इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव
इलाम, अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुई दिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गा कुमार बरालले बताए । उपप्रमुख बरालका अनुसार महोत्सवको पहिलो दिन आज ‘सूर्योदय आइडल’ को ‘ग्रान्ड फाइनल’, विभिन्न खाद्य परिकारका स्टल, दीपावली र साङ्गीतिक कार्यक्रम राखिएको छ । महोत्सवको दोस्रो दिन भोलि अन्तुडाँडाबाट सूर्योदय अवलोकन, शुभकामना आदानप्रदान, लोपोन्मुख लेप्चा जातिको वेशभूषा प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, खाद्य परिकारका स्टल, ‘सूर्योदय आइडल’को विजेता घोषणा, पुरस्कार वितरण र साङ्गीतिक कार्यक्रमलगायत राखिएको बरालले जानकारी दिए ।
‘सूर्योदय आइडल’को ग्रान्ड फिनालेमा आठजना प्रतिस्पर्धीबाट विजेता छनोट गरिनेछ । महोत्सवमा कलाकार याम बराल, भूपेन्द्र राई, पूजन प्रधान, गणेश पराजुली, शोभा पराजुली, फुटी शेर्पालगायतको प्रस्तुति रहनेछ । महोत्सवका अवसरमा नगरपालिकाले लागुपदार्थ दुर्व्यसनी, मदिरा तथा सुर्तीजन्य वस्तुको नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी सन्देशमूलक कार्यक्रम राखेको बरालले जानकारी दिए । “पर्यटकीय नगरी सूर्योदयलाई सर्वकालीन पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको छ”, उपप्रमुख बरालले भने “यसले अन्तुको मात्र नभई समग्र जिल्लाको पर्यटन विकासमा टेवा पुर्याउने अपेक्षा छ ।” महोत्सवमा आउने पर्यटकका लागि अन्तुमा रहेका ६६ वटा घरबास (होमस्टे), निजी ढङ्गले चलेका होटेल र कटेजमा गरी पाँच हजार जनाले रात बिताउन सक्नेगरी व्यवस्थापन गरिएको संयोजक बरालले बताए ।
महोत्सव अवधिभर १० हजार पर्यटक भित्रिने अपेक्षा गरिएको उनको भनाइ छ । महोत्सव आयोजना गर्न रु १० लाख खर्च हुने आयोजकको अनुमान छ । अन्तु पुग्ने पर्यटकले अन्तुडाँडाबाट सूर्योदयको दृश्यावलोकन, विभिन्न हिमशृङ्खलाको दृश्यावलोकन, अन्तुपोखरीमा डुङ्गा सयर, हरियाली चियाबारी र सल्लाघारीको आनन्द लिएर फर्कने गरेका छन् । यसका साथै चियाबगान बीचमा बनाइएका कटेज तथा होमस्टे, स्थानीय स्रोत साधनको प्रयोग गरी थुम्का-थुम्कामा बनाइएका घर, विभिन्न जातजातिको कला–संस्कृति समेत पर्यटकका रोजाइ बन्ने गरेका छन् ।
पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु
भोजपुर, चैत २९ I भोजपुरको आमचौक गाउँपालिका- १० स्थित दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । हिजो दिउँसो १ बजे आमचोक- ६ देवानटारका २० बर्षीय सुदिप दर्जी र १८ बर्षीय अजय राईको दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको भन्ने खवर प्राप्त भएसगै घटनास्थलमा इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली खटिगई सम्पुर्ण कानुनि प्रकृया पश्चात शवलाई पोष्टमाटमको लागि धरान घोपा पठाईएको र घटना सम्बन्धमा थप अनुनस्धान भईरहेको प्रहरीले जनाएको छ ।
अपाङ्गताले छेकेन सफलतालाई
खोटाङ , दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – ११ खार्मीका ३० वर्षीय भक्तबहादुर विश्वकर्मा दृष्टिविहीन छन् । दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा इपिएम (एजुकेसन म्यानेजमेन्ट प्लान) मा स्नातकोत्तर अध्ययनरत विश्वकर्मा शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतीय श्रेणीको परीक्षामा खुला, दलित र अपाङ्ग गरी तीनवटा समूहमा नाम निकाल्न सफल भएका छन् ।
पहिलोपटक शिक्षक सेवा आयोगको परीक्षा दिनुभएका विश्वकर्माले शिक्षा विकास तथा समन्वय एकाइबाट मङ्गलबार नियुक्तिपत्र समेत बुझिसकेका छन् । आठ वर्षको उमेरमा आँखाको ज्योति गुमाएका विश्वकर्मा स्थायी शिक्षकमा नाम निकालेर नगरपालिकामा सिफारिस भएका छन । कक्षा १० मा अध्ययनरत नवराज भट्टराईलाई लेखक सहयोगी राखेर परीक्षा दिएका विश्वकर्मा दोस्रो पेपरमा एक सय १० जनाले परीक्षा दिएकामा ७८ जना उत्तीर्ण हुँदा ४९औँ नं मा नाम निकालेका थिए । अरूले पढेर सुनाएको भरमा शिक्षा सेवा आयोगको परीक्षा उत्तीर्ण गरेका दिक्तेल स्थित सुर्केडाँडा आधारभूत विद्यालय बाम्राङमा सिफारिस हुने निश्चित भएको छ ।
विसं २०६९ मा आफ्नै गाउँ खार्मी स्थित कालिका माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका विश्वकर्मा दुई वर्ष अघि देखि दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलमा सङ्गीत शिक्षकका रुपमा कार्यरत छन् । विसं २०६५-६६ र ०६७ सालसम्म तीन वर्ष श्री सङ्गीत पाठशाला डिल्लीबजार काठमाडौँमा बसेर सङ्गीत सिकेका अहिले साइनो कला केन्द्र, खोटाङका अध्यक्ष छन् । विसं २०७१ देखि सङ्गीतमा लाग्नुभएका विश्वकर्माका छवटा गीत रेकर्ड पनि भएका छन् । गीतसङ्गीतसँगै अध्ययनलाई समेत निरन्तरता दिँदै आएका विश्वकर्मा दृष्टिविहीन भएर पनि शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर स्थायी शिक्षक हुनुले धेरैका लागि प्रेरणाका स्रोत बनेका छन ।
कक्षा–८ मा अध्ययन गर्दै गर्दा वैवाहिक जीवनमा बाँधिनुभएका विश्वकर्माको श्रीमती सहित एक छोरा र एक छोरी छन् । वाद्यवादनमा समेत उत्तिकै दखल राख्ने विश्वकर्माले साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी वेदना राईसँग १२ वर्षअघि अन्तरजातीय विवाह गरे थिए । आँखामा दृष्टि नभए पनि व्याख्यान, प्रश्नोत्तर र छलफल विधिबाट कक्षा शिक्षण गर्ने विश्वकर्माले बताए । “घरमा पूर्वतयारी गरेर कक्षामा प्रवेश गर्छु । कक्षामा विद्यार्थीलाई पाठ वाचन गर्न लगाएर पनि सिकाउने छु”, उनले भने “मसँग ट्युसन पढाएको अनुभव पनि छ । जस्तै बोटबिरुवाको विषयमा पढाउने हो भने बोटबिरुवा लगेर जरा, काण्ड, पात, फूललगायत देखाएर पढाउन सकिन्छ ।” विश्वकर्मा आठ वर्षको उमेर हुँदा टाउकोमा आएको पिलोका कारण दृष्टिविहीन भएको पारिवारिक स्रोतले बताएको छ । स्वास्थ्यचौकी बाक्सिलामा गएर पिलो फुटाउने क्रममा आँखाको नसा बिग्रेका कारण आफूले ज्योति गुमाएको विश्वकर्माको भनाइ छ ।
उता, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका दृष्टिविहीन उमेश राई र उनकी श्रीमती सूर्यमायाँ लिम्बूले पनि विश्वकर्मासँगै स्थायी शिक्षकमा नाम निकालेका छन् । उनीहरु दुवैजनाले शिक्षा विकास तथा समन्वय इकाइको कार्यालय खोटाङबाट सोमबार नियुक्तिपत्र बुझेका छन् । जन्मजात दृष्टिविहीन राई दम्पतीले मङ्गलबार केपिलासगढी गाउँपालिकाबाट पदस्थापना पत्रसमेत लिइसके छन । राई केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित शुक्रजित मावि र लिम्बू केपिलासगढी गाउँपालिका–३ बास्पानीको मनोकामना आधारभूत विद्यालयमा सिफारिस भएका छन् । स्थायी शिक्षकमा नाम निकाल्न सफल दृष्टिविहीन राई दम्पती दुवैजनाले सहयोगी राखेर परीक्षा दिएका थिए । राई एक वर्षदेखि भगवती मावि बेलबारीमा मावि राहतमा शिक्षकमा कार्यरत थिए ।
सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसले प्रतिबद्धता व्यक्त
सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसले प्रतिबद्धता व्यक्त गरे काठमाडौँ, संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव गोलाम सरवारले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेससँग राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा शिष्टाचार भेट गरेका छन् । सार्कका महासचिव लाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै महासचिव गुटेरेसले विश्व जनसङ्ख्याको ठूलो हिस्सा ओगटेको सार्क क्षेत्रसँग संयुक्त राष्ट्रसङ्घले सहकार्य गर्न चाहेको बताए । उनले सार्कसँग साझेदारी गर्न आफू तयार रहेको बताउँदै निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । सार्क सचिवालयका अनुसार महासचिव सरवारले राष्ट्रसङ्घबाट सार्कलाई निरन्तर सहयोग एवं समर्थन प्रति प्राप्त भएकामा कृतज्ञता व्यक्त गरेका थिए ।
सार्क संयुक्त राष्ट्रसङ्घको पर्यवेक्षक संस्था हो । सन् २००४ मा राष्ट्रसङ्घले सार्कलाई उक्त दर्जा प्रदान गरेको हो । राष्ट्रसङ्घका महासचिव गुटेरेससँगको भेटमा महासचिव सरवारले दुवै संस्था बिच सम्बन्ध विस्तारका साथै जलवायु परिवर्तन, खाद्य सुरक्षा, नवीकरणीय ऊर्जाका क्षेत्रमा सहयोग बढाउने बारेमा छलफल गरेका सार्क सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सार्कले राष्ट्रसङ्घीय विकास कार्यक्रम, खाद्य सङ्गठन, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को), स्वास्थ्य सङ्गठन, जनसङ्ख्या कोषलगायत १२ वटा राष्ट्रसङ्घीय निकायसँग समझदारी पत्रमा हस्ताक्षर गरेको जानकारी दिँदै महासचिव सरवारले बदलिँदो परिवेशमा ती निकायसँग गरिएका समझदारीलाई अद्यावधिक गर्न आवश्यक भएको बताए ।
राष्ट्रसङ्घ र सार्कबिचको साझेदारीलाई परियोजनामा आधारित गराउन काठमाडौँस्थित सार्क सचिवालयमा राष्ट्रसङ्घ र सार्कले संयुक्त बैठक गर्नुपर्नेमा जोड दिए । उनले पारस्परिक सहयोगका नयाँ परियोजना पहिचान गर्नुपर्ने बताए । उनले सचिवालयका पदाधिकारीलाई क्षमता अभिवृद्धिलगायत अवसरको व्यवस्थाका लागि महासचिव गुटेरेससँग अनुरोध पनि गरेका छन । महासचिव गुटेरेसले सार्क महासचिवको प्रस्तावको स्वागत गर्दै राष्ट्रसङ्घ र सार्कबिचको सहकार्य अभिवृद्धिमा जोड दिए । सार्कसँगको क्षेत्रगत साझेदारीका लागि उनले सम्बद्ध निकायका अधिकारीलाई सार्क सचिवालयका पदाधिकारीसँग तत्काल सम्पर्क एवं समन्वय गर्न निर्देशन दिए । साथै उनले दुई संस्था बिचको विद्यमान सम्बन्धलाई अझ सुदृढ बनाउन र निकट सम्पर्कमा रहेर काम गर्दै सार्कलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे
एक करोडको लागतमा प्रसूति सेवा भवन निर्माण
भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङमा सुविधा सम्पन्न प्रसूति सेवा भवन निर्माण भएको छ । जिल्लाको विकट यो गाउँमा रु एक करोड लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माण सँगै सुत्केरी गराउन तथा स्वास्थ्य सेवा लिन छिमेकी जिल्ला सङ्खुवासभा जानुपर्ने बाध्यताको अन्त्य भएको छ । भवनमा आवश्यक उपकरण पनि जडान गरिएको छ ।
अब स्वास्थ्य सेवा लिन सहज भएको स्थानी वीरबहादुर तामाङले बताए । “ यो दुर्गम ठाउँमा सुविधासम्पन्न स्वास्थ्य भवन बनेको छ, सेवा लिन सङ्खुवासभा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ । अब राज्यले आवश्यक जनशक्ति व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको पनि बताए । यो भवनबाट षडानन्द नगरपालिका वडा नं १०, ९, ८ र ३ का स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने वडाध्यक्ष निमा शेर्पाले बताउनुभयो ।
नेपाल हेल्पिङ एजुकेशन फाउण्डेसन अफ नेपालको अनुदानमा रु एक करोड लागतमा केन्द्र स्थापना गरिएको हो । भवन निर्माणमा जर्मनीका दुई र स्वीटजरल्याण्डको एउटा संस्थाको सहयोग रहेको उनले जानकारी दिए । नवनिर्मित सात कोठाको भवनमा आवश्यक सम्पूर्ण आधुनिक उपकरण जडान गरिएको फाउण्डेसनका प्रबन्धक रामकुमार तामाङले बताए । “करिब रु एक करोड लागतमा भवनसँगै आवश्यक उपकरण जडान गरेका छौँ, यहाँ आवश्यक पर्ने जनशक्ति षडानन्द नगरपालिकाले व्यवस्थापन गर्ने सम्झौता गरेका छौँ ।
यहाँ शल्यक्रिया गरेर सुत्केरी गराउन सक्ने उपकरण जडान गरिएको छ । यससँगै अन्य स्वास्थ्य सेवा पनि प्रवाह गर्न सकिने उनले भने । सम्झौता अनुसार जनशक्तिको व्यवस्थापन गरिने नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । नवनिर्मित भवनलाई सरकारको स्वामित्वमा ल्याएर जनशक्ति व्यवस्थापनसँगै सञ्चालन गरिने उनले बताए । भवन निर्माण गर्न स्थानीय सुवास तामाङले निःशुल्क एक रोपनी जग्गा प्रदान गर्नुभएको हो । उहाँकै आमा पाक्तुरी मायाको नामबाट भवनको नामकरण गरिएको छ ।
कारले पैदल यात्रीलाई ठक्कर दिंदा पैदलयात्रीको मृत्यु
सुनसरी, चैत्र २८ । सुनसरीको ईटहरी उपमहानगरपालिका-२ हलगडा चोकमा मंगलवार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिंदा पैदलयात्री भोजपुरका ५२ बर्षीय जय बहादुर राईको मृत्यु भएको छ । धरानबाट ईटहरी तर्फ आउँदै गरेको प्रदेश १-०२९ च. ९४५९ नम्बरको कारले अचानक ठक्कर दिंदा घाईते भएका भोजपुरको हतुवागढी गाउँपालिका-६ घर भई ईटहरी-२ हलगडामा बस्दै आएका राईको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
प्रतिबन्धित लागुऔषध ब्राउनसगुर सहित ४ जना पक्राउ
झापा,चैत्र २८ । झापाको दुई छुट्टाछुट्टै स्थानहरूबाट प्रतिबन्धित लागुऔषध ब्राउनसगुर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार तथा बेचबिखन समेत भईरहेको भन्ने विशेष सूचनाको आधारमा मंगलवार साँझ प्रहरी चौकी बिर्ता बजार झापाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-९ का २६ वर्षीय ललित कुमार राजवंशी र बिर्तामोड नगरपालिका-३ का २५ वर्षीय अनिल कुमार राजवंशीलाई ४८० मिलिग्राम लागुऔषध ब्राउनसगुर र १ थान मोबाइल सहित पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-८ बाट दमक-९ का ३५ वर्षीय बिनोद राई र ३१ वर्षीय गोपाल लम्जेललाई मंगलवार राती ७ ग्राम १०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आगलागी नियन्त्रणका दौरान घाइते सैनिकको उपचारको क्रममा निधन भएको छ
डोल्पा जिल्ला, दुनै स्थित ठुलीभेरी नगरपालिका-४, तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका चार जना सैनिकहरू घाइते भई जिल्ला अस्पताल डोल्पामा उपचारका लागि लगिएकोमा एक जनाको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको छ । बाँकी तीन जना घाइतेहरूलाई नेपाली सेनाको हवाई साधन मार्फत काठमाडौँ कीर्तिपुर स्थित बर्न अस्पतालको आइ.सि.यु. मा भर्ना गरी उपचार भइरहेकोमा थप दुई जनाको निधन भएको छ । उक्त घटनामा घाइते एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । देशका विभिन्न स्थानहरूमा भइरहेका आगलागी नियन्त्रणका निमित्त २०८० सालभर करिब आठ सय स्थानमा बाह्र हजार पाँच सय जना सकलदर्जा परिचालित भएका छन् ।
गोरखा-जितगढी पदयात्रा शुरु
चैत्र २७ गते I ऐतिहासिक सम्पदाहरू तथा घटनाक्रमको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आज चैत्र २७ गतेबाट दोस्रो गोरखा-जितगढी पदयात्रा सुरु भएको छ । पश्चिम पृतनापति उपरथी श्री सन्तोष बल्लब पौड्याल र गोरखा नगरपालिकाका प्रमुख श्री कृष्ण बहादुर राना मगरले झण्डा हस्तान्तरण गरी शुभारम्भ गर्नु भएको पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबै भन्दा पहिले खडा भएका ५ (पांच) ओटा स्थायी कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुज) हरु तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित पदयात्रा सुरु गरेका छन् । करिव २०७ कि.मि. दुरीमा सञ्चालन हुने यात्रा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीको बुटवलस्थित जितगढी सम्म पुगेर २०८० वैशाख ०७ गते विजय उत्सव समारोहका साथ समापन हुनेछ ।
स्मरणीय छ, नेपाली सेनाले मिति २०८० पौष २० गते ऐतिहासिक जितगढी किल्ला मर्मत तथा पुनः निर्माण गरी बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । यस्तै, नेपाली सेनाद्वारा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखा-काठमाडौँ एकीकरण मार्गमा पदयात्रा सञ्चालन हुँदै आएको छ ।
छोराले कुटपिट गर्दा बुबाको मृत्यु
संखुवासभा, चैत २७ गते । संखुवासभाको पाँचखपन नगरपालिका- २ गैरीगाँऊ स्थित छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे सोही स्थान बस्ने ५० वर्षीय युवराज राई र निजकै छोरा २८ वर्षीय सुमन राई बिच सामान्य घरायसी विषयमा वादविवाद हुँदा सुमन राईले शरीरको विभिन्न भागमा कुटपिट तथा ढुङ्गाले टाउकोमा प्रहार गर्दा युवराज राई गम्भीर घाइते भएका थिए । घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवसभाले जनाएको छ