लुम्बिनीको तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध
१६ वैशाख, काठमाडौँ I विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन गरिएको बताएको छ ।
आगामी केही दिन सम्म देशभरको तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । आजदेखि आगामी पाँच दिनसम्मका लागि विभागले शनिबार अपराह्न जारी गरेको तातो लहर ‘हिटवेभ’सम्बन्धी विशेष ‘बुलेटिन’मा देशको पहाडी भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्नसक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।
तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुनसक्ने भएकोले घरभित्रै रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नबस्ने, हल्का सुती कपडा लुगा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटक–पटक पानी तथा जुस, सर्वतलगायत प्रशस्त मात्रामा तरल पदार्थ पिउने र स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मी नियमित सम्पर्कमा रही सुझाव लिन विभागले अनुरोध गरेको छ ।
एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
१६ वैशाख, काठमाडौँ I मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज यहाँ तेस्रो लगानी सम्मेलन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने सम्मेलनमा लगानीका निम्ति रु नौ खर्ब बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् ।
नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरण सहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलन स्थलमा राखिने छ I १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ I
भोलि सोमबार समापन हुने सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र हुनेछन् । दोस्रो दिन ११ वटा समानान्तर सत्र सञ्चालन गरिनेछ । सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग साक्षात्कार गर्ने व्यवस्था मिलाइएको छ । देशको आर्थिक वृद्धिको वाहक निजी क्षेत्रलाई सहआयोजक बनाएर सरकारले सम्मेलन आयोजना गरेको हो ।
उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुन, पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, भारतको वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल, संयुक्त अधिराज्यको एशिया–प्रशान्त मामिला राज्यमन्त्री आन्मुरी ट्रुभेलियन तथा अफ्रिका विकास मामिला राज्यमन्त्री एन्ड्रु मिचेलल, संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास (अङ्कट्याड)का महासचिव रेबेका ग्रेन्सपान र चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग नियोग अध्यक्ष लु चाउहुईले सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष यिङमिङ याङ्, एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)का कार्यवाहक उपाध्यक्ष रजत मिश्र, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, आइटीसी लिमिटेड इन्डियाका कार्यकारी निर्देशक तथा प्रमुख वित्त अधिकृत सुप्रतिम दत्ता र अमेरिकी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अतुल केशपले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
यसैगरी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, भारतीय कम्पनी सतलज जलविद्युत् निगमका अध्यक्ष सुशील शर्मा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीका अवसर, त्यसबाट प्राप्त हुने प्रतिफललगायत लगानीका तुलनात्मक क्षेत्रबारे जानकारी दिनुहुनेछ ।
इलाम-२ मा ५९ दशमलव ७९ प्रतिशत मतदान, आजै गणनाको तयारी
१५ वैशाख, फिक्कल (इलाम) I इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ५९ दशमलव ७९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसकेको र कूल ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मतदान भएको जानकारी दिएको छ ।
कार्यालयका अनुसार ३५ हजार एक सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र अन्य दुईले मतदान गरेका छन् । सो क्षेत्रमा ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई अन्यसहित एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा ५७ दशमलव ४४ प्रतिशत मत खसेको थियो ।
इलाम–२ मा ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान भएको थियो । उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
उहाँका अनुसार मतगणना आज रातिबाट सुरु गर्ने तयारी छ । आज राति १०–११ बजेसम्ममा सबैतिरबाट मतपेटिका ल्याइसक्ने अपेक्षा मुख्य निर्वाचन अधिकृतको कार्यालयको छ ।
चाँडो मतपेटिका आए सर्वदलीय बैठक बसेर आजै रातिबाट मतगणना गरिने प्रजिअ यादवले बताउनुभयो । सदरमुकामबाट टाढाका पालिका चुलाचुली, माङसेबुङ, फाकफोकथुम गाउँपालिकाबाट मतपेटिका ल्याउन समय लाग्नेछ ।
मतगणनाका लागि इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृह (सिटी हल) तयार गरिएको छ । सिटी हलको एक कोठामा तार जाली लगाएर गणकमात्र भित्र बस्न मिल्ने बनाइएको छ ।
मतपेटिका भण्डारणका लागि सभाहलको भित्री भाग तयार गरिएको छ । यस्तै प्रतिनिधिलाई बाहिर बस्ने ठाउँ मिलाइएको छ । मतगणनास्थलमा ११ वटा सिसी क्यामेरा जडान गरिएको छ ।
मतगणनास्थलमा भीडभाड हुन नदिन चोक बजारमा रहेको डिस्प्लेमा मतगणनाको परिणाम देखाइने भएको छ । यसका लागि प्राविधिक तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गर्ने तयारी छ ।
विसं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्र सहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।
सङ्खुवासभामा आगलागीबाट रु १९ लाख बढीको क्षति
१५ वैशाख, किमाथाङ्का (सङ्खुवासभा) I सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु १९ लाख बढीको क्षति भएको छ ।
शुक्रबार राती मकालु गाउँपालिका–५ खोकताक र चैनपुर नगरपालिका–२ तिखिढुङ्गामा भएका आगलागीबाट १९ लाखको क्षति भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
शुक्रबार राति विद्युत् सट भई आगलागी हुँदा खोकताकमा स्थानीय भीमबहादुर तामाङ्को घर जल्दा रु ११ लाखभन्दा बढीको क्षति भएको मकालु–५ का वडाध्यक्ष योगराज राईले जानकारी दिनुभयो । आगलागीबाट तामाङको घरमा भएका सुनचादी, भाँडाकुँडा, खाद्यान्न, लत्ताकपडा सहितका सम्पूर्ण सामान नष्ट भएका र तामाङकी श्रीमती भीममाया तामाङ गम्भीर घाइते भएकी उहाँले बताउनुभयो ।
त्यसैगरी चैनपुर नगरपालिका–२ तिखिढुङ्गामा स्थानीय झलकबहादुर अधिकारीको घर जलेर रु आठ लाखभन्दा बढीको क्षति भएको प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिनुभयो । आगलागीबाट अधिकारीको घरमा भएका खाद्यान्न, लत्ताकपडा सहित सम्पूर्ण सामान नष्ट भएको उहाँले बताउनुभयो ।
केही दिनयता भएका आगलागीबाट मकालु गाउँपालिका–४ र वडा नं ५ मा चारवटा घर जलेका छन् ।
नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत
१५ वैशाख, काठमाडौँ I नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै पनि मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरता आवश्यक भएकामा जोड दिनुभएको छ ।अमेरिकी चेम्बर अफ कमर्श नेपालको आयोजनामा आज यहाँ आयोजित ‘युए–नेपाल व्यावासयिक सम्बन्ध अभिवृद्धि’ विषयक अन्तरक्रियामा उहाँले नेपालले स्वदेशी वा विदेशी लगानी बढाउनका लागि नीतिमा स्पष्टता जरुरी रहेको बताउनुभयो । उहाँले आर्थिक समृद्धिका लागि पारदर्शी, स्थिर र अनुमानयोग्य नीति आवश्यक रहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।
“अमेरिका र नेपालबीच लामो समयदेखि सम्बन्ध रहिआएको छ, अमेरिका नेपालले समृद्ध लोकतन्त्र, आर्थिक वृद्धि तथा विकास र मानवअधिकार, सामाजिक न्यायका क्षेत्रमा प्रगति गरेको हेर्न चाहन्छ”, उहाँले भन्नुभयो, “लोकतन्त्र र सामाजिक न्याय भयो भने आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।”
राजदूत थम्पसनले पछिल्लो समय अमेरिकी सरकारले विद्युतीय प्रसारण लाइन, सडकलगायतका पूर्वाधार क्षेत्रमा लगानीका साथै महिलाद्वारा सञ्चालित साना उद्यममा पनि सहयोग गरिरहेको बताउनुभयो ।
युएस चेम्बर अफ कमर्शका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष अतुल केशपले नेपालमा भोलिदेखि सुरु हुन लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित यसप्रकारको कार्यक्रमले सकारात्मक सन्देश प्रवाह हुने धारणा राख्नुभयो । उहाँले नेपालमा डिजिटल अर्थतन्त्र, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना भएको भन्दै यी क्षेत्रको विकासबाटै मुलुकमा समृद्धि हासिल हुने बताउनुभयो ।
उहाँले लगानी बढाउनका लागि नीतिगत स्पष्टतामा जोड दिँदै लगानीमैत्री वातावरण बनाउन सके ठूलो लगानी भित्रनेमा विश्वास व्यक्त गर्नुभयो । “अहिले नेपालमा भित्रने कुल प्रत्यक्ष विदेशी लगानीमा अमेरिकी लगानी तीन प्रतिशतमात्रै छ, लगानीमैत्री वातावरण र नीति हुने हो भने आगामी दिनमा यसलाई बढाउन सकिन्छ”, उहाँले भन्नुभयो ।
अमेरिकी चेम्बर अफ कमर्श नेपाल (एमच्याम)का अध्यक्ष तथा मेटलाइफ नेपालका उपाध्यक्ष तथा प्रबन्ध निर्देशक निर्मलकाजी श्रेष्ठले नेपाल लगानीको ठूलो सम्भावनाको मुलुक भएको बताउनुभयो । “नेपाल लगानीको सम्भावना भएको मुलुक हो, हाम्रो अहिलेको प्राथमिकता हालको लगानीलाई दिगो बनाउने र आगामी दिनमा अमेरिकी लगानी बढाउनु हो”, उहाँले भन्नुभयो, “यसका लागि सबै साझेदारहरूको सहयोग आवश्यक छ ।” उहाँले युएस चेम्बर अफ कमर्शका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशपले अमेरिकी चेम्बर अफ कमर्श नेपाललाई छोटो समयमा मान्यता दिलाउन खेलेको भूमिकाको चर्चा गर्नुभयो ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएड नेपालका मिसन निमित्त निर्देशक करिन वेल्चले आफूहरूले सरकारी र निजी क्षेत्रसँगको सहकार्यमा विभिन्न काम गरिरहेको बताउनुभयो । उहाँले नेपालको आर्थिक विकासका लागि युएसएडले पर्यटन, सूचना प्रविधि, कृषि र क्लिन इनर्जीका क्षेत्रमा युएसएडले काम गरिरहेको बताउनुभयो । उहाँले नेपालको पर्यटन क्षेत्रमा ठूलो सम्भावना रहेको समेत उल्लेख गर्नुभयो । “नेपालको पर्यटन क्षेत्र यतिबेला नयाँ ढङ्गले अगाडि बढिरहेको छ, पर्यटन क्षेत्रमा ठूलो सम्भावन छ । पर्यटनमा लगानी गरी आर्थिक विकास गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का दक्षिण एसिया क्षेत्रीय मामिलाका निर्देशक सेमास विसेलले आर्थिक समृद्धि भयो भने राष्ट्रिय सुरक्षा बलियो हुनेमा जोड दिनुभयो ।
नेपाली व्यवसायी सुजीव शाक्यले नेपाल यतिबेला जनसाङ्ख्यकीय लाभ लिने अवस्थामा रहेको भन्दै यसको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । “चीन र भारतजस्ता ठूलो अर्थतन्त्र भएका मुलुकका बीचमा नेपाल छ, यद्यपि नेपालसँग अहिले युवा जनशक्तिको सङ्ख्या ठूलो भएकाले सम्भावना पनि उत्तिकै छ”, उहाँले भन्नुभयो, “अहिले एक करोड लगानी आउँदा पनि समाचार बन्ने अवस्था रहेकामा आगामी दिनमा ठूलो लगानी ल्याउने गरी काम गर्नेतर्फ अगाडि बढ्नुपर्ने आवश्यकता छ ।” कार्यक्रममा अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायका प्रतिनिधिले नेपालमा काम गर्दाका अवसर र चुनौतीबारे आफ्ना अनुभव राख्नुभएको थियो ।
त्यस अवसरमा अमेरिकी चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम) र अमेरिकी वाणिज्य मन्त्रालयको अन्तर्राष्ट्रिय व्यापार प्रशासनबीच अमेरिकी व्यापार र लगानी रणनीतिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरसमेत भएको थियो । जसमा एमच्यामका तर्फबाट अध्यक्ष निर्मलकाजी श्रेष्ठ र अन्तर्राष्ट्रिय व्यापार प्रशासनका तर्फबाट उद्योग र विश्लेषणसम्बन्धी प्रमुख उपसहायकमन्त्री हेदर हेमले हस्ताक्षर गर्नुभयो ।
इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो
१५ वैशाख, फिक्कल (इलाम) I इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी छ । हालसम्मको प्रारम्भिक विवरण अनुसार समग्रमा ५७ प्रतिशत मत खसेको प्रजिअ यादवले जानकारी दिनुभयो ।
अहिले मतपेटिका गणनास्थलमा आउन सुरु भइसकेको छ । सबै क्षेत्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको उहाँले बताउनुभयो । यहाँ एक लाख १५ हजार आठ सय ८९ मतादाता थिए । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा ५७ दशमलव ४४ प्रतिशत मतदान भएको थियो ।
मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझ देखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी हुनेछ । सबै क्षेत्रबाट राति १० बजेभित्र मतपेटिका ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको प्रजिअ यादवले बताउनुभयो ।
मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि राजनीतिक दल तथा उम्मेदवार सर्वपक्षीय सहमति पछि मतगणना प्रारम्भ गरिनेछ । । “राति १० बजे भित्र मतपेटिका सङ्कलन गरिसक्ने योजना बनाएका छौँ, मतपेटिका सङ्कलन गरिसके पछि सर्वपक्षीय बैठक बस्छौँ”, उहाँले भन्नुभयो, “सो बैठकमा सहमति भएमा तत्काल मतगणना पनि सुरु गर्नेछौँ ।” मतगणना इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृह (सिटीहल)मा हुनेछ ।
विसं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन पछि रिक्त सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।
गत निर्वाचनमा नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई एक सय १४ मतको झिनो अन्तरले पराजित गर्नुभएको थियो । एमाले र कांग्रेस जस्ता ठूला र अनुभवी दलसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता भर्खर जन्मिएका दलका उम्मेदवार पनि प्रतिस्पर्धामा छन् ।
यो क्षेत्रमा पहिचानवादी मुद्दा पेचिलो छ । पहिचानवादी पक्षका स्वतन्त्र उम्मेदवार समेतको प्रतिस्पर्धाले चुनाव थप रोचक बनेको छ । इलामको उपनिर्वाचनलाई नेपाली राजनीतिका शीर्ष नेतृत्वले समेत प्रत्यक्ष चासो दिएका छन् ।
किरियापुत्रीले गरे मतदान
यसैबीच इलाम–२ प्रतिनिसभा सदस्य उपनिर्वाचनमा एक जना किरियापुत्रीले पनि मतदान गरेका छन् । आमाको किरिया बसेका इलाम नगरपालिका–६ का रजिन खड्काले दृपादेवी आधारभूत विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । मतदान गर्न पाउने अधिकार प्रयोग गरेर अरु मतदातालाई मतदानको महत्व बुझाउन किरिया बसेको समयमा पनि मतदान केन्द्रमा पुगेर मतदान गरेको खड्काले प्रतिक्रिया दिनुभयो ।
आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता
१५ वैशाख ,काठमाडौँ I आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपाल बीच पार्टी एकता भएको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह र समाजवादी जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठ बीच आज यहाँ आयोजित कार्यक्रममा पाँच बुँदे पार्टी एकतापत्रमा हस्ताक्षर भएको छ ।
दुवै पार्टीबीच भएको एकताको आधारपत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको बुझाइ, जनजीविकाका सवाल तथा शोषित, दमित र उत्पीडित वर्ग एवं समुदायका हकहितको विषयमा सँगसँगै जान सकिने धरातल स्पष्ट रहेको उल्लेख छ । नेपालको अग्रगामी आन्दोलनमा गुणात्मक विकासको अपरिहार्यता जस्ता महत्वपूर्ण क्षेत्रमा आधारभूत बुझाइ एवम् दृष्टिकोणमा एकरूपता विद्यमान रहेको निचोडमा पुगेको एकता आधारपत्रमा उल्लेख छ ।
विद्यमान दलीय शासन प्रणाली, दलभित्र ठूला दलको भूमिका र वर्तमान बुझाइमा पनि दुई दलको एउटै दृष्टिकोण रहेको जनाउँदै जनताको शासन कायम गर्न देशभक्त, प्रगतिशील अग्रगामी शक्ति एकजुट भई अगाडि बढ्नुपर्ने निष्कर्षमा पुगेको सहमतिपत्रमा उल्लेख छ । सहमति पत्रमा पार्टी एकता पश्चात प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने उल्लेख छ ।
अग्रगामी सोच–विचारका लोकप्रिय व्यक्ति, समूह, सङ्गठन र शक्ति बीच योजनाबद्ध वार्ता, संवाद र सहकार्य मार्फत निकट भविष्यमा थप वृहद ध्रुवीकरण एवं एकतालाई नयाँ उचाइमा पुयाउन सङ्कल्पित रहने पनि सहमतिपत्र मार्फत जानकारी दिइएको छ ।
इलाम-२ उपनिर्वाचन : मतदानमा महिला सहभागिता उत्साहजनक
१५ वैशाख ,फिक्कल (इलाम) I इलामको माङसेबुङ गाउँपालिका-२ हुलाककी ७९ वर्षीया ज्येष्ठ नागरिक महिला गङ्गादेवी राई बिहानै लठ्ठी टेक्दै नजिकै रहेको जनताकल्याण आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा पुग्नुभयो । ज्येष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने भएकाले स्वयम्सेवकले प्रवेशद्वारबाटभित्र मतदानस्थलमा प्रवेश गराउनुभयो । उहाँले आफूले मन परेको उम्मेद्वारको चिन्हमा मतदान गरेर बाहिर निस्कनुभयो ।
“यतिका उमेरसम्म दर्जनौँ पटक मतदान गरियो, आफूले मतदान गरेकाले जितेर पनि गए, तर गाउँको विकास भएन,” उहाँले भन्नुभयो, “यस पटक पनि मैले मत दिएको उम्मेद्वारले जितोस्, तर यस पटक जितेर गएकाले गाउँमा विकासको चाँही गर्नुपर्छ ।” गाउँमा बिजुली, खानेपानी र बाटोघाटोको समस्या समाधान गर्नुपर्ने उम्मेद्वारसँग उहाँको अपेक्षा छ ।
माङसेबुङ गाउँपालिका-२ डाँडागाउँकी अर्की एकल महिला आशमति लिम्बूले पनि उत्साहका साथ मतदान गर्नुभयो । पञ्चायतकालदेखि मतदान गर्दै आउनुभएको उहाँले राम्रो मान्छे जिताउन मतदान गर्न आएको बताउनुभयो । लठ्ठीको सहारामा आधा घण्टा पैदल हिँडेर मतदान केन्द्रसम्म आइपुग्नुभएकी उहाँले बेलाबेलामा मतदान गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्ने गरेको बताउनुभयो । “आफूलाई मन परेको उम्मेद्वारले जितोस् भन्न सधैँ मतदानमा सहभागी हुने गरेकी छु,” उहाँले भन्नुभयो, “यसरी बेलाबेलामा मतदान गर्न पाउँदा भाग्यमानी ठान्दछु ।”
माङसेबुङ गाउँपालिका-३ सुवाचेनकी ८१ वर्षीय वृद्ध नारायणश्वरी राईको भनाइ पनि उस्तै थियो । “उम्मेद्वारमध्ये राम्रो र योग्य मान्छेलाई जिताउन मतदान गर्न आएकी छु,” उहाँले भन्नुभयो, “राम्रो र योग्य उम्मेद्वार जिताउन मेरो एक मत अमूल्य रहन्छ ।”
उल्लेखित पात्रहरु प्रतिनिधि उदाहरण मात्र हुन् । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज जारी मतदानमा महिला मतदाताको उपस्थिति उत्साहजनक रहेको छ । बिरामी, अशक्त, वृद्धवृद्धाले अप्ठ्यारोसमेत बिर्सेर उपनिर्वाचनमा मतदान गर्न मतदान केन्द्रमा पुगेका छन् । महिला मतदाताको सक्रिय उपस्थिति देखिएको थियो ।
त्यस्तै माङसेबुङ गाउँपालिका-२ स्थित इभाङ माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि स्थानीय ८४ वर्षीया वृद्धा मैतमाया लिम्बूलाई निर्वाचनको रोनक निकै मन प-यो । “सबै एकैठाउँ भेला भएको देख्न पाएँ, यसरी बेलाबेला निर्वाचन आउँदा त खुब रमाइलो लाग्छ,” उहाँले भन्नुभयो ।
यस निर्वाचन क्षेत्रमा कूल मतदाता एक लाख १५ हजार आठ सय ८९ रहेकोमा ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई तेस्रो लिङ्गी मतदाता छन् । यहाँ तोकिएका ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्रमा मतदान भइरहेको छ । यसैबीच ५२ प्रतिशत मत खसेको छ । दिउँसो ३ः३० बजेसम्मको तथ्याङ्क अनुसार ६० हजार मत खसेको छ ।
खसेको मत सङ्ख्याको आधारमा यो ५२ प्रतिशत मत हो । सबै केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम-२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन भएपछि रिक्त रहेको सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन गराइएको हो ।
प्रत्यक्ष निर्वाचित सांसद पद रिक्त भएमा उपनिर्वाचनबाट पदपूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ । इलाम-२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ ।
बझाङमा ४३ प्रतिशत मतदान
१५ वैशाख, चैनपुर (बझाङ) I बझाङ क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनमा आज दिउँसो ३ः२० बजेसम्ममा ४३ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार हालसम्ममा २६ हजार पाँच सय मत खसेको छ । मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । प्रदेशसभा (क) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिनुभयो ।
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । प्रदेशसभा (क) मा ६१ हजार सात सय ४८ मतदाता रहेका छन् । गत निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । यहाँ ११ उम्मेदवार चुनावी मैदानमा छन् ।
नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा (एमाले) का दमनबहादुर भण्डारी, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढा, राप्रपाका किशोरकुमार खड्का, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंह, जनता समाजवादी पार्टीका राम बहादुर जाग्री, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा, जनमत पार्टीकी सुशीलादेवी विष्ट र नेशसनल रिपब्लिकन नेपालका कमल घर्तीमगरबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ ।
एशिया कप ट्रायथलन : इजिप्टका इसमाइल र आइसल्याण्डका इडालाई उपाधि
१५ वैशाख, कास्की I पोखरामा आज सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिपमा एशिया कपको उपाधि पुरुषतर्फ इजिप्टका सिफेलडिन इसमाइलले जितेका छन् । यसैगरी महिलातर्फ आइसल्याण्डका इडा हानिसडोटिर विजयी भइन् ।
ट्रायथलनको स्प्रिन्ट विधा अन्तर्गत फेवातालमा सात सय ५० मिटर पौडी र २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड भएको थियो । पुरुषतर्फका विजेता इसमाइलले निर्धारित दूरी ५६ मिनेट ४५ सेकेण्डमा पूरा गरे । अष्ट्रेलियाका ब्रुक्किन हेनरीले ५७ मिनेट १० सेकेण्डमा पूरा गरी द्वितीय र जापानका मिट्सुहो मोचीजुकील ५७ मिनेट २५ सेकेण्डमा पूरा गरी तृतीय भए ।
महिलातर्फकी विजेता इड्डाले निर्धारित दूरी पार गर्न एक घण्टा छ मिनेट लगाइन् । यसैगरी उपविजेता गुआमका मानामी लिजिमाले एक घण्टा ४२ सेकेण्ड र तृतीय उज्वेकिस्तानका एलिना खाकीमोवाले एक घण्टा चार मिनेटमा पार गरिन् ।
दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिपमा पुरुष तथा महिला दुबैतर्फ भारतीय खेलाडीले वर्चस्व राखे । पुरुषतर्फ भारतका मुरलीधर नैरले एक घण्टा दुई मिनेट तीन सेकेण्डमा तोकिएको दूरी पार गरी उपाधि जिते । यसैगरी कौसिक विनयले एक घण्टा तीन मिनेट २६ सेकेण्ड लगाउँदै उपविजेता बने । नेपालका विपन खत्कत्वा एक घण्टा पाँच मिनेट २५ सेकेण्ड लगाउँदै तृतीय भए ।
महिलातर्फ भारतका मान्सी मोहितिले निर्धारित दूरी एक घण्टा सात मिनेट ५१ सेकेण्डमा पूरा गरी विजेता बनिन् । नेपालका श्रेवी महर्जनले एक घन्टा ११ मिनेट ४५ सेकेण्डको पूरा गरी उपविजेता बनिन् । नेपालकै शोभा बलामीले एक घण्टा २१ मिनेट १३ सेकेण्डमा पूरा गरी तृतीय हुन सफल भइन् ।
यसैगरी राष्ट्रिय च्याम्पियनसिपमा विपन खत्कत्वाले एक घन्टा पाँच मिनेट २५ सेकेण्डमा निर्धारित दूरी पार गरी च्याम्पियन बने । प्रवीन थारुले एक घन्टा छ मिनेट २० सेकेण्डमा पार गरी द्धितीय र मुकेश थारुले एक घण्टा १५ मिनेट ११ सेकेण्ड लगाउँदै तृतीय हुन सफल भए ।
महिलातर्फ एक घन्टा ११ मिनेट ४५ सेकेण्डको समयमा दूरी पार गर्दै श्रेवि महर्जन च्याम्पियन बनिन् । शोभा बलामीले एक घण्टा २१ मिनेट १३ सेकेण्डमा पार गरी द्धितीय र ज्ञानु कुमारी चौधरीले एक घण्टा २१ मिनेट ५७ सेकेण्डमा पूरा गरी तृतीय स्थान हासिल गरिन् ।
यसैगरी जुनियर साउथ एसिया च्याम्पियनसिपमा पुरुषतर्फ भारतका साइ केडी च्याम्पियन बने । भारतकै कृषिभ पटेल द्धितीय र नेपालका यजु महर्जन तृतीय भए । महिला जुनियरतर्फ नेपालका श्रेवी महर्जन विजेता बनिन् । भारतका दुर्विशा पवार द्धितीय र प्रेरणा श्रवणकुमार तृतीय भइन् ।
नेपाल ट्रायथलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथलन सङ्घको व्यवस्थापनमा सञ्चालन भएको च्याम्पियनसिपमा विभिन्न १५ देशका ३८ पुरुष र २४ महिला गरी ६२ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, वल्र्ड ट्रायथोलन सङ्घका अध्यक्ष मारिसोल कासडो, महासचिव एन्टोनियो आरामानी, नेपाल ट्रायथलन सङ्घका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ लगायतले पुरस्कार तथा मेडल वितरण गरेका थिए । प्रतियोगिता अन्तर्गत आइतबार दुआथलन च्याम्पियनसिप हुने आयोजकले जनाएको छ ।