सीमान्तकृत समुदायका मुद्दालाई प्राथमिकतामा राख्न सुझाव
नेपालगञ्ज I सीमान्तकृत, अल्पसङ्ख्यक, पिछडिएका समुदाय, महिला तथा दलित समुदायका मुद्दालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले नीति, तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिइएको छ ।
नेपालगञ्जमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बिहीबार आयोजना गरेको ‘लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम र मानवअधिकारको सवाल’ विषयक अन्तक्र्रियामा ती समुदायका सहभागीले आफूहरुलाई विकासको मूलप्रवाहमा ल्याउने विषय चुनौतीपूर्ण भएको बताए ।
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रत्न खत्रीले अल्पसङ्ख्यक र सीमान्तकृत समुदायलाई सीप सिकाएर आत्मनिर्भर बनाउन आवश्यक भएको उल्लेख गर्दै आधारभूत मानवअधिकारको रक्षा सामाजिक पूर्वाधारको विकासबाट मात्र सम्भव हुने बताउनुभयो ।
उहाँले लुम्बिनी, स्वर्गद्वारी, ठाकुरबाबा, बागीश्वरी मन्दिरलगायत सांस्कृतिक एवं धार्मिक स्थलको विकासमा जोड दिँदै त्यसबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्ज कार्यालयप्रमुख द्वारिका अधिकारीले सीमान्तकृत, अल्पसङ्ख्यक, पिछडिएका समुदाय, महिला तथा दलित समुदायका मुद्दालाई राज्यले प्राथमिकता दिएर तदनुरुप काम गर्नुपर्ने बताउनुभयो ।
कानुन व्यवसायी विकास आर्चायले प्रदेश सरकारले विभिन्न आयोग गठनमा विलम्ब गरेको कारण समस्या बढ्दै गएको उल्लेख गर्नुभयो ।
फातिमा फाण्डेसनकी अध्यक्ष मैमुना सिद्धिकीले मुस्लिम समुदायमा सम्बन्धविच्छेदका विषयमा अदालतबाट फैसला आए पनि मुस्लिम परम्पराअनुसार तलाक हुन समय लाग्ने भएकाले खानपानलगायत समस्याले महिला पीडित हुने गरेकाले यसलाई सरकारले सम्बोधन गर्न जरुरी रहेको बताउनुभयो ।
कानुन व्यवसायी वसन्त गौतम, सुनिता शर्मा, अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रदेश प्रमुख भोला महत, दैनिक नेपालगञ्जका सम्पादक झलक गैरे, ज्येष्ठ नागरिक समाजका मुरारी भट्टराईले अब सार्वजनिक हुने प्रदेश सरकारको नीति कार्यक्रममा सीमान्तकृत तथा अल्पसङ्ख्यकका मुद्दालाई सम्बोधन गर्न आग्रह गर्नुभयो ।
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौँ I प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ । त्यसअघि संसदीय दल कार्यसमितिको बैठक हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा आजै बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छ लफल हुने संसदीय दलको कार्यालयले जनाएको छ । साथै प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको घटनाका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सांसदहरुले बेल घेराउ र नाराबाजी गरिरहेका बेला सभामुखले नियमित कार्यसूचीमा प्रवेश गरी उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिनुभएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र कांग्रेसका सांसदबीच धकेलाधकेल भएको थियो ।
कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको समेत संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । छानबिन समिति गठन नभएको भन्दै उसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले बिहीबार सहकारीको रकम अपचलन गरेकालाई कारबाही गर्न निष्पक्ष छानबिन हुनुपर्ने तथा संसदीय समिति नबनेसम्म आफ्नो पार्टीले बैठक सञ्चालन हुन नदिने बताउनुभएको छ । कांग्रेसले सहकारीका बचतकर्ताको रकम फिर्ता दिलाउनुपर्ने र सहकारीको रकम अपचलनमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै आएको छ ।
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
नवलपुर (नवलपरासी)I नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका सङ्घीय सरकार र प्रदेश सरकार मातहतका कार्यालयले १० महिनाको अवधिमा रु २० अर्ब ९५ करोड ८७ लाख ६४ हजार चार सय ५० राजस्व सङ्कलन गरेका हुन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरका सूचना अधिकारी कोष नियन्त्रक जीतनारायण महतोले जिल्लामा सङ्कलन भएको राजस्वमध्ये सङ्घीय सरकारलाई जाने राजस्वतर्फ रु २० अर्ब ५० करोड ६९ लाख ५५ हजार सात सय ७९ एवं गण्डकी प्रदेश सरकारको खातामा दाखिला हुने रु ४५ करोड १८ लाख आठ हजार छ सय ७९ सङ्कलन भएको जानकारी दिनुभयो ।
आन्तरिक राजस्व कार्यालय कावासोतीले रु २० अर्ब ३३ करोड ८० लाख ९७ हजार सात सय ३२ राजस्व सङ्कलन गरेको महतोले जानकारी दिनुभयो । यसैगरी, सङ्घीय सरकारलाई जाने राजस्वतर्फ जिल्ला प्रशासन कार्यालय नवलपुरले रु आठ करोड ३९ लाख ५१ हजार एक सय २०, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले रु दुई करोड ४२ लाख एक हजार सात सय ११, जिल्ला अदालत नवलपुरले रु एक करोड ५७ लाख ७७ हजार सात सय ९९, त्रिवेणी भन्सार कार्यालयले रु एक करोड ५८ लाख ५१ हजार छ सय ४७ राजस्व सङ्कलन गरेका महतोले बताउनुभयो ।
जिल्लास्थित गण्डकी प्रदेश सरकार मातहतका कार्यालयमध्ये यस वर्षको वैशाख मसान्तसम्ममा यातायात व्यवस्था कार्यालयले रु २५ करोड ६९ लाख ३९ हजार दुई सय २७, मालपोत कार्यालयले रु १२ करोड ९१ लाख ६१ हजार छ सय २७, डिभिजन वन कार्यालयले रु चार करोड ५२ लाख ८१ हजार आठ सय ५४ राजस्व सङ्कलन गरेका छन् ।
आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह
काठमाडौँ I विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।
विभागले बिहीबार अपराह्न जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन’ अनुसार तराईमा धेरै गर्मी र हावासमेत तातो हुनेछ । “विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ ।सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ, ” बुलेटिनमा भनिएको छ ।
आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
साथै विभागले तातो लहरको असरबाट बच्न गर्मीको समयमा घरभित्र नै रहन, घरबाहिर नजान, हलुका र सुतीका कपडा लगाउन, घरबाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित र पटक –पटक पानी तथा झोल पदार्थ पिउने सुझाव दिएको छ ।
तातो हावा तथा तातो लहर (लू)बाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसीहरू दुख्ने, बान्ता हुनसक्ने भएकाले लूबाट बच्न सुझाएको छ ।
प्रथम बृहत् खोटाङ–हलेसी महोत्सव : साहित्यकार किराँती सम्मानित
खोटाङ I नेपाल खेलकुद प्रतिष्ठान खोटाङले वरिष्ठ कवि तथा साहित्यकार जसराज किराँतीलाई नगदसहित सम्मान गरेको छ । प्रतिष्ठानले आयोजना गरेको ‘प्रथम वृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत आज त्रिधार्मिकस्थल हलेसीमा आयोजित खुला राष्ट्रिय कविता प्रतियोगिताको शुभारम्भ समारोहमा साहित्यकार किराँतीलाई रु ११ हजार एक सय ११ नगदसहित ताम्रपत्र दोसल्ला ओढाएर सम्मान गरेको हो । कवि तथा साहित्यकार किरातीले साहित्य लेखनको माध्यमबाट समाज रुपान्तरणमा पु¥याउनुभएको योगदानको कदरस्वरुप नगदसहित दोसल्ला ओढाएर ताम्रपत्रले सम्मान गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ ।
सम्मानित कवि तथा साहित्यकार किरातीलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राईले नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको हो । गत वैशाख३१ गतेदेखि यही जेठ १० गतेसम्म सञ्चालन हुने महोत्सव अन्तरगत बिहीबार हलेसीमा खुला राष्ट्रिय कविता प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगीलाई प्रत्यक्ष वाचन गराएर फाइनल प्रस्पिर्धा गराइने प्रतियोगिताका लागि आयोजकसँग दर्ता भएको ३५ जनाको कवितामध्येबाट १६ वटा छनोट गरिएको जनाइएको छ ।
छनोटमा परेका कवि तथा कवयात्रिका कविता स्वयम् कवि तथा कवयात्रिलाई वाचन गर्न लगाएर प्रथम, द्वितीय, तृतीय, चौँथो र पाँचौँ स्थानसम्म घोषणा गरिने निर्णायक मण्डलका संयोजक रामविक्रम थापाले जानकारी दिनुभएको
कोशी प्रदेशका नवनियुक्त मुख्यन्यायाधीवक्ताको शपथ ग्रहण
मोरङ I कोशी प्रदेशका नवनियुक्त मुख्यन्यायाधीक्ता नारायण वस्तीले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
मुख्यन्यायाधीवक्ता वस्तीलाई आज विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।
कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम विराटनगर–४ निवासी वस्तीलाई मुख्यन्यायाधीवक्तामा आज नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री कार्की, सभामुख अम्बरबहादुर विष्ट, बिना विभागीयमन्त्री रामकुमार मगर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख, प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीलगायतको उपस्थिति रहेको थियो ।
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौँ I प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ ।
बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरले अर्को बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित गर्नुभएको हो ।
आजको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा (एमाले) पनि रोष्टममा उत्रिएको थियो ।
सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोल्नका लागि समय माग गर्नुभएको जानकारी गराउँदै बोल्नका लागि समय दिनुभएको थियो तर कांग्रेसले विरोध जारी राखेपछि बैठक स्थगित गर्नुभयो ।
नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।
द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन पुटिनसँग सहकार्य गर्न चिनियाँ सी तयार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बेइजिङ आगमनपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देशबीचको द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन संयुक्तरूपमा काम गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।
बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भएको बृहत् वार्ताका क्रममा चिनियाँ राष्ट्रपतिले दुई पक्षले कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्सवलाई नयाँ सुरुआतका रूपमा लिनुपर्ने, विकास रणनीतिमा थप समन्वय गर्नुपर्ने र द्विपक्षीय सहयोगलाई समृद्ध बनाउने पहल जारी राख्नुपर्ने बताउनुभयो ।
सिन्ह्वाले रिपोर्ट गरेअनुसार राष्ट्रपति जिनपिङले दुई देशबीच सहकार्यका लागि विभिन्न क्षेत्रमा नयाँ योजना बनाउन तयार रहेको बताउनुभयो ।
राष्ट्रपति जिनपिङले यस वर्ष चीनको स्थापनाको ७५औँ वार्षिकोत्सव भएको उल्लेख गर्दै देशले सबै मोर्चामा चिनियाँ आधुनिकीकरणलाई अगाडि बढाइरहेको र उच्च गुणस्तरको विकासको माध्यमबाट नयाँ उत्पादक शक्तिहरूलाई बढावा दिन द्रुत गतिमा अघि बढिरहेको बताउनुभयो ।
उहाँले चीन र रुस दुवै संयुक्त राष्ट्र सुरक्षा परिषद् र प्रमुख उदीयमान बजारका स्थायी सदस्य रहेको कुरामा जोड दिनुभयो ।
सिन्ह्वाका अनुसार यो भेट रणनीतिक समन्वयलाई गहिरो बनाउन, पारस्परिक लाभदायक सहयोग विस्तार गर्न र विश्वमा बहुध्रुवीयता र आर्थिक भूमण्डलीकरणको सामान्य ऐतिहासिक प्रवृत्ति पछ्याउन दुवै देशको साझा रणनीतिक छनोट हो ।
राष्ट्रपतिका रूपमा आफ्नो नयाँ कार्यकाल सुरु गरेपछि रुसी राष्ट्रपतिको यो पहिलो विदेश भ्रमण भएको उल्लेख गर्दै राष्ट्रपति पुटिन र रुसी सरकारले चीन–रुस सम्बन्धको विकासमा राखेको ठूलो महत्त्व दर्शाउनेमा राष्ट्रपति जिनपिङले जोड दिनुभयो ।
छलफलका क्रममा चिनियाँ राष्ट्रपतिले पुटिनलाई ‘पुरानो मित्र’ का रूपमा अभिवादन गर्नुभयो र चीन र रुसले विगत एक दशकमा ४० भन्दा बढी बैठकमा एकअर्कालाई ‘रणनीतिक मार्गदर्शन’ प्रदान गरेको बताउनुभयो ।
चीन भ्रमणका क्रममा पुटिन चीनको उत्तरपूर्वी हेइलोंगजियाङ प्रान्तको राजधानी हार्बिन जानुहुने कार्यक्रम रहेको छ । त्यहाँ उहाँले व्यापार र सहयोगका कार्यक्रममा भाग लिनुहुनेछ । ऐतिहासिकरूपमा चीन र रुसबीचको सीमा तनावले ग्रस्त यस क्षेत्रमा हालैका वर्षहरूमा कनेक्टिभिटी बढेको देखिएको छ । यसबाट दुई छिमेकीबीच घनिष्ठ आर्थिक र सांस्कृतिक सम्बन्ध सुधारिएको पाइएको छ I
गर्भवती र कुरुवालाई निःशुल्क खाना
त्रिवेणी (रुकुमपश्चिम) I रुकुमपश्चिमको एउटा स्वास्थ्यचौकीमा गर्भवती र एक कुरुवालाई निःशुल्क खानाको व्यवस्था गरिने भएको छ । मुसिकोट नगरपालिका–११ स्थित भलाक्चा स्वास्थ्यचौकी व्यवस्थापन समितिले गर्भवती र उनका एक कुरुवालाई निःशुल्क खानाको व्यवस्था गर्ने निर्णय गरेको छ ।
स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर बुढाले खाना खर्चको व्यवस्थापन वडा कार्यालयले गर्ने बताउनुभयो । उहाँ मुसिकोट–११ का वडाध्यक्षसमेत हुनुहुन्छ । “गर्भवतीलाई घरबाट खाना बोकेर ल्याउन समस्या हुने भएकाले सहजताका लागि स्वास्थ्यचौकीमै निःशुल्क खानाको व्यवस्था गर्न लागिएको हो”, उहाँले भन्नुभयो ।
सुत्केरीका लागि नगरपालिकाले एम्बुलेन्सको समेत निःशुल्क व्यवस्था गरेको भलाक्चा स्वास्थ्यचौकी व्यवस्थापन समितिले जनाएको छ ।
खेतको सिमाना विवादमा सँधियारको हत्या
सिरहा I सिरहाको अर्नमा गाउँपालिका–२ स्थित ब्रह्मपुरीमा खेतको सिमाना विवादका क्रममा ५५ वर्षीय बचाइ महतोले कोदालो प्रहार गर्दा सोही उमेरका सँधियार बुधराम महतोको मृत्यु भएको छ । कोदालो प्रहारबाट बधुरामको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
लामो समयदेखि जमिन विवाद रहेको र उनीहरू आज बिहान पनि खेतमै भेट भएको समयमा विवाद चर्किएर घटना घटेको हुनसक्ने सो वडाका अध्यक्ष दीपेन्द्र महतोले जानकारी दिनुभयो । अध्यक्ष महतोका अनुसार दुई सँधियारबीच लामो समयदेखि जमिनको विषयमा मुद्दा चलिरहेको थियो ।
घटना भएयता बचाइ फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्त प्रहरी नायब उपरीक्षक मुक्तिराम सापकोटाले बताउनुभयो । उहाँका अनुसार प्रहरीले अहिले घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।