बझाङ उपनिर्वाचन अपडेटः एमालेका भण्डारी नौ मतले अगाडि
१७ वैशाख, चैनपुर (बझाङ) I बझाङ-१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिनुभएको छ ।
जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, छविसपाथिभेरा, सुर्मा, मष्टा, थलारा गाउँपालिका-९ र तलकोट १ र २ को मतगणनापछि कांग्रेसभन्दा एमाले नौ मतले अगाडि देखिएको हाे ।
पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले नौ हजार आठ सय ८९, एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले नौ हजार आठ सय ८० मत प्राप्त गर्नुभएको छ ।
साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार छ सय ५४, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार चार ८५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।
इलाम उपनिर्वाचन: माङ्सेबुङ–५ मा स्वतन्त्रले एक हजार ३२ मत पाउँदा ठूला दलले ६९ कटेन
१७ वैशाख, फिक्कल (इलाम) I प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पछिल्लो नतिजा अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार सुहाङ नेम्बाङले अग्रता बड्दो क्रममा छ । सत्ताइस हजार छ सय १५ मतगणना गर्दा सुहाङ तीन हजार सात सय ५४ मतान्तरले अगाडि हुनुहुन्छ । नेम्बाङले ११ हजार ७८ मत प्राप्त गर्दा कांग्रेसका डम्बरबहादुर खड्काले सात हजार तीन सय २४ मत मात्र प्राप्त गर्नुभएको छ ।

त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले छ हजार नौ सय एक मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू एक हजार पाँच सय १२ मतसहित चौथो सीमित हुनुहुन्छ ।
माङ्सेबुङ गाउँपालिका–५ को भने अप्रत्यासित मतपरिणाम आएको छ । पहिचानवादी स्वतन्त्र उम्मेदवारले एक हजार ३२ मत ल्याउँदा ठूला दल एमाले र कांग्रेसले ६९ मत कटाएनन् । सो वडामा एमालेका नेम्बाङले ६९ र कांग्रेसका खड्काले ४९ मतमात्र प्राप्त गर्नुभयो । रास्वपाका लिम्बूले तीन मत पाउनुभयो । सो वडामा किरात धर्मगुरू आत्मानन्द लिङ्देन बसोबास गर्दै आउनुभएको छ । अहिले माई नगरपालिका–६ र ७ मा मतगणना भइरहेको छ ।
एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्दै
१७ वैशाख, भक्तपुर I नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले फाइनलमा बङ्गलादेश रातोसँग खेल्ने छ ।
आयोजक बङ्गलादेश निलोलाई हराउँदै नेपाली टोली फाइनलमा प्रवेश गरेको हो । ढाकामा नेपाली भलिबल टोलीका साथमा रहनुभएका भक्तपुर जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष एवं टोली व्यवस्थापक दीपक थापाका अनुसार आइतबार भएको सेमिफाइनलमा नेपाली टोलीले बङ्गलादेश निलोलाई २५–१६, २५–२१ र २५–२१ अङ्कले पराजित गरेको हो । यस अघि नेपालले शनिबार भएको खेलमा माल्दिभ्सलाई २३–२५, २५–१९, २५–१३ र २५–२१ अङ्कले हराउँदै सेमफाइनल प्रवेश गरेको हो ।

भलिबल प्रतियोगितामा भाग लिन भक्तपुरको टोली बङ्गलादेश गएको हो । टोलीमा सुरेश मल्ल, यज्ञराज जोशी, अविशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, इज्जत दनै, शशी पुलामी मगर र भुवन तामाङ रहनुभएको छ । टोलीको प्रशिक्षकमा उत्सव खड्का र सहायक प्रशिक्षकमा जनकबहादुर खड्का रहनुभएको छ । टोली पठाउन ‘सहायता फाउन्डेसनका अध्यक्ष राजु ढुङ्गेल, विकास बस्नेत, व्यवसायी लक्ष्मण अवाल र व्यवस्थापक थापाले रकम जुटाउनुभएको थियो ।
अझै बढ्ने तातो हावाको लहर
१७ वैशाख, काठमाडौँ I विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम वैशाख २० गते सम्म जारी रहने मौसमविद्ले बताएका छन् ।
आगामी केही दिन सम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागले बुलेटिन मार्फत चेतावनी सहितको सूचना जारी गरेको छ ।
“तातो बढ्ने भएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ”, विभागले भनेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले तातो बढेसँगै आगलागी, हावाहुरी लगायतका समस्या झन बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार यस वर्ष सबै भन्दा बढी ४३.६ डिग्री तापक्रम मापन भएको छ । भैरहवामा वैशाख आठ गते उक्त तापक्रम रेकर्ड भएको थियो ।

सूचनामा भनिएको छ, “तराईका ती भू–भागमा आज देखि यही वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । साथै पहाडी भू–भागका उपत्यका तथा खोचमा समेत तापक्रम क्रमिकरुपमा बढ्न सक्ने सम्भावना रहेकाले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहनु हुन अनुरोध छ ।”
सम्भावित असर तथा सुझाव
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तै : थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने छ ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउन स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।
यस्तै स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी सँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत भनिएको छ । महाशाखाले दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोहीअनुसार नियमितरूपमा अद्यावधिक गरिने भएकाले अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि अनुरोध गरेको छ ।
स्याङ्जामा युवकको हत्या
१७ वैशाख, वालिङ (स्याङ्जा) I स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादर रानाका अनुसार बाँयटारी बस्दै आएका राप्ती–३ का ३५ वर्षीय निमबहादुर घर्तीले चौधरीलाई चक्कु प्रहार गरेका हुन् । घाइते चौधरीको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत भएको हो ।
चक्कु प्रहार गर्ने घर्तीलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रानाले बताउनुभयो ।
नेपालगञ्ज रङ्गशाला सुनसान
१७ वैशाख, नेपालगञ्ज I बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् ।
खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने उहाँको भनाइ छ । पाँच वर्षअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा करिब रु एक अर्ब ५० करोड खर्च गरी खेलकुद संरचना बनाइएका थिए । हाल ती संरचना चालु अवस्थामा छैनन् । त्यतिबेला अत्याधुनिक फुटबल मैदान, प्यारापिट, अन्तर्राष्ट्रिय मापदण्डको स्वीमिङ पुल, भारोत्तोलन एकेडेमी, सुटिङ रेञ्ज, ह्यान्डबल, पार्केटिङसहितको भलिबल तथा ब्याडमिन्टन कोर्ट र बास्केटबल कोर्ट निर्माण गरिएका थिए ।
कार्यालय प्रमुख चन्दले खेलकुदमा सङ्घीयता लागू नभएको उल्लेख गर्दै समायोजन नभएका कारण समेत अन्यौल सिर्जना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकाले यति धेरै लगानी गरेपछि यसलाई प्राथमिकतामा राखेर काम गर्नुपथ्र्यो ।” अधिकांश प्रदेशका खेलकुदका कार्यक्रम बुटवल र दाङमा हुने गरेका उल्लेख गर्दै प्रमुख चन्दले राष्ट्रपति रनिङ शिल्डबाहेक अन्य कार्यक्रम नेपालगञ्जमा हुन नसकेका बताउनुभयो ।
अहिले रङ्गशालामा सङ्घीय सरकारबाट आउने बजेट शून्य रहेको जानकारी दिँदै प्रमुख चन्दले रङ्गशालालाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा समिति गठन भएको र त्यसले बुझाएको प्रतिवेदनका आधारमा सञ्चालन हुने बताउनुभयो । उहाँले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अभ्यास खेलहरु सञ्चालन गर्ने पर्खाइमा रहेको उल्लेख गर्दै प्रतियोगिता नहुँदा, नियमित रेखदेख र सम्भार नहुँदा फुटबल मैदानमा लगाइएको दुबोसमेत सुकेको जानकारी दिनुभयो ।
रङ्गशालामा निर्माण कार्यसँगै नियिमित रुपमा बक्सिङ, तेक्वान्दोलगायत खेलको प्रशिक्षण पनि चलिरहेको उहाँले बताउनुभयो । सङ्घीय सरकारको रु १३ करोडको बजेटमा रङ्गशाला बन्दै छ । नेपालगञ्जमा विभिन्न सङ्घ तथा संस्थाको अगुवाइमा विभिन्न खेलकुदका कार्यक्रम हुँदै आएका छन् । यसबाहेक पालिकास्तरीय खेलकुद कार्यक्रम भइरहेका छन् ।
बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडि
१७ वैशाख, चैनपुर (बझाङ) I बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह दुई सय ४९ मतले अग्रता लिनुभएको छ । उहाँले सात हजार चार सय ८६ मत प्राप्त गर्नुभएको छ ।
यस्तै नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले सात हजार दुई सय ३९, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले दुई हजार आठ सय ९४ तथा नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार एक सय दुई मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।
हालसम्म छविसपाथिभेरा गाउँपालिका, थलारा गाउँपालिका–९, खप्तडछान्ना गाउँपालिका, जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिकाको मतगणना सम्पन्न भएको छ ।
बझाङ प्रदेशसभा (क) मा मा भएमको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो । सो क्षेत्रमा ६१ हजार सात सय ४८ मतदाता रहेका थिए । उपनिर्वाचनमा ११ उम्मेदवारले चुनावी प्रतिष्पर्धामा भाग लिनुभएको छ ।
इलाम उपनिर्वाचन
१७ वैशाख, फिक्कल (इलाम) I इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । सो क्षेत्रमा नेकपा (एमाले) को अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार नेकपा (एमाले) को सात हजार ६ सय ७७ मत प्राप्त भएको छ ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले पाँच हजार तीन सय ९५ मत प्राप्त गर्नुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले चार हजार ४५ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले एक हजार एक सय ६२ मत प्राप्त गर्नुभएको छ ।
हालसम्म १९ हजार एक सय ८१ मत गणना सम्पन्न भएको छ । सो क्रममा दुई सय ३३ मत बदर भएको छ । पछिल्लो समय फाकफोकथा गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका पाँच वडाको मत गणना सकिएको छ । अहिले चुलाचुली गाउँपालिका–६ को मतगणना सुरु भएको छ ।
एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास
१६ वैशाख, काठमाडौँ I मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाइने भएको छ । उक्त प्रयोजनका निम्ति अनलाइनबाटै प्रवेशपासको व्यवस्था गर्न लागिएको गृह मन्त्रालयले जनाएको हो ।
कामकाजी सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले परीक्षणका रुपमा यही वैशाख १७ गते देखि काम विशेषले गृहमन्त्रालय प्रवेश गर्ने व्यक्तिहरुका लागि ई–गेट पास प्रणाली सञ्चालनमा ल्याइएको छ ।
गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ई–गेट पासका लागि वेबसाइटमा क्युआर कोड सहितको पास अनुरोध गर्नुपर्ने छ । मन्त्रालयबाट अनुरोध स्वीकृति भइसके पछि मात्रै ई–गेट पास जारी हुनेछ र सो पास साथमा लिएर सिंहदरबार प्रवेश गर्न सकिने मन्त्रालयले जनाएको छ । ई–गेट पासका लागि वेबसाइट ‘सिंहदरबार पास डट जिओभी डट एनपी’ गएर आवेदन दिएर प्राप्त गर्न सकिनेछ । परीक्षण पश्चात् सिंहदरबार भित्र रहेका सबै मन्त्रालय-निकायका लागि ई–गेट पास प्रणाली प्रयोग हुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ I
टेस्लाका सिइओ एलन मस्क चीनमा
अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार छलफलका लागि चीनमा हुनुहुन्थ्यो । विद्युतीय सवारीका लागि विश्वको सबैभन्दा ठूलो बजार चीनमा एक वर्ष भन्दा कम समयमा यो उहाँको दोस्रो भ्रमण थियो ।
चिनियाँ सरकारी प्रसारक सिसिटिभीले बेइजिङको डियाओयुताई स्टेट गेस्टहाउसमा विश्वका सबैभन्दा धनी मध्येका एक तथा एक्सका समेत मालिक मस्कको तस्बिर प्रकाशित गर्दै उहाँले एक शीर्ष व्यापार अधिकारीसँग छलफल गर्नुभएको बताएको छ ।
मस्कको चीनमा व्यापक व्यापारिक चासो छ । उहाँको पछिल्लो भ्रमण गत वर्षको जुनमा भएको थियो । टेस्लाले मस्कको भ्रमणको पुष्टिका लागि एएफपीको अनुरोधलाई प्रतिक्रिया दिएन वा उहाँको भ्रमणको कार्यक्रम साझा गरेन ।
“चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेडको निमन्त्रणामा टेस्ला (अमेरिका) का सिइओ एलन मस्क आज दिउँसो बेइजिङ आइपुग्नुभएको छ”, सिसिटिभीले भनेको छ, “सहयोग र अन्य विषयमा आगामी कदमबारे छलफल गर्नका लागि मस्कले व्यापार परिषद्का प्रमुख रेन होङबिनसँग भेट गर्नुभयो ।”
पश्चिममा पारा म्याग्नेटको विवादास्पद छवि भए पनि चीनमा टेस्लाको विद्युतीय सवारी मध्यमवर्गीय सहरी जीवनको प्रमुख हिस्सा बनेको छ । एक पटक चिनियाँ विद्युतीय सवारीको उपहास गरेपछि मस्कले यस वर्ष तिनीहरूलाई ‘विश्वको सबैभन्दा प्रतिस्पर्धी कार कम्पनी’ भनेर वर्णन गर्नुभएको छ ।
आइतबार सरकार समर्थित एउटा मिडिया आउटलेटले उहाँलाई उद्धृत गर्दै भनेको छ, “चीनमा विद्युतीय सवारीले प्रगति गरेको देख्न पाउँदा राम्रो लाग्यो, भविष्यमा सबै कारहरू विद्युतीय हुनेछन् ।”
यद्यपि मस्कको आफ्ने कम्पनी विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा समस्यामा परेको छ । टेस्लाले आफ्नो स्टेयरिङ सफ्टवेयरलाई ठीक गर्न चीनमा १६ लाखभन्दा बढी विद्युतीय सवारी फिर्ता बोलाएको छ । चीनमा टेस्लाको आगमन तीव्र प्रतिस्पर्धात्मक विद्युतीय सवारी बजारमा अगाडि बढ्न उत्सुक फर्महरू बीचको मूल्य युद्धसँग मेल खान्छ ।
चीनको स्थानीय कार कम्पनी बिवाईडी (बिल्ड योर ड्रिम्स) गत वर्षको चौथौ त्रैमासिकमा टेस्लालाई पछि पारेर विद्युतीय कारको संसारको शीर्ष बिक्रेता बनेको थियो । टेस्लाले यस वर्षको पहिलो त्रैमासिकमा उक्त उपाधि पुनः हासिल गर्यो तर बिवाइडी आफ्नो घरेलु बजारमा बलियोसँग शीर्ष स्थानमा कायम छ ।
बेइजिङले विशाल अटो सो आयोजना गर्ने क्रममा मस्कको भ्रमण भएको छ ।