भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी
कञ्चनपुर, १६ जेठ I कञ्चनपुरमा बाँसको प्रयोग गरी भूक्षय नियन्त्रण गर्न निर्माण गरिँदै आएको जैविक तटबन्ध प्रभावकारी हुँदै गएको छ । थोरै लागतमा निर्माण हुने जैविक तटबन्धबाट खेतीयोग्य जग्गा नदीले कटान गरी बगाउने कार्य नियन्त्रण हुन थालेको छ ।
जैविक तटबन्ध प्रभावकारी हुन थालेपछि स्थानीय तहहरूले दातृ निकायसँग सहकार्य गरी काम अगाडि बढाउँदै आएका छन् । जिल्लाका दोदा, वनहरा, सनवोरालगायत नदीमा दशकअघिदेखि जैविक तटबन्ध निर्माण गर्ने कार्य हँुदै आएको छ । हाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए)ले ‘मर्सिकोर’को सहयोगमा सञ्चालन हुँदै आएको ‘एमरेड परियोजना’अन्तर्गत पालिकासँग सहकार्य गरी जैविक तटबन्ध निर्माण गर्दै आएको छ । यसअघि नेपाल रेडक्रस सोसाइटीले परियोजनासँगको सहकार्यमा जैविक तटबन्ध निर्माण गर्दै आएको थियो ।
चालु आर्थिक वर्षमा शुक्लाफाँटा नगरपालिकासँगको लागत साझेदारीमा कल्याण सङ्घले एमरेड परियोजनाअन्तर्गत तीन सय मिटर जैविक तटबन्ध निर्माण गरेको छ । नगरपालिकाको वडा नं ११, २ र ३ भएर बग्ने सनवोरा नदीमा जैविक तटबन्ध निर्माण गरिएको छ । एमरेड परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेका अनुसार नगरपालिका र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घको सहकार्यमा जैविक तटबन्ध निर्माण गरिएको हो ।
कटानको उच्च जोखिममा रहेको वडा नं ११ कलुवापुरमा एक सय, वडा नं २ मा एक सय र ३ मा एक सय मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । जैविक तटबन्ध निर्माणका लागि नगरपालिकाको तर्फबाट रु एक लाख ७९ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक सय २६ दिनको रोजगारीवापत दक्ष र अदक्ष कामदारको रु ८३ हजार ज्याला ब्यहोरिएको छ । यसैगरी जनताको तटबन्धबाट रु ६ हजार तीन सय प्लाष्टिकका बोरा सहयोग गरिएको छ । स्थानीय समुदायले रु एक लाख २६ हजार बराबरको श्रमदान गरेका छन् । परियोजनाको तर्फबाट रु एक लाख ७२ हजार रकम व्यहोरिएको छ ।
पुर्नवास नगरपालिका–७ परासन र वडा नं ९ सीताबस्तीको दोदा नदीमा नगरपालिकासँगको सहकार्यमा परियोजनाअन्तर्गत पाँच सय मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । जैविक तटबन्ध निर्माणका लागि नगरपालिकाले रु तीन लाख ३९ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रु पाँच सय २० दिनको रोजगारीअन्तर्गत रु तीन लाख ४७ हजार र परियोजनाको तर्फबाट रु तीन लाख रकम व्यहोरिएको छ । तटबन्ध निर्माण गर्न स्थानीय समुदायले रु एक लाख १० हजार बराबरको श्रमदान गरेको छ ।
“जैविक तटबन्ध निर्माण गरिएका क्षेत्रका समुदायलाई सङ्गठित गरी खाली रहेको बगरमा उखुखेती प्रवर्द्धनमा सहयोग गरेका छौँ”, संयोजक घिमिरले भन्नुभयो, “परियोजनाअन्तर्गत शुक्लाफाँटामा सात बिघामा २५ परिवारले उखुखेती गरेका छन् ।” पुर्नवास नगरपालिका नदी तटीय क्षेत्रका परिवारले पनि उखुखेती गर्दै आएका छन् । उखुको जराले माटोलाई बाँधेर राख्ने कार्य गर्ने भएकाले भूक्षयबाट रोक्ने र उखु बिक्री गरी नदी प्रभावित समुदायले गतिलो आम्दानी गर्दै आएको संयोजक घिमिरेले बताउनुभयो ।
“उखुखेती गर्दै आएका किसानका लागि बजार प्रवर्द्धन गर्न चिनी मिल, सम्बन्धित पालिकाको कृषि विकास शाखासँग समन्वय र सहकार्य गरेका छौँ”, उहाँले भन्नुभयो, “बीउमा सहयोग, उखु रोप्ने प्राविधिक जानकारी, आधुनिक कृषि औजारमा सहयोग गर्ने कार्य हुँदै आएको छ ।” जैविक तटबन्ध निर्माण भएका क्षेत्रमा पानी सहन सक्ने, छिटो हुर्कने, बलियो र गहिरो जरा हाल्न सक्ने क्षमता भएका बिरुवा लगाउने काम पनि हुँदै आएका छन् ।
राष्ट्रिय समाज कल्याण सङ्घका कार्यकारी निर्देशक अशोकविक्रम जैरुले जैविक तटबन्ध भूक्षय रोक्नमा प्रभावकारी भएकाले यसको माग पालिकाहरूबाट बढ्दो रूपमा आउन थालेको बताउनुभयो । “जैविक तटबन्धको महत्व नबुझ्दा विगतमा सीमित क्षेत्रमा मात्रै निर्माण हुने गरेको थियो, थोरै लगानीमा निकै ठूलो फाइदा पुर्याउन थालेपछि तटबन्ध निर्माणमा स्थानीय तहले सहकार्य गर्न थालेका छन्”, उहाँले भन्नुभयो । बगरमा उखुखेती र बगरखेती गर्न प्रोत्साहीत गर्दै आएकाले स्थानीय समुदायको आर्थिक अवस्थमा सुधार आएको पाइएको कार्यकारी निर्देशक जैरुले उल्लेख गर्नुभयो ।
‘विश्वको साझा सम्पत्ति सगरमाथा जोगाऔँ‘
काठमाडौँ, १६ जेठ I सन् २०१९ को वसन्तयामको सगरमाथा आरोहणका क्रममा आरोहीको ट्राफिक जामको खबर नेपालसहित विश्वका चर्चित सञ्चारमाध्यममा पनि छायो । मे २१ मा सगरमाथाको चुचुरो नजिक भएको सो जामको समाचार बिबीसी, सीएनएनलगायतका सञ्चारमाध्यमले पनि प्रशारण गरे । समाचारसँगै छापिएको थियो सगरमाथा आरोहीको भीडको तस्वीर । यति विषय पाएपछि सामाजिक सञ्जालमा नआउने झन् कुरै भएन । तर यता नेपाल सरकारद्वारा गठित छानबिन समितिले भने सगरमाथामा जाम नभई लाम लागेको निष्कर्ष निकालेको थियो ।
पछिल्लो समय हरेक वर्षजसो सगरमाथामा आरोहीको जाम हुने गरेको छ । सगरमाथाको साउथ कोल भनेर चिनिने चौथो शिविर माथितिर हरेक आरोहणको याममा आरोहीको भीड लाग्ने गरेको छ । मौसम अनुकूल आरोहण अवधि छोटो समय भएकाले सबै आरोही एकैपटक गन्तव्यमा पुग्नुपर्ने बाध्यताले सगरमाथामा आरोहीको जाम हुने गरेको आरोहीको अनुभव छ । सगरमाथा आरोहणको समयलाई व्यवस्थित गर्न सकेको खण्डमा आरोहीको सङ्ख्या बाक्लो भए पनि आरोहीको ट्राफिक जाम कम हुने सगरमाथा आरोही ज्ञानेन्द्र श्रेष्ठ बताउनुहुन्छ । “समिट विन्डो’ कम हुने भएकाले सगरमाथामा आरोहीको जाम हुने गरेको छ”, उहाँले भन्नुभयो, “मे महिनाका सीमित केही दिनमा मात्रै आरोही चुुचरोमा पुग्नुपर्ने बाध्यता हुन्छ ।”
चुचुरो आसपासमा हिमपात र वायुको गतिजस्ता चुनौती केही सहज बन्छन् । त्यही दिनलाई व्यग्रतासाथ कुरे मौसमी हिासाबकिताब गर्दै आरोहीहरु चुचुरोसम्म पुग्छन् । ‘समिट विन्डो’ भनिने त्यस्तो छोटो समयमा अरु बेला प्रतिघण्टा दुई सय किलोमिटरको वेगमा हुने चुचुरोमा चल्ने वायुले केही उत्तरतर्फ मार्ग फेर्छ । यस्तो विन्डो एक–दुई दिन र कहिले दिनमै धेरैपकट फेरबदल भइरहन्छ ।
श्रेष्ठका अनुसार वसन्तयाम सगरमाथा आरोहणको उपयुक्त समय हो । मे महिनामा सामान्यतया पाँच–छवटा त्यस्ता विन्डो देखिन्छन् । सगरमाथा आरोहणका लागि अलि फराकिलो विन्डो भएका बेला धेरैजसो आरोही उकालो लाग्न थाल्छन् । ढिलो गर्दा कहिलेकाहीँ पछिल्ला अवधिमा विन्डो देखा नपर्न सक्ने जोखिम भएकाले आरोहीहरू अघिल्लो विन्डोमा जान खोज्छन् । यस्तै परिस्थितिमाझ सगरमाथामा ट्राफिक जामको अवस्था सिर्जना हुने गरेको आरोही श्रेष्ठले बताउनुभयो । सगरमाथा आरोहण सुरु हुने १५ दिन अगाडि नै ‘रोप फिक्सिङ’ गर्न सकेको खण्डमा आरोहीको सङ्ख्या पाँच–छ सय भएर पनि केही फरक नपर्ने आरोही श्रेष्ठको भनाइ छ ।
आरोही श्रेष्ठले सगरमाथामा आरोहणको प्रतिस्पर्धा, पर्वतारोहणको तयारीबिनै रेकर्डको होडबाजीले सर्वोच्च शिखर पुग्ने सस्तो लोकप्रियताले सगरमाथाको गरिमा घटाउने बताउनुभयो । विदेशी मुद्राका लागि पर्यटनमा उच्च निर्भर नेपालका लागि आरोहीको सङ्ख्या बढ्नु सुखद् भए पनि अन्तर्राष्ट्रिय जगत्मा यो सङ्ख्यालाई विभिन्न नकारात्मक टीकाटिप्पणी गर्न थलिएको उहाँको भनाइ छ ।
पछिल्लो पाँच वर्षयता सगरमाथामा आरोहीको भीड लाग्ने गरेको छ । एकैदिन एक सयभन्दा बढी आरोही चुचुरोमा पुगेको विषयले पनि निकै चर्चा पाइरहेको छ । वसन्त ऋतुको यो याममा पनि सगरमाथाको चुचुरोमा आरोहीको जाम भएको श्रव्यदृश्य सामाजिक सञ्जालमा छाएको छ । पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार यस याममा चार सय २१ जनाले सगरमाथा आरोहणको अनुमति लिएकामा शेर्पा सहयोगीसहित ६ सयभन्दा बढीले आरोहण गरेका छन् । अघिल्लो वर्ष सन् २०२३ मा हालसम्मकै बढी चार सय ७८ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए । उनीहरूमध्ये शेर्पा सहयोगीसहित सात सयभन्दा बढीले सगरमाथा आरोहण गरेको जनाइएको छ ।
सगरमाथा आरोहणमा जाने आरोहीको कोटा र आरोहण समयमै तोक्न हालै सर्वोच्च अदालतले आदेश दिएको छ । अधिवक्ता दिवकविक्रम मिश्रले दायर गरेको सार्वजनिक सरोकारको रिटमा गत वैशाख १४ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उत्प्रेषण परमादेश जारी गरेको हो । उक्त आदेशानुसार अब हुने पर्वतारोहणको क्रममा पर्वतको सामथ्र्यताको सम्मान गर्दै उसको सीमाको मान्यता दिनुपर्ने भनेको छ ।
नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले सगरमाथा आरोहणमा निश्चित सङ्ख्या निर्धारण हुन जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सगरमाथा आरोहमा ‘लिमिट’ गरिनुपर्छ । सङ्ख्या बढी हुँदा आरोहीको जामलाग्ने, फोहर हुने अन्य जोखिम पनि बढ्ने हुँदा आरोहीको सङ्ख्या तीन सय हाराहारी हुँदा भीडभाड कम र फोहरमैला व्यवस्थापनमा पनि सहज हुन्छ ।”
महासचिव लम्सालले यस याममा पनि सगरमाथामा जाम लागेको तस्बिर सामाजिक सञ्जालमा आइरहेको भन्दै सगरमाथाको शानलाई बचाउन, जलवायु परिवर्तनको जोखिमबाट जोगाउन, स्वच्छता कायम गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । सगरमाथमा जाम हँुदा अक्सिजन कम भएर आरोहीको मृत्यु हुने जोखिम रहन्छ । विभागका अनुसार यस याममा सगरमाथा आरोहणका क्रममा नौजनाको मृत्यु भएको छ । अघिल्लो याममा १८ जनाको मृत्यु भएको थियो । यस वर्ष मकालु हिमालमा पनि दुई आरोहीको मृत्यु भएको छ ।
एकहत्तरौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइरहँदा सगरमाथाको पहिचान र गौरवलाई कायम राख्न अपनाउनुपर्ने सचेतनाबारे पनि उत्तिकै ध्यान दिन जरुरी छ । विश्वको सर्वोच्च शिखर सगरमाथा (आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर) को चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेको ७१ वर्ष पुगेको छ । सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङनोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । यो अवधिमा सगरमाथाले इज्जत, मान, प्रतिष्ठा र आर्थिक हिसाबले पनि नेपाललाई मात्रै होइन, विश्वलाई धेरै दिएको छ । विश्वको साँझा सम्पत्तिको रूपमा रहेको सगरमाथालाई जोगाउने साझा दायित्व पनि हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ सगरमाथा देशको शान, अन्तर्राष्ट्रिय साझा सम्पदा पनि भएकाले यसको संरक्षण गरी पहिचान र गरिमालाई उँचो बनाउन सबै तवरबाट पहल हुनुपर्ने बताउनुहुन्छ । “सगरमाथा नेपालको भूमिमा रहेको अन्तर्राष्ट्रिय सम्पदा हो, यसलाई प्रवर्द्धन गरेर नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउने हाम्रो उद्देश्य हो, त्यसका लागि विगतबाट सिकेर आगामी दिनमा गर्नुपर्ने काम पक्कै पनि गर्नेछौँ”, उहाँले भन्नुभयो । सगरमाथा आरोहणलाई व्यवस्थित बनाउन विगतको भन्दा यस वर्ष व्यवस्थापकीय हिसाबले धेरै सकारात्मक काम भएको मन्त्री तामाङको भनाइ छ ।
सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरिएको, आरोहीको उद्धार केन्द्र बनाउनेलगायत गर्नुपर्ने कामलाई आगामी दिनमा प्राथमिकता दिने पर्यटनमन्त्री तामाङको भनाइ छ । उहाँका अनुसार सगरमाथा दिवसका अवसरमा यसपटक स्वदेशी तथा विदेशी सगरमाथा आरोहीलाई परिचयपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । साथै कीर्तिमानी आरोही, विदेशी आरोहीलाई सम्मान गरिनेछ ।
यसरी बर्सेनि आरोहीको ट्राफिक जामले सगरमाथाको शान जोगाउन चुनौती बनिरहेको छ । सगरमाथालाई वातावरणमैत्री, सफा राख्न नेपाल मात्र होइन विश्वकै ध्यान जान जरुरी छ । विश्वको सम्पदा संसारकै अग्लो चुली सगरमाथाको गरिमालाई कायम राख्न तथा जलवायु परिवर्तनको जोखिमबाट यसलाई जोगाउन ध्यान दिनुपर्ने अपरिहार्यता छ । आरोहीको सङ्ख्या बढ्दा देशको अर्थतन्त्रमा समेत टेवा पुग्छ । तर पैसालाई मात्र हेरेर हिमालको संरक्षण नगर्ने हो भने एक दिन सगरमाथा पनि कालापत्थरमा परिणत नहोला भन्न सकिन्न ।
पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणमा जानेबाट प्रतिव्यक्ति विदेशीले रु ११ लाख दस्तुर तिर्नुपर्छ । नेपालीले रु ७५ हजार तिर्नुपर्छ । विदेशीले एकपटक सगरमाथा आरोहण गर्दा कम्तीमा रु ३० लाखदेखि रु एक करोडसम्म खर्च गर्छन् । मुलुकको पर्यटनको महत्त्वपूर्ण आधार मानिने पर्वतारोहण राजस्व आम्दानीका हिसाबले पनि सबैभन्दा धेरै हिमालबाटै ‘रोयल्टी’ उठ्छ । हिमाल आरोहणवापत वार्षिक झण्डै रु एक अर्ब रोयल्टी रकम जम्मा हुने गरेको बताइन्छ ।
पर्यटन विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले सगरमाथा आरोहणमा रोजगारी, होटल व्यवसाय, हवाई उडान, पोर्टर आदि जोडिएको विषय भएकाले यस विषयमा नीति थितिबेगर यसो गर्ने भनेर भन्न नसकिने बताउनुभयो । तथापि सगरमाथा आरोहणलाई व्यवस्थित गर्न र स्वच्छता र वातावरणमैत्री कायम गर्न सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सगरमाथा आरोहणको ७१ वर्ष
सगरमाथा आरोहणको ७१ वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिङनोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिनुभएको थियो । सोही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे २९ का दिन अन्तर्राष्टिय सगरमाथा दिवस मनाउन थालिएको हो । यस वर्ष पनि नेपाल सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा सगरमाथा दिवस मनाइँदै छ । सोही अवसरमा आज बिहान प्रभातफेरी गरिएको छ ।
यस वर्षको ७१औँ सगरमाथा दिवसका अवसरमा कीर्तिमानी आरोहीहरू र पर्वतीय पर्यटन व्यवसायीलाई सम्मान गर्दै हिमालको प्राकृतिक वातावरणको संरक्षण र दिगो तथा सुरक्षित पर्यटन प्रवर्द्धन गर्ने विषयलाई महत्व दिइएको विभागले जनाएको छ । दिवसको आयोजनाले भावी पुस्तालाई हिमाल आरोहणको सपनाहरू पछ्याउँदै भावी परिदृश्यहरूको सम्मान र संरक्षण गर्नसमेत प्रोत्साहित गर्ने विश्वास लिइएको छ ।
पर्यटन विभागका महानिर्देशक पण्डितका अनुसार दिवसलाई भव्य र सभ्य रूपमा मनाउन पर्यटनमन्त्री तामाङको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा हुने औपचारिक समारोहमा कीर्तिमानी आरोहीलगायतलाई सगरमाथा पुरस्कार, बाबुराम आचार्य पुरस्कार, तेन्जिङ– हिलारी पुरस्कार प्रदान गरिनेछ । अन्तर्राष्ट्रिय सगरमाथा दिवस नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउने गरिन्छ । सर्वोच्च शिखर सगरमाथासहित विश्वका आठ हजार मिटर अग्ला आठवटा हिमाल नेपालमा छन् । नेपालमा हाल चार सय पाँच हिमाल आरोहणका लागि खुला गरिएका छन् ।
आठ हजार बढीले चढे सगरमाथा
सगरमाथा आरोहणको इतिहासमा हालसम्म आठ हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको साहसिक विजययात्रा पूरा गरिसकेका छन् । सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँ–नयाँ कीर्तिमान समेत थप्दै आएका छन् । कामीरिता शेर्पाले ३० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएको छ । उहाँले वसन्त ऋतुको यही याममा आफ्नै कीर्तिमान तोडेर नयाँ कीर्तिमान कायम गर्नुभएको हो । यस्तै गोरखाकी फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभयो । यस्तै फोटो पत्रकार तथा आरोही पूर्णिमा श्रेष्ठले एकै याममा तीनपटक सगरमाथा आरोहण गरेर महिला आरोहीको विश्व कीर्तिमान बनाउनुभयो । फुन्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको छ ।
सन् १९७५ मे १६ तारिखका दिन जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोहीको उपमा पाउनुभएको थियो । नेपालबाट पासाङल्हामु शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो महिला हुनुहुन्छ । एक तथ्याङ्कानुसार हालसम्म चार सयभन्दा बढी आरोहीले सगरमाथाको आरोहणका क्रममा ज्यान गुमाएका छन् ।
पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एण्ड फिगर–२०२३’ का अनुसार नेपाली तेञ्जिङनोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले आरोहण सुरु गरेयता हालसम्म सात हजार ६ सय २६ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । सन् २०२३ र २०२४ को आरोही सङ्ख्या जोड्दा आठ हजार बढी हुन आउँछ । हालसम्म सगरमाथा आरोहण गर्ने महिलामात्र पाँच सय १९ जना पुगेका छन् ।
कुन वर्ष कति आरोही ?
सन् २०२२ मा आरोही तथा सहयोगी शेर्पा समूह गरी ६ सय ५८ जना सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । यसमा दुई ४० आरोही तथा चार सय १८ सहयोगी छन् । सन २०२१ मा एक सय ८३ र दुई सय ७६ सहयोगी गरी कुल चार सय ५९ जनाले सगरमाथा आरोहण गरे भने सन् २०२० मा सगरमाथामा शून्य आरोहण भयो । सन् २०१९ मा दुई सय ८० आरोही र तीन सय ६४ सहयोगी गरी जम्मा ६ सय ४४ जनाले आरोहण गरे । यस्तै सन् २०१८ मा दुई सय ८२ आरोही तथा दुई सय ९८ सहयोगी गरी पाँच सय ६० जनाले सगरमाथा आरोहण गरेका छन् ।
पश्चिम तराईमा तीन दिनसम्म तातो हावा चल्ने
काठमाडौँ I आगामी तीन दिनसम्म मुलुकको पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना छ । गर्मीको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आजदेखि तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।
तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि असर हुनसक्ने देखिएकाले सोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।
तातो हावा तथा तातो लहरबाट बच्न गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत) आदि प्रशस्त मात्रामा पिउन महाशाखाले आग्रह गरेको छ ।
गर्मी अत्यधिक बढेपछि विद्यालयलाई पङ्खा वितरण
विराटनगर I गर्मी अत्यधिक बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयलाई सिलिङ पङ्खा उपलब्ध गराएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित ६१ सामुदायिक विद्यालयलाई पहिलो चरणमा पाँच सय थान सिलिङ पङ्खा उपलब्ध गराएको महानगरले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटबाटै पङ्खा खरिद गरेर विद्यालयका प्राधानाध्यपकहरुलाई वितरण गरिएको विराटनगर महानगरपालिकाका कार्यवाहक प्रमुख मधु तिवारीले जानकारी दिनुभयो । महानगरपालिका प्रमुख नागेश कोइरालाले गत वर्ष नै सबै सामुदायिक विद्यालयका कक्षाकोठामा पङ्खा जडान गर्ने घोषणा गर्नुभएको थियो ।
महानगरको शैक्षिक प्रशासन महाशाखाका अधिकृत सुशील दाहालका अनुसार विद्यालयलाई पाँचदेखि २० थानसम्म सिलिङ पङ्खा उपलब्ध गराइएको छ । सामुदायिक विद्यालयमा एक हजार पङ्खाको आवश्यकता रहेको तर बजेट अभावका कारण तत्काल पाँच सय पङ्खा मात्र वितरण गरिएको उहाँले बताउनुभयो ।
शैक्षिक प्रशाशन महाशाखाअन्तर्गत आव २०८०÷८१ मा विनियोजित रु २० लाख रकमबाट सामुदायिक विद्यालयमा पङ्खा वितरण गरिएको हो । हाल यस क्षेत्रमा दैनिक ३८ देखि ४२ डिग्री सेल्सियससम्मको तापक्रम मापन गरिएको छ ।
एमाले चितवनको अध्यक्षमा पाठक
१६ जेठ, भरतपुर (चितवन) I नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित हुनुभएको छ । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट उहाँ अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला) मा मीनबहादुर परियार तथा उपसचिव (महिला)तर्फ ज्वाला पुरी वन निर्वाचित हुनुभयो । प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीका अनुसार मतदानमा कुल सात सय २९ मत खसेको थियो ।
अधिवेशनमा जिल्लाका सातै पालिका, पार्टीको जनवर्गीय सङ्गठन, सम्पर्क मञ्चलगायतबाट गरी सात सय ३२ र मनोनित २९ गरी जम्मा सात सय ६१ प्रतिनिधि सहभागी थिए ।
बजेटमा कर्णालीः मार्सीधान, करिडोर देखि आधुनिक सहर निर्माण
१६ जेठ, कर्णाली I सङ्घीय सरकारले मङ्गलबार ल्याएको बजेटमा कर्णालीमा नयाँ परियोजना तथा कार्यक्रम सञ्चालन हुने भएका छन् ।
सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट वक्तव्य दिँदा कर्णाली प्रदेशले अपेक्षा गरेअनुसारको बजेट प्राप्त गर्न सकेन । सरकारले जुम्लाको हिमा र तिला आसपासको क्षेत्रलाई मार्सीधान करिडोर, सल्यान र रुकुमको शारदा नदी आसपासको क्षेत्रलाई कृषि करिडोरका रूपमा विकास गर्ने नयाँ परियोजना ल्याएको छ ।
कर्णालीसहित मधेस प्रदेशको पूर्वाधार विकासका लागि रु एक अर्ब ५० करोड छुट्याएको छ । हिमाल समृद्धि कार्यक्रमअन्तर्गत हिमाली क्षेत्रमा भेडा, च्याङ्ग्रा, चौरीलगायतको पशुपालन र स्याउ ओखर र जडीबुटीका फार्म सञ्चालन गर्ने तथा कर्णाली प्रदेशको कृषि र वन पैदावरमा आधारित समृद्ध कर्णाली उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने बजेट भाषणमा उल्लेख गरिएको छ ।
त्यस्तै कर्णालीका दशवटै जिल्लामा सञ्चालन हुने एकीकृत सिँचाइ विकास आयोजनाका लागि रु ८२ बजेट छुट्याएको छ । सुर्खेतको भेरीगङ्गा उपत्यकालाई पहाडी क्षेत्रको आधुनिक सहर बनाउन गुरुयोजना तर्जुमा गर्ने भनिएको छ यद्यपि बजेट कति हुने भन्नेबारे उल्लेख छैन ।
अर्थमन्त्री पुनका अनुसार हवाई यातायातका क्षेत्रमा सुर्खेत र जुम्ला विमानस्थलको स्तरोन्नति गरिनेछ । भेरी करिडोर चार सय केभी प्रसारण लाइनको निर्माण प्रक्रिया अगाडि बढाइनेछ । कर्णालीको आन्तरिक हवाई उडानको विषयमा ठोस कुरा आएन । कर्णालीलाई जडीबुटीको आर्थिक हबका रुपमा विकास गरिने बजेट वक्तव्यमा भनिएको छ ।
जुम्लाको हिमा र तिला नदी किनार आसपास क्षेत्रलाई मार्सीधान करिडोर र स्थानीय र प्रदेशको सल्यान–रुकुममा कृषि करिडोर बनाइने उल्लेख छ भने कर्णाली एकीकृत सिँचाइका लागि ८२ करोड बजेट विनियोजन गरिएको छ । कर्णालीमा कृषि र वन पैदावारमा आधारित समृद्ध कर्णाली उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री पुनले बताउनुभयो ।
बजेट उल्लेख नगरिए पनि कर्णाली र भेरी करिडोरको निर्माणकार्यलाई निरन्तरता दिइनेछ । उक्त करिडोरमा पाँच पुल र ५० किलोमिटर सडक स्तरोन्नति गरिनेछ भने समग्र कर्णालीको महत्त्वपूर्ण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच सय शय्याको बनाइनेछ । आगामी बजेटमा सुर्खेत मेडिकल कलेज स्थापनाको पुरानो योजना सङ्घीय सरकारले अघि बढाउने घोषणा गरिएको छ । यहाँको भौगोलिक विकटताका हिसाबले हेर्दा निकै कम भएको बताइएको छ । कर्णाली प्रदेशको वन कार्बन आकलन गरी रेड कार्यक्रमलाई कार्यान्वयन निरन्तरता दिइनेछ ।
सरकारले जाजरकोट र रुकुमपश्चिममा भूकम्पका कारण भएको क्षतिबाट ध्वस्त संरचना पुनःनिर्माणका लागि रु २१ अर्ब ६० लाख छुट्याएको छ । सरकारले भूकम्पबाट क्षतिग्रस्त भएका निजी भवनको तथ्याङ्क निकालेर पुनःनिर्माण प्रक्रिया अघि बढाउने घोषणा गरेको हो । सङ्घ सरकारले विद्यालय भवनको शीघ्र पुनःनिर्माण गर्ने सरकारको घोषणा छ ।
भेरी–बबई बहुउद्देश्यीय आयोजनाका लागि रु दुई अर्ब रकम विनियोजन गरिएको छ । उक्त रकमबाट आयोजनाको हेर्डबक्स र विद्युत्गृह निर्माण गर्ने जनाइएको छ । आयोजनाबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइने लक्ष्य छ ।
साविक कर्णालीमा जिल्लाहरुमा दिँदै आएको दिवा खाजाको बजेटमा वृद्धि गरिएको छ भने स्वास्थ्यतर्फ सुर्खेतमा मेडिकल कलेज निर्माणको कार्यले निरन्तरता पाउने भएको छ । यो कार्यक्रम विगत १० वर्षदेखि हरेक वर्षको बजेटमा समावेश भएपनि अहिलेसम्म काम अघि बढ्न सकेको छैन । कर्णाली प्रदेशका हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटमा दिइँदै आएको दिवा खाजा वृद्धि गरिएको छ ।
००००
यस्तै उपल्लो डोल्पा, हुम्लाको लिमी उपत्यकालाई नयाँ नमुना बस्ती निर्माण गरी आर्थिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजना सरकारले बनाएको छ तर चालु आर्थिक वर्षमा समेटिएका चौरजहारीमा नयाँ सहर योजना, सुर्खेतको भेरीगंगाको एकीकृत नयाँ सहर योजना र राकम कर्णाली नयाँ सहर योजना आगामी बजेटमा सम्बोधन गरिएको छैन । दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको विषय पनि बजेटमा देखिएन ।
विसं २०८१ मङ्सिरमा वीरेन्द्रनगरमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न ६० करोड विनियोजन गरिएको छ । यो कार्यक्रमका लागि मात्रै हो । सो आयोजना सम्पन्न गर्नका लागि पूर्वाधार निर्माणको क्षेत्रमा सङ्घीय सरकारले बजेट विनियोजन गरेको छैन ।
विद्युत् उत्पादनतर्फ ४१७ मेगावाटको नलसिंगाड, १०६ मेगावाटको जगदुल्ला आयोजना निर्माण गरिने बजेटमा उल्लेख गरिएको छ । माथिल्लो कर्णाली र फुकोट कर्णाली जलविद्युत परियोजनाबारे पनि बजेटमा आएन । भेरी कोरिडोर चार सय केभी विद्युत् प्रसारण लाइन निर्माण गरिने कार्यक्रम ल्याइएको छ ।
कर्णालीवासीको महत्वपूर्ण विकासको पूर्वाधार कोहलपुर–सुर्खेत १३२ केभीए प्रसारण लाइन विस्तारको योजना आएन । कर्णालीको समस्या र आवश्यकतालाई यो बजेटले खासै सम्बोधन गर्न नसकेको कर्णालीका नागरिक समाजका अगुवा पिताम्बर ढकालले जानकारी दिनुभयो ।
बजेट वक्तव्य : एक लाख युवाको रोजगारी सुनिश्चित
काठमाडौँ, १५ जेठ : सरकारले विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका एक लाख युवालाई रोजगारीको सुनिश्चित गर्ने भएको छ ।
सङ्घीय संसद्को सुंयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा विश्वविद्यायबाट अध्ययन पूरा गरेका युवालाई विभिन्न सार्वजनिक निकाय र निजी क्षेत्रसँगको सहकार्यमा उद्योग, व्यवसाय, कृषि तथा पशुपंक्षी फर्म, होटल, पर्यटन, निर्माण क्षेत्रलगायत कार्यस्थल तालिम प्रदान गरी कम्तीमा एक लाख युवालाई रोजगारी सुनिश्चित गर्ने सरकारको योजना रहेको उल्लेख छ । उक्त कार्यक्रमका लागि रु तीन अर्ब विनियोजन गरिएको छ ।
यसैगरी ८२ युवाको क्षमता अभिवृद्धि गरी अन्तरनिहित प्रतिभा सार्वजनिक सेवा प्रवाह र उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रम सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको छ ।
जनता समाजवादी पार्टी प्रदेश नं. १ को समिति गठन
१५ जेष्ठ,धरान । उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपा नेपालबाट अलग भएर अशोक राईको अध्यक्षतामा नयाँ दल जनता समाजवादी पार्टी गठन भएपछि प्रदेश नं. १ मा सो पार्टीको प्रदेश समिति गठन भएको छ ।
हिजो जेष्ठ १४ गते इटहरी-६, स्थित तायारिप्ची बहुउद्देश्यीय भवनको सभाहलमा सम्पन्न प्रदेश स्तरीय भेलाबाट सन बहादुर राईको अध्यक्षतामा ३८ सदस्यीय प्रदेश समिति गठन गरेको हो । समितिका अध्यक्ष राई खोटाङ जिल्ला समन्वय समितिका प्रमुख हुन ।
नयाँ समितिको उपाध्यक्षमा केसरमान गुरुङ,आश कुमार राई चयन भएका छन् भने मुख्य सचिव विनोद नेम्बाङ भएकाछन्। मुख्य सचिव नेम्बाङ इलाम जिल्ला माङ्सेबुङ गाउँ पालिकाका निर्वाचित उपाध्यक्ष हुन । यस्तै, सचिवमा दुर्गा सुवेदी र राम मान्डुपा राई चुनिएका छन् । कोषाध्यक्षमा मनकला लोवा लिम्बु चयनभएकाछन् ।
यसै गरी सदस्यहरूमा केवलराम राई (झापा),सनम राजवंशी (झापा),मिना राई (भोजपुर), गौरीमान राई (झापा),रिता राई (उदयपुर),भक्त बहादुर राई (सोलुखुम्बु),मिरा कार्की (झापा),दुर्गा राई (सुनसरी) महेश राना मगर (सोलुखुम्बु) कुमार सुनुवार (ओखलढुङ्गा),लीला बहादुर सुनुवार (इलाम),विश्वराज राई (उदयपुर),उमेश थापा (झापा),नेत्र नेम्बाङ (ओखलढुङ्गा),रञ्जित राई (इलाम),लक्ष्मी राई (इलाम),गौरी शंकर उदास (उदयपुर),आसमान तामाङ (सङ्खुवासभा),लोक बहादुर राई खकुरा(सङ्खुवासभा),विमला राई (सङ्खुवासभा),कमला रुम्दाली राई (सुनसरी),लीला राई (सुनसरी),आइतमान सम्वाहाम्फे (पाँचथर),नैन बहादुर कटुवाल (खोटाङ),प्रेम कुमार राई (खोटाङ), शन्तिराम गौतम (तेह्रथुम),किसान खजुम (इलाम),जसहाङ साउदेन (इलाम),सरोज वस्नेत (सुनसरी),यज्ञ कुमार राई,विजय राई चयन भएका छन् ।
जनता समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष रनध्वज कन्दङवाको प्रमुख आतिथ्ययता भएको प्रदेश भेलामा पार्टीका केन्द्रीय सल्लाहकार धुर्ब सुब्बा, कार्यकारिणी समिति सदस्य आर्सी तुम्बा, आङाकाजी शेर्पा तथा जसपा केन्द्रीय सदस्य गोपाल राई, रमेश राई, जितमान गुरुङ,यमुना गुरागाईं,उर्मिला राई, विना पुमा लगायतको पनि उपस्थिति रहेको थियो ।
प्रदेश स्तरीय भेला केसरमान गुरुङको अध्यक्षतामा र संचालन गौरीमान राईले गरेका थिए भने स्वागत मत्यव्य राम मान्डुपाले गरेका थिए ।
बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम
१५ जेठ , काठमाडौँ I सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको सामना गर्न अर्थतन्त्र सुधारका कार्यक्रममार्फत समृद्धि हासिल गर्नेलगायत नयाँ कार्यक्रमहरु प्रस्ताव गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषित गरिएको छ ।
बजेटमा आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास तथा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास, समावेशिता र सामाजिक सुरक्षा र सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधारका पाँच प्राथमिकता निर्धारण गरिएको छ ।
आगामी दशकलाई कृषि दशक र आगामी आर्थिक वर्षलाई सूचना प्रविधि र महिलामा लगानी वर्षको प्रस्थान बिन्दु मानिएको बजेटमा टाकुरा पर्यटकीय गन्तव्य, जनकपुरलाई विवाह गन्तव्य र लुम्बिनीलाई ‘बर्थिङ हव’, भरतपुर-बुटवल-पोखरा-भरतपुर जोडेर गण्डकी आर्थिक त्रिभूज, निजगढदेखि ढल्केबरसम्मको पूर्वपश्चिम राजमार्ग आसापासका क्षेत्रलाई नेपाली गलैँचा करिडोरका रुपमा विकास गरिने बजेट वक्तव्यमा उल्लेख छ ।
प्रदेश तथा स्थानीय तहको सहकार्यमा रुकुम र सल्यानको शारदा नदी आसपासका क्षेत्रलाई कृषि करिडोर, जुम्लाको हिमा र तिला नदी आसपासका क्षेत्रलाई मार्सी धान करिडोर, बाराको कोल्वीदेखि सिम्रौनगढ सडक आसापासका क्षेत्रलाई माछा करडोरका रुपमा विकास गरिनेलगायत नयाँ कार्यक्रम बजेटमा समावेश छन् ।
विदेशको आम्दानी स्वदेशमा लगानीअन्तर्गत गैरआवासीय नेपालीको पूँजी, प्रविधि र सीपलाई मातृभूमिसँग जोड्न जन्मस्थलमा ‘गैरआवासीय नेपाली अभियान’ सञ्चालन गरिने बजेटमा उल्लेख छ ।
महिला उद्यमीलाई प्रोत्साहन गर्दै कोशेली घर स्थापना र काठमाडौँको चोभारमा बिक्री प्रदर्शन कक्ष सञ्चालनमा ल्याउने, प्रधानमन्त्री छोरी कार्यक्रम, हाम्रा बा आमा, हाम्रो जिम्मेवारी, रिटर्नी उद्यमशीलता कार्यक्रम, सात प्रदेशमा विद्यालय तहका लागि मेगा भान्छा, ‘साथीबाट सिक्ने, साथीलाई सिकाउने’, ‘एक पालिका, एक डाउनटाउन’, सार्वजनिक सम्पत्तिको मौद्रिकीकरण गर्नेलगायतका विषयमा बजेट वक्तव्यमा समेटिएको छ ।
बजेट उत्साहित हुने खालको छैन : कांग्रेस
१५ जेठ, काठमाडौँ I प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा आगामी आर्थिक वर्ष २०८१ / ८२ ला लागि प्रस्तुत बजेट आमजनता उत्साहित हुने खालको नरहेको प्रतिक्रिया दिएको छ ।
प्रस्तुत बजेटबारे प्रारम्भिक प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले यो बजेटले जे कुरा बोलेको छ, त्यो पूरा हुँदैन भन्नुभयो । उहाँले बजेटमा सम्बोधन गर्नुपर्ने विषय प्राथमिकीकरण नभएको तथा बजेटमा लामो समयदेखिको विकृतिलाई अन्त्य गर्ने कार्यायोजना पनि नरहेको बताउनुभयो ।
सरकारले आगामी आवका लागि कूल खर्च रु १८ अर्ब ६० अर्ब ३० करोड विनियोजन गरेको छ । कूल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४० अर्ब ६६ करोड र पुँजीगततर्फ रु तीन खर्ब ५२ अर्ब ३५ करोड तथा वित्तीयतर्फ रु तीन खर्ब ६७ अर्ब १८ करोड रहेको अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत बजेटमा उल्लेख छ ।