युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू ल्याउन लागेको युक्रेनले मङ्गलबार बताएको छ ।
किएभले यसै महिना नयाँ कानुन प्रस्तुत गर्दै ड्राफ्ट डोजर (सशस्त्र सेनामा सामेल हुनको लागि आधिकारिक आदेश पालना नगर्ने व्यक्ति) का लागि सजायमा कडाइ गर्ने र परिचालनको उमेर दुई वर्ष घटाएर २५ वर्ष पुयाएको छ ।
विदेशमन्त्री दिमित्रो कुलेबाले भन्नुभयो, “विदेश बसेका कारण कुनै पनि नागरिकलाई मातृभूमि प्रतिको कर्तव्यबाट मुक्त गर्न सकिँदैन । त्यसैले हिजो मैले युक्रेन र विदेशका भर्ती उमेरका पुरुषहरू प्रति निष्पक्ष मनोवृत्ति पुनस्र्थापित गर्ने उपायका लागि निर्देशनमा हस्ताक्षर गरेको छु । यो न्यायोचित हुनेछ ।”
उहाँले भन्नुभयो, “छिट्टै परराष्ट्र मन्त्रालयले विदेशी कूटनीतिक नियोगमा भर्ना भएका पुरुषका लागि कानूनी दायराभित्र रहेर कन्सुलर सेवा प्राप्त गर्ने प्रक्रियाबारे थप स्पष्टिकरण दिनेछ ।
उहाँले के कस्ता उपायहरू पहिले नै लागू गरिएको थियो वा विचार भइरहेको थियो भन्ने कुरा स्पष्ट पार्नुभएन ।
युक्रेनी सञ्चार माध्यमले प्रकाशित गरेको एक दस्तावेजमा परराष्ट्र मन्त्रालयले १८ देखि ६० वर्ष उमेर समूहका सबै युक्रेनी पुरुषका लागि कन्सुलर सेवा स्थगन गरेको उल्लेख छ ।
युक्रेनका प्रथम उपविदेशमन्त्री एन्ड्री सिबिगाको हस्ताक्षर रहेको पत्रमा युक्रेनी प्रतिनिधि कार्यालयहरूले विदेशमा रहेका पुरुषलाई मात्र युक्रेन फर्कन अनुमति दिने कागजात जारी गर्ने उल्लेख छ ।
यस कदमले विभिन्न प्रकारका प्रशासनिक प्रक्रियाहरू पुरा गर्दै युक्रेनी पुरुषहरूलाई विदेशबाट फर्कन बाध्य पार्नेछ ।
युक्रेनको राहदानी कार्यालयले ‘प्राविधिक कारण’ देखाउँदै विदेशस्थित वाणिज्य दूतावासमा केही कागजात जारी गर्न रोकेको घोषणा गरेको छ ।
जनशक्तिको अभावमा युक्रेनी सेनाले हालैका महिनाहरूमा लगातार रूसी सेनालाई आफ्नो जमिन छोड्दै पछि हटिरहेको छ । रूसले केही समय पहिले पूर्वी शहर अभदाइभ्कालाई कब्जा गरेको थियो र अहिले वरपरका गाउँहरू कब्जा गरिरहेको छ ।
ताप्लेजुङको याङमा गाउँमा प्राथमिक स्वास्थ्य एकाइ, बाल शिक्षा र पशु सेवा केन्द्र स्थापना
फुङ्लिङ (ताप्लेजुङ), ११ वैशाख I ताप्लेजुङको उच्च स्थान रहेको याङमा गाउँमा प्राथमिक स्वास्थ्य एकाइ, बाल शिक्षा र पशु सेवा केन्द्र स्थापना भएको छ । समुद्र सतह देखि चार हजार दुई सय मिटर उचाइमा रहेको याङमा शिक्षा, स्वास्थ्य, सञ्चार तथा यातायातको पहुँच पुगेको थिएन । यहाँ आलु खेती बाहेक अन्य बाली हुँदैन । यहाँका समुदायको मुख्य पेसा चौँरी याक गोठ हो । यहाँको याक चीनमा बिक्री हुन्छन् तर कोभिड–१९ का कारणले नाका बन्द भएको अहिले सम्म खुला हुन नसक्दा गोठमा चौँरी याक बिक्री गर्न सकेका छैन ।
याङमा गाउँमा मतदान गराउँन निर्वाचनको समय बाहेक सरकारी निकायका प्रतिनिधि याङमा गाउँमा खासै पुग्दैन । गत दसैँको समयमा फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूको नेतृत्वमा गाउँपालिका जनप्रतिनिधि याङमा गाउँ पुग्नुभएको थियो । यो भ्रमण नै अहिलेसम्मको उच्चस्तरीय भ्रमण भएको स्थानीयको भनाइ छ ।
सो अवसरमा सञ्चार, शिक्षा, स्वास्थ्य तथा विद्युत्लगायका माग राखेका थिए । यसैलाई ख्याल गरेर गाउँपालिकाले गत साता याङमा गाउँमा स्वास्थ्य एकाइ, बाल शिक्षा र पशु सेवा केन्द्र स्थापना गरेको छ । याङमा गाउँमा विगतमा याङमा आधारभूत विद्यालय सञ्चालनमा थियो । विद्यार्थी नै नभए पछि २०७५ मा ओलाङचुङगोला रहेको विद्यालयमा मर्ज गरिएको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाले बताउनुभयो । स्वास्थ्य एकाइ र पशु सेवा भने पहिलो पटक याङमा गाउँमा स्थापना भएको लामाले बताउनुभयो ।
पुस्तौँ देखि याङमा गाउँका नागरिक बिरामी हुँदा वनजङ्गलमा रहेको जडीबुटीमै भरपर्दै आएका थिए । तर गत साता यस क्षेत्रमा स्वास्थ्य एकाइ स्थापना भएसँगै स्वास्थ्य क्षेत्रमा राहत पुगेको स्थानीय बताउँछन् । यहाँको मुख्य पेसा पशुपालन (चौँरी याक) हो । गाउँमा पशु प्रविधिक नहुँदा ठूलो क्षति बेहोर्दै आएको थियो । विभिन्न प्रकारका रोग साथै वन्यजन्तुबाट आक्रमणले घाइते पशु उचित उपचार नभएपछि किसानको ठूलो क्षति हुने गरेको थियो । विभिन्न कारणले यहाँका किसानले क्षति बेहोर्नुपर्ने देखिए पछि कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले पशुधन बिमा कार्यक्रम मार्फत यहाँका चौँरी याकहरुको बिमा कार्यक्रम समेत सञ्चालन गरेको छ ।
सञ्चार सेवाको पहुँचबाट समेत टाढा रहेको यस क्षेत्रका बासिन्दाले स्वास्थ्य एकाइ नहुँदा प्राथमिक उपचारका लागि समेत एक दिनको पैदलयात्रा गरेर ओलाङचुङगोला पुग्नुपथ्र्यो । दश घर मात्रै रहेकाले याङ्मामा यसअघि विद्यालय रहेको भने तापनि बसाइँसराइले पठनपाठन भने बन्दको अवस्था रहेकोमा त्यहाँका बालबालिकाले पढाइबाट वञ्चित भएकाले बालबालिकाले पढाइबाट वञ्चित हुनु नपरोस् भनेर प्रारम्भिक बाल शिक्षा केन्द्र स्थापना गरिएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो ।
गाउँपालिकाको केन्द्र तापेथोकबाट यो बस्तीमा पुग्न पूरै दुई दिन र वडा कार्यालय रहेको ओलाङ्चुङगोलाबाट एकदिन पैदल हिँड्नुपर्छ । यहाँ नियमित सञ्चार सम्पर्क हुँदैन । सञ्चार सम्पर्कका लागि पाँच घण्टा हिँडेर डाँडामा जानुपर्ने वडाध्यक्ष छेतेन बताउनुभयो । त्यो पनि मौसमले साथ दिएमात्रै फोन लाग्छ । सञ्चार सुविधाका लागि ओलाङचुङगोलामा ‘फोरजी’ राख्ने र यहाँको टुजीको टावर याङ्मा लैजाने गरी नेपाल टेलिकमसँग सम्झौता भएको गाउँपालिकाले जनाएको छ ।
सिरहाको सलहेश भोजपुर गोल्डकपको सेमिफाइनलमा
टक्सार (भोजपुर), ११ वैशाख I डाँगीहाट युथ क्लब मोरङलाई ४-० गोल अन्तरले पराजित गर्दे सलहेश युवा क्लब सिरहा अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भोजपुर नगरपालिका-७, कोदार रङ्गशालामा आज भएको खेलमा सलहेश युवा क्लब सिरहाका तर्फबाट जर्सी नम्वर १० का स्टेफेन बिलोङले खेलको २६ औँ र ७५ औँ मिनेट दुई गोल गरे । सलहेशकै जर्सी नम्बर ७ का फोडे फोफनाले ५१ औँ मिनेटमा एक गोल र जर्सी नम्बर ११ का आदित्य शाक्यले ८६ औँ मिनेटमा थप गोल गरेका थिए ।
मोरङका तर्फबाट गोल हुन सकेन । प्रतियोगिताको म्यान अफ द म्याच सलहेश युवा क्लब सिरहाका स्टेफेन विनोङ भए । उनले नगद पाँच हजारका साथमा मेडल प्राप्त गरे प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र खोटाङ भगवती स्पोर्ट्स क्लब यसअघिनै सेमिफाइनलमा पुगेका छन् । भोली बुधबार अन्तिम क्वाटर फाइनल खेल आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ र चर्च व्बाइज युनाइटेड काठमाडाँैका बीचमा हुनेछ । आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालका अनुसार फाइनल खेल आगामी वैशाख १५ गते हुनेछ ।
धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम
भद्रपुर (झापा) ११, वैशाख : पूर्वको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापा स्थित श्री अर्जुनधारा जलेश्वरधाम धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।
सरकारले उत्कृष्ट सयवटा पर्यटकीय गन्तव्यको सूचीमा अर्जुनधारा जलेश्वरधामलाई समावेश गरेपछि यसको धार्मिक तथा पर्यटकीय महत्व झनै चुलिएको छ । जलेश्वरधामका मूल गुरु अग्निप्रसाद सिग्देलका अनुसार यस धाममा दैनिक दुईदेखि तीन हजार भक्तजन आउने गरेका छन् ।
महाभारतकालीन इतिहास बोकेको जलेश्वरधामको आधुनिक संरचना विसं २०२३ बाट बनाउन सुरु गरिएको हो । पाँच बिघा क्षेत्रफलमा फैलिएको यहाँ बृहतत्तर विकास भइरहेको छ । जलेश्वरधाम क्षेत्र भित्र एक सय आठ शिवलिङ्ग तथा पार्वती मन्दिर, शनि मन्दिर, यज्ञशाला, मोक्षेश्वर शिव लिङ्ग, अर्जुनवाण मूल पोखरी, पाँचधारा, धान्यचल, कालीनाग मन्दिर, हनुमान स्तम्भ, सन्त निवास भवन, श्री हनुमान लक्ष्मीनारायण तथा नटराज गणपति मन्दिर र गौशला रहेका छन् ।
महाभारतकालमा पाण्डवलाई १२ वर्ष वनवासका साथ एक वर्ष अज्ञातवास भएको समयमा राजा विराटका हजारौँ गाईलाई कौरवले हरण गरेर भारतको गुवाहटी पुयाएको र त्यो बेलामा अर्जुनले आफ्नो वाणको सहायताले अर्जुनधारा धाममा पानी निकालेर गाईलाई खुवाएको किंवदन्ती छ । विसं २०३९ देखि प्रत्येक वर्ष वार्षिक अनुष्ठान गर्दै आएको अर्जुनधारा जलेश्वर धामले हाल सम्म ४२ औँ वार्षिक अनुष्ठान सम्पन्न गरिसकेको मूल गुरु अग्नि प्रसाद सिग्देलले जानकारी दिनुभयो ।
धामभित्रै अर्जुनधारा संस्कृत विद्यापीठ समेत सञ्चालनमा छ । विद्यापीठमा ८० जनाले अध्ययन गरिरहेका छन । कक्षा छ सम्मको पढाई हुने विद्यापीठमा आवासीय सुविधा सहित निःशुल्क पठनपाठन गराइने श्री अर्जुनधारा जलेश्वर धाम व्यवस्थापनले जनाएको छ । त्यस्तै धाम भित्रै रहेको गौशालामा २० वटा गाई पालन गरिएको छ । मुल गुरु सिग्देलले भन्नुभयो, “हाम्रो धाममा आउने ६० जना सम्म भक्तजनहरुलाई खानबस्न सहितको सुविधा समेत रहेको छ ।” जलेश्वरधामको अधिकांश खर्च दान दातव्यबाट प्राप्त भएको रकमबाटै चल्ने गरेको छ । केही रकम संघीय सरकार स्थानीय सरकारले सहयोग गरेको उहाँले बताउनुभयो । जलेश्वर धाममा नेपाल भित्रका मात्र नभई भारतबाट समेत भक्तजन आउने गरेका छन् । अर्जुनधारा जलेश्वरधामको उचित प्रचार हुन नसकेको स्थानीयको गुनासो छ ।
कतारमा पानी निर्यातको अवसर
काठमाडौँ, ११ वैशाख I नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरुले बताउनुभएको छ । नेपालको खानेपानीले अन्तर्राष्ट्रिय बजारमा व्यापारिक सम्भावना खोजिरहेको बेलामा कतार पनि मुख्य गन्तव्य हुनसक्ने उहाँहरुको भनाइ छ ।
पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण विश्वमा पानीको स्रोत सुक्दै गइरहेको भन्दै यसबारे विश्वव्यापी छलफल सुरु भइसकेको छ । कतार लगायतका खाडीमुलुक पनि पानीको सङ्कट ग्रस्त क्षेत्र मानिन्छ । कतारमा पानी निर्यातक्रम बढिरहेको अध्ययनले देखाएको छ । विभिन्न देशमा स्वच्छ खानेपानीको अभाव बढ्दो रहेको अवस्थामा हिमालको पानीको माग उच्च हुनसक्ने उहाँहरुको आकलन छ ।
एक प्रतिवेदन अनुसार कतारमा हाल वार्षिक चार करोड डलरभन्दा बढी बोतलको पानीको व्यवसाय छ । यो प्रत्येक वर्ष बढ्दो छ । यस्तो अवस्थामा नेपालले हिमालको पानी कतारमा पु¥याएर आम्दानी गर्न सक्ने सरोकारवालाको भनाइ छ । नेपालबाट पनि बोतल बन्द पानी कतारमा निर्यात गर्न सके त्यसबाट राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ ।
लगानी सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल भ्रमणमा आउनुभएको छ । कतारी अमिरको भ्रमणले नेपालको स्वदेशी वस्तुहरुको निर्यात प्रवद्र्धनका लागि पहल गर्ने सुनौलो अवसरका रुपमा लिन सकिने उहाँहरुको बुझाइ छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चैत सम्म विश्वका दुई वटा मुलुकमा नेपालको पानी निर्यात भएको छ । तथ्याङ्क अनुसार यस अवधिमा रु १५ लाख २१ हजार मूल्य बराबरको पानी भारत निर्यात भएको छ भने रु २० लाख ९० हजार बराबरको पानी जापान निर्यात भएको छ ।
भन्सार विभागका अनुसार आव २०७८/७९ मा नेपालले १८ हजार चार सय तीन लिटर पानी कतार निर्यात गरेको थियो । जसबाट नेपालले रु २५ लाख ४४ हजार आम्दानी गरेको थियो । तर त्यस पछिका वर्षमा कतारमा पानी निर्यात हुन सकेको छैन । अब त्यसलाई निरन्तरता दिन सके कतार पानी निर्यातको राम्रो गन्तव्य बन्न सक्ने देखिएको छ ।
केन्द्रका अनुसार अघिल्लो वर्ष जर्मनी, जापान, भारत, अष्टेलियामा खानेपानी निर्यात भएको थियो । केन्द्रका शाखा अधिकृत कृष्णराज बज्राचार्यले पानी व्यापार पनि मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको भन्दै पानी निर्यात प्रवर्द्धनलाई जोड दिनुपर्ने बताउनुभएको छ ।
खानेपानी मन्त्रालयका सहसचिव माधव अधिकारीले कतारमा खानेपानी निर्यातको राम्रो सम्भावना रहेको बताउनुभयो । “हाम्रो हिमाली क्षेत्रको स्वच्छ खानेपानीको विज्ञापन गर्नसकेमा कतार पनि पानी निर्यातको राम्रो सम्भावना भएको मुलुक बन्न सक्छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म केही निजी क्षेत्रहरुले पिउने पानी निर्यात गर्न थालेका छन् । अव यसलाई अझै व्यापाक प्रचार प्रसार गर्दै कतारलगायतका खाडी मुलुकमा पनि व्यापारको गन्तव्य खोजिनुपर्छ ।”
लगानी सम्मेलन र कतारी राजाको भ्रमणका अवसरमा नेपालको पानीको निर्यात प्रवर्द्धनका लागि पहल गरिर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । उहाँका अनुसार पानी निर्यातसम्बन्धी ऐन नभएको भन्दै ऐन बनाउन पहल पनि थालिनुपर्नेमा जोड दिनुभएको छ । “अहिले उद्योग विभागले निर्यातका लागि केही काम गरिरहेको छ । अब अन्तरसरकारी निकायबीच समन्वय बढाएर पानी निर्यातको नीतिगत व्यवस्था गर्न जरुरी छ”, अधिकारीले भन्नुभयो, “स्वदेशी पानी विश्वबजारमा बेच्नसकेमा स्वदेशी वस्तुको निर्यात प्रवर्द्धन हुने र मुलुकको आर्थिक समृद्धि सम्भव छ ।”
बीना मगर खानेपानी मन्त्री भएको समयमा नेपालको पानी विदेश निर्यात गर्ने विषयमा छलफल सुरु गर्नु भएको थियो । खानेपानी मन्त्रालयले यसैको निरन्तरता दिँदै छलफल चलाइरहेको छ ।
कतार वातावरण तथा ऊर्जा अनुसन्धान संस्थानले गरेको एक सर्वेक्षणअनुसार कतारको ३० प्रतिशत जनसङ्ख्याले मात्र दैनिक धाराको पानी पिउँछन् । अधिकांशको रोजाइ बोतलको पानीमा छ । खानेपानीको बढ्दो मागबीच ती क्षेत्रमा बोतलको पानीको उद्यम वार्षिक आठ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । बढ्दो जनसङ्ख्या, उच्च खपत उपभोग्य आय, सहज बजार पहुँच, स्वास्थ्यमा बढ्दो जनचेतनालगायतका कारण त्यहाँका जनता धाराको पानीको साटो ‘मिनिरल वाटर’को खपत बढेको अध्ययनले देखाएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष भवन भट्टले पनि लगानी सम्मेलनको पूर्वसन्धामा कतारी राजा नेपाल भ्रमणमा आएको मौकामा खानेपानी निर्यातका लागि पहल गरेमा मुलुकको अर्थतन्त्र सुधार हुने बताउनुभएको छ । “कतारको समृद्धिका लागि हाम्रा नेपाली कामदारहरुले गर्नुभएको योगदान महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “अब कतारले पनि हाम्रो मुलुकको समृद्धिका लागि खानेपानी लगायत स्वदेशी वस्तु आयात गरिदिन कतारलाई आग्रह गर्नुपर्छ ।”
नेपालको पैठारी व्यापारमा प्रमुख मुलुकमा भारत, चीन, युएई, युक्रेन, मलेसिया, संयुक्तराज्य अमेरिका, फ्रान्स, अष्टेलिया, इण्डोनेसिया, अर्जेन्टिना, थाल्याण्ड, संयुक्त अधिराज्य, साउदी अरेयिबा र ओमान प्रमुखरुपमा रहेको उद्योग मन्त्रालयको भनाइ छ । चालु आर्थिक वर्ष २०८०/८१ प्रथम आठ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापारघाटामा दुई दशमलव पाँच प्रतिशतले ह्रास आई कूल व्यापारघाटा रु नौ खर्ब २९ अर्ब ६१ करोडमा सीमित भएको मन्त्रालयको तथ्याङ्क छ ।
कतारमा पानी निर्यातको गन्तव्य बनाउनसकेमा मुलुकको व्यापार घाटा कम गर्न सकिने विज्ञहरुको भनाइ छ । नेपाल खानेपानी सरसफाइ तथा स्वच्छता नीति २०८० अनुसार पनि खानेपानी निर्यात मुलुकको अवसर रहेको छ । “विदेशमा समेत खानेपानी निर्यात गर्न यस क्षेत्रका अवसरका रूपमा रहेको छ”, नीतिमा उल्लेख छ ।
समुदायस्तरमा आयोजना पहिचान, तर्जुमा र कार्यान्वयनबाट उत्तरदायित्व वृद्धि हुने, जीवनशैलीमा आएको सुधारसँगै गुणस्तरयुक्त खानेपानी र सरसफाइ सेवाको बढ्दो माग, नदीनाला, तालतलैया तथा जलाशयलगायत अन्य वातावरणीय स्वच्छताका विषयमा जनचेतनामा आएको नकारात्मक अभिवृद्धि, सामुदायिक, गैरसरकारी तथा विकास साझेदारको सहयोग र सहभागिता, पर्यटकीय क्रियाकलापको अभिवृद्धि तथा पर्यटकलाई आकर्षण गर्न सकिने नीतिमा उल्लेख छ
नीतिनिर्माणको आवश्यकता पहिचान संविधान प्रदत्त स्वच्छ खानेपानी सेवामा पहुँच तथा स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकको परिपूर्ति, संरक्षण, सम्वद्र्धन गरी दिगोरूपमा उपभोग गर्नका लागि दिशानिर्देश गर्न, विद्यमान ग्रामीण खानेपानी तथा सरसफाइ नीति र सहरी खानेपानी तथा सरसफाइ नीतिलाई एकीकृत गरी संधीय संरचना अनुकूल बृहत्तर राष्ट्रिय नीति निर्माण गर्न, यस क्षेत्रमा रहेका वर्तमान समस्या तथा चुनौतीलाई सम्बोधन गर्न र भविष्यमा उत्पन्न हुनसक्ने समस्याहरूलाई न्यूनीकरण गनै आवश्यक रहेको पनि नीतिमा उल्लेख छ ।
कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु
काठमाडौँ, ११ वैशाख I राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी बीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता सुरु भएको छ । अपराह्न कतारका अमिर राष्ट्रपति निवास शीतल निवास पुग्दा राष्ट्रपति पौडेलले उहाँलाई स्वागत गर्नुभएको थियो । शीतल निवासको गण्डकी हलमा सुरु भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेत लगायत विशिष्ट पदाधिकारीहरु संलग्न हुनुहुन्छ ।
उहाँहरु बीच द्विपक्षीय हित र चासोसहित कूटनीतिक सम्बन्धका विषयमा छलफल हुने बताइएको छ ।कतारका अमिर अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै शीतल निवास पुग्नुभएको थियो । यसअघि, विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विशिष्ट पदाधिकारीहरुले अमिर अल थानीलाई स्वागत गर्नुभएको थियो ।
अमिर थानीको सम्मानमा राष्ट्रपति पौडेलले आजै रात्रिभोजको आयोजना गर्नुहुने कार्यक्रम छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भोलि बुधबार द्विपक्षीय वार्ता हुने कार्यक्रम छ । राष्ट्रपति पौडेलको निमन्त्रणामा कतारका अमिर अल थानी आजै नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौँ आउनुभएको हो ।
कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ
काठमाडौँ, ११ वैशाख I कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौँ सिँगारिएको छ । कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वार सहित सडक सफाइ लगायतका व्यवस्थापन गरिएको छ ।
काठमाडौँ महानगरपालिकाले काठमाडौँका विभिन्न स्वागतद्वारा निर्माण, सडक सरसफाइ लगायतका काम गरेको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कतारका अमिरको स्वागतका लागि महानगरपालिकाले सडक सौन्दर्य, सरसफाइ, हरियाली कायम राख्नेदेखि शान्तिसुरक्षामा समेत व्यवस्थापकीय काम गरेको बताउनुभयो ।
“काठमाडौँ महानगरपालिकाले कतारका राजाको नेपाल भ्रमणका सन्दर्भमा हामीले गर्दै आएको काम थप प्रभावकारी बनाएका छौँ, सरसफाइ, स्वागतद्वार, साजसज्जाका साथ नगरप्रहरीहरु परिचालनमा विशेष ध्यान दिएका छौँ”, उहाँले भन्नुभयो ।
काठमाडौँका विभिन्न सडक चोकमा नेपाल र कतारको झण्डा फहराइएको छ । स्वागतद्वारामा नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिरको तस्बिर अङ्कित ब्यानर राखिएको छ । उक्त ब्यानरमा जीवित देवी कुमारीले नमस्कार गरेको तस्बिर पनि आकर्षकरुपमा सजाइएको छ । उपत्यकाका संस्कृति परम्परा झल्कने विभिन्न तस्बिर अङ्कित ब्यानरले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ ।
‘कतारका मौसुफलाई हार्दिक स्वागत छ, कतारका अमिर र विशिष्ठ पाहुनालाई हार्दिक स्वागत छ’ जस्ता ब्यानरले काठमाडौँको सडक सजिएका छन् । विशिष्ठ पाहुना आवतजावत गर्ने सडकमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ । प्रत्येक स्वागतद्वारमा सुरक्षाकर्मीले पहरा दिइरहेका छन् ।
विमानस्थलदेखि राष्ट्रपति कार्यालय शीतलनिवास, राजा बस्ने पाँचतारे सोल्टी होटल, कार्यक्रम हुने स्थल द्वारिकाज होटलसम्मको सडक चिटिक्क पारिएको छ । काठमाडौँ महानगरपालिका, गैरआवासीय नेपाली सङ्घ र नेपालस्थित कतार राजदूतावासले कतारका अमिरको भव्य स्वागतका लागि स्वागतद्वार निर्माण गरेका छन् ।
सरकारले कतारका अमिरबाट हुने नेपालको राजकीय भ्रमणका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्नुहुने नेपालको राजकीय भ्रमणका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ ।
दाङका किसानको आकर्षण चैते धानप्रति
घोराही (दाङ), ११ वैशाख I बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोप्नुभएको छ । चैते धानले उहाँको जीविकोपार्जनमा सहयोग भएको छ । हरेक वर्ष आम्दानी बढेपछि चैते धानखेतीलाई निरन्तरता दिएको उहाँ बताउनुहुन्छ ।
बर्सेनि चैते धान रोप्दै आउनुभएका घर्तीले हिजो रोपाइँ सक्नुभएको हो । उहाँले भन्नुभयो, “सिँचाइको सुविधा छ, उत्पादन पनि मनग्ये हुने भएकाले पहिले देखि नै चैते धानखेती गर्दै आएका छौँ ।” चैते र बर्खे धान गरेर वर्षमा दुई बाली धान र एक बाली गहुँखेती गर्दै आउनुभएका घर्तीले बर्खे धानको तुलनामा चैते धान अधिक फल्ने बताउनुभयो । उहाँले यस वर्ष ११ रोपनी क्षेत्रफलमा धान रोप्नुभएको छ ।
बङ्गलाचुलीका अर्का किसान मुगा डाँगी पनि अहिले चैते धान रोप्न व्यस्त हुनुहुन्छ । चार रोपनी जग्गामा रोपाइँ जारी छ । थोरै जमिनबाट धेरै उत्पादन लिन पनि आफूले प्रत्येक वर्ष धानखेती गर्दै आएको उहाँले बताउनुभयो । स्थानीय सरकारबाट सहयोग नभएको गुनासो गर्दै उहाँले त्यसो भएमा उत्पादन बढाउन सहज हुने बताउनुभयो ।
चैते धानबाट प्रशस्त आम्दानी हुने भएपछि आफू लगायत गाउँका अधिकांश किसानले चैते धान लगाउँदै आएको उहाँ बताउनुहुन्छ । वर्षमा दुई बाली धानखेती गर्ने स्थानीयवासीले बर्खे भन्दा चैते धानबाट धेरै आम्दानी गर्ने गहतेरा निवासी चूर्ण डाँगी बताउनुहुन्छ । चैते धान प्रवर्द्धन गर्न स्थानीय वा प्रदेश सरकारले अनुदानको व्यवस्था गर्नुपर्नेमा उहाँको जोड छ ।
कृषि ज्ञान केन्द्रका अनुसार घोराही उपमहानगरपालिका– १, बङ्गलाचुली गाउँपालिका–३ र ४ सँगै देउखुरीका केही स्थानमा चैते धानखेती हुने गरेको छ । जिल्लामा करिब दुई हजार पाँच सय हेक्टरमा चैते धानखेती हुने गरेको छ ।
शुक्लाफाँटामा बाघ बढे
दोधारा चाँदनी (कञ्चनपुर), ११ वैशाख I महेन्द्रनगर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ । निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिए भने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो । निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनाअनुसार २४ वटा भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको सङ्ख्या ४४ पुगेको हो । गत मङ्सिर देखि ९१ वटा क्यामेरा ट्रयापिङबाट गरिएको अनुगमनमा बाघको सङ्ख्या बढेर ४४ पुगेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो ।
“यहाँ बाघका लागि खाना र बासस्थानको राम्रो वातावरण भएकाले थोरै क्षेत्रफलमा पनि धेरै बाघ छन्”, प्रमुख संरक्षण अधिकृत भट्टराईले भन्नुभयो, “यहाँ चोरीसिकारी पनि छैन त्यसकारण बाघको सङ्ख्या बढ्दै गएको छ ।” शुक्लाफाँटा भित्र रहेका ठूलो घाँसेमैदान, चौधर नदी, रानीताल र सिकारी तालजस्ता तालतलैया र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको सङ्ख्या पनि बढेको उहाँले बताउनुभयो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटनको प्रमुख केन्द्र बन्न सक्ने भए पनि पर्याप्त प्रचार–प्रसार नहुँदा यसबाट लाभ लिन नसकिएको यहाँका पर्यटन व्यवसायी जगदीश भट्ट बताउनुहुन्छ । “शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात छ तर यहाँ बाह्य पर्यटक आएका छैनन्”, उहाँले भन्नुभयो ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले शुक्लाफाँटा पर्यटकका लागि उपयुक्त गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्नसके यहाँको आर्थिक विकास टेवा पुग्ने बताउनुभयो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघ, बाह्रसिङ्गे र गैँडालगायतका दुर्लभ वन्यजन्तुका लागि प्रसिद्ध भए पनि प्रचारप्रसारको अभावमा पर्यटक आगमनमा वृद्धि नभएको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।
ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार जना घाइते
बरहथवा (सर्लाही), ११ वैशाख I सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् । सोमबार मध्यरात हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको ट्रयाक्टर बरहथवा नगरपालिका–१५ स्थित नहरको बाटोमा दुर्घटना भएको हो । दुर्घटनामा १७ वर्षका राजकुमार सिंहको मृत्यु भएको हो । दुर्घटनामा परेका अन्य चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
यसै बीच, चितवनमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सोमबार साँझ भरतपुर महानगरपालिका–३ बेलचोकमा बाह्रघरेबाट बेलचोकतर्फ आउँदै गरेको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री भरतपुर महानगरपालिका–११ गणेशस्थानका ६० वर्षीय कुमार गुरुङको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो । मोटरसाइकल चालक मकवानपुर मनहरी गाउँपालिका–३ का ३३ वर्षीय सुदर्शन अधिकारी र मोटरसाइकल पछाडि सवार भरतपुर–९ वसन्तचोकका ४९ वर्षीय सन्तोष बुर्लाकोटी घाइते हुनुभएको छ । घाइते दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
