भारतमा अन्तिम मतदानको दिन हृदयघातका कारण ३३ मतदानमा खटिएका कर्मचारीको मृत्यु
देशभर बढीरहेको गर्मीका बीच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका कम्तिमा ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरुको हृदयघातका कारण मृत्यु भएको एक शिर्ष निर्वाचन अधिकारीले आइतबार बताउनुभएको छ ।
भारतको विभिन्न ठाउँमा ४५ डिग्री सेल्सियस भन्दा माथिको तापक्रमका कारण धेरैको मृत्यु भएको खबर आइरहेको छ । एक दिनमा दर्जनौं कर्मचारीहरूको मृत्यको यो खबर दुखको विषय हो ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार उत्तर प्रदेशको झाँसीमा तापक्रम ४६.९ डिग्री सेल्सियस पुगेको छ।
सातौँ तथा अन्तिम चरणको मतदान शनिबार समाप्त भएको उत्तर प्रदेशका प्रमुख निर्वाचन अधिकारी नवदीप रिन्वाले गर्मीका कारण ३३ जना मतदानकर्मीको मृत्यु भएको बताउनुभयो । तथ्याङ्कमा सुरक्षा गार्ड र सरसफाइ कर्मचारीहरू समावेश रहेका थिए ।
“मृतकको परिवारलाई पन्ध्र लाख भारतीय रुपैँया (अठार हजार अमेरिकी डलर) को आर्थिक क्षतिपूर्ति प्रदान गरिनेछ“, रिन्वाले पत्रकारहरूलाई बताउनुभयो ।
जब कुनै व्यक्ति डिहाइड्रेटेड हुन्छ, अत्यधिक गर्मीका कारण रगत जम्ने र अङ्गहरुले काम गर्न छोड्ने भई मानिसहरुको मृत्यु हुने विशेषज्ञहरु बताउँछन् ।
“बालिया सहरमा मतदान गर्न लाइनमा पर्खिरहेका एक मतदाता मतदानस्थलमा नै बेहोस भए। मतदातालाई स्वास्थ्य केन्द्रमा लगिएको थियो जहाँ आइपुग्दा उहाँलाई मृत घोषित गरियो“, रिन्वाले छुट्टै घटनाबारे जानकारी गराउदै भन्नुभयो ।
बढ्दो तापक्रमसँग भारत अपरिचित छैन। तर जलवायु परिवर्तनले तातो छालहरू लामो, बारम्बार र तीव्र हुँदै गइरहेको वर्षौंको वैज्ञानिक अनुसन्धानले पत्ता लगाएको छ ।
विश्वकप क्रिकेटः अमेरिकाद्वारा क्यानडा पराजित
काठमाडौँ, २० जेठ I आरोन जोन्सको उत्कृष्ट ब्याटिङमा अमेरिकाले आइसिसी टी ट्वान्टी विश्वकप–२०२४ को पहिलो खेलमा क्यानडालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट रङ्गशालामा भएको खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले पराजित गरेको हो । खेलमा क्यानडाले दिएको एक सय ९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७ दशमलव चार ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो ।
अमेरिकाको जितमा आरोन जोन्सले सर्वाधिक ९४ रनको योगदान दिए । उनले ४० बलमा ४ चौका र १० छक्काको मद्दतमा ‘नटआउट’ हुँदै (अविजित) ९४ रन बनाएका हुन् । एन्ड्रिस गौसले ४६ बलमा सात चौका र तीन छक्कासहित ६५ रन जोडे । कप्तान मोनांक पटेलले १६ रन बनाए । बलिङतर्फ क्यानडाका कलिम साना, डिलोन हेलिगर र निखिल दत्तले समान एक÷एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ९४ रनको योगफल बनाएको थियो । क्यानडाका लागि ओपनर नवनीत धालिवालले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ४४ बलमा ६ चौका र तीन छक्कासहित ६१ रन बनाएका हुन् ।
क्यानडाका लागि निकोलस किर्टोनले ३१ बलमा तीन चौका र दुई छक्कासहित ५१ रन बनाए भने श्रेयस मोभ्भाले १६ बलमा दुई चौका र दुई छक्कासहित ३२ रनको योगदान दिए । साथै आरोन जोनसनले १६ बलमा पाँच चौकाको मद्दतमा २३ रन बनाए भने दिलप्रित बजवाले ११ रन बनाए । परगत सिंह पाँच रनमा आउट भएका हुन् ।
अमेरिकाका अली खान, कोरी एन्डरसन र हरम्रित सिंहले समान एक÷एक विकेट लिए । उक्त विश्वकप प्रतियोगितामा अमेरिका समूह ‘ए’ मा रहेको छ । अमेरिकाको समूहमा क्यानडासँगै आयरल्यान्ड, भारत र पाकिस्तान छन् ।
अमेरिकाले आफनो दोस्रो खेल यही जुन ६ तारिखमा पाकिस्तानसँग खेल्नेछ । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजै हुने अर्को खेलमा पपुवान्युगिनी र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ ।
सङ्खुवासभामा स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिए
किमाथाङ्का (सङ्खुवासभा), २० जेठ I यहाँको भोटखोला गाउँपालिकामा वर्षा सँगै आएको पहिरोले एक घर सहित स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिएका छन् ।
शुक्रबार देखि लगातारको वर्षा पछि आएको पहिरोले भोटखोला –४ स्थित सेम्बुङ गाउँमा रिदर ज्याबु भोटेको घर पुरिएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिनुभयो । घर पुरिएपछि रिदर ज्याबुको परिवार छिमेकीको घरमा बसेका छन् ।
पहिरोले भोटखोला –४ स्थित छोङराङमा माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको शिविर र दुई वटा गाडी पनि पुरिएका उहाँले जानकारी दिनुभयो । सोही वडाको स्याक्सिलागोला स्थित आधारभूत स्वास्थ्य चौकीको स्वास्थ्य भवन सहित स्वास्थ्य उपकरण पहिरोले पुरिँदा लाखौँको क्षति भएको छ ।
त्यस्तैगरी सोही स्थानमा निर्माणाधीन पाँच शय्याको अस्पताल पुरिएको अध्यक्ष भोटेले बताउनुभयो । उहाँका अनुसार कुनै मानवीय क्षति भने भएको छैन ।
छोङराङस्थित ग्रामीण विद्युत् कम्पनीको सामग्री बगाएको छ । बाढीपहिरोबाट भएको क्षतिबारे यकिन विवरण प्राप्त भएको छैन । पहिरोले भोटखोलाका विभिन्न सडक अवरुद्ध भएका छन् ।
'नेलपलिस’ को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो
काठमाडौँ, २० जेठ I काठमाडौँबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ ।
“धावनमार्गमा गुडिसकेको विमान नेलपलिसको गन्ध आएपछि पार्किङ वेमा ल्याइयो”, यात्री मञ्जु शाहीले भन्नुभयो, “नेल पलिसको गन्धका कारण विमान फर्काइएको हल्ला चल्यो छ । विमानको प्राविधिक परीक्षणपछि उडाउने भनिएको छ ।” यात्रीलाई यात्री ओसार्न प्रयोग हुने बसमा राखिएको छ । विमानको ८ः२५ बजेको उडान तालिका थियो ।
विमानभित्र इन्धनको गन्ध आएको र प्राविधिक परीक्षणका लागि फर्काइएको एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिनुभयो । अर्को विमानबाट यात्रीलाई गन्तव्यतर्फ पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा
काठमाडौँ, २० जेठ I नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीका सबै विभाग तथा निकायले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका अनुसार द्रुत गतिमा काम अघि बढाएका हुन् ।
केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार व्यवस्थापन कमिटीका सम्बन्धित निकायले सदस्यता अभिलेख, कार्यप्रगतिको विवरण केन्द्रमा बुझाएका छन् । आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा गर्न लागिएको दशौँ राष्ट्रिय महाधिवेशनलाई केन्द्रित गरी सबै कमिटी, विभाग र फाँटलाई आगामी असार ५ गतेभित्र महाधिवेशन प्रतिनिधिको फोटोसहितको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिइएको छ ।
केन्द्रीय सङ्गठन विभागले नेता तथा कार्यकर्ताको सदस्यता प्रदान र नवीकरणको सबै प्रक्रियाका साथै शुल्कसहितको विवरण केन्द्रले प्रमाणित गरेपछि त्यसको नामावली विवरण सम्बन्धित कमिटीमा पठाएको छ । महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी, विधान र साङ्गठनिक दस्तावेजलाई थप छलफल गर्न सबै जिल्ला तथा कमिटीहरूमा पठाइएको छ । सबै कमिटीले मस्यौदा दस्तावेजमाथि आफ्नो कार्यक्षेत्रमा रहेका पार्टी सङ्गठित सदस्यहरुलाई यही जेठ ३२ गतेसम्म छलफल गराउने तालिका छ । तल्लो तहदेखि नै आएका सुझावलाई समेटेर ती दस्तावेज थप समृद्ध बनाइने र चार वटै दस्तावेजलाई एउटै साझा प्रतिवेदन बनाएर महाधिवेशनमा लैजाने तयारी गरिएको उपप्रमुख अर्यालले जानकारी दिनुभयो ।
आइसिसी टी–२० विश्वकपः अमेरिका–क्यानडा मैदानमा, नेपाली टोलीको स्वागत
टेक्सास (अमेरिका) २० जेठ I आइसिसी टी–२० विश्वकपमा सहभागी हुने सिलसिलामा यहाँ आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ ।
त्यस अवसरमा गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, नेपाली क्रिकेट टोलीका नेता रोहित पौडेलले सङ्क्षिप्त मन्तव्य व्यक्त गर्नुभएको थियो ।
टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आजदेखि सुरु भएको उक्त प्रतियोगिता एक महिनासम्म चल्नेछ । अमेरिकाले पहिलोपटक आइसिसी प्रतियोगिता आयोजना गरेको हो । आजको पहिलो खेलमा क्यानडाले अमेरिकालाई एक सय ९५ रनको लक्ष्य दिएको छ । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९४ रन बनाएको हो । अमेरिका र क्यानडाबीचको खेल जारी छ ।
अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान
काठमाडौ, २० जेठ I गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । शनिबार यहाँ आयोजित एक कार्यक्रममा उहाँलाई नगद रु ५१ हजारसहित उक्त सम्मान प्रदान गरिएको हो ।
यसैगरी रु २१ हजार राशिको ‘पुष्कर सर्वोत्कृष्ट पत्रकारिता’ पुरस्कार पत्रकार श्याम स्मृतले पाउनुभएको छ ।
अभिनेता शाहले सम्मानित भएपछि भन्नुभयो, “नेपाली चलचित्रका प्रारम्भिक दिनमा ‘प्रिन्ट’ बोकेर चलचित्र भवनमा पुर्याएर उद्धव पौडेलले गर्नुभएको योगदानसँग म परिचित छु । मलाई अझै काम गर्ने प्रेरणा मिलेको छ ।”
यसैगरी ‘नारायण’ सर्वोत्कृष्ट निर्माण नियन्त्रक पुरस्कार अरुण रेग्मी (महानगर), ‘शुभ’ सर्वोत्कृष्ट पाश्र्वसङ्गीत पुरस्कार किरण तुलाधर (बुलाकी), ‘प्रदीप’ सर्वोत्कृष्ट पुनः ध्वनि मुद्रण (मिक्सिङ) पुरस्कार मुकेश शाह (नाङ्गो गाउँ), ‘भुटानी’ सर्वोत्कृष्ट द्वन्द्व निर्देशक पुरस्कार हिमाल केसी (एक भगवत एक गीता), ‘वसन्त’ सर्वोत्कृष्ट नृत्य निर्देशक पुरस्कार कविराज गहतराज (एक भगवत एक गीता)ले प्राप्त गर्यो ।
त्यसैगरी ‘किरण’ सर्वोत्कृष्ट गीतकार पुरस्कार सुष्मा सिग्देल (नाङ्गो गाउँ), ‘उदित’ सर्वोत्कृष्ट पाश्र्व गायन पुरस्कार एसडी योगी र अञ्जु पन्त (नाङ्गो गाउँ), ‘शम्भुजीत’ सर्वोत्कृष्ट सङ्गीतकार पुरस्कार आशिष अविरल (एचो पैचो), ‘तुलसी’ सर्वोत्कृष्ट सम्पादक पुरस्कार वनिश शाह (पशुपति प्रसाद २ः भष्मे डन), ‘मञ्जु’ सर्वोत्कृष्ट छायाकार पुरस्कार शिव ढकाल (बुलाकी), ‘लक्ष्मीनाथ’ सर्वोत्कृष्ट कथा र संवाद पुरस्कार उपेन्द्र सुब्बा (जारी), ‘चेतन’ सर्वोत्कृष्ट पटकथा लेखन पुरस्कार प्रदीप भट्टराई (महाजात्रा), ‘कुसुमे रुमाल’ सर्वोत्कृष्ट व्यावसायिक चलचित्र पुरस्कार जारी, ‘मह’ जुरी गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार द रेड सुट्सेकलाई प्रदान गरियो ।
कार्यक्रममा ‘गोपालराज’ सर्वोत्कृष्ट हास्य कलाकार पुरस्कार रवीन्द्र झा (महाजात्रा), ‘चैत्य’ सर्वोत्कृष्ट नवअभिनेत्री पुरस्कार परीक्षा लिम्बू (जारी), ‘विश्व’ सर्वोत्कृष्ट नवअभिनेता पुरस्कार प्रकाश सपूत (परदेशी २), ‘वसुन्धरा’ सर्वोत्कृष्ट सहअभिनेत्री पुरस्कार वर्षा शिवाकोटी (पशुपति प्रसाद २ः भष्मे डन), ‘नीर’ सर्वोत्कृष्ट सहअभिनेता पुरस्कार अर्पण थापा (दिमाग खराब), ‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्री पुरस्कार स्वस्तिमा खड्का (दिमाग खराब) र मिरुना मगर (जारी), ‘शिव’ सर्वोत्कृष्ट अभिनेता पुरस्कार विपिन कार्की (महाजात्रा), ‘हिरा’ सर्वोत्कृष्ट चलचित्र पुरस्कार महाजात्रा र ‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशक पुरस्कार प्रदीप भट्टराई (महाजात्रा)लाई प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रथम अभिनेत्री भुवन चन्द, चैत्य देवी, वसुन्धरा भुसाल, अभिनेता रमेश उप्रेती, निर्देशक ज्ञानेन्द्र देउजा, दीपेन्द्र लामा, सङ्गीतकार शम्भुजित बाँस्कोटा, अभिनेता रमेश उप्रेतीलगायत कलाकार उपस्थित हुनुहुन्थ्यो ।
चालीस लाख खर्चेर म्याग्दीको दग्नाममा खेलमैदान निर्माण
म्याग्दी, २० जेठ I म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिट सहितको खेलमैदान निर्माण गरेको हो ।
चालीस लाखको लागतमा एक सय मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको क्लबका अध्यक्ष मनोज तिलिजाले बताउनुभयो । “व्यवस्थित खेलमैदान बनेपछि विद्यालय परिसर र खेतबारीमा खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्नुपर्ने समस्या हटेको छ”, उहाँले भन्नुभयो । खेलाडीलाई फुर्सदको समयमा ब्यायाम, खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारको रु १५ लाख सहयोगमा ढलान गरिएको खेलमैदानमा अपर र मङ्गले राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक तुण्डी हाइड्रोपावरको रु १४ लाख बजेटमा स्टेज निर्माण भएको अध्यक्ष तिलिजाले बताउनुभयो ।
गाउँपालिकाबाट विनियोजित रु ११ लाख बजेटबाट प्यारापिट निर्माण र तारजालीले खेलमैदानको डिलतर्फ घेराबार गरिएको वडाध्यक्ष पविन गर्बुजाले बताउनुभयो । बाहालवाला र सेवानिवृत्त भारतीय गोर्खा सैनिकहरूको रु पाँच लाख बढी सहयोगमा बास्केटबलको फाइबर बोर्ड जडान भएको छ ।
क्लबका पूर्वअध्यक्ष गुन पुनले खेलमैदान निर्माणका लागि स्थानीय यौमन गर्बुजाले पाँच रोपनी, भक्त र रुकबहादुर गर्बुजका दाजुभाइ, नन्दबहादुर र कुलप्रसाद गर्बुजाका दाजुभाइ एवं विशाल र श्रीलाल गर्बुजाका दाजुभाइका परिवारले गरी पाँच रोपनी बढी जग्गा दान गरेका जानकारी दिनुभयो ।
खेलमैदानको भूमे पूजाका अवसरमा एकता युवा क्लबले आयोजना गरेको खेलकुद तथा सांस्कृतिक कार्यक्रमको अवसरमा शनिबार प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा क्लबले जग्गादाता र चन्दादातालाई सम्मान गरिएको थियो ।
यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त
मुगु, २० जेठ I बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो ।
लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउँदा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका दुईजना सिकिस्त बिरामी जीवन बुढा र देवराज बुढामध्ये २० वर्षीय देवराज बुढाको बाटोमा मृत्यु भएको हो ।
शनिबार पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावतको मृत्यु भएको थियो । देवराज बुढाको मृत्युसँगै मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो । मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो ।
प्राविधिक जनशक्ति उत्पादन गर्न पालिकाको छात्रवृत्ति
फुङ्लिङ (ताप्लेजुङ), २० जेठ I ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ । दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सघाउने उद्देश्यले गाउँपालिकाले छात्रवृत्तिको व्यवस्था गरेको हो ।
गाउँपालिकाले विगत तीन वर्षदेखि विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको पाथीभरा याङवरक गाउँपालिकाका शिक्षा शाखाप्रमुख लाप्साङ तामाङले बताउनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । गाउँपालिकाभित्र विज्ञान विषय पठनपाठन हुँदैन ।
विज्ञान विषय पढ्न गाउँपालिका बाहिर जानुपर्ने अवस्था छ । विद्यार्थीले प्राप्त गरेको अङ्कको आधारमा एक शैक्षिक सत्रमा रु २० हजारदेखि रु ६० हजारसम्म छात्रवृत्ति प्रदान गरिने शिक्षा शाखाले जनाएको छ । चालु आर्थिक वर्षका लागि गाउँपालिकाले रु पाँच लाख विनियोजन गरेको शाखाप्रमुख तामाङले बताउनुभयो ।