मङ्गलबार, ०९ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K7Y5WMSZ0VG2QKQE54ZBGG7V.jpeg

जेनजी पुस्ताको आवाज सुन्नुपर्छ : जसपा नेतृ दुर्गा गुरुङ

बराहक्षेत्र (सुनसरी) । जनता समाजवादी पार्टी  (जसपा) बराहक्षेत्र नगर समितिले बडादशैं, शुभ दीपावली, छठ तथा उधौली पर्वको अवसरमा नगर स्तरीय शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम आइतबार बराहक्षेत्र–६ चक्रघटीमा सम्पन्न भएको हो ।

कार्यक्रममा समाजवादी महिला संघ प्रदेश सदस्य दुर्गा गुरुङ, जिल्ला सदस्य सञ्जय राई, जिल्ला सदस्य गोपाल विश्वकर्मा लगायतका नेताहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला सदस्य गोपाल विश्वकर्माले जनता समाजवादी पार्टी उत्पीडित वर्ग र समुदायको पार्टी भएको उल्लेख गर्दै नेपालको बहुजातीय, बहुभाषिक र बहुधार्मिक संरचना अनुरूप राज्यले सबै नागरिकप्रति समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, प्रदेश सदस्य दुर्गा गुरुङले जसपाले स्थापना कालदेखि उठाएका मुद्दाहरू देश र जनताको हितका लागि अग्रगामी र व्यवहारिक रहेको बताउँदै, “हामी ती सिद्धान्तहरूमा अडिग छौं र देश तथा जनताको मुक्ति यात्रामा कहिल्यै विचलित हुनेछैनौं,” भन्नुभयो। उहाँले हालको जेन्जी पुस्ताले पनि यिनै मुद्दाहरूलाई निरन्तर उठाइरहेको भन्दै उनीहरूको आवाज सुन्न र माग सम्बोधन गर्न सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

Advt_Kausila.jpg 251.33 KB

जिल्ला सदस्य सञ्जय राईले पार्टीको स्थापना कालदेखि हालसम्मको संगठनात्मक अवस्था र पार्टीका मुख्य नीतिगत मुद्दाबारे जानकारी दिनुभयो। उहाँका अनुसार जसपाको मूल अवधारणा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्गका हुनुपर्ने, विशेषज्ञ र समावेशी मन्त्रिपरिषद् गठन, एक व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख नबन्ने व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, र स्थानीय तहमा स्वतन्त्र उम्मेदवारबाट निर्वाचन प्रणाली लागू गर्नुपर्ने हो ।

कार्यक्रमको अध्यक्षता पार्टी नगर अध्यक्ष जे.बी. हाङ राईले गर्नुभएको थियो भने सञ्चालन नगर सचिव भूपेन्द्र राजधामीले गर्नुभएको थियो। समापन भाषणमा अध्यक्ष राईले पार्टी सशक्त बनाउन तल्लो तह सुदृढ गर्नुपर्ने बताउँदै स्थानीय तहमा जिम्मेवार नेतृत्व र सक्रियता नै संगठनको बल भएको उल्लेख गर्नुभयो ।

त्यसैगरी उहाँले जेन्जी आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै देश र जनताको लागि बलिदान दिने सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो। साथै, हालैका बाढी, पहिरो र डुबानका कारण पीडित परिवारहरूलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई स्थानीय सरकारमार्फत पहल गर्न आग्रह गर्दै कार्यक्रम समापन गर्नुभयो ।

प्रकाशित मितिः आइतबार, ०२ कात्तिक २०८२
https://jawaaf.com/storage/01K7XXX4FF64QDE7TFFMTXQ0HD.jpg

डा. संगिता मिश्रा सहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ ।

आयोगका अनुसार म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा लागत अनुमान तयार गर्ने चरणदेखि नै मिलेमतो गरी ठेकेदार कम्पनीलाई लाभ पुग्ने गरी कार्य सम्पन्न गरिएको पाइएको छ । ठेक्का सम्झौताको शर्तअनुसार सम्पूर्ण सामाग्री नआइकनै झुट्टा तथा नक्कली बिल बिजक तयार गरी झुटो आधारमा १३ करोड ३७ लाख ८३ हजार रुपैयाँ भुक्तानी गरिएको आयोगले जनाएको छ ।

आर्थिक वर्ष २०७८÷७९ सालमा स्वास्थ्य सेवा विभागले गरेको म्यामोग्राफी मेसीन सम्बन्धी ठेक्कामा सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ विपरीत कार्य भएको देखिएको अख्तियारले जनाएको छ । ठेक्काको लागत अनुमान १२ करोड ७५ लाख रुपैयाँ स्वीकृत गरिएकोमा आपूर्तिकर्ता कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रा.लि. ले १२ करोड ५५ लाख रुपैयाँ प्रस्ताव राखेको थियो । जसले लागत अनुमानभन्दा केवल १.५७ प्रतिशत मात्र कम रहेको पाइएको छ ।

आयोगका अनुसार ठेक्का प्रक्रिया सुरु हुनुअघि नै आपूर्तिकर्ता कम्पनीसँग गोप्य विवरण साझा गरिएको र सम्पूर्ण खरिद प्रकृया मिलेमतोमै भएको प्रमाणित भएको छ । उत्पादन कम्पनी जनरल मेडिकल मेरटि इटली बाट पठाइएको सामानको वास्तविक मूल्य करिब ६ करोड ८५ लाख रुपैयाँ मात्र रहे पनि विभागले झण्डै १४ करोड १८ लाख मूल्यमा भुक्तानी गरेको पाइएको हो ।

आयोगको अनुसन्धानबाट दुई चरणमा मात्र सामान आएको, पहिलो चरणमा आएको सामान मात्र भएको र त्यसलाई सम्पूर्ण सामान आएको भनी झुट्टा प्रतिवेदन बनाएर भुक्तानी दिइएको प्रमाणित भएको छ ।

यस कार्यमा तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्र, व्यवस्थापन महाशाखाका निर्देशक डा. श्रवण कुमार थापा, आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र प्रसाद चौरसिया, निर्देशक डा. विवेक कुमार लाल, लेखा नियन्त्रक भुवन प्रसाद काफ्ले, कानून अधिकृत सिता घिमिरे, बायोमेडिकल इन्जिनियर आशिष चौहान र पध्मा मिश्र, लेखापाल तिलकराम ढकाल लगायत कर्मचारी र कम्पनीका संस्थापक सुन्दर भुसाल संलग्न रहेको आयोगले जनाएको छ ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) को देहाय (क), (ग), (ङ) र (ञ) बमोजिम मुद्दा दायर गरिएको छ । आयोगले कुल १४ करोड ६ लाख ८५ हजार ५०० रुपैयाँ बिगो असुलउपर गर्न माग गर्दै उनीहरूलाई कैद र जरिवानाको सजाय हुन मागदाबीसहित आरोपपत्र विशेष अदालतमा दायर गरेको जनाएको छ ।

प्रकाशित मितिः आइतबार, ०२ कात्तिक २०८२
https://jawaaf.com/storage/01K7XWNGEFD29W5EWZJZ5Y66JG.jpg

दल दर्ता गर्न आएका हर्क साङपाङ भन्छन् : श्रम गर्ने मान्छेलाई माटोसँग जोड्छु

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गरेका छन् । ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि आयोगमा निवेदन पेश गरेका साङपाङले आइतबार आयोगमा पुगी दल दर्ता प्रक्रियाका लागि सनाखत गरेका हुन् । 

दर्ता प्रक्रियाका लागि सनाखत गरेपश्चात पत्रकारहरुसँग कुरा गर्दै उनले श्रम संस्कृति पार्टी र माटो चुनाव चिन्ह राखी मान्छेलाई माटोसँग जोड्ने बताए । 

उनले भने, ‘अध्यक्ष भन्दा हुन्छ, श्रम संस्कृति पार्टी हो । चुनाव चिन्ह हामीले ‘माटो’ राखेका छौं । माटो चुनाव चिन्ह, श्रम संस्कृति पार्टी । श्रम किन गर्ने भने श्रम गरेर म मान्छेलाई माटोसँग जोड्छु । माटो भनेको देश हो । हामी देशसँग जोडिएकै छैनौ । देशको नागरिकता लिन मात्र देशसँग जोडिएको प्रमाण होइन । देशको माया लाग्नु पर्यो नि त ।’

उनले देश निर्माण गर्ने सवालमा सबैसँग वार्ता गर्ने भन्दै देशभक्तहरु ध्रुविकरण भएर जाने बताए । 

‘वार्ता नगर्ने भन्ने होइन । सबैसँग वार्ता हुन्छ । देश बनाउने सवालमा कन्जुसाई हुनुपर्छ भन्ने छैन । यो देश रहनु पर्छ । नेपाल रहे हामी रहन्छौ,’उनले भने, ‘राष्ट्रवादी शक्तिहरु भनौ देशलाई माया गर्ने देशभक्तहरु र देश घाडो भयो भन्ने मान्छेहरु पनि छन् । तर ध्रुविकरण भएर जान्छ ।’

यस्तै निर्वाचन आयोग पुगेका युवराज सफलले सरकारले भने अनुरुप चुनाव नहुँने भन्दै नेपालको संविधान परिपालना गराउन संसद प्रस्ताव ल्याउने तयारी रहेको बताए । 

‘यो चुनावै हुँदैन । विहे गर्ने कहिले थाहा छैन, रत्यौली अहिले नाचेर हुन्छ ?त्यसैले यो चुनाव हुँदैन । जेनजीहरुका माग दुई वटा थियो । एउटा सामाजिक सञ्जाल माथिको प्रतिवन्ध हटाउन र अर्को भष्ट्राचार र भष्ट्राचारीलाई कारबारी गर्ने हो यसका विषयमा म तयार छु । तर पानी बाँड्ने, गाँजा तान्ने, कोही लिडर हुँ भन्ने अनी भित्र लुकेर आफ्नो व्यवसाय गर्दै थिए भन्ने फटाहाहरुलाई सहन सकिदैन,’उनले भने । 

प्रकाशित मितिः आइतबार, ०२ कात्तिक २०८२
https://jawaaf.com/storage/01K7XJ9F71K15QGBNKMEWJVMRC.jpg

डेडिकेटेड ट्रंक लाइन बक्यौता विवादः प्राधिकरणले दिएको समय आज सकिँदै

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम बुझाउन नेपाल विद्युत प्राधिकरणले दिएको पछिल्लो समय आज सकिँदै छ । उद्योगीहरुलाई प्राधिकरणले दिएको किस्ताबन्दी सुविधा अनुसार आज बेलुका सम्म पनि किस्ता बुझाउन नगए प्राधिकरणले उद्योहरुमा लाइन काट्ने सम्मको चेतावनी दिएको छ ।

बक्यौता तिर्न चाहने उद्योगीहरुका लागि प्राधिकरणले २८ महीनाको किस्ताबन्दी सुविधा दिएको छ । यसअघि १२ असोजमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले प्रशासकीय पुनरवलोकनसँग सम्बद्ध सम्पूर्ण कामकारबाही खारेज गर्दै १७ कात्तिकभित्र बक्यौता भुक्तानी गर्न सूचना जारी गरेको थियो ।

तर, प्राधिकरणले फेरि १३ असोजमा अघिल्लो सूचना सच्याउँदै २ कात्तिकभित्र बक्यौता बुझाउन सूचना जारी गरेको थियो । सोहि सुचना अनुसार उद्योगीहरुले बक्यौता तिर्ने समय आज सकिन लागेको हो । यद्यपी, हाल सम्म ९ वटा उद्योगले मात्र किस्ता बुझाएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार हाल सम्म हामा आइरन एण्ड स्टीलले पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ प्राधिकरणलाई बुझाएको छ । लक्ष्मी स्टीलले ८४ लाख ९८ हजार, सर्वोत्तम सिमेन्टले ४० लाख, हुलास स्टीलले ५० लाख ४३ हजार र अशोक स्टीलले ६३ लाख रुपैयाँ बुझाएको छ ।

त्यसैगरी, रोल्पा सिमेन्टले पाँच किस्ता बराबरको १७ लाख ७० हजार रुपैयाँ एकै पटक बुझाएको छ । सम्राट सिमेन्टले तीन किस्ता बापतको ४० लाख ४७ हजार, नवनेपाल पलाष्टिक उद्योगले १ लाख २३ हजार र शुभश्री अग्नी सिमेन्टले ३ लाख ५५ हजार रुपैयाँ किस्ता तिरेको छ । यी उद्योगबाट कुल ३ करोड २२ लाख रुपैयाँ बक्यौताबापतको रकम उठेको उनले बताए ।

केहि उद्योगीहरुले किस्ता बुझाएपनि केहि उद्योगीहरुले भने समस्या समाधान गरिदिन भन्दै शुक्रबार प्रधानमन्त्री सुशिला र्काीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन् ।

प्रकाशित मितिः आइतबार, ०२ कात्तिक २०८२
https://jawaaf.com/storage/01K7XH8AY6TFMCAV5F67TEPGPW.jpg

सप्तरीमा अज्ञात समूहद्वारा पुजारीको गोली हानी हत्या

सर्लाही । सप्तरीको बोदेबर्साइन नगरपालिका – ८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ। शनिबार राति ७० वर्षीय राम दुलार साहलाई अज्ञात समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी डम्बर पुरीले जानकारी दिए।

प्रहरीका अनुसार साह राति आफ्नै कुटी अगाडि बाटोमा पिसाब गरिरहेका बेला पछाडिबाट दुई गोली प्रहार गरिएको थियो। गोली नाभी नजिकै ढाडतर्फ लाग्दा उनको तत्कालै मृत्यु भएको हो।

घटना सार्वजनिक भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा पुगेको टोलीले घटनास्थल सुरक्षित गर्दै अनुसन्धान थालेको छ। घटनास्थलबाट दुई वटा गोलीका खोका बरामद भएको प्रहरीले जनाएको छ।

गोली प्रहार गर्ने व्यक्ति फरार रहेको र खोजीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी तथा इलाका प्रहरी कार्यालय कडरवोनाबाट टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

प्रकाशित मितिः आइतबार, ०२ कात्तिक २०८२
https://jawaaf.com/storage/01K7X3PAW69TVME9V004P1KRGZ.jpg

यस्तो रहनेछ, तिहारभरको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालीहरुको दोस्रो महान चाड तिहारमा मौसम सामान्य रहने छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भूभागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उल्लेखनीय रूपमा मौसम प्रणालीको प्रभाव नपरे पनि पश्चिमी वायुका कारण पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने महाशाखाले जनाएको छ ।

तिहारको समयमा पहाडी भूभागका एकदुई स्थानमा फाट्टफुट्ट वर्षा हुने र उच्च हिमाली भूभागमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोली सोमबार लक्ष्मीपूजाका दिन देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा फाट्टफुट्ट वर्षाको सम्भावना छ ।

यस्तै, कात्तिक ४ गते देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा फाट्टफुट्ट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै कात्तिक ५ गते देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

कात्तिक ६ गते भाइटीकाका दिन कोशी र मधेस प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । सबै प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मितिः आइतबार, ०२ कात्तिक २०८२
https://jawaaf.com/storage/01K7X2QZNC71PDVY1QBW3B61WW.jpg

आज तिहारको पहिलो दिन : काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँच दिने तिहार पर्व आज काग तिहारसँगै सुरु भएको हो। 

बिहान सूर्योदयको समयमा त्रयोदशी तिथि परेकोले आज आइतबार शास्त्रसम्मत रूपमा काग तिहार पर्व मनाइँदै छ।

कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रूपमा लिइन्छ । धर्मशास्त्रहरू अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ । 

आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिले पनि रहेको छ । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरूलाई बिर्सिएर कागको पूजा गरिन्छ ।

आजको दिन कागलाई पूजाआजा नगरेर खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागतिहारमा कागलाई घर आँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । 

आज कागतिहारकै दिन समुद्र मन्थनका बेला उत्पत्ति भएका आयुर्वेदका प्रवर्तकधन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरि दिवस पनि मनाइन्छ । आज यमदिप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास छ । यमदिप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।

प्रकाशित मितिः आइतबार, ०२ कात्तिक २०८२
https://jawaaf.com/storage/01K7VY14SF8B9QQ0TJCTASMGPF.jpeg

मृतक चन्द्रमाया राईको परिवारलाई आर्थिक सहयोग

भोजपुर, हतुवागढी ।

गत असोज २० गते आफ्नै माइती घरबाट फर्किने क्रममा पोक्पुवा खोलाले बगाएर निधन भएकी भोजपुर हतुवागढी गाउँपालिका–३ सिन्द्राङकी चन्द्रमाया राईको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

मृतकको परिवार आर्थिक रूपमा कमजोर अवस्थामा रहेको र यस दुःखद घडीमा परिवारलाई केही सहारा तथा सान्त्वना मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको हो ।

उक्त सहयोग हतुवागढी–८ खुक्लास्थित साङ्केन्मा सांस्कृतिक समूहद्वारा संकलन गरिएको हो। समूहले चौबीस हजार तीन सय असी रुपैयाँ मृतकका श्रीमान् गोरेबहादुर राई र छोरा समक्ष हस्तान्तरण गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रम हतुवागढी–३ का वडा अध्यक्ष राजकुमार राईको उपस्थितिमा सम्पन्न भएको थियो। वडा अध्यक्ष राईले यस दुःखद घटनाले सम्पूर्ण गाउँलेलाई स्तब्ध बनाएको बताउँदै, मृतकप्रति श्रद्धाञ्जली अर्पण गरे र परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे ।

गत असोज २० गते, चन्द्रमाया राई माइतीघरबाट फर्किने क्रममा खुकैला र सिन्द्राङ्गको बीचमा रहेको पोप्खुवा खोलाले बगाएर ज्यान गुमाएकी थिइन्। उक्त घटनाले गाउँमा शोकछाएको थियो ।

साङ्केन्मा सांस्कृतिक समूहका तर्फबाट समूहका प्रतिनिधिहरूले भने, “सामाजिक उत्तरदायित्व अन्तर्गत विपद्का बेलामा एक आपसमा सहकार्य गर्नु हामी सबैको कर्तव्य हो।” समूहले भविष्यमा पनि यस्ता दुःखद घडीमा सहयोग गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मितिः शनिबार, ०१ कात्तिक २०८२
https://jawaaf.com/storage/01K7VH1MAP6VMMR90D1QZHKF97.jpeg

स्थानीयको चन्दा र श्रमदानबाट प्रहरी भवन पुनःनिर्माण

रौतहट । रौतहटमा जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी कार्यालय भवन पुनःनिर्माण गरि हस्तान्तरण गरिएको छ ।

गत भदौ २४ गते आन्दोलनका क्रममा जेनजीहरुले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भवनमा आगजनी गरेका थिए ।

भवनमा आगजनी पछि बस्न अयोग्य भएपछी स्थानीयवासीहरूले चन्दा र श्रमदानबाट भवन पुनःनिर्माण थालेको करिब दुई महिनापछि हस्तान्तरण गरिएको हो ।

उक्त भवन शनिबार प्रहरीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जलेको भवनको पुनःनिर्माण गरी प्रहरीलाई बस्न र प्रशासनिक एवम अनुसन्धानमा सहज पुर्याएकोमा भवन निर्माणका अभियन्ताप्रति अभार व्यक्त गरेकी छिन ।

भवन पुनःनिर्माणका लागि स्थानीयवासीहरूले नगद, जिन्सी सामग्री र श्रमदानमार्फत सहयोग गरेका हुन् । भवन निर्माणमा चासो राख्ने र अभियान चलाउने शिवराम राउत, बलराम भण्डारी, तेजबिक्रम कार्कीको भूमिका महत्त्वपूर्ण रहेको नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष सञ्जय कार्कीले बताए ।

चन्द्रनिगाहपुरका युवाहरूको पहलमा बजारमा रहेको अस्थायी प्रहरी पोष्ट पुनःनिर्माण गरिएको छ । प्रहरी भवन निर्माणमा सहयोग गर्ने चन्दादाताहरुको दान समेत सुनाइएको थियो ।

प्रकाशित मितिः शनिबार, ०१ कात्तिक २०८२
https://jawaaf.com/storage/01K7TXAQWVSRGFYNA2AKD3M4ZM.jpeg

क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले नगर विकास कोषलाई निष्क्रिय नराखी त्यसको क्षेत्राधिकार विस्तार गरी थप प्रभावकारी बनाइने बताएका छन् ।
शहरी विकास मन्त्रालयअन्तर्गत रहेको नगर विकास कोषका कामकारबाहीको जानकारी लिंदै मन्त्री घिसिङले उक्त कोषलाई प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याउँदै, इ–मोबिलिटी, विद्युतीय सार्वजनिक यातायात र चार्जिङ स्टेसनजस्ता नयाँ क्षेत्रहरूमा लगानी विस्तार गर्न सुझाव दिएका छन् ।
उनले नगरपालिकासँगको साझेदारीमा फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजनाहरूमा कोषले लगानी गर्न सक्ने सम्भावनाबारे अध्ययन गर्न निर्देशन दिएका छन् ।
मन्त्री घिसिङले भने,‘यस्ता परियोजनाले एकैसाथ फोहोरमैला व्यवस्थापन र ऊर्जा उत्पादन दुबै गर्न सक्ने भएकाले ती लगानीका लागि आशाजनक क्षेत्र बन्न सक्छन् ।’
मन्त्रीले कोषले लगानी गर्न पाउने क्षेत्राधिकार अझ विस्तार गर्न आवश्यक कानूनी व्यवस्थाहरूमा परिमार्जन गर्ने तयारी भइरहेको पनि जानकारी दिए । त्यसक्रममा उनले नगर विकास कोष हाल हरित जलवायु कोषबाट मान्यता प्राप्त गर्ने प्रक्रियामा रहेको र मान्यता प्राप्त भएपछि हरित उर्जा परियोजनामा ठूलो मात्रामा अनुदान र सहुलियतपूर्ण लगानी गर्न सक्ने विश्वास व्यक्त गरे ।
कोषका कार्यकारी निर्देशक विनोद प्रकाश पण्डितका अनुसार नगर विकास कोषको स्वःपूँजी ७ अर्ब रुपैयाँ रहेको छ । साथै, एशियाली विकास बैंकमार्फत ५ अर्ब १९ करोड रुपैयाँ, विश्व बैंकबाट १२ करोड रुपैयाँ र नेपाल सरकारबाट २ अर्ब रुपैयाँ ऋणको रूपमा प्राप्त भएको उनले जानकारी दिए ।
हालसम्म कोषले १६ अर्ब रुपैयाँ बराबरको ऋण प्रवाह गरेको छ । कोषले देशभरका शहरी पूर्वाधार आयोजनाहरूमा वित्तीय (ऋण वा अनुदान) र प्राविधिक सहयोग प्रदान गर्दै आएको छ ।
बसपार्क, खानेपानी, जग्गा विकास, बहुउद्देश्यीय भवन निर्माण लगायतका क्षेत्रमा कोषले लगानी गर्दै आएको उल्लेख गर्दै पण्डितले हाल जेनजी आन्दोलनका कारण क्षति भएका नगर भवनहरूको पुनर्निर्माणमा पनि कोषलाई परिचालन गर्न सकिने अवधारणा अघि सारिएको बताए ।
मन्त्री घिसिङले अन्त्यमा भने, ‘नगर विकास कोषलाई दिगो, उत्पादनमुखी र प्रतिफलदायी लगानीको माध्यमका रूपमा रूपान्तरण गरेर देशको शहरी विकासलाई नयाँ गति दिनुपर्छ ।’

प्रकाशित मितिः शनिबार, ०१ कात्तिक २०८२