विपिन जोशीसहित सबै एक सय २५ जनाको रिहाइको माग
काठमाडौँ, १७ जेठ I नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले अतिवादी समूह हमासले बन्दी बनाएका विपिन जोशीसहित सबै एक सय २५ जनाको निःशर्त रिहाइको माग गर्नुभएको छ ।
इजरायलको ७६औँ स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा आज अपराह्न यहाँ आयोजित समारोहमा राजदूत गोडेरले उनीहरुको मुक्ति नै इजरायलको प्रमुख लक्ष्य भएको बताउनुभयो । साथै उहाँले पश्चिम एसियामा शान्ति र सहिष्णुता कायम गर्न इजरायल निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सन् १९६० मा इजरायल-नेपाल सम्बन्ध कूटनीतिक सम्बन्ध स्थापना हुनु तत्कालीन नेपाल सरकारको साहसिक कदमको सराहना गर्दै राजदूत गोडेरले भौगोलिकरूपमा इजरायल र नेपाल टाढा भए पनि सरकार एवं जनस्तरको सम्बन्ध प्रगाढ रहेको बताउनुभयो ।
समारोहमा उपसभामुख, सांसद, विभिन्न राजनीतिक दलका नेता, पूर्वपरराष्ट्रमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, उद्योगपति, व्यापारी, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।
स्वतन्त्रता दिवसका उपलक्ष्यमा आठ महिनाअघि अतिवादी समूह हमासले गरेको आक्रमणबाट इजरायलमा भएको क्षतिका तस्बिर प्रदर्शन गरिएका थिए । जिभ कोरेनले खिच्नुभएका ती तस्बिर सो समूहका अमानवीय गतिविधिका प्रमाण हुन् ।
गत असोज २० गते हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीसहित एक हजार एक सय ३९ जना मारिएका थिए । आक्रमणका क्रममा सो समूहले इजरायली तथा विदेशी गरी दुई सय ५२ जनालाई बन्दी बनाएको थियो । अस्थायी युद्धविरामका क्रममा हमासले २२ जना विदेशीसहित एक सय पाँच जनालाई रिहा गरेको थियो ।
समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक छ : प्रधानमन्त्री
काठमाडौँ, १७ जेठ I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिनुभएको छ । जनसांस्कृतिक महासङ्घ नेपालको आठौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक छ भन्नुभयो ।
“संस्कृतिको जग समाज हो, तसर्थ समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरणको अहम् भूमिका रहन्छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “जनताको जीवन पद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गरी सङ्ठगित गर्नुपर्छ ।”
जनयुद्धकालमा सांस्कृतिक आन्दोलनमा सामाजिक रूपान्तरण र सभ्य समाज निर्माणका लागि सङ्कल्प र पहल लिइएको उल्लेख गर्दै उहाँले समाजको आधारभूत तहमा पुगेर रूपान्तरणको पैरवी गर्ने, जनताको जीवन पद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले उत्पादन र श्रम संस्कृतिको विकासका निम्ति स्थानीय क्लबहरूको निर्माण र परिचालन गर्नुजस्ता रचनात्मक क्रियाकलापमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
“पूर्वीय दर्शन, चिन्तन परम्परा र हाम्रो राष्ट्रिय संस्कृति निकै समृद्ध छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन, मानवजातिले विश्वभरि आर्जन गरेका ज्ञान र अनुभवहरू सबैका साझा सम्पत्ति र गौरवसमेत हुन्, यद्यपि हामीले हाम्रो विशिष्टता र मौलिकताको संवर्द्धन र विकास गरेर मात्र ज्ञानविज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ ।” उहाँले सामन्तवादी संस्कृतिले खडा गरेका रूढीवाद, अन्धविश्वास, अन्धभक्ति एवं साम्राज्यवादी संस्कृतिले खडा गरेको शून्यवाद, उपभोक्तावाद र उत्तरआधुनिकतावादी चिन्तन र दृष्टिकोणका विरुद्ध समाजवादी संस्कृतिको जग बसाल्नु नै आजको मुख्य कार्यभार भएको बताउनुभयो ।
“असल संस्कृति समृद्ध जीवनको प्राण हो, साहित्य, कला, नाट्य, गीतसङ्गीत, नृत्य, वास्तुकला जति पनि कलासँग सम्बन्धित विधाहरू छन्, तिनको संरक्षण, संवर्द्धन, विकास र समयानुकूल सुधार र रूपान्तरणको बलमा नै समाजवादी संस्कृतिको जग बसाल्न सकिन्छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यस दिशामा जनसांस्कृतिक महासङ्घजस्ता संस्थाहरूले नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्दछ ।”
आन्दोलनमा सांस्कृतिक आन्दोलनलाई दृष्टिकोण निर्माणको प्रश्नसँग नजोडी कलासँग मात्र जोड्ने समस्या रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले श्रम संस्कृतिलाई उपेक्षा गर्ने मनोविज्ञान र संस्कृति क्रमशः बलशाली हुँदै गएकाले राजनीतिकर्मीले सांस्कृतिक आन्दोलनलाई सहायक विषय ठान्ने प्रवृत्तिलाई पराजित गर्न गम्भीर समीक्षा र उपर्युक्त पहल लिन जरूरी रहेको बताउनुभयो ।
प्रज्ञा प्रतिष्ठान, सङ्गीत तथा नाट्यकला प्रतिष्ठान, ललितकला प्रतिष्ठानलगायतका बौद्धिक एवं प्राज्ञिक मञ्चहरूमार्फत परिवर्तनका उपलब्धिहरूको खोज, अध्ययन, अनुसन्धान र प्रकाशन गरी गणतन्त्रका बहुआयामिक उपलब्धिहरू आम जनसमुदायसम्म पुर्याउने जिम्मेवारी महासङ्घले लिनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको स्पष्ट पार्दै उहाँले राजनीतिक परिस्थिति र घटनाक्रममा उतारचढावजस्तो देखिए पनि वर्तमान सत्ता समीकरणमा कुनै समस्या नभएको बताउनुभयो । सरकारले गरेका ऐतिहासिक पहल र महत्त्वपूर्ण उपलब्धिहरू आम जनसमुदायसम्म पुर्याई परिवर्तनको पक्षमा जनमत निर्माण गर्न प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा साहित्य, कला र संस्कृतिको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सोहीअनुरूप बजेट विनियोजन गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले समुदायसँगको सहकार्यमा पुराना बस्ती भएका स्थानमा सङ्ग्रहालय स्थापना गरिने बताउनुभयो ।
कीर्तिपुर, बन्दीपुर, बुङ्मती, थिमि, गोरखा, जनकपुर र मटिहानीलगायतका स्थानको इतिहास, संस्कृति, भाषा र सभ्यतालाई संरक्षण र संवर्द्धन गर्न विविध कार्यक्रम सञ्चालन गरिने विषय बजेटमा उल्लेख भएको छ । भाषा, साहित्य, दर्शन, संस्कृति, कला, सङ्गीत, नाट्यलगायतका अमूर्त सांस्कृतिक क्षेत्रको विकास र प्रवर्द्धन गर्ने, प्रतिलिपि अधिकारको संरक्षण र नियमन गर्ने, जानकी मन्दिरलाई विश्व सम्पदासूचीमा समावेश गर्न पहल गरिने र राजतन्त्रदेखि गणतन्त्रसम्मको अभिलेख रहनेगरी ऐतिहासिक सङ्ग्रहालय निर्माण गर्नेलगायतका महत्त्वपूर्ण कार्यक्रम यस वर्षको बजेटमा समावेश छन् ।
राप्तीका विद्यालयमा तामाङ भाषामा पढाइ हुने
मुग्लिन (चितवन), १७ जेठ I चितवनको राप्ती नगरपालिकाका विद्यालयमा अब तामाङ भाषामा पनि पढाइ हुने भएको छ । यही शैक्षिक सत्र देखि नगरभित्रका तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा तामाङ भाषामा पढाइ हुने भएको हो ।
नगरपालिका प्रमुख शमशेर लामाका अनुसार कक्षा सञ्चालन तयारी गर्न शिक्षकका लागि आजदेखि मातृभाषामा पढाइको तालिम दिन थालिएको छ । तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा तामाङ तथा गैर तामाङ समुदायका शिक्षकलाई मातृभाषाको तालिम दिन थालिएको नगर प्रमुख लामाले जानकारी दिनुभयो ।
नगरभित्र तामाङ समुदायको बाहुल्यता भएका वडामा भाषाको समस्या भएकाले पठनपाठनमा सहज बनाउन तामाङ भाषामा कक्षा सञ्चालन गर्न लागिएको नगर प्रमुख लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “भाषाको समस्याले बालबालिकालाई पठनपाठनमा समस्या हुदैँ आएको छ । कतीपय बालबालिकाले नेपाली भाषा राम्रोसँग बुझ्दैनन् । सिकाइमा प्रभावकारीता ल्याउन तामाङ भाषामा कक्षा सञ्चालन गर्न लागिएको हो ।”
दुर्घटनामा युवतीको मृत्यु, पाँचजना घाइते
काठमाडौँ, १७ जेठ I काठमाडौँको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली भेडीगोठ सरकारी धारा नजिक बा४ख ३२० नम्बरको गाडी दुर्घटना हुँदा एक युवतिको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।
दुर्घटनामा धादिङ घर भई हाल काठमाडौँको तारकेश्वर–२ काभ्रेस्थलीका २७ वर्षीया रमिता तोलाङ्गीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । घाइते तोलाङ्गीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालल महाराजगञ्जमा राखिएको छ ।
दुर्घटनामा सिन्धुली घर भई हाल काठमाडौँको तारकेश्वर–२ का गाडी चालक २६ वर्षीय सुशील दमाई, सोही ठाउँका सहचालक २० वर्षीय कृष्ण तमाङ, २६ वर्षीय गोपाल दमाई, २५ वर्षीय टेकबहादुर मरस्याङ्दी र १८ वर्षीया पवित्रा तोलाङ्गी घाइते भएका छन् । उनीहरूको जरङखुस्थित मेगा ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।
उत्तर कोरियाद्वारा जापानी समुद्र क्षेत्रमा क्षेप्यास्त्र प्रहार
उत्तर कोरियाले बिहीबार जापानको समुद्रतर्फ छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जानकारी गराएको छ ।
प्योङयाङले दक्षिण कोरियामा सयौं ठुला फोहोर र मलले भरिएका बेलुनहरू पठाएको एक दिनपछि जापानी क्षेत्रमा यो प्रहार गरेको हो । केही दिनअघि प्योङयाङले गरेको सैन्य जासुसी उपग्रहको रकेट प्रक्षेपण असफल भएको थियो ।
दक्षिण कोरियाली सेनाले बिहीबार उत्तर कोरियाले लगातार दुई दिन ‘जिपिएस सिग्नल’ जाम गर्ने प्रयास गरेको दावी गरेको छ ।
यसैबीच, संयुक्त राज्य अमेरिकाले उत्तर कोरियालाई जापानको समुद्रमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि ‘थप गैरकानुनी र अस्थिरकारी कार्यहरू’ रोक्न आह्वान गरेको छ ।
दक्षिण कोरियाली सेनाका उच्च पदस्थ अधिकारीका अनुसार प्योङयाङको सुनान क्षेत्रबाट बिहान करिब ६ बजे १४ मिनेटमा करिब दशवटा प्रक्षेपण गरिएको थियो र समुद्रमा खस्नुभन्दा पहिले करिब तीन सय पचास किलोमिटर उडेको अनुमान गरिएको थियो ।
दक्षिण कोरियाली सेनाले थप प्रक्षेपणविरुद्ध निगरानी र सतर्कता अपनाएको र अमेरिका र जापानी अधिकारीहरूलाई जानकारी दिएको थियो ।
हिन्द प्रशान्त महासागरस्थित अमेरिकी नेतृत्वले दक्षिण कोरिया, जापान र अन्य क्षेत्रीय सहयोगी र साझेदारहरूसँग नजिकबाट परामर्श गरिरहेको बताएको छ । “हामी उत्तर कोरियाको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणबारे सचेत छौं । संयुक्त राज्य अमेरिकाले यी कार्यहरूको निन्दा गर्दछ र स्थितिप्रतिको निगरानी जारी राख्नेछ ।” हिन्द प्रशान्त महासागरस्थित अमेरिकी नेतृत्वले भनेको छ ।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले टोकियोमा पत्रकारहरूसँग उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको र उक्त क्षेत्र जापानको विशेष आर्थिक क्षेत्र बाहिर रहेको बताउनुभएको छ ।
बाँकेमा गर्मीले खोप अभियान प्रभावित
नेपालगञ्ज १७ जेठ I अत्यधिक गर्मीका कारण बाँकेमा पोलियो रोगविरुद्धको आइपिभी खोप अभियान प्रभावित भएको छ । गर्मी र तातो हावा ‘लु’ का कारण नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका विद्यालय पाँच दिन बन्द भएकाले सो अभियान प्रभावित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बाँकेका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठले गर्मीका कारण अधिकांश स्थानीय तहले विद्यालय बन्द गरेकाले पोलियो रोगविरुद्धको आइपिभी खोप अभियान प्रभावित भएको जानकारी दिनुभयो । उहाँले यही जेठ १३ गतेबाट जिल्लाका ३५ हजार सात सय पाँच बालबालिकालाई आइपिभी खोप दिने लक्ष्यका साथ सुरु गरिएको अभियानअन्तर्गत जेठ १५ गते बेलुकासम्म १७ हजार तीन सय ३५ बालबालिकालाई खोप दिइसकिएको बताउनुभयो ।
विद्यालय बन्द भएपछि विद्यालयमा स्थापना गरिएका खोप केन्द्रलाई समुदायमा स्थानान्तरण गरेर समुदायमा खोप दिन सुरु गरिएको थियो । खोप अभियान सुरु भएको तीन दिनमा आठ हजार तीन सय ७७ बालिका र आठ हजार नौ ५८ बालक गरेर १७ हजार तीन सय ३५ लाई खोप दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार हालसम्म लक्ष्यको करिब ४९ प्रतिशत बालबालिकालाई खोप दिइएको छ ।
त्यसमध्ये सबैभन्दा बढी बैजनाथ गाउँपालिकामा ६९ प्रतिशत र सबैभन्दा कम नेपालगञ्ज उपमहानगरपालिकामा करिब ३८ प्रतिशतलाई खोप दिइएको श्रेष्ठको भनाइ छ । बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप दिने अभियान जिल्लाका आठ स्थानीय तहमा आइतबारबाट सुरु गरिएको थियो । खोप दिनका लागि जिल्ला भरि दुई सय ४३ खोप केन्द्र कायम गरिएको थियो ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जेठ १३ बाट जेठ २६ गतेसम्म सो अभियान सञ्चालन गरिने जनाइए पनि लक्षित सबै बालबालिकालाई खोप नदिएसम्म अभियान जारी रहने स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले बताउनुभयो ।
पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति गरिँदै
झापा, १७ जेठ I पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–केरखा खण्डको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । उक्त खण्डमा हाल १० पुल र ६५ कल्भर्ट निर्माण गर्ने काम भइरहेको छ ।
एसियाली विकास बैंकको सहयोगमा नेपाल सरकारले स्तरोन्नति गरिरहेको काँकडभिट्टा–लौकही खण्डको ९५.७६ किलोमिटर सडक पूर्वी, मध्य र पश्चिमी गरी तीन खण्डमा स्तरोन्नति गरिँदै छ । पूर्वी खण्डको ४५ किलोमिटर सडकमा पुल, कल्भर्ट र माटो भर्ने काम जारी रहेको एभ्रास्कन–कालिका जेभीका कन्ट्र्याक्ट म्यानेजर उज्ज्वल प्रसाईंले बताउनुभयो । पूर्वी खण्डको पुल र सडक निर्माणको ठेक्का एभ्रास्कन–कालिका जेभीले लिएको छ । पूर्वी खण्डमा १८ पुल र एक सय ४३ कल्भर्ट निर्माण गरिने छ ।
हाल उक्त खण्डमा १० पुलको काम भइरहेको छ । चालु आर्थिक वर्षभित्रै काम सक्ने गरी काम भइरहेको प्रसाईंले बताउनुभयो । द्रुत गतिमा काम सम्पन्न गर्ने लक्ष्यका साथ हाल ६५ निर्माणस्थलमा बक्स कल्भर्टको दुई किनाराको फाउन्डेसन निर्माण भइरहेको छ । बर्खापछि राजमार्गमा आवागमन अवरोध नहुने गरी दुई किनाराबाट सवारी ओहोरदोहोरको व्यवस्था मिलाएर कालोपत्र गरिने उहाँले बताउनुभयो ।
हाल राजमार्ग रहेको बीचको भाग भत्काएर नयाँ बनाइने छ । यसरी स्तरोन्नतिको काम गर्दा यातायात अवरुद्ध कम हुन्छ । सडकमा अहिले माटो भर्ने काम भइरहेको छ । डेढ लाख घनमिटर माटो भर्ने कार्य सकिएको र त्यसलाई रोलर मेसिनले सम्याएर सडकको स्वरुप दिने कार्यलाई प्राथमिकता दिइएको प्रसाईंले बताउनुभयो । स्तरोन्नति थाल्नुअघि सडक क्षेत्रका रुख काटिएका थिए ।
चिनियाँ राष्ट्रपति सीद्वारा मध्यपूर्व शान्ति सम्मेलनका लागि आग्रह
चीनका राष्ट्रपति सी चिनफिङले इजरायल र हमासबीचको युद्धबारे बिहीबार एक शान्ति सम्मेलनका लागि आह्वान गर्नुभएको छ । उहाँले यस क्षेत्रसँगको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले आयोजित एक भेलामा अरब नेताहरूलाई सम्बोधन गर्नुभएको हो ।
राष्ट्रपति सीले यसै साता इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसी, इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यान र अन्य केही अरब नेताहरूलाई स्वागत गर्नुहुनेछ ।
चीनले लामो समयदेखि मध्यपूर्वबाट कच्चा तेल आयात गर्दै आएको छ, र हालैका वर्षहरूमा आफ्नो प्रभाव विस्तार गर्न खोजेको छ ।
चीनले इजरायल–प्यालेस्टाइन द्वन्द्वमा आफ्नो प्रतिद्वन्द्वी संयुक्त राज्य अमेरिकाभन्दा बढी तटस्थ भूमिका निर्वाह गरेको छ र इजरायलसँग राम्रो सम्बन्ध कायम राख्दै दुई राष्ट्र समाधानको वकालत गरिरहेको छ ।
चीनले आफ्नो ‘बेल्ट एण्ड रोड इन्फ्रास्ट्रक्चर इनिसियटिभ’मा मध्यपूर्वलाई एक प्रमुख विन्दुको रूपमा औंल्याएको छ । यो विदेशमा आफ्नो देशको प्रभाव विस्तार गर्ने सीको प्रयासको मुख्य आधार हो ।
प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै सीले इजरायल–हमास द्वन्द्व समाधानका लागि ‘व्यापक’ शान्ति सम्मेलनको प्रस्ताव गर्नुभएको छ ।
“मध्यपूर्व विकासको व्यापक सम्भावना बोकेको भूमि हो, तर अझै युद्ध जारी छ,” सीले भन्नुभयो ।
उहाँले युद्ध लम्बिन नहुने तर्क गर्दै भन्नुभयो, “युद्ध अनिश्चितकालसम्म चल्नु हुँदैन । न्याय सदाका लागि अनुपस्थित हुनु हुँदैन ।”
सीपछि बोल्दै इजिप्टका राष्ट्रपति सिसीले गाजा पट्टीका प्यालेस्टिानीहरू आफ्नो युद्धग्रस्त क्षेत्रबाट विस्थापित नहुन् भन्ने सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभयो ।
गाजासँग सीमा जोडिएको इजिप्टले सन् १९७८ मा इजरायलसँग ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर गरेको थियो ।
“म अन्तर्राष्ट्रिय समुदायलाई गाजा पट्टीमा दीर्घकालीन मानवीय सहायता तत्काल उपलब्ध गराउन र इजरायली घेराबन्दी अन्त्य गर्न आह्वान गर्दछु,” सिसीले भन्नुभयो ।
उहाँले प्यालेस्टिनीहरूलाई जबर्जस्ती आफ्नो भूमिबाट भाग्न बाध्य पार्ने कुनै पनि प्रयास रोक्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।
इजरायली सेनाले गाजा पट्टी र इजिप्टबीचको सीमामा रहेको रणनीतिक फिलाडेल्फिया करिडोरमा ‘गतिविधि नियन्त्रण’ गरेको बुधबार बताएपछि सिसीको यो टिप्पणी आएको हो ।
यो करिडोरले गाजा र इजिप्टबीचको मध्यवर्ती क्षेत्रको रूपमा काम गरेको थियो र इजरायली सेनाले सन् २००५ सम्म गस्ती गरेको थियो । तर, गाजा पट्टीबाट व्यापक विघटनको भागको रूपमा हमासले उक्त जमिन प्यालेष्टिनी प्राधिकरणसँगबाट फिर्ता लिएको थियो ।
लण्डनस्थित ‘चाथम हाउसथिंक ट्याङ्क’ का उपप्रमुख अहमद अबौदौहले एएफपीसँग भन्नुभयो, “सिसी इजरायलसँगको उच्च तनावको समयमा चीनको राजनीतिक समर्थन प्राप्त गर्न इच्छुक देखिनुहुन्छ ।”
चीनले दशकौंदेखि इजरायल–प्यालेस्टाइन द्वन्द्वको दुई राष्ट्र समाधानको वकालत गर्दै आएको छ ।
बिहीबार सीले अरब विश्वसँग आफ्नो ‘गहिरो आत्मीयता’ रहेको भन्दै अरब समुदायको प्रशंसा गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, “चीन र चिनियाँ जनता तथा अरब देश र त्यहाका जनताबीचको मित्रता प्राचीन सिल्क रोडको मैत्रीपूर्ण आदानप्रदानबाट सुरु भएको हो ।”
‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत २१ अरब राष्ट्रले बेइजिङसँग सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् ।
“चीनले तेल र ग्यासमा अरब पक्षसँग रणनीतिक सहयोगलाई अझ बढाउनेछ र आपूर्ति सुरक्षालाई बजार सुरक्षासँग एकीकृत गर्नेछ,” सीले भन्नुभयो ।
“चीन नयाँ ऊर्जा प्रविधि अनुसन्धान तथा विकास र उपकरण उत्पादनमा अरब पक्षसँग काम गर्न तयार छ,” उहाँले भन्नुभयो ।
चीनले गत वर्ष साउदी अरब र उसको लामो समयदेखिको शत्रु इरानबीच मध्यस्थता गरेर यस क्षेत्रमा आफूलाई मध्यस्थकर्ताको रूपमा स्थापित गर्ने काम गरेको छ ।
गत महिना उसले ‘अन्तर–प्यालेस्टिनी मेलमिलापलाई बढावा दिने विषयमा गहन र स्पष्ट वार्ताका लागि’ प्रतिद्वन्द्वी प्यालेस्टिनी समूह हमास र फताहलाई आमन्त्रण गरेको थियो ।
विश्लेषकहरूका अनुसार चीनले गाजामा जारी युद्धको फाइदा उठाउँदै यस क्षेत्रमा आफ्नो स्थितिलाई मजबुत बनाउन खोजिरहेको छ र कथित अमेरिकी निष्क्रियताविरुद्ध त्यो द्वन्द्व अन्त्य गर्ने प्रयास गरिरहेको छ ।
वैदेशिक सम्बन्धका लागि युरोपेली परिषद्का क्यामिली लोन्सले एएफपीसँग भन्नुभयो, “बेइजिङले जारी द्वन्द्वलाई अन्तर्राष्ट्रिय परिदृश्यमा पश्चिमाहरूको दोहोरो मापदण्डको आलोचना गर्ने र वैकल्पिक विश्व व्यवस्थाका लागि आह्वान गर्ने सुनौलो अवसरको रूपमा हेरेको छ ।
एकीकृत समाजवादी वर्तमान सत्तासमिकरणमै छ : प्रधानमन्त्री दाहाल
मोरङ, १७ जेठ I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) वर्तमान सत्तासमिकरणमै रहेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग आज बिहान कुराकानी भएको र उहाँ वर्तमान सत्तासमिकरणकै पक्षमा रहेको स्पष्ट पार्नुभयो ।
फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले सरकारले यही जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा विराटनगरमा चक्रपथ निर्माण, चिकित्साशास्त्र कलेज सञ्चालनलगायत कार्यक्रमसहित कोशी प्रदेशको मागलाई सम्बोधन गरिएको बताउनुभयो । बजेटमा उत्पादन, उपादकत्व र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले मधेश प्रदेशमा वर्तमान समिकरणभन्दा बाहिर गएर सरकार निर्माण नहुने धारणा राख्नुभयो । “वर्तमान समिकरण अनुसारनै मधेश प्रदेशमा सरकार निर्माण हुन्छ” उहाँले भन्नुभयो ।
अत्यधिक गर्मी बढेपछि तुलसीपुरका विद्यालय पाँच दिन बन्द
Weदाङ, १७ जेठ I अत्यधिक गर्मी बढेपछि तुलसीपुर उपमहानगरपालिका नगर क्षेत्रका विद्यालय पाँच दिन बन्द हुने भएका छन् । केही दिनदेखि निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन् ।
सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले जेठ १८ देखि २२ गतेसम्म विद्यालयमा बिदा दिइएको जानकारी दिनुभयो । दाङको तापक्रम ३९ डिग्री सेल्सियसभन्दा बढी भएपछि उपमहानगरअन्तर्गत नगर शिक्षा समितिको बैठकबाट पाँच दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।
देउखुरीको राप्ती गाउँपालिकाले पनि अत्यधिक गर्मी बढेपछि पालिकाभित्रका विद्यालय आज र भोलि दुई दिन बन्द हुने सूचना जारी गरेको छ ।