बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HYWGWSZ6MFJX9GPYS2JSAAY9.jpg

बुकीमै बसेर यार्सागुम्बाको खोजी

१४ जेठ, म्याग्दी (बेनी) I जिल्लाको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका कृष्ण पाइजा एक महिनादेखि कालीबराह बुकी क्षेत्रमा यार्सागुम्बा टिप्न व्यस्त हुनुहुन्छ । बुकीमा ओढारमा बास बसेर पाइजासहित उहाँका साथीहरुले बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलन गरिरहेका छन् । चिमखोलाको कालीबराह बुकीदेखि धौलागिरि आइसफल आधार शिविर क्षेत्रमा यतिबेला यार्सा सङ्कलन गर्नेको भीड लागेको छ ।   
  
चिमखोलाका करिब ५० जना अहिले यार्सा सङ्कलनका लागि बुकीमै बास बस्ने गरेको पाइजाले बताउनुभयो । “करिब दुई महिनासम्म हामी बुकीमै बसेर यार्सा सङ्कलन गर्छौ, बिगतका तुलनामा यार्सा निकै थोरै भेटिने गरेको छ, दिनमा २० देखि २५ वटासम्म मात्रै हामीले यार्सा सङ्कलन गरिरहेका छौँ”, पाइजाले भन्नुभयो । यसअघिका वर्षमा दिनमा दुई सय वटासम्म यार्सा सङ्कलन हुने गरेको बताउँदै उहाँले यस वर्ष यार्सा कम भेटिएको बताउनुभयो ।   
  
यार्सा सङ्कलकहरु यतिबेला बुकीमा ओढार र त्रिपालको छाप्रो हालेर बास बस्ने गरेका छन् । सङ्कलन भएको यार्सा स्थानीय स्तरमा रु दुई सयदेखि दुई सय ५० सम्ममा बिक्री हुने गरेको चिमखोले बुकीमा यार्सा सङ्कलन गर्दै गर्नुभएका गमान गर्बुजाले बताउनुभयो ।   
  
यार्सा सङ्कलन भएपछि ठेकेदारले गाउँमै पुगेर यार्साको खरिद गर्दै आएका छन् । म्याग्दीमा केहि वर्ष अघि वार्षिक २० किलोभन्दा बढी यार्सा निकासी हुने गरेकोमा पछिल्ला वर्षहरुमा मात्रा घटेको छ । चालु आर्थिक वर्षमा आधा किलो यार्सागुम्बा सङ्कलनका लागि मात्रै पुर्जी लिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी विनयबहादुर अधिकारी खत्रीले जानकारी दिनुभयो ।   
  
यार्सागुम्बा सङ्कलन र निकासीका लागि राजस्व तिरेर सङ्कलन पुर्जी र छोटपुर्जी लिएर मात्रै यार्सागुम्बा बिक्री र निकासी गर्न पाइन्छ । हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा न्यून मात्रामा भेटिने भएपछि यार्सा सङ्कलनकर्ताले सङ्कलन भएपछि मात्रै सोही बमोजिमको सङ्कलन पुर्जी काट्न थालेका छन् । जिल्लाको चिमखोला, कुइनेमङ्गले, मल्कबाङ, मुदी, गुर्जालगायतका स्थानीयबासी अहिले लेकाली क्षेत्रमा यार्सा सङ्कलनमा व्यस्त बनेका छन् ।   
  
विशेष गरी वैशाखको मध्यदेखि जेठको अन्त्यसम्ममा हिमालको फेदीसम्म पुगेर जोखिम मोलेरै स्थानीयले यार्सा सङ्कलन गर्ने गर्छन् । धवलागिरि गाउँपालिका–१ गुर्जाबाट करिब एक सय ५० जना यार्सा सङ्कलनका लागी गुर्जा, चुरेन र पुथा हिमालको बुकीतर्फ गएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । उहाँले यार्सा सङ्कलन हिमाली क्षेत्रका बासीन्दाका लागि रोजगारी र आयआर्जनको माध्यम बनेको बताउनुभयो ।   
  
यार्सा टिप्न जानेहरुले देवीदेवताको पूजापाठ गरी काम सुरु गर्छन् । यार्सा सङ्कलन हिमाली भेगका जनताका लागि मौसमी रोजगारी जस्तै बनेको छ । तर जोखिमपूर्ण तवरले सङ्कलित यार्साले उचित मूल्य नपाउँदा यार्सा सङ्कलनकर्ताहरु निरास बन्न थालेका छन् ।   
  
सर्वसाधारणबाट व्यवसायिहरुले प्रतिकिलो रु पाँचदेखि छ लाखसम्ममा यार्सा खरिद गर्ने गरेका छन् । हालको बजारमूल्य प्रतिकिलो रु आठदेखि १० लाखसम्म रहेको जानकार बताउँछन् ।  

प्रकाशित मितिः सोमबार, १४ जेठ २०८१
https://jawaaf.com/storage/01HYW9KFS8RS8JMWTT2H8TNNCH.jpg

खोलामा बगेर दुईजना बेपत्ता

१४ जेठ, खलङ्गा (दार्चुला) I दार्चुलाको मार्मा गाउँपालिकामा खोलामा बगेर दुईजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गए राति मार्मा गाउँपालिका–५  मुरैस्थित गन्याड खोला तर्ने क्रममा बगेर स्थानीय २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक बेपत्ता भएका हुन् । दुवैजना नातामा काकी भतिजा पर्छन् ।  

अत्यधिक वर्षापछि खोलामा आएको बाढीले दुवैजनालाई बगाएको मार्मा गाउँपालिका–५ का वडाअध्यक्ष सुरेन्द्र महताले जानकारी दिनुभयो । बेपत्ताको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथको टोली घट्नास्थलमा खटिएको छ । 

प्रकाशित मितिः सोमबार, १४ जेठ २०८१
https://jawaaf.com/storage/01HYW4R050RD7S6T5N3YY53X6E.jpg

अन्नपूर्ण आरोहण दिवसमा म्याराथन

१४ जेठ, गण्डकी I अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा अन्नपूर्ण आरोहण दिवसका अवसरमा अन्नपूर्ण म्याराथन हुँदैछ । यही जेठ २१ गते चार हजार एक सय ३० मिटरको उचाइमा उक्त म्याराथन हुन लागेको हो ।  

अन्नपूर्ण आधार शिविरबाट माछापुच्छ्रे« आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकसम्म कूल ४२ दशमलव १९५ किलोमिटर दूरीमा धावक दौडिने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मूल आयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिनुुभयो । ‘पर्यटनका लागि सबै मौसम’ नाराका साथ २०७५ सालदेखि आरम्भ भएको अन्नपूर्ण म्याराथनको यो चौथो संस्करण हो । म्याराथनका माध्यमबाट अन्नपूर्ण आधार शिविरसहित यहाँको समग्र पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने उहाँले बताउनुुभयो ।

“संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुुटेरेसबाट गत कात्तिक महिनामा अन्नपूर्ण आधार शिविरको भ्रमण हुनु, अमेरिकास्थित टाइम आउट म्यागेजिनले घान्द्रुकलाई भ्रमण गर्न लायक विश्वको सानो सुन्दर सहरको सूचीमा राख्नुु, पोखरा पर्यटकीय राजधानी हुनुलगायत हामीले विगतदेखि गर्दै आएको यही कार्यक्रमको प्रभाव र उपलब्धि हुन् भन्ने ठानेका छौँ”, संयोजक गुरुङले भन्नुुभयो ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहणसँगै हिमाल आरोहणको क्रम सुरु भएकाले अन्नपूर्ण हिमाललाई आरोहणको जेठो हिमालका रुपमा समेत लिइन्छ । मौरिस हर्जोगको टोलीले जुन ३ मा अन्नपूर्ण प्रथमको आरोहण गरेकै कारण यस दिनलाई अन्नपूर्ण आरोहण दिवस (अन्नपूर्ण डे) का रुपमा मनाउने गरिएको छ । 

अघिल्लो वर्षको तुलनामा यस वर्षको अन्नपूर्ण म्याराथनमा अन्तर्राष्ट्रिय धावकको सहभागिता बढ्ने अपेक्षा गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका सचिव मिकास गुरुङले बताउनुुभयो । महिला तथा पुरुषतर्फ छुुट्टाछुुट्टै प्रतिस्पर्धा रहने यस संस्करणका लागि नाम दर्ता गराउने क्रम जारी रहेको र हालसम्म ५० धावकले नाम दर्ता गराइसकेको उहाँले बताउनुभयो । हालसम्म नाम दर्ता गराउनेमा ४० पुरुष र १० महिला रहेका छन् । नाम दर्ता गराउनेमा चार विदेशी नागरिकसमेत रहेका सचिव गुरुङले जानकारी दिनुुभयो । 

म्याराथनमा सहभागी हुन महिलाका लागि रु पाँच हजार र पुरुषका लागि रु सात हजार शुल्क तोकिएको छ । महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु एक लाख ५० हजार, रु एक लाख र रु ७५ हजार पुरस्कार प्राप्त गर्नेे प्रचारप्रसार संयोजक टङ्कराज अधिकारीले जानकारी दिनुुभयो । यसअघि म्याराथनको पहिलो, दोस्रो र तेस्रो संस्करणको उपाधि क्रमशः त्रिभुवन आर्मीका हरिकुमार रिमाल, डोटीका खगेन्द्रबहादुर भाट र जुम्लाका धीरबहादुर बुढाले जितेका थिए । तेस्रो संस्करणदेखि म्याराथनमा महिलालाई सहभागी गराइएको हो । महिला म्याराथनको उपाधि गणना भण्डारीले जित्नुुभएको थियो । 

प्रकाशित मितिः सोमबार, १४ जेठ २०८१
https://jawaaf.com/storage/01HYVY09M3ME089NFP0602WV5C.jpg

मुगुको डोल्फु गाउँँमा लुटपाट

१४ जेठ, मुगु I मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो । 

हतियारधारी समूहले शनिबार साँझ डोल्फु गाउँमा घरघरमा खानतलासी गर्दै नगद, गहना, सरसामानलगायत बहुमूल्य सामान लुटेर लगेका मुगुम कार्मारोङका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिनुभयो । “गाउँमा बूढाबूढी र बालबालिकका मात्र रहेको मौका छोपी हरियारधारी समूहले ५० घरमध्ये २३ घरमा लुटपाट गरेका छन्”, उहाँले भन्नुभयो । लुटेरा समूहले गाउँमा रहेका गुम्बाका पुजारीलाई समेत कुटपिट गरेको अध्यक्ष लामाले बताउनुभयो । उनीहरुले घरको हेरचाहका लागि राखिएका कुकुरलाई समेत कुटपिट गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले लुटपाटको खबर थाहा पाएपछि गाउँदेखि पाँच घण्टा टाढाको पुलु प्रहरीचौकीबाट प्रहरी टोली पठाएको बताउनुभयो । विगत वर्षमा पनि स्थानीयवासी यार्सागुम्बा सङ्कलनमा गएको समयमा सो गाउँमा लुटपाट हुँदैआएको थियो । 

मुगुम कार्मारोङ–१ का वडाध्यक्ष कार्मा तुन्डुक लामाले गाउँमा भएको लुटपाटबारे प्रहरीलाई जानकारी गराउनुभएको थियो । बन्दुक, तरबार, खुकुरीसहित आएको हतियारधारी समूहले घर फोडेर त्यहाँ रहेका सुन, चाँदी, पुराना भाँडाकुँडा, जडीबुटी, पुराना गरगहना, लत्ताकपडालगायत सामान लुटेर लगेको उहाँले बताउनुभयो । 

प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घटनास्थल सञ्चारको पहुँचभन्दा टाढा भएकाले त्यहाँ गएका प्रहरीसँग सम्पर्क गर्न मुश्किल  भएको बताउनुभयो । मुगुम कार्मारोङ–१, ३ र ४ नम्बर वडाका वन तथा पाटन से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले ओगटेको क्षेत्र हो । मुगुम कार्मारोङ गाउँँपालिकाले यही जेठ १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएको छ । स्थानीयवासी जेठ १० गते नै गाउँ छाडेर यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ गएका छन् ।  

प्रकाशित मितिः सोमबार, १४ जेठ २०८१
https://jawaaf.com/storage/01HYVXSK44P4P5YR93SC279NQP.jpg

गर्मी बढेपछि विद्यालय चार दिन बन्द

१४ जेठ, भरतपुर (चितवन) I गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप र स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ । 
नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार यही जेठ १४ गतेदेखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । १३ गतेको नगरपालिका स्तरीय निर्णयअनुसार बिदा दिइएको हो । १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ । चितवनको तापक्रम अहिले ३९ डिग्री सेल्सियससम्म पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन कष्टकर बनेको छ । 

खोप अभियान स्थगित
 
अध्याधिक गर्मी बढेपछि रत्ननगर नगरपालिकाले आइपिभी खोप अभियानसमेत स्थगित गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद वाग्लेका अनुसार पालिकाका सबै वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा जेठ १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भनिएको खोप कार्यक्रम गर्मीका कारण स्थगित गरिएको हो । अभियान २० गतेदेखि पुनः सञ्चालन हुने वाग्लेले जानकारी दिनुभयो । 

प्रकाशित मितिः सोमबार, १४ जेठ २०८१
https://jawaaf.com/storage/01HYVY9JS9EZBR7NMJWHDJNQGD.jpg

चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते

चितवन, १४ जेठ : चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार गए राति साढे १२ बजे काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौँबाट महोत्तरीतर्फ आउँदै गरेको ना७ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएका थिए । दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ । उनको परिचय खुल्न सकेको छैन । 

दुर्घटनापश्चात् राति सडक अवरुद्ध भएको थियो । आज बिहानदेखि सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिनुभयो । घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा तथा चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मितिः सोमबार, १४ जेठ २०८१
https://jawaaf.com/storage/01HYVV28CXMND6GACCYXVWTMGN.jpg

चेपाङ विद्यार्थीलाई अध्ययन खर्च

तनहुँ, १४ जेठ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले यहाँका दुई चेपाङ विद्यार्थीलाई अध्ययन खर्च बापतको रकम प्रदान गरेको छ । आँबुखैरेनी–५ का अमृत चेपाङ र सञ्जीव चेपाङलाई मासिक रु पाँच हजारका दरले अध्ययन खर्च दिएको हो । 

स्थानीय रामशाह माध्यमिक विद्यालयमा अमृत कक्षा ९ मा तथा सञ्जीव कक्षा ११ मा अध्ययनरत रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । कार्यपालिका बैठकले विपन्न वर्गका चेपाङ विद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गर्न मासिक रु पाँच हजारका दरले सहयोग दिने निर्णय भएबमोजिम उक्त रकम प्रदान गरिएको हो । 

अमृतलाई दोस्रो र तेस्रो किस्ताबापत मङ्सिरदेखि असारसम्म आठ महिनाको रु ४० हजार तथा सञ्जीवलाई यही शैक्षिक सत्रको वैशाखदेखि असारसम्म तीन महिनाको रु पन्ध्र हजारको चेक हस्तान्तरण गरिएको हो । शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर गाउँपालिकाले रकम सहयोग गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । विपन्न विद्यार्थीका लागि खाद्यान्न र आवासबापत मासिक रु पाँच हजारका दरले सहयोग गर्ने नीति गाउँपालिकाले अवलम्बन गरेको छ ।

चौध कार्यपालिका सदस्य र एक प्रमुख प्रशासकीय अधिकृतले मासिक बैठक भत्ताबापतको रकम शैक्षिक कोषमा जम्मा गरेका छन् । पन्ध्र जनाको मासिक रु एक हजारका दरले दश महिनाको रु एक लाख पचास हजार शैक्षिक कोषमा जम्मा गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । सो  रकम विपन्न वर्गका विद्यार्थीको अध्ययनका लागि खर्च गरिने छ ।

प्रकाशित मितिः सोमबार, १४ जेठ २०८१
https://jawaaf.com/storage/01HYTN47NM26NY9A7WZ44TMCZA.jpg

देशभर बन्यो ३४ हजार दुई सय ६७ किलोमिटर सडक

काठमाडौँ, १३ जेठः सडक पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकताका राखेको सरकारले देशभर ३४ हजार २ सय ६७ किलोमिटर सडक निर्माण गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसदका दुवै सदनमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमा सडक पूर्वाधार निर्माणमा उल्लेख्य सफलता हासिल भएको उल्लेख छ ।

गत फागुनसम्म देशभर १८ हजार दुई सय ४१ किलोमिटर सडक कालोपत्रे  भएको छ । यस्तै, सात  हजार छ सय ९७ किलोमिटर ग्राभेल र आठ हजार तीन सय २९ किलोमिटर सडक कच्ची रहेको तथ्याङ्क छ । कूल सडकमध्ये ५३ दशमलव दुई प्रतिशत कालोपत्रे, २२ दशमलव दुई प्रतिशत ग्राभेल र २४ दशमलव तीन प्रतिशत कच्ची छ ।

प्रकाशित मितिः आइतबार, १३ जेठ २०८१
https://jawaaf.com/storage/01HYTMTT4QBX5S87Y3HWZ5X63N.png

चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

काठमाडौँ, १३ जेठः नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजार चार सय ९८ पुगेको छ । यो २०८० पुस मसान्तसम्मको तथ्याङ्कक भएको अर्थमन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७ मेडिकल चिकित्सक, चार हजार आठ सय ८३ दन्त चिकित्सक र १० हजार पाँच सय ८८ विशेषज्ञ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् । जसमध्ये पुरुष ६४ दशमलव एक र महिला ३५ दशमलव नौ प्रतिशत छन् ।

सोही अवधिमा एक लाख २२ हजार तीन सय १३ विभिन्न श्रेणीका नर्स नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका छन् । सर्वेक्षणका अनुसार नेपालमा प्रतिहजार जनसङ्ख्यामा एक दशमलव २० चिकित्सक र दुई दशमलव ८३ नर्स छन् । यो विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बढी हो । 

यस्तै, २०७९ फागुनसम्म डाक्टर, नर्स, अनमी, कविराज, वैद्य, स्वास्थ्य सहायक र महिला स्वास्थ्य स्वयं सेविकासमेत गरी एक लाख २ हजार ६ सय ८६ स्वास्थ्यर्की सरकारी सरकारी सेवामा आवद्ध छन् । चालु आर्थिक वर्षको फागुनसम्ममा सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट अन्तरङ्ग, बहिरङ्ग र आकिस्मक सेवा गरी चार करोड ६० लाख ५६ हजार पटक सेवा प्रवाह भएको देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सेवा २ करोड ८८ लाख पटक भएको थियो ।

नेपालमा आठ सय ४९ विदेशी नर्स कार्यरत रहेको तथ्याङ्कले देखाएको छ । २०८० फागुनसम्म नेपाल नर्सिङ काउन्सिलमा एक लाख २२ हजार ३ सय १३ नर्स दर्ता भएकामा विदेशी नर्सको सङ्ख्या आठ सय ४९ रहेको सर्वेक्षणमा उल्लेख छ । जसमध्ये एक हजार पाँच सय ७ विशेषज्ञ नर्स, ३७ हजार चार सय २० अनमी, ६६ मिडवाइफ छन् । 

प्रकाशित मितिः आइतबार, १३ जेठ २०८१
https://jawaaf.com/storage/01HYTM68KHJRDG0MFK2FCK4Z7W.jpg

कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

कर्णाली, १३ जेठ I नेपाली कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभाको आज बसेको बैठक स्थगित भएको छ ।  प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको तेस्रो बैठक स्थगित भएको हो । बैठकको सुरुमै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य सुरेश अधिकारीले चालु आव २०८० / ८१ का लागि सार्वभौम सदनले पारित गरेका योजना कार्यान्वयन ल्याउनभन्दा सरकारले रोकेको जनाउँदै विरोध जनाउनुभयो । उहाँले भन्नुभयो, “रु १५ लाखका योजना जिल्लामा लगत अनुमान भई कार्यान्वयनका लागि सम्झौता गर्दासमेत रोकिएका छन् । रातो किताब आएका योजना के–कति कारणले रोकिएका हुन् ? सरकारले स्पष्ट कारणसहितको जवाफ दिनुपर्छ ।” 

धेरै जसो जिल्लामा सहमति बेगर पनि रु १०–१५ लाखका सञ्चालन भएर सम्पन्न भइसकेको तर भद्र सहमति कार्यान्वयनमा नआएको भन्दै सदस्य अधिकारीले सार्वभौम सदनबाट पारित भई स्रोत सुनिश्चितता भएका र रातो किताबमा आएका योजना कार्यान्वयनमा ल्याउन सरकारलाई आग्रह गर्नुभयो । 

रातो किताब आएका तर अहिले अगाडि बढ्न नदिएका योजना सञ्चालन नहुन्जेल र कांग्रेसले राखेका माग सरकारले यथाशीघ्र सम्बोधन नगरेसम्म सदनका काम कारवाही अगाडि बढ्न नदिने अडान राखेर सभा अवरुद्ध गरेपछि सभामुख नन्दा गुरुङले आजको बैठक स्थगित भएको जानकारी गराउनुभयो । 

प्रकाशित मितिः आइतबार, १३ जेठ २०८१