विद्युत् माग र आपूर्ति व्यवस्थापनको लागी नेपाल विद्युत् प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको अनुगमन
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाका साथै, तिहारका विशेष दिनहरूमा विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएका छन् ।
सोमवार साँझ नेपाल विद्युत् प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको भ्रमणमा ऊर्जा,जलस्रोत मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिवहरू, विद्युत् विकास विभागका महानिर्देशक, प्राधिकरणका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशहरूलगायत टोलीले विद्युत् आपूर्तिको अवस्थाका बारेमा जानकारी लिएको थिए ।
विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मूलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल हुने मन्त्री घिसिङले बताएका थिए ।
प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत् गृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।
२०७३ सालको भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङ नेतृत्वको टोलीले विद्युत् माग र आपूर्तिको व्यवस्थापन गरी सोही वर्षको लक्ष्मीपूजाको दिनबाट परीक्षणका रूपमा काठमाडौँ उपत्यकाबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेको थियो ।
विपिन जोशीको शब नेपाल ल्याइयो, गृहजिल्लामै अन्तिम संस्कार गरिने
काठमाडौं । इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएपछि मारिएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर काठमाडौं ल्याइएको छ ।
हमास समूहद्वारा बन्धक बनाइएपछि मारिएका विपिन जोशीको शरीर सोमबार काठमाडौं ल्याइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशिला कार्की लगायत उच्च पदस्थ अधिकारीहरूले राष्ट्रिय झण्डाले ढाकिएको उनको शवमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्न प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए ।
१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि
काठमाडौं । सन् १९५३ को ऐतिहासिक सगरमाथा आरोहण दलका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ । उनको राजकीय सम्मानसहित आज काठमाडौंमा अन्त्येष्टि गरिएको हो ।
कान्छा शेर्पा सगरमाथाको पहिलो सफल आरोहण दलका प्रमुख सदस्य सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पासँगै पर्वतारोहण यात्रामा सहभागी थिए । उनले जीवनका अन्तिम दिनहरू आफ्नो पुख्र्यौली घर नाम्चे बजारमा बिताएका थिए ।
नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर ग्याल्जे शेर्पाले भने, “कान्छा शेर्पा विश्वप्रसिद्ध आरोही थिए । उनी सगरमाथाको पहिलो आरोहण दलका अन्तिम जीवित सदस्य थिए । उनी हाम्रो सम्पूर्ण पर्वतारोहण समुदायका लागि मार्गदर्शक थिए । उनकै योगदानले नेपालको पर्वतारोहण र पर्यटन उद्योगले विश्वव्यापी ख्याति प्राप्त ग¥यो ।”
सन् १९३२ मा नाम्चे बजारमा जन्मिएका शेर्पा १९ वर्षको उमेरमा कामको खोजीमा घरबाट दार्जिलिङ पुगेका थिए । त्यहाँ उनको भेट तेन्जिङ नोर्गे शेर्पासँग भयो, जसले उनलाई सन् १९५३ को सर एडमण्ड हिलारीको एभरेस्ट अभियानमा सहभागी हुन सहयोग गरे । अभियानमा उनले दैनिक पाँच रुपैयाँ पारिश्रमिक पाउँथे । एएनआई
बक्यौता तिर्न नआउने उद्योगमा जतिबेला पनि लाइन काटिन सक्छ : प्राधिकरण
काठमाडौं । डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत विद्युत उपभोग गरेका र बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा नेपाल विद्युत प्राधिकरणले जतिबेला पनि लाइन काट्न सक्ने जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बक्यौता बापतको किस्ता तिर्न नआउने उद्योगहरुमा जुनसुकै बेलामा पनि लाइन काट्न सक्ने बताएका हुन् । उनका अनुसार हाल सम्म १३ वटा उद्योगले किस्ता बुझाएका छन् ।
‘कसैले एक किस्ताको रकम बुझाएका छन भने कसैले ५ किस्ता सम्मको रकम एकै पटक बुझाएका छन् । अझैं २५ उद्योग किस्ता बुझाउन आएका छैनन् । ती उद्योगहरुमा कतिबेला लाइन काट्ने भनेर तय भएको छैन् तर यो तिहार भित्र जतिबेला पनि काटिन सक्छ,’ उनले भने ।
बक्यौता तिर्न चाहने उद्योगीहरुका लागि प्राधिकरणले २८ महीनाको किस्ताबन्दी सुविधा दिएको छ । यो सुविधा प्रयोग गरेर शुक्रबार समम सम्म हामा आइरन एण्ड स्टीलले पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ प्राधिकरणलाई बुझाएको छ । लक्ष्मी स्टीलले ८४ लाख ९८ हजार, सर्वोत्तम सिमेन्टले ४० लाख, हुलास स्टीलले ५० लाख ४३ हजार र अशोक स्टीलले ६३ लाख रुपैयाँ बुझाएको छ ।
त्यसैगरी, रोल्पा सिमेन्टले पाँच किस्ता बराबरको १७ लाख ७० हजार रुपैयाँ एकै पटक बुझाएको छ । सम्राट सिमेन्टले तीन किस्ता बापतको ४० लाख ४७ हजार, नवनेपाल पलाष्टिक उद्योगले १ लाख २३ हजार र शुभश्री अग्नी सिमेन्टले ३ लाख ५५ हजार रुपैयाँ किस्ता तिरेको छ ।
आईतबार थप ४ वटा उद्योगले किस्ता तिरेका छन् । तर, ती उद्योगहरुले आफ्नो नाम सावर्जनिक नर्गु भनेकाले सावर्जनिक नगरिएको सिलवालले बताए ।
पूर्वमन्त्री दीपक खड्काको प्रश्न : ‘म देश छोडेर किन भाग्ने ?’
काठमाडौं । पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले केही मिडियामा आफूमाथि आएको समाचारप्रति कडा आपत्ति जनाएका छन् । सोमबार उनले काठमाडौंको बुढानिलकण्ठस्थित आफ्नै जलेकै घरमा पत्रकार सम्मेलन गरी सञ्चार माध्यमहरूले गृहमन्त्रीको कोडमा आफू विदेश भागेको भनी गलत र भ्रामक सूचना सम्प्रेषण गरेको बताए ।
खड्काले सो समाचारप्रति दुख व्यक्त गर्दै भने, ‘सरकार परिवर्तन हुँदा सरकारको जिम्मेवारी के हो त ? हजारौंको संख्यामा जेनजी आन्दोलनका क्रममा मानिसहरू भागेका छन् । तर म किन देश छोडेर भाग्छु?’ उनले थपे, ङपत्रकारिता समाजलाई शुसूचित गर्ने क्षेत्र हो । तर केही मिडियाको रिपोर्ट हेर्दा मलाई दया लाग्यो । म पनि यो देशको नागरिक हुँ, दलाल वा एजेन्ट हैन ।’
पूर्वमन्त्री खड्काको घर जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीमा परेर पूर्णरूपमा जलेको थियो । उनले सो घटनालाई दुःखद भन्दै त्यही दिन देशभर एकैचोटि तीन घण्टाभित्र मुलुकलाई अस्थिर बनाउने उद्देश्यले अभियान चलाइएको आरोपसमेत लगाए ।
‘यो सबै अचम्मलाग्दो र दुखदायी कुरा हो,’ उनले भने, ‘मेरो पछाडि यसरी मानिस लाग्दा सिंगो समाज भ्रमित भएको छ ।’
खड्काले राजनीतिक परिवर्तन र आन्दोलनको नाममा देशलाई अस्थिरता र भ्रमको दलदलमा धकेल्ने प्रयास भइरहेको बताए । उनले सत्य सूचना सम्प्रेषण गर्न मिडियासमक्ष आग्रह गरे ।
सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा
सर्लाही । सशस्त्र प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका – ९, रवि चोक नजिकबाट शंकास्पद विलविजकसहित नास्पाती बोकेका दुई ट्रक नियन्त्रणमा लिएको छ ।
शनिबार सशस्त्र प्रहरी बल नेपालको विशेष अनुगमन टोलीले म.प्र.०३.००२ ख ३६४१ र प्र.१.०१.००१ ख ४४०१ नम्बरका ट्रकमा लोड गरिएको करिब ३२ लाख ८९ हजार रुपैयाँ बराबरको नास्पाती बरामद गरेको हो ।
प्रहरीका अनुसार उक्त नास्पाती भारततर्फ लैजाने तयारीमा रहेको सूचनाका आधारमा निगरानी बढाइएपछि ट्रकहरू पक्राउ गरिएको हो । विलविजक (बिल तथा विजक) शंकास्पद देखिएपछि चालक देव श्रेष्ठ र भिम बहादुर उप्रेतीलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।
पक्राउ परेका व्यक्ति, नास्पाती र ट्रकसहितको सम्पूर्ण सामग्री थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद दुई ट्रक र नास्पातीसहित वस्तुको कुल भन्सार मूल्य करिब ८२ लाख ८९ हजार रुपैयाँ निर्धारण गरिएको बताइएको छ ।
विपिन जोशीको शव आज नेपाल ल्याइँदै
काठमाडौं । नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायलबाट नेपाल ल्याइँदैछ । इजरेली सेनाका अनुसार हमास समूहले बन्धक बनाएकै अवस्थामा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज दिउँसो नेपाल आउँदैछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ बजेपछि शव आइपुग्ने अपेक्षा गरिएको छ ।
काठमाडौंबाट नेपाली सेनाको संयोजनमा विपिनको शव उनको घरसम्म पु¥याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
तिहारको तेस्रो दिन : आज लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै
काठमाडौं । तिहारको तेस्रो दिन आज लक्ष्मीपूजासँगै कुकुर तिहार पनि परेको छ । ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ ।
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।
आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाई गरी दीपावली गरिन्छ ।
लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ ।
लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ ।
पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।
लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतिक मानी पूजा गरी दक्षिणा दिने प्रचलन छ। आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।
यस वर्ष तिथिको घटबढका कारण कुकर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । आज नै घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार पनि मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिन्छ ।
वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।
तिहारको चटारोसँगै जुम्ली मार्सी धान भित्र्याउन किसान व्यस्त
जुम्ला । तिहारको चटारोसँगै अहिले जुम्लाका किसानहरू जुम्ली मार्सी धान काट्न र थन्क्याउन भ्याइनभ्याइ छन् । विश्वकै अग्लो स्थान छुमचौरदेखि जुम्लाका आठवटै स्थानीय तहअन्तर्गतका खेतका लटरम्म फैलिएका फाँटहरूमा प्रख्यात जुम्ली काली मार्सी धान उत्पादन हुने गर्छ । अहिले धान पाक्ने सिजन भएकाले किसानहरू बिहानदेखि साँझसम्म खेतमै व्यस्त देखिन्छन् ।
तर पछिल्ला वर्षहरूमा जुम्ली काली मार्सी धानको उत्पादन घट्दै गएको किसानहरूको गुनासो छ । तापक्रम वृद्धिका कारण अघिल्ला वर्षहरूभन्दा यसपालि धान छिट्टै पाकेपछि किसानहरूले कटान र भित्र्याउने काम अगाडि सारेका छन् । तथ्यांक अनुसार, जुम्ला जिल्लाभर करिब २ हजार ९ सय ५० हेक्टर जमिनमा धानखेती हुने गर्छ । त्यसमध्ये हाल करिब ६ हजार ३ सय ७७ मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र जुम्लाले जनाएको छ ।
काँग्रेस धनुषाका सभापति पञ्जियारसहित ७ जना विरुद्ध पक्राउ पूर्जी जारी
जनकपुर । नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । धनुषा जिल्ला अदालतले ज्यानमार्ने उद्योग मुद्दामा संलग्न पञ्जियारसहित सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
अदालतबाट असोज ३१ गते जिल्ला सभापति योगेन्द्र पञ्जियार र उनका छोरासहित ७ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने सुशील कुमार चौधरीको जाहेरीका आधारमा क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने ६२ वर्षका पञ्जियार, उनका छोरा ३५ वर्षीय अमर पञ्जियार, ६० वर्षीय जिवछ मण्डल, मण्डलका छोरा ३८ वर्षीय कमल मण्डल धानुक, अर्का छोरा ४० वर्षीय नवल मण्डल, नवलका छोरा २२ वर्षीय निरज मण्डल र क्षिरेश्वरनाथ १ रमदैया बस्ने ३८ वर्षीय उमेश यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
केही महिनाअघि नालाको विषयमा विवाद भएपछि कुटपिट भएको घटनामा पीडितले प्रहरीमा जाहेरी दिएपछि गत शुक्रबार अदालतबाट आरोपी सातै जना विरुद्ध पक्राउ पूर्जी जारी भएको जिल्ला अदालत धनुषाले जनाएको छ ।