वनमा डढेलो लगाउने पनि सिकारी रहेको स्थानीयवासीको अनुमान छ  । आगो लगाएपछि सिकार खेल्न सजिलो हुने स्थानीयको भनाइ छ । दैनिक वनमा बन्दुक पड्केको आवाज सुनिने र सिकारी भेटिने गरेको घाँसे गोठालाहरु बताउँछन् ।

कटारी नगरपालिकाको चुरे वन क्षेत्रभित्र पर्ने वडा नं १ खसीबास, एक्लेसल्ला र सिरहाको गोलबजार नगरपालिकाअन्तर्गतको चुरे किनारका बस्तीबाट सिकारी आउने गरेको स्थानीय बताउँछन् । “सबैजना बन्दुक लिएर कटारी नजिकसम्म सिकार खेल्न आउँछन्”, कटारी–३ च्याँगाका लवकुश माझीले भन्नुभयो, “गाउँ छेउछाउमा आउने बँदेल, दुम्सी, खरायो, मृग, नीलगाई सिकारीले मासिसके ।”

सिकारीले वनक्षेत्रमा तर्साएपछि वन्यजन्तु गाउँ पस्न थालेको कटारी–५ शलेस सामुदायिक वन उपभोक्ता समूहका पूर्वसचिव डिकबहादुर श्रेष्ठले बताउनुभयो । “पहिला चुरेमा बस्ने वन्यजन्तु गाउँमा देखिन थालेका छन्”, उहाँले भन्नुभयो, “जङ्गली जनावर गाउँ पसेपछि अन्नबालीमा क्षति पु¥याउन थालेका छन् ।”

अहिले चोरीसिकारी सक्रिय रहने मौसम रहेकाले दैनिक वनगस्ती खटाएको डिभिजन वन कार्यालय कटारी (त्रिवेणी)का प्रमुख डिभिजन वन अधिकृत अनिरुद्ध साहले बताउनुभयो । “दैनिक गस्ती खटाएका छौँ, प्रहरीसँग पनि समन्वय गरिरहेका छौँ, अनुमतिबिनाका भरुवा बन्दुक नियन्त्रणमा लिन र बुझाउन अनुरोध गरेका छौँ”, अधिकृत साहले भन्नुभयो, “वन्यजन्तुअनुसार सिकारीलाई सजायको व्यवस्था कानुनमा छ, वनका उपभोक्ता समूहहरुलाई पनि सिकारी पक्राउमा सहयोग गर्ने अनुरोध गरेका छौँ ।”

पशुपक्षी सिकारीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनसम्बन्धी कारबाही हुने पनि अधिकृत साहले बताउनुभयो । साहका अनुसार यस क्षेत्रमा संरक्षित पक्षीमा ठूला धनेस, हात्तीलगायतका जनावर छन् । 

वनमा ठूलो रुखहरु मासिएसँगै पक्षी मासिन थालेका छन् । १५ वर्षअघिसम्म प्रशस्त पाइने कर्रा, कागभेला प्रजातिको सुगा अहिले भेटिन छाडेका छन् । सिकारीहरु कटारी र सिरहाको सिमानामा पर्ने चुरिया मन्दिरदेखि पूर्व, उदयपुरगढी गाउँपालिकाको नेपालटार र पश्चिमतर्फ सिरहादेखि उत्तरको वन क्षेत्रमा दैनिक भरुवा बन्दुकसहित सिकार गर्ने गरेको स्थानीय बताउँछन् । 

प्रकाशित मितिः सोमबार, २१ जेठ २०८१
https://jawaaf.com/storage/01HZF9R3FCWAS7K6HEGCBD5CG2.jpg

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

विराटनगर,२१ जेठ I कोशी प्रदेश सरकारले आज  आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

नीति तथा कार्यक्रममा प्रदेशका प्राकृतिक तथा मानवीय स्रोतको अध्ययन, अनुसन्धान तथा उपयोगसम्बन्धी नीति लिइने, योजना, बजेट तथा कार्यक्रमलाई प्रदेशको आवश्यकता तथा राष्ट्रिय लक्ष्य प्राप्तिमा सहयोगी बनाउन प्रदेशस्तरीय योजना, बजेट तथा कार्यक्रम आवश्यक परिमार्जनसहित कार्यान्वयन गरिने उल्लेख छ । नीति तथा कार्यक्रममा  प्लास्टिकको प्रयोगलाई न्यूनीकरण र हरियाली प्रवर्द्धन गर्ने, पहाडी क्षेत्रका पानीका मूलको संरक्षण र सम्वर्द्धन गरिने, कोशी प्रदेशलाई धानको बीउ स्रोतको रुपमा विकास गर्ने र माटो तथा मल परीक्षण घुम्ती शिविर सञ्चालन गर्ने उल्लेख छ ।

रैथाने बालीको पहिचान गरी क्षेत्र विस्तारमा जोड दिने, उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिने, बाली तथा पशुपक्षी बीमालाई प्रवर्द्धन गरिने, अदुवा, अलैँची जस्ता उच्च मूल्य भएका वस्तुको प्रशोधन केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने र पशुनश्ल सुधार कार्यक्रमलाई निरन्तरता दिने प्रदेश प्रमुख खापुङद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

वर्षाको पानी भरण गरी दिगो सिँचाइ सेवा पु-याएर उत्पादन उत्पादकत्व बढाउने, पहाडमा लिफ्टबाट सिँचाइ पु-याउने, तराईमा सतह र भूमिगत सिँचाइ प्रणालीको विकास र विस्तार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । कर्मचारी सरूवा ताथ पदस्थापनसम्बन्धी मापदण्ड बनाएर कार्यान्वयन गर्ने, स्थानीय कच्चापदार्थमा आधारित उद्योग खोल्न प्रोत्साहन गर्ने, प्रदेश सार्वजनिक खरिद नियमावलीलाई आवश्यक सुधार गर्ने, मितव्ययिता नीति अवलम्बन गर्ने, अपराध नियन्त्रण गर्न सूचना प्रणालिको विकास गर्ने नीति तथा कार्यक्रममा छ ।

प्रदेश तथ्याङ्क, सूचना प्रणाली तथा अभिलेख व्यवस्थापनसम्बन्धी कानुन तर्जुमा गरिने, बचतलाई प्रवर्द्धन गर्दै उत्पादनमूलक क्षेत्रमा वित्तीय क्षेत्रका नियामक निकायहरुको समन्वय र सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिने , बेरुजु न्यूनीकरण तथा फर्छौटसम्बन्धी कार्यविधि, २०८० को प्रभावकारी कार्यान्वयन गर्दै आर्थिक अनुशासन कायम गर्ने र प्रदेशको दोस्रो अवधि योजनाले लिने सोच, लक्ष्य एवं उद्देश्य हासिल गर्न योगदान पु¥याउने गरी वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गरिने जस्ता १३५ बुँदा नीति तथा कार्यक्रममा राखिएको छ ।

मुख्यमन्त्री कार्कीले आजै एकप्रति नीति तथा कार्यक्रम सदनमा टेबुल गर्नुभयो । प्रदेश प्रमुख खापुङले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रमपछि सदनमा सर्वसम्मतले धन्यवाद प्रस्ताव पारित भएको थियो । 

प्रकाशित मितिः सोमबार, २१ जेठ २०८१
https://jawaaf.com/storage/01HZF2PG4XPHYFRY8YCATSQPN7.jpg

अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मङ्गलबार छिचोलिने

किमाथाङ्का (सङ्खुवासभा), २१ जेठ I सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ मङ्गलबार छिचोलिने भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा सुरुङ छिचोल्ने कार्यक्रम तय गरिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनुभयो । आयोजनाको सुरुङ प्रधानमन्त्रीद्वारा छिचोल्ने निश्चित भइसकेको आयोजना निर्माण गरिरहेको भारतीय सतलज कम्पनी (एसजेबिएन)ले जनाएको छ । 

उक्त आयोजनाको ७० प्रतिशत काम सकिएको छ । प्रधानमन्त्री दाहालले अरुण तेस्रोको ‘ड्यामसाइट’ र ‘पावरहाउस’को हेलिकप्टरबाटै अनुगमनसमेत गर्ने कार्यक्रम तय गरिएको छ । आयोजनाको मुख्य सुरुङ मकालु–५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका–३ दिदिङ पुखुवा पावरहाउससम्म ११ दशमलव ८३७ किलोमिटर छ । 

आयोजनामा कुनै अवरोध नभएमा एक वर्षभित्र निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ । आयोजना सम्पन्न भइसकेपछि मात्र स्थानीयले शेयर पाउने परियोजना विकास सम्झौता (पिडिए) मा व्यवस्था गरिएको छ । आयोजनाबाट व्यावसायिक उत्पादन सुरु भएको एक वर्षभित्र स्थानीयलाई शेयर दिने पिडिएमा उल्लेख छ । पिडिएअनुसार यस परियोजनाबाट एक सय ६० करोड रुपैयाँ स्थानीयलाई शेयर दिइनेछ । शेयर रकममध्ये पहिलो किस्तामा ५० प्रतिशत नौ सय ८० करोड र पहिलो उत्पादन वर्ष सकिएपछि दोस्रो उत्पादन वर्षको अन्त्यमा बाँकी ५० प्रतिशत शेयर वितरण गरिनेछ । शेयर वितरण गर्दा प्रत्यक्ष प्रभावितलाई पहिलो प्राथमिकतामा राखिने पिडिएमा भनिएको छ । 

करिब एक खर्ब चार अर्ब लागत अनुमान गरिएको आयोजनाबाट नेपाललाई २१ प्रतिशत निःशुल्क विद्युत् प्राप्त हुनेछ । विभिन्न शीर्षकमा तीन खर्ब ४८ रुपैयाँ आर्थिक लाभ मिल्ने जनाइएको छ । 

विद्युत् उत्पादनपछि प्रत्यक्ष प्रभावित परिवारले प्रतिमहिना ३० युनिटसम्म विद्युत् निःशुल्क प्राप्त गर्नेछन् ।  निर्माण सम्पन्न भएको २५ वर्षपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पिडिएमा उल्लेख छ । अरुण तेस्रो जलविद्युत् आयोजनामा नेपाली र भारतीयसहित चार हजार कामदार कार्यरत छन् ।

प्रकाशित मितिः सोमबार, २१ जेठ २०८१
https://jawaaf.com/storage/01HZEZKATG0EYEY92NHJ4W9CQ1.jpg

निर्वाचनमा ६४ करोड २० लाख मतदाता सहभागी : भारतीय निर्वाचन आयोग

छ हप्ता लामो भारतीय निर्वाचनमा ६४ करोड २० लाख भारतीय मतदाताहरूले मतदान गरेको मुख्य निर्वाचन आयुक्त राजीव कुमारले सोमबार बताउनुभएको छ । अधिकांश निर्वाचन सर्भेक्षण नतिजाले प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल जित्ने अनुमान गरेका छन् । 

आयुक्त कुमारले ६४ करोड २० लाख भारतीयले मतदान गरी विश्व कीर्तिमान बनाएको जिकिर गर्दै यो सबैका लागि ऐतिहासिक क्षण  भएको बताउनुभयो । कुल मतदातामध्ये लगभग आधा अर्थात् ३१ करोड २० लाख महिला मतदाताको सहभागिता रहेको छ । यसले भारतका मतदाताहरूको अविश्वसनीय शक्तिलाई देखाउने उहाँले उल्लेख गर्नुभयो ।

आयोगको ९६ करोड ८० हजार योग्य मतदाताको तथ्याङ्कको आधारमा, योग्य मतदाताको ६६.३ प्रतिशत मतदान भएको र योसन् २०१९ को निर्वाचनको तुलनामा थोरै कम रहेको जनाएको छ ।

मतदानमा केहीले एकाध स्थानमा उदासीनता, सनकीपनमाथि विश्वास गर्दै हिंसात्मक रूपमा प्रस्तुत हुन खोजेपनि निर्वाचनमो ‘हिंसाको कुनै ठूलो घटना नभएको’ प्रमुख निर्वाचन आयुक्तल कुमारले बताउनुभयो । 

आयोगका अनुसार सातौँ र अन्तिम चरणको मतदान शनिबार समाप्त भयो भने मङ्गलबार मतगणनाको नतिजा आउनेछ ।

अधिकांश ‘एक्जिट पोल’ ले मोदी विजयको बाटोमा रहेको देखाउँछ । प्रधानमन्त्री मोदीले आफ्नो सरकारलाई पुनः निर्वाचित गर्न भारतीय जनताले रेकर्ड सङ्ख्यामा मतदान गरेको कुरामा आफू विश्वस्त रहेको बताउदै आउनुभएको छ ।

भारतसँंग गणना प्रक्रिया बलियो भएको र इलेक्ट्रोनिक मतदान मेसिनहरू प्रयोग गरी मतपत्रको छिटो गणना गर्न अनुमति दिइएको उहाँले बताउनुभयो । 

–निर्वाचनमा खटनपटनका लागि प्रशंसा–

मुख्य निर्वाचन आयुक्त राजीव कुमारले  चुनावको जटिल खटनपटनको लागि केन्द्र र राज्य सरकारहरूको प्रशंसा गर्दै ‘मतदाता नै वास्तविक विजेता रहेका’ बताउनुभयो । 

उहाँले कूल मतदाताको सङ्ख्या बढेता पनि पछिल्लो आम चुनावको तुलनामा मतदानमा केही कमी आएको बताउनुभयो । 

सोमबार पश्चिम बङ्गाल राज्यका दुईवटा मतदान केन्द्रमामा पुनः मतदान गरेपछि मात्र मतदानको अन्तिम तथ्याङ्क जारी गरिनेछ ।

आइतबार राजधानी दिल्लीका मुख्यमन्त्री र मोदीविरुद्ध प्रतिस्पर्धा गर्न गठन गरिएको गठबन्धनका प्रमुख नेता अरविन्द केजरीवाल उहाँलाई दिइएको सुविधा अनुसार निर्वाचनमा सहभागी भई जेल फर्किनुभएको छ । 

केजरीवाललाई लामो समयदेखि चलिरहेको भ्रष्टाचारको अनुसन्धानका लागि मार्चदेखि हिरासतमा राखिएकोमा २१ दिन पहिले रिहा गरी मतदान समाप्त हुदाँसम्म निर्वाचनमा प्रचार गर्न अनुमति दिइएको थियो । 

‘जब सत्ता तानाशाही बन्छ, तब जेल एक जिम्मेवारी बन्छ’ भन्दै केजरीवालले आत्मसमर्पण गर्नुअघि जेलबाट ‘लडाइँ’ जारी राख्ने प्रतिवद्धता गर्नुभएको थियो । 

मोदीका राजनीतिक विरोधीहरू र अन्तर्राष्ट्रिय अधिकार समूहहरूले लामो समयदेखि भारतको लोकतन्त्रका लागि खतराहरूबारे चेतावनी दिएका छन् ।

अमेरिकी थिङ्क ट्याङ्क फ्रिडम हाउसले यस वर्ष भाजपाले ‘राजनीतिक विरोधीलाई लक्षित गर्न सरकारी संस्थाहरूको धेरै प्रयोग गरेको’ बताएको छ ।

–चरम गर्मी– 

मतदाताको उपस्थितिमा आएको गिरावटलाई विश्लेषकहरूले आंशिक रूपमा भारतीय गर्मीमा औसतभन्दा बढी तापक्रमलाई दोष दिएका छन् ।

गर्मीका कारण उत्तरी भारतमा ४५ डिग्री सेल्सियस भन्दा बढी तापक्रमका कारण लाखौँ मानिसहरू मतदान केन्द्र बाहिर लामबद्ध भएका छन् । 

उत्तर प्रदेश राज्यमा मात्रै शनिबार गर्मीका कारण कम्तीमा ३३ जना मतदानकर्मीको मृत्यु भएको थियो । उक्त राज्यमा निर्वाचन अधिकारीहरूका अनुसार ४६.९ डिग्री सेल्सियस तापक्रम  पुगेको छ ।

यो चुनावबाट मतदान चाँडै समाप्त हुनुपर्ने पाठ सिकेको कुमारले बताउनुभयो । 

प्रकाशित मितिः सोमबार, २१ जेठ २०८१
https://jawaaf.com/storage/01HZEY9GAJZB3M98W6S3G35WFB.jpg

मधेश प्रदेशसभा बैठक अवरोध

जनकपुर, २१ जेठ I आज सुरूभएको मधेश प्रदेशसभा बैठक प्रतिपक्षी दल जनमत पार्टीले अवरुद्ध गरेको छ । करिब दुई महिनापछि प्रदेशसभाको तेस्रो अधिवेशनको आज पहिलो बैठक बसेको छ । बैठक सुरू हुनासाथ आह्वान गरेको तेस्रो अधिवेशनको पत्र सभामुखले पढेर सुनाएपछि जनमतले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।

सप्तरीको राजविराजमा एक मन्त्रीमाथि प्रहरीबाट आक्रमण भएको घटनाको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेर बैठक जनमतले अवरुद्ध गरेको हो । जनमतका सदस्य सञ्जय यादवले मन्त्रीमाथि भएको आक्रमणको छानबिन नभएसम्म संसद् चल्न नदिने बताउनुभयो  । “त्यो माग पूरा गर्नुपर्छ र समिति गठन नगरेसम्म सदन चल्न दिँदैनौँ”, उहाँले भन्नुभयो । 

प्रकाशित मितिः सोमबार, २१ जेठ २०८१
https://jawaaf.com/storage/01HZEWEYBG0VJAMYWM2VZEF4BM.jpg

सिलौटो बेचेर जीविकोपार्जन गर्दै धरानका विशाल

धरान (सुनसरी), २१ जेठ I धरान उपमहानगरपालिका–८ बरगाछीमा सिलौटा बनाउँदै गर्दा भेटिएका खनार सुनसरीका विशाल शर्मा मसला पिस्ने लोहोरो, जाँतो र सिलौटोको व्यापारबाट जीविकोपार्जन गरिरहनुभएको छ । उहाँले सिलौटा बनाउने पुर्खौली पेसा भएकाले यसलाई निरन्तरता दिएको बताउनुभयो ।     
      
ढुङ्गाबाट बनेका सामग्री विभिन्न आकार र बुट्टाले भरिएका छन् । शर्माले ती सामग्री बिक्रीका लागि लहरै राख्नुभएको छ । उहाँले भन्नुभयो, “विदेशमा गएर दुःख गर्नुभन्दा यही सिलौटो व्यापार गरेर जीविकोपार्जन भइरहेको छ ।” स्वदेशमा केही गर्दा आन्दानीसँगै आत्मसन्तुष्टि प्राप्त हुने उहाँको बुझाइ छ ।     
      
सिलौटो बनाउने ढुङ्गा मोरङको केराबारी, जाँते लेटाङलगायत स्थानबाट खरिद गरी ल्याउने गरेको शर्माले बताउनुभयो । उक्त व्यापारबाट मासिक रु ३५ देखि रु ४० हजारसम्म आम्दानी हुँदै आएको उहाँले जानकारी दिनुभयो ।     
      
“व्यापार गर्न एउटै स्थान बनाएको छैन । एक ठाउँमा तीन÷चारदिन व्यापार गर्छु । तीन÷चारदिनपछि ठाउँ परिवर्तन गर्छु”, शर्माले भन्नुभयो, “पूर्खाले गर्दै आएको पेसा भएकाले पेसाको संरक्षण र आम्दानी हुने भएकाले निरन्तरता दिएको छु ।”     
      
  निर्माण गरिएका सामान धरानका साथै पाहाडी भेग, भेडेटार, धनकुटा, इटहरी, बेलबारी, मोरङ, झापालगायत स्थानमा बिक्री हुँदै आएको शर्माले बताउनुभयो । माग अनुसार कतिपय सामान बनाउने गरेको उहाँको भनाइ छ । “एउटा सिलौटो बनाउन ३० देखि ४० मिनेट लाग्छ । एउटा रु चार सयदेखि आठ सयमा दैनिक १० वटासम्म बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो ।     
      
पछिल्लो समय महँगी र आधुनिकताका कारण व्यवसाय सङ्कटमा पर्दै गएको शर्माको भनाइ छ । “अहिले सिलौटोमा मसला पिस्ने चलन हराउँदै जान थाल्यो, व्यवसाय सङ्कटमा पर्छकी भन्ने डर छ”, उहाँले भन्नुभयो, “पुर्खौली पेसा भएकाले संरक्षणका लागि पनि निरन्तरता दिँदै आएको छु ।”     
      
ढुङ्गाको सिलौटो बनाउने पेसालाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने कोशी प्रदेशका सांसद रमेश बस्नेतले बताउनुभयो । “परम्परागत रुपमा प्रयोग गर्दै आइएको ढुङ्गाको सिलौटोलाई संरक्षण र प्रवर्द्धन गर्दै लैजानुपर्छ”, उहाँले भन्नुभयो, “स्थानीय सरकारले यस्तो पेसा गर्नेलाई सहयोग गर्नुपर्छ । प्रत्येक घरमा ढुङ्गाको सिलौटो छन् । आधुनिकताले गर्दा प्रयोगमा कम आउन थालेको मात्रै हो ।”     
 

प्रकाशित मितिः सोमबार, २१ जेठ २०८१
https://jawaaf.com/storage/01HZEVJN09NC726Z98C2A79BBX.jpg

पाँच कक्षापछि पढ्न पाउँदैनन निसेलढोरका बालबालिका

गलकोट (बागलुङ), २१ जेठ I बागलुङको निसेलढोर गाउँ पुग्दा सम्झना विश्वकर्मा छोराको हेरचाहमा व्यस्त हुनुहुन्थ्यो । उमेरले १९ वर्ष हुनुभएको विश्वकर्माले कक्षा छ मै पढाइलाई विश्राम दिनुभयो । उहाँको पढ्ने रहन नभएर होइन गाउँमा विद्यालय नहुँदा पढाइ छोडेर बिहे गर्नुभयो ।     
     
निसीखोला गाउँपालिका–५ निसेलढोरमा अशिक्षा, गरिबी र बालविवाह व्याप्त छ । त्यसैको चेपुवामा सम्झनाजस्ता धेरै किशोरीहरू परेका छन् । निसेलढोरमा पाँच कक्षासम्म अध्ययन हुने गरेको र माध्यामिक शिक्षा अध्ययनका लागि घरबाट टाढा जान सम्भव नभएपछि पढाइ छोडेको विश्वकर्माले दुःखेसो गर्नुभयो । “१९ वर्षकी भएँ, पढाइको महत्व अहिले बुझ्दै छु । घरबाट पाँच घण्टाको पैदल दूरीमा माध्यामिक विद्यालय छ, त्यसकारण पढ्न सम्भव भएन । सानै उमेर भएकाले कोठा खोजेर पनि बस्न सकिएन, यहाँ म मात्रै होइन विद्यालय नहुँदा धेरैले पाँच कक्षापछि पढाइ छोड्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।     
     
शिक्षा मात्र होइन यहाँ विद्युत्को पनि त्यस्तै समस्या छ । एक वर्षअघि नेपाल टेलिकमले मोबाइल टावर राखे पनि मोबाइल चार्ज गर्न नसकिएको स्थानीयको गुनासो छ ।     
निसेलढोरमा ५५ स्थायी र एक सय ५० घरमा घुम्ती बसाइ हुन्छ । घुम्ती बसाइ गर्ने परिवारका बालबालिकाले निसीखोलाको बेँसीमा विद्यालयमा अध्ययन गर्ने भए पनि निसेलढोरमै रहेका बालबालिका कक्षा पाँचपछि अध्ययन छोड्ने गरेका स्थानीय खिमा विकको भनाइ छ । “यहाँ त बालविवाह सामान्यजस्तै छ, केही बालबालिका विद्यालय नै जादैनन्, कक्षा पाँचसम्म त गाउँमै पढाइहुन्छ, त्यसमाथि अध्ययन गर्न समस्या छ”, विकले भन्नुभयो ।     
पाँच कक्षासम्म अध्ययन गर्न मिल्ने कुँडेढोर प्राथमिक विद्यालयमा अहिले ५२ जना विद्यार्थी छन् । विद्यालयका शिक्षक रुद्र विकले पनि धेरैले पाँच कक्षापछि पढाइ छोड्ने गरेका बताउनुभयो ।     
     
विसं २०६४ मा स्थापना गरिएको कुँडेढोर प्राथमिक विद्यालयसमेत जीर्ण अवस्थामा छ ।     

प्रकाशित मितिः सोमबार, २१ जेठ २०८१
https://jawaaf.com/storage/01HZEV0BEYN7BTT6P2T4J9DWAA.jpg

जापानमा ६.० म्याग्निच्युडको भूकम्पको धक्का महशुस

जापानको केन्द्रीय प्रान्त इशिकावाको नोटो क्षेत्रमा सोमबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको जापानको मौसमसम्बन्धीे जनाएको छ ।

जापानी मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार स्थानीय समयअनुसार बिहान ६ बजेर ३१ मिनेटमा १४ किलोमिटर गहिराइमा भूकम्प गएको थियो भने भूकम्पको केन्द्रविन्दु  ३७.५ डिग्री उत्तरी अक्षांश र १३७.३ डिग्री पूर्वी देशान्तरमा रहेको थियो ।

जेएमएका अनुसार भूकम्पका कारण सामुद्रिक छालमा केही परिवर्तन देखिन सक्ने तर सुनामी आउने र सुनामीजन्य क्षतिको सम्भावना छैन । 

जापान जनवरी १ मा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले नोटो क्षेत्र र वरपरको क्षेत्रमा धक्का दिएको र यसले सुनामी निम्त्याएको थियो । सुनामीका कारण २६० जनाको ज्यान गएको  थियो भने एक हजार ४३३ जना घाइते भएका थिए । उक्त प्राकृतिक विपत्तिमा ७५ हजारभन्दा बढी घरहरू क्षतिग्रस्त हुँदा विस्थापित भएका तीन हजार ३०० भन्दा बढी विस्थापित मानिसहरू अझै पनि शिविरमा बसिरहेका जापानको सरकारी तथ्याङ्कमा उल्लेख छ । 

स्थानीय प्रहरीका अनुसार सोमबारको भूकम्पले यसअघिको भूकम्पमा सबैभन्दा बढी प्रभावित शहर वाजिमामा पाँचवटा घरहरु क्षतिग्रस्त भएका छन् । भूकम्पका कारण दुई जना घाइते भएका छन् । 

यस क्षेत्रमा भूकम्पको तीव्रता महसुस भएपछि धेरैजना नोटो प्रायद्वीपमा भूकम्पको परिणामबारे फेरि चिन्तित भएका छन्, यद्दपि भूकम्पसँग जुधेर काम गर्न बाहेक कुनै विकल्प नभएको वाजिमा सहरका ६४ वर्षीय एक बासिन्दाले बताउनुभयो ।  

प्रमुख ऊर्जा कम्पनीहरूका अनुसार इशिकावाको सिका आणविक उर्जा संयन्त्र तथा नजिकैको निगाता प्रान्तको काशीवाजाकी–कारिवा आणविक उर्जा संयन्त्रमा कुनै असहजता फेला परेको छैन । 

भूकम्पपछि जोयत्सु र होकुरिकु सिङ्कानसेन बुलेट ट्रेनको सेवा अस्थायी रूपमा स्थगित गरिएको पूर्वी जापान रेलवे कम्पनी एन्डिटेमले जनाएको छ ।

प्रकाशित मितिः सोमबार, २१ जेठ २०८१
https://jawaaf.com/storage/01HZESYNHWQMEMP6S6Y7A6YYV7.webp

चीनद्वारा युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाइको खण्डन

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा हुने युद्धसम्बन्धी प्रस्तावित ‘शान्ति शिखर सम्मेलन’मा सहभागी हुनबाट अन्य राष्ट्रलाई रोक्न खोजेको भन्ने आरोपको चीनले सोमबार खण्डन गरेको छ ।

सिङ्गापुरमा आइतबार आयोजित एक सुरक्षा मञ्चमा बोल्दै जेलेन्स्कीले बेइजिङले यसै महिना स्विट्जरल्याण्डले आयोजना गर्न लागेको शान्ति शिखर सम्मेलनमा देशहरूलाई आउनबाट रोक्न कडा मेहनत गरिरहेको आरोप लगाउनुभएको थियो । 

सिङ्गापुर भेलाले रूसको आक्रमण अन्त्य गर्न आवश्यक शर्तहरूको आफ्नो दृष्टिकोणको लागि व्यापक अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्न मद्दत गर्नेमा युक्रेन आशावादी रहेको छ । 

चीनले गत साता उक्त सम्मेलनबारे आफ्नो धारणा राख्दै चीनको सहयोगी रूसले भाग नलिएमा सम्मेलनमा सहभागी हुन कठिन हुने बताएको थियो ।

बेइजिङको विदेश मन्त्रालयले सोमबार भनेको छ, “चीनको अडान खुला र पारदर्शी छ र हामीले अन्य देशलाई दबाब दिएको कुनै उदाहरण छैन ।”

“शान्ति वार्तामा चीनको अडान स्पष्ट र न्यायसम्म छ । यसले कुनै पनि तेस्रो देशलाई लक्षित गर्दैन र पक्कै पनि स्विट्जरल्याण्डले आयोजना गरेको युक्रेनी शान्तिका लागि शिखर सम्मेलन पनि चीनको निशाना हुने छैन,” प्रवक्ता माओ निङले नियमित पत्रकार भेटमा भन्नुभयो । 

“सङ्कटको शान्तिपूर्ण समाधानका लागि गरिने सबै प्रयासलाई समर्थन गर्नुपर्छ भन्ने चीनको मान्यता छ,” उहाँले भन्नुभयो । 

बेइजिङले युक्रेनको युद्धमा आफू तटस्थ रहेको बताउँदै आएको छ तर रूससँगको रणनीतिक साझेदारीलाई लिएर पश्चिमा मुलुकबाट पनि चर्को आलोचना खेप्नुपरेको छ ।

चीनले रूसलाई प्रत्यक्ष रूपमा हतियार नपठाए पनि सोभियत कालदेखि मस्कोको सबैभन्दा ठूलो रक्षा उद्योग विस्तारलाई समर्थन गरेको संयुक्त राज्य अमेरिकाले आरोप लगाएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना चीन भ्रमण गर्नुभएको थियो । चीनमा रहँदा उहाँले युक्रेन युद्धमा रूसलाई चीनको व्यापक सहयोग माग्नुभएको थियो र चीनका नेता सी जिनपिङसँग उनीहरूको देशको रणनीतिक साझेदारीलाई अझ प्रगाढ बनाउने विषयमा एक संयुक्त वक्तव्यमा हस्ताक्षर भएको थियो । 

प्रकाशित मितिः सोमबार, २१ जेठ २०८१