लागुऔषधसहित तीन विदेशी महिला पक्राउ
काठमाडौँ I नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी नागरिकलाई काठमाडौँ महानगरपालिका–१७ ठमेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर भएका केभिना मुगाला, र लिलियन सुशान वानयेन्ज तथा उक्त बरामद भएको कोकिन लिन भारतबाट आएकी ३३ वर्षीय देवाजनी पाल रहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर भएका केभिना मुगाला र लिलियन सुशान वानयेन्जेबाट आगुऔषध कोकिन बरामद गरिएको छ, जसको तौल दुई केजी छ सय ५४ ग्राम रहेको छ ।” पक्राउ परेकाहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताउनुभयो । बरामद गरिएको अवैध लागुऔषध कोकिनको बजार मूल्य रु सात करोड ९६ लाख हुन आउने ब्यूरोले जनाएको छ ।
बेलायतमा नौ वर्ष भन्दा कम उमेरका बालबालिकाका लागि यौन शिक्षामा प्रतिबन्ध लगाइने
बिहीबार प्रकाशित हुने नयाँ सरकारी प्रस्तावअनुसार इङ्गल्यान्डका विद्यालयहरूमा नौ वर्षभन्दा कम उमेरका बालबालिकालाई यौन शिक्षा र लिङ्ग पहिचान शिक्षामाथि प्रतिबन्ध लगाइने भएको छ ।
यसले प्राथमिक उमेरका स्कुले बालबालिकाका लागि पाठको विषयवस्तुमा चिन्ता दर्शाएको शिक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । “आफ्ना बालबालिकालाई विद्यालय पठाउँदा उनीहरूलाई सुरक्षित राखिन्छ र बालबालिकाको उमेरका लागि अनपयुक्त विचलित सामग्रीको सम्पर्कमा आउँदैनन भन्नेबारे अभिभावकले भरोसा गरेका हुन्छन्”, कन्जरभेटिभ प्रधानमन्त्री ऋषि सुनकलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, “त्यसैले गत वर्ष हाम्रा कक्षाहरूमा यस्तो भएको खबर सुनेर म भयभीत भएको थिएँ ।”
नौ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यौन शिक्षामाथि प्रतिबन्धका साथै लिङ्ग पहिचानको विवादित सिद्धान्त पनि नपढाइने मन्त्रालयले बताएको छ ।
गत महिना लैङ्गिक पहिचानका मुद्दाहरूसँग जुधिरहेका युवाहरूलाई नारी बनाउने हर्मोन उपचारहरू सिफारिस गर्नमा ‘अत्यन्त सावधानी’ उपाय चाल्न आग्रह गर्ने गत महिना भएको ऐतिहासिक समीक्षापछि यस्तो कदम चालिएको हो ।
नयाँ प्रस्तावमा आत्महत्या रोकथाममा थप सामग्री र अनलाइन आत्मक्षतिलाई बढाउने सामग्री हेर्ने जोखिमहरू पनि समावेश हुनेछ । प्रस्ताव नौ साताको परामर्शको अधीनमा हुनेछ र अन्तिम रूप दिइएपछि वैधानिक हुनेछ ।
जुनेलो र फापरको माग बढेपछि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रका किसान जुनेलो र फापर व्यावसायिक खेतीमा
गलेश्वर (म्याग्दी)I बजारमा माग बढेपछि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रका किसान जुनेलो र फापरको व्यावसायिक खेतीमा लागेका छन् । जिल्लाका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका एक दर्जनभन्दा बढी पहाडी गाउँका किसान व्यावसायिक खेतीमा लागेका हुन् । पछिल्लो समय बजारमा जुनेलो र फापरको माग ह्वात्तै बढेको छ । विशेषगरी सहरिया उपभोक्ताको दैनिक उपभोग्य वस्तुका रुपमा जुनेलो र फापरको परिकार बन्ने गरेको छ । त्यसैले ग्रामीण क्षेत्रमा किसानले यी वस्तुको व्यावसायिक खेती सुरु गरेका छन् ।
दुई-चार वर्षअघिसम्म सहर बजारमा यी वस्तुलाई अखाद्य वस्तुका रूपमा हेरिन्थ्यो । त्यसले खेती पनि क्रमशः कम हुँदै गएको थियो । पछिल्लो समय माग बढ्दै गएपछि खेती बढाएको मालिका गाउँपालिका– २ का किसान टेकबहादुर विकले बताउनुभयो ।
पश्चिम म्याग्दीका प्रायःसबै गाउँमा जुनेलो र फापरखेती हुने भए पनि पछिल्लो समय किसानले खेती गर्न छाडेका थिए । विगत पाँच वर्षयता बजारमा जुनेलो, फापर, भाँगो र रातो सिमीको माग बढ्दै गएपछि किसानले अरु बाली छाडेर बजारमा बिक्री हुने र राम्रो मूल्य पाइने भाँगो, जुनेलो र फापरको खेती विस्तार गरेको विकले जानकारी दिनुभयो ।
“केही वर्षअघिसम्म जुनेलो खासै बिक्री हुँदैन थियो, त्यसैले खेती गर्न छाडेका थियौँ तर अहिले घरमै खरिद गर्ने व्यापारी आउने गरेका छन्”, विकले भन्नुभयो । विकलगायत रुमका प्रायः सबैले भाँगो, जुनेलो र फापरखेती गरेका छन् । जुनेलो बजारमा प्रतिपाथी रु चार सयका दरले बिक्री हुने उहाँले बताउनुभयो ।
त्यसैगरी फापरको पनि बजारमा माग बढेको छ । विशेषगरी उपभोक्ताले तीते फापर खोज्ने भएकाले किसानले पनि तीते फापरकै खेती बढाएका छन् । पहिले पहिले गाउँघरमा सागका लागि तीते फापरखेती गर्ने गरेको किसान बताउँछन् । पछिल्लो समय बाली लिनकै लागि खेती सुरु गरिएको मङ्गला–५ की गोमा रोकाले बताउनुभयो । “हाम्रो बारीमा पहिले तीते फापर फल्दैन थियो”, रोकाले भन्नुभयो, “आफैँले खाजामा रोटी खानका लागि मिठे फापर लगाइन्थ्यो ।”
दुई वर्षयता मिठेको साटो तीते फापरको खेती गर्न थालेको उहाँले बताउनुभयो । “घट्ट वा मिलमा पिँधेको फापरको मिठोसँग चामल साटिन्छ”, उहाँले भन्नुभयो, “बजारमा पनि फापरको उच्च माग रहेको छ ।” गाउँमा उत्पादन भएको फापर एक पाथीको रु दुई सयदेखि तीन सयसम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो ।
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौँ I धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक शून्य दशमलव ७९ अङ्कले उकालो लागेर दुई हजार १८ दशमलव ७६ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्यदशमलव २७ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलव ३७ मा पुगेको छ । कूल ८२ लाख ८२ हजार पाँच सय ५६ कित्ता शेयर रु चार अर्ब २३ करोड ३८ लाख १६ हजार चार सय तीन मूल्य बराबर कारोबार भएको छ ।
हिमालयन लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, सिर्जनशील लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । स्वाभिमान लघुवित्त नौ दशमलव ९४, सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ६१ प्रतिशतले कमाएका छन् ।
यस्तै माण्डु हाइड्रोपावर पाँच दशमलव ७६, पिपल्स पावर पाँच दशमलव २६, नेपाल फाइनान्स चार दशमलव १२, एभरेष्ट बैंक तीन दशमलव ९४ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले तीन दशमलव ९२ प्रतिशतले गुमाएका छन् ।
मोरङको बेलबारी नगरपालिका ११ का बेपत्ता शमशेर कटुवाल दुई दशकमा घर फर्किए
बेलबारी (मोरङ) I दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका–११ का शमशेरबहादुर कटुवाल घर फर्किनुभएको छ । स्थानीय तहको सक्रियतामा उहाँलाई घर फर्काइएको हो । शमशेरबहादुर फर्किएपछि कटुवाल परिवारमा खुसियाली छाएको छ । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित वडा कार्यालयमा ६६ वर्षीय कटुवाललाई सोमबार स्थानीय तहका जनप्रतिनिधिले उहाँको परिवारको जिम्मा लगाएको छ । कटुवाल भोजपुरको जरायोटारबाट विसं २०६१ मा बेपत्ता हुनुभएको थियो । “श्रीमान् भेटिनुहुन्छ भन्ने कल्पना नै गरेकी थिइन, उहाँ जिउँदो हुनुहोला भन्ने आश मरिसकेको थियो”, शमशेरबहादुरकी श्रीमती सीताले भन्नुभयो ।
शमशेरबहादुर र सीताको विसं २०५० मा विवाह भएको थियो । दुवै जनाबाट छ सन्तान जन्मिए । “कान्छो छोरो १० महिनाको हुँदा श्रीमान् बेपत्ता हुनुभयो, म एक्लैले छ सन्तान हुर्काएँ”, सीताले भन्नुभयो । यसबीचमा परिवारको साथ नपाएपछि उहाँ माइतीको सहारामा झापाको केचना हुँदै हाल बेलबारीमा बस्दै आउनुभएको छ ।
शमशेरबहादुर बोल्न सक्नुहुन्न । उहाँ घाँटीको क्यान्सर रोगबाट पीडित हुनुहुन्छ । आर्थिक अवस्था कमजोर भएकाले उहाँको उपचार के कसरी गर्ने भन्नेबारे कटुवाल परिवार चिन्तित छ । कटुवालको उपचार गराउन सहयोग जुटाउन थालेको स्थानीय लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउनुहुन्छ ।
बिरामी भएपछि कटुवाल सम्पर्कमा आउनुभएको हो । धेरै मेहनतपछि उहाँलाई घर फिर्ता ल्याउन सकिएको वडाध्यक्ष विक्रम राईले बताउनुभयो । “कटुवाललाई क्यान्सरबाट मुक्त गर्न सहयोग जुटाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो ।
रोजाइमा आकर्षक र टिकाउ बेतका फर्निचर
धरान (सुनसरी) I धरान उपमहानगरपालिका–१० का ७० वर्षे रामबहादुर तामाङ बेतका फर्निचर बनाएर बिक्री सुरु गर्नुभएको साढे चार दशक बित्यो । भारतको सिलगुढीसम्म पुगेर बेत ल्याउने र त्यसैबाट बनेका सामान बिक्रीबाट उहाँले घरखर्च चलाइरहनुभएको छ ।
“साढे चारदशक भयो, बेतका सामान बनाउने र बिक्री गर्दै आएको छु”, तामाङले भन्नुभयो, “यसको बजार अहिलेसम्म राम्रो छ । धरानमै बिक्री गर्दा पनि व्यापार फस्टाएको छ ।” उहाँका अनुसार अहिले पनि मासिक रु ३५ हजारसम्म मजाले बचाउन सकिन्छ ।
उहाँका अनुसार पछिल्लो समय बेतबाट बनेका डोका, डाला, नाङ्लोलगायतका सामानसँगै फर्निचरमा पनि मानिसको आकर्षण बढिरहेको छ । “पहिले डोका, डाला र नाङ्गो बढी बनाइथ्यो, अहिले भने बेतबाट बनेका फर्निचर सजावटका लागि आकर्षण र प्रयोगमा आरामदायी हुने भएकाले माग बढ्दो छ”, उहाँले भन्नुभयो ।
उहाँले धरान र आसपासमा पर्याप्त बेत नपाइने भएकाले सिलगुडीसम्म जानुपरेको सुनाउनुभयो । “यहाँ पर्याप्त बेत नपाइने भएकाले भारतको सिलगुडीसम्म जानुपर्ने अवस्था छ, स्वदेशमै उत्पादन भए त्यहाँसम्म जानुपर्ने बाध्यता हुँदैनथ्यो र सामान पनि सस्तोमै उपलब्ध गराउन सकिन्थ्यो”, उहाँले सुनाउनुभयो ।
उहाँले अहिले बेतबाट कोक्रो, मुडा, ¥याक, कुर्सीलगायतका सामग्री उत्पादन गर्दै आउनुभएको छ । उहाँले बनाउनु भएका सामग्री विदेशीसमेत मन मराउने गरेको उहाँले सुनाउनुभयो । “बेतबाट बनेका सामान पनि बलियासँगै आकर्षित हुन्छन्, सजावटमा पनि अत्यधिक प्रयोग हुन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार अहिले एउटा सामानको रु तीन हजारदेखि रु पाँच हजार पाँच सयसम्ममा बिक्री हुने गरेको छ ।
सिलगुडीमा एक बण्डल बेत खरिद गर्दा रु तीन हजार पाँच सयसम्म पर्ने गरेको त्यसबाट तीन वटासम्म सामान बनाउन पुग्ने भएकाले घाटा नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पसल आफ्नै घरमा भएकाले भाडा तिर्न पर्दैन, कुनै दिन व्यापार नभए पनि घाटा हुँदैन ।”
रामबहादुर जस्तै धरान–११ का श्याम तामाङले पनि बेतका सामग्री बिक्रीबाटै खर्च धान्दै आउनुभएको छ । पछिल्लो २५ वर्षयता फर्निचर व्यापारमा सक्रिय उहाँले सुरमा काठका फर्निचरको व्यवसाय गरे पनि २० वर्षयता भने बेतका फर्निचरको व्यापार गर्दै आउनुभएको छ । “बेतका फर्निचरको व्यवसाय राम्रो छ, मैले मासिक रु ५० देखि ६० हजार आम्दानी गर्दै आएको छु”, उहाँले भन्नुभयो ।
उहाँले अहिले २० देखि २५ वटा बेतको फर्निचर बिक्री गर्दै आउनुभएको छ । बेतबाट बनेका सोफा, डाइनिङ टेबल, प्लङ, कुर्सी, मुडा, ह्याङ्गर, धाकी, गमलालगायत विभिन्न सजावटका सामान उहाँको पसलमा पाइन्छन् ।
बेतको सामग्री निर्माण गर्ने नेपाली कालीगढ नभएकाले पाँच जनासम्म भारतीय कालीगढ राखेको उहाँले बताउनुभयो । उहाँका अनुसार बेतका फर्निचरको उत्पादन बढाउनसक्ने हो भने बजारको अभाव छैन । तर पर्याप्त बेत र कालीगढको अभावका कारण बजारमा मागअनुसारको सामग्री उपलब्ध गराउन नसकिएको उहाँको भनाइ छ । उहाँले बेतको सामान १५ देखि २० वर्षसम्म सजिलै प्रयोग गर्न सकिने बताउनुभयो ।
“नेपाली युवा रोजगारीको खोजीमा दिनहुँ विदेश पलायन भरहेका छन्, हातमा सीप भएमा नेपालमै व्यावसाय गरेर जीवनयापन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
बेतका फर्निचरहरु हेर्दा आकर्षक देखिनका साथै हलुका हुने भएकाले यसको प्रयोग धेरैको रोजाइमा पर्ने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार बेत विशेष गरी दुई प्रकारको प्रयोग हुने गर्छ । भारत सिलगुडीमा उत्पादन हुने बेत अलिक मोटो हुने गर्छ भने पूर्वी पहाडी भेगका जङ्गलमा पाइने बेत पातलो हुन्छन् । यस्ता बेतलाई पानी बेत भनिन्छ । बेतमा बाँस प्रजातिमा पर्छ । तर बाँसभन्दा बलियो हुने गर्छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीनमा
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र बेइजिङबीचको सम्बन्ध प्रगाढ बनाउन उहाँ बिहीबार बिहान यहाँ आइपुग्नुभएको हो ।
राष्ट्रपतिको रूपमा नयाँ कार्यकाल प्रारम्भ गरेपछि पुटिनको यो पहिलो प्रतीकात्मक विदेश भ्रमण हो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको उत्तर–पूर्वी खर्सिभ क्षेत्रमा रुसको आक्रमणका विरुद्ध आफ्नो सेनाले प्रतिरक्षा गरिरहेको बेला आगामी सबै अन्तर्राष्ट्रिय भ्रमणहरू रोक्ने घोषणाको केही घण्टापछि रुसी राष्ट्रपति पुटिन चीनको राजधानी बेइजिङ आइपुग्नु भएको हो ।
सीएनएनका अनुसार चीनियाँ राष्ट्रपति सी जीङपिङ र रुसी राष्ट्रपति पुटिनको बैठकमा रुस–युक्रेन द्वन्द्व, गाजा युद्धको छलफलसँगै दुई देशबीचको व्यापार, सुरक्षा र ऊर्जा सम्बन्ध विस्तार गर्ने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ ।
भ्रमण अगावै राष्ट्रपति पुटिनले चिनियाँ समाचार संस्था सिन्ह्वासँगको अन्तर्वार्तामा दुई देशबीचको रणनीतिक साझेदारीको प्रशंसा गर्नुभएको थियो । उहाँले दुई देशबीच विदेश नीति समन्वयलाई सुदृढ पार्ने, उद्योग र उच्च प्रविधि, बाह्य अन्तरिक्ष र आणविक ऊर्जा, कृत्रिम बुद्धिमता, नवीकरणीय ऊर्जा र अन्य क्षेत्रको प्रयोगको सहकार्यलाई मजबुद बनाउने लक्ष्य राखेको बताउनुभयो ।
यसै क्रममा राष्ट्रपति पुटिनले चीनको युक्रेन सङ्कट समाधान गर्ने दृष्टिकोणको पनि प्रशंसा गर्नुभएको थियो । दुवै नेताले रुस–युक्रेन द्वन्द्व सुरु भएदेखि नै आफ्नो देशको कूटनीतिक, व्यापार र सुरक्षा सम्बन्धलाई बलियो बनाउने पहल जारी राखेका छन् ।
भेटमा दुवै नेताले द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको रुसी क्रेमलिनले जनाएको छ । चिनियाँ समाचार एजेन्सीले वर्णन गरेअनुसार चीन र रुसले आफ्नो कूटनीतिक सम्बन्धको ७५ वर्ष मनाउँदैछन् ।
बेइजिङमा राष्ट्रपति सीसँगको भेटबाहेक पुटिनले रुसको सुदूर पूर्वको सिमानामा रहेको चीनको उत्तर–पूर्वी हेइलोंगजियाङ प्रान्तको राजधानी हार्बिनको पनि भ्रमण गर्ने योजना रहेको स्रोतले बताएको छ ।
जनजाति सङ्ग्रहालय अधुरै
गलकोट (बागलुङ)I बागलुङको काठेखोला गाउँपालिकाले गौरवको योजनाका रुपमा रहेको जनजाति सङ्ग्रहालय छ वर्ष देखि अधुरै रहेको छ । विसं २०७५ देखि सुरु गरिएको काठेखोला–४ तङ्ग्रामस्थित जनजाति सङ्ग्रहालय बजेट अभावमा अधुरै रहेको छ ।
तङ्ग्राममा रहेका जनजातिको पहिचान, भाषा, वेषभूूषा र संस्कृतिलाई सङ्ग्रहित गर्ने उद्देश्यले जनजाति सङ्ग्रहालय निर्माणमा गाउँपालिकाले थालनी गरेको थियो । गाउँपालिकाबाट ‘एक वडा एक गौरवको योजना’अन्तर्गत हालसम्म झन्डै रु ५८ लाख रकम खर्च भइसकेको छ ।
अहिले सङ्ग्रहालयको एकतला भवनमात्रै निर्माण भएको छ । उक्त एकतला भवनले अझै पूर्णता पाउन नसकेको हो । बजेट अभावमा भवनमा झ्याल तथा ढोकासमेत राख्न सकिएको छैन ।
सङ्ग्रहालय निर्माणसँगै आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको भए पनि गाउँपालिकाले बजेट अभावका कारण समयमै निर्माण गर्न नसकेको गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले बताउनुभयो ।
गाउँपालिकाको एक वडा एक गौरवको योजनाअनुसार पर्यटन तथा जनजाति सङ्ग्रहालय निर्माण थाले पनि चालु आर्थिक वर्षमा गाउँपालिकाले बजेट विनियोजन गर्न सकेको छैन ।
“गौरवको योजनाका रुपमा गाउँपालिकाले लिएको जनजाति सङ्ग्रहालयमा पछिल्लो समय गाउँपालिकाले बजेट राख्न सकेको छैन, प्रदेश सरकारसँग समन्वय भइराखेको छ, आगामी आर्थिक वर्षमा सके प्रदेशबाट नसके गाउँपालिकाबाट थोरै रकम भए पनि विनियोजन गरेर एक तला भवनलाई पूर्णता दिने योजनामा गाउँपालिका छ”, प्रवक्ता विकले भन्नुभयो, “गाउँपालिकाले नै रु ५८ लाख खर्चेको भवनलाई अलपत्र छाड्ने भन्ने हुँदैन तर बजेट अभावले ढिलाइ भएकै छ, आगामी वर्ष पूर्णता पाउँछ, त्यसपछि तला थप गर्ने अथवा सङ्ग्रहालय सञ्चालन गर्ने भन्ने विषयमा गाउँपालिकाले छलफल गर्छ ।”
जनजाति सङ्ग्रहालयका लागि गाउँपालिकाले २०७५ सालमा रु पाँच लाख, २०७६ मा रु २० लाख, २०७७ मा रु १३ लाख, २०७८ मा रु १५ लाख र २०७९ मा रु पाँच लाख गरी रु ५८ लाख खर्च गरिसकेको छ । सङ्ग्रहालयमा गाउँपालिकाभित्र बसोबास गर्ने विभिन्न जाति–जनजातिको पहिचान झल्कने सामग्री राखिने भए पनि सङ्ग्रहालय निर्माणमा ढिलाइ भएको स्थानीय नरबहादुर विकले बताउनुभयो ।
उहाँले सङ्ग्रहालय बनेपछि गाउँमा पर्यटक आउने र आर्थिकरुपमा जीविकोपार्जनमा समेत टेवा पुग्ने भए पनि भवनको छ वर्षसम्म निर्माण नसकिएको हो । सङ्ग्रहालयमा गाउँपालिकाभित्र बसोबास गर्ने जातजातिको वेषभूषा, संस्कृति, रीतिरिवाज, परम्परा झल्किने वस्तु राखिने र गाउँपालिकाका जनजातिको लोपोन्मुख भाषा, संस्कृति तथा सामग्रीलाई झल्काउन मद्दत गर्नेगरी निर्माण थालिएको थियो ।
ताप्लेजुङ पर्यटन महोत्सव सुरु
फुङ्लिङ (ताप्लेजुङ) I ताप्लेजुङमा पर्यटन प्रवर्द्धनका लागि आजदेखि ‘पर्यटन महोत्सव’ सुरु भएको छ । यही जेठ ७ गते सम्म सञ्चालन हुने महोत्सवले पर्यटक प्रवर्द्धन गर्नुका साथै स्थानीय कला, संस्कृति तथा वस्तुको प्रचारप्रसार गर्ने उद्देश्य राखेको छ ।
जिल्ला तथा नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभरा, कञ्चजङ्घा, फुङफुङेलगायत पर्यटकीय स्थानको प्रचारप्रसार तथा पहिचानका लागि महोत्सव अयोजना गरिएको महोत्सव सञ्चालन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले बताउनुभयो । “विसं २०६३ देखि सञ्चालन भएको पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव कोरोनाका कारण बीचमा दुई वर्षसम्म हुन सकेन”, उहाँले भन्नुभयो ।
यस वर्ष विगतका वर्षमा झै म्याराथन हुने सञ्चालक समितिका सदस्यसचिव देवराज गुरुङले बताउनुभयो । उहाँका अनुसार आज पहिलो दिन उद्घाटन र अन्तरपालिकास्तरीय चौथो मेयरकप भलिबल प्रतियोगिता हुनेछ ।
महोत्सवमा कृषिमेला प्रदर्शनी, औद्योगिक हस्तकला, खाद्य परिकार महोत्सव, डोको क्यारी रन (पुरुष), टपरी बुन्ने, डोको बुन्ने, वक्तृत्वकला प्रतियोगिता, लोक सांस्कृतिक कार्यक्रम गरिने आयोजक समितिका संयोजक लामाले जानकारी दिनुभयो । उहाँका अनुसार म्याराथन दौड तथा हाफ महिला म्याराथन दौड समेत हुनेछ ।
पाथीभरा म्याराथन, पर्यटन महोत्सव तथा विभिन्न कार्यक्रमका लागि करिब रु ८० लाख खर्च हुने अनुमान गरिएको गुरुङले बताउनुभयो । पर्यटन मन्त्रालय र पर्यटन बोर्डबाट रु २० लाख बजेट माग गरिएको भन्दै बाँकी रकम विभिन्न दाता सङ्घसंस्थाबाट जुटाइने उहाँको भनाइ छ ।
राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने
काठमाडौँ I राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ । यसअघि उक्त बैठक आज अपराह्न १ः१५ बजे बस्ने तय भएको थियो । बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ उपनियम (३) बमोजिम राष्ट्रियसभा अध्यक्षले बैठक सार्नुभएको सूचनामा उल्लेख छ ।