खुसी हुन चुरेकाछवासीबाट सिक्नू
महोत्तरी I महोत्तरीको सुदूरउत्तरी चुरेकाछबस्तीमा पुग्नुभएको छ ? छभने सम्झनुस् त त्यहाँको जनजीवन !
नदी किनार, कान्लाकान्लीको बास । न बाटो, न पुलपुलेसा । बर्खाभरि यहाँका बासिन्दा खोल्सा वारिपारिका छिमेकीलाई पनि भेट्न पाउँदैनन् । न हाटबजार, न त अस्पताल । मिठोमसिनो खाना, राम्रो नाना, ओतलाग्ने सुरक्षित छाना, असञ्चो भइहालेमा स्वस्थोपचार गर्ने संस्था, अहँ ! ती पनि छैनन् ।
अहिले पनि यहाँस्थित चुरेकाछवासीले भात, मनमाफिकको दाल, तरकारी र मिठोमसिनो खान चाडपर्व कुर्नुपर्छ । स्वास्थोपचारका लागि शिविर आउनुपर्छ । स्वच्छ पानीका लागि सरकार र सङ्घसंस्थाले विशेष अभियान नै सञ्चालन गर्नुपर्छ ।
तल मधेसका फाँटमा चुरे दोहनप्रति चिन्ता जाहेर गर्दै मधेस मरुभूमिकरण बन्न लाग्यो भनेर धेरैले धारेहात लाउँछन् । त्यो आवाजले उठिबास पो लाउने हो कि भन्ने पीर पर्दोरहेछ यहाँ ।
अभाव छ । त्रास छ । भौगोलिक, आर्थिक, सामाजिक समस्या छन् । अरु नेपाली सरह रहरलाग्दो जीवन बाँच्ने चाहना छ । तथापि स्थानीयले कहिल्यै आफ्ना समस्या तेस्र्याएर राज्यलाई समस्यामा पार्दैनन् । न त कुनै मागदाबी गर्छन् । अनकण्टारको बास, भौगोलिकरूपमा दुर्गम तर पनि निस्फिक्री बाँचिरहेका छन् चुरेकाछवासी । अभावमा पनि रमाउन सक्नु यहाँको विशेषता हो । स्थानीयले सरकार र सरोकारवालाले देखाउने सामान्य सहानुभूतिमा पनि यी तमाम समस्या क्षणभरमै भुलिदिन्छन् ।
एकसाता अघि नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा र बर्दिवास जनसेवा अस्पतालले बस्तीमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा सहभागी स्थानीय भन्दै थिए, “बेलाबेला हुने यस्ता कार्यक्रम, स्वास्थ्य जाँच र उपचार सेवाले अकालमै मरिदैन होला भन्ने विश्वास जाग्छ ।”
लामो समयपछि आफ्नै बस्तीमा स्वास्थ्य जाँच र उपचार सेवा पाएपछि हामीलाई सम्झने पनि छन् भन्दै दङ्ग हुनुहुन्थ्यो स्थानीय कवीरमान बम्जन । उहाँले भन्नुभयो, “गरिबी, अशिक्षा, कुपोषण र अभावको जाँतोमा पिसिँदा भोगेका पीडा यस्ता सहानुभूति र सहयोगले बिर्साउँदा रहेछन् ।”
कहिल्यै विकासे योजना नपुगेका काछबस्तीमा यसअघि बर्दिवास नगरपालिका र रोटरी क्लब बर्दिवासले खानेपानीको सञ्चय गरेर धारा उपलब्ध गराएको गुन पनि काछवासीले बिर्सेका छैनन् । “हामी त बर्खा लागेपछि बाढीकै धमिलो पानी खाएर गुजारा गर्दै थियौँ, परार खानेपानीको धारा जोडिदिनुभयो । त्यसले निकै राहत भएको छ”, दुई वर्षअघिको गुन सम्झँदै बर्दिवास–११ का बम्जनले भन्नुभयो ।
बर्दिबास नगरपालिकाका वडा नं १० र ११ मा पर्ने यस क्षेत्रमा १० भन्दा बढी बस्ती छन् । यी बस्तीमा हाल तीन सयभन्दा बढी परिवार लाभान्वित हुनेगरी त्यसताका धारा जडान गरिएका थिए । बस्तीबीचमा एउटा विद्यालय छ । सो विद्यालयमा यही शैक्षिकसत्रबाट कक्षा ९ सम्मको पढाइ हुन थालेको छ । यहाँ विद्यालय र खानेपानीको धाराबाहेक अन्य विकास पूर्वाधार छैनन् । अब भने बस्ती विकासका लागि सरोकारवाला र स्थानीय सरकारको ध्यान पुग्ने आशा जागेको बम्जनले सुनाउनुभयो ।
यसपटक दुई वर्षपछि स्थानीय झ्याउरे बस्तीमा चिकित्सक र अन्य सरोकारवालाको उपस्थिति हुँदा सरकार घरआँगनमा आएको भन्दै प्रफुल्ल हुनुहुन्थ्यो बर्दिवास–१० स्कुलडाँडाका ७० वर्षीय सलामसिंह थिङ । “धेरै दिन भयो आँखा नदेखेर संसार अँध्यारो भएको, डाक्टरसापले उपचारपछि चश्मासमेत दिएपछि अहिले देख्ने भएको छु”, थिङ् भन्नुहुन्छ, “हामीलाई आँखा देखाइदिनेको जय होस् ।”
यसैगरी बर्दिवास–११ भाङ्रे बस्तीकी ७५ वर्षीया कुमारी गोले पनि चश्मा लाएर आँखा देख्ने भएपछि निकैै खुसी हुनुहुन्छ । “आँखाको उपचार गरे, चश्मा दिएपछि त छ्याङ्ङै देख्ने भएँ”, गोलेले भन्नुभयो, “गानोगोलाले पनि हैरान थिएँ, त्यसको दबाई (औषधि) दिएका छन् । सञ्चो होला भन्ने आशा छ ।”
यसैगरी बर्दिवास–११ पूर्वीखोलाका पूर्णबहादुर बम्जन पनि बस्तीमै आएर स्वास्थ्योपचार गरिदिएपछि प्रफुल्ल हुनुहुन्छ । “खै, तीनवटा सरकार छन् भन्छन् । हामी खोलाखाँकरमा बस्नेलाई सधैँ सम्झने फुर्सद हुँदैन । यसपटक भने हाम्रा नाडी छाम्न आउनुभयो, यसरी आइदिँदा आडभरोस लाग्छ”, ७५ वर्षीय बम्जनले खुसी हुँदै भन्नुभयो ।
बर्दिवास–१० स्कुलडाँडाकी डोल्मामाया मोक्तानले उमेरले ७० कटेपछि घरआँगनमै स्वास्थ्य जाँच र सञ्चोबिसञ्चो सोधेपछि आधा रोग निको भएको अनुभूति सुनाउनुभयो । “डाक्टरले घरमै आएर सबै हालचाल सोधे, जाँच गरे, दबाई पनि दिए, अब रोगब्याधी निको होला भन्ने आशा जागेको छ”, मोक्तान भन्नुहुन्छ, “बेलाबेला यसैगरी हालचाल सोध्न आइदिए त अझै केही वर्ष बाँचिन्थ्यो कि !”
बर्दिवास चोकबाट करिब ३० किलोमिटर दूरीमा पर्ने चुरेकाछका पिपलेखर्क, माझखोला, तीनपिपले, तीनतले, झ्याउरे, भाङ्रे, गर्तीदोभान, सातदिने, भालुझोरा र पूर्वीखोलासहितका दशभन्दा बढी बस्तीलाई केन्द्रित गरी रेडक्रस बर्दिबास उपशाखाले सञ्चालन गरेको शिविरमा छ सय ५० जनाले स्वास्थ्य जाँच र उपचार सेवा लिएका थिए ।
यी बस्ती खयरमारा बजार कटेर खयरमारा खोला हुँदै सात किलोमिटर छिचोलेपछि सुरु हुन्छन् । यहाँ यातायात, स्वास्थ्य सेवा र अन्य अवसर पुगेका छैनन् । यहाँको बाटो नै खयरमारा खोलाको बगर हो । कात्तिकदेखि जेठसम्म खोलाको बगर हुँदै आउजाउ गर्न सकिए पनि बर्खा लागेपछि यहाँ सम्पर्क सञ्जाल टुट्छ । सिन्धुलीको मरिनसँग जाडिएका यी बस्तीमा राज्यको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुहुन्छ रेडक्रस महोत्तरी शाखाका सदस्य मुकुन्दप्रसाद पौडेल ।
गरिबी, सामाजिक दुरावस्था, शिक्षा र चेतनाको कमी तथा कुपोषणका कारण धेरैजनामा स्वास्थ्य समस्या देखिएका शिविर टोलीका चिकित्सकको निष्कर्ष रहेको नेत्रविशेषज्ञ डा दिना ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा आँखा, दाँत र पाठेघर जाँच गरिएको थियो ।
त्यसक्रममा दुई सय ७० जनाको आँखा जाँच र उपचार, दुई सय ६५ जनाको दाँत र गिँजा तथा एक सय १५ जनाको पाठेघर जाँच र उपचार गरिएको रेडक्रस बर्दिवास उपशाखाका सभापति रेवन्त कार्कीले जानकारी दिनुभयो । उहाँले रोगको अवस्थाअनुसार उपचार, थप परामर्श, आवश्यकतानुसार अन्य अस्पतालमा रेफर गरिएको बताउनुभयो ।
शिविरमा स्वास्थ्य जाँच र उपचार सेवा लिनेमा चार सयभन्दा बढी महिलासमेत सहभागिता रहेको थियो । बर्दिवास नगरप्रमुख प्रल्हदकुमार क्षेत्री राजनीतिक विभाजनमा बर्दिवास नगरपालिकामा गाभिए पनि सो क्षेत्रलाई नगर भन्न लायक बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुहुन्छ । उहाँ सबैको सहयोगमा योजनाबद्ध रूपमा विकासका काम अगाडि बढाएमा मात्रै सो क्षेत्रका जनताले सुविधा पाउने उहाँको बुझाइ छ । “यी बस्तीमा स्वच्छ खानेपानी, आधारभूत शिक्षा र स्वास्थ्य सेवाको पहुँच पुर्याउन लागिरहेका छौँ । पहिलेका भन्दा राज्यको पहुँच बढ्दै छ”, नगरप्रमुख क्षेटीले भन्नुभयो, “अब काछवासीले सरकार पुगेको अनुभूति लिनेगरी कामलाई अगाडि बढाउँछौँ ।” उहाँले चुरेकाछका बस्तीमा गत वर्ष नै रोटरी क्लब अफ बर्दिवासको सहकार्यमा स्वच्छ खानेपानीको प्रबन्ध गरिएको र झ्याउरेमा माध्यमिक तहको पठनपाठन सुरु भएको जानकारी दिनुभयो ।
चुरेकाछका बर्दिबास–१०, ११ मा १० भन्दा बढी बस्ती छन् । यी बस्तीमा ९५ प्रतिशत तामाङ जातिको बसोबास छ । अन्यमा केही कामी, दमाई र सार्कीसहित दलित समुदाय छन् । बर्दिबास–१० का वडाध्यक्ष प्रमोदकुमार मोक्तानका अनुसार यहाँ करिब तीन सय परिवारको बसोबास गरिरहेका छन् ।
अरु समस्या त छँदैछन् राम्रो बाटोघाटो नहुनु यी बस्तीको मुख्य समस्या हो । त्यसकारण हरेक वर्षायाममा अधिकांश समय बाह्य सम्पर्कबाट बञ्चित हुनु यहाँको विवशता हो । बर्दिबास–११ का वडाध्यक्ष पूर्ण बल यो अवस्था अन्त्यका लागि भरपर्दो बाटो निर्माणमा तीनै तहका सरकारले एकीकृत योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताउनुहुन्छ । “सानो रकमले हुने काम हामी स्थानीय तहबाटै गरिरहेका छौँ तर सडकबाटो निर्माणका लागि स्थानीय, प्रदेश र केन्द्र गरी तीनै तहका सरकार मिल्नुको विकल्प छैन । नगर भन्ने तर सोअनुसार स्तरोन्नति र सेवासुविधा विस्तारको काम नगर्ने हो भने त्यसले हामी सबैलाई गिँज्याइरहने छ”, उहाँले भन्नुभयो ।
पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता
कास्की I साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा भोली राष्ट्रिय साइकल दौड प्रतियोगिता हुँदैछ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा तेस्रो संस्करणको राष्ट्रिय साइकल दौड प्रतियोगिता हुन लागेको छ । महिला, पुरूष र ‘रन फर फन’ गरेर तीन विधामा प्रतियोगिता सञ्चालन हुने समितिका अध्यक्ष दीपकबहादुर गोदारले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । गोदारका अनुसार प्रतियोगिताको सबै तयारी पूरा भएको छ ।
प्रतियोगिताको रूट पोखरा–१७ र पोखरा–२१ मा पर्ने गरेर तय गरिएको सहआयोजक कास्की जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष शङ्कर भण्डारीले बताउनुभयो । प्रतियोगितामा पुरूषतर्फ २८ किलोमिटर र महिलातर्फ २० किलोमिटरमा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
पोखरा–१७ पावर हाउसबाट बिहान प्रतियोगिता सुरू हुनेछ । पावर हाउसबाट सुरू हुने दौड महतगौँडा–दोबिल्ला झोलुङ्गे पुल हुँदै पोखरा–२१ फेदीपाटन–खस्र्याङ–निर्मलपोखरी–फेदीपाटन–दम्सादी हुँदै पावर हाउस आएर टुङ्गिने छ । प्रतियोगितामा एक सय जना खेलाडी सहभागी हुने आयोजकको अनुमान छ ।
प्रतियोगितामा सहभागी खेलाडीको रु पाँच लाख बराबरको बीमा गरिएको अध्यक्ष गोदारलले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला–पुरूष खेलाडीले जनही क्रमशः रु ५० हजार, रु तीन हजार र रु २० हजारका दरले नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार पाउने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिनुभयो ।
चौँथो र पाँचौँ हुनेले क्रमश ः रु १० हजार र रु पाँच हजारसहित मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा सहभागी हुने पोखरा महानगरपालिकाभित्रका खेलाडी जसले दूरी सुरूमा पार गर्छ उसले नगद रु १० हजार पोखरा च्याम्पियनको उपाधि प्राप्त गर्ने बताइन्छ ।
प्रतियोगिताको सहआयोजक पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष राधिका शाही योगीले पर्यटकीय राजधानी पोखरा भन्ने नारालाई सफल पार्न यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले स्वस्थ हुन खेलकुद आवश्यक रहेकाले वडाले विभिन्न खेल प्रतियोगिता गरेर स्वस्थ नागरिक र खेलाडी उत्पादनमा ध्यान दिएको बताउनुभयो । समितिका अध्यक्ष गोदारले महानगरले ग्रास रूटबाटै खेलाडी उत्पादनमा जोड दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले १० वटा ग्रासरूट प्रतियोगिता ग¥यौँ । यो भनेको विद्यालयसँग जोडिन्छ जहाँबाट खेलाडी उत्पादन हुन्छ, ।”
कोशी प्रदेश मन्त्रिमण्डल विस्तार : पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप
मोरङ I कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँच मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुभइ कार्यविभाजन समेत गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की, सामाजिक विकासमन्त्रीमा पाँचकर्ण राई, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा एकराज कार्की, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नारायणबहादुर मगर, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा लीलाबल्लभ अधिकारीलाई नियुक्त गर्नुभएको छ ।
यसैगरी मुख्यमन्त्री कार्कीले सिर्जना राईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको राज्यमन्त्री र बन्दना झाँगरलाई पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीको मिति २०८१ जेठ ४ गतेको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम वैशाख २७ गते गठित मन्त्रिपरिषद्को कार्यविभाजन नियुक्ति, हेरफेर र कार्यविभाजनसहित शपथग्रहण गराउनुभएको छ ।
प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आज साँझ मन्त्री कार्की, मगर, अधिकारी, कार्की र राईलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो ।
यसैगरी मुख्यमन्त्री कार्कीले राज्यमन्त्रीद्वय राई र झाँगरलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । यसअघि बिनाविभागीय मन्त्री रहनुभएका रामबहादुर मगरलाई आर्थिक मामिला तथा योजनामन्त्री र गणेशप्रसाद उप्रेतीलाई भौतिक पूर्वाधार विकासमन्त्रीमा कार्यविभाजन गर्नुभएको छ ।
शपथग्रहण समारोहमा सभामुख अम्बरबहादुर विष्ट, प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू लगायतका विभिन्न राजनीतिक दलका नेता एवं कार्यकर्ताको उपस्थिति रहेको थियो ।
पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
ताप्लेजुङ I छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका टिपतालामा पहिलोपटक नेपालतर्फका गाडी पुगेका छन् ।
चीनको तिब्बतसँग जोडिएको टिपताला नाकामा आज एउटा स्काभेटर र ट्याक्टर पुगेको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिनुभयो ।
टिपताला पाँच हजार एक सय मिटरको उचाइमा पर्छ । विराटनगरको रानी भन्सार हुँदै टिपताला जोड्ने सडकको ट्याक खोल्ने कार्य यसअघि नै सकिएको थियो । सो सडक निर्माणको ढेक्का पाएको एलाइट जेभी निर्माण सेवाले ओलाङचुङगोलासम्म ट्याक खोल्ने कार्य केही दिनअघि सम्पन्न गरेको थियो । यता टिपतालादेखि ओलाङचुङगोलासम्मको २४ किलोमिटर दूरीको ट्रयाक खोल्ने कार्य केही वर्ष अघि नै सम्पन्न भइसकेको छ ।
सडक निर्माणसँगै ओलाङचुङगोलावासी तथा उत्तरी क्षेत्रका बासिन्दाको वर्षौदेखिको सडकको सपना पूरा भएको छ । टिपतालादेखि विराटनगरस्थित रानी भन्सार करिब दुई सय ९२ किलोमिटरको दूरीमा जोडिन्छ । टिपताला नाकामा सडक पुगे पनि कोरोना महामारीमा बन्द भएको सो नाका अझै खुलेको छैन ।
दक्षिण कोरियाको रोजगारी दरमा वृद्धि
गत महिना वृद्धवृद्धाको रोजगारीमा तीव्र वृद्धिका कारण दक्षिण कोरियाको रोजगारी बढ्दै गएको तथ्याङ्क कार्यालयको आधिकारिक तथ्याङ्कले शुक्रबार देखाएको छ ।
स्टेटिस्टिक्स कोरियाका अनुसार अप्रिलमा १५ वर्ष वा सोभन्दा बढी उमेरका कार्यरत व्यक्तिको सङ्ख्या एक वर्षअघिको आँकडामा दुई लाख ६१ हजारले बढेर दुई करोड ८६ लाख ९३ हजार पुगेको छ । वृद्धवृद्धाको कामबाट उच्च प्रभावित यो सङ्ख्या अघिल्लो महिना एक लाख ७३ हजारमा पुगेपछि अप्रिलमा तीव्र गतिमा बढेको हो
समग्र रोजगारी विस्तार वृद्धवृद्धाद्वारा भएको थियो । अप्रिलमा ६० वर्ष वा सोभन्दा बढी उमेर समूहका लागि रोजगारीको सङ्रख्या वार्षिक आधारमा अप्रिलमा दुई लाख ९२ हजार भएको छ तर २० देखि ४० वर्ष उमेर समूहका मानिसका लागि ७७ हजार र ९० हजारले सङ्कुचित भएको छ । लगातार पाँचौँ महिना बढ्दो प्रवृत्ति कायम राख्दै उत्पादकहरू बीच रोजगारीको सङख्या गत महिना एक लाखले बढेको छ ।
स्वास्थ्य तथा समाज कल्याण सेवा, सूचना तथा सञ्चार उद्योगमा रोजगारी क्रमशः ९३ हजार तथा ६८ हजारले बढेको छ । शिक्षा सेवामा रोजगारी गुमेको छ । थोक र खुद्रा क्षेत्रका ४९ हजार र ३९ हजारले रोजगारी गुमाउनु परेको छ । नियमित कर्मचारीहरूको सङ्ख्या दुई लाख ९३ हजार तथा अनियमित कर्मचारीहरूको सङ्ख्या दुई लाख पुगेको छ तर गत महिना दैनिक मजदुरहरूको सङ्ख्या भने एक लाख ४७ हजारले घटेको छ ।
कामदारहरू भाडामा लिने स्व–रोजगार गर्नेहरूको सङ्ख्याया अपरिवर्तित रहेको छ भने कर्मचारीहरू बिना स्व–रोजगार गर्नेहरूको सङ्ख्या ९४ हजारले पछि हटेको थियो । यसै क्रममा १५ वर्ष वा सोभन्दा बढी उमेरका लागि रोजगार दर अप्रिलमा शून्य दशमलव तीन प्रतिशतले बढेर ६३ प्रतिशत पुगेको छ भने १५ देखि ६४ वर्षका लागि ओइसीडी–विधि भर्ना दर शून्य दशमलव छ प्रतिशतले बढेर ६९ दशमलव छ प्रतिशत पुगेको छ ।
अप्रिलमा बेरोजगारीहरूको सङ्ख्या आठ लाख ८५ हजार पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ८१ हजारले बढी हो । बेरोजगारी दर शून्य दशमलव दुई प्रतिशतले बढेर तीन प्रतिशत पुगेको छ ।
विस्तारित बेरोजगारी दर अप्रिलमा शून्य दशमलव तीन प्रतिशतले घटेर आठ दशमलव आठ प्रतिशतमा झरेको छ । त्यस्तै १५ देखि २९ वर्ष उमेर समूहका लागि एक दशमलव चार प्रतिशतले घटेर १६ दशमलव एक प्रतिशत भएको छ ।
आधिकारिक बेरोजगारी दरले ती व्यक्तिहरूलाई मापन गर्दछ जो तुरुन्तै कामका लागि उपलब्ध छन् तर सक्रिय रूपमा जागिर खोज्ने प्रयासका बावजुद विगत चार हप्तादेखि जागिर पाउन असफल भएका छन् ।
श्रम न्यून उपयोग सूचक भनिने विस्तारित बेरोजगारी दरदलाई जागिर खोज्नबाट निरुत्साहित हुनेहरू, पूर्ण–समय काम गर्ने इच्छा विरुद्ध अंशकालीन काम गर्ने र कलेज स्नातकपछि जागिर प्राप्त गर्न तयारी गर्नेहरूलाई आधिकारिक बेरोजगारी दरमा मापन गरिन्छ I नोकरी खोज्ने कुनै इच्छा नभएको आर्थिक रूपमा निष्क्रिय जनङ्ख्या अप्रिलमा एक वर्ष अघिको तुलनामा एकलाख ७४ हजारले घटेर एक करोड ५९ लाख ६१ हजार भएको छ । गत महिना निरुत्साहित रोजगारी खोज्नेहरूको सङ्ख्या ४५ हजारदेखि तीन लाख ६९ हजारसम्म बढेको छ ।
‘उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ’
चितवन I उच्च रक्तचापलाई नियन्त्रणमा राख्नसके यसबाट हुने दीर्घकालीन असरबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् । यो रोग नभएर रोगको कारक भएको भन्दै रक्तचापलाई नियन्त्रणमा राखेर सहज जीवनयापन गर्न सकिने बताएका हुन् । उच्च रक्तचापले शरीरका विभिन्न महत्वपूर्ण अङ्गमा असर पु¥याउने भएकाले नियमित परीक्षण गर्न चिकित्सकले सुझाव दिएका छन् ।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ प्रा डा श्यामराज रेग्मीले उच्च रक्तचाप नियन्त्रण गर्नसकेमा दीर्घकालीन असरबाट बच्न सकिने बताउनुभयो । उच्च रक्तचापलाई हल्कारुपमा नलिन सुझाव दिँदै उहाँले नियमित परीक्षण गर्न आमनागरिक सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
डा रेग्मीले भन्नुभयो, “उच्च रक्तचाप नियन्त्रणमा लिन सकिएन भने मिर्गाैला, मुटु, मस्तिस्क, आँखालगायत अङ्गहरुमा असर गर्दछ ।” वंशाणुगत र मोटोपनबाट उच्च रक्तचाप हुने भन्दै उहाँले चिकित्सकले सुझाएअनुसार नियमित औषधि सेवनबाट नियन्त्रणमा राख्न सकिने बताउनुभयो ।
“उच्च रक्तचाप भएका व्यक्तिले मुख्यरुपमा नुनको सेवनमा विशेष ध्यान दिनुपर्छ । सकेसम्म नुन कम खानु उपयुक्त विकल्प हो”, डा रेग्मीले भन्नुभयो । उच्च रक्तचापले मस्तिस्क घातसम्म हुनसक्ने भन्दै आँखामा असर गरे अन्धो, मुटुमा असर गरे हृदयाघात र मिर्गाैला खराब गराउनसक्ने उहाँको भनाइ छ । मिर्गाैला बिग्रँदा पनि उच्च रक्तचापको जोखिम रहने उहाँले जानकारी दिनुभयो ।
चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारीले उच्च रक्तचाप आफू रोग नभएर रोगको कारक भएको बताउनुभयो । उहाँले उच्च रक्तचाप समयमा नियन्त्रण गर्न नसकेको खण्डमा कालन्तरमा शरीरका विभिन्न अङ्गहरुलाई असर पार्ने बताउनुभयो ।
“मधुमेहलाई रोग पनि मान्छौँ, कारक पनि मान्छौँ । उच्च रक्तचाप आफैँ रोग होइन, रोगको कारक मानिन्छ”, डा लौडारीले भन्नुभयो, “यसले मुटुमा असर पार्ने, हृदायघात र हर्टफेलियर पनि गराउन सक्छ । मुटुबाट निस्कने ठूला–साना जुनसुकै रक्तनलीलाई असर पार्नसक्ने भएकाले स्टक (मस्तिष्कको पक्षघात) लगायतका अन्य समस्या हुन सक्छन् ।”
रक्तचाप मापन गरेको ठीक छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुने भन्दै डा लौडारीले रक्तचाप मापनका आफ्नै नियम (प्रोटोकल) हुने बताउनुभयो । हतारमा अस्पताल पुग्ने बित्तिकै रक्तचाप नाप्न नहुने सुझाव दिँदै उहाँले भन्नुभयो, “अस्पताल पुगेको १० देखि १५ मिनेट आराम गरेपछि, कुर्चीमा ढाड सिधा हुने गरी आड लगाएर, खुट्टा भुइँमा राखेर रक्तचाप नाप्नु पर्दछ ।” रक्तचाप नाप्नुभन्दा एक घण्टाअघिदेखि चिया, कफी, चुरोट, मदिरा सेवन गर्न नहुने उहाँको भनाइ छ ।
एक पटक रक्तचाप उच्च (हाई) देखियो भन्दैमा तुरुन्त औषधि खान सुरु गर्न नहुने डा लौडारीले बताउनुभयो । “रक्तचाप उच्च देखियो भने १५ देखि २० मिनेटमा पुनःपरीक्षण गर्ने, अर्काे दिन पनि परीक्षण गरेर एकिन गर्नुपर्छ”, उहाँले थप्नुभयो ।
पोटासियमयुक्त खानेकुराले रक्तचापलाई नियन्त्रणमा राख्ने भन्दै मुटुरोग विशेषज्ञ डा लौडारीले फलफूल र सागपातमा पोटासियम पाइने भएकाले नियमित खान सुझाव दिनुभयो । नियमित चुरोट, खैनी, सूर्ती, मदिरा सेवनले रक्तचाप बढाउने जनाउँदै उहाँले बाहिरका पत्रुखाना र प्रदूषणसँगै स्टेस (तनाव) ले पनि उच्च रक्तचाप बढाउने बताउनुभयो ।
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी
बिहारको राजधानी पटनास्थित एक विद्यालय परिसरको ट्याङ्कीभित्र एक विद्यार्थीको शव फेला परेपछि शुक्रबार बिहान आक्रोशित भिडले विद्यालयमा आगो लगाएको प्रहरीले जनाएको छ ।
स्रोतका अनुसार घटना दिघा प्रहरीअन्तर्गतको रामजिचक क्षेत्रमा भएको हो । आक्रोशित आफन्त तथा स्थानीयहरूले सडक अवरुद्ध गरी स्कुलमा आगो लगाएका थिए ।
स्कुल गएका करिब तीन वर्षका बालक स्कुलपछि ट्युसन लिने गर्थे । साँझ घर नफर्किएपछि परिवारले उनको खोजी गर्यो । उनको शव शुक्रबार बिहान तीन बजे विद्यालय परिसरको ट्याङ्की भित्रबाट निकालिएको प्रहरीले जनाएको छ ।
घटनाबाट आक्रेशित स्थानीयहरूले सडक अवरुद्ध गरी विद्यालयमा आगो लगाएका थिए भने घटनास्थलमा पुगेका फायर टेन्डरहरूले आगो निभाउन सफल भए ।
वरिष्ठ प्रहरी अधिकारीहरूले अनुसन्धान सुरु गरेको बताएका छन् । पाटनाका प्रहरी अधीक्षक चन्द्र प्रकाशले घटनाको विवरण दिँदै आमाबाबुले राति ढिलो जानकारी दिएपछि प्रहरी टोली घटनास्थलमा पुगी प्रमाण सङ्कलन गरेको बताउनुभयो ।
ससिटिभीमा बच्चा स्कुलमा प्रवेश गरेको तर कुनै पनि विन्दुमा उनी स्कुल परिसरबाट बाहिर निस्किएको देख्न नसकिएकाले घटनालाई हत्याको मुद्दाका रूपमा अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।
आपराधिक उद्देश्यको घटनाको प्रवृत्ति देखा परेकाले तीन जनालाई हिरासतमा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा
गण्डकी I अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने उपल्लो मुस्ताङको लोमान्थाङमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पन्छीविद् सङ्घका अनुसार उक्त चरालाई ‘फुस्रो सारौँ’ अभिलेख गरिएको छ । चराविद् शङ्कर तिवारीले पदयात्राका क्रममा गत वैशाख २५ गते बिहान ८ः४९ बजे उक्त चरा देख्नुभएको नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा तुलसी सुवेदीले जानकारी दिनुभयो ।
कमिटीले चराका तस्बिर र विवरणको अध्ययन तथा राष्ट्रिय÷अन्तर्राष्ट्रिय चराविद्सँगको राय सुझावका आधारमा नयाँ प्रजाति पहिचान गरेको हो । चराविद् तिवारीले अवलोकनका क्रममा भेटाएको सो चराको अङ्ग्रेजी नाम ‘ह्वाइट चिक्ड स्टार्लिङ’ र वैज्ञानिक नाम ‘स्पोडायोप्सर सिनेरासियस’ रहेको जनाइएको छ ।
यो चरा उत्तर र पूर्वी एसियाका चीन, जापान, मङ्गोलिया, उत्तर कोरिया, रुस, दक्षिण कोरिया, हङकङ, ताइवान र भियतनाममा आवसीय रुपमा पाइने सङ्घले जनाएको छ । लाओस, म्यानमार, फिलिपिन्स र थाइल्यान्डमा फिरन्ते चराका रुपमा रेकर्ड भएको सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
योसँगै नेपालमा चराका प्रजातिको सङ्ख्या आठ सय ९५ पुगेको जनाइएको छ । नेपालबाट सबैभन्दा नजिक चीनका विभिन्न ठाउँमा यो चरा पाइने गरेको छ । यो चराले जाडोमा दक्षिणतिर बसाइँ सर्ने र दक्षिणपूर्वी चीन, ताइवानमा जाडो बिताउने गरेको चराविद् बताउँछन् । लोमान्थाङमा रेकर्ड गरिएको उक्त चरा प्रजनन क्षेत्रमा फर्कने बाटोमा फिरन्तेका रुपमा आइपुगेको अनुमान गरिएको छ ।
गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि
काठमाडौँ I नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय स्टेशनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन भएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले वर्षा गराउने प्रणाली नभएको तथा स्थानीय र पश्चिमी वायुको प्रभावले तापक्रम बढेको बताउनुभयो ।
उहाँले तराई क्षेत्रमा ४० डिग्रीभन्दा माथि तापक्रम पुगेको र अझै बढ्न सक्ने जानकारी दिनुभयो । “तापक्रम निरन्तर बढिरहेको छ । बिहीबार देशका आठ स्टेशनमा ४० डिग्री तापक्रम पुगेको थियो । अहिले पनि तीन/चार स्टेशनमा ४० डिग्री कटेको देखिन्छ । तराईका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा निरन्तर तापक्रम बढिरहेको छ”, उहाँले भन्नुभयो ।
मौसमविद् मानन्धरका अनुसार कपिलवस्तुको तौलिहवा र नेपालगञ्ज, बाँकेको खजुरालगायतका स्थानमा तापक्रम ४० डिग्री कटेको छ । उहाँले भन्नुभयो, “पूर्वी भेगमा बादल लागेको अवस्था छ, पश्चिमतर्फ वर्षा गराउने बादल देखिँदैन त्यसैले गर्मी अझै बढ्ने देखिन्छ ।” मौसमविद् मानन्धरका अनुसार नेपालमा हालसम्म सन् १९९५ जुन १६ मा ४६ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । उक्त तापक्रम हालसम्मकै उच्च हो । काठमाडौँमा सन् ७ मे १९८९ मा अधिकतम तापक्रम ३६ दशमलव ६ डिग्री पुगेको थियो ।
तीन दिनयता काठमाडौँ उपत्यकामा गर्मी महसुस भएको छ । काठमाडौँमा ३१ देखि ३३ डिग्री हाराहारी तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्ष औसत र औसतभन्दा बढी वर्षा हुने महाशाखाले जनाएको छ । यो वर्ष जुनको १३ तारिख अर्थात् जेठ ३१ गतेदेखि नेपालमा मनसुन भित्रिने अनुमान गरिएको छ ।
तेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु भएको छ
तेह्रथुम I तेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु भएको छ । स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सव यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा स्थानीय उत्पादन ढाका, परम्परागत बालीका परिकार, विभित्र जातजातिका खानाका परिकार, चिया, दूधजन्य परिकार, जडीबुटीका स्टल गरी ४० वटा स्टल राखिने आयोजकले जनाएको छ । उद्योग वाणिज्य सङ्घ तेह्रथुम र पोखरी एकीकृत समाज म्याङलुङ १० तम्फुलाको संयुक्त आयोजनामा महोत्सव सुरु भएको हो । ५० हजार अवलोकनकर्ताले महोत्सव अवलोकन गर्ने र रु एक करोड बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको आयोजक समिति उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष राजीव ढुङ्गानाले बताउनुभयो । उहाँले भत्रुभयो, “महोत्सव अवलोकनका लागि विभित्र जिल्लाका ढाका तथा अन्य उद्यमी व्यवसायीलाई निमन्त्रणा गरेका छौँ ।”
सांस्कृतिक झाँकीसहित म्याङलुङबजार परिक्रमा गरी सुरु भएको महोत्सव म्याङलुङ नगरपालिका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले उद्घाटन गर्नुभयो । प्रमुख तुम्बाहाम्फेले मुलुकको आर्थिक विकास, स्वदेशी उत्पादन र पर्यटकीय क्षेत्रको विकास र प्रचार गर्न महोत्सवले महत्वपूर्ण योगदान दिने चर्चा गर्नुभयो । ढाका र गुराँसको राजधानीका रुपमा तेह्रथुम परिचित छ । महोत्सवले ढाका र गुराँसकै प्रचारप्रसार हुने महोत्सव आयोजक संस्था पोखरी एकीकृत समाजका अध्यक्ष प्रेम तुम्बाहाङ्फेले विश्वास व्यक्त गर्नुभयो ।
अठ्ठाइस प्रजातिका गुराँस तेह्रथुमको टिएमजे (तीनजुरे, मिल्के, जलजले) क्षेत्रमा पाइन्छ । तेह्रथुमको लालीगँराँस नगरपालिकामा पर्ने यो क्षेत्रमा तराईको गर्मी छल्न र गुराँस अवलोकन गर्न धेरै अवलोकनकर्ता आउने आङ्कलन आयोजकको छ । महोत्सवमा आउने पर्यटकले तेह्रथुमका अन्य पर्यटकीय क्षेत्रहरु ह्यात्रुङ झरना, मेन्छ्यायेम डाँडा, तिनजुरे, चिचिलिङ पोखरीलगायतको समेत भ्रमण गर्ने अनुमान गरिएको महोत्सव आयोजक समितिका सदस्य रुपक सुवेदीले बताउनुभयो ।
ढाका महोत्सवले स्थानीय उद्यमीलाई हौसला मिलेको अनुग्रह ढाका उद्योगकी सञ्चालिका शान्ति लिम्बूले बताउनुभयो । सुस्त रहेको आर्थिक गतिविधिलाई चलायमान बनाउन, ढाकाको ‘ब्रान्डिङ’ गर्न, ढाकाको राजधानी तेह्रथुमको पहिचानलाई पुनः उजागर गर्न यो महोत्सवले सहयोग पुग्ने नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य तथा मेला महोत्सव समितिका सभापति उमेश डालमियाले स्पष्ट पार्नुभयो । “बजारीकरणमा स्थानीय तहले निजि क्षेत्रको सहकार्यमा नङ र मासुको हिसाबमा काम गरे मात्र स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्न सक्छ, स्थानीय तहले एक्लैले सम्भव छैन”, उहाँले भत्रुभयो ।