जनकपुरमाथि कर्णालीको रोमाञ्चक जित, अंकतालिकाको पुछारमा रह्यो जनकपुर
काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको लिग चरणअन्तर्गत अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई हराएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा आइतबार भएको खेलमा कर्णालीले जनकपुरलाई ३ रनले हराएको हो ।
कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुर पूरा ओभर खेल्दै ७ विकेट गुमाउँदै १२६ रनमा रोकियो ।
२९ रन जोड्दा ४ विकेट गुमाएको जनकपुरलाई संजय कृष्णमूर्तिले अर्धशतक पारी खेले । उनले ३९ बलमा १ चौका र ४ छक्कासहित ५१ रन जोडे ।
ओपनर माज सदाकतले १२ रन बनाउँदा अर्का ओपनर आसिफ शेख र अनिल साह डकआउट हुन पुगे । मयन यादवले ९ रन बनाउँदा जान निकोल लोफ्टी–इटनले रन जोडे । तर, अन्तिम ओभरमा १४ रन बनाउन नसक्दा जनकपुरले जित हासिल गर्न सकेन ।
कर्णालीका लागि विलियम बोसिस्टोले दुई विकेट लिँदा मार्क वाट, पवन सर्राफ र कप्तान सोमपाल कामीले एक–एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ थालेको कर्णालीले पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १२९ रन बनाएको थियो ।
कर्णालीका लागि ओपनर इमरान शेखले ३३ रन बनाउँदा गुल्शन झाको नाममा १९ रन रह्यो ।
अर्का ओपनर मार्क वाट ४ रनमै आउट हुँदा प्रियाङ्क पान्चालले १६ रन जोडे । विलियक बोसिस्टोले १५ रन बनाउँदा नजिबुल्लाह जद्रान १३ रनमा आउट भए । कप्तान सोमपाल कामीले १८ रन जोडे ।
जनकपुरका लागि ललित राजवंशी र आदित्य महताले दुई–दुई विकेट लिँदा अनिल साह, माज सदाकत र संगिथ कुरेले एक–एक विकेट लिए ।
यससँगै पहिलो सिजनको विजेता रहेको जनकपुरले अंक तालिकाको पुछारमा रहँदै सिजनको अन्त्य गरेको छ ।
एनपीएल :लिग चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ । लिग चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा आइतबार अपराह्न ३ः३० बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्ने भएका हुन् ।
छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् भने आज प्रतिष्ठाका लागि मात्र खेल्दैछन्।
कर्णालीका कप्तान सोमपाल कामी हुन् भने जनकपुरका आशिफ शेख छन् । जनकपुरले अधिकांश खेलमा कप्तान परिवर्तन गर्दै आएको छ ।
प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट भएका छन् भने काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा खेल्दैछन् ।
एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् ।
चितवन राईनोजमाथि पोखरा एभेन्जर्सको जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राईनोजमामथि शानदार जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राईनोजमाथि ८ विकेटले जित हासिल गरेको हो ।
चितवनले टस जितेर पहिलो ब्याटिङ गरी ६ विकेट गुमाउदै १२१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पक्ष्याएको पोखराले दुई बल बाँकी छदै १९.४ ओभरको खेलमा २ विकेट गुमाएर १२१ रनको लक्ष्य पुरा गरेको हो ।
आजको खेलमा पोखराको जितको लागि एडम वासिंटनले सर्वाधिक ६५ रन बनाए भने उनले ४८ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । यस्तै, अर्जुन ४३ रनमा अविजित रहे भने कप्तान कुशल भुर्तेल ४ रनमा आउट भए । जेशन रोय ६ रनमा अविजित रहे । बलिङमा चितवनका सैफ जैइव र रिजन ढकालले एकएक विकेट लिए ।
यसैगरी चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए भने अल्पेश रामजानी ३३, डेविड मलान ५, अर्जुन साउद १, रवि बोपारा १, सैफ जैइव १७, कप्तान कुशल मल्ल २३ रनमा आउट भए । कमलसिंह ऐरी २ रनमा अविजित रहे । बलिङमा पोखराका धनन्जय लक्षनले सर्वाधिक ३ विकेट लिए । विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एकएक विकेट लिए ।
चितवन राईनोजको कप्तानमा कुशल मल्ल रहेका छन् भने पोखरा एभेन्जर्सको कप्तानमा कुशल भुर्तेल रहेका छन् ।
चितवन राईनोज र पोखरा एभेन्जर्स दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन् । ६ खेलमा २ मा जित र ४ मा हारसहित चितवन तालिकाको छैठौँ र ६ खेलमा ४ खेल हारेको पोखरा २ अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।
पोखरा र चितवनसहित कर्णाली र जनकपुर पनि प्लेअफ समिकरणबाट बाहिरिएका टोली हुन् ।
एनपीएलमा आज दुई खेल हुँदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार समूह चरणका दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो खेल सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिच बिहान ११ बजे हुनेछ ।
यी दुवै टोली प्लेअफमा पुगिसकेका छन् । लगातार ६ खेल जितेको सुदूरपश्चिम १२ अंकसहित तालिकाको शिर्ष स्थानमा छ । सुदूरपश्चिम एनपीएल क्रिकेटको दोस्रो संस्करणमा एक मात्र अपराजित टोली हो ।
यस्तै ६ खेलमा विराटनगरको ४ मा जित र २ खेलमा हार रहेको छ । विराटनगर ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । तालिकाको दोस्रो स्थानमा १० अंकसहित काठमान्डु गोर्खाज रहेको छ ।
यस्तै दोस्रो खेलमा चितवन राईनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । उक्त खेल दिउँसो ३ः३० सुरु हुनेछ ।
चितवन राईनोज र पोखरा एभेन्जर्स दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन् । ६ खेलमा २ मा जीत र ४ मा हारसहित चितवन तालिकाको छैठौँ र ६ खेलमा ४ खेल हारेको पोखरा २ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । पोखरा र चितवनसहित कर्णाली र जनकपुर पनि प्लेअफ समिकरणबाट बाहिरिएका टोली हुन् ।
एनपीएल : आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार एउटा मात्र खेल हुँदैछ ।
आज त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सले अपराह्न ४ बजे प्रतिस्पर्धा गर्नेछन् ।
तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी र पुछारमा रहेको जनकपुर दुवै टिम प्लेअफको दौडमा छन् । लुम्बिनी ६ खेल खेल्दा ६ अंकसहित तालिकाको चौथो स्थानमा छ भने पाँच खेल मात्र खेलेको जनकपुरले दुई अंक मात्र जोडेको छ ।
आजको खेल जितेमा लुम्बिनी प्लेअफ पुग्ने अन्तिम टिम बन्नेछ । जनकपुर विजयी भएमा यो निर्णयका लागि अन्य खेल र रनरेट हेर्नुपर्ने हुन्छ ।
एनपीएल : काठमाडौँ गोर्खाज १३ रनले विजयी, प्लेअफमा प्रवेश
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत आजको खेलमा काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गरेको छ ।
बिहीबार टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौँले दिएको १६६ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले २० ओभरमा १५२ रन मात्र बनाउन सकेपछि काठमाडौँले जित दर्ता गरेको हो ।
यस जितसँगै काठमाडौँ गोर्खाज प्लेअफमा प्रवेश गरेको छ। ७ खेलमध्ये ५ खेलमा जित हासिल गर्दै काठमाडौँले प्लेअफको स्थान पक्का गरेको हो ।
एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पौने १२ बजे पहिलो र अपराह्न ४ बजे दोस्रो खेल हुँदैछ ।
पहिलो खेलमा काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्स भिड्दै छन् भने दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ ।
काठमान्डुले आज लिग चरणको अन्तिम खेल खेल्न लागेको हो । ६ खेलबाट ४ खेल जित्दै ८ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ ।
आजको खेल जित्न सके काठमान्डुले प्लेअफमा स्थान सुरक्षित गर्नेछ ।
पोखरा एभेन्जर्सले छैटौं खेल खेल्दैछ । पोखरा पाँचमध्ये २ खेल जितेर चार अंक जोड्दै पाँचौं स्थानमा छ ।
आजको खेल उसका लागि प्लेअफमा पुग्ने सम्भावना जीवित राख्नका लागि महत्त्वपूर्ण छ । दोस्रो खेलमा भिड्न लागेको सुदूरपश्चिम रोयल्स अहिलेसम्म अपराजित छ । आज उसले छैटौं खेल खेल्दैछ ।
सुदूरपश्चिम १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । उसले प्लेअफमा स्थान पनि सुरक्षित गरिसकेको छ ।
चितवन राइनोजले पनि छैटौं खेल खेल्दैछ । उसले २ खेल जितेर ४ अंक जोड्दै छैटौं स्थानमा छ । चितवनका लागि पनि प्लेअफमा पुग्न आजको खेल महत्त्वपूर्ण छ ।
एनपिएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)२२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।
दुवै टोलीले आफ्नो छैटौं खेल खेल्दैछन् । विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा मात्रै खेल हारेको छ ।
विराटनगर ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ । लुम्बिनी लायन्सले भने पाँचमध्ये २ खेलमा मात्रै जित निकालेको छ ।
४ अंक जोडेको लुम्बिनी लायन्स अंक तालिकाको छैटौं स्थानमा छ । लुम्बिनीका लागि आजको खेल जित्नुपर्ने दबाब छ ।
एनपीएलमा जनकपुरको पहिलो जित
काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले आफ्नो पहिलो जित निकाल्न सफल भएको छ । मंगलबार टीयू क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेट र १५ बलले पराजित गरेको हो ।
चितवन राइनोजले जनकपुरलाई निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १७७ रनको लक्ष्य दिएको थियो भने जनकपुरले १७.३ ओभरको खेलमा ४ विकेट गुमाउदैँ १८० रन बनाएको हो । जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए ।
एनपीएलमा आज मंगलबार दुई खेल हुँदै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । सोमबार कुनै खेल नभएको प्रतियोगितामा आज दुई खेल हुन लागेका हुन् ।
मंगलबारको पहिलो खेलमा जनकपुर र चितवनले प्रतिस्पर्धा गर्नेछन् भने खेल बिहान ११ ः ४५ मा सुरु हुँदैछ । दोस्रो खेलमा पोखरा र कर्णाली अपराह्न ४ बजे भिड्ने छन् ।
साविक विजेता जनकपुर यो सिजना खाता खोल्न संघर्ष गरिरहेको छ । चार खेलमा जितबिहीन जनकपुरका लागि जितको खाँचो छ । चार अंक जोडेको चितवन भने जनकपुरलाई हराउँदै प्लेअफ पुग्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।
दोस्रो खेलमा पोखरा र कर्णाली याक्स भिड्दैछन् । दुवै टिम संघर्ष गरिरहेका छन् । तालिकामा पोखरा र कर्णालीको दुईदुई अंक मात्र छ । कर्णालीले पाँच खेल खेलिसकेको छ भने पोखराले चार खेल मात्र खेलेको छ ।
१९ खेल सकिँदा अंक तालिका भने रोचक बनेको छ । अंक तालिकामा अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगिसकेको छ । एक खेल मात्र खेल्न बाँकी रहेको काठमाण्डुले दुई खेल गुमाएर ८ अंक बनाएको छ । पाँच खेलमा एक खेल गुमाएको विराटनगरको समेत समान ८ अंक रहेको छ ।