मङ्गलबार, ०९ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K85DWX5RA0FJVZPHMF3VGBJG.JPG

जेनजीको नाममा ‘नेपालविरुद्धको भयावह षड्यन्त्र’ भयो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको आफ्नो बालकोटस्थित निजी निवासको बुधबार अवलोकन गरेका छन् । 

उनले आन्दोलनको नाममा योजनाबद्ध ढंगले आफ्ना सम्पत्तिहरूमा क्षति पुर्याइएको आरोप लगाएका छन्  ।

बालकोट निवासमै सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले आफूलाई पटक–पटक लक्षित गर्दै आक्रमण गरिएको दाबी गरे । ‘देशभरि नै एमाले पार्टी कार्यालयहरू जलाइएका छन् । यसको तयारी पहिले देखिनै गरिएको थियो र खासगरी एमालेलाई टार्गेट गरिएको थियो,’उनले भने ।

ओलीले सरकारलाई घटनाका दोषीहरूलाई कारबाही गर्न नचाहेको आरोप लगाउँदै भने, ‘सबै प्रमाण हुँदाहुँदै पनि सरकार अपराधीहरूलाई जोगाउन लागिपरेको छ । गृहमन्त्रीको अभिव्यक्तिबाट सरकारको मनसाय प्रस्ट देखिन्छ ।’

उनले आन्दोलनका क्रममा अदालतका मुद्दाका मिसिलहरू, सिंहदरबारका ऐतिहासिक दस्तावेज, उद्योग–व्यवसाय, स्कुल र निजी सम्पत्तिहरू जलाइएको उल्लेख गर्दै यो घटनालाई ‘नेपालविरुद्धको भयावह षड्यन्त्र’ भएको बताए ।

उनले भने, ‘पटक पटक मलाई तार्गेट गरिएको नै थियो । देशभरी नै एमाले पार्टी कार्यालयहरु जलाइएका छन्, एमाले पार्टी कार्यालयहरु जलाइएका छन् । यसको तयारी पहिलेदेखि नै थियो र खासगरि एमालेमाथि तार्गेट गरिएको थियो ।  खासगरी सरकारका निजी सम्पत्ति लुटपाट आगजनी गरिएका छन् जेनजीका नाममा । अदालतमा मुद्दाका मिसिलहरु जलाइएका छन् । सिंहदरबारमा ऐतिहासिक दस्तावेज मिसिलहरु जलाए । यो एउटा नेपालका विरुद्ध भएको भयानक षडयन्त्र थियो । उद्योग व्यवसायहरुका उद्योग कलकारखानाहरु जलाइएँ । व्यवसायहरु जलाए, केवलबार जलाए, अरु विभिन्न कुराहरु जलाए । हुँदाहुँदै  स्कुलहरु जलाइँए । 

उनले आफ्नै निवासको सम्पत्ति श्रीमतीले पहिल्यै राज्यको नाममा दिइसकेको भन्दै यसबाट राज्यलाई क्षति पुगेको दाबी गरे ।

ओलीले आफूलाई अझै व्यक्तिगत रुपमा लक्षित गरिन सक्ने गम्भीर आशंका रहेको भन्दै राज्य संयन्त्रप्रति गम्भीर प्रश्न उठाएका छन् । ‘सरकार अझै जेनजीलाई उचालेर हामीलाई दबाब दिन खोजिरहेको छ,’उनले भने ।

ओलीले सम्पूर्ण घटनाको निष्पक्ष छानबिनको माग गर्दै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रकाशित मितिः बुधबार, ०५ कात्तिक २०८२
https://jawaaf.com/storage/01K84W8MNRC9AYSFFNRDVVGAJA.jpeg

तिहारको पाँचौ दिन : आज गाई पूजा पनि गरिंदै

काठमाडौं ।  कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । .

गाईलाई गौमाताका रुपमा सम्मान पनि गरिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।

प्रकाशित मितिः बुधबार, ०५ कात्तिक २०८२
https://jawaaf.com/storage/01K83BTNWS1RJTQC5Z4YSASEKW.jpg

रामेछापमा मध्यपहाडी लोक मार्ग निर्माण सकिने बत्तिकै धसियो

रामेछाप । पूर्वलाई राजधानीसँग जोड्ने छोटो मार्ग बिपी राजमार्गको वैकल्पिक मार्गको रूपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत कोथवे–लुभु–डहु डोजरडाँडा ११ किलोमिटर सडक खण्ड काम सकिने बित्तिकै धसिएको छ । 

गएको असारमा निर्माण सम्पन्न भएको सो सडक ठाउँ ठाउँमा भासिएको सुनापति गाउँपालिका–४ का राज मैनालीले जानकारी दिए । सो सडकको करिब ५ किलोमिटरभन्दा बढी हिस्सा पैरो र भासले क्षति ग्रस्त भइसकेको मैनालीले जनकारी दिए । 

गुणस्तरहीन निर्माण र  कमजोर प्राविधिक स्टिमेटका कारण सो सडक बनाउने बित्तिकै भत्किएको मैनालीले बताए । यसबाट जनताको करको दुरुपयोग भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको भए पनि सुनुवाइ नभएको मैनालीले गुनासो गरे । 

उनले स्थानीयलाई यस्तो निर्माण कार्यको खबरदारी गर्न र दिगो निर्माणको पहल गर्न पनि आह्वान गरे । गुणस्तरीय र दिगो निर्माण नहुँदा आवागमनमा नै जोखिम बढेको उनले बताए । 

यस विषयमा पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय रामेछापका सूचना अधिकारी हर्कबहादुर प्रधानले माथिबाट पानी बगेको कारण सडक धसिएको र त्यसको मर्मत गरिने जानकारी दिए ।

प्रकाशित मितिः मङ्गलबार, ०४ कात्तिक २०८२
https://jawaaf.com/storage/01K835JDAQA1TC27W37RKY7Y42.jpeg

प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलका घाइतेहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी समय छलफल गरेकी छन् । आज बिहान साढे १० बजे सुरु भएको छलफल केहीबेरअघि सकिएको हो ।

घाइतेहरूले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन् । भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बताए ।

घाइतेहरूका तर्फबाट खड्काले भने, ‘जसका विरुद्ध हामीले आन्दोलन गरेका थियौँ, तिनीहरूलाई तत्काल पक्राउ गर्न केले छेकेको छ? नियमले छेक्यो कि कानुन र संविधानले छेक्यो कि ? जहाँ बाधा छ, त्यहीँबाट फुकाउनु सुरु गरौँ ।’

गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको प्रगतिबारे अवगत गराए ।  

‘तपाईँ चुनाव चुनाव मात्र भनिरहनुभएको छ । के ०८४ को चुनाव ०८२ मा सार्न मात्र यो सरकार आएको हो?’ घाइते प्रतिनिधिहरूको भनाइ थियो ।

छलफलमा प्रधानमन्त्री कार्की, गृहमन्त्री अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता थियो ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ । प्रक्रियासम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी हामी काम गर्छौँ । हामीलाई दिइएको म्यान्डेटअनुसार चल्छौँ । चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ। राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेका छन् । आआफ्नो ठाउँबाट काम भइरहेको छ । तपाईँहरु बोल्न नछाड्नुहोस्। हामीलाई दबाब दिन पनि नछाड्नुहोस्। हेर्नुहोला, अब नतिजा आउँछ । छानबिनमा परेपछि बाहिर कसले केके बोलिरहेका छन्, सुन्नुभएकै होला ।’

घाइतेहरूले कतिपय आरोपित व्यक्ति भाग्न खोजेको र अकुत सम्पत्ति लुकाउन लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

गृहमन्त्री अर्यालले भाग्न खोजेकाहरू, लुकेकाहरू पनि भाग्न नसक्ने अवस्था आएपछि ‘नेपालमै छु’ भनेर देखापर्न थालेको बताए ।

प्रकाशित मितिः मङ्गलबार, ०४ कात्तिक २०८२
https://jawaaf.com/storage/01K82TR6XR1N5CT25K6VKVV6CB.jpg

महाकालीको भुजेलाघाटमा विपिन जोशीको अन्त्येष्टि

कञ्चनपुर । इजरायल–हमास युद्धका क्रममा मृत्य भएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । महाकालीको भुजेलाघाटमा उनले अन्त्येष्टि गरिएको हो । 

विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । सोमबार दिउँसो काठमाडौं ल्याइपुर्याइएको विपिनको शव नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी हुदैँ कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पु¥याइएको थियो । 

शव हस्तान्तरण गर्न उनको घर पुगेका नेपालस्थित इजरायली दूतावासका  अधिकारीहरुसहित आज बिहान शवयात्रा निकाली महाकालीको भुजेलाघाटमा अन्त्येष्टि गरिएको छ ।  

अन्त्येष्टिमा विपिनका परिवार, इष्टमित्र, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, नगर प्रहरी लगायत सहभागी थिए ।

विपिन सन् २०२३ मा अध्ययनका लागि इजरायल पुगेका थिए भने इजरायल पुगेको केही दिनमै हमासको आक्रमणमा परेका थिए । 

प्रकाशित मितिः मङ्गलबार, ०४ कात्तिक २०८२
https://jawaaf.com/storage/01K82MR7VCBW0XZZ0YKZ002WTP.jpg

विद्युत् महसुल नबुझाएको हेटौंडाको शिवम् सिमेन्ट उद्योगको लाइन काटियो

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियामा रहेको शिवम् सिमेन्ट उद्योगको विद्युत् लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेको कारण शिवम् सिमेन्ट उद्योगको लाइन काटेको हो ।

शिवम् सिमेन्ट उद्योगले ७७ करोड ८८ लाख रुपैयाँ महसुल बुझाउन बाँकी रहेकाले लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रका प्रमुख शिवराज यादवले बताए । आज बिहान शिवमको लाइन काटिएको जानकारी दिए ।

प्राधिकरणले मङ्गलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको छ ।

जगदम्बाको १ अर्ब ६० करोड, रिलायन्सको ७५ करोड ३७ लाख, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ रहेको छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको थप महसुल बापतको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले तिहारको सार्वजनिक बिदामा पनि उद्योगको बक्यौता रकम तिर्न सक्ने गरी काउन्टरको व्यवस्था गरिएको बताए ।

प्रकाशित मितिः मङ्गलबार, ०४ कात्तिक २०८२
https://jawaaf.com/storage/01K82H5G6NR5AA1XWCYFH673A6.jpeg

सर्लाहीमा नेपाली सेनासहितको संयुक्त गस्ती

सर्लाही ।  सर्लाहीमा तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाली सेनासहितको संयुक्त गस्ती परिचालन गरिएको छ । प्रमुख दुई पर्वमा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना सम्मिलित संयुक्त टोलीले निगरानी बढाएको हो।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सदरमुकाम मलङ्गवा बजारसहित जिल्लाका विभिन्न स्थानमा संयुक्त गस्ती सुरु भइसकेको छ।

उनका अनुसार संवेदनशील तथा जोखिमयुक्त क्षेत्रमा नियमित निगरानीका साथै पैदल र सवारी गस्ती दुवै सञ्चालन गरिनेछ । प्रहरी, सशस्त्र र सेनाका तीनै सुरक्षा निकायका प्रमुखहरूको नेतृत्वमा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन भइरहेको श्रेष्ठले बताए । 

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले चाडपर्वको समय अन्य व्यक्ति, समुदाय र धर्ममा असर नपर्ने गरी शान्तिपूर्ण वातावरणमा पर्व मनाउन सबैलाई आग्रह समेत गरेका छन्।

प्रकाशित मितिः मङ्गलबार, ०४ कात्तिक २०८२
https://jawaaf.com/storage/01K82BX8GH62TN6J27M9Y4CZMA.jpg

विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिदै

काठमाडौं । इजरायल–हमास युद्धका क्रममा मृत्य भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिदै छ । जोशीको आज बिहान महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिने भएको हो । 

राष्ट्रिय सम्मानसहित जोशीको धार्मिक परम्परागतअनुसार अन्त्येष्टि गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)सागर बोहराले जानकारी दिए ।

विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्ने उनले जानकारी दिए । 

इजरायल–हमास युद्धका क्रममा जोशी गत २०२३ अक्टुबर ७ मा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । उनी अध्ययनको सिलसिलामा इजरायल पुगेका हुन् । 

इजरायलबाट सोमबार मात्र जोशीको शव नेपाल ल्याइएको थियो । नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका तीन जना इजरायली प्रतिनिधिको टोलीसहित जोशीको शव काठमाडौंबाट नेपाली सेनाले स्काई ट्रकमा धनगढी विमानस्थलमा सलामी अर्पण गरेर परिवारलाई बुझाएको थियो ।

प्रकाशित मितिः मङ्गलबार, ०४ कात्तिक २०८२
https://jawaaf.com/storage/01K82BBA5AGNFJTHXVDTVB1RHV.jpg

आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन तयारीका विषयमा राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने भएकी छिन् । छलफल मंगलबार अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा गरिदैछ । 

छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरुलाई बोलाइएको छ । 

सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गराउने घोषणा गरे पनि चुनावको वातावरण सिर्जना नभएको राजनीतिक दलहरु बताउदै आएका छन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको उपस्थितिमा दलहरुसँग छलफल गरेका थिए ।

प्रकाशित मितिः मङ्गलबार, ०४ कात्तिक २०८२
https://jawaaf.com/storage/01K829C8Q05ZF0S6AMQ1E6N85C.jpg

छिन्दु खोलामा’ बनेको पुलले स्थानीयको समस्या समाधान

बाजुरा । बाजुराको सर्वाधिक विकट हिमाली गाँउपालिका ३ गुम्बा गाउँ जाने बाटोमा पर्ने छिन्दु खोलामा बनेको झोलुङ्गे पुलले यहाँका स्थानीयको युगौं देखिको समस्या समाधान भएको छ। 

‘ज्यानमारा खोला’का रुपमा परिचित उक्त खोलामा लामो समयको अथक प्रयास पछि झोलुङ्गे पुल निर्माण गरिएको थियो। पुल निर्माण पश्चात् यहाँका स्थानीयको दैनिक आवतजावतमा हुने समस्या समाधान भएको हो।

छिन्दु खोलामा सहरी विकास मन्त्रालय अन्तर्गत, स्थानीय पूर्वाधार विकास आयोजना कैलालीले झोलुङ्गे पुल निर्माण गरेको थियो। १ करोड २८ लाख ९ हजार ९ सयमा ठेक्का गरेको र जगदम्बा, सुर्मासरोवर जेभीले ८४ लाख ७५ हजार १ रुपैयाँमा सम्झौता गरि निर्माण कार्य सम्पन्न गरेको थियो।

बाजुराको सर्वाधिक विकट मानिने गुम्बा गाउँ जाने बाटोको छिन्दु खोलाको पुल अहिले स्थानीयको लागी वरदान सावित बनेको छ । छिन्दु खोलामा पुल नहुँदा वर्षेनी मानिसहरु नदीमा बगेर वेपत्ता हुने गरेका थिए । अहिले पुल बनेपछि उक्त समस्या हल हुनुका साथै स्थानीयलाई वारपारमा सहज भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताए ।

उनका अनुसार गुम्बा गाँउ र लाम्पाटा गाउँमा भोटे जनजातिका करिब ३५ घरधुरी परिवार बसोवास गरिरहेका छन् । छिन्दु खोलामा १० वर्षमा ७ जना बगेर वेपत्ता भएका थिए भने कयौं भेडा, च्याङ्ग्रा, गोरु, भैंसी बगेका थिए। उक्त खोलामा पुल निर्माण नहुँदासम्म बर्षेनी ठुलो धनजनको क्षती हुँदै आएको थियो।

अहिले उक्त खोलामा १७० मिटर लम्बाईको झोलुङ्गे पुल निर्माण भई यहाँका जनता युगौं देखि भोग्दै आएको आवतजावतको समस्याबाट मुक्त भएका छन् । बाजुराका कयौं नदीनालाहरुमा झोलुङ्गे पुल नहुँदा बर्षेनी यहाँका स्थानीयले ज्यान जोखिममा राखेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ ।

प्रकाशित मितिः मङ्गलबार, ०४ कात्तिक २०८२