गर्मी याममा विद्युत्कै सास्ती
कञ्चनपुर, १९ जेठ I शुक्लाफाँटा नगरपालिका–५ सार्की टोलका बासिन्दालाई गर्मी याममा विद्युत्को सास्ती हुने गरेको छ । एघार परिवार बस्ने उक्त टोलमा अझै पनि विद्युत्लाइन विस्तार हुन सकेको छैन ।
विद्युत्लाइन विस्तार नभएपछि जोखिमयुक्तरुपमा छ सय मिटर परबाट सर्भिस तार तानेर स्थानीयले घरघरसम्म विद्युत् पुर्याएका छन् । “सर्भिस तार तान्दा निकै खर्च लाग्ने गरेको छ”, भरत सार्कीले भन्नुभयो, “तार ल्याउन धेरै परिवारसँग खर्च नहुँदा केही परिवारले छिमेकीको घरबाट महसुलमा आधा रकम तिर्नेगरी विद्युत् जोडेका छन् ।” गर्मी याममा विद्युतीय उपकरण बढी प्रयोग हुने भएकाले यसरी जोडिएको विद्युत् सर्ट भएर आगलागी हुने सम्भावना बढेको उहाँले बताउनुभयो ।
लाइन विस्तार नहँुदा जोखमयुक्त तरिकाले विद्युत् उपभोग गर्नुपरेको सरस्वती सार्कीले बताउनुभयो । “अरु समुदायका घरसम्म विद्युत्लाइन पु¥याइएको छ”, उहाँले भन्नुभयो, “सार्की समुदायको बस्तीमा मात्रै लाइन विस्तार गरिएको छैन । हिउँदमा विद्युत् खपत कम हुने भएकाले समस्या नभए पनि गर्मी याममा सास्ती हुने गरेको छ ।” पाँच वर्षदेखि विद्युत्लाइन विस्तारका लागि नगरपालिका कार्यालयमा अनुरोध गर्दा पनि सुनवाइ नभएको उहाँको भनाइ छ ।
“विद्युत्लाइन विस्तारका लागि चालु आवमा बस्तीका सबैको हस्ताक्षर गरेर नगरपालिकामा निवेदन बुझाएका छौँ”, नगरपालिका कार्यपालिकाका सदस्य गणेश विकले भन्नुभयो, “कार्यपालिका सदस्यकै कुरा पनि सुनिँदैन, वडा कार्यालयसँग विद्युत्लाइन विस्तारका लागि बजेट छैन, नगरपालिकाले वर्षौँदेखि अश्वासन मात्रै दिने गरेको छ ।”
दश, पन्ध्र वटा खम्बा गाडेर बस्तीमा विद्युत्लाइन विस्तार गर्न सकिने भन्दै जनप्रतिनिधिले चासो नदिँदा समस्या भएको दलित अधिकारकर्मी अन्तराम बडले बताउनुभयो ।
चिडिया तालसम्म पदमार्ग निर्माण
गोदावरी (कैलाली), १९ जेठ I कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीस्थित जैविक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण चिडिया तालसम्म पदमार्ग निर्माण गरिएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशको पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइले चालु आर्थिक वर्षमा रु १५ लाखको लागतमा चार सय मिटर लामो पदमार्ग निर्माण गरेको हो । पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइका निमित्त प्रमुख डबलबहादुर बोहराका अनुसार उपभोक्ता समितिमार्फत उक्त पदमार्ग निर्माण गरिएको हो ।
पदमार्ग निर्माण भएसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई दृश्यावलोकन गर्न तथा वनभोजका लागि सहज हुने निमित्त प्रमुख बोहराले बताउनुभयो । “पर्यटकलाई आकर्षित गर्न पदमार्ग निर्माण गरिएको हो”, उहाँले भन्नुभयो । ताल क्षेत्रमा खानेपानी, उद्यानलगायत संरचना निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । यसका लागि प्रदेश सरकारले योजना बनाइरहेको निमित्त प्रमुख बोहराले बताउनुभयो ।
पूर्व–पश्चिम राजमार्गदेखि करिब दुई सय ५० मिटर उत्तरमा रहेको सो ताल सामुदायिक वन क्षेत्रमा पर्छ । उक्त क्षेत्रमा साना र ठूला गरी अन्य १२ वटा ताल रहेका छन् । रमणीय ठाउँ भए पनि यसको प्रचारप्रसार हुन नसकेको स्थानीय एकेन्द्र शाही बताउनुहुन्छ ।
पदमार्ग बनेपछि ताल अवलोकन गर्न आउनेको सङ्ख्या बढेको छ । सीमसार क्षेत्र रहेकाले सो ताल क्षेत्रमा विभिन्न प्रजातिका चरा, कछुवा, माछा, अजिङ्गरलगायत पाइन्छन् । करिब ३० बिघा क्षेत्रफलमा सो ताल फैलिएको छ । विश्व रामसार क्षेत्र सूचीकृत घोडाघोडी ताल नजिकै रहेकाले उक्त ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके स्थानीयस्तरमा रोजगारी सृजना गर्न सकिने घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले बताउनुभयो ।
यसैगरी कैलालीको चुरे गाउँपालिका–६ स्थित चमेरो गुफासम्म समेत पदमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु ६ लाखको लागतमा सो पदमार्ग निर्माण गरिएको चुरे गाउँपालिकाका रोजगार संयोजक हीरा विष्टले जानकारी दिनुभयो ।
शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
काठमाडौँ, १९ जेठ I सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्न अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख मदनकुमार उपाध्याय सदस्य र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा गुणनिधि शर्मा सदस्यसचिव रहनुभएको मन्त्रालयले जनाएको छ ।
सरकारी अस्पतालमा नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउन नसकेको गुनासा आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक कदम चाल्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवलाई निर्देशन दिनुभएको थियो । समितिले काठमाडौँ उपत्यकाभित्रका सङ्घीय अस्पतालको स्थलगत अनुगमन गरी अस्पतालमा शल्यक्रियाका लागि लामो समयसम्म पालो कुर्नुपर्ने, प्रेषण (रिफर), सेवाको गुणस्तर तथा प्रक्रियागत झन्झटलगायत अवस्थाका बारेमा अध्ययन गर्ने कार्यादेश दिइएको छ ।
यसैगरी नागरिकको शल्यक्रियाका लागि भइरहेको ढिलाइको कारण, अस्पतालको विद्यमान शल्यक्रिया सेवा दिने विशेषज्ञ चिकित्सकको सङ्ख्या र उनीहरुको दैनिक सेवा विवरण तयार पार्नसमेत समितिलाई निर्देशन दिइएको छ । समितिले अस्पतालबाट प्रवाह हुने बहिरङ्ग (ओपिडी) सेवा सम्बन्धमा सो क्षेत्र हेर्ने चिकित्सकको सङ्ख्या, निजहरुले दैनिक बिरामी हेरेको सङ्ख्या र प्रेषणको अवस्थाका बारेमा विस्तृत विवरण तयार पार्नेछ ।
समितिले अस्पतालमा प्रवाह हुने प्रयोगशाला तथा रेडियोलोजी सेवाको विस्तृत विवरण तथा सोही सेवाका लागि अन्यन्त्र ‘रिफर’ गरेको भए सोको विवरण प्रस्तुत गर्नेछ । अस्पतालमा बिरामीको चाप, जनशक्ति, साधनस्रोत एवं अन्य पूर्वाधारको अवस्था अध्ययन गरी समयमै गुणस्तरीय सेवा प्रवाह भए÷नभएको अवस्था जानकारी गराउँदै समितिले सुझाव पेस गर्ने मन्त्रालयले जनाएको छ । कार्यादेशमा उल्लेख भएका विवरणसहित दुई साताभित्र प्रभावकारी स्वास्थ्य व्यवस्थापन गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना पेस गर्न निर्देशन दिइएको छ ।
चार दिनदेखि युवक सम्पर्कविहीन
मनाङ, १९ जेठ I मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन् । ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।
तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । सँगै रहेका अन्य तीनजनाले उनी सम्पर्कविहीन भएपछि खोजीका लागि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले अहिले गोरखालीको खोजी गरिरहेको छ ।
प्रजिअ लामिछानेले भन्नुभयो, “ड्रोनको प्रयोग गरी खोजी गर्ने तयारी भइरहेको छ ।”
मन्त्री यादवद्वारा समिति गठन
काठमाडौँ, १८ जेठ I देशभरका अस्पतालमा बिरामीले शल्यक्रियाका लागि लामो समयसम्म पालो कुर्नु परेको गुनासो बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले यसको समाधानका लागि एउटा विशेष समिति गठन गर्नुभएको छ ।
मन्त्री यादवले मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समस्याको अध्ययन गर्दै समाधान र सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न तीन सदस्यीय समिति गठन गर्नुभएको हो । समितिमा गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्याय सदस्य र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा गुणनिधि शर्मा सदस्यसचिव रहनुभएको छ ।
मन्त्री यादवले भन्नुभयो, “सङ्घीय अस्पतालमा शल्यक्रियाका लागि महिनौँ कुर्नुपर्ने, पालो नपाएको र उपचारमा ढिलाइ भएको गुनासा बढ्दै गएपछि गहन अध्ययन गरेर समाधानका उपाय पहिल्याउनुपर्ने आवश्यकता देखिएपछि समिति गठन गरिएको हो ।”
धेरै समयदेखि दुर्गम र टाढाबाट आउनुभएका बिरामीले शल्यक्रियाका लागि पालो नपाएको, उपचारमा ढिलाइ भएको र अस्पतालहरूले अन्य धेरै लापरबाही गरेको गुनासो आइरहेको छ । मन्त्री यादवले भन्नुभयो, “उहाँहरूलाई छिटोछरितो तरिकाले सेवा कसरी प्रदान गर्ने र अन्य सेवाहरू चुस्त दुरुस्त बनाउन तत्काल पहल गर्न आवश्यक कार्यबारे समितिले अध्ययन गर्ने छ ।”
समितिले पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका सङ्घीय अस्पतालहरूको अनुगमन गर्नेछ । अनुगमनका क्रममा बिरामीहरूले शल्यक्रियाका लागि के–के कारणले लामो समयसम्म पालो कुर्नु परेको छ, प्रेषणको अवस्था, सेवाको गुणस्तर र प्रक्रिया, विशेषज्ञ चिकित्सकहरूको सङ्ख्या र उहाँहरूले दिने सेवाको विवरणजस्ता विषयवस्तुको अध्ययन गरिने छ । साथै समितिले अस्पतालबाट प्रदान गरिने बहिरङ्ग (ओपिडी) सेवाको विस्तृत अध्ययन गर्नेछ । ओपिडी सेवा हेर्ने चिकित्सकको सङ्ख्या, उहाँहरूले दैनिक रूपमा हेर्ने बिरामीको सङ्ख्या, प्रेषणको अवस्था, प्रयोगशाला र रेडियोलोजी सेवाको विस्तृत विवरण तथा सोही सेवाका लागि अन्यत्र रेफर गरिएका बिरामीको विवरण पनि सङ्कलन गर्ने छ ।
स्वास्थ्य सेवा पहुँचमा समानता, समयबद्धता र गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले गठन गरिएको समितिले स्वास्थ्य सेवामा सुधारका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने र आवश्यक सुधारका लागि ठोस कार्य योजनाहरू प्रस्तुत गर्ने मन्त्री यादवले बताउनुभयो । समितिलाई दुई साताभित्र विस्तृत विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्न मन्त्री यादवले निर्देशन दिनुभयो ।
लेक उक्लिएका भेडाका बथानले ढाकिएको रिग क्षेत्र
ढोरपाटन (बागलुङ), १८ जेठ I अहिले बागलुङको पर्यटकीय क्षेत्र रिग ताल वरपर पर्यटकको भन्दा गोठाला र भेडाबाख्राको चहलपहल बाक्लो छ । बर्खा लाग्न सुरु भएँगै बुकी उक्लिएका भेडीगोठ अबको केही साता रिग ताल क्षेत्रमै रहने छन् । सिरसिर चल्ने सिरेठो, भर्खर उम्रिएका भुइँ घाँसमा एकोहोरो पाराले चरिरहेका भेडाबाख्रा । ताल छेउको ठूलो चौर हजारौँ सङ्ख्याका सेताम्य भेडाबाख्राले ढाकिदा यहाँको सुन्दरता बयान गर्न नसकिने देखिन्छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गभन्दा केही मास्थिरपट्टी रहेको तालको सुन्तरतालाई भेडाको बथानले अझ बढी आकर्षित बनाई दिएको छ । यही जेठ पहिलो सातादेखि नै बुकी उक्लिन थालेका भेडाका बथान अबको केही दिनमा रिग क्षेत्र छोडी सक्छन् ।
बागलुङ, रोल्पा र पूर्वी रुकुमका भेडापालक किसान गोठ छाउनका लाग चाहिने त्रिपाल, बर्खाभरि खाने खर्च र ओड्ने दोछ्याउने विस्तारसहित यहाँ आइ पुगेका हुन् । रिग ताल क्षेत्रमा बागलुङको निसीखोला गाउँपालिका–६ का किसानले काठ, ढुङ्गा र जस्तापाताले गोठ बनाएका छन् । बुकी नउक्लिदासम्म उनीहरु यही बस्ने गर्छ । यति बेला थोरै मात्रै भेडापालक लेकमा पुगेका छन् । एक साताभित्र बेँसीमा रहेका सबै भेडाबाख्रा लेकमा पुग्छन् । तीन हजार दुई सय मिटरको उचाइमा रहेको रिग ताल क्षेत्रबाट चार हजार मिटरको उचाइसम्म पुग्ने तयारीमा यहाँ आइपुगेका गोठाला छन् । अहिले रिग ताल वरपर करिब पाँच हजारको हाराहारी भेडाबाख्रा छन् ।
यी भेडाबाख्रा त्यसभन्दा माथिल्लो क्षेत्र बुकीमा पुगे भने बेँसीमा रहेका अन्य गोठालाले आफ्ना पशुचौपाया रिग तालमा लैजान सुरु गर्छन् । एकै परिवारले पाँच सयदेखि तीन हजारसम्म भेडाबाख्रा पाल्ने हुँदा एकै पटक रिग क्षेत्रमा व्यवस्थापन गर्न सकिँदैन । त्यसले गर्दा पालैपालो लेक उक्लने गर्छन् । लेक चढ्ने याम सुरु भएको हुँदा अघिअघि भेडाबाख्रा पछिपछि गोठाला खर्चपर्च बोकेर हिँडिरहेका देखिन्छन् । जाडो र हिमपात छल्नका लागि गत मङ्सिरमा बँेसी झरेका भेडीगोठ जेठ पहिलो सातदेखिनै लेकतिर उक्लिन थालेका हन् । तल्लो क्षेत्रमा गर्मी बढेसँगै भेडीगोठ लेक सार्न थालेको निसीखोला गाउँपालिका–६ का भेडापालक लालसिंह घर्ती मगरले बताउनुभयो ।
छ महिना बेँसीमा बस्दा घाँस सकिएपछि लेक चढ्न थालेको उहाँको भनाइ छ । यो सिजनमा बेँसीमा भन्दा बुकीमा भेडाबाख्राका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठ महिनादेखि नै लेक चढ्न सुरु गरेको घर्ती मगर बताउनुहुन्छ । अहिले लेक चढ्न थालेका भेडीगोठाले दसैँ तिहार बेला मात्रै बेँसी झर्ने उहाँको भनाइ छ । बेला–बेलामा चर्ख लिन झर्ने गोठाला चार महिना लेकमै बिताउने घर्ती मगरले बताउनुभयो । लेकमा बस्दा निकै दुःख हुने भन्दै यो बाउबाजेको पालादेखि यो पेसा गर्दै आएको हुँदा आफू पनि यसैमा लागेको उहाँको भनाइ छ ।
घर्ती मगरले भन्नुभयो, “लेकबेँसी गर्ने चलन त यो हाम्रो पुर्खादेखि हुँदै आएको हो, एउटै घरमा एक हजारभन्दा धेरै वस्तुभाउ पाल्ने हुँदा बेँसीमा मात्रै राख्न सकिदैन, यतिका महिनासम्म गाउँ घरमै राखेर पालियो, अब लेकतिर घाँस पलाउन थाले त्यही भएरमाथि उक्लिन थालेका हौँ, दुई÷चार दिनपछि यहाँ (रिग ताल) भन्दामाथि खानीखोला तिर लैजान्छौँ, उतै चार महिना बित्छ, अब घर झर्ने त दसैँ मनाउन हो, कहिलेकाहीँ खर्च सकिएपछि र बिरामी भएपछि घर जान्छौँ ।”
रोल्पाको तेलखोलाका सन्तोष घर्ती पनि सात सय भेडाबाख्रा लिएर रिग क्षेत्रमा आउनुभएको छ । रोल्पाको माथिल्लो क्षेत्र हुँदा रिग क्षेत्रमा आउनुभएका उहाँ मङ्सिरमा मात्रै बेँसी झर्नुहुन्छ । करिब तीन महिनाका लागि पुग्ने आटो, पिठो र नुन लिएर आएको सुनाउँदै तीज बेला एक पटक गाउँ झर्ने उहाँले सुनाउनुभयो । यस वर्ष दुई सय भेडा बिक्रीका लागि तयार गरि रहेको भन्दै दसैँ बेला बजार जाने र फर्किएपछि गाउँ झर्ने उहाँको भनाइ छ । यस वर्ष लामो समय खडेरी पर्दा पहिलोको जस्तो लेकमा घाँस नपलाएको उहाँ बताउनुहुन्छ । बर्खाको घाँसले भेडाबाख्रा सप्रिने र दसैँमा राम्रो मूल्य पाइने उहाँले जानकारी दिनुभयो ।
“मैले भेडा पाल्न थालेको १८ वर्ष भयो, हाम्रो पालामा धेरै मान्छेहरु भेडा पाल्न रुचाउँथे, नयाँ युवा पुस्ताले यस तर्फ खास्सै चासो नदिँदा पहिलेको जस्तो चहलपहल छैन, परम्परागत भेडीगोठ राख्ने प्रचलन लोप हुन्छ कि भन्ने डर छ, पहिले बुकीमा लाखको हाराहारीमा भेडाबाख्रा हुन्थे, अहिले केही छैन”, उहाँले भन्नुभयो, “यस वर्ष २०÷२२ लाख आम्दानी हुने गरी भेडाबाख्रा तयारी छन्, चार सय भेडा ब्याउने छन्, पहिलेको जस्तो आम्दानी हुँदैन पहिले वार्षिक ४० लाख आम्दानी हुन्थ्यो, अबको एक हप्तामा सबैभन्दा माथिल्लो क्षेत्रमा पुग्छौँ ।”
सत्ता समीकरणमा फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ, १८ जेठ I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताउनुभएको छ । सिंहदरबारमा आज बसेको नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकमा उहाँले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशङ्का, उपशङ्का नगर्न आग्रह गर्नुभयो ।
वर्तमान सत्ता समीकरणमा रहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरुको बैठकमा सहभागी भएका सम्बन्धमा सांसदले राख्नुभएको जिज्ञाशामा प्रधानमन्त्री दाहालले भन्नुभयो, “सरकार केही हुँदैन, वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ ।”
आफूले पनि केही दिन अघि प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको सन्दर्भ सुनाउँदै उहाँले दलका नेताहरुबीच भेटघाट गर्दैमा राजनीतिमा कुनै फरक नपर्ने बताउनुभएको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालले ठूलो अन्योलको बीचमा सहमति कायम गरेर बजेट प्रस्तुत गर्नुपर्ने चुनौतीलाई चिरेर जनअपेक्षा र पार्टी योजनाअनुसार नै बजेट संसद्मा बजेट प्रस्तुत भएको उल्लेख गर्दे बजेटमाथिको छलफलमा प्रभावकारी रुपमा प्रस्तुत हुन सांसदलाई निर्देशन दिनुभयो ।
“बजेटमा कृषिलाई प्रमुख प्राथमिकतामा दिइएको छ, समय सापेक्षता र मुलुकको अर्थतन्त्रको अवस्थाअनुसार बजेट सन्तुलित छ । बजेट कार्यान्वयन गरेर जानुपर्छ, यसमा सबैको सहयोगको अपेक्षा छ”, प्रधानमन्त्री दाहाललको भनाइ उद्धृत गर्दै मुख्य सचेतक पाण्डेले भन्नुभयो ।
बैठकमा माओवादी संसदीय दलका नेता एवं प्रधानमन्त्री दाहालले आगामी आइतबारदेखि बजेटसम्बन्धी छलफल र संसद्मा रहेका महत्वपूर्ण विधेयकलाई पनि सँगसँगै अघि बढाइने बताउनुभएको उहाँले जानकारी दिनुभयो । बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेटका मुख्य विषयवस्तु बारे जानकारी गराउनुभएको थियो । उहाँले बजेटमा पार्टीले दिएको सुझाव तथा जनआकाङ्क्षा समेटिएको स्पष्ट पार्नुभएको थियो । बैठकमा १२ सांसदले बजेटका सबन्धमा टिप्पणी गर्नुभएको थियो ।
संरक्षण अभावमा गौश्वारका प्राचीन सम्पदा जीर्ण बन्दै
गलेश्वर (म्याग्दी), १८ जेठ I बेनीबजारबाट १० किलोमिटर दक्षिणमा अवस्थित बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारामा मल्लकालीन वास्तुकलाका एक सय वर्ष पुराना ढुङ्गेघर दिनप्रतिदिन जीर्ण बन्दै गएका छन् ।
विसं १९७८–७९ मा सिर्मु र सालका काठमा कुँदिएका कलात्मक बुट्टा, चिल्ला र बाक्ला ढुङ्गाले छाएको धुरी र पालीमुनि टुँडाल राखेर निर्माण गरिएका आकर्षक ढुङ्गेघर संरक्षण अभावमा जीर्ण भएका हुन् ।
मल्ल र राणाकालीन इतिहास दर्शाउने तीनतले ढुङ्गेघर प्राचीन दरबारजस्ता लाग्छन् । मल्ल र राणाकालीन इतिहासको साक्षी बनेका यी घर मल्ल र ठकुरीहरू बसाइँसराइका कारण अलपत्र परेका हुन् । विसं २०४५ सम्म मल्ल वंशीय ठकुरीहरूको बसोबास रहेको यो गाउँका मानिस २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएसँगै बसाइँ सरेपछि घर अलपत्र परेका बेनी नगरपालिका–२ का वडासदस्य चन्द्रकान्त रिजालले बताउनुभयो ।
प्राचीन ती घरको मर्मसम्भार गरेर घरवरपरको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने तथा बागलुङको पञ्चकोट, म्याग्दीको गलेश्वर र मुस्ताङको मुक्तिनाथ भ्रमणमा जाने पर्यटकलाई पनि आकर्षण गर्न सकने प्रशस्त सम्भावना भएको वडा सदस्य रिजालले बताउनुभयो ।
गौश्वारामा सुदर्शन मल्ल, माधव मल्ल, घनश्याम मल्ल, परमेश्वर मल्ल र विश्वबम मल्लको स्वामित्वमा रहेका सय वर्षभन्दा बढी पुराना घर गौश्वारा गाउँका सम्पदा भएकाले तिनको सुरक्षा र मर्मतसम्भारमा घरधनी र समुदाय दुवैले चासो दिनुपर्ने स्थानीय बुद्धिजीवी रत्नबम मल्लले बताउनुभयो ।
हाल गौश्वारा गाउँका मल्लकालीन वास्तुकलाका पाँच घरमध्ये दुईमा मात्र बसोबास छ भने तीन घर जीर्ण छन् । भावी पुस्तालाई आफ्ना पूर्वजहरूको निवासको परिचय गराउने यी घर संरक्षण गर्नुपर्ने स्थानीय अर्जुन माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक टीकाबहादुर कार्कीले बताउनुभयो ।
त्यसैगरी मालिका गाउँपालिका वडा नं ६ तल्लो दुखुको रातोढुङ्गामा शेरचन र भट्टचनले निर्माण गरेका एक सय वर्षभन्दा पुराना सातवटा ढुङ्गेघर पनि संरक्षणको अभावमा जीर्ण भएका छन् ।
गलकोटमा रोपाइँको चटारो
गलकोट (बागलुङ), १८ जेठ I देशका विभिन्न भागका किसान खडेरीबाट किसान चिन्तित भए पनि यहाँका किसानलाई रोपाइँको चटारो छ । सिँचाइ सुविधाका कारण मध्यजेठमा यहाँका खेलमा रोपाइँ भइरहेको छ ।
जिल्लामा अधिक धान उब्जाउने स्थानमध्येको गलकोटका चमुवा फाँटसहित दुदिलाभाटी, आँगाखेत, नरेठाँटी र हरिचौरमा रोपाइँको चटारो छ ।
जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार गलकोटपछि कुश्मीसेरा, बडिगाड, निसीखोला, बुर्तिबाङलगायत क्षेत्रमा जेठअन्तिमदेखि रोपाइँ हुने गरेको छ । मकै लगाएका किसानले असार अन्तिम सातादेखि र साउनभरि रोपाइँ गर्छन् ।
जिल्लाको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायत स्थानमा पनि सोहीसमयसम्म रोपाइँ हुने गरेको छ । बागलुङको छ हजार हेक्टर भूमिमा धानखेती हुँदै आएको छभने १० हेक्टरमा मात्र चैते धान हुने गरेको उक्त केन्द्रले जनाएको छ ।
पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौ कामदार उत्खननमा व्यस्त
दैलेख, १८ जेठ I जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् ।
उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताउनुभयो ।
कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागु गरेर काम भइरहेको जानकारी दिँदै उहाँले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो
चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार रु दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो ।