बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HYSPGD6RBYCFPD0ZGCJ5PVMW.jpg

कीर्तिमानी आरोही फुञ्जो लामाको स्वागत

१३ जेठ, काठमाडौँ  I पन्ध्र घण्टाभन्दा कम समयममा विश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्न सफल फुञ्जो लामालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ ।     
     
आरोही फुञ्जोले यही जेठ १० गते बिहान सगरमाथा शिखरमा पुगेर सबैभन्दा कम समयमा सगरमाथा आरोहण गर्ने महिला आरोहीको कीर्तिमान कायम गर्नुभएको हो । उहाँ २४ घण्टा २४ मिनेटमा आधार शिविरबाट चुचुरोमा पुग्न र त्यहाँबाट आधार शिविरमा ओर्लेर कीर्तिमान कायम गर्न सफल हुनुभएको हो ।     
     
 विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार उहाँले १४ घण्टा ३१ मिनेटमा शिखर चुम्नुभएको हो । सन् २०१८ मा उहाँले ३९ घण्टा छ मिनेटमा शिखरमा पुग्नुभएको थियो । सन् २०२१ मा हङ्कङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा शिखरमा पुगेर उहाँको कीर्तिमान भङ्ग गर्नुभएको थियो ।     
     
विसं २०४३ मा गोरखाको छेकम्पार बुर्जीगाउँ (चुम भ्याली)मा सामान्य परिवारमा जन्मेकी फुन्जोको सानै उमेरदेखि हिमाल आरोहणमा रुचि थियो । अमेरिकाको ‘डेनाली’ हिमाल चढेर आरोहण यात्रा प्रारम्भ गर्नुभएकी उहाँले चोयु, आमाडब्लम, लापुछे, मनास्लुको सफल आरोहण गर्नुभएको छ । उहाँले फ्रान्सको ‘मोमलङ’ हिमाल पनि आरोहण गरिसक्नुभएको छ ।     
     
आरोही फुञ्क्जोले हिमाल आरोहणका क्रममा दुर्घटनामा परेकालाई उद्धार गर्दै आउनुभएको छ । उहाँले सोलुखुम्बुको खुम्बु र गोरखाको मनास्लु क्षेत्रमा केन्द्रित रहेर उद्धार गर्दै आउनुभएको छ ।     
     
सगरमाथा आरोही सङ्घका महासचिव सापकोटाले फुञ्जोले कायम गरेको कीर्तिमानबाट विश्वभरका महिला आरोहीलाई प्रेरणा मिलेको तथा त्यसले देशको साहसिक पर्यटन विश्वबजारमा प्रवर्द्धन गर्न मद्दत पुग्ने बताउनुभयो ।     
     
विमानस्थलमा उहाँलाई पर्वतारोही, पर्यटन व्यवसायी, सगरमाथा आरोही सङ्घका पदाधिकारी सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख सम्पर्क अधिकृत लगायत साहसिक पर्यटन क्षेत्रका अगुवाले स्वागत गरेका थिए । 

प्रकाशित मितिः आइतबार, १३ जेठ २०८१
https://jawaaf.com/storage/01HYSMWB4XJ772D7B73XCVXNNS.jpg

भोजपुर– खोटाङ जोडिने कोट–पाँचधारे सडकखण्ड स्तरोन्नति हुँदै

१३ जेठ,भोजपुर I  भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट–पाँचधारे सडकको स्तरोन्नति थालिएको छ । वर्षा याममा आवागमन नै अवरुद्ध हुने टेम्केमैयुङ गाउँपालिका–६ कोटक्षेत्रको सात किलोमिटर सडक स्तरोन्नति थालिएको हो ।     
     
सडकको मोड मिलाउने, ग्याविन जाली भर्ने, नाली कटाउने, अप्ठ्यारो ठाउँमा ढलान गर्ने, ग्राभेल गर्नेलगायतको काम भइरहेको छ । छ नम्बर वडा कार्यालयको पहलमा केन्द्र सरकारबाट विनियोजन भएको रु ८० लाख बजेटबाट पिखुवाखोला पुलबाट वडा नं ६ कार्यालयसम्मको सडक स्तरोन्नति थालिएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो । पश्चिमी क्षेत्रको महत्त्वपूर्ण सडक रहेकाले प्राथमिकतासाथ काम अघि बढाएको उहाँले बताउनुभयो । हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भएको छ ।     
     
 सडक स्तरोन्नतिपछि कृषि उपज बजार पुयाउन सहज हुने स्थानीयवासी हरिकुमार राईले बताउनभयो । विगतका वर्षायाममा झै अब सास्ती खेप्नुनपर्नेमा उहाँ ढुक्क हुुनुुहुन्छ ।     
 

प्रकाशित मितिः आइतबार, १३ जेठ २०८१
https://jawaaf.com/storage/01HYSHWZK7E3JY879WF2TSK7DB.jpg

आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार

१३ जेठ, वीरगञ्ज (पर्सा) I  राष्ट्रिय आविष्कार केन्द्रले तीन दशक देखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । 

हाल १० किसिमका साना  कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले बताउनुभयो । धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मेसिन तयार भएका उहाँले बताउनुभयो । यी औजार तथा उपकरणको  मूल्य भने निर्धारण गरिसकेका छैनौँ”, उहाँले उपकरण उपयोगी हुने विश्वास व्यक्त गर्दै भन्नुभयो । 

इन्जिनियर साहले तीन चरणको अथक मेहनतपछि उपकरण बनाउन सफलता मिलेको बताउनुभयो । केन्द्रका कार्यरत मेकानिकल इन्जिनियरहरूको टोलीले कारखानामा रहेका पुराना साना–ठूला गरेर ५५ उपकरणमध्ये ५१ वटा मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने जनाएको छ । हाल केन्द्रमा १५ जना कार्यरत छन् ।

सरकारले २०७९ असोज ११ गते कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाईसञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । केन्द्रले औपचारिक रूपमा २०७९ माघदेखि काम थालेको हो ।

प्रकाशित मितिः आइतबार, १३ जेठ २०८१
https://jawaaf.com/storage/01HYS9VYFBZ8RNDTMH22FQP0H5.jpg

काठमाडौँ उपत्यकाको तापक्रम बढ्दो क्रममा

काठमाडौँ, १३ जेठः हाल देशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको बताएको छ । 

साथै गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा लुम्बिनी प्रदेशका तराई भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत पहाडी भागका केही स्थानमा तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र  हुरीबताससहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, मधेस, वागमती,  गण्डकी  र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावन छ । साथै मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । 

आगामी २४ घण्टामा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षा हुने तथा उच्च पहाडी एवं हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ । यहाँ आज अधिकतम तापक्रम ३१ देखि ३३.४ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । विगत केही दिनदेखि पश्चिम तराइका धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको विभागले बताएको छ । विभागले ती भेगका बासिन्दालाई गर्मीबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । 

प्रकाशित मितिः आइतबार, १३ जेठ २०८१
https://jawaaf.com/storage/01HYS94FNP8DQT242SBFJSGXEY.jpg

जसपा खोटाङको अध्यक्षमा निर्मल राई

खोटाङ, १३ जेठ: अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) खोटाङको अध्यक्षमा निर्मल राई चयन हुनुभएको छ । जसपाको शनिबार दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भेलाले तत्कालीन जनता समाजवादी पार्टी नेपाल हुँदा उपाध्यक्ष रहनुभएका राईलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।     
     
जसपाको जिल्ला भेलाले राईको नेतृत्वमा एक सय ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । नवगठित जिल्ला कार्यसमितिको उपाध्यक्षमा गुरुराज राई र नैनकला राई, सचिवमा वीरेन्द्र दर्नाल, सहसचिवमा टीकाराम राई, शान्तिकला राई, प्रितीराज राई र कोषाध्यक्षमा गन्धमान राई चयन हुनुभएको छ ।     
     
जिल्ला भेलामा केन्द्रीय सदस्य देवराज राई, रमेश राई, सनबहादुर राई, सङ्घीय परिषद् सदस्य राकेश राई र समाजवादी विद्यार्थी युनियनका केन्द्रीय महासचिव प्रकाश चाम्लिङ रार्ईको उपस्थिति थियो । भेलाले अग्निप्रसाद राई, मुगाधन राई, डिल्लीराज राई, शान्ता राई, राजहरि राई, नगेन्द्रराज चाम्लिङ, देवराज राई, खड्गबहादुर राई, शिवकृष्ण राई, कम्पसेर राईलगायतलाई सदस्यमा चयन गरेको छ ।     
     
 

प्रकाशित मितिः आइतबार, १३ जेठ २०८१
https://jawaaf.com/storage/01HYS5EXHAEJPTJVDCK3SHYFQV.jpg

नेवार समुदायका युवायुवतीलाई वाद्यवादन तालिम

दमौली (तनहुँ) १३ जेठ: गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा शुक्लागण्डकी नगरपालिका–४ मा नेवार समुदायका युवायुवतीलाई धिमे बाजा बजाउने तालिमको व्यवस्था भएको छ ।     
     
धिमे बाजाबारे पछिल्लो पुस्ता अनभिज्ञ रहेकाले तालिमको व्यवस्था गरिएको अरिदेव नेवा पुचः कोषका अध्यक्ष ज्ञाननारायण श्रेष्ठले राससलाई बताउनुभयो । कोषले नै ४० जना युवायुवती छनोट गरेर एकमहिने तालिम सुरु गरेको हो । तालिम शनिबारदेखि प्रारम्भ भएको हो ।     
     
“संस्कृति संरक्षण गर्न प्रज्ञा प्रतिष्ठानको सहयोगमा तालिम सञ्चालन गरिएको हो । यसबाट वर्तमान पुस्तालाई संस्कृति संरक्षण गर्नुपर्छ भन्ने प्रेरणा मिल्ने विश्वास छ ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।     
     
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य –सचिव मनकुमार श्रेष्ठले सबै समुदायका भाषा संस्कृति, संस्कार संरक्षणका लागि प्रतिष्ठानले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । आफ्नो भाषा, संस्कृति जोगाउन सम्बन्धित समुदाय नै क्रियाशील हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।     
     
गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले भाषा संस्कृति र संस्कार हरेक समुदायको परिचय एवं गौरव भएकाले त्यसको संरक्षण आवश्यक छ भन्नुभयो ।     
 

प्रकाशित मितिः आइतबार, १३ जेठ २०८१
https://jawaaf.com/storage/01HYR7JCGV9SZ4PG62BFE98528.jpg

भोजपुरको बतासे मूलाबारीमा चिया प्रशोधन कारखाना

टक्सार (भोजपुर), १२ जेठ : भोजपुरको रामप्रसाद राई गाउँपालिका– २ बतासे मूलाबारीमा चिया कारखानाको स्थापना गरिएको छ । जिल्लामा चिया खेतीको व्यावसायिक उत्पादन सुरू भएपछि कारखाना स्थापना गरिएको र त्यसबाट तयारी अर्थोडक्स चियाका विभिन्न ब्राण्ड र प्याकेजहरू उत्पादन गरिने थामडाँडा–टेम्के–सिलिचुङ कृषि सहकारी लिमिटेडका अध्यक्ष गणेश राईले जानकारी दिनुभययो ।   
  
इलाम र झापामा मात्र चिया खेती हुन्छ भन्ने भर्मलाई चिदै जिल्लामा व्यावसायिक चिया खेती सुरू भएपछि त्यसको व्यवसायिकरणका कारखाना उपयोगी हुने उहाँको भनाइ छ । “जिल्लाका अधिकांश क्षेत्रहरुमा अहिले व्यावसायिक चिया खेती सुरू भएको छ अहिले हाम्रो संस्थाले नै भोजपुर र खोटाङ जिल्लाका १५ वटा बगानमा दुई हजार रोपनी क्षेत्रफलमा चिया खेती गरिरहेको छ । त्यसबाट व्यवसायिक उत्पादन, ब्राण्डिङ् र प्याकेजिङ् गर्न कारखाना स्थापना गरेका छौँ”, उहाँले भन्नुभयो । हाल जिल्लाको बतासे, पामाखाम, भस्मेचौर, देवनटार, नागथान बगानबाट प्रतिदिन पाँच सय केजी हरियो चिया टिप्ने काम भइरहेको अध्यक्ष राईले बताउनुभयो । कारखाना स्थापनासँगै प्रशोधन कार्यको पनि औपचारिक थालनी गरिएकाले चिया उत्पादक कृषकलाई थप उत्साह थपेको उहाँले बताउनुभयो ।   
  
सहकारीका सचिव रामकुमार राईले उद्योग स्थापनापछि स्थानीयस्तरमा थप रोजगारी सिर्जना हुने अपेक्षा गरिएको बताउनुभयो । “हाल कारखानाबाट ग्रीन टी, ब्लाक टी, येल्लो टी, व्हाइट टी, रेड टी जस्ता चियाका उत्पादन सुरू गरेका छौँ । व्यावसायिक खेती र उद्योगको स्थापनासँगै स्थानीयले रोजगारीको अवसर पाएका छन्”, उहाँले भनाइ थियो ।   
  
जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले बतासे मूलाबारीमा चिया कारखानाको स्थापना भएसँगै चिया खेतीमा भोजपुर पनि परिचित हुने धारणा राख्नुभयो । राईले भन्नुभयो, “भोजपुरको खुला खर्क, चउर, डाँडाकाँडा, खेतवारीमा व्यावसायिक चियाखेती विस्तार भएको छ, यसले दुर्गम ग्रामीण भेगका कृषकको जीवनस्तर उकास्ने कार्यमा पनि सहयोग गर्छ ।”   
  
सहकारीले विश्व प्रकृति संरक्षण अभियन्ता पिके शेर्पालाई संस्थाका तर्फबाट विश्व चियादूतको उपाधि प्रदान गरेको छ ।   
  
यस्तै टेम्केमैयुङ गाउँपालिकामा पनि विगत १२ वर्षदेखि गरस चिया उद्योग सञ्चालनमा छ । यो उद्योगले राष्ट्रिय चिया तथा कफी खेती बोर्डबाट ट्रेडमार्क पाइसकेको छ । भोजपुरको दक्षिणमा रहेको आमचोक गाउँपालिकाले सार्वजनिक जग्गामा पर्ने खुला खर्क, चउर, डाँडाकाँडामा व्यावसायिक चियाखेती विस्तार गरी दुर्गम ग्रामिण भेगका कृषकहरुको जिवनस्तर उकास्ने लक्ष्यका साथ चिया खेती विस्तार कार्यक्रमसमेत सुरू गरिएको छ ।   
  
आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले सिंगो गाउँपालिकाको आर्थिक उन्नति र पर्यटन प्रवदर््धनमा टेवा पु¥याउने उद्देश्यले गाउँपालिकाका सार्वजनिक जग्गामा गाउँपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत चिया खेती विस्तार गरिएको बताउनुभयो । “खेर गइरहेका सार्वजनिक खुला खर्क, चउरी डाँडामा चिया लगाएर व्यावसायिक रुपमा सिङ्गो गाउँपालिकालाई पर्यटन, रोजगारी र अर्थोपार्जन जस्ता क्षेत्रमा बहुआयामिक बनाउने तयारीका साथ खेती विस्तार गरिएको छ”, अध्यक्ष राईले भन्नुभयो,“यसले गाउँपालिकाभित्रै रोजगारी सिर्जनाका साथै सुन्दरता थप्न र पर्यटन विकासमा समेत टेवा पु¥याउने छ ।”   
---  

प्रकाशित मितिः शनिबार, १२ जेठ २०८१
https://jawaaf.com/storage/01HYR70TQ94WT0E1ZJZQHQWTYE.jpg

सुदूरपश्चिममा मन्त्रिपरिषद्ले पूर्णता पाएन

सुदूरपश्चिम, १२ जेठः सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वमा सरकार बनेको एक महिना बितिसक्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सकिएको छैन । संविधानको धारा १६८ (२) अनुसार वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले यही जेठ ३ गते विश्वासको मत पाइसक्न्ुभएको छ । विश्वासको मत पाएलगत्तै एक–दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने भने पनि अहिलेसम्म पूर्णता दिन सकिरहनुभएको छैन ।   
  
मुख्यमन्त्रीको दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका उपनेता प्रकाश रावलले मन्त्रिपरिषद्लाई पूर्णता दिन भइरहेको सत्तासाझेदार दलले सहयोग नगरेको बताउनुभयो । “हाम्रो कारणले मन्त्रिपरिषद् पूर्णता दिन ढिलाइ भएको होइन । यो सकसका बारेमा सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र संसदीय दलका नेतालाई तपाईँहरूले प्रश्न गर्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो । उहाँले मन्त्रालय फुटाएर कसैलाई मन्त्री बनाउँदा गलत सन्देश जाने भएकाले समाजवादी मन्त्रालय फुटाउने पक्षमा नरहेको पनि उहाँले बताउनुभयो ।   
  
कुन मन्त्रालय कसले लिने भन्ने विषयमा सत्ता साझेदार दलहरूबीच कुरा नमिल्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन सकस भइरहेको बताइएको छ । नेकपा (एमाले)ले सोडारी नेतृत्वको सरकारलाई विश्वासको मत दिए पनि तत्काल सरकारमा नजाने यसअघिको निर्णय अझै परिवर्तन गरेको छैन । एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य धर्मराज पाठकले भन्नुभयो, “अर्को निर्णय नगर्दासम्म एमाले मन्त्रिमण्डलमा नजाने भन्ने हो, सरकारमा जाने वा नजाने विषयमा पार्टीको केन्द्रीय नेतृत्वसँग परामर्श र प्रदेशमा सत्ता साझेदार दलसँग छलफल गरिरहेका छौँ ।”   
  
नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी भौतिक पूर्वाधार विकास र टीका थापा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । अन्य मन्त्रालय मुख्यमन्त्रीले आफैँसँग राख्नुभएको छ । सामाजिक विकास, आर्थिक मामिला, उद्योग, पर्यटन वन तथा वातावरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्रीविहीन छन् ।   
  
यसैबीच सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन यही जेठ १३ गते सुरू हुँदैछ । प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १८३ उपधारा १ बमोजिम सुदूरपश्चिम प्रदेशको चौथो अधिवेशन यही जेठ १३ गते आइतबार अपराह्न ३ बजे बस्नेगरी आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।  

प्रकाशित मितिः शनिबार, १२ जेठ २०८१
https://jawaaf.com/storage/01HYR2GTF9EC4NQ74KZZ5HSV5M.jpg

कार्यादेश टुङ्गोमा पुर्‍याउन शीर्ष नेता बैठकमा

काठमाडौ, १२ जेठ : संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गोमा पुर्‍याउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ । शीर्ष नेताबीचको उक्त बैठकले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने कार्यादेशमा सहमति जुटाउने छ ।   
  
सङ्घीय संसद्का दुवै सदनमा जारी गतिरोध अन्त्य गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु प्रतिनिधि सम्मिलित कार्यदलमा सहमति जुटाउने अन्तिम बिन्दुमा पुगेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताउनुभयो । सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले भन्नुभयो– “निकास निकाल्न अन्तिम बिन्दुमा पुगेका छौँ, कार्यदलको बैठकमा भएको छलफलको विस्तृत विषयलाई प्रमुख दलका शीर्ष नेताहरुबीच राख्दैछौँ । यसलाई अन्तिम टुङ्गोमा पुर्याउन कार्यदलको आजको छलफल निकै महत्वपूर्ण रह्यो ।”   
  
मन्त्री गिरीका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रतिनिधिले कार्यदलको बैठकमा सहकारीको रकम अपचलन तथा हिनामिनाको विषयमा संसदीय छानबिन समिति गठन गर्दा निश्चित व्यक्ति एवं पदाधिकारी किटान गर्नुपर्ने माग दोहोर्याउनुभएको थियो । “हामी सहमति नजिक नजिक पुगेका छौँ । कुनै कम्पनीसँग सम्बन्धित रहेर छानबिन गर्ने भनिसकेपछि उक्त कम्पनीमा को को जिम्मेवार थिए भन्ने कुरा छानबिनको क्रमपछि थाहा हुन्छ, त्यसमा यी यी व्यक्ति भनिरहनुपर्दैन”, उहाँले भन्नुभयो, “जुनजुन सहकारीबाट रकम लगिएको छ वा अपचलन भएको छ, नियमविपरीत रकम गएको छ । जुनजुन कम्पनीले लिएको भन्ने विषय उठेको छ, ती कम्पनी तथा सहकारी संस्थाको नाम उल्लेख गरौँ र त्यसैलाई केन्द्रबिन्दुमा राखेर छानबिन गर्ने गरी छानबिन समिति बनाउन सकिन्छ भन्ने कुरा आएको छ ।”   
  
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना भएको सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गरेपछि छानबिन समिति गठन गर्न एक साताअघि समझदारी भएको थियो । समझदारी भए पनि समितिको कार्यादेशबारे टुङ्गो नलाग्दा गतिरोध कायमै छ । कार्यदलको बैठक लगतै प्रमुख दलका शीर्षनेताहरूबीच संसद्को गतिरोध हटाउने विषयमा पुनःबैठक बसेको हो ।  

प्रकाशित मितिः शनिबार, १२ जेठ २०८१
https://jawaaf.com/storage/01HYR28DTFKWAD5WEQ8TFE96P7.jpg

‘थाइराइड देखिँदैमा सन्तान जन्मिदैन भन्ने भ्रममात्र’

काठमाडौँ, १३ जेठ : पछिल्लो समय नसर्ने रोग थाइराइडको समस्या बढ्दै गएको छ । चिकित्सकहरूका अनुसार पुरुषको दाँजोमा महिलामा थाइराइडको समस्या बढी छ । थाइराइड फेडेरेशन इन्टरनेशलका अनुसार प्रत्येक आठ महिलामध्ये एकले आफ्नो जीवनकालमा थाइराइडको समस्या भोग्न सक्छन् ।   
  
महिलामा थाइराइडको समस्या देखिए बच्चा बस्दैन भन्ने बुझाइ भ्रममात्र भएको चिकित्स बताउँछन् । महिलामा थाइराइडको समस्या हुँदा महिनावरी गडबढी हुने, छाला सुक्खा हुँदै जाने, कपाल झर्ने, मुड परिवर्तन भइराख्ने, जाँगर नचल्ने र थकाइ बढी लाग्ने सम्भावना हुन्छ । हार्मोन, थाइराइड तथा मधुमेह रोग विशेषज्ञ डा रुपक भारी भन्नुहुन्छ– “थाइराइडको समस्या भएर बच्चा जन्मिदैन भनेर महिलालाई विभेद गरिन्छ, त्यो सरासर गलत हो ।”   
  
उहाँ भन्नुहुन्छ, “थाइराइडको समस्या हुँदा सजिलै बच्चा नबस्ने, बच्चा बसे पनि खेर जाने अथवा कमजोर बच्चा जन्मिने हुन्छ । तर बच्चै नहुने भन्ने हुन्न ।” कतिपय समस्या भोगेका महिलाले परिवार तथा सामाजबाट यातनासमेत पाउने गरेको उहाँ बताउनुहुन्छ । थाइराइडको समस्याले भन्दा पनि समाज र परिवारले दिने यातनाको तनावले बच्चा नजन्मिने खतरा हुने डा भारीको भनाइ छ । “थाइराइडका कारण नहुने भन्ने हुन्न । हर्मोन सन्तुलन गर्ने उपचारपश्चात महिलाले बच्चा जन्माउन सक्छन्”, उहाँले भन्नुभयो । थाइराइड कुनै रोग होइन, यो घाँटीमा हुने ग्रन्थी भएको उल्लेख गर्दै डा भारीले यसले हार्मोन उत्पादन गर्ने तथा त्यसमा गडबढी आएमा समस्या हुने बताउनुभयो ।   
  
नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएस)का अनुसार थाइराइड मुख्यतः दुई प्रकारका हुन्छन् । हाइपरथाइरोडिजम (हार्मोन बढी उत्पादन हुने) र हाइपोथाइरोडिजम (हार्मोन कम उत्पादन हुने) । हार्मोन उत्पादन कम भएमा एक्कासी तौल बढ्ने, मुटुको चाल कम हुने, रक्तचाप कम हुने, छाला सुक्खा हुने तथा कब्जियत हुनसक्छ । हार्मोन उत्पादन बढी भएमा शरीरको तौल घट्ने, मुटुको धड्कन तेज भएर जाने, रक्तचाप बढ्ने, आँखाको गेडी नै बाहिर निस्केलाजस्तो ठूलो भएर जाने, आत्तिने र पसिना चिटचिट हुने समस्या देखिन्छ ।   
  
डा भारीका अनुसार थाइराइडको समस्या जोकोहीलाई र जुनसुकै उमेरमा पनि देखिन सक्छ । उहाँ भन्नुहुन्छ, “हार्मोन उत्पादन कम हुने समस्या बढी देखिने गरेको छ । कुनै पनि रोग वा समस्याको सही समयमा पहिचान भयो भने उपचार सम्भव छ । थाइराइडलाई ठूलो समस्या बनाइएको छ । तर उपचारपछि हार्मोन नियन्त्रणमा ल्याउन सकिन्छ, डराउनुपर्ने कारण छैन ।” थाइराइडको समस्या थाहा पाउन वर्षमा एकपटक थाइराइड फङ्सन टेस्ट (टिएफटी) गर्न उहाँ सुझाउनुहुन्छ ।   
  
“थाइराइडमा खानेकुरा बार्नुपर्ने भन्ने छैन । स्वस्थकर खाना मजाले खान सकिन्छ । स्वस्थ जीवनशैली अपनाउन जरुरी छ । स्वस्थकर खाना, सकरात्मक सोच, शरीरको तौल नियन्त्रण, नियमित व्यायाम गर्न आवश्यक छ”, डा भारी भन्नुहुन्छ ।   
  
हरेक वर्ष मे २५ तारिखमा विश्व थाइराइड दिवस मनाइन्छ । यस वर्षको विश्व थाइराइड दिवसको नारा थाइराइडलाई नसर्ने रोगको रूपमा लैजाने भनिएको छ । थाइराइड ग्रन्थीको महत्व र थाइराइड रोग भएका व्यक्तिलाई सही निदान र उचित उपचार सुविधामा पहुँचका विषयमा छलफल तथा चेतना जगाउन यो दिवस मनाइन्छ । थाइराइड फेडरेशन इन्टरनेशलका अनुसार विश्वभर थाइराइडको जोखिममा एक अर्ब ६० करोड व्यक्ति रहेको अनुमान गरिएको छ । थाइराइड रोग पुरुषभन्दा महिलामा १० गुणा बढी देखिने गरेको बताइन्छ ।   

प्रकाशित मितिः शनिबार, १२ जेठ २०८१