चण्डेश्वरी जात्रामा रैथाने खाना महोत्सव
धुलिखेल, १२ जेठः काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ भीमसेनथान मार्गमा तीन दिनदेखि रैथाने खाना महोत्सव सञ्चालन भइरहेको छ । बनेपामा वैशाख पूर्णिमाको अवसरमा हरेक वर्ष लाग्दै आएको चण्डेश्वरी जात्रालाई लक्षित गरी काभ्रे होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ सङ्घको संयुक्त आयोजनामा आयोजित महोत्वस सञ्चालित छ ।
बनेपा नगरपालिका–५ का स्थानीय सञ्जिता ढकालले जात्रासँगै रैथाने खाना महोत्सवले नयाँ आकर्षण थपेको महसुस भएको बताउनुभयो । वितगमा जात्रा मात्रै हुने गरेकामा यसपटक भएको खाना महोत्सवले मन परेको खानेकुरा रोजेर खान पाउने र जात्राको अवलोकन पनि गर्न पाउने भएकाले थप आकर्षक बनेको बताउनुभयो ।
खाना महोत्वसमा योमरीको स्टल राख्नुभएका सुमित्रा गौतमले महोत्सवमा आउनेको बढी रुचिको स्टल योमरी भएको बताउनुभयो । योमरीको एउटा मात्रै स्टल भएकाले पनि पहिलो दिनदेखि नै बढी मात्रमा बिक्री भएको उहाँको भनाइ छ ।
रैथाने खाना महोत्सव आयोजक समितिका प्रतिनिधि एवं होटल व्यवसायी महासङ्घका केन्द्रीय कोषाध्यक्ष कृष्ण श्रेष्ठले गाउँ–गाउँबाट ल्याएको कोदो र फापरको पीठोबाट बनाएको रोटी, योमरी र कोदो, फापर र मकैको पीठो महोत्सवको स्टलमध्येकै आकर्षक बनेको बताउनुभयो । जात्राका अवसरमा आयोजना गरेको महोत्सव पहिलोपटक भए पनि यसबाट जात्रामा आउने भक्तजनलाई बनेपाको रैथाने तथा परम्परादेखि प्रयोग गर्दै आएको खानाको स्वाद लिन पाउने व्यवस्था गरेको काम अधिकांशले रुचाएको बताउनुभयो । पच्चिस वटा स्टलमध्ये योमरी, कोदो र फापरको पीठोबाट बनेका रोटी बारा, समयबजीलगायतका विभिन्न परिकारको स्टल राखेको उहाँले बताउनुभयो ।
वैशाख पूर्णिमाको अवसरमा हुने चण्डेश्वरी जात्रामा सांस्कृतिक सद्भाव र एकताको भावना जागृत गराउन जात्राका अतिथिलाई बनेपाली रैथाने नेवारी खानाको परिकारबारे जानकारी दिलाउने तथा रैथाने खाना परिकारको प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ सङ्घका अध्यक्ष श्यामकुमार भालुले बताउनुभयो ।
बनेपालीले निकै महत्वका साथ मनाउँदै आएको सो जात्रा यहाँका जात्रामध्येकै महत्वपूर्ण मानिन्छ । करिब दुई हजार पाँचसय वर्षअघिदेखि मनाइँदै आएको चण्डेश्वरी जात्राका अवसरमा बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडाको बली दिइएपछि देवता नभएको खाली रथ (खट)लाई स्थानीय युवाहरुले बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पु¥याउने प्रचलन छ ।
भोलिपल्ट तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ । सदियौँदेखि आफ्नै मौलिक परम्परागत सांस्कृतिक तथा धार्मिक पर्वका रुपमा यस जात्रालाई यहाँका बासिन्दाले हर्षोल्लासका साथ मनाउँदै आएका छन् । जात्रा र महोत्सव दुवै आज समापन हुँदैछ ।
श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति
काठमाडौँ, ११ जेठ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति जुटेको छ । सो उद्योग सञ्चालन गर्ने सम्बन्धमा बिहीबार गठित कार्यदलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष प्रतिवेदन पेस गरेको छ ।
प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिका सभापति एवं सांसद किरणकुमार साहको संयोजकत्वमा गठित कार्यदलले उद्योगीहरूलाई आर्थिक सङ्कट भएको र जग्गा उपयोग गरेर उद्योग चलाउने वातावरण बनाउनुपर्ने बताएबमोजिम उद्योगका नाममा रहेको करिब ७४ बिघा जग्गामध्ये मूल संरचनामा असर नपर्ने गरी र ऋण फरफारक एवं उपकरणहरूको मर्मतसम्भार गरी तत्काल सञ्चालन गर्ने सर्तसहित मूल सडकसँग जोडिएको केही जग्गा बेच्न दिने सहमति गरेको छ ।
भूमिसम्बन्धी ऐन २०२१, औद्योगिक व्यवसाय ऐन २०७६, लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ तथा अन्य प्रचलित कानुनको प्रावधानअनुसार कम्पनीका नाममा रहेको जग्गालाई प्रयोग गरी उद्योग सञ्चालन गर्न उपयुक्त विधि पहिचान गरी आवश्यक कार्य कम्पनीले अगाडि बढाउने सहमति भएको सांसद साहले जानकारी दिनुभयो ।
सो उद्योग विगत चार वर्षदेखि सञ्चालन हुन नसकेको एवं लगानीकर्ताले थप लगानी गर्न तथा ऋण तिर्न नसकेको देखिएकाले रुग्ण उद्योगको पहिचानसम्बन्धी कार्य गर्ने कार्यदलमा सहमति भएको छ । उद्योगलाई औद्योगिक व्यवसाय ऐन, २०७६ तथा नियमावली अनुसारको प्रक्रिया गरी रुग्ण उद्योगको सुविधासहित रूपान्तरण गरी सञ्चालन गर्न अगाडि बढाउन उपयुक्त देखिने कार्यदलको ठहर छ । कार्यदलका संयोजक साहका अनुसार उद्योग सञ्चालन गर्दा उखु किसानलाई मिलसँग आबद्ध गराउन उखुको पर्याप्तता बढाउन र उखु किसानले बिक्री गर्ने तथा उद्योगले किन्ने चक्र मिलाउन उद्योगको कमान्ड क्षेत्र बनाई गर्न सकिने कार्यदलको सुझाव छ ।
हाल उद्योगका औजार तथा जग्गा नेपाल बैङ्क लिमिटेडमा धितो रहेको र करिब रु ३१ करोड साँवा–ब्याजसहित ऋण रहेको एवं उक्त बैङ्कले लिलामी प्रक्रिया अगाडि बढाएको हुँदा सो प्रक्रिया सम्बन्धमा आवश्यक सहजीकरण हुनुपर्ने कार्यदलले सुझाव दिएको छ । प्रतिवेदन बुझ्दै मन्त्री भण्डारीले उद्योग सञ्चालन गर्न सहमति जुटेकामा खुसी व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “तीनै पक्षबीच सहमति जुट्नु खुसीको कुरा हो, यसबारे अर्थमन्त्रीसँग छलफल गरेर सरकारका तर्फबाट गर्नुपर्ने पहलकदमी अगाडि बढाउँछु ।”
कार्यदलमा सभापति साहका साथै सांसद विना साह, संविधानसभा सदस्य रामकुमार भट्टराई, उद्योगीद्वय हितेश गोल्छा र विशाल अग्रवाल, उखु उत्पादक किसान सङ्घका अध्यक्ष तथा स्थानीय सङ्घर्ष समितिका अध्यक्ष अशोकप्रसाद यादव र मन्त्रालयका सहसचिव विपीन आचार्य सदस्य रहनुभएको थियो ।
विसं २०४९ मा स्थापित सो उद्योग २०७७ सालदेखि बन्द छ । झन्डै ७४ बिघा क्षेत्रफलमा रहेको सो उद्योगको नेपाल बैङ्क लिमिटेडले लिलामी सूचना निकालेर रानाकुमार अग्रवालले साकार गर्नुभएको छ । जग्गाको लिलामी भने गरिएको छैन । स्थानीयको विरोधका कारण सो उद्योग अन्यत्र सार्न नसकिएपछि लामो समयदेखि विवाद हुँदै आएको छ ।
सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
जनकपुर, ११ जेठ : जिल्ला अदालत धनुषाले नागरिकतासम्बन्धी मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले आज सिरोहियालाई थप तीन हिरासतमा राखेर अनुसन्धन्धान गर्न अनुमति दिएको हो । धनुषा अदालतको पाँच नं इजलासमा पक्ष–विपक्षका वकिलहरूको बहसपछि यस्तो आदेश दिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।
आज वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोविन्द शर्मा बन्दी र टिकाराम भट्टराई तथा अधिवक्ताहरु रमणकुमार कर्ण, किशोर पौडेल र दीपेन्द्र झाले सिरोहियाको पक्षमा बहस गर्नुभएको थियो ।
प्रहरीले सिरोहियालाई गत मङ्गलबार पक्राउ गरेको थियो ।
गीतकार सङ्घ नेपालले विभिन्न श्रष्टालाई पुरस्कृत गर्ने
काठमाडौँ, ११ जेठ : ‘अमर–भावना राष्ट्रिय स्रस्टा सम्मान गीतकार सङ्घ नेपाल–२०८०’ डा रिजाललाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु एक लाख ५१ हजार रहेको छ ।
त्यसैगरी, ‘भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार गीतकार सङ्घ नेपाल–२०८०’ आमा (मदन माबो), पिता (डा ओमकृष्ण भट्टराई) र माटोको माया (ज्ञानप्रसाद भट्टराईलगायत १० वटा उत्कृष्ट गीतलाई प्रदान गर्ने निर्णय गरिएको सङ्घका महासचिव टीका राई (शिव) ले जानकारी दिनुभयो । यो पुरस्कारको राशि रु ७५ हजार रहेको छ ।
यस्तै रु २५ हजार दुई सय ५२ राशिको ‘विष्णु मन्सरा सम्मान गीतकार सङ्घ नेपाल–२०८०’ गीतकार अशोक दत्तलाई प्रदान गरिने भएको छ । ‘डायसपोरा गीतकार सम्मान गीतकार सङ्घ नेपाल–२०८०’ भने गीतकार पदमा लिङ्खा मगरलाई प्रदान गरिने छ । यो पुरस्कारको राशि रु १५ हजार रहेको छ ।
गीतकार सङ्घ नेपालको १५ औँ स्थापना दिवसका अवसरमा पुरस्कार प्रदान गरिने गरिने जनाइएको छ ।
फिस्टुला निवारणका लागि मार्गचित्र सार्वजनिक
काठमाडौँ, ११ जेठः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फिस्टुला निवारणका लागि मार्गचित्र (२०२४–२०३०) सार्वजनिक गरेको छ ।
आज स्वास्थ्य सेवा विभागमा आयोजित कार्यक्रमबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खान, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता कौशल मिश्रालगायतले मार्गचित्र सार्वजनिक गर्नुभएको हो ।
अन्तर्राष्ट्रिय फिस्टुला निवारण दिवसका अवसरमा मार्गचित्र सार्वजनिकीकरण कार्यक्रममा स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखा प्रमुख डा विवेकलाल कर्णले सन् २०१४ देखि सरकारले प्रसूति फिस्टुला रोकथाम तथा उपचारका लागि विभिन्न प्रयास गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सन् २०३० सम्म निवारण गर्ने लक्ष्य लिएर मार्गचित्र बनाएका छौँ । ‘अब्सटे«टिक’ फिस्टुला पूर्णरूपमा रोकथाम गर्न सकिन्छ । मार्गचित्रका रणनीतिहरूमा रोकथामलगायत ‘स्क्रिनिङ’, उपचार र पुनःस्थापना ध्यान दिइनेछ ।”
उहाँका अनुसार ‘अब्सटे«टिक’ फिस्टुला भनेको योनीबाट निरन्तररूपमा पिसाब वा दिसा दुवै चुहिने समस्या हो । लामो र कठिन प्रसव व्यथाको अवस्थामा, दक्ष प्रसूतिकर्मीबाट समयमा उपयुक्त सेवा नपाउनाले यस्तो समस्या हुने सम्भावना रहन्छ । गम्भीर प्रसव समस्यामध्ये एक फिस्टुलाको उपचारका अभावमा गम्भीर स्वास्थ्य समस्या, सामाजिक भेदभाव र परिवारबाट बहिस्कृत हुन सक्ने सम्भावना धेरै देखिने उहाँको भनाइ छ ।
यो समस्याबाट वार्षिकरूपमा दुई सयदेखि चार सय नयाँ पीडित हुने गरेका र त्यो सङ्ख्या हाल नेपालमा चार हजार तीन सय रहेको मन्त्रालयको तथ्याङ्क छ ।
नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) का वन यङ हङले फिस्टुलाको समस्या भोगिरहेका महिलाले शारीरिक, मानसिकका साथै सामाजिक बहिष्करणसमेत भोगिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो निवारण गर्न सचेतना आवश्यक छ । आजैदेखि यसमा लगानी ग¥यौँ भने भोलिका दिनमा निवारण गर्न सहज हुनेछ ।”
अन्तर्राष्ट्रिय फिस्टुला निवारण दिवस हरेक वर्ष मे २३ का दिन मनाइने गरिन्छ ।
निरन्तरको प्रयासपछि किमाथाङ्का नाका खुल्दै, सीमावर्ती क्षेत्रका बासिन्दको जनजीवन सहज हुने
काठमाडाैँ, ११ जेठः नेपाल सरकारको निरन्तरको प्रयासपछि सङ्खुवासभास्थित चीनसँग जोडिएको किमाथाङ्का नाका शनिबारदेखि पुनः सञ्चालनमा आउँदै छ । नेपाल र चीनका उच्च राजनीतिक नेतृत्वबीचको वार्ता, संवाद र सहमतिबाट करिब चार वर्षपछि नाका पुनः सञ्चालनमा आउन लागेको हो ।
चीन सरकारले कोभिड महामारीका कारण देखाउँदै किमाथाङ्का नाका बन्द गरेको थियो । नेपालको उत्तरी क्षेत्रमा रहेका विभिन्न १४ वटा परम्परागत नाका पुनः सञ्चालनका लागि नेपाल र चीनबीच निरन्तर छलफल हुँदै आएको थियो । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैतमा गर्नुभएको चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा रहेका परम्परागत नाका खुलाउने समझदारी भएको थियो ।
रसुवागढी–केरुङ, तातोपानी–झाङ्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाका यसअगावै सञ्चालनमा आइसकेका छन् । अन्य नाका सञ्चालनको तयारी भइरहेका छन् । किमाथाङ्का नाका पुनः सञ्चालन गरेर सीमावर्ती क्षेत्रमा सहज आवतजावतका व्यवस्था मिलाउन भोटखोलावासीले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । नाका खोल्नका लागि नेपाल र चीनका स्थानीय अधिकारीबीच पटकपटक वार्ता भए पनि नाका खुल्ने वातावरण बन्न सकेको थिएन ।
उपप्रधानमन्त्री श्रेष्ठले शनिबार एक समारोहकाबीच सङ्खुवासभास्थित किमाथाङ्का नाका पुनःसञ्चालन भएको घोषणा गर्ने कार्यक्रम छ ।
नाका सञ्चालनका लागि उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल शनिबार किमाथाङ्का नाका जाने कार्यक्रम तय भएको छ । किमाथाङ्का नाकास्थित चिनियाँ भन्सार कार्यालयमा नाका पुनः सञ्चालन घोषणाका लागि सार्वजनिक कार्यक्रम आयोजना गरिएको छ ।
कोरोना महामारी देखिएपछि चीन सरकारले २०७६ माघ ५ गतेदेखि किमाथाङ्का नाका पूर्णरुपमा बन्द गरेको थियो । नाका बन्द भएसँगै सीमावर्ती क्षेत्रसँग जोडिएको भोटखोलाका स्थानीयको जनजीवन कष्टकर हुँदै आएका थिए । भोटखोला गाउँपालिकाका अधिकांश जनता खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजारमा निर्भर हुँदै आएका थिए ।
“सीमा क्षेत्रबाट ३० किलोमिटर आसपासका नागरिकले परिचयपत्रका आधारमा किमाथाङ्का नाका पारि पुगेर चिनियाँ बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दै आइरहेका थिए”, सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले भन्नुभयो, “नाका बन्द भएपछि स्थानीयको आउजाउ नै ठप्प भयो, यसबाट जनजीवन निकै कष्टकर बनेको थियो ।”
सरकारले सीमावर्ती क्षेत्रका नागरिकलाई एक वर्षका लागि परिचयपत्र दिने व्यवस्था मिलाएको थियो । सोही परिचयपत्रका आधारमा सीमावर्ती क्षेत्रका स्थानीयले चीनको निश्चित स्थानसम्म निर्वाध आवागमनको सुविधा प्राप्त गर्दै आइरहेका थिए । “सीमा क्षेत्रका स्थानीय दिइएको परिचयपत्र वर्ष/वर्ष दिनमा नवीकरण गथ्र्यौं”, उहाँले भन्नुभयो, “परिचयपत्रमा आवश्यक विवरण नेपाल र चीनको आपसी सहमतिबाट टुङ्ग्याइएको छ, चिनियाँ कर्मचारीले सहजै चिन्ने खालको परियचपत्र जारी हुँदै आएको छ ।”
सीमावर्ती क्षेत्रका नागरिकले उत्पादन गरेका चौरीको दूध, घ्यू, भेडाको ऊन र जडीबुटीलगायत चिनियाँ बजारमा बिक्री गर्ने तथा चौरी तथा भेडा चरनका लागि चिनियाँ भूभागमा लाँदै आएका प्रजिअ खड्काले बताउनुहुन्छ । नेपालमा चौरी तथा भेडाका लागि खर्कको अभाव छ । चीनको तिब्बत क्षेत्रमा रहेका खर्कमा उत्तरी सीमावर्ती क्षेत्रका स्थानीयले चौरी तथा भेडा चराउने गरेका थिए ।
किमाथाङ्का नाकाबाट मुख्य गरी स्थानीय उत्पादन तथा दैनिक जीविकाका सामग्रीको व्यापार हुँदै आएको थियो । किमाथाङ्का नाकामा अझै पनि सडक सञ्जाल पुगेको छैन । “अहिले पनि सडक पुगेको स्थानबाट दुई दिन हिँडेर नाका पुग्न सकिन्छ, निकै विकट स्थानमा भएकाले सङ्खुवासभाबाट चामल, नुन, तेल, चिनीलगायत दैनिक अत्यावश्यक वस्तुको आपूर्ति गर्न असहज हुँदै आएको छ”, प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले भन्नुभयो, “सीमावर्ती क्षेत्रका स्थानीयले दैनिक आवश्यकताका वस्तु चिनियाँ बजारमा खरिद गरेर ल्याउने गरेका थिए ।”
चीनले यसअघि देखिनै नेपालका चौरी तथा भेडालाई तिब्बतका खर्कमा चरन सुविधा उपलब्ध गराउँदै आएको थियो । यसका लागि दुवै देशबीच सहमति भएको थियो । कोरोना महामारीका बेला नाका बन्द भएसँगै सीमावर्ती वासिन्दाले चरन सुविधा पनि गुमाएका थिए । “नेपालका चौरी र भेडाको चरन खर्क उतै (चीन)मा थियो, नाका बन्द भएपछि साह्रै नै सकस भएको थियो”, उहाँले भन्नुभयो, “नाका खुलेपछि अब सीमावर्ती क्षेत्रको जनजीवन सहज हुनेछ ।”
व्यापारीले सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट खच्चड तथा भरिया लगाएर किमाथाङ्कामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु पु¥याउने गरेका छन् । ढुवानी खर्च धेरै लाग्दा उपभोग्य वस्तुलाई तेब्बर मूल्य तिर्न स्थानीय बाध्य हुँदै आएका थिए ।
किमाथाङ्का नाकासँग नेपालको भोटखोला गाउँपालिका जोडिएको छ । भोटखोला गाउँपालिकाका वडा नं १, २ र ३ ले उत्तरी छिमेकी चीनको भूभाग छोएका छन् । भोटखोला क्षेत्रमा करिब पाँच हजारको बसोबास रहेको अनुमान छ । भोटखेला क्षेत्रमा आलु र कोदो मात्र उत्पादन हुँदै आएको छ । स्थानीय उत्पादनले मुस्किलले दुई/तीन महिनाको मात्र माग धान्ने स्थानीयको भनाइ छ ।
किमाथाङ्का नाकाबाट ३० किलोमिटरभित्रका नेपाली नागरिकले परिचपयपत्रका आधारमा निर्वाधरुपमा आउजाउ गर्न पाउने व्यवस्था छ । सरकारले उत्तरी सीमा क्षेत्रका बासिन्दाका लागि एकैप्रकारका विशेष पासको व्यवस्था गरेको छ । नाका सञ्चालनमा आएसँगै सीमावर्ती क्षेत्रका नागरिकको दैनिकी सहज हुने विश्वास व्यक्त गरिएको छ ।
भारतीय कारखानामा विस्फोट हुँदा मृत्यु हुने व्यक्तिको सङ्ख्या ११ पुग्यो
भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रको रासायनिक कारखानामा भएको विस्फोट परी ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको शुक्रबार स्थानीय अग्निनियन्त्रण विभागका अधिकारीले पुष्टि गरेका छन् ।
बिहीबार भएको बिस्पोटका कारण मृत्यु भएका थप चार जनालाई शुक्रबार घटनास्थलबाट बाहिर ल्याइएको र यससँगै विस्फोटमा परी मृत्यु हुनेकोसङ्ख्या ११ पुगेको अग्नि नियन्त्रक विभागका अधिकारीले उल्लेख गरेका छन् ।
अधिकारीका अनुसार उक्त घटनामा परी घाइत हुने व्यक्तिको सङ्ख्या ६० भन्दा बढी पुगेको छ ।
मुम्बईको नजिकै रहेको ठाणे जिल्लाको डोम्बिवली क्षेत्रमा अवस्थित रासायनिक कारखानामा रहेको एउटा बाष्फक इन्जिन ठूलो आवाजसहित विस्फोट भएको थियो ।
विस्फोटपछि कारखानाका अन्य भागमा आगो तुरुन्तै फैलिँदा अन्य विस्फोटहरू भएका थिए । विष्फोटको आवाज १.५ किलोमिटर टाढाबाट सुनिएको बताइएको छ ।
घटनाका घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ भने तीमध्ये केहीलाई प्राथमिक उपचारपछि घर पठाइएको छ ।
मस्को कन्सर्ट हलमा भएको घातक आक्रमणमा आइएसको संलग्नता रहेको रूसको स्वीकारोक्ति
रूसले मार्चमा भएको मस्को कन्सर्ट हल आक्रमणमा इस्लामिक स्टेट (आईएस) को समन्वय रहेको पहिलो पटक बताएको छ । यो आक्रमण रूसमा दुई दशकमा भएको सबैभन्दा घातक आतङ्ककारी आक्रमण हो ।
“अनुसन्धानको क्रममा आतङ्कवादीहरूले आक्रमणको तयारी, वित्तीय सहयोग र आक्रमणमा अफगानिस्तान र पाकिस्तानमा सक्रिय आइएस शाखा खोरासान प्रान्त (आइएस–के) का सदस्यहरूले इन्टरनेटमार्फत समन्वय गरेको पुष्टि भएको रूसी सङ्घीय सुरक्षा सेवा (एफएसबी) का प्रमुख अलेक्जान्डर बोर्तनिकोभको भनाइलाई उद्धृत गरी आरआईए नोभोस्ती समाचार एजेन्सीले जानकारी गराएको छ ।
मार्च २२ मा भएको उक्त आक्रमणमा १४० भन्दा बढी मानिस मारिएका अनुसन्धान आइएसले गरिरहेको थियो । यसअघि मस्कोले बारम्बार युक्रेन र पश्चिमलाई आक्रमणमा जिम्मेवार रहेको आरोप लगाउदै आएको थियोे ।
बोर्तनिकोभले शुक्रबार आक्रमणमा युक्रेनी संलग्नतालाई समावेश गर्दै भन्नुभयो, “आक्रमणपछि आतङ्ककारीहरूलाई युक्रेनी सीमातिर जान स्पष्ट निर्देशनहरू प्राप्त भएको र त्यहाँबाट उनीहरूलाई भगाउने व्यवस्था गरिएको थियो ।”
युक्रेनले रूसको उक्त दावीको बारम्बार खण्डन गर्दै आएको छ ।
आक्रमणकारीहरूले भवनमा आगो लगाउनुअघि मस्कोको बाहिरी भागमा रहेको क्रोकस सिटी हल स्थलमा आक्रमण गरेका थिए । घटनासँग सम्बन्धित रहेको आशङ्कामा चार सन्दिग्ध आक्रमणकारीसहित एक दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । उनीहरू सबै अफगानिस्तानको उत्तरी सीमामा रहेको पूर्व सोभियत सङ्घबाट भिन्न भएको ताजकिस्तानका नागरिक हुन् ।
अमेरिकाले मार्चको सुरुमा रूसलाई सार्वजनिक रूपमा नै चरमपन्थीहरूले मस्कोमा ठूलो आक्रमण गर्ने योजना बनाइरहेको जानकारी घटनापूर्व नै दिएको थियो । अज्ञात अमेरिकी गुप्तचर अधिकारीहरूले घटनापश्चात अमेरिकी सञ्चारमाध्यममार्फत उनीहरूले मस्कोलाई आइएसले विशेष गरी क्रोकस सिटी हल आक्रमण गर्ने योजना बनाएको अग्रीम जानकारी गराएको बताएका थिए ।
रूसले ती चेतावनीहरूलाई नजरअन्दाज ग¥यो। आक्रमणको तीन दिन अघि राष्ट्रपति भ्लादिमिर पुटिनले वासिङ्टनलाई ‘ब्ल्याकमेल’ गरेको र रूसीहरूलाई ‘तर्साउने’ प्रयास गरेको आरोप लगाउनुभएको थियो ।
नयाँ शक्ति अभियान थप सशक्त हुन्छ : भट्टराई
बलेवा (बागलुङ), ११ जेठ : नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण अभियानलाई थप सशक्त बनाउनुपर्ने बेला आएको बताउनुभएको छ ।
नेपाल समाजवादी पार्टीको बागलुङ जिल्ला अधिवेशन तथा प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले राजनीतिमा सरसफाइ आवश्यक रहेको बताउनुभयो । पार्टीहरु सिद्धान्त र विचारभन्दा स्वार्थमा रुमलिँदा मुलुकले निकास पाउन नसकेको उहाँको धारणा थियो ।
आफूले नयाँ शक्ति पार्टी स्थापना गर्दा उठाएका एजेण्डामा पछि नपरी यसलाई थप सशक्त बनाउने अभियानमा नयाँ शक्ति लाग्ने बताउनुभयो । पछिल्लो समय नयाँ पार्टीहरुले आफ्ना एजेण्डा समातेका भए पनि उनीहरुसँग राजनीतिक दृष्टिकोण र विचारमा स्पष्टता नभएकाले आफूले थालेको अभियानलाई थप सशक्त आफैँले बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
जिल्ला अधिवेशनले कृष्ण शर्मा संयोजक रहेको ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । पार्टीको विद्यान महाधिवेशनपश्चात् बाँकी पदाधिकारीको टुङ्गो लगाउने अध्यक्ष शर्माले बताउनुभयो ।
सहकारीको रकम अपचलनका सम्बन्धमा छानबिनका लागि गठन कार्यदलको बैठक फेरि बस्ने
काठमाडौँ, ११ जेठः सहकारीको रकम अपचलनका सम्बन्धमा छानबिनका लागि गठन गर्न लागिएको संसदीय समितिको विषयमा सहमति जुटाउन आज बसेको बैठकमा पनि मतैक्य हुन नसकेपनि पुनः बस्ने भएको छ ।
कार्यदलको बैठकमा प्रमुख प्रतिपक्षी दल तुलनात्मक रुपमा लचक रहेको भएपनि थप छलफल जरुरी रहेको निष्कर्ष निकालिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ विभिन्न विषयमा आज पनि छलफल भयो । उपप्रधानमन्त्री एवम् गृहमन्त्रीका विषयमा पनि थप छलफल आवश्यक देखियो । आज उहाँहरुले थप लचकता देखाउनुभएको छ ।”
विगतमा उहाँहरुले ल्याएको प्रस्तावभन्दा नयाँ प्रस्ताव आएको जानकारी दिँदै उहाँले बैठक अन्त्य नभएको र केही समयपछि पुनः बैठक बस्ने बताउनुभयो । प्रमुख सचेतक बर्तौलाले सदनको बैठक नियमित रुपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले कार्यदलको बैठक नटुङ्गिएको जानकारी दिँदै आजै पुनः छलफल गरेर सहमति नै हुने बताउनुभयो । प्रमुख सचेतक बर्तौलाले सहकारीको रकम अपचलन भएकाको हकमा उल्लेख गर्ने तर व्यक्तिलाई नै दोषी देखाएर जाने कुरा गलत रहेको धारणा राख्नुभएको ।
प्रमुख राजनीतिक दलले गठन गरेको कार्यदलमा सरकारको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र एमालेको तर्फबाट प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सह-महामन्त्री एवं सांसद जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल हुनुहुन्छ ।