‘बेलायतसँग हुने सातौँ चरणको वार्ता परिणाममुखी बनाइयोस्‘
काठमाडौँ, १९ जेठ I ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिले नेपाल सरकारसँग भूपू गोर्खा सैनिकको समान पेन्सनलगायतका विषयमा हुने सातौँ चरणको वार्तालाई परिणाममुखी तुल्याउन माग गरेको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सत्याग्रह संयुक्त सङ्घर्ष समिति नेपालका संयोजक भीमबहादुर तावा लिम्बूले आगामी वार्तामा माग सम्बोधन नभएमा सडक आन्दोलन र न्यायालयको ढोका ढकढक्याउन बाध्य हुने चेतावनी दिनुभयो ।
समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले विगतका छवटा वार्तामा कुनमा के भयो र अब कसरी सकारात्मक नतिजा हासिल गर्न सकिन्छ भन्नेमा सरकारबाट आवश्यक वातावरण र पर्याप्त पूर्वतयारीको खाँचो औँल्याउनुभयो ।
ब्रिटिश भूपू गोर्खा सैनिकका मागलाई सम्बोधन गर्न बेलायत सरकारसँग आवश्यक परामर्श गर्न प्रतिनिधिसभा मातहतको संसदीय समितिले सरकारलाई यसअघि दुईपटक निर्देश गरिसकेको छ । राईले बेलायतको उपनिवेशिक मानसिकता र नेपाल सरकारको आवश्यक पहलको अभावमा आफूहरूका माग सम्बोधन गर्न ढिलाइ भएको बताउनुभयो । समितिले समानताका लागि बेलायती सेनासरह नै समान पेन्सन र जुनसुकै उमेर समूहका भए पनि भूपू सैनिकका छोराछोरी बिनासर्त बेलायत जान पाउनुपर्ने माग गर्दै आएको छ । बेलायत नेपालको पुरानो घनिष्ट सम्बन्ध रहेको मुलुक हो । नेपालको विकासमा ठूलो सहयोग प्रदान गर्ने राष्ट्रको सूचीमा बेलायती अगाडि छ ।
नेपाल र बेलायतबीच ब्रिटिश गोर्खा भूपू सैनिकका विषयमा आगामी जुन ११ मा सातौँ चरणको वार्ता हुने जानकारी दिइएको छ । समिति सचिव ओम किराँत सुनुवारले भूपू ब्रिटिश गोर्खा सैनिकसम्बन्धी सवाल नेपालको राष्ट्रिय मुद्दा भएकाले उपयुक्त वातावरण बनाएर वार्तालाई सफल तुल्याउन आग्रह गर्नुभयो ।
भूपू ब्रिटिश गोर्खाका कानुनी सल्लाहकार अधिवक्ता भोजमान लामघारेले ब्रिटिश गोर्खालाई बेलायतले पेन्सनमा गरेको विभेद समानता र अन्तर्राष्ट्रिय सन्धि–सम्झौताविपरीत रहेको बताउनुभयो । उहाँले सातौँ चरणको वार्ताले परिणाम नदिएमा समिति सडक सङ्घर्ष र कानुनी उपचारका लागि न्यायालय जान बाध्य हुने बताउनुभयो ।
बेलायती सेनामा करिब चार हजार नेपाली युवा कार्यरत रहेका र अवकाश प्राप्त गोर्खाको सङ्ख्या करिब १८ हजार रहेको समितिले जनाएको छ I
अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी
भक्तपुर, १९ जेठ I महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सरकारले छोराछोरीको कमाइको १० प्रतिशत रकम बाबुआमालाई दिनुपर्ने नीति ल्याउने तयारीमा रहेको बताउनुभएको छ ।
भक्तपुरमा आज सामुदायिक विकास तथा सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघरको २०औँ स्थापना दिवस एवं सामुदायिक दर्पण लोकार्पण कार्यक्रममा उहाँले ज्येष्ठ नागरिक ऐन, ज्येष्ठ नागरिक नियमावलीको संशोधन पारित भएसँगै यस्तो नीति कार्यान्वयनमा आउने उल्लेख गर्नुभयो ।
आफ्नो आमाबाबुको सुरक्षा र संरक्षण हरेक छोराछोरीको दायित्व भए पनि आमाबाबु आफ्नै घरबाट अपहेलितमा पर्न थालेपछि ऐन पारित भएसँगै सरकारले कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आउने उहाँको भनाइ छ ।
मन्त्री चौधरीले भन्नुभयो, “आमाबाबु आफ्नै छोराछोरी वा हकवालाबाट अपहेलित भएर कोठामै बस्नुपर्ने अवस्था छ, त्यसैले अब छोराछोरी वा हकवालाले आफ्नो औपचारिक वा अनौपचारिक जुनसुकै क्षेत्रबाट हुने कमाइको १० प्रतिशत रकम आफ्नो बाबुआमलाई दिनैपर्ने व्यवस्था गर्न लागेका छौँ ।”
विधेयक पारित भएर ऐनले दिएको अधिकारलाई सात सय ५३ वटै पालिकामा पठाएर यसलाई कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको भन्दै उहाँले संविधानले दिएको हकलाई अब ज्येष्ठ नागरिकले उपभोग गर्न पाउने बताउनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिकको अनुभव साट्ने थलोका रूपमा विकास गर्न सबै पालिकामा ज्येष्ठ नागरिक दिवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने तयारी गरेको उहाँको भनाइ थियो ।
मन्त्री चौधरीले भन्नुभयो, “हामीले ज्येष्ठ नागरिकको जीवन सुखी बनाउन ज्येष्ठ नागरिक मिलन केन्द्र प्रत्येक पालिकामा सञ्चालन गर्न र संरक्षणविहीन ज्येष्ठ नागरिकलाई सुरक्षित राख्न सातै प्रदेशमा ज्येष्ठ नागरिक संरक्षण भवन बनाउन मन्त्रालयले बजेट माग गरेका थियौँ तर हाम्रो मन्त्रालयको रु २९ करोड बजेट काटियो तर पनि यो लक्ष्य पूरा गर्न विकास साझेदार संस्थासँग समन्वय गर्छौँ ।”
विभिन्न कारणले बेचिएका बालबालिका तथा महिलालाई फर्काएर देशमा ल्याएपछि त्यसको अभिभावकत्व ग्रहण गर्ने जिम्मेवारी राज्यले बहन गर्न नसकेको भन्दै मन्त्री चौधरीले भन्नुभयो, “कतिपय बेचिएका महिला तथा बालबालिकालाई फर्काएर ल्याएपछि फर्केर घर वा माइती जाने र उनीहरूले स्वीकार्ने अवथा नरहँदा उनीहरूलाई कहाँ लाने भन्ने अन्योल छ, राज्यले अभिभावकत्व ग्रहण नगर्दा बाध्य भएर निजी संस्थालाई गुहार्नुपर्छ, तर उनीहरूले बजेट नभएको गुनासो गर्छन्, त्यसैले यस्ता महिलालाई राख्न सातै प्रदेशमा कम्तीमा एक–एक सुरक्षित आवास निर्माण गर्नुपर्छ ।”
निजामती सेवामा २८ प्रतिशत महिलाको प्रवेश हुनु खुसीको कुरा रहे पनि जनप्रतिनिधिमा नेतृत्व तीन प्रतिशत महिलामात्रै पुग्नु कमजोरी रहेको उहाँले औँल्याउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठले प्रदेश सरकारले कृषिका लागि आवश्यक बजेट विनियोजन गरेको चर्चा गर्दै रासायनिक मलको अभाव नहुने दाबी गर्नुभयो । उहाँले प्राङ्गारिक मलको उत्पादनमा किसानलाई प्रोत्साहन गरिने बताउँदै पर्याप्त दूध उत्पादन भएर बिक्री नभएपछि प्रदेशमा धुलो दूध उत्पादन भइरहेको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य धनेश्वरी प्रजापति, नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक दीपक थापा, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, केन्द्रका महासचिव नारायणप्रसाद न्यौपाने, केन्द्रका अध्यक्ष खेमप्रसाद सुवेदीलगायतले सामुदायिक सेवाभावले संस्थाहरू अगाडि बढ्नसके समाजको विकासमा तीव्रता हुने बताउनुभयो । त्यसअवसरमा सामुदायिक दर्पण लोकार्पण एवं विभिन्न व्यक्ति एवं संस्थालाई सम्मान गरिएको थियो ।
बजेटमा व्यापक छलफल गर्न अध्यक्ष ओलीको निर्देशन
काठमाडौँ, १९ जेठ I नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा केही कमीकमजोरी भए पनि त्यसमा व्यापक छलफल गरेर पारित गर्नुपर्ने बताउनुभएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा आज भएको नेकपा (एमाले) संसदीय दलको बैठकमा उहाँले बजेटमा सघन छलफल गरेर त्यसलाई पारित गर्नुपर्छ भन्नुभयो । “बजेटलाई हामी पूर्णरूपेण समर्थन गर्दै त्यसलाई पारित गर्नेछौँ । यसको अर्थ बजेटका कमीकमजोरी नऔँल्याउने भन्ने होइन,” उहाँको भनाइ उद्धृत गर्दै दलका एकजना सदस्यले रासस प्रतिनिधिसँग भन्नुभयो ।
अध्यक्ष ओलीले आफ्नो क्षेत्रका आयोजनाका निम्ति विनियोजित रकम तथा प्रस्तावित आयोजना बजेटमा समावेश भएनभएको निक्र्योल गर्न आफ्नो दलका सांसदहरूलाई सुझाव दिनुभयो । उहाँले सरकारमा सहभागी दलसँग परामर्श गरेर सदनमा बजेट पेस भएको बताउनुभयो ।
बैठकमा पार्टी उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटका सबल र दुर्बल पक्षको समीक्षा गर्नुभएको थियो ।
‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक‘
काठमाडौँ, १९ जेठ I लेखकद्वय त्रिभुवनचन्द्र वाग्ले र किरणचन्द्र वाग्लेद्वारा लिखित ‘राष्ट्रनिर्माणमा दलित’ नामक पुस्तक सार्वजनिक भएको छ । पुस्तकभित्र राष्ट्रनिर्माणमा विभिन्न समयमा योगदान पु¥याएका दलित समुदाय अग्रज व्यक्तित्वको जीवनीलाई जीवन्त रुपमा उतारिएको छ । ती समुदायका ईश्वर रिजाल, उमालाल विश्वकर्मा, ऋषिबावु परियार, ओमप्रकाश भिके, ओमप्रकाश रामदाम, कालु सार्की, कृष्ण दर्जी, किसन दुसाध, कृष्ण दर्जी, कृष्णसिंह परियार, खेम नेपाली, गणेशबहादुर परियार, गिरीबहादुर बस्याल, गोल्छे सार्की र घोइरे कामीलगायत १२१ व्यक्तित्वका जीवनीलाई पुस्तकभित्र समेटिएको छ ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, पूर्वमन्त्री जीतु गौतम, संविधानसभा सदस्य कमला विश्वकर्मा, पूर्वराजदूत पदम सुन्दास र पूर्वसचिव डा मानबहादुर विकलगायतले यहाँ आज आयोजित कार्यक्रममा सो पुस्तकको सार्वजनिक गर्नुभयो । सो अवसरमा आयोगका अध्यक्ष देवराजले दलित समुदायले अझै पनि भोग्दै आएको आर्थिक, सामाजिक र राजनीतिक समस्या समाधान नभएसम्म समृद्ध नेपाल निर्माणको सपना पूरा हुन सक्दैन भन्नुभयो । उहाँले भन्नुभयो, “जतिसुकै उच्च तहमा पुगे पनि दलित समुदायलाई हेर्ने दृष्टिकोण र व्यवहारमा परिर्वतन हुन सकेको छैन । जातीय भेद्भाव तथा छुवाछूतका व्यवहारमा परिवर्तन आएको छैन ।”
पूर्वमन्त्री जितुले पर्याप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार सुनिश्चित र प्राप्तिको निम्ति दलितसहित सिमान्तकृत समुदाय एकजुट हुनुपर्छ भन्नुभयो । पूर्वराजदूत सुन्दासले दलित समुदायको सीप, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । संविधानसभा सदस्य कमलाले दलित समुदायको अधिकारका लागि थप कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । पुस्तकका लेखकद्वय त्रिभुवनचन्द्र र किरणचन्द्रले पुस्तकका बारेमा चर्चा गर्नुभएको थियो ।
एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान
काठमाडौँ, १९ जेठ I जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको जनाएको छ ।
विभागले आज मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै “नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ । नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ”, भनेको छ ।
यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागको उक्त सूचनामा जनाइएको छ ।
राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित
भक्तपुर, १९ जेठ I राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भक्तपुर जिल्ला कार्य समितिको अध्यक्षमा अर्जुन कार्की निर्वाचित हुनु भएको छ । पार्टीको आज सम्पन्न नवौँ जिल्ला अधिवेशनले उहाँको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
अध्यक्षमा निर्वाचित कार्कीले एक सय ९५ मत पाउनुभएको थियोभने उहाँका निकतम प्रतिद्वन्दी रामशरण लामिछानेले ९२ मत प्राप्त गर्नु भएको थियो ।
राप्रपाको पहिलो बैठकले पदाधिकारी तोक्ने र अन्य ६ जना सदस्य मनोनयन गरेर ३१ सदस्यीय जिल्ला कार्य समिति बनाउने निर्णय गरेको राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाहले राससलाई जानकारी दिनुभयो ।
पाल्हीनन्दनका भूमिहीन दलित सडकमै बस्न बाध्य
पाल्हीनन्दन (नवलपरासी) १९ जेठ I पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका र सुुकुुम्वासी आयोगले भूमिहीन दलितलाई जग्गा नदिएपछि सडकमा बस्न बाध्य छन् ।
भूमिहीन दलितलाई कानुन बमोजिम सरकारले एक पटक जमिन उपलब्ध गराउने संविधानमा व्यवस्था रहेपनि गाउँपालिका र आयोगले यहाँका भूमिहीन दलिललाई आवासका लागि जग्गा उपलब्ध नगराउँदा सडकमा फुसको छाप्रो बनाएर बासिरहेको पाल्हीनन्दन‐४ का रामुु चमारले बताउनुुभयो ।
आयोग र गाउँपालिकामा आवासका लागि पटकपटक फाराम भरेपनि जमिन नपाएको स्थानीय सुकदेव चमारले बताउनुभयो । उहाँका अनुसार पुस्तौँदेखि सडकमा छाप्रो बनाएर बस्दै आएकामा गत वर्ष सडक स्तरोन्नति गर्दा घर भत्काइएको हो । आवासका लागि जमिन उपलब्ध गराइदिन पालिका, वडा कार्यालय र आयोगसँग आग्रह गरिरहेको भन्दै हालसम्म कुनै सुनुवाइ नभएको उहाँले गुुनासो गर्नुुभयो ।
पाल्हीन्दन–४ लोहरौलीका भूमिहीन बासफोर (डोम) समुदायले बाजेबुवाको पालादेखि लोहरौलीबाट बैरवा जाने सडकमा फुसको छाप्रो बनाएर बसोबास गर्दै आएका छन् ।
पछिल्लो वर्ष सडक स्तरोन्नतिका क्रममा विवाद भएपपछि बसोबासको समस्या भएको सन्दीप बासफोरले बताउनुुभयो । आवासका लागि फाराम भरेर जमिन उपलब्ध गराइदिन गाउँपालिका, वडा कार्यालय र सुुकुुब्बासी आयोगमा अनुुरोध गरिएको भन्दै अहिलेसम्म सम्बन्धित निकायले कुनै पहल नगरेको उहाँको भनाइ छ ।
पाल्हीनन्दनका आवासविहीन दलित समुदायले पटकपटक सम्बन्धित कार्यालयमा आवासका लागि फाराम भरेका छन् । गाउँपालिकाले निर्णय गरेर सुुकुुम्बासी आयोगमा पठाएपछि आयोगले स्विकृति दिएसँगै प्रक्रिया अगाडि बढाइने पाल्हीनन्दन‐४ का वडाध्यक्ष रवीन्द्र सहानीले बताउनुभयो । जग्गा उपलब्ध गराउने विषयमा वडा कार्यालयले गाउँपालिकालाई अनुरोध गरिरहेको उहाँको भनाइ छ ।
श्रम समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला'
गोदार (धनुषा), १९ जेठ I श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायका रूपमा सुरू गरिएको बताउनुभएको छ ।
जनकपुरधामस्थित उद्योग वाणिज्य सङ्घमा आयोजित मेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्न स्थानीय उद्योगीलाई आग्रह गर्नुभयो ।
मन्त्री अर्यालले रोजगारीको खोजीमा मधेसबाट ठूलो सङ्ख्यामा युवा पुस्ता विदेश जानेक्रम नरोकिएकामा चिन्ता व्यक्त गर्दै कृषिकर्ममा लाग्न उनीहरूलाई लाग्न आग्रह गर्नुभयो । “स्वदेश र विदेशमा भएका नेपाली श्रमिकका चाङका चाङ समस्या आउँछन् । एउटै माध्यमबाट समस्या सङ्कलन र समाधान गर्न श्रमाधान सुरू गरिएको हो”, उहाँले भन्नुभयो ।
मन्त्री अर्यालले मेलाबाट अहिले नै ठ्याक्कै यति रोजगारी दिन सकिन्छ भन्ने ग्यारेन्टी गर्न नसकिए पनि श्रमिक र रोजगारदाताका समस्या, आवश्यकताबारे बुझ्ने र दीर्घकालीनरूपमा श्रम क्षेत्रका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
खलङ्गा (दार्चुला)१९ जेठ I दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताउनुभयो ।
अपिहिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रवार बेलुका कार्कीको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न
काठमाडौँ, १९ जेठ I अवैध सिकार तथा वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी शुक्रबार यहाँ सम्पन्न भएको छ ।
यहाँस्थित फ्रान्सेली राजदूतावास र फ्रान्सेली अन्तर्राष्ट्रिय सुरक्षा सहयोग निर्देशनालयको आयोजनामा भएको गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन तथा वातावरण मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालयलगायत वन्यजन्तु संरक्षण तथा बेचविखनविद्धकोक अभियानमा संलग्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।
अष्ट्रेलिया, बङ्गलादेश, भुटान, कम्बोडिया, भारत, इण्डोनेसिया, माल्दिभ्स, सिङ्गापुर, श्रीलङ्का, थाइल्याण्ड, संयुक्त राज्य अमेरिका, फ्रान्सको वातावरणीय र जनस्वास्थ्य अपराध समन्वय केन्द्रीय कार्यालय र फ्रान्सेली भन्सारका प्रतिनिधिको उपस्थितिमा भएको गोष्ठीमा यहाँस्थित फ्रान्सको दूतावासका कार्यवाहक राजदूत लीला देवरादजालोले गोष्ठीको औचित्यबारे चर्चा गर्दै यसमा १३ देशको सहभागिताले यसको आवश्यकता र महत्वलाई दर्शाका बताउनुभयो । उहाँले वन्यजन्तुमाथिको आक्रमणको भयावह हुने चेतावनी दिनुभएको दूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण निर्देशनालयका प्रमुख सञ्जय देउजाले राष्ट्रिय निकुञ्जमा सिकारी नियन्त्रणमा नेपाली सेनाको प्रयासबारे जानकारी दिँदै “नेपाली सेना हाम्रो राष्ट्रको समृद्ध जैविक विविधता र प्राकृतिक सम्पदाको संरक्षणमा आफ्नो प्रतिबद्धतामा अडिग छ । हाम्रा समर्पित कर्मचारीहरू लोपोन्मुख प्रजातिहरूको संरक्षण, सिकार र वन्यजन्तुको अवैध ओसारपसारबाट जोगाउन अथक प्रयास गरिरहेका छन्,” उहाँले भन्नुभयो ।
दूतावासका प्रहरी सहचारी फाब्रिस कोटेलले वन्यजन्तु संरक्षण तथा अवैध सिकार एवं ओसापसारविरुद्ध दुई वर्षदेखिको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्नुपर्नेमा जोड दिँदै कार्यशाला समापन गर्नुभएको थियो ।
वन्यजन्तुको चोरी सिकारी तथा वनको वातावरण विनाश गर्नेविरुद्ध प्रभावकारी रूपमा लड्न फ्रान्सेली मन्त्रालयको लागि युरोप र विदेश मामिलाको सुरक्षा सहयोग निर्देशनालयले आर्थिक सहयोग गर्दै आएको छ ।