आज सुनको मूल्य तोलामा नै रु एक हजार आठ सयले ओरालो लागेको छ
काठमाडौँ, ११ जेठ: स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा नै रु एक हजार आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन आज रु एक लाख ३६ हजार नौ सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन तोलामा रु एक लाख ३८ हजार सात सयमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३८ हजार ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३६ हजार दुई सय ५० निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । बिहीबार तोलामा रु एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ५५ निर्धारण भएको छ ।
व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धनमा भोजपुरका रञ्जित
भोजपुर, ११ जेठः टेम्केमैयुङ गाउँपालिका-३ का ३५ वर्षीय रञ्जित गिरी चियाखेतीमा लागेको एक दशक नाघ्यो । बुबा शरमान गिरीले सुरु गर्नुभएको चियाखेतीलाई अगाडि बढाउनुभएका उहाँको दैनिकी चियाका बोटको हेरचार, स्याहार र प्रशोधनमै बित्छ ।
असी रोपनी क्षेत्रफलमा फैलिएको चियाबगानलाई उहाँले यतिबेला पर्यटकीय गन्तव्य बनाउन सक्रिय हुनुहुभएको छ । “यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर चिया बगानभित्रै टेम्के फनपार्क तथा रिसोर्ट सञ्चालन सुरु गरेको छु”, रञ्जित गिरीले भन्नुभयो, “रिसोर्ट निर्माणपछि पर्यटकहरु बिस्तारै बढ्न थालेका छन् ।”
करिब एक वर्षअघिबाट सञ्चालनमा आएको रिसोर्टमा रु ९० लाख लगानी गर्नुभएको छ । चियाखेतीबाट आम्दानीसँगै बगानमा पर्यटक बढाउन पनि सकिने उहाँको विश्वास छ ।
विसं २०७६ देखि गुरास चिया उद्योग सञ्चालन गरिरहनुभएको उहाँको यो उद्योग भोजपुरमा एक्लो हो । हालसम्म चियाका लागि करिब रु दुई करोड ५० लाख लगानी गर्नुभएका उहाँले आफूले उत्पादन गरेको चियाले नेपाल चिया तथा कफी विकास बोर्डबाट टेडमार्कसमेत पाइसकेको उहाँले जानकारी दिनुभयो ।
“अग्र्यानिक चिया भएकाले देशका ठूला सहरसँगै विदेशसम्म जान थालेकाले चिया बजारीकरणमा कुनै समस्या छैन”, उहाँले भन्नुभयो । गिरीले चियाले उचित मूल्य पाएमा वार्षिक रु २५ देखि ३० लाखसम्म आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । उहाँले हाल अग्र्यानिक हरियो चिया (ग्रिनटी) प्रतिकेजी रु एक हजार आठ सय, कालो चिया रु एक हजार दुई सय र सिल्भर चिया रु ३० हजारमा बिक्री गर्दै आउनुभएको छ । उहाँले चिया उद्योग सञ्चालनका लागि कोशी प्रदेश सरकारबाट प्रोत्साहनस्वरुप रु १७ लाख ५० हजार अनुदान पनि पाइसक्नुभएको छ ।
“चियाखेतीबाट आम्दानी राम्रो छ, अब पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “चियाखेती हुने क्षेत्रफल बढाउने पनि योजना छ ।” हाल उहाँको उद्योगमा पाँच जनाले रोजगारी पाइरहनुभएको छ ।
बगानमा उत्पादन भएको चिया एक महिनामा चार पटकसम्म टिप्न सकिने गिरीले जानकारी दिनुभयो । उहाँले चियाको नर्सरीसमेत आफैँ गर्दै आउनुभएको छ भने किसानलाई आवश्यक परामर्श पनि दिनुहुन्छ ।
युवा व्यवसायी गिरीलाई प्रोत्साहन गर्नका लागि वडा कार्यालयका तर्फबाट सडक मर्मतका लागि रु तीन लाख उपलब्ध गराइएको वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो ।
नेपाल प्रहरीले आफ्नो दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको छः प्रधानमन्त्री
काठमाडौँ, ११ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कार्यक्षेत्रमा आउनसक्ने सबै चुनौतीको सामना गर्न प्रहरी सफल र सक्षम रहेको बताउनुभयो ।
“तालिमबाट प्राप्त सीपमार्फत् अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोध चिर्दै कार्यसम्पादन परिणाममुखी बनाउन सफल हुने विश्वास लिएको छु,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “कर्तव्य पालनाको सिलसिलामा कत्ति पनि विचलित नभई आफ्नो पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ ।”
नेपाल प्रहरी, कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी रूपमा अपराध नियन्त्रण र अनुसन्धान गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न तथा मानव अधिकारको संरक्षण गर्न स्थापित संस्था भएको स्मरण गराउँदै प्रधानमन्त्री दाहालले २१औँ शताब्दीका चुनौतीहरूको सामना गर्नसक्ने दक्ष एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा प्रशिक्षण केन्द्रहरूको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।
विज्ञान र प्रविधिमा भएको तीव्र विकाससँगै नयाँ–नयाँ सुरक्षा चुनौतीहरू थपिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नागरिकप्रति उत्तरदायी, मानवअधिकारप्रति संवेदनशील, निष्पक्ष, व्यावसायिक एवं कानुनी राज्यको अवधारणाप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप उचाइमा पुयाउनका लागि हरसम्भव राष्ट्रले सुम्पेको जिम्मेवारी कुशलतापूर्वक बहन गर्नसक्ने दक्ष र योग्य मानवस्रोतको उत्पादनतर्फ प्रशिक्षण केन्द्र संवेदनशील हुनुपर्नेमा प्रधानमन्त्रीको जोड छ ।
शान्ति सुव्यवस्था बहाल राख्न ठूलो सङ्ख्यामा जनशक्ति परिचालित हुनुपर्ने प्रहरीको जनशक्ति दक्षता तथा कार्यकुशलताले सङ्गठनको प्रभावकारितालाई प्रत्यक्ष प्रभाव पार्ने बताउँदै प्रधानमन्त्रीले सङ्गठनका लागि चुस्त र दक्ष जनशक्ति तथा समयानुकूल र व्यावसायिक तालिम अत्यावश्यक हुने उल्लेख गर्नुभयो ।
तालिमलाई थप गुणस्तरीय र व्यावहारिक बनाउन तालिमका विषयवस्तु समयानुकूल परिमार्जन गर्नुपर्ने र आधुनिक प्रशिक्षण विधि तथा मापदण्डको अबलम्वन गर्नका लागि काभ्रेको पनौतीमा नयाँ संरचनाहरू निर्माण भइरहेका प्रधानमन्त्रीले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय सुरक्षा र हितलाई केन्द्रमा राख्दै कूटनीतिक पहलमार्फत् यी संरचना निर्माणमा सहजीकरण एवं निर्माण सम्पन्न गर्नका निम्ति नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
राष्ट्रिय कराते प्रतियोगिताको उपाधि खेलकुद प्रतिष्ठानलाई
खोटाङ, ११ जेठः दिक्तेलमा बिहीबार सम्पन्न राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाल खेलकुद प्रतिष्ठानले हात पारेका छ । ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तर्गत भएको प्रतियोगितामा खेलकुद प्रतिष्ठानले आठ स्वर्ण, चार रजत र दुई कास्य पदक सहित रु एक लाख ११ हजार एकसय ११ राशिसहित उपाधि जितेको हो ।
सातवटै प्रदेशका कराते खेलाडी सहभागी प्रतियोगितामा तीन स्वर्ण, दुई रजत र सात कास्य पदकसहित बागमती प्रदेश द्वितीय, दुई स्वर्ण, एक रजत र चार कास्य पदक सहित गण्डकी प्रदेश तृतीय तथा एक स्वर्ण, सात रजत र चार कास्य पदक सहित कोशी प्रदेश चौथो भएको छ । प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र चौथोले क्रमशः रु एक लाख ११ हजार एक सय ११, रु ५५ हजार पाँच सय ५५, रु ३३ हजार तीन सय ३३ र २२ हजार दुई सय २२ नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा महिलातर्फ सुदूरपश्चिम प्रदेशकी गरिमा मल्ल तथा पुरुषतर्फ आयोजक टोलीका रुरीहाङ दुमी राई घोषित भएका छन् । उहाँहरूलाई जनही रु २२ हजार दुई सय २२ प्रदान गरियो ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट व्यवस्थापनमा मधेस प्रदेश घोषित भएको छ । उत्कृष्ट व्यवस्थापन गर्ने मधेश प्रदेशलाई रु ११ हजार एक सय ११ नगद प्रदान गरिएको थियो । गत वैशाख ३१ गते सुरु भएको महोत्सवअन्तर्गत एथ्लेटिक्स, राष्ट्रिय कविता तथा राष्ट्रिय गायन प्रतियोगिता पनि आयोजना गरिएको थियो ।
दिक्तेल बजारमा आयोजित बृहत् महोत्सवमा पर्याप्त आर्थिक गतिविधि भएका उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभएको छ । महोत्सवमा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी तथा साहित्यिक एवं साङ्गीतिककर्मी दिक्तेल बजारमा भेला भएका थिए ।
तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु
फुङ्लिङ (ताप्लेजुङ) I जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ ।
संविधानसभा सदस्य सञ्चकपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूद्वारा संयुक्त रूपमा आयोजनाको बिहीबार शिलान्यास भएको हो । आयोजनाको प्रवर्द्धक स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड हो ।
अध्यक्ष लिम्बूका अनुसार आगामी चार वर्षमा आयोजना पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ताप्लेजुङमा हाइड्रोपावर आयोजना बनेपछि जिल्लाको समृद्धिमा योगदान पुग्ने फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेनले बताउनुभयो । उहाँले भन्नुभयो, “ जिल्लामा विद्युत् आयोजना निर्माण हुनु आर्थिक समृद्धिको बाटो खुल्नु् हो । जिल्लामा निर्माण हुने आयोजनाले स्थानीयलाई सेयर उपलब्ध गराउँछन् । प्रत्येकले सेयरमा लगानी गर्नुहोस् ।” आयोजना निर्माण हुँदा स्थानीय नागरिकलाई रोजगारीमा प्राथमिकता दिन र प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि उहाँले आग्र गर्नुभयो ।
आयोजनाको कुल लागत रु २४ अर्ब ३२ करोड अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद मूल्य वर्षायाममा प्रतियुनिट रु ४.८० र सुक्खायाममा प्रतियुनिट रु ८.४० निर्धारण गरिएको छ ।
आयोजनाबाट वर्षायाममा उत्पादन हुने विद्युतीय ऊर्जा क्षमता ६१ करोड ९७ लाख ४० हजार चार सय २३ किलोवाट घण्टा तथा सुक्खायाममा नौ करोड १६ लाख ९२ हजार आठ सय ७५ किलोवाट घण्टा हुने प्रक्षेपण गरिएको छ ।
भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा
गलेश्वर (म्याग्दी) I भिर मह निकालेको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भिर पुगेका छन् ।
देख्दा आङ नै सिरिङ्ग हुने कहालीलाग्दो पहरामा भिर मह निकालिरहेको दृश्यको छायाङ्कनसँगै नेपालीको सौर्य प्रचारप्रसार गर्ने उद्देश्यका साथ विदेशीको टोली आएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले बताउनुभयो ।
टोलीले हत्केलामा जउन राखेर डोरी (परङ) मा झुन्डिएर मौरीको चाका नजिक पुगेर मह निकाल्ने मह सिकारीको अनुभवसँगै स्थानीयवासी र गाउँपालिकाको टोलीसँग छलफल गरेका वडाध्यक्ष विकले बताउनुभयो । लुलाङका स्थानीयवासी थमबहादुर सिर्पालीको समन्वयमा आएका विदेशीले धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरसँग भिर महको संरक्षण र निकाल्ने क्रममा हुने दुर्घटनाको जोखिम न्यूनीकरणका बारेमा चासो देखाएका थिए ।
भिर मह निकाल्न भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी झुन्ड्याउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र गर्छन् । ठूलो भिरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भिरमा दिनभरि खर्चिनुपर्छ ।
झण्डै पाँच सयदेखि एक हजार पाँच सय मिटर उचाइका पहरामा पुगेर गाउँका मोतिप्रसाद सहितको टोलीले मह निकाल्ने गरेका छन् । गाउँपालिका उपाध्यक्ष पुनले धवलागिरिलाई ‘हनी हन्टिङ’का लागि प्रख्यात ठाउँका रूपमा चिनाउन विदेशी टोलीको आगमनले सहज भएको बताउनुभयो ।
ग्रामीण पर्यटन प्रवर्द्धनमा मह सिकारले टेवा पुग्ने उहाँले बाताउनुभयो । “पर्यटन प्रवर्द्धनमा यो टोलीबाट सहयोगको आश्वासन प्राप्त भएको छ, हामीले पनि अबका दिनमा मह सिकारलाई विशेष बनाउनेछौँ”, उपाध्यक्ष पुनले भन्नुभयो ।
‘गाउँ आएको बाटो’ को ‘ट्रेलर’ सार्वजनिक
काठमाडौँ I चलचित्र ‘गाउँ आएको बाटो’ को ‘ट्रेलर’ सार्वजनिक भएको छ । विश्व टोरोन्टो, बुसानजस्ता फिल्म महोत्सवमा सहभागी यो चलचित्रमा कलाकार दयाङ राई, अभिनेत्री पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य अभिनय रहेको छ ।
बिहीबार ट्रेलर सार्वजनिकपछि अभिनेता दयाहाङ राईले चलचित्रमा अभिनय गर्न पाउँदा खुसी लागेको बताउनुभयो । “यो चलचित्र वर्षौँ पहिले सुनेको थिए तर अभिनय नै गर्न पाउँला भनेर सोचेको थिएन”, अभिनेता राईले भन्नुभयो,“विश्व बजारमा पुगेको चलचित्रमा खेल्न पाउनु मेरो लागि खुसीको कुरा हो । अब घरेलु दर्शकले मन पराउने अपेक्षा गरेको छु ।”
अभिनेत्री पशुपति राईले यस चलचित्रबाट धेरै कुरा सिक्ने अवसर पाएको बताउनुभयो । महेश राईले लेखेको यस चलचित्रको निर्माता अमोद राई हुनुहुन्छ भने निर्देशन नबिन सुब्बाले गर्नुभएको छ ।
त्यस्तै, अमेरिकन छायाँकार जोश हेरमले खिच्नुभएको चलचित्रमा हाइडी लीको सङ्गीत, केदार श्रेष्ठको ‘कास्टिङ’ निर्देशन, राज थापाको कला निर्देशन, किशोर आचार्यको ‘साउन्ड डिजाइन’, सिकुमा राईको पहिरन, क्वान पुन लुङको सम्पादन रहेको छ ।
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
मङ्गलबारे (इलाम) I पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ ।
मृत्युहुनेमा माई–८का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थानका आठ वर्षीय किस्मन आङदाम्बेको रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य तीन जनाको उद्धार गरिएको छ । लिम्बूलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सगरमाथा आरोहणकाक्रममा केन्याली नागरिकको मृत्यु
काठमाडौँ I सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय नागरिक जोसुआ चेरियटको किरुईको को मृत्यु भएको छ । पर्यटन विभागका अनुसार बिना अक्सिजन सगरमाथा आरोहणको क्रममा ४० वर्षीय जोसुआको मृत्यु भएको हो । बुधबार रातिे सगरमाथा चुचुरो नजिकै (८,८३० मिटर) उहाँ मृता वस्थामा भेटिनुभएको थियो । मे १८ तारिखका दिन नेपाली गाईड सोलुखुम्बुका ङवाङ शेर्पाका साथ विनाअक्सिजन जोसुआ सगरमाथाको आधारशिविरबाट दोस्रँे शिविरतर्फ जानुभएको थियो । उहाँ २० मे का दिन तेस्रो शिविर पुग्नुभएको थियो । २१ मेका दिन चौथो शिविर पुगेका उहाँहरु २२ मे (बुधबार) बिहान सगरमाथा चुचुरोतर्फ लाग्नुभएको थियो ।
आरोही र सहयोगी सगरमाथा नजिकै पुगे पनि आरोहण गरे-नगरेको यकिन नभएको समेत विभागले जनाएको छ । बुधबार दिउँसो ९ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएपछि सेभेन समिटले चार जना अनुभव माउन्टेन पथप्रदर्शक परिचालन गरी क्याम्प २ माथि खोज तथा उद्धारका लागि परिचालन गरेको थियो । सो क्रममा राति साढे १० बजे केन्याका आरोहीको शव भेटिएको थियो । सहयोगी शेर्पाको अवस्था समेत अज्ञात रहेकाले अझै खोजी जारी रहेको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ ।
राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब छैनः उपसभापति गुरुङ
मनहरी I नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब नभएको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज मकवानपुरले आज हेटौँडामा आयोजना गरेको ‘प्रजातान्त्रिक दर्पण २०८१’ विमोचन तथा सम्मान कार्यक्रममा उहाँले नेपाली राजनीतिमा देखिएको खराब प्रवृत्तिलाई निरुत्साहन गर्न सके निराशालाई आशामा बदल्न सकिने धारणा राख्नुभयो ।
उपसभापति गुरुङले भ्रष्ट्राचारसँग जोडिएका कुनै पनि दलका नेताहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न कांग्रेस सधैँ तयार रहेको बताउनुभयो । “कांग्रेसले भष्ट्रचारीविरुद्ध आवाज उठाउँदै आएको छ । त्यसका सुरुआत हामी आफैँबाट गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले प्रजातन्त्रलाई थप सुदृढ बनाउन प्रजातान्त्रिक विचार समाजजस्ता संस्थाहरुको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गर्नुभयो ।
समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले लोकतन्त्र, सङघीय शासन व्यवस्था र जनताका समृद्धिका पक्षमा आवाज उठाई प्रजातान्त्रिक विचारलाई संस्थागत गर्दै लैजानुपर्ने बताउनुभयो ।
समाजका पूर्वकेन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीले बौद्धिक व्यक्तित्व रहेको समाजले देशमा संकट छाएको बेला उल्लेख्य भूमिका खेल्दै आएको भन्दै त्यसलाई थप सशक्त बनाउँदै लैजानुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा समाजका बागमती प्रदेश अध्यक्ष भरत दवाडीले विधिको शासन जोगाउन विचार समाज स्थापना भएकाले सोहीअनुसार क्रियाशील हुनुपर्ने बताउनुभयो । समाजका अध्यक्ष डा. देवचन्द्र मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्वसभापति रघुरमण न्यौपाने, हेटौँडा उपमहानगरका पूर्वसभापति आनन्दराम पराजुलीलगायतले आफ्नो विचार राख्नुभएको थियो ।
सोही अवसरमा प्रजातान्त्रिक सेनानी सम्मानबाट अशोक श्रेष्ठ, यादवराज पराजुली, परमेश्वर भ्लोन, हरिनन्द खरेल र स्वर्गीय ईश्वरचन्द्र अग्रवाललाई मरणोपरान्त सम्मान गरिएको थियो ।